सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अनन्त जीवन पाउन तपाईं के दिनुहुन्छ?

अनन्त जीवन पाउन तपाईं के दिनुहुन्छ?

अनन्त जीवन पाउन तपाईं के दिनुहुन्छ?

“आफ्नो प्राणको बदलामा मानिसले के देला र?”—मत्ती १६:२६.

१. येशूले पत्रुसको हप्काइ सुन्‍नुभएन, किन?

 प्रेरित पत्रुसलाई आफूले सुनेको कुरा पचाउन साह्रै गाह्रो लाग्यो। आफ्ना प्यारो अगुवा येशू ख्रीष्टले आफूले चाँडै दुःख भोग्ने र आफूलाई मारिने कुरा “प्रष्टसँग” चेलाहरूलाई बताइरहनुभएको थियो। पत्रुसले येशूलाई हकार्दै राम्रै मनसायले यसो भने: “परमेश्‍वरको कृपा रहोस्‌, प्रभु, यस्तो कुरा तपाईंमाथि कदापि परिआउने छैन।” तर पत्रुसबाट फनक्क फर्केर येशूले अरू चेलाहरूतर्फ हेर्नुभयो। सायद तिनीहरूले पनि त्यस्तै गलत सोचाइ राखेका थिए। त्यसपछि उहाँले पत्रुसलाई भन्‍नुभयो: “ए शैतान, मबाट हटी जा, किनकि तँ परमेश्‍वरको होइन, तर मानिसहरूको कुरामा ध्यान दिंदोरहेछस्‌।”—मर्कू. ८:३२, ३३; मत्ती १६:२१-२३.

२. साँचो चेलाहरूबाट आशा गरिएको कुरा येशूले कसरी बताउनुभयो?

येशूले त्यस्तो कडा प्रतिक्रिया देखाउनुको कारण उहाँले त्यसपछि भन्‍नुभएका शब्दहरूबाट पत्रुसलाई स्पष्ट भएको हुनुपर्छ। “आफ्ना चेलाहरूका साथमा भीडलाई आफूकहाँ बोलाएर” येशूले भन्‍नुभयो: “कोही मानिस मपछि लाग्न इच्छा गर्दछ भने, त्यसले आफूलाई इन्कार गरोस्‌, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्‌। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ, र मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ।” (मर्कू. ८:३४, ३५) यहाँ येशूले “जीवन” बुझाउन “प्राण” शब्द चलाउनुभएको छ। स्पष्ट छ, उहाँले आफ्नो जीवन त अर्पण गर्नु नै हुने थियो, त्यसका साथै आफ्नो पछि लाग्नेहरू पनि परमेश्‍वरको सेवामा जीवन अर्पण गर्न तयार होऊन्‌ भन्‍ने चाहनुहुन्थ्यो। त्यसो गरेमा तिनीहरूले ठूलो इनाम पाउने थिए।—मत्ती १६:२७ पढ्‌नुहोस्‌।

३. (क) येशूले आफ्ना श्रोताहरूलाई के प्रश्‍न गर्नुभयो? (ख) येशूको दोस्रो प्रश्‍न सुन्दा उहाँका श्रोताले के कुरा सम्झेको हुनुपर्छ?

सोही अवसरमा येशूले दुइटा एकदमै चाखलाग्दो प्रश्‍न गर्नुभयो: “मानिसले सारा जगत्‌ हात पारेर आफ्नो प्राणचाहिं गुमायो भने त्यसलाई के फायदा हुन्छ?” र “मानिसले आफ्नो प्राणको सट्टामा के दिनसक्छ?” (मर्कू. ८:३६, ३७) पहिलो प्रश्‍नको जवाफ त भनिराख्नु नपर्ला। मानिसले आफ्नो जीवन अर्थात्‌ प्राण गुमायो भने उसले हात पारेको सारा जगत्‌ केही कामको हुँदैन। धन-दौलत आफू जीवित होउन्जेल मात्र उपभोग गर्न सकिन्छ। “मानिसले आफ्नो प्राणको सट्टामा के दिनसक्छ?” भनी येशूले दोस्रो प्रश्‍न सोध्नुहुँदा शैतानले अय्यूबको समयमा तेर्साएको यो आरोप श्रोताहरूको मनमा आएको हुन सक्छ: “आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र?” (अय्यू. २:४) यहोवाको उपासना नगर्ने कतिपयलाई शैतानका शब्दहरू सोह्रै आना ठीक लाग्ला। बाँच्नको लागि थुप्रै मानिस जे गर्न पनि, जस्तोसुकै नैतिक हद पार गर्न पनि तयार हुन्छन्‌। तर ख्रीष्टियानहरूको दृष्टिकोण फरक छ।

४. येशूको प्रश्‍नले ख्रीष्टियानहरूका लागि किन गहिरो अर्थ राख्छ?

