सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा “मुक्‍ति दिने” परमेश्‍वर—हाम्रो समयमा

यहोवा “मुक्‍ति दिने” परमेश्‍वर—हाम्रो समयमा

यहोवा “मुक्‍ति दिने” परमेश्‍वर—हाम्रो समयमा

“परमप्रभुले मदत गरेर तिनीहरूलाई जोगाउनुहुन्छ।”—भज. ३७:४०.

१, २. यहोवाबारे कुन ध्रुवसत्य हाम्रो लागि सान्त्वना र बलको स्रोत साबित हुन सक्छ?

 घामले बनाउने छाया स्थिर रहिरहँदैन। पृथ्वी घुम्दै जाँदा छाया परिवर्तन भइरहन्छ। तर पृथ्वी र घामका सृष्टिकर्ता भने कहिल्यै परिवर्तन हुनुहुन्‍न। (मला. ३:६) बाइबल भन्छ, उहाँमा “कहिल्यै अदल-बदल, हुने र फेरिने छायाँ छैन।” (याकू. १:१७) यहोवाबारे यो ध्रुवसत्य, विशेषगरि परीक्षा तथा चुनौतीहरूको मुखमा पर्दा हाम्रो लागि साँच्चै नै सान्त्वना र बलको स्रोत साबित हुन्छ। किन?

अघिल्लो लेखबाट बुझ्यौं, बाइबल समयमा यहोवा “मुक्‍ति दिने” परमेश्‍वर साबित हुनुभयो। (भज. ७०:५) उहाँ परिवर्तन हुनुहुन्‍न र आफ्नो वचन सधैं पूरा गर्नुहुन्छ। त्यसैकारण, आज यहोवाका उपासकहरूसित उहाँले आफ्ना जनहरूलाई “मदत गरेर . . . जोगाउनुहुन्छ” भनी विश्‍वास गर्ने हर कारण छ। (भज. ३७:४०) वर्तमान समयमा यहोवाले आफ्ना जनहरूलाई कसरी जोगाउनुभएको छ? अनि हामीलाई व्यक्‍तिगत तवरमा नि?

विरोधीहरूबाट छुटाइएको

३. विरोधीहरू परमेश्‍वरका जनहरूलाई सुसमाचार प्रचार गर्नदेखि रोक्न सफल हुनेछैनन्‌ भनेर किन पक्का हुन सक्छौं?

यहोवा ऐकान्तिक भक्‍ति पाउन योग्य हुनुहुन्छ र त्यो भक्‍ति चढाउनदेखि उहाँका साक्षीहरूलाई शैतानको जस्तोसुकै विरोधले पनि कहिल्यै रोक्न सक्दैन। परमेश्‍वरको वचनले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, औ मामिलामा तेरो विरुद्धमा उठ्‌ने जोसुकैलाई पनि तैंले हराउनेछस्‌।” (यशै. ५४:१७) विरोधीहरूले कोसिस नगरेको त होइन तर परमेश्‍वरका जनहरूलाई प्रचार गर्ने आज्ञा पूरा गर्नदेखि रोक्न सकेका छैनन्‌। आउनुहोस्‌, हामी दुइटा उदाहरण हेरौं।

४, ५. सन्‌ १९१८ मा यहोवाका जनहरूले कस्तो विरोधको सामना गर्नुपऱ्‍यो र नतिजा के भयो?

सन्‌ १९१८ मा यहोवाका जनहरूले चर्चका पादरीहरूद्वारा उक्साइएको विरोधको सामना गर्नुपऱ्‍यो। त्यो सतावट दिनुको उद्देश्‍य प्रचारकार्य ठप्प पार्नु थियो। मे ७ का दिन त्यतिबेला प्रचारकार्यमा अगुवाइ लिइरहेका भाइ जे. एफ. रदरफोर्ड र मुख्यालयका अन्य केही भाइहरू विरुद्ध अमेरिकी संघीय सरकारले पक्राउ पूर्जी काट्यो। दुई महिनाभित्र नै भाइ रदरफोर्ड तथा अन्य भाइहरू विरुद्ध षड्यन्त्रको झूटो अभियोग लगाइयो र लामो जेल सजाय सुनाइयो। के विरोधीहरू कानुनको सहारा लिएर प्रचारकार्यलाई ठप्प पार्न सफल भए? अहँ, भएनन्‌!

