सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रै भलाइको निम्ति यहोवा हामीमाथि नजर राख्नुहुन्छ

हाम्रै भलाइको निम्ति यहोवा हामीमाथि नजर राख्नुहुन्छ

हाम्रै भलाइको निम्ति यहोवा हामीमाथि नजर राख्नुहुन्छ

“जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै [ यहोवाको] दृष्टि रहिरहन्छ।”—२ इति. १६:९.

१. यहोवा हामीलाई किन जाँच्नुहुन्छ?

 यहोवा सिद्ध पिता हुनुहुन्छ। उहाँले हामीलाई यत्ति राम्ररी चिन्‍नुहुन्छ कि उहाँ हाम्रो “विचार” समेत जान्‍नुहुन्छ। (१ इति. २८:९) तर, हाम्रो गल्ती भेट्टाउनकै लागि मात्र उहाँ हामीलाई जाँच्नुहुन्‍न। (भज. ११:४; १३०:३) बरु, उहाँसितको हाम्रो सम्बन्ध वा अनन्त जीवनको आशालाई हानि पुऱ्‍याउन सक्ने जुनसुकै कुराबाट उहाँ हामीलाई मायालुपूर्वक बचाउन चाहनुहुन्छ।—भज. २५:८-१०, १२, १३.

२. यहोवाले कसका खातिर आफ्नो शक्‍ति चलाउनुहुन्छ?

यहोवाको शक्‍ति अतुलनीय छ र उहाँ सबै थोक देख्नुहुन्छ। त्यसैकारण, आफ्ना वफादार जनहरूले पुकार्दा मदत दिन सक्नुहुन्छ। परीक्षामा पर्दा उहाँ तिनीहरूलाई सहयोग गर्न सक्नुहुन्छ। दोस्रो इतिहास १६:९ यसो भन्छ: “जसका हृदय उहाँप्रति भक्‍त छन्‌ तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै [यहोवाको] दृष्टि रहिरहन्छ।” याद गर्नुहोस्‌, उहाँलाई पूर्ण हृदयले सेवा गर्नेहरूलाई उहाँ सहायता दिनुहुन्छ अर्थात्‌ तिनीहरूका खातिर आफ्नो शक्‍ति चलाउनुहुन्छ। अनि त्यो पूर्ण हृदय भनेको चोखो र इमानदार मनसायले भरिएको हृदय हो। तर छली वा कपटीहरूलाई उहाँ यस्तो चासो देखाउनुहुन्‍न।—यहो. ७:१, २०, २१, २५; हितो. १:२३-३३.

परमेश्‍वरको साथै हिंड्‌नुहोस्‌

३, ४. ‘परमेश्‍वरका साथसाथ हिंड्‌नुको’ अर्थ के हो अनि यसलाई बुझ्न कुन बाइबल उदाहरणहरूले मदत गर्छ?

यस विशाल ब्रह्‍माण्डको सृष्टिकर्ताले आध्यात्मिक अर्थमा मानिसजातिलाई आफूसित हिंड्‌न दिनुहुन्छ भन्‍ने कुरा थुप्रैलाई अकल्पनीय लाग्छ। तर उहाँको इच्छा त्यही हो। बाइबल समयमा, हनोक र नूह ‘परमेश्‍वरका साथसाथ हिंडे।’ (उत्प. ५:२४; ६:९) मोशा “अदृश्‍यलाई देखेझैं गरी . . . स्थिर रहे।” (हिब्रू ११:२७) राजा दाऊद स्वर्गका पितासित नम्रतासाथ हिंडे। तिनले यसो भने: “किनभने [यहोवा] मेरो दाहिने हाततर्फ हुनुहुन्छ। म डग्नेछैनँ।”—भज. १६:८.

पक्कै पनि, हामी शाब्दिक तवरमै यहोवाको हात समाएर हिंड्‌न त सक्दैनौं तर प्रतीकात्मक अर्थमा भने सक्छौं। कसरी? भजनरचयिता आसाप लेख्छन्‌: “म निरन्तर तपाईंसँगै छु। तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ। तपाईंले आफ्नै सल्लाहले मलाई डोऱ्‍याउनुहुनेछ।” (भज. ७३:२३, २४) सरल भाषामा भन्‍नुपर्दा, यहोवाको सल्लाह राम्ररी पालन गर्दा हामी उहाँसित हिंडिरहेका हुन्छौं र त्यो सल्लाह मुख्यतया उहाँको लिखित वचन बाइबल अनि “विश्‍वासी र बुद्धिमान्‌ दास” मार्फत हामी प्राप्त गर्छौं।—मत्ती २४:४५; २ तिमो. ३:१६.

