सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वास्तवमा हाम्रो स्वर्गका पिता कस्तो हुनुहुन्छ?

वास्तवमा हाम्रो स्वर्गका पिता कस्तो हुनुहुन्छ?

वास्तवमा हाम्रो स्वर्गका पिता कस्तो हुनुहुन्छ?

येशूले चेलाहरूलाई नमुना प्रार्थनाको रूपमा सिकाउनुभएको ‘प्रभुको प्रार्थना’ थुप्रैले कण्ठस्त भन्‍न सक्छन्‌। (मत्ती ६:९-१३) तिनीहरू यो प्रार्थना गर्दै पिच्छे परमेश्‍वरलाई “हे हाम्रा पिता” भन्दै सम्बोधन गर्छन्‌। तर प्रश्‍न उठ्‌छ, तिनीहरूमध्ये कति जनाले मैले परमेश्‍वरलाई राम्ररी चिनेको छु भन्‍न सक्लान्‌?

तपाईं आफू नि? कत्तिको राम्ररी चिन्‍नुहुन्छ परमेश्‍वरलाई? के तपाईंको उहाँसित घनिष्ठ सम्बन्ध छ? उहाँसित कुराकानी गर्नुहुन्छ? आफ्ना सुख-दुःखका पलहरू उहाँमा बिसाउनुहुन्छ? साँच्चै, उहाँलाई चिन्‍नुमा के समावेश छ?

यहोवा उहाँको नाउँ हो

भर्खरै टुकुटुकु हिंड्‌न थालेको बच्चालाई आफ्ना पितालाई “बाबा” भनिन्छ भन्‍ने कुरा मात्र थाह होला। तर हुर्कंदै गएपछि भने उसले बुबाको नाउँ र प्रतिष्ठा थाह पाउँछ अनि सायद बुबाप्रति गर्व महसुस गर्छन्‌। स्वर्गमा बस्नुहुने हाम्रा जीवनदाताबारे के भन्‍न सकिन्छ? के तपाईंलाई उहाँको व्यक्‍तिगत नाउँ र त्यसको अर्थ थाह छ?

‘प्रभुको प्रार्थना’ गर्दा थुप्रैले “तपाईंको नाउँ पवित्र गरिओस्‌” भन्‍ने वाक्य दोहोऱ्‍याइ-तेहऱ्‍याइ भन्छन्‌ तर “त्यो नाउँ के हो?” भनेर सोध्दा तिनीहरूको मुखमा बुजो लाग्छ। टिलपिल-टिलपिल चम्कने ताराले सजिएको भव्य आकास, सुन्दर र विशाल हिमाल, रङ्‌गीचङ्‌गी मुगा तथा माछा एवम्‌ जलजीवले भरपूर समुद्री संसार, यी सबैले परमेश्‍वरको अस्तित्वको प्रमाण दिन्छ। तर तिनीहरूले परमेश्‍वरको नाउँ बताउँदैन। त्यो नाउँ सिक्न हामीले बाइबल नै पल्टाउनु पर्ने हुन्छ। बाइबलको पुस्तक प्रस्थान ६:३ को पादटिप्पणीमा उहाँको नाउँ यहवे वा यहोवा भनेर बताइएको छ।

