सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

जुनियर शैतानहरू भनिने मेक्सिकोको युवा गिरोहका एक जना सदस्य केले गर्दा परिवर्तन भई इमानदार र परिश्रमी बन्‍न उत्प्रेरित भए? जापानकी एक सफल व्यवसायी महिलाको जीवनमा प्रमुख लक्ष्य नै सम्पत्ति आर्जन गर्नु थियो, तर उनले आफ्नो त्यो लक्ष्यलाई किन पन्छाइन्‌ अनि आफूले गरेको परिवर्तनबारे उनी कस्तो महसुस गर्छिन्‌? हात-हतियारको धन्दा गर्ने एक रूसीलाई आफ्नो त्यो मुनाफादायी तर अवैध धन्दा लत्त्याउन केले उत्प्रेरित गऱ्‍यो? यिनीहरू के भन्छन्‌, आउनुहोस्‌ हेरौं।

परिचय

नाउँ: एड्रियन पेरेस

उमेर: ३०

देश: मेक्सिको

विगतमा: गिरोहको सदस्य

मेरो विगत: म झन्डै १३ वर्षको हुँदा हाम्रो परिवार मेक्सिको राज्यको एकाटेपेक थेमोरेलोसमा सऱ्‍यो। त्यतिबेला त्यो इलाकामा बाल अपराध, सार्वजनिक सम्पत्तिको तोडफोड र लागूपदार्थको दुर्व्यसन व्याप्त थियो। चाँडै म पनि रक्सी पिउन, सार्वजनिक सम्पत्ति तोडफोड गर्न र अनैतिकतामा लाग्न थालें।

पछि हामी मेरो जन्मथलो सान भिसेन्टे फर्किआयौं। तर त्यहाँ पनि लागू पदार्थको दर्व्यसन ठूलो समस्या बनेको थियो। सडकमा युवाहरू मरिरहेका देख्नु सामान्य कुरा थियो। म जुनियर शैतानहरू भनिने गिरोहमा सामेल भएँ। हामी चोर्थ्यौं। लागूपदार्थ खान्थ्यौं, विशेषगरि थिनर (रंग पातलो बनाउने झोल पदार्थ) वा गम सुँघ्ने गर्थ्यौं। घर कसरी पुग्थें मलाई प्रायः थाह हुँदैन्थ्यो अनि कहिलेकाहीं बेहोस भएर सडकमा लम्पसार परिरहेको हुन्थें। चोरी र हत्याको आरोपमा मेरा कतिपय साथीहरू जेलको हावा खान पुगे।

यस्तो खराब कुरा गरिरहेको भए तापनि म परमेश्‍वरमा विश्‍वास गर्थें। दोषी भावना शान्त गर्न म धार्मिक समारोहहरूमा भाग लिन्थें, जस्तै: पवित्र हप्ताको दौडान क्रूसहरू लहरै सजाएर राखिने उत्सवमा अभिनय गर्थें। तर पछि, उक्‍त उत्सवमा ख्रीष्टको भूमिका निभाउने व्यक्‍ति लगायत हामी सबै उत्सवको नाउँमा टन्‍न पिएर मातिन्थ्यौं।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो: किशोरावस्था काटिन-काटिन लाग्दा यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालें। मेरो जीवनको कुनै उद्देश्‍य छैन र मैले यस्तै जीवन बिताइरहें भने राम्रो हुनेछैन भनेर मलाई थाह थियो। गलाती ६:८ को कुराले म प्रभावित भएँ जहाँ यस्तो लेखिएको छ: “जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ। तर जसले आत्माको लागि रोप्तछ, आत्मैबाट अनन्त जीवनको कटनी गर्नेछ।” आफ्नो भलो सोच्ने हो भने भविष्यलाई ध्यानमा राख्दै काम गर्नुपर्ने रहेछ भनेर यो पदबाट थाह पाएँ।

जसै बाइबल अध्ययन गर्दै गएँ तब बुझ्न थालें कि यहोवा मलाई व्यक्‍तिगत तवरमा चासो राख्नुहुने मायालु परमेश्‍वर हुनुहुन्छ। साथै विगतका मेरा पापहरू क्षमा गर्न उहाँ इच्छुक हुनुहुन्छ। उहाँ प्रार्थना सुन्‍नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ भन्‍ने कुरा आफैले अनुभव गरें।