५. यहोवा कसरी आफ्ना वफादार जनहरूमाथि मायालु बुबाले झैं नजर राख्नुहुन्छ र हामीले उहाँप्रति कस्तो महसुस गर्नुपर्छ?

यहोवाको साथै हिंड्‌नेहरू उहाँका लागि प्यारा छन्‌। त्यसैले, उहाँ तिनीहरूलाई मायालु बुबाले जस्तै नजर राख्नुहुन्छ, ख्याल गर्नुहुन्छ, सुरक्षा दिनुहुन्छ र सिकाउनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” (भज. ३२:८) आफैलाई सोध्नुहोस्‌: उहाँका बुद्धिका कुराहरू सुन्दै र उहाँले मायालुपूर्वक मलाई हेरिरहनुभएको छ भनी थाह पाउँदै यहोवाको हात समाएर हिंडेको कल्पना गर्छु? उहाँ मेरो साथमा हुनुहुन्छ भन्‍ने ज्ञानले मेरो विचार, बोली र कार्यमा प्रभाव पार्छ? अनि आफूले गल्ती गर्दा, यहोवालाई वास्तै नराख्ने र कठोर परमेश्‍वर होइन तर पश्‍चात्तापीहरूलाई फेरि उहाँको न्यानो अंगालोमा बाँधिन मदत गर्न चाहने न्यानो र दयालु पिताको रूपमा हेर्छु?’—भज. ५१:१७.

६. मानव आमाबाबुभन्दा यहोवा कुन कुरामा श्रेष्ठ हुनुहुन्छ?

कहिलेकाहीं, हामी गलत मार्गमा लाग्नुअघि नै यहोवा मदत दिन सक्नुहुन्छ। उदाहरणको लागि, छली हुनसक्ने हाम्रो हृदयले अनुचित कुराको चाहना गर्न थालेको उहाँले याद गर्नुहोला। (यर्मि. १७:९) यस्तो अवस्थामा, उहाँ मानव आमाबाबुले भन्दा चाँडो पाइला चाल्न सक्नुहुन्छ किनभने उहाँ हामीलाई ‘नियाल्न’ सक्नुहुन्छ, हाम्रो भित्री विचार जाँच्न सक्नुहुन्छ। (भज. ११:४; १३९:४; यर्मि. १७:१०) यर्मियाको सचिव तथा घनिष्ठ मित्र बारूकको जीवनमा घटेको एउटा घटनाप्रति परमेश्‍वरले देखाएको प्रतिक्रियालाई विचार गर्नुहोस्‌।

बारूकका मायालु पिता

७, ८ (क) बारूक को थिए अनि तिनले हृदयमा कस्तो अनुचित चाहना पाल्न थालेको हुन सक्छ? (ख) यहोवाले बारूकप्रति कसरी मायालु बुबाले जस्तै चासो देखाउनुभयो?

बारूक पेसेवर लेखनदास थिए। तिनले विश्‍वासीपूर्वक यर्मियासाथ रहेर यहूदालाई यहोवाको न्यायदण्ड सुनाए जुन कठिन साबित भयो। (यर्मि. १:१८, १९) सायद तिनी खानदानी परिवारका थिए, तैपनि तिनले एक समय आफ्नै निम्ति “ठूला कुराहरू” खोज्न थाले। सम्भवतः तिनले व्यक्‍तिगत महत्त्वाकाङ्‌क्षा वा भौतिक संवृद्धिको चाहना पाल्न थाले। कुरा जेसुकै होस्‌, यस्तो खतरनाक सोचाइ बारूकको हृदयमा पलाउन थालेको यहोवाले देख्नुभयो। उहाँले यर्मिया मार्फत तुरुन्तै त्यसबारे औंल्याउँदै बारूकलाई यसो भन्‍नुभयो: “तैंले भनिस्‌, ‘धिक्कार मलाई! किनकि परमप्रभुले मेरो दुःखमाथि दुःख थपिदिनुभयो! सुस्केरा मार्दा-मार्दा म थाकिसकें! म कतै पनि विश्राम पाउँदिनँ!’ ” त्यसपछि उहाँले यसो भन्‍नुभयो: “के तँचाहिं आफ्नै निम्ति ठूला कुराहरू खोज्छस्‌? ती नखोज्‌।”—यर्मि. ४५:१-५.