यस संसारमा हामीलाई सुस्वास्थ्य, धन र दीर्घ आयु दिन येशू पृथ्वीमा आउनुभएको होइन भनेर हामीलाई थाह छ। नयाँ संसारमा सधैंभरि बाँच्ने सुनौलो अवसरको ढोका खोल्न उहाँ आउनुभएको थियो। अनि उहाँको कारण सम्भव भएको त्यस आशाको हामी धेरै मोल गर्छौं। (यूह. ३:१६) “मानिसले सारा जगत्‌ हात पारेर आफ्नो प्राणचाहिं गुमायो भने त्यसलाई के फायदा हुन्छ?” भन्‍ने येशूको पहिलो प्रश्‍नको जवाफ ख्रीष्टियानहरूलाई थाह छ। जवाफ हो, केही फाइदाको हुँदैन। (१ यूह. २:१५-१७) येशूको दोस्रो प्रश्‍नको जवाफ दिन हामीले आफूलाई यो प्रश्‍न गर्न सक्छौं, ‘नयाँ संसारमा बाँच्ने मेरो आशालाई सुनिश्‍चित पार्न म अहिले कुन हदसम्म त्यागहरू गर्न इच्छुक छु?’ यस प्रश्‍नको जवाफ हाम्रो जीवनशैलीमा झल्किनुपर्छ अनि यसैबाट यो आशालाई हामीले कत्तिको महत्त्व दिएका छौं, प्रस्ट हुन्छ।—यूहन्‍ना १२:२५ तुलना गर्नुहोस्‌।

५. अनन्त जीवनको वरदान हामी कसरी पाउन सक्छौं?

अवश्‍यै पनि येशूको भनाइको तात्पर्य अनन्त जीवन कमाउन सकिन्छ भन्‍ने थिएन। जीवन—चाहे, यस रीतिरिवाजमा जिइरहेको छोटो जीवन नै किन नहोस्‌—एउटा वरदान हो। हामीले यो किन्‍न सक्दैनौं न यो प्राप्त गर्न लायकको केही गर्न नै सक्छौं। अनन्त जीवनको वरदान पाउन सक्ने एउटै मात्र तरिका आफूलाई “खोज्नेहरूलाई प्रतिफल” दिनुहुने यहोवा र “येशू ख्रीष्टमाथि विश्‍वास” गर्नु हो। (हिब्रू ११:६; गला. २:१६) तर विश्‍वास कामद्वारा देखाउनै पर्छ किनभने “विश्‍वास . . . कामविना मरेको हुन्छ।” (याकू. २:२६) त्यसैले येशूको प्रश्‍नमा अझै चिन्तन-मनन गर्दा यी कुरामा गम्भीर भई सोच्नु बेस हुन्छ: यस रीतिरिवाजमा हामी कत्तिको त्याग गर्न इच्छुक छौं? अनि आफ्नो विश्‍वास साँच्चै जीवित छ भनी देखाउन यहोवाको सेवामा हामी के गर्न इच्छुक छौं?

“ख्रीष्टले . . . आफैलाई खुश तुल्याउनुभएन”

६. येशूले कुन कुरालाई पहिलो स्थान दिनुभयो?

