सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको वैवाहिक जीवन “तीन सुताले बाटिएको डोरी” रहिरहोस्‌

तपाईंको वैवाहिक जीवन “तीन सुताले बाटिएको डोरी” रहिरहोस्‌

तपाईंको वैवाहिक जीवन “तीन सुताले बाटिएको डोरी” रहिरहोस्‌

“तीन सुताले बाटिएको डोरी सजिलै चुँडिदैन।”—उप. ४:१२.

१. प्रथम मानव जोडीलाई वैवाहिक बन्धनमा कसले बाँधिदिनुभयो?

 वनस्पति र जीव-जन्तुको सृष्टिपछि यहोवा परमेश्‍वरले प्रथम पुरुष आदम बनाउनुभयो। पछि, परमेश्‍वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो र तिनको एउटा करङ निकालेर तिनका लागि सिद्ध सहयोगी बनाउनुभयो। आफ्नी सहयोगीलाई देखेर आदमले यसो भने: “यो ता मेरै हाडको हाड र मासुको मासु हो।” (उत्प. १:२७; २:१८, २१-२३) यहोवाले यी प्रथम मानव जोडीको विवाह गराइदिनुभयो। साथै, आशिष्‌ पनि दिनुभयो। यसरी उहाँले आदमकी सहयोगीप्रति अनुमोदन देखाउनुभयो।—उत्प. १:२८; २:२४.

२. शैतानले आदम र हव्वाबीच कसरी भाँजो हालिदियो?

दुःखको कुरा, केही समय नबित्दै परमेश्‍वरले स्थापना गर्नुभएको वैवाहिक प्रबन्ध आक्रमणमा पऱ्‍यो। कसरी? शैतान भनी चिनिएको दुष्ट आत्माले हव्वालाई छल गऱ्‍यो र यहोवाले तिनीहरूलाई निषेध गर्नुभएको रूखको फल खान लगायो। आदमले पनि पत्नीलाई साथ दिएर परमेश्‍वरको आज्ञा उल्लंघन गरे। यसरी तिनीहरूले परमेश्‍वरको वैध शासन र असल निर्देशनको विरोध गरे। (उत्प. ३:१-७) तिमीहरूले यो के गऱ्‍यौ भनेर परमेश्‍वरले सोध्नुहुँदा उहाँसितको तिनीहरूको सम्बन्ध बिग्रिसकेको प्रस्ट भयो। आदमले यसो भन्दै आफ्नी पत्नीलाई दोष लगाए: “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनु भएको थियो त्यसैले मलाई त्यो रूखको फल दिई, र मैले खाएँ।”—उत्प ३:११-१३.

३. कतिपय यहूदीहरूले कस्तो गलत दृष्टिकोण विकास गरे?

त्यसबेलादेखि यता शैतानले वैवाहिक जोडीहरूबीच फाटो हालिदिन विभिन्‍न धूर्त चालहरू चाल्दै आएको छ। उदाहरणको लागि, कहिलेकाहीं त्यसले विवाहको सन्दर्भमा गैर-धर्मशास्त्रीय दृष्टिकोणलाई बढवा दिन धार्मिक नेताहरू चलाएको छ। कतिपय यहूदी धर्मगुरुहरूले झिनामसिना कुरा, जस्तो कि तरकारीमा नून चर्को हुँदा समेत आफ्ना पत्नीसित सम्बन्ध तोड्‌न पतिहरूलाई अनुमति दिएर परमेश्‍वरका स्तरहरूलाई तुच्छ ठहऱ्‍याए। तर येशूले भने तोकेरै यसो भन्‍नुभएको थियो: “जसले व्यभिचारको कारणबाहेक स्वास्नीलाई त्यागेर अर्कोसित विवाह गर्ला, त्यसले व्यभिचार गर्दछ।”—मत्ती १९:९.

४. आज वैवाहिक प्रबन्ध कसरी आक्रमणमा परेको छ?