बारूकको यो कुरालाई यहोवाले हल्कासित लिनु नभए तापनि रिसाउनु चाहिं भएन। बरु बुबाले जस्तै साँचो चासो देखाउनुभयो। स्पष्ट छ, बारूकले मनमा खतरनाक चाहना पालेको भए पनि तिनको हृदय दुष्ट वा छली नभएको परमेश्‍वरले देख्नुभयो। यरूशलेम र यहूदाको विनाश हुनै लागेको छ भन्‍ने कुरा पनि यहोवालाई थाह थियो र त्यस निर्णायक समयमा बारूकले ठोकर खाएको उहाँ चाहनुहुन्‍नथ्यो। त्यसैले, आफ्नो सेवक बारूकको आँखा खोलिदिन तिनले आफैमाथि ‘विपत्ति ल्याइरहेको’ छ भनेर सम्झना दिलाउनुभयो। साथै बुद्धिमानी कदम चालेमा बच्नेछ पनि भन्‍नुभयो। (यर्मि. ४५:५) वास्तवमा परमेश्‍वरले यसो भनिरहनु भएको थियो: ‘होसमा आऊ बारूक! पापी यहूदा र यरूशलेमलाई अब चाँडै के हुँदैछ याद गर्‌। विश्‍वासी बन्‌ र बाँच्‌! म तँलाई बचाउँनेछु।’ यहोवाको शब्दले अवश्‍यै बारूकको हृदय छोएको हुनुपर्छ किनभने तिनले आफ्नो सोचाइमा परिवर्तन ल्याए र १७ वर्षपछि यरूशलेमको विनाश हुँदा तिनी बचे।

९. अनुच्छेदमा दिइएका प्रश्‍नहरूको उत्तर तपाईं कसरी दिनुहुन्छ?

बारूकको घटनालाई गौर गर्दा यी प्रश्‍न र बाइबल पदहरूलाई विचार गर्नुहोस्‌: परमेश्‍वरले बारूकसित गरेको व्यवहारबाट उहाँबारे र उहाँले आफ्ना सेवकहरूप्रति राख्नुहुने भावनाबारे के प्रकट हुन्छ? (हिब्रू १२:९ पढ्‌नुहोस्‌) हामी बाँचिरहेको डरलाग्दो समयलाई ध्यानमा राख्दा, परमेश्‍वरले बारूकलाई दिएको सल्लाह र तिनको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं? (लूका २१:३४-३६ पढ्‌नुहोस्‌) आफ्ना सेवकहरूप्रति यहोवाले देखाएको जस्तै चासो यर्मियाको अनुकरण गर्दै ख्रीष्टियान प्राचीनहरूले कसरी झल्काउन सक्छन्‌?—गलाती ६:१ पढ्‌नुहोस्‌।

पुत्रले पिताको जस्तै प्रेम झल्काउनुभयो

१०. ख्रीष्टियान मण्डलीको शिरको हैसियतमा जिम्मेवारी सँभाल्न येशू कसरी सुसज्जित हुनुहुन्छ?

१० येशू पृथ्वीमा आउनुअघिको समयमा यहोवाले मानिसजातिप्रतिको प्रेम अगमवक्‍ता र अन्य विश्‍वासी सेवकहरू मार्फत देखाउनुभयो। अहिले चाहिं त्यो प्रेम ख्रीष्टियान मण्डलीको शिर येशू ख्रीष्ट मार्फत सबैभन्दा बढी देखिन्छ। (एफि. १:२२, २३) त्यसैले, प्रकाशको किताबमा येशूलाई “सात आँखा” भएको थुमाको रूपमा चित्रण गरिएको छ अनि त्यो आँखा “सारा पृथ्वीमा पठाइएका परमेश्‍वरका सात आत्माहरू हुन्‌।” (प्रका. ५:६) हो, परमेश्‍वरको पवित्र आत्माद्वारा पूरा शक्‍ति पाउनुभएकोले येशूसित सिद्ध समझ छ। हामी वास्तवमा कस्ता छौं, उहाँ थाह पाउनुहुन्छ। उहाँको दृष्टिबाट कुनै कुरा लुक्न सक्दैन।