पृथ्वीमा हुँदा संसारले दिन सक्ने कुरामा येशूले ध्यान दिनुभएन। बरु, महत्त्वपूर्ण कुराहरूमा केन्द्रित हुनुभयो र जीवनलाई सुखमय बनाउने भौतिक प्रलोभनहरू तिरस्कार गर्नुभयो। उहाँ जीवनभर नै यहोवाप्रति आज्ञाकारी हुनुभयो र त्यागको जीवन बिताउनुभयो। आफूलाई खुस तुल्याउने कुराहरू गर्नुको सट्टा उहाँले यसो भन्‍नुभयो: “म सधैं [परमेश्‍वरलाई] मन पर्ने कुराहरू गर्दछु।” (यूह. ८:२९) परमेश्‍वरलाई खुसी तुल्याउन येशू कुन हदसम्म इच्छुक हुनुभयो?

७, ८. (क) येशूले के त्याग गर्नुभयो र कस्तो इनाम पाउनुभयो? (ख) हामीले आफूलाई कस्तो प्रश्‍न सोध्नुपर्छ?

एकचोटि येशूले चेलाहरूलाई यस्तो भन्‍नुभयो: “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई आयो।” (मत्ती २०:२८) यो कुरा भन्‍नुअघि येशूले चाँडै “आफ्नो प्राण” दिनुपर्छ भनी आफ्ना अनुयायीहरूलाई बताउँदा पत्रुसले उहाँलाई आफूप्रति कृपा देखाउन आग्रह गरेका थिए। तर येशूले पत्रुसको कुरा नसुनी राजीखुसी मानिसजातिको लागि आफ्नो सिद्ध मानव शरीर अर्थात्‌ प्राण अर्पण गर्नुभयो। निःस्वार्थ भाव देखाएको कारण उहाँको आफ्नै भविष्य पनि सुनिश्‍चित रह्‍यो। उहाँको पुनरुत्थान भयो र “परमेश्‍वरका दाहिने बाहुली[पट्टि] उच्च” पारिनुभयो। (प्रेरि. २:३२, ३३) त्यसैले उहाँ हाम्रो लागि एक उत्कृष्ट उदाहरण हुनुभयो।

प्रेरित पावलले रोमका ख्रीष्टियानहरूलाई “आफैलाई मात्र खुशी पार्ने इच्छा” ( NRV ) राख्नुहुँदैन भनी सल्लाह दिए। साथै यो कुरा पनि सम्झाए, “ख्रीष्टले पनि आफैलाई खुश तुल्याउनुभएन।” (रोमी १५:१-३) त्यसोभए हामीले कुन हदसम्म प्रेरित पावलका सल्लाह व्यवहारमा उतार्नेछौं र ख्रीष्टको अनुकरण गर्दै त्यागहरू गर्न कत्तिको इच्छुक हुनेछौं?

हामीले सबैभन्दा उत्तम कुरा चढाएको यहोवा चाहनुहुन्छ

९. आफ्नो जीवन यहोवालाई समर्पण गर्दा वास्तवमा एक ख्रीष्टियानले के गरिरहेको हुन्छ?

प्राचीन इस्राएलमा मोशाको व्यवस्थाअनुसार मालिककहाँ काम गर्न बसेको सातौं वर्षमा अथवा उत्सवको वर्षमा (पचासौं वर्षमा मनाइने विश्राम वर्ष) हिब्रू कमाराहरूलाई मुक्‍त गर्नुपर्थ्यो। तर अर्को विकल्प पनि थियो। कमाराले मालिकलाई माया गर्छ भने जिन्दगीभर त्यही मालिककहाँ बस्ने छनौट गर्न सक्थे। (व्यवस्था १५:१२, १६, १७ NRV पढ्‌नुहोस्‌) यहोवालाई जीवन समर्पण गर्दा हामी पनि त्यस्तै छनौट गर्छौं। आफ्ना झुकावहरूको पछि नलागी राजीखुसीले यहोवाको इच्छा गर्न तयार हुन्छौं। यसो गर्दा हामी यहोवाप्रति गहिरो प्रेम र सदासर्वदै उहाँको सेवा गर्ने इच्छा देखाउँछौं।

१०. कुन तरिकामा हामी परमेश्‍वरको सम्पत्ति हौं र यस कुराले हाम्रो सोचाइ अनि काममा कस्तो प्रभाव पार्नुपर्छ?

