डरलाग्दो समय अहिले
डरलाग्दो समय अहिले
मानिसजातिले “डरलाग्दो समय” अनुभव गर्नेछ भनेर बाइबलले भविष्यवाणी गरेको थियो। यो समयलाई बाइबलले “आखिरी दिन” भनेको छ। (२ तिमोथी ३:१-५; २ पत्रुस ३:३-७) आफ्ना चेलाहरूले “जगत्को अन्तको चिह्न”-बारे सोधेको प्रश्नको जवाफ दिनुहुँदा येशू ख्रीष्टले यही समयावधिबारे कुरा गरिरहनु भएको थियो। (मत्ती २४:३) के हामी अहिले आखिरी दिनमा बाँचिरहेका छौं? तल दिइएका हालैको रिपोर्टसित बाइबल भविष्यवाणी तुलना गरेर हेर्नुहोस् र त्यसपछि तपाईं आफै निष्कर्ष निकाल्नुहोस्।
बाइबल भविष्यवाणी: विश्वव्यापी कलह—लूका २१:१०; प्रकाश ६:४.
हालैको रिपोर्ट: “येशू ख्रीष्ट जन्मेदेखि यता अर्थात् विगत १९०० वर्षमा युद्धले गर्दा जति मानिस मरे त्यसको तीन गुणा बढी मानिस विगत १०० वर्षमा मरे।”—वर्ल्डवाच इन्स्टिच्युट।
बाइबल भविष्यवाणी: खाद्यान्नको अभाव र रूढी—लूका २१:११; प्रकाश ६:५-८.
हालैको रिपोर्ट: सन् २००४ मा सालाखाला ८६ करोड ३० लाख मानिसलाई कुपोषण लागेको थियो। यो संख्या सन् २००३ को भन्दा ७० लाख बढी हो।—संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन।
करिब १ अरब मानिस झुपडबस्तीमा बस्छन्; २ अरब ६० करोड मानिस फोहोर-मैला तथा ढल निकासको व्यवस्थाबाट वञ्चित छन्; १ अरब १० करोड मानिसले स्वच्छ पानी खान पाएका छैनन्।—वर्ल्डवाच इन्स्टिच्युट।
सन् २००५ मा पचास करोड मानिसलाई औलो लाग्यो; ४ करोड मानिस एच आइ भी एड्सबाट ग्रसित थिए; क्षयरोगले १६ लाख मानिसको ज्यान लियो।—विश्व स्वास्थ्य संगठन।
बाइबल भविष्यवाणी: पृथ्वीको नाश—प्रकाश ११:१८.
हालैको रिपोर्ट: “मानव गतिविधिका कारण विभिन्न प्रजातिका जीवजन्तु र बोटबिरुवाहरू सम्भवतः चाँडै नै लोप हुनेछन्।” “प्रकृतिले मानिसजातिलाई पुऱ्याइरहेको झन्डै दुई-तिहाइ सेवा विश्वभर कम हुँदै गइरहेको पाइएको छ।”—मिलेनियम इकोसिस्टम असेस्मेन्ट।
“कृत्रिम हरितगृह ग्यासहरूले पृथ्वीको हावापानीलाई खतराको चरम बिन्दुमा ल्याइपुऱ्याएको छ। यसले गर्दा सम्भवतः यस ग्रहमाथि खतरनाक परिणाम आइपर्न सक्छ।”—नासा, गोडार्ड इन्स्टिच्युट फर स्पेस स्टडिज।
बाइबल भविष्यवाणी: परमेश्वरको राज्यको सुसमाचार सारा संसारमा प्रचार गरिनेछ—मत्ती २४:१४; प्रकाश १४:६, ७.
हालैको रिपोर्ट: सन् २००७ को दौडान यहोवाका साक्षीहरूको शिखर संख्या ६९,५७,८५४ पुग्यो र तिनीहरूले २३६ भन्दा धेरै मुलुकमा परमेश्वरको राज्यको सुसमाचार सुनाउन १४ अरब भन्दा धेरै घण्टा बिताएका थिए।—सन् २००८ यरबूक अफ जेहोभाज् विट्नेसेज।
माथि बताइएझैं, सबै खराब समाचारको बाबजुद पनि आशावादी हुने कारण छ भनेर बाइबलले भविष्यवाणी गर्छ। येशूले परमेश्वरको राज्यको “सुसमाचार”-बारे कुरा गर्नुभएको थियो। परमेश्वरको राज्य के हो? यसले कसरी मानिसजातिलाई उत्तम भविष्यको आशा राख्ने कारण दिन्छ? अनि परमेश्वरको राज्यले तपाईंलाई कसरी असर गर्छ? (w08 8/1)
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
आज हाम्रो आँखा अगाडि भइरहेको विश्व परिस्थितिबारे बाइबलले भविष्यवाणी गरेको थियो।