आफ्नो जीवनशैली परिवर्तन गर्न सजिलो भएन। गिरोह छोड्‌नु गाह्रो थियो। केही इलाका अरू गिरोहको नियन्त्रणमा भएकोले म पहिलाको गिरोहको सदस्य नरहे तापनि त्यस इलाका भएर जान सक्दिनँ थिएँ। कहिलेकाहीं म पहिलाका साथीहरूदेखि लुक्नुपर्थ्यो किनभने तिनीहरूले मलाई भेट्टाएर फेरि पहिलाकै जीवनशैलीमा फर्काइ लैजान जबरजस्ती गर्न सक्थे।

तर, साक्षीहरूको राज्यभवनमा सभाहरू धाउन थालेपछि भने मण्डलीको न्यानो र मायालु संगति पाएँ। यी मानिसहरूको बलियो विश्‍वास र तिनीहरूले आफ्नो शिक्षाअनुरूप जीवन बिताएको देखेर म प्रभावित भएँ। यो वातावरण मेरो विगतभन्दा बिल्कुलै फरक थियो।

मैले कसरी लाभ उठाएको छु: यहोवाका साक्षीको रूपमा बप्तिस्मा लिएको अहिले १० वर्ष भइसक्यो। बाइबलका शिक्षाहरू जीवनमा उतार्न खूब प्रयास गर्छु। नतिजास्वरूप, परिवारको आदर कमाउन थालेको छु। अहिले उनीहरू मलाई परिश्रमी ठान्छन्‌ र म उनीहरूलाई आर्थिक मदत गर्न पनि सक्षम भएको छु। आमाले बाइबल अध्ययन गर्नुभयो र अहिले यहोवाका साक्षी हुनुभएको छ। बुबाले पनि जीवनमा परिवर्तन गर्नुहुँदैछ। परिवारका धेरैजसो सदस्य यहोवाका साक्षी होइनन्‌ तर ममा आएको परिवर्तन देखेर बाइबलले मानिसको जीवन सुधार्न सक्छ भनेर चाहिं तिनीहरू मानिलिन्छन्‌।

परिचय

नाउँ: यायोई नागातानी

उमेर: ५०

देश: जापान

विगतमा: सफल व्यवसायी

मेरो विगत: मित्रैलो मानिसहरूको बसोबास रहेको एउटा सानो सहरमा हुर्कें-बढें। मेरो बुबाको त्यसै सहरमा ठूलो पसल थियो। त्यहाँ दस जना कामदार थिए। हाम्रो घर पसलको नजिकै थियो। त्यसैले, आमाबाबु काममा व्यस्त हुँदा समेत मलाई कहिल्यै एक्लो महसुस भएन।

तीन छोरीहरूमध्ये म जेठी हुँ। सानैदेखि परिवारको व्यापार सँभाल्न प्रशिक्षण पाएँ। कलिलै उमेरमा विवाह गरें। मेरो श्रीमान्‌ले बैंकको जागिर छोडेर परिवारको व्यापारमा सघाउन थाल्नुभो। हाम्रा दुई छोरी र एक छोरा जन्मिए। तिनीहरूबीच उमेरको त्यति फरक छैन। आमाले घरको कामधन्दा सँभाल्दै छोराछोरीको हेरचाह गर्नुहुन्थ्यो। मचाहिं बिहानदेखि बेलुकीसम्म पसलमा व्यस्त रहन्थें। त्यसो भए तापनि हामीले केही समय पारिवार सँगै बिताउने समय पाउँथ्यौं।

आर्थिक मन्दीले हाम्रो पसल भएको पूरै व्यापारिक इलाकालाई नै असर गऱ्‍यो र हाम्रो व्यवसाय खस्किन थाल्यो। त्यसैले, राजमार्ग नजिकै हार्डवेर पसल खोल्ने निर्णय गऱ्‍यौं। यो नयाँ पसलको निर्माणकार्य थाल्न पूजाआजाको प्रबन्ध गरिएको थियो, तर त्यसको ठीक एकदिन अघि बुबा—जो कम्पनीको अध्यक्ष हुनुहुन्थ्यो—मस्तिष्कमा अचानक एक प्रकारको खराबी भएर ढल्नुभयो। त्यसैले नयाँ पसलको जिम्मा मेरो काँधमा आइपऱ्‍यो। श्रीमान्‌ले चाहिं पुरानै पसल सँभाल्नुभयो। हाम्रो जीवन एकदमै व्यस्त हुन गयो।