१० तपाईं हाल यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै हुनुहुन्छ, सुसमाचार प्रचार गर्दै हुनुहुन्छ र सभाहरू धाउँदै हुनुहुन्छ भने हामी तपाईंको सराहना गर्छौं। अनि यो पनि आशा गर्छौं कि यहोवालाई आफ्नो जीवन समर्पण गर्न तपाईं चाँडै हौसिनु हुनेछ र इथियोपियालीले फिलिपलाई भनेझैं तपाईंले पनि भन्‍नुहुनेछ: “मलाई बप्तिस्मा हुनलाई केले रोक्छ र?” (प्रेरि. ८:३५, ३६) त्यसपछि परमेश्‍वरसितको तपाईंको सम्बन्ध ती ख्रीष्टियानहरूको जस्तै हुनेछ जसलाई पावलले यस्तो लेखे: “तिमीहरू आफै ता आफ्नै होइनौ, किनभने तिमीहरू दाम तिरेर किनिएका हौ।” (१ कोरि. ६:१९, २०) हाम्रो आशा स्वर्गमा जाने होस्‌ वा यसै पृथ्वीमा बस्ने, आफ्नो जीवन उहाँलाई समर्पण गरेका छौं भने उहाँ हाम्रा मालिक हुनुहुन्छ। त्यसकारण आफ्ना स्वार्थी इच्छाहरूलाई पन्छाउनु र ‘मानिसहरूका दास नबन्‍नु’ कत्ति महत्त्वपूर्ण छ! (१ कोरि. ७:२३) यहोवाको वफादार सेवक बनेर उहाँको इच्छाबमोजिम आफूलाई ढाल्नु कत्ति ठूलो सुअवसरको कुरा हो!

११. ख्रीष्टियानहरूलाई कस्तो बलिदान चढाउन भनिएको छ र मोशाको व्यवस्थामा बताइएझैं यस बलिदानको खास अर्थ के हो?

११ पावलले सँगी विश्‍वासीहरूलाई यस्तो सल्लाह दिए: “तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना-आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।” (रोमी १२:१) यो कुरा सुन्दा यहूदी ख्रीष्टियानहरूलाई येशूको अनुयायी हुनुअघि तिनीहरूले चढाउनुपर्ने बलिदानको सम्झना आएको हुनुपर्छ। मोशाको व्यवस्था अन्तर्गत यहोवाको वेदीमा चढाउने पशु सबैभन्दा उत्तम हुनुपर्थ्यो भनेर तिनीहरूलाई थाह भएको हुनुपर्छ। कमसल खालको कुनै पनि कुरा ग्रहणयोग्य हुने थिएन। (मला. १:८, १३) आफ्नो शरीर “जिउँदो बलिदान”-को रूपमा चढाउँदा पनि यही कुरा लागू हुन्छ। हामी यहोवालाई आफ्ना इच्छाहरू पूरा गरेर बचेखुचेका कुराहरू होइन तर सबैभन्दा उत्तम कुरा चढाउँछौं। यहोवालाई जीवन समर्पण गर्दा आफ्नो “प्राण” अर्थात्‌ सम्पूर्ण जीवन उहाँलाई अर्पण गर्छौं। यसमा हाम्रो बल, सरसम्पत्ति र योग्यताहरू समावेश छन्‌। (कल. ३:२३) यो कुरा जीवनमा कसरी लागू गर्छौं?

समयको सदुपयोग गर्नुहोस्‌

१२, १३. यहोवालाई सबैभन्दा उत्तम कुरा चढाउने एउटा तरिका के हो?

१२ यहोवालाई सबैभन्दा उत्तम कुरा चढाउने एउटा तरिका समयको सदुपयोग गरेर हो। (एफिसी ५:१५, १६ NRV पढ्‌नुहोस्‌) यसको लागि संयमको खाँचो पर्छ। संसारको प्रभावका साथै हाम्रो जन्मजात असिद्धताको कारण आफ्नै सुखसुविधा वा लाभको लागि समय खर्च गर्ने झुकाव हामीसित हुन सक्छ। हो, “सबै कुराको लागि समय छ” र यसमा मनोरञ्जन अनि ख्रीष्टियान जिम्मेवारी पूरा गर्न सक्नको लागि गर्नुपर्ने पेटपालाको काम पनि समावेश छ। (उप. ३:१) तथापि, समर्पित ख्रीष्टियान सन्तुलित हुनुपर्छ र समयको सदुपयोग गर्नुपर्छ।