वैवाहिक बन्धनलाई टुक्राउन शैतान अझै तल्लीन छ। यसमा त्यो दुष्ट निकै सफल भएको छ। विवाह नगरी सँगै बस्ने, समलिङ्‌गीहरू वैवाहिक बन्धनमा बाँधिने र सजिलै सम्बन्ध विच्छेद गर्न सकिने जस्ता कुराले यसको प्रमाण दिन्छ। (हिब्रू १३:४ पढ्‌नुहोस्‌) विवाहसम्बन्धी व्याप्त विकृत दृष्टिकोणको प्रभावमा नपर्न हामी ख्रीष्टियानहरूले के गर्न सक्छौं? आउनुहोस्‌, सुखमय र सफल वैवाहिक जीवनका केही पक्षलाई विचार गरौं।

यहोवालाई वैवाहिक जीवनमा समावेश गर्नुहोस्‌

५. वैवाहिक जीवनको सन्दर्भमा “तीन सुताले बाटिएको डोरी” अभिव्यक्‍तिको अर्थ के हो?

वैवाहिक सम्बन्ध सफल बनाउन यहोवालाई समावेश गर्नुपर्छ। उहाँको वचन यसो भन्छ: “तीन सुताले बाटिएको डोरी सजिलै चुँडिदैन।” (उप. ४:१२) यहाँ भनिएको “तीन सुताले बाटिएको डोरी” प्रतीकात्मक अभिव्यक्‍ति हो। यसलाई वैवाहिक दृष्टिकोणबाट बुझ्ने हो भने पति र पत्नी प्रथम दुई सुता हुन्‌ जुन मुख्य सुता यहोवासित बाटिएको हुन्छ। परमेश्‍वरसित बाँधिएर रहँदा दम्पतीले समस्याहरूसित जुझ्न आध्यात्मिक बल पाउँछन्‌ र यसरी बाँधिनु भनेको वैवाहिक जीवनलाई सुखमय बनाउने मुख्य तरिका हो।

६, ७. (क) वैवाहिक जीवनमा परमेश्‍वरलाई समावेश गर्न ख्रीष्टियानहरूले के गर्न सक्छन्‌? (ख) एउटी बहिनीले आफ्ना पतिको मोल गर्ने कुरा के हो??

तर, वैवाहिक जीवन तीन सुताले बाटिएको डोरी जस्तै बनाउन दम्पतीहरूले के गर्न सक्छन्‌? भजनहारले यसरी गाए: “हे मेरा परमेश्‍वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्‍न छु।” (भज. ४०:८) त्यस्तैगरि, परमेश्‍वरप्रतिको प्रेमले हामीलाई पूर्ण हृदयले उहाँको सेवा गर्न उत्प्रेरित गर्छ। त्यसैले, पति-पत्नी दुवैले यहोवासित न्यानो व्यक्‍तिगत सम्बन्ध विकास गर्नुपर्छ र आनन्दित भई उहाँको इच्छाबमोजिम चल्नुपर्छ। दम्पतीहरूले आफ्नो जोडीको यहोवाप्रतिको प्रेम बलियो बनाइदिने प्रयास गर्नुपर्छ।—हितो. २७:१७.

परमेश्‍वरको व्यवस्था हामीभित्र साँच्चै गढिएको छ भने विश्‍वास, आशा र प्रेम जस्ता गुणहरू प्रदर्शित हुनेछन्‌ र वैवाहिक बन्धन बलियो बनाउन टेवा पुग्नेछ। (१ कोरि. १३:१३) विवाह गरेको ५० वर्ष पुगिसकेका ख्रीष्टियान बहिनी सान्ड्रा आफ्ना पतिबारे यसो भन्छिन्‌: “मैले उहाँको सबैभन्दा मोल गर्ने कुरा भनेको उहाँले दिने आध्यात्मिक डोऱ्‍याइ तथा सल्लाह अनि परमेश्‍वरप्रतिको प्रेम हो र त्यो प्रेम मप्रतिको प्रेम भन्दा पनि बलियो छ।” पति हो, के तपाईंबारे पनि यसै भन्‍न सकिन्छ?