यहोवाको यो प्रतिज्ञा याद गर्नुहोस्‌: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ।” सन्‌ १९१९, मार्च २६ का दिन घटनाले आशै नगरेको मोड लियो। थुनामा परेको नौ महिनापछि भाइ रदरफोर्ड र अन्य भाइहरूलाई जमानतमा मुक्‍त गरियो। अर्को वर्ष, सन्‌ १९२०, मे ५ मा तिनीहरू विरुद्ध लगाइएको अभियोग फिर्ता लिइयो। भाइहरू आफ्नो स्वतन्त्रताको सदुपयोग गर्दै राज्य प्रचारकार्यमा जोडतोडका साथ लागे। नतिजा? हो, त्यतिबेलादेखि अभूतपूर्व वृद्धि भइरहेको छ! यसको सबै श्रेय “मुक्‍ति दिने” परमेश्‍वरलाई जान्छ।—१ कोरि. ३:७.

६, ७. (क) नाजी जर्मनीमा यहोवाका साक्षीहरू विरुद्ध कस्तो अभियान सुरु गरियो र नतिजा के भयो? (ख) यहोवाका साक्षीहरूको आधुनिक इतिहासले के पुष्टि गर्छ?

अब दोस्रो उदाहरण विचार गरौं। सन्‌ १९३४ मा हिटलरले जर्मनीमा यहोवाका साक्षीहरूको अवशेष पनि नरहने गरी सखाप पार्ने शपथ खाए। यो हावादारी शपथ त थिएन। चारैतिर पक्राउ र जेलसजाय भयो। हजारौं साक्षीहरू सतावट र दुर्व्यवहारको शिकार भए भने अन्य सयौं यातना शिविरमा मारिए। साक्षीहरूलाई खतम पार्ने अभियानमा के हिटलर सफल भए? के तिनले जर्मनीमा प्रचारकार्य बन्द गर्न सके? अहँ! सतावटको दौडान पनि हाम्रा भाइहरूले लुकीछिपी प्रचारकार्यलाई निरन्तरता दिइरहे। नाजी शासन अन्तपछि प्राप्त स्वतन्त्रताको फाइदा उठाउँदै तिनीहरू प्रचारकार्यमा लागिरहे। आज जर्मनीमा १,६५,००० भन्दा धेरै राज्य प्रकाशकहरू छन्‌। यहाँ पनि “मुक्‍ति दिने” परमेश्‍वरले “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ” भन्‍ने प्रतिज्ञा पूरा गर्नुभयो।

यहोवाले आफ्ना जनहरूलाई सामूहिक रूपमा कहिल्यै खतम हुन दिनुहुन्‍न। यो कुरा यहोवाका साक्षीहरूको आधुनिक इतिहासले पुष्टि गर्छ। (भज. ११६:१५) तर हामी व्यक्‍तिविशेषबारे के भन्‍न सकिन्छ नि? उहाँले हामीलाई कसरी व्यक्‍तिगत रूपमा जोगाउनुहुन्छ?

शारीरिक सुरक्षा

८, ९. (क) अहिले नै हाम्रो शारीरिक सुरक्षाको ग्यारेन्टी दिइएको छैन भनेर हामी कसरी थाह पाउन सक्छौं? (ख) हामीले व्यावहारिक भई के कुरा मानिलिनुपर्छ?

अहिले नै प्रत्येक व्यक्‍तिलाई शारीरिक सुरक्षाको ग्यारेन्टी यहोवाले दिनुभएको छैन भनेर हामीलाई थाह छ। राजा नबूकदनेसरले बनाएको मूर्तिलाई दण्डवत्‌ गर्न इन्कार गर्ने तीन हिब्रू ठीटाहरूको जस्तै अडान हामी लिन्छौं। परमेश्‍वरको भय राख्ने ती ठीटाहरूले आफूहरूलाई यहोवाले चमत्कारपूर्ण ढंगमा शारीरिक हानिबाट बचाउनुहुन्छ भन्‍ने आशा गरेनन्‌। (दानियल ३:१७, १८ पढ्‌नुहोस्‌) तर यहोवाले तिनीहरूलाई दन्केको आगोबाट बचाउनुभयो भनेर हामीलाई थाह छ। (दानि. ३:२१-२७) बाइबल समयमा पनि चमत्कारपूर्ण छुटकारा विरलै हुन्थ्यो। विरोधीहरूको हातबाट यहोवाका थुप्रै विश्‍वासी सेवकहरूले मृत्यु भोग्नुपऱ्‍यो।—हिब्रू ११:३५-३७.