परमेश्‍वर आफूलाई यहोवा नाउँले चिनिएको चाहनुहुन्छ। किन? किनभने यस नाउँले उहाँ कस्तो खालको परमेश्‍वर हुनुहुन्छ भनेर बताउँछ। यस नाउँको शाब्दिक अर्थ हो—“उहाँले गराउनुहुन्छ।” अर्को शब्दमा भन्‍नुपर्दा, आफ्नो उद्देश्‍य पूरा गर्न उहाँ जे-जस्तो बन्‍नुपरे पनि बन्‍न सक्नुहुन्छ। यो कुरालाई यसरी सोच्नुहोस्‌: आफ्नो परिवारको हेरविचार गर्न परिवारको आवश्‍यकता र परिस्थितिलाई विचार गरेर एक जना बुबाले मुख्य कमाउने व्यक्‍ति, सल्लाहकार, न्यायाधीश, मध्यस्थकर्ता, रक्षक अनि शिक्षक जस्तो भूमिका निभाउँछन्‌। त्यसरी नै यहोवा नाउँले हामीलाई आश्‍वस्त गराउँछ कि परमेश्‍वर आफ्ना सेवकहरू जतिलाई आशिष्‌ दिने आफ्नो इच्छा पूरा गर्न पूर्ण रूपमा सक्षम हुनुहुन्छ, चाहे जस्तो सुकै परिस्थिति किन नआओस्‌।

भन्‍ने हो भने हाम्रा मायालु परमेश्‍वरले फरक-फरक भूमिका निभाउनुहुन्छ जुन उहाँको नाउँको अर्थसित मेल खान्छ, त्यसबारे विचार गरौं। यसले तपाईंलाई उहाँ कस्तो प्रकारको हुनुहुन्छ त्यसबारे राम्रोसँग बुझ्न र उहाँको नजिक जान तपाईंले के गर्नैपर्छ त्यो कुरा सिक्न मदत गर्नेछ।

“प्रेम र शान्तिका परमेश्‍वर”

प्रेरित पावलले हाम्रा सृजनाहारलाई “प्रेम र शान्तिका परमेश्‍वर” भने। (२ कोरिन्थी १३:११) किन? येशू ख्रीष्टले त्यसअघि यसो भन्‍नुभएको थियो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) परमेश्‍वरले मानिसजातिलाई मनको गहिराइबाट प्रेम गर्नुहुन्छ। त्यसैले येशूमा विश्‍वास गर्नेहरूले अनन्त जीवनको आनन्द उठाउन सकोस्‌, पापको नतिजास्वरूप तिनीहरूले पाएको पीडा र कष्टबाट स्वतन्त्र हुन सकोस्‌ भनेर उहाँले आफ्ना प्यारो पुत्रलाई छुटकाराको मोलको रूपमा दिनुभयो। त्यहि भएर पावलले पनि यसो भने: “पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (रोमी ६:२३) के यो कुराले परमेश्‍वरलाई प्रेम गर्न र उहाँको नजिक हुन हामीलाई उत्प्रेरित गर्दैन र?

परमेश्‍वरले मानिसजातिलाई सामूहिक तवरमा मात्र प्रेम देखाउनुहुन्‍न तर वफादार व्यक्‍तिलाई व्यक्‍तिगत रूपमा पनि प्रेम देखाउनुहुन्छ। कयौं पटक अनाज्ञाकारी भएका प्राचीन इस्राएलीहरूलाई मोशाले यसो भनेका थिए: “हे मुर्ख र निर्बुद्धि मानिस हो, के तिमीहरू परमप्रभुलाई यसरी बदला चुकाउँछौ? के तँलाई सृष्टि गर्ने, बनाउने र स्थापित गर्ने उहाँनै तेरा पिता हुनुहुन्‍न र?” (व्यवस्था ३२:६) के तपाईंले यसको साँचो अर्थ बुझ्नुभएको छ? मायालु बुबाको हैसियतमा यहोवाले आफ्ना जनहरूको असिद्धता थाह भए पनि तिनीहरूको देखभाल गर्नुभयो। साथै, तिनीहरूको आध्यात्मिकता अनि भौतिक र भावनात्मक कुरा जस्ता जायज आवश्‍यकताहरू सबै उहाँले उपलब्ध गराइदिनुभयो।