८. वैवाहिक जीवनमा “असल इनाम” प्राप्त गर्न के गर्नु खाँचो छ?

के तपाईं विवाहित जोडीहरूले आध्यात्मिक कुरा र राज्यका गतिविधिहरूलाई जीवनमा प्राथमिकता दिंदै हुनुहुन्छ? त्यसबाहेक, के तपाईं आफ्नो जोडीलाई यहोवाको सेवामा साँच्चै सहयोगी ठान्‍नुहुन्छ? (उत्प. २:२४) बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “एकभन्दा दुई असल हो। तिनीहरूले आफ्नो मेहनतको असल इनाम पाउनेछन्‌।” (उप. ४:९) वास्तवमा, “असल इनाम” पाउन पति-पत्नीले कडा परिश्रम गर्नै पर्छ र त्यो इनाम भनेको परमेश्‍वरबाट आशिष्‌ पाएको मायालु र चीरकालीन बन्धन हो।

९. (क) पतिको कस्ता जिम्मेवारीहरू छन्‌? (ख) कलस्सी ३:१९ ले बताएअनुसार पतिहरूले पत्नीलाई कसरी व्यवहार गर्नुपर्छ?

वैवाहिक जीवनमा परमेश्‍वरलाई समावेश गरेको छ कि छैन भन्‍ने संकेत पतिपत्नीले परमेश्‍वरले चाहनुभएअनुसार जीवन बिताउन गर्ने प्रयासमा देखिन्छ। परिवारको भौतिक र आध्यात्मिक तवरमा पालनपोषण गर्ने प्रमुख दायित्व पतिको हो। (१ तिमो. ५:८) तिनीहरूलाई आफ्ना पत्नीको भावनात्मक आवश्‍यकताको ख्याल राख्न पनि प्रोत्साहन दिइएको छ। कलस्सी ३:१९ मा हामी यस्तो लेखिएको पाउँछौं: “ए पति हो, पत्नीलाई प्रेम गर औ तिनीहरूप्रति कठोर नहोओ।” एक बाइबलविद्‌अनुसार ‘कठोर हुनुमा’ “घोच्ने शब्द बोल्नु वा हिर्काउनु अनि तिनीहरूले पाउनुपर्ने स्नेह, ख्याल, पालनपोषण, सुरक्षा र सहयोग नदिनु” समावेश छ। स्पष्ट छ, यस्तो व्यवहार ख्रीष्टियान परिवारमा सुहाउँदैन। मायालु ढंगमा शिरत्व चलाउने पतिले आफ्ना पत्नीलाई अधीनमा बस्न सजिलो बनाई दिइरहेको हुन्छ।

१०. ख्रीष्टियान पत्नीहरूले कस्तो मनोवृत्ति देखाउनुपर्छ?

१० आफ्नो वैवाहिक जीवनमा यहोवालाई समावेश गर्न चाहने ख्रीष्टियान पत्नीहरूले परमेश्‍वरले चाहनुभएअनुसार जीवन बिताउनु पनि पर्छ। प्रेरित पावलले यस्तो लेखे: “ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना-आफ्ना पतिको अधीनमा बस। किनकि पत्नीको शिर पति हुन्‌, जस्तो ख्रीष्ट शरीरको मुक्‍तिदाता भई मण्डलीका शिर हुनुहुन्छ।” (एफि. ५:२२, २३) परमेश्‍वरबाट स्वतन्त्र हुँदा चीरकालीन आनन्द पाइन्छ भनेर झूट बोल्दै शैतानले हव्वालाई बहकायो। स्पष्ट छ, स्वतन्त्रताको भावना आज थुप्रैको वैवाहिक जीवनमा देखिन्छ। तर परमेश्‍वरको डर राख्ने पत्नीहरूलाई आफ्ना मायालु शिरको अधीनमा बस्नु खल्लो लाग्दैन। यहोवाले हव्वालाई “सहयोगी” नियुक्‍त गर्नुभएको कुरा तिनीहरू सम्झन्छन्‌। हो, त्यो अवश्‍यै यहोवाको दृष्टिमा आदरणीय स्थान थियो। (उत्प. २:१८) यस प्रबन्धलाई समर्थन गर्ने पत्नी साँच्चै आफ्नो पतिको “मुकुट” हो।—हितो. १२:४.