आज नि? यहोवा “मुक्‍ति दिने” परमेश्‍वर हुनुभएकोले हामीलाई पक्कै पनि खतरनाक परिस्थितिबाट बचाउन सक्नुहुन्छ। यहोवाले कुनै खास घटनामा हस्तक्षेप गर्नुभयो कि भएन, के हामीले ठोकुवा गरेर भन्‍न सक्छौं? अहँ, सक्दैनौं। तैपनि, खतरनाक परिस्थितिबाट उम्कन सफल भएको व्यक्‍तिलाई यहोवाले हस्तक्षेप गर्नुभएको महसुस होला। यस विषयमा तिनको भावनाको कदर नगर्नु अहंकार देखाइरहेको हुनेछ। साथै हामीले यो कुरा व्यावहारिक भई मानिलिनुपर्छ कि थुप्रै विश्‍वासी ख्रीष्टियानहरू सतावटको कारण मृत्युको मुखमा परेका छन्‌, जस्तो कि नाजी शासनको दौडान। अन्य कतिपय चाहिं दुःखलाग्दो परिस्थितिका कारण मरेका छन्‌। (उप. ९:११) हामीले यस्तो प्रश्‍न गरौंला, ‘के अकालमै मृत्यु भएकाहरूका लागि यहोवा “मुक्‍ति दिने” परमेश्‍वर साबित हुन सक्नुभएन?’ त्यसो त पक्कै होइन।

१०, ११. मृत्युको अघि मानिस किन लाचार हुन्छ तर यहोवाले के गर्न सक्नुहुन्छ?

१० यो कुरा विचार गर्नुहोस्‌: मृत्युको अगाडि मानिस लाचार छ किनभने कोही मानिसले पनि “आफ्नो प्राणलाई पातालबाट [अर्थात्‌ “शिओलबाट,” NW] छुटकारा” दिन सक्दैन। शिओल अर्थात्‌ हेडिस मानिसजातिको चिहान हो। (भज. ८९:४८) तर यहोवाले चाहिं हामीलाई मृत्युबाट छुटकारा दिन सक्नुहुन्छ कि सक्नुहुन्‍न? नाजी विध्वंसको समयमा बच्न सफल एउटी बहिनीले आफ्नी साक्षी आमाले प्रिय जनहरूको मृत्यु हुँदा सान्त्वना दिन भनेको कुरा यसरी सम्झना गर्छिन्‌: “मृत्युले मानिसजातिलाई सदासर्वदाको लागि आफ्नो चंगुलमा पार्छ भने त त्यो परमेश्‍वरभन्दा शक्‍तिशाली भयो नि, होइन र?” पक्कै पनि मृत्यु जीवनको सर्वशक्‍तिमान्‌ स्रोतभन्दा शक्‍तिशाली त छैन! (भज. ३६:९) शिओल वा हेडिसमा भएका सबै मानिस यहोवाको सम्झनामा छन्‌ र उहाँले ती प्रत्येकलाई मुक्‍ति दिनुहुनेछ।—लूका २०:३७, ३८; प्रका. २०:११-१४.

११ त्यतिन्जेल, यहोवा आफ्ना विश्‍वासी जनहरूको जीवनमा प्रत्यक्ष रूपमा सामेल हुनुहुन्छ। उहाँ हाम्रोलागि “मुक्‍ति दिने” परमेश्‍वर साबित हुनुभएको तीन क्षेत्रलाई विचार गरौं।

आध्यात्मिक तवरमा सुरक्षित

१२, १३. आध्यात्मिक सुरक्षा किन सर्वमहत्त्वपूर्ण छ र यहोवाले त्यस्तो सुरक्षा कसरी प्रदान गर्नुहुन्छ?