हाम्रो जीवनमा थुप्रै उतार-चढावहरू आइपर्छ अनि यसले गर्दा कहिलेकाहीं हामी निराश हुन्छौं र डिप्रेशनमा समेत पर्छौं। त्यतिबेला हामीलाई आफ्नो परिस्थिति र समस्या राम्ररी बुझिदिने र मदत गरिदिने कोही चाहिन्छ। तर मदत गर्नसक्छ कसले? आफ्नो वचन बाइबलमार्फत यहोवाले आफूलाई मायालु सल्लाहकार र हेरविचार गर्ने साबित गर्नुभएको छ। यस पवित्र किताबमा, हामीले भोगिरहेको थुप्रै दुःखको कारण र यसको सफलतापूर्वक सामना कसरी गर्नेबारे बताइएको छ। जसरी बुङ्‌लुङ्‌ङ लडेर चोटपटक लागेको छोरालाई बुबाले मायालु मदत दिन्छ त्यसरी नै हामीलाई चाहिएको मदत दिन हामीप्रतिको गहिरो प्रेमले गर्दा उहाँ एक अर्थमा भन्‍ने हो भने निहुरिनुहुन्छ। साँच्चै आफूप्रति विश्‍वासी रहनेहरूका लागि यहोवाको हात छोटो छैन।—यशैया ५९:१, NRV.

परमेश्‍वर ‘प्रार्थना सुन्‍नुहुन्छ।’ यसमा पनि उहाँ हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरा देखिन्छ। (भजन ६५:२) त्यो कसरी? प्रेरित पावल व्याखा गर्छन्‌: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) परमेश्‍वरलाई हार्दिक प्रार्थना गर्दा अनि उहाँको वचनमा दिइएको निर्देशनलाई पछ्याउँदा तपाईं पनि यस्तो अनुभव गर्न सक्नुहुन्छ: “परमेश्‍वरको शान्तिले . . . सारा समझलाई माथ गर्छ।”

“बुद्धिका ईश्‍वर”

बाइबलमा यहोवा परमेश्‍वरलाई “ज्ञानमा सिद्ध” भनिएको छ। “बुद्धिका ईश्‍वर” हुनुभएकोले अरूलाई भन्दा धेरै उहाँलाई मानव स्वभाव र आवश्‍यकता थाह छ। (अय्यूब ३६:४, NRV; १ शमूएल २:३) “मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ” भन्‍ने कुरा उहाँले आफ्ना दास मोशामार्फत थाह दिनुभयो। (व्यवस्था ८:३; मत्ती ४:४) यसको अर्थ हो: जीवनमा साँचो सन्तुष्टि पाउने हो भने हामीलाई भौतिक चीजबीजबाहेक अरू केही चाहिन्छ।

सृष्टिकर्ताले हामीलाई आफ्नो वचन बाइबलमार्फत अमूल्य निर्देशन र सल्लाह उपलब्ध गराउनुहुन्छ। जब बाइबल अध्ययन गर्छौं र उहाँका सल्लाहहरू जीवनमा लागू गर्छौं तब हामी “परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचन”-बाट लाभ उठाउँछौं। उदाहरणको लागि ख्रीष्टियान महिला जुजानालाई लिनुहोस्‌। तिनी आफ्नो पारिवारिक जीवनबारे यसो भन्छिन्‌: “सँगै बाइबल पढेकोले, ख्रीष्टियान सभा धाएकोले र आफूले सिकेको कुरा अरूलाई बाँडचुँड गरेकोले नै हाम्रो वैवाहिक सम्बन्ध बलियो भयो। परमेश्‍वरको आध्यात्मिक निर्देशन पाएकोले हामी दुवैले उस्तै लक्ष्य राखेका छौं र अझ धेरै बलियो सम्बन्धको आनन्द पनि उठाएका छौं।

के तपाईं परमेश्‍वरको आध्यात्मिक सल्लाह र निर्देशनबाट लाभ उठाउन चाहनुहुन्छ? नियमित बाइबल अध्ययन र त्यसको सल्लाहलाई लागू गर्नुभयो भने यहोवाबाट आशिष्‌ पाउने कुरा निश्‍चित छ।—हिब्रू १२:९.