११. एक भाइले आफ्नो वैवाहिक जीवन सफल हुनुको कारण के हो भने?

११ परमेश्‍वरलाई वैवाहिक जीवनमा समावेश गर्ने अर्को तरिका हो: दम्पतीले सँगै बसेर परमेश्‍वरको वचन पढ्‌नु। सुखमय वैवाहिक जीवन बिताएको ५५ वर्ष भइसकेका जेरल्ड यसो भन्छन्‌: “सफल वैवाहिक जीवनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सँगै बाइबल पढ्‌नु र अध्ययन गर्नु हो।” उनी अझ थप्छन्‌: “विशेषगरि आध्यात्मिक कामकुरो गर्दा पतिपत्नी एकाअर्काप्रति र साथै यहोवाप्रति झन्‌ घनिष्ठ हुन्छ।” सँगै बाइबल अध्ययन गर्दा यहोवाका स्तरहरूलाई स्पष्ट मनमा राख्न, आध्यात्मिकतामा गहिरिन र निरन्तर प्रगति गर्न परिवारले मदत पाउँछ।

१२, १३. (क) दम्पतीहरूले सँगै प्रार्थना गर्नु किन एकदमै महत्त्वपूर्ण छ? (ख) अरू कुन आध्यात्मिक क्रियाकलापले वैवाहिक जीवनलाई बलियो बनाउँछ?

१२ आनन्दित वैवाहिक जोडीहरूले सँगै प्रार्थना पनि गर्छन्‌। पतिले आफूहरूको अवस्थाअनुसार तोकेरै बिन्ती गर्दै ‘हृदयको दुःख पोखाउँदा’ अवश्‍यै वैवाहिक बन्धन बलियो हुन्छ। (भज. ६२:८) उदाहरणको लागि, सँगै बसेर सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई निर्देशन र डोऱ्‍याइ मागेपछि आपसी असमझदारी हटाउन कत्ति सजिलो हुन्छ! (मत्ती ६:१४, १५) प्रार्थनाअनुरूप एकअर्कालाई मदत गर्नु अनि ‘एउटाले अर्कोलाई सहनु र क्षमा गर्नु’ कत्ति उपयुक्‍त छ! (कल. ३:१३) नबिर्सनुहोस्‌, प्रार्थना गर्दा परमेश्‍वरमा भरोसा राखेको देखिन्छ। राजा दाऊदले यसो भने: “सबैका आँखाले तपाईंकै बाटो हेर्दछन्‌।” (भज. १४५:१५) प्रार्थनापूर्वक परमेश्‍वरको बाटो हेर्दा ‘उहाँले हाम्रो फिक्री गर्नुहुन्छ’ भन्‍ने कुरा थाह पाउँछौं। यसले गर्दा हाम्रो चिन्ता-फिक्री कम हुन्छ।—१ पत्रु. ५:७.

१३ वैवाहिक जीवनमा यहोवालाई समावेश गर्ने अर्को महत्त्वपूर्ण तरिका मण्डलीका सभाहरू धाउनु र प्रचारमा सँगै जानु हो। सभाहरूबाट दम्पतीहरूले के सिक्छन्‌? शैतानले परिवार टुक्राउन चलाइरहेका “युक्‍तिहरू” विरुद्ध लड्‌ने तौरतरिका। (एफि. ६:११) अनि नियमित रूपमा प्रचारमा सँगै जाने पतिपत्नीले “स्थिर र अटल” हुन सिक्छन्‌।—१ कोरि. १५:५८.

