प्रियजनको मृत्यु हुँदा
प्रियजनको मृत्यु हुँदा
ब्राजिलको सबैभन्दा व्यस्त मानिने, साऊ पाउलोको मुटुमा रहेको विमानस्थलमा जुलाई १७, २००७ मंगलबारको दिन साँझ करिब सात बजेतिर एउटा यात्रुवाहक विमान धावनमार्गबाट चिप्लियो। अनि त्यो विमान मूल सडक पार गरेर एउटा कार्गो डिपोमा ठोकिएर दुर्घटनाग्रस्त भयो। त्यस दुर्घटनामा करिब २०० जनाको मृत्यु भयो।
ब्राजिलकै सबैभन्दा नराम्रो मानिएको त्यस दुर्घटनामा आफ्ना प्रियजन गुमाउनेहरूले त्यस दुर्घटनालाई कहिल्यै भुल्ने छैनन्। त्यस्तो क्षति अनुभव गर्नेहरूमध्ये क्लडेट पनि एक हुन्। त्यो विमान दुर्घटनाको समाचार सुन्दा तिनी टिभी हेरिरहेकी थिइन्। तिनको छोरा रिनाटो त्यही विमानमा थिए। उनी थिए मात्र २६ वर्षका। उनले अक्टोबरमा बिहे गर्नेवाला थियो। क्लडेटले रिनाटोको मोबाइलमा सम्पर्क गर्ने निकै प्रयास गरिन् तर केही सीप लागेन। तिनी भुईंमा थुचुक्क बसिन् र क्वाँक्वाँ रुन थालिन्।
आन्जेले सन् १९८६ को जनवरीमा आफ्ना मँगेतरलाई दुःखदायी सवारी दुर्घटनामा गुमाइन्। यो खबर सुन्दा तिनी ‘छाँगोबाट खसेझैं’ भएकी थिइन्। “सुरुमा त मलाई पत्यार नै लागेन। यो नराम्रो सपना मात्र हो, झसङ्ग ब्यूँझेपछि यो सत्य होइन भनेर थाह पाइहाल्छु नि जस्तो लाग्यो। म थरथर काँपे अनि मलाई कसैले पिट्दा खेरिको जस्तो असह्य पीडा महसुस भयो।” त्यसपछिको तीन वर्षसम्म आन्जे डिप्रेसनमा परिन्। दुर्घटना भएको २० वर्षभन्दा धेरै भइसक्यो तर त्यतिबेलाको कुरा सम्झँदा तिनी अझै थरथर काँप्छिन्।
प्रियजनको यस्तो दुःखलाग्दो अनि असमायिक निधन हुँदा स्तब्ध हुने, विश्वास नलाग्ने, शरीर लाटो हुने अनि नैराश्यले छोप्ने हुनसक्छ। यस्तो भावनालाई शब्दमा व्यक्त गर्न सकिंदैन। तर लामो बिमारीले गर्दा कसैको मृत्यु हुँदैछ भनी थाह हुँदाहुँदै पनि तिनको मृत्यु हुँदा चोट असह्य हुन सक्छ। आफ्नो प्रियजनको मृत्युको लागि कोही पनि कहिल्यै पूरै तयार हुँदैन। लामो बिमारीपछि न्यान्सीकी आमाको सन् २००२मा मृत्यु भयो। तैपनि, आफ्नी आमाको मृत्यु हुँदा न्यान्सी पूरै स्तब्ध भएर अस्पतालको भुईंमा थचक्कै बसेकी थिइन्। तिनलाई लागेको थियो अब जीवनको कुनै अर्थ नै रहेन। पाँच वर्ष बितिसक्यो तर पनि आफ्नी आमालाई सम्झिंदा तिनी अझै रुने गर्छिन्।
“प्रियजन गुमाउनु पर्दाको घाउ कहिल्यै निको हुँदैन, केवल तिनीविना जिउन सक्ने भइन्छ” भनेर डा. हलि जि. प्रिगरसन बताउँछिन्। थाह पाउँदा-पाउँदै होस् या अचानक, आफ्नो प्रियजनको मृत्यु हुँदा तपाईंलाई यस्तो विचार आउन सक्छ: ‘के दुःखी हुनु सामान्य कुरा हो? प्रियजन गुमाउँदा त्यसको सामना कसरी गर्न सकिन्छ? के म आफ्नो प्रियजनलाई फेरि कहिल्यै भेट्न सक्छु?’ यी अनि तपाईंसँग भएका यस्तै अरू प्रश्नहरूबारे यसपछिका पानाहरूमा छलफल गरिनेछ। (w 08 7/1)
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
EVERTON DE FREITAS/AFP/Getty Images