१२ यहोवाले हामीलाई आध्यात्मिक तवरमा सुरक्षा प्रदान गर्नुहुन्छ जुन सर्वमहत्त्वपूर्ण छ। हाम्रो अहिलेको जीवनभन्दा पनि महत्त्वपूर्ण कुरा आध्यात्मिक सुरक्षा हो भनेर हामी साँचो ख्रीष्टियानहरूले बुझेका छौं। हाम्रो सबैभन्दा अनमोल सम्पत्ति भनेको यहोवासितको व्यक्‍तिगत सम्बन्ध हो। (भज. २५:१४; ६३:३) त्यो सम्बन्धविना अहिलेको जीवनको केही अर्थ रहने छैन अनि भावी आशा पनि गुमाउनेछौं।

१३ खुसीको कुरा, यहोवाले उहाँसँग नजिकको सम्बन्ध कायम राख्न हामीलाई चाहिने सबै मदत प्रदान गर्नुहुन्छ। उहाँले हाम्रो मदतको लागि आफ्नो वचन, पवित्र आत्मा र विश्‍वव्यापी मण्डलीको प्रबन्ध गर्नुभएको छ। यी सबै प्रबन्धको हामी कसरी सदुपयोग गर्न सक्छौं? नियमित तवरमा लगनशील भई उहाँको वचन अध्ययन गरेर आफ्नो विश्‍वास र आशालाई अझ बलियो अनि उज्यालो बनाउँछौं। (रोमी १५:४) निष्कपटता साथ उहाँको आत्माको लागि प्रार्थना गर्दा उहाँसितको सम्बन्धलाई खतरामा पार्ने गतिविधिमा भाग लिने प्रलोभनको प्रतिरोध गर्न मदत पाउँछौं। (लूका ११:१३) दास वर्गले बाइबल आधारित प्रकाशन, सभा, सम्मेलन र अधिवेशन मार्फत दिने निर्देशनसित अभ्यस्त भइरहँदा हामी ‘ठीक ठीक समयमा दिएको’ आध्यात्मिक ‘खानाबाट’ पोषण पाइरहन्छौं। (मत्ती २४:४५) त्यस्तो प्रबन्धले हामीलाई आध्यात्मिक तवरमा जोगाउँछ र परमेश्‍वरको नजिक रहिरहन मदत गर्छ।—याकू. ४:८.

१४. आध्यात्मिक सुरक्षालाई प्रकाश पार्ने एउटा अनुभव बताउनुहोस्‌।

१४ यहोवाले त्यस्तो सुरक्षा कसरी प्रदान गर्नुहुन्छ भन्‍नेबारे अघिल्लो लेखको पहिलो अनुच्छेदमा उल्लेख गरिएका आमाबाबुलाई सम्झनुहोस्‌। आफ्नी छोरी थेरीसा हराएको रिपोर्ट गरेको केही दिनपछि तिनीहरूले अत्यन्तै दुःखद्‌ समाचार पाए: तिनको हत्या गरिएको थियो। a बुबा यस्तो सम्झना गर्छन्‌: “यहोवालाई मैले उसको रक्षा गर्नुहोस्‌ भनी प्रार्थना गरेको थिएँ। उसको हत्या भएको खबर सुनेपछि मेरा प्रार्थनाहरूको सुनुवाइ किन नभएको होला जस्तो लाग्यो। हुन त, यहोवाले प्रत्येक व्यक्‍तिलाई चमत्कारपूर्ण ढंगमा बचाउने ग्यारेन्टी दिनुभएको छैन। मैले समझको लागि प्रार्थना गरिरहें। यहोवाले आफ्ना जनहरूलाई आध्यात्मिक तवरमा सुरक्षित राख्नुहुन्छ अर्थात्‌ उहाँसितको हाम्रो सम्बन्ध कायमै राख्न आवश्‍यक मदत प्रदान गर्नुहुन्छ भनी थाह भएकोले सान्त्वना पाएको छु। त्यस्तो सुरक्षा सबैभन्दा महत्त्वपूर्ण छ किनभने यसले हाम्रो अनन्त भविष्यलाई असर गर्छ। त्यस अर्थमा यहोवाले थेरीसालाई साँच्चै सुरक्षित राख्नुभयो। उनी मृत्युसम्मै विश्‍वासी रहिन्‌। उनको भावी आशाका प्रत्याशाहरू यहोवाको मायालु प्रबन्धमा सुरक्षित छन्‌ भनेर थाह पाउँदा निकै शान्ति महसुस गरेको छु।”

बिरामी पर्दा सँभालिएको

१५. बिमारीले गाँज्दा कुन-कुन तरिकामा यहोवाले हामीलाई मदत गर्न सक्नुहुन्छ?

