सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मैले बुझें जीवन कत्ति अमूल्य छ

मैले बुझें जीवन कत्ति अमूल्य छ

मैले बुझें जीवन कत्ति अमूल्य छ

अप्रिल १६, २००७ को बिहानी। भर्जिनिया टेक्‌ अर्थात्‌ भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युट एन्ड स्टेट युनिभर्सिटीको नोरीस हल (कक्ष भवन)-को तेस्रो तलामा भएको एउटा अफिसको कुनामा म थरथर काँप्दै कुचुक्क परेर लुकेको थिएँ। हामी हरेक अमूल्य दिनको लागि कत्ति आभारी हुनुपर्छ, मैले त्यतिबेला फेरि एकचोटि सम्झें।

चिठी-पत्र लिन म आफ्नो अफिस छोडेर दोस्रो तलामा जानै लागेको थिएँ। त्यति नै बेला एकजना प्रोफेसर आफ्नो कम्प्युटरमा समस्या आएकोले मकहाँ मदत माग्न आए अनि उहाँको अफिसमा जाऊँ भने। हामी उहाँको अफिसमा छिर्न मात्र के लागेका थियौं, दोस्रो तलामा ड्याङ-ड्याङ गोली चलेको आवाज सुनिहाल्यौं। के भएको थियो केही थाह थिएन तर पनि हामी छिटो-छिटो उहाँको अफिसभित्र छिऱ्‍यौं र चुकुल लगायौं। ‘अब हाम्रो जीवन के हुने हो’ सोंचेर मुटु फुलाउँदै पर्खेर बस्यौं। म कुनापट्टि लुकें र ‘अब आइपर्ने जुनसुकै कुरा पनि सहन कृपया तपाईंको मार्ग देखाउनुहोस्‌’ भन्दै यहोवा परमेश्‍वरलाई प्रार्थना गरें र मनको बह पोखें।

त्यसरी बसिराख्दा मलाई १५ वर्षअघिको घटना दिमागमा झट्ट आयो। म त्यसबखत ग्यारेजमा मिस्त्रीको काम गर्थें। एकदिन, सँगै काम गर्ने साथीको हातमा भएको पेट्रोलको भाँडोमा आगो सल्क्यो। अत्तालेर उसले हत्त-न-पत्त त्यो बलिरहेको भाँडो मेरो अनुहारमा पो फ्याँक्यो! मेरो मुखमा ह्वास्सै धुवाँ पस्यो अनि शरीरको माथिल्लो भाग नराम्ररी जल्यो। मलाई हेलिकप्टरबाट अस्पताल लगियो अनि जीवन र मृत्युसँग लड्‌दै म त्यहाँ साढे तीन महिनासम्म सघन उपचार कक्षमा रहें। उपचारको निम्ति अनि मेरो शरीरलाई पहिलाकै अवस्थामा ल्याउन गरिएको व्यायामको लागि पाँच महिना लाग्यो। त्यसपछि म घर फर्कन सकें, धन्‍न बाँचियो। त्यो अनुभवले मलाई जीवनको एक-एक दिन बहुमूल्य ठान्‍न सिकायो। एक जना यहोवाको साक्षी भएको नाताले जीवन दिनुहुने यहोवा परमेश्‍वरलाई सेवा चढाएर जीवन व्यतित गर्ने आफ्नो संकल्पलाई अझै बलियो बनाएँ।—भजन ९०:१२; यशैया ४३:१०.

शरीरमा परेको गम्भीर चोटले गर्दा मैले ग्यारेजमा काम गर्न सकिंन। त्यसैले कम्प्यूटर सम्बन्धी काम सिकें र भर्जिनिया टेक्‌मा जागिर खाएँ। त्यसैले त त्यो बिहान म नोरीस हलमा थिएँ।

गोली चल्दै गर्दा हामीलाई हेक्कै थिएन, हामी बसिरहेको मात्र एक तला मुनि भइरहेको त्यो भयावह गोलीकाण्ड अमेरिकाको इतिहास बन्दै थियो। बन्धुकधारी आफैले आफ्नो ज्यान लिएपछि त्यो मार्ने काम रोकियो। त्यतिन्जेल उसले ३२ जना निर्दोष मानिसको ज्यान लिन भ्याइसकेको थियो। यो घटना घट्‌न थालेको २० मिनेट पछि हलभित्र प्रहरी आइपुग्यो। हामीले तिनीहरूलाई बोलायौं र तिनीहरूले हामीलाई सुरक्षित स्थानमा लगे।

यो दर्दनाक अनुभवले हाम्रो जीन्दगी शीतको थोपाझैं बिलिजाने अनि अनिश्‍चित हुन्छ भन्‍ने पाठ सिकायो। (याकूब ४:१४) त्यसैले जीवनदाता यहोवा परमेश्‍वरमाथि भरोसा राख्नु र प्रत्येक दिनलाई उहाँले दिनुभएको बहुमूल्य इनामको रूपमा गन्ती गर्नु कत्ति महत्त्वपूर्ण छ!—भजन २३:४; ९१:२. (w 08 9/1)

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

AP Photo/The Roanoke Times, Alan Kim