कठिनाइहरू आइपर्दा

१४. कस्ता कुराहरूले गर्दा वैवाहिक जीवन तनावग्रस्त हुन सक्छ?

१४ हो, माथिका सल्लाहहरू तपाईंलाई नौलो नलाग्ला। तर आफ्नो जोडीसित ती सल्लाहबारे किन खुलेर कुरा नगर्ने? तपाईंको वैवाहिक जीवनमा थप ध्यान दिनुपर्ने पक्षहरू पो छन्‌ कि, हेर्नुहोस्‌। तर, वैवाहिक जीवनमा परमेश्‍वरलाई समावेश गरेका जोडीहरूलाई समेत “शरीरमा कष्ट हुनेछ” भनेर बाइबल स्वीकार्छ। (१ कोरि. ७:२८) मानव असिद्धता, अधर्मी संसारको नराम्रो प्रभाव र शैतानका पासोहरूले गर्दा परमेश्‍वरका विश्‍वासी सेवकहरूको समेत वैवाहिक जीवन तनावग्रस्त हुन सक्छ। (२ कोरि. २:११) तर यस्तो तनाव सामना गर्न यहोवाले हामीलाई सक्षम बनाउनुहुन्छ। हो, तनाव सामना गर्न सकिन्छ। विश्‍वासी अय्यूबले आफ्नो वस्तुभाउ, नोकर-चाकर र छोराछोरी सबै गुमाएका थिए। तैपनि बाइबल बताउँछ: “यो सबै कुरामा अय्यूबले पाप गरेनन्‌। तिनले परमेश्‍वरलाई अन्यायको दोष पनि लगाएनन्‌।”—अय्यू. १:१३-२२.

१५. तनावले गर्दा मानिसहरूले कस्तो प्रतिक्रिया देखाउन सक्छन्‌ र त्यस्तो बेला जोडीहरूले गर्न सक्ने सर्वोत्तम कुरा के हो?

१५ अर्कोतिर, अय्यूबकी पत्नीले तिनलाई यसो भनिन्‌: “के तपाईं आफ्नो निष्ठामा अझै अडिनै रहनुहुन्छ? परमेश्‍वरलाई सरापेर मरे असल हुन्छ।” (अय्यू. २:९) हो, दुःख वा अन्य कठिनाइहरू आइपर्दा भावनात्मक पीडाको कारण मानिसहरूले मूर्ख पाइला चाल्न सक्छन्‌। एक जना बुद्धिमान्‌ व्यक्‍ति भन्छन्‌: “करकापले [अर्थात्‌ “थिचोमिचोले” NW] बुद्धिमान्‌ मानिसलाई पनि मूर्ख बनाउँछ”। (उप. ७:७, NRV) “थिचोमिचो” वा कठिनाइमा पर्दा यदि आफ्नो जोडीले रिसाएर चित्त दुख्ने बोली बोल्छ भने पनि शान्त रहने कोसिस गर्नुहोस्‌। जस्तोलाई त्यस्तै भन्दै आफूले पनि जवाफ फर्काउँदा परिस्थिति झन्‌ बिग्रनेछ। (भजन ३७:८ पढ्‌नुहोस्‌) त्यसकारण, कसैले दिग्दारी वा हतोत्साहको कारण ‘समझहीन वचन’ बोल्छ भने त्यसप्रति आँखा चिम्लनुहोस्‌।—अय्यू. ६:३.

१६. (क) मत्ती ७:१-५ मा भएका येशूका शब्दहरू वैवाहिक जीवनमा कसरी लागू हुन्छ? (ख) वैवाहिक जीवनमा सन्तुलित हुनु किन एकदमै महत्त्वपूर्ण छ?