१५ दाऊदलाई जस्तै यहोवाले हामीलाई पनि “बिरामी अवस्थामा पलङ्‌गैमा” सँभाल्न सक्नुहुन्छ। (भज. ४१:३) वर्तमान समयमा यहोवाले चमत्कारपूर्ण ढंगमा हामीलाई मुक्‍ति नदिनु भए तापनि मदत चाहिं दिनुहुन्छ। कसरी? उहाँको वचनमा पाइने सिद्धान्तको आधारमा हामी आफ्नो उपचार र अन्य विषयमा बुद्धिमानी निर्णय लिन सक्छौं। (हितो. २:६) स्वास्थ्य समस्यासित सम्बन्धित विषयमा प्रहरीधरहराब्यूँझनुहोस्‌!-का लेखबाट उपयोगी जानकारी र व्यावहारिक सुझावहरू लिन सक्छौं। पवित्र आत्मा मार्फत्‌ यहोवाले हामीलाई आफ्नो परिस्थितिको सामना गर्न र जस्तो सुकै अवस्थामा पनि निष्ठा कायम राख्न “सर्वश्रेष्ठ शक्‍ति” दिन सक्नुहुन्छ। (२ कोरि. ४:७, NRV) त्यस्तो मदत पाउँदा रोगकै चिन्तामा चुर्लुम्मै नडुबी आध्यात्मिकतामा ध्यान दिइरहन मदत पाउन सक्छौं।

१६. कसरी एक भाइले आफ्नो रोगसित जुझ्न सकेका छन्‌?

१६ अघिल्लो लेखको सुरुमा उल्लेख गरिएको जवान भाइलाई विचार गर्नुहोस्‌। सन्‌ १९९८ मा उनलाई पछि गएर पूरै पक्षघात हुने रोग ए एल एस (amyotrophic lateral sclerosis) लागेको पत्ता लाग्यो। b यो बिमारी तिनले कसरी सहन सकेका छन्‌? तिनी भन्छन्‌: “मुक्‍ति पाउने एउटै मात्र बाटो मृत्यु हो भन्‍ने महसुस हुँदा म पूरै पीडित र दुःखित हुन्छु। असह्‍य हुँदा म यहोवालाई तीन वटा कुरा दिनुहोस्‌ भनी प्रार्थना गर्छु: शान्त मन, धैर्य र सहनशीलता। यहोवाले मेरो प्रार्थनाको जवाफ दिनुभएको छ जस्तो मलाई लाग्छ। शान्त मनले मलाई सान्त्वनादायी कुराहरू सोच्न मदत गर्छ। जस्तै: नयाँ संसारमा हिंडडुल गर्न, स्वादिष्ट भोजनको आनन्द उठाउन र आफ्नो परिवारसित फेरि कुरा गर्न सकेको म कल्पना गर्छु। धैर्यले मलाई पक्षघातको कारण हुने अप्ठ्यारो र चुनौतीहरू सहन मदत गर्छ। धैर्यले मलाई विश्‍वासी रहन र आध्यात्मिक सन्तुलन नगुमाउन मदत गर्छ। दाऊदको भावना म राम्ररी बुझ्न सक्छु किनभने यहोवाले मलाई बिरामी अवस्थामा पलङ्‌गमै सँभाल्नुभएको म महसुस गर्छु।”—यशै. ३५:५, ६.

खान-लाउन जुटाइएको

१७. यहोवाले हामीलाई के गर्ने प्रतिज्ञा गर्नुभएको छ र यो प्रतिज्ञाको अर्थ के हो?

१७ यहोवाले हामीलाई भौतिक तवरमा हेरचाह गर्ने प्रतिज्ञा गर्नुभएको छ। (मत्ती ६:३३, ३४ र हिब्रू १३:५, ६ पढ्‌नुहोस्‌) त्यसको अर्थ भौतिक आवश्‍यकता चमत्कारपूर्ण ढंगमा पूरा हुन्छ भनेर आशा गर्नु वा काम गर्नु पर्दैन भन्‍ने होइन। (२ थिस्स. ३:१०) त्यो प्रतिज्ञाको अर्थ हो: हामीले जीवनमा परमेश्‍वरको राज्यलाई प्राथमिकता दियौं र जीविकोपार्जनको लागि काम गर्न इच्छुक भयौं भने जीवनका आवश्‍यकताहरू जुटाउन यहोवाले मदत गर्नुहुन्छ भनेर उहाँमा भर पर्न सक्छौं। (१ थिस्स. ४:११, १२; १ तिमो. ५:८) हामीले आशै नगरेको तरिकामा उहाँले मदतको चाँजोपाँजो मिलाइ दिन सक्नुहुन्छ। सायद सँगी उपासकले हामीलाई भौतिक मदत दिन वा कामको प्रस्ताव राख्न सक्छन्‌।