“उद्वार गर्ने परमेश्‍वर”

आजको संसार कलहले भरिपूर्ण छ। भोलि के हुन्छ केही ठेगान छैन। यदि तपाईं युद्धग्रस्त देशमा बस्नुभएको हो भने शान्तिको तीव्र कामना गर्नुभएको होला। संसारको अरू थुप्रै भागमा भने मानिसहरू अपराध र हिंसाको डर, आर्थिक अस्थिरता र आतङ्‌कवादी क्रियाकलाप माझ बाँचेका छन्‌। यी सबैबाट हामीलाई कसले बचाउनेछ? पहिला कहिल्यै नपरेको सुरक्षा र छुटकाराको खाँचो अहिले मानिसलाई परेको छ।

“परमप्रभुको नाउँ एक बलियो धरहराजस्तै हो, त्यहाँ धर्मीहरू शरणको निम्ति कुदेर जान्छन्‌।” (हितोपदेश १८:१०) परमेश्‍वरको नाउँ जान्दा अनि उहाँको नाउँमा भर पर्दा, उहाँले विश्‍वासी व्यक्‍तिहरूलाई छुटकारा दिन के गर्नुभयो र अब के गर्नुहुनेछ त्यसतर्फ हाम्रो ध्यान खिचिंन सक्छ। आफ्ना जनहरूलाई छुटकारा दिन सक्नुहुन्छ भन्‍ने कुरामा कुनै शंका बाँकी नहुने गरी यहोवाले आफ्नो क्षमता प्रमाणित गर्नुभएको छ। उदाहरणको लागि, मिश्रका राजाका सैन्य शक्‍ति र रथहरूलाई नाश गर्नुभएर उहाँले इस्राएलीहरूलाई बचाउनुभयो। यहोवाले आफूलाई विश्‍वासयोग्य परमेश्‍वर साबित गर्नुभएको छ। साथै यो कुरा पनि साबित गर्नुभएको छ कि उहाँ आफ्ना जनहरूको दुःख र चाहना बुझेर तिनीहरूकै खातिर काम पनि गर्नुहुन्छ।—प्रस्थान १५:१-४.

यहोवा परमेश्‍वरलाई उद्वारकको रूपमा विश्‍वास गर्नुमा पनि हाम्रो अनन्त भविष्य निहित छ। तीनथुप्रो कठिनाइको सामना गर्नुपरेका प्राचीन इस्राएलका राजा दाऊदले “तपाईंनै मलाई उद्वार गर्ने परमेश्‍वर हुनुहुन्छ” भनेर लेख्दा यस्तै खाले विश्‍वास देखाए। (भजन २५:५) निर्धक्क हुँदै प्रेरित पत्रुसले यसो भने: “भक्‍तहरूलाई परीक्षाबाट बचाउन . . . प्रभु जान्‍नुहुन्छ।”—२ पत्रुस २:९.

मदतको लागि यहोवालाई भरोसा गर्नेहरूको सन्दर्भमा उहाँले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “त्यसले मेरो नाउँ ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु।” (भजन ९१:१४, NRV) आधुनिक समयका परमेश्‍वरका सेवकहरूले यो प्रतिज्ञाको सत्यता चाखेर हेरेका छन्‌। विभिन्‍न हण्डर र अत्याचारको बाबजुद पोल्याण्डका हेनरिकले ७० वर्षसम्म वफादार भई यहोवाको सेवा गरे। मात्र १६ वर्षको छँदा तिनका बुबालाई अस्वीच यातना शिविरमा पठाइयो। तिनी र तिनको दाइलाई भने युवाहरूका लागि नाजीले बनाएको सुधार केन्द्रमा राखियो। त्यसपछि तिनलाई एकपछि अर्को गरी विभिन्‍न यातना शिविरमा सारियो। त्यतिबेलाको घटनालाई याद गर्दै हेनरिक यसो भन्छन्‌: “गाह्रो परिस्थितिहरूमा यहोवाले मलाई कहिल्यै त्याग्नुभएन। चार-पाँच पटक मृत्युको मुखमा पर्दा समेत उहाँले मलाई विश्‍वासी रहिरहन मदत गर्नुभयो।” हो, यहोवाले आफ्ना सेवकहरूलाई सहन विश्‍वास र बल दिनुहुन्छ।