नयाँ पसल एकदमै चल्यो। मलाई आफ्नो उपलब्धिमा गौरव महसुस भयो र रातदिन नभनी काममा घोटिएँ। छोराछोरीलाई माया गर्थें तर दिमागमा भने जहिले पनि कामकै मात्र ध्याउन्‍न हुन्थ्यो। श्रीमान्‌सित कुरा गर्ने प्रायः फुर्सदै थिएन, कुराकानी भइहाल्यो भने पनि भनाभन धेरै हुन्थ्यो। तनाव हटाउन प्रायजसो हरेक रात साथीभाइ र व्यापारी मित्रहरूसित रक्सी पिउन जान थालें। मेरो जीवन भनेकै काम, पिउनु र सुत्नु भयो। पैसा त टन्‍नै कमाएँ तर भित्रभित्रै झन-झन्‌ दुःखी हुँदै गएँ। यस्तो किन, बुझ्नै सकिनँ।

बाइबलले मेरो जीवनलाई कसरी नयाँ मोड दियो: यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि बाइबलका तीन वटा पदले मलाई गहिरो प्रभाव पाऱ्‍यो। मत्ती ५:३ को अर्थ बुझेपछि म रोएँ, जहाँ यस्तो लेखिएको छ: “धन्य आत्मामा दरिद्र हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” आर्थिक तवरमा सफल थिएँ। व्यापारी मित्रहरूले मेरो तारिफ गर्थे। तैपनि मलाई रित्तो महसुस हुन्थ्यो। यसको कारण यस पदमा बताइएको थियो। आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग भएर अनि यस आवश्‍यकतालाई पूरा गरेर मात्र साँच्चै आनन्दित हुन सकिने रहेछ भनेर बुझें।

त्यतिखेर जापानको अर्थतन्त्र नराम्रोसँग खस्केको थियो। मैले मेरा व्यापारी मित्रहरूमा १ तिमोथी ६:९ पूरा भएको देखें: “धनी हुने इच्छा गर्नेचाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌।” मत्ती ६:२४ मा येशूले भन्‍नुभएको कुरा मैले आफूमा लागू भएको महसुस गरें, त्यहाँ यसो भनिएको छ: “तिमीहरूले परमेश्‍वर र धन दुवैको चाकरी गर्नसक्‍तैनौ।” त्यसैले, जीवनमा परिवर्तनहरू गर्ने निर्णय गरें।

आमाबाबु, श्रीमान्‌ र छोराछोरीलाई बेवास्ता गरिरहेकी रहेछु भनेर मलाई महसुस भयो। ममा केही नराम्रा दुर्गुणहरू विकास भएको पनि छर्लंग भयो। घमन्डी भएकी थिएँ। मानिसहरूसित व्यवहार गर्दा अधीर हुन्थें। तुरुन्तै रिसाइहाल्थें। सुरुमा त परिवर्तन गर्न र ख्रीष्टियान बन्‍न सक्दिनँ जस्तो लाग्यो। तर म छोराछोरीलाई साँच्चै माया गर्थें र बाइबलको सल्लाह परिवारमा लागू गर्दा छोराछोरीले राम्रो प्रतिक्रिया देखाएको याद गरें। तिनीहरूसित धेरै समय बिताउन थालें र तिनीहरूलाई ख्रीष्टियान सभाहरूमा पनि लगें।

मैले कसरी लाभ उठाएकी छु: जीवनको उद्देश्‍य जानें। साथै परमेश्‍वरलाई मनपर्ने जीवनशैली अपनाएर उहाँको सेवा गर्न सक्षम भएँ। यसले गर्दा मैले साँचो आनन्द र सन्तुष्टि पाएकी छु। अहिले म काम-काम भन्दै परिवारलाई बेवास्ता गरी हिंड्‌दिनँ। त्यसैकारण, गुमाएको आत्म-सम्मान फेरि पाउन सकेकी छु।

बाइबल सिद्धान्त पालन गर्दा मेरो व्यक्‍तित्वमा सुधार आएको देखेर मेरी आमा बाइबल अध्ययन गर्न उत्प्रेरित हुनुभयो र ख्रीष्टियान बन्‍नुभयो। खुसीको कुरा, बुबा अनि श्रीमान्‌ दुवै हाम्रो निर्णयमा रोकावट बन्‍नुभएन। छोराछोरीसित अझ नजिक भएकी छु अनि अहिले साँच्चै सुखमय पारिवारिक जीवनको आनन्द उठाउँदैछु।

परिचय

नाम: मिकाइल जुयेफ

उमेर: ५१

देश: रूस

विगत: अवैध हतियार व्यापारी

मेरो विगत: चारैतिर हरियाली छाएको छ मेरो गृहनगर क्रास्नोगोर्स्कमा। दक्षिणमा मस्को नदी बहन्छ। नगरको पश्‍चिम र उत्तरमा रहेका आसपासका इलाकाहरू प्रायः पुरै घना जंगलले घेरिएका छन्‌।

सानो छँदा मलाई घुस्सी हानाहान गर्नु र हतियार खेलाउनु खूब मन पर्थ्यो। शारीरिक अभ्यासमा धेरै समय खर्च गर्थें। अवैध पेस्तोल, बन्दुक, गोला-बारुद र छुरा पनि बनाउने गर्थें। समयको दौडान यसैलाई आफ्नो धन्दा बनाएँ। अपराधीहरूलाई आफूले बनाएका सामानहरू एकदमै नियोजित र सफल ढंगमा बेच्थें।

बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो: सन्‌ १९९० दशकको सुरुतिर यहोवाका साक्षीहरूलाई भेटें तर सुरुमा तिनीहरूको पत्यार लागेन। तिनीहरूले चाहिंदो-नचाहिंदो कुरा गरेको जस्तो लाग्यो।

एक दिन तिनीहरूमध्ये एक जनाले मलाई रोमी १४:१२ पढेर सुनाए, जहाँ यस्तो लेखिएको छ: “हामी हरेकले परमेश्‍वरलाई आफ्ना-आफ्ना लेखा दिनुपर्नेछ।” परमेश्‍वरलाई मैले के भन्‍ने भनेर सोचें। परमेश्‍वर मबाट के चाहनुहुन्छ, यस पदले मलाई सिक्न उत्प्रेरित गऱ्‍यो।

कलस्सी ३:५-१० मा दिइएको सल्लाह पालन गर्न कडा मेहनत गरें: “यसकारण पृथ्वीमा भएका तिमीहरूका अङ्‌गहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो, यिनै कुराहरूका खातिरमा परमेश्‍वरको क्रोध आज्ञा नमान्‍नेहरू माथि पर्छ . . . तिमीहरूले पनि रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, यी सबै कुरा त्याग। एउटाले अर्कोलाई, नढाट, किनभने पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत तिमीहरूले त्यागेका छौ, औ नयाँ चोला धारण गरेर, आफूलाई सृष्टि गर्नेको रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्तन भएका छौ।”

यस्तो परिवर्तन गर्नु मलाई साह्रै गाह्रो भयो। पहिला मबाट हात-हतियार किन्‍ने अपराधीहरूले पैसा कबुल्दै हतियारको माग गर्थे। साथै, अरूले होच्याउँदा रीस थेग्न साह्रै गाह्रो लाग्थ्यो। तैपनि, ठूलो मात्रामा थुपारेर राखेको महँगो हातहतियार मैले नष्ट गरिदिएँ। परमेश्‍वर र ख्रीष्टले मप्रति देखाउनुभएको प्रेमबारे जानेपछि म पनि उहाँहरूलाई प्रेम गर्न उत्प्रेरित भएँ। व्यक्‍तिगत बाइबल अध्ययनमा लागिरहें, मण्डलीका सभाहरू धाइरहें र परमेश्‍वरलाई प्रार्थना गरेर मदत मागिरहें।

मैले कसरी लाभ उठाएको छु: अथक प्रयास र ख्रीष्टियान भाइबहिनीहरूको मदतले अलि-अलि गर्दै राम्रो व्यक्‍तित्व विकास गर्न सकेको छु। यहोवा परमेश्‍वरले हामी सबैलाई—मरिसकेका समेतलाई—ख्याल गर्नुहुन्छ भनी बुझ्दा मलाई एकदमै आनन्द लाग्छ। (प्रेरि. २४:१५) यहोवाका साक्षीहरूमाझ छाएको निष्कपटता र इमानदारीको म ठूलो मोल गर्छु। अनि तिनीहरूले मप्रति देखाएको निष्कपट चासोको लागि आभारी छु र परमेश्‍वरप्रति कायम गरेको वफादारिताको निम्ति पनि तिनीहरूको मुक्‍त कण्ठले प्रशंसा गर्छु।

मैले अँगालेको नयाँ विश्‍वासको कतिपय मित्र र परिवारका सदस्यहरूले सुरुमा विरोध गरे। तर नियोजित अपराधमा लाग्नुभन्दा धर्ममा संलग्न हुनु नै मेरो लागि राम्रो हो भन्‍ने सोचेर तिनीहरूले मन बुझाए। अहिले म खुसी छु किनभने मेरो जीवन युद्धको हात-हतियार बेचबिखनमा नभई शान्तिका परमेश्‍वरबारे अरूलाई बताउनमा समर्पित छ। (w 08 8/1)

[पृष्ठ २१-मा भएको चित्र]

दोषी भावना कम गर्न म क्याथोलिक धार्मिक समारोहहरूमा भाग लिन्थें

[पृष्ठ २१-मा भएको चित्र]

पैसा त टन्‍नै कमाएँ तर एकदमै दुःखी थिएँ