१६ विवाहित जोडीहरूले व्यावहारिक आशा राख्नुपर्छ। पति वा पत्नीले आफ्नो जोडीमा अनौठो व्यवहार देखेर यसरी सोच्न सक्छन्‌: ‘म उसलाई बदल्न सक्छु।’ सायद तपाईं प्रेमपूर्वक र धीरजी भई आफ्नो जोडीलाई बिस्तारै बदल्न सक्नुहुन्छ। तर नबिर्सनुहोस्‌, अरूको स-साना गल्ती कोट्याउने व्यक्‍तिलाई येशूले भाइको आँखामा भएको “कसिंगर” देख्ने तर आफ्नै आँखामा भएको “मूढा” चाहिं नदेख्ने मानिससित तुलना गर्नुभयो। हामीलाई उहाँले यसरी अर्ती दिनुभयो: “अर्काको निसाफ नगर, र तिमीहरूको निसाफ नगरिओस्‌।” (मत्ती ७:१-५ पढ्‌नुहोस्‌) यसको अर्थ गम्भीर त्रुटिहरूलाई सुधार्नुपर्दैन भनेको होइन। विवाह गरेको ४० वर्ष भइसकेका रबर्टले यसो भने: “पति पत्नी एकअर्काप्रति खुलस्त कुराकानी गर्न र आफूले सुधार्नुपर्ने कुरा जोडीले देखाइदिंदा त्यसलाई स्वीकार्न इच्छुक हुन चाहन्छन्‌ भने जीवनमा परिवर्तन गर्नुपर्ने हुन सक्छ।” तसर्थ, सन्तुलित हुनुहोस्‌। आफूले आशा गरेको गुण आफ्नो जोडीमा नपाउँदा असन्तुष्ट हुनुको साटो उनीसित अहिले भएका राम्रा पक्षहरूको मोल गर्न सिक्नुहोस्‌।—उप. ९:९.

१७, १८. आफूमाथि संकटको ओइरो लाग्दा कसलाई मदत माग्न सक्नुहुन्छ?

१७ जीवन यात्रामा परिस्थिति अदलबदल हुँदा परीक्षाहरू आइपर्न सक्छ। छोराछोरी जन्मिएपछि दम्पतीले चुनौतीहरू सामना गर्नुपर्ने होला। पति वा पत्नी वा छोराछोरी सिकिस्त बिरामी पर्लान्‌। वृद्ध आमाबाबुलाई विशेष हेरचाहको खाँचो पर्ला। हुर्केका छोराछोरी घरदेखि टाढा बसाइँ सर्लान्‌। ईश्‍वरतान्त्रिक सुअवसरहरू तथा जिम्मेवारीहरूले गर्दा अन्य परिवर्तनहरू आउलान्‌। यी परिवर्तनले गर्दा वैवाहिक सम्बन्धमा केही तनाव र चिन्ता-फिक्री आइपर्न सक्छ।

१८ वैवाहिक जीवनमा आइपरेको तनावले गर्दा ‘अब त अति भो, अब चाहिं सहन सकिंदैन’ जस्तो लागेमा के गर्न सक्नुहुन्छ? (हितो. २४:१०) लत्तो नछाड्‌नुहोस्‌! शैतानले चाहेको नै परमेश्‍वरका सेवकहरूलाई शुद्ध उपासनाबाट तर्काउनु हो। वैवाहिक जोडीले यसो गरेमा त्यो बढो खुसी हुनेछ। त्यसैले, आफ्नो वैवाहिक जीवनलाई तीन सुताले बाटिएको डोरी बनाउन सक्दो प्रयास गर्नुहोस्‌। कठोर परीक्षाहरूको बावजूद विश्‍वासी रहने जनहरूको थुप्रै विवरण बाइबलमा पाइन्छ। उदाहरणको लागि, एक पटक दाऊदले यहोवालाई यसो भन्दै मनको बह पोखे: “हे परमेश्‍वर, ममाथि अनुग्रह गर्नुहोस्‌, किनकि मानिसले मलाई . . . अत्याचार गर्दछ।” (भज. ५६:१) के तपाईंले पनि आफूलाई “मानिसले” अत्याचार गरेको कहिल्यै महसुस गर्नुभएको छ? टाढाको व्यक्‍तिबाट होस्‌ वा नजिकको व्यक्‍तिबाट, तनाव आउँदा यो कुरा नबिर्सनुहोस्‌: दाऊदले सहने बल पाए, तपाईंले पनि पाउन सक्नुहुन्छ। दाऊदले यसो भने: “मैले परमप्रभुको खोजी गरें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मेरा सबै डरहरूबाट छुटाउनुभयो।”—भज. ३४:४.

थप आशिष्‌हरू

१९. कुन तरिकामा हामी शैतानको आक्रमण विफल पार्न सक्छौं?

१९ यस अन्तको समयमा विवाहित जोडीहरूले ‘एउटाले अर्कोलाई सान्त्वना दिनु र सुधार गर्नु’ आवश्‍यक छ। (१ थिस्स. ५:११) नबिर्सनुहोस्‌, शैतानले यहोवाप्रतिको हाम्रो वफादारी स्वार्थमा अडिएको हो भनी दाबी गर्न छोडेको छैन। त्यसले हाम्रो निष्ठा तोड्‌न सकेजति सबै तरिका अपनाउनेछ। यसमा वैवाहिक सम्बन्ध भताभुंग पार्नु पनि समावेश छ। शैतानको आक्रमण विफल पार्न यहोवामा पूर्ण भरोसा राख्नुपर्छ। (हितो. ३:५, ६) पावलले यस्तो लेखे: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलि. ४:१३.

२०. वैवाहिक जीवनमा परमेश्‍वरलाई समावेश गर्दा कस्ता आशिष्‌हरू प्राप्त हुन्छ?

२० वैवाहिक जीवनमा परमेश्‍वरलाई समावेश गर्दा थुप्रै आशिष्‌ पाइन्छ। जोयल र तिनकी पत्नीले ५१ वर्षको आफ्नो वैवाहिक जीवनमा यस्तै आशिष्‌हरू पाएका छन्‌। उनी भन्छन्‌: “यस्तो जीवनसाथी पाएकोमा र हाम्रो सम्बन्ध सुमधुर भएकोमा यहोवालाई निरन्तर धन्यवाद दिन्छु। उनी आदर्श सहयोगी साबित भएकी छिन्‌।” तिनीहरूको बलियो वैवाहिक सम्बन्धको रहस्य के हो? उनी भन्छन्‌: “सधैं हामीले आपसमा दया, धीरज र प्रेम देखाउने प्रयत्न गरेका छौं।” यस रीतिरिवाजमा हामी कसैले पनि यी गुणहरू सिद्ध ढंगमा देखाउन सक्दैनौं। तैपनि आउनुहोस्‌, वैवाहिक जीवनमा यहोवालाई समावेश गर्न र बाइबलका सिद्धान्तहरू लागू गर्न कडा परिश्रम गरौं। यसो गऱ्‍यौं भने, हाम्रो वैवाहिक जीवन “तीन सुताले बाटिएको डोरी” जस्तै हुन्छ जो “सजिलै चुँडिदैन।”—उप. ४:१२. (w 08 9/15)

के तपाईंलाई याद छ?

• वैवाहिक जीवनमा यहोवालाई समावेश गर्नुको अर्थ के हो?

• कठिनाइहरू आइपर्दा विवाहित जोडीहरूले के गर्नुपर्छ?

• वैवाहिक जीवनमा यहोवा हुनुहुन्छ भनेर हामी कसरी थाह पाउन सक्छौं?

[प्रश्‍नहरू]