परमेश्‍वरलाई विश्‍वास गर्ने र छुटकाराको निम्ति उहाँमा भर पर्ने सबैका लागि चाँडै नै उहाँले आफूलाई उद्वारक साबित गर्नुहुनेछ। उहाँ यस्तो घोषणा गर्नुहुन्छ: “म, अवश्‍य मनै परमप्रभु हुँ। मबाहेक अरू कोही उद्धार गर्नेछैन।” (यशैया ४३:११) “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँ”-मा उहाँले दुष्टहरूलाई पृथ्वीबाट जरैसमेत उखेलेर फ्याँक्नुहुनेछ र सोझाहरूलाई छुटकारा दिनुहुनेछ। (प्रकाश १६:१४, १६; हितोपदेश २:२१, २२) यहोवा यस्तो आश्‍वासन दिनुहुन्छ: “तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”—भजन ३७:११.

“परमेश्‍वरको सन्तान” बन्‍नुहोस्‌

अगमवक्‍ता मलाकीको समयमा इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई आफ्ना पिता भनेर दाबी गरेका थिए। तर जब उहाँलाई कदर र भक्‍ति देखाउने बेला आयो तब तिनीहरूले उहाँलाई अशुद्ध रोटी अनि अन्धा र लूला-लङ्‌गडा जनावर बलिदान चढाए। त्यसैले यहोवाले तिनीहरूलाई यसो भनेर सोध्नुभयो: “यदि म बाबु हो भने मेरो मान खोइ?”—मलाकी १:६.

ती अविश्‍वासी इस्राएलीहरूको गल्ती नदोहोऱ्‍याउनुस्‌। बरु, हामी तपाईंलाई यहोवा परमेश्‍वरबारे सिक्न र उहाँको नजिक हुन प्रोत्साहन दिन्छौं। चेला याकूब यस्तो आग्रह गर्छन्‌: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”—याकूब ४:८.

यहोवा परमेश्‍वरलाई बुबाको रूपमा स्वीकार्दा पक्कै पनि हामीमाथि केही जिम्मेवारीहरू आइपर्छ। यदि तपाईं जीवनको हरेक पक्षमा वफादार भई उहाँको स्तर बमोजिम गरेर उहाँलाई कदर गर्ने प्रयास गर्नुहुन्छ भने तपाईंको त्यो प्रयासलाई उहाँ कहिल्यै बिर्सनुहुन्‍न। बरु, प्रतिज्ञा गरिएको नयाँ संसारतर्फ डोऱ्‍याउने सोझो बाटोमा हिंड्‌न तपाईंलाई मदत गर्नुहुन्छ। जहाँ “फेरि मृत्यु हुनेछैन . . . शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।” (प्रकाश २१:४) त्यतिबेला सबै आज्ञाकारी मानिसजातिले “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा . . . विनाशको बन्धनबाट छुटकारा पाउनेछ।”—रोमी ८:२१. (w 08 9/1)

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वर आफूलाई यहोवा नाउँले चिनिएको चाहनुहुन्छ जुन नाउँको शाब्दिक अर्थ हो—“उहाँले गराउनुहुन्छ”

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

“गाह्रो परिस्थितिहरूमा यहोवाले मलाई कहिल्यै त्याग्नुभएन।” –हेनरिक

[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“सँगै बाइबल पढेकोले, ख्रीष्टियान सभा धाएकोले र आफूले सिकेको कुरा अरूलाई बाँडचुँड गरेकोले नै हाम्रो वैवाहिक सम्बन्ध बलियो भयो।”–जुजाना