१३ पावल एथेन्स जाँदा “सबै एथेनीहरू र त्यहाँ बस्ने विदेशीहरूसमेत सबै, केही नयाँ कुरा भन्‍न वा सुन्‍नमा बाहेक तिनीहरूका समय अरू केहीमा पनि” नबिताएको तिनले याद गरे। (प्रेरि. १७:२१) त्यसैगरि आज पनि थुप्रैले समय खेर फालिरहेका छन्‌। टिभी हेर्ने, भिडियो गेम खेल्ने र इन्टरनेट चलाउने जस्ता कुराहरूले मानिसहरूलाई अलमल्याउने गर्छ। हाम्रो समय खाने कुराहरूको सूची झन्‌-झनै बढ्‌दो छ। हामी यी कुराहरूको अघि झुक्यौं भने आध्यात्मिक आवश्‍यकतालाई बेवास्ता गर्ने हुन सक्छौं। अनि “जे उत्तम छ” अर्थात्‌ यहोवाको सेवासित सम्बन्धित कुराहरूलाई समय दिन नभ्याउने जस्तो लाग्न सक्छ।—फिलि. १:९, १० NRV.

१४. कस्ता प्रश्‍नहरूमाथि हामीले गम्भीर भई विचार गर्नुपर्छ?

१४ त्यसैले यहोवाको समर्पित सेवकको हैसियतमा आफूलाई यी प्रश्‍न सोध्नुहोस्‌, ‘के मैले आफ्नो दैनिक तालिकामा बाइबल पढ्‌न, मनन गर्न र प्रार्थना गर्न समय छुट्ट्याएको छु?’ (भज. ७७:१२; ११९:९७; १ थिस्स. ५:१७) ‘सभाहरूको तयारी नि? सभामा टिप्पणी दिएर के म अरूलाई प्रोत्साहन दिन्छु?’ (भज. १२२:१; हिब्रू २:१२) पावल र वर्णाबासले “प्रभुको [अर्थात्‌ यहोवाको] भरोसामा साहससित बोल्दै धेरै समय” बिताए भनी बाइबल बताउँछ। (प्रेरि. १४:३) मिल्छ भने सायद अग्रगामीको रूपमा सेवा गरेर “धेरै समय” प्रचारमा बिताउन तपाईंले आफ्नो परिस्थितिमा छाँटकाँट गर्न सक्नुहुन्छ कि?—हिब्रू १३:१५ पढ्‌नुहोस्‌।

१५. प्राचीनहरूले कसरी आफ्नो समयको सदुपयोग गर्छन्‌?

१५ प्रेरित पावल र वर्णाबास एन्टिओकको ख्रीष्टियान मण्डलीमा जाँदा प्रोत्साहन दिने हेतुले तिनीहरू “त्यहाँ चेलाहरूका साथमा धेरै दिन रहे।” (प्रेरि. १४:२८) आज पनि मायालु प्राचीनहरूले अरूलाई बलियो बनाउन निकै समय खर्च गर्छन्‌। क्षेत्र सेवाको अलावा प्राचीनहरूले बगालको गोठालो गर्न, हराएको भेडालाई खोज्न, बिरामी परेकालाई मदत गर्न र मण्डलीको अन्य विभिन्‍न जिम्मेवारी पूरा गर्न परिश्रम गर्छन्‌। तपाईं बप्तिस्मा प्राप्त भाइ हुनुहुन्छ भने सेवाका यी थप जिम्मेवारीको लागि अघि बढ्‌न तपाईंको परिस्थितिले दिन्छ कि?

१६. “विश्‍वासका घरानातर्फ, भलाइको काम” गर्न सक्ने केही तरिकाहरू के हुन्‌?