११. ख्रीष्टले कस्तो भूमिका खेल्नुहुन्छ अनि हामीप्रतिको उहाँको मनोवृत्तिमा पिताको मनोवृत्ति कसरी झल्किन्छ?

११ यहोवा जस्तै येशू पनि स्वर्गबाट चियो गर्ने प्रहरी हुनुहुन्‍न। येशू हामीलाई मायालु नजरले जाँच्नुहुन्छ। “सनातनका पिता” भन्‍ने उहाँको उपाधिले आफूमा विश्‍वास गर्ने सबैलाई अनन्त जीवन दिने भूमिका उहाँ खेल्नुहुन्छ भन्‍ने कुराको सम्झना दिलाउँछ। (यशै. ९:६) त्यसबाहेक, ख्रीष्टियान मण्डलीको शिरको हैसियतमा खाँचोमा परेकाहरूप्रति सान्त्वना वा सल्लाह दिन उहाँले इच्छुक र आध्यात्मिक तवरमा परिपक्व ख्रीष्टियानहरू, विशेषगरि प्राचीनहरूलाई उत्प्रेरित गर्न सक्नुहुन्छ।—१ थिस्स. ५:१४; २ तिमो. ४:१, २.

१२. (क) एसिया माइनरका सात मण्डलीलाई लेखिएका पत्रहरूले येशूबारे के प्रकट गर्छ? (ख) प्राचीनहरूले परमेश्‍वरका बगालप्रति ख्रीष्टको जस्तै मनोवृत्ति कसरी झल्काउँछन्‌?

१२ एसिया माइनर स्थित सात मण्डलीका प्राचीनहरूलाई लेखिएका पत्रहरूमा ख्रीष्टले बगालप्रति राख्ने गहिरो चासो झल्किन्छ। (प्रका. २:१-३:२२) सातै वटा मण्डलीमा भइरहेका कुरा उहाँलाई थाह भएको र आफ्ना अनुयायीहरूप्रति कत्तिको गहिरो चासो राख्नुहुन्छ, उहाँले ती पत्रमा संकेत गर्नुभयो। यो कुरा आज झन्‌ बढी लागू हुन्छ किनभने प्रकाशको दर्शन “प्रभुको दिन”-को दौडान पूरा हुन्छ। a (प्रका. १:१०) ख्रीष्टको प्रेम अक्सर प्राचीनहरू मार्फत व्यक्‍त हुन्छ जसले मण्डलीमा आध्यात्मिक गोठालोको काम गर्छन्‌। उहाँले यी “पुरुषहरूमध्ये वरदान”-लाई खाँचोमा परेकाहरूप्रति सान्त्वना, प्रोत्साहन वा सल्लाह दिन उत्प्रेरित गर्न सक्नुहुन्छ। (एफि. ४:८, NW; प्रेरि. २०:२८; यशैया ३२:१, २ पढ्‌नुहोस्‌) तिनीहरूको प्रयासलाई के तपाईं ख्रीष्टले तपाईंमा व्यक्‍तिगत चासो लिएको ठान्‍नुहुन्छ?

चाहिएको समयमा मदत

१३-१५. हाम्रो प्रार्थनाको जवाफ परमेश्‍वर कसरी दिन सक्नुहुन्छ? उदाहरण दिनुहोस्‌।

१३ मदतको लागि व्यग्र प्रार्थना गरेको अनि जवाफस्वरूप आध्यात्मिक तवरमा परिपक्व ख्रीष्टियानबाट प्रोत्साहन पाएको, के तपाईंले कहिल्यै अनुभव गर्नुभएको छ? (याकू. ५:१४-१६) नभए, ख्रीष्टियान सभामा भाषणबाट वा कुनै प्रकाशनमा दिइएको जानकारी मार्फत तपाईंले मदत पाउनुभएको छ होला। अक्सर यी तरिकामा यहोवा प्रार्थनाको जवाफ दिनुहुन्छ। उदाहरणको लागि, एक जना प्राचीनले भाषण दिएपछि एउटी बहिनी उक्‍त प्राचीनलाई धन्यवाद दिन आइन्‌। मात्र केही हप्ताअघि उनी घोर अन्यायको शिकार भएकी थिइन्‌। आफ्नो समस्याबारे गुनासो पोखाउनुको साटो ती बहिनीले भाषणमा कुनै खास बुँदाहरू टक्राएकोमा आभार व्यक्‍त गरिन्‌। ती बुँदाहरू तिनको परिस्थितिमा ठ्याक्कै लागू हुन्थ्यो जसबाट तिनले धेरै राहत पाइन्‌। त्यो सभामा उपस्थित हुन सकेकोमा तिनी साह्रै खुसी भइन्‌!

१४ प्रार्थना मार्फत पाइने मदतको सन्दर्भमा तीन जना कैदीको अनुभवलाई विचार गर्नुहोस्‌। तिनीहरूले जेलमै बाइबल सच्चाइ सिके र बप्तिस्मा अप्राप्त प्रकाशक भए। जेलमा एउटा हिंसात्मक घटना घटेपछि कैदीहरूले पाइरहेका केही सुविधाहरू हटाइयो। त्यसले गर्दा कैदीहरू आन्दोलनमा उत्रिए। विरोध जनाउन कैदीहरूले अर्को दिन बिहान नास्ता खाएपछि थाल नफर्काउने निर्णय गरे। ती तीन प्रकाशकहरू फसादमा परे। यदि विद्रोहलाई साथ दिएमा रोमी १३:१ मा पाइने यहोवाको सल्लाह उल्लंघन गरिरहेका हुनेथिए। विद्रोहमा साथ नदिएमा क्रोधित कैदी साथीहरूको क्रोध तिनीहरूमाथि खनिन सक्थ्यो।

१५ तिनीहरू एकअर्कासित सम्पर्क गर्न सक्दैन थिए र सबैले बुद्धिको लागि प्रार्थना गरे। तीनै जनाले एउटै निर्णय गरेको कुरा तिनीहरूले भोलिपल्ट बिहान थाह पाए। निर्णय थियो: नास्तै नखाने। थाल उठाउन गार्डहरू आउँदा ती तीन जनासित थालै थिएन। “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वरको साथ पाएकोमा तिनीहरू कत्ति खुसी भए!—भज. ६५:२.

विश्‍वस्त भई भविष्यलाई विचार गर्नुहोस्‌

१६. भेडाखाले नम्र व्यक्‍तिप्रतिको यहोवाको चासोलाई प्रचारकार्यले कसरी देखाउँछ?

१६ इमानदार हृदय भएकाहरू जहाँसुकै भए पनि तिनीहरूप्रति यहोवा चासो राख्नुहुन्छ भन्‍ने कुराको अर्को प्रमाण विश्‍वव्यापी प्रचारकार्य हो। (उत्प. १८:२५) यहोवाले आफ्ना सेवकहरूलाई भेडाखाले नम्र मानिसहरूकहाँ डोऱ्‍याउन अक्सर स्वर्गदूतहरू चलाउनुहुन्छ—चाहे ती मानिसहरू अहिलेसम्म सुसमाचार पुग्न नसकेको इलाकामा बसिरहेकै किन नहून्‌। (प्रका. १४:६, ७) उदाहरणको लागि, परमेश्‍वरले स्वर्गदूत मार्फत प्रथम शताब्दीको प्रचारक फिलिपलाई इथियोपियाली अधिकृतलाई गएर भेट्‌न अनि धर्मशास्त्रको अर्थ बुझाइदिन निर्देशन दिनुभयो। परिणाम? उक्‍त अधिकृतले सुसमाचार स्वीकारे र येशूको बप्तिस्माप्राप्त अनुयायी बने। bयूह. १०:१४; प्रेरि. ८:२६-३९.

१७. हामी किन भविष्यबारे अत्यधिक चिन्तित हुनुपर्दैन?

१७ यो वर्तमान रीतिरिवाज अन्ततिर लम्कँदै जाँदा