१८. खाँचोको बेला हाम्रो हेरचाह गरिन्छ भनी देखाउने एउटा अनुभव बताउनुहोस्‌।

१८ अघिल्लो लेखको सुरुमा उल्लेख गरिएको एक्ली आमालाई सम्झनुहोस्‌। तिनी र तिनकी सानी छोरी नयाँ इलाकामा सर्दा तिनलाई जागिर पाउन निकै धौ-धौ पऱ्‍यो। तिनी भन्छिन्‌: “म बिहान प्रचारमा जान्थें र दिउँसो काम खोज्न हिंड्‌थे। एक दिन एउटा किराना पसलमा दूध किन्‍न गएको बेलाको घटना मलाई अझै याद छ। म त्यहाँ टक्क अडिएर तरकारीहरू हेरिरहें तर मसँग किन्‍ने पैसा थिएन। जिन्दगीमा त्यो बेला जस्तो दिक्क मलाई कहिल्यै लागेन। त्यो दिन घर फर्कंदा घर पछाडिको बरन्डामा तरकारीका पोकाहरू देखें र ती पोकाहरूमा के मात्र तरकारी थिएन। महिनौंको लागि काफी थियो। आँसु थाम्नै सकिनँ र यहोवालाई धन्यवाद चढाएँ।” त्यो तरकारी मण्डलीको एउटा भाइले छोडेको कुरा तिनले थाह पाइन्‌। त्यो भाइको आफ्नै करेसाबारी थियो। ती बहिनीले पछि उक्‍त भाइलाई यस्तो लेखिन्‌: “त्यस दिन मैले तपाईंलाई धेरै धन्यवाद दिएँ, साथै यहोवालाई पनि धन्यवाद चढाएँ किनभने उहाँको माया मलाई सम्झाउन उहाँले तपाईंलाई चलाउनुभयो।”—हितो. १९:१७.

१९. महा संकष्टमा यहोवाका सेवकहरू कुन कुरामा विश्‍वस्त हुन सक्छन्‌ र अहिले हामी के गर्न कटिबद्ध हुनुपर्छ?

१९ स्पष्टतः बाइबल समयमा र हाम्रो समयमा यहोवाले गर्नुभएका कुराहरूलाई विचार गर्दा उहाँ हाम्रो सहायक हुनुहुन्छ भनी भरोसा गर्ने कारण पाउँछौं। चाँडै, शैतानको संसारमाथि महा संकष्ट आइपर्दा हामीलाई यहोवाको मदतको पहिलाभन्दा धेरै आवश्‍यकता पर्नेछ। तैपनि, यहोवाका सेवकहरू उहाँमाथि पूर्ण विश्‍वस्त हुन सक्नेछन्‌। अनि छुटकारा नजिकै छ भनी जानेर आफ्नो शिर उठाई रमाहट गर्न सक्नेछन्‌। (लूका २१:२८) त्यतिन्जेल, जस्तोसुकै परीक्षा आइपरे तापनि हाम्रो परिवर्तन नहुने परमेश्‍वर यहोवा नै वास्तवमा “मुक्‍ति दिने” परमेश्‍वर हुनुहुन्छ भनी पूर्ण आश्‍वस्त हुँदै उहाँमा भरोसा राख्न कटिबद्ध होऔं। (w 08 9/15)

[फुटनोटहरू]

b जनवरी २००६, अवेक!-को पृष्ठ २५-२९ मा “ए एल एस-ले गाँज्दा विश्‍वासले सँभालिएको” भन्‍ने लेख हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

• अकालमै मृत्यु भएकाहरूलाई यहोवाले कसरी मुक्‍ति दिन सक्नुहुन्छ?

• आध्यात्मिक सुरक्षा किन सबैभन्दा महत्त्वपूर्ण छ?

• हामीलाई भौतिक तवरमा हेरचाह गर्ने यहोवाको प्रतिज्ञाको अर्थ के हो?

[प्रश्‍नहरू]