१६ प्राकृतिक प्रकोप वा मानिसले निम्त्याएका विपत्तिहरूका कारण मारमा परेकाहरूलाई मदत गर्दा पनि थुप्रैले आनन्द पाएका छन्‌। उदाहरणको लागि, झन्डै ६५ वर्ष पुगेकी बेथेलमा सेवा गर्ने एउटी बहिनी केही पटक उद्धारकार्यमा सघाउन स्वेच्छाले टाढा-टाढासम्म गइन्‌। त्यस्तो कामको लागि तिनले किन आफ्नो बिदा खर्च गरेकी? तिनी भन्छिन्‌: “हुन त ममा कुनै खास सीप छैन, तैपनि आवश्‍यक परेको जुनसुकै काम गर्न पाउनु सुअवसरको कुरा ठान्छु। ठूल्ठूला भौतिक क्षति भोग्नुपरेका भाइबहिनीहरूको बलियो विश्‍वास देखेर मैले धेरै प्रोत्साहन पाएकी छु।” साथै हजारौंले राज्यभवन र सम्मेलन भवनहरूको निर्माणकार्यमा सघाउँछन्‌। त्यस्ता गतिविधिमा भाग लिएर हामीले निःस्वार्थ भावसाथ “विश्‍वासका घरानातर्फ, भलाइको काम” गरिरहेका हुन्छौं।—गला. ६:१०.

“म सब दिन, . . . तिमीहरूका साथमा छँदैछु”

१७. अनन्त जीवनको लागि तपाईं के-कस्ता त्याग गर्न तयार हुनुहुन्छ?

१७ परमेश्‍वरबाट अलग्गिएको मानव समाज चाँडै बितेर जाँदैछ। यो कहिले हुन्छ, हामीलाई ठ्याक्कै त थाह छैन। तर यति थाह छ, “समय अल्प भएको छ” र “यस संसारको रूप बितेर जाँदैछ।” (१ कोरिन्थी ७:२९-३१, पढ्‌नुहोस्‌) यो कुरा थाह पाउँदा “आफ्नो प्राणको बदलामा मानिसले के देला र?” भन्‍ने येशूको प्रश्‍नको महत्त्व अझै बढ्‌छ। “साँच्चै[को] जीवन” पाउन यहोवाले हामीलाई जस्तोसुकै त्यागहरू गर्न भन्‍नुभए पनि हामी तयार हुनेछौं। (१ तिमो. ६:१९) हो, ‘मेरो पछि लाग’ र ‘पहिले उहाँको राज्य खोजी’ गर भन्‍ने येशूको सल्लाह सुन्‍नै पर्छ।—मत्ती ६:३१-३३; २४:१३.

१८. हामी कुन कुरामा विश्‍वस्त हुन सक्छौं र किन?

१८ हो, येशूको पछि लाग्नु सधैं सजिलो छैन र उहाँले चेतावनी दिनुभएझैं कसै-कसैले यस रीतिरिवाजमा आफ्नो ज्यान गुमाएका छन्‌। तैपनि, हामी येशूजस्तै ‘आफैलाई मात्र खुसी पार्ने’ प्रलोभनदेखि अलग रहन्छौं। येशूले प्रथम शताब्दीका आफ्ना अभिषिक्‍त अनुयायीहरूलाई दिनुभएको यस आश्‍वासनमा हामी विश्‍वास राख्छौं: “म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:२०) त्यसैले पवित्र सेवामा आफ्नो समय र योग्यता प्रयोग गर्न दिलोज्यानले लागौं। यसो गर्दा, यहोवाले हामीलाई महासंकष्टबाट बचाउनुहुनेछ वा नयाँ संसारमा जीवन दिनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त छौं भनी देखाइरहेका हुनेछौं। (हिब्रू ६:१०) यसरी आफूले पाइरहेको जीवनको वरदानलाई कत्तिको मोल गर्छौं भनी देखाइरहेका हुनेछौं। (w 08 10/15)

तपाईंको जवाफ?

• परमेश्‍वर र मानिसको सेवा गर्न येशूले कसरी उल्लेखनीय इच्छुकता देखाउनुभयो?

• किन आफूलाई नकार्नुपर्छ र यो कसरी गर्न सकिन्छ?

• प्राचीन इस्राएलमा कस्तो खालको बलिदान मात्र यहोवाको लागि ग्रहणयोग्य थियो र यसले आज हामीलाई कसरी डोऱ्‍याउँछ?

• हामी कसरी आफ्नो समयको सदुपयोग गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २८-मा भएको चित्र]

कृतज्ञ इस्राएलीहरूले साँचो उपासनाको लागि सबैभन्दा उत्तम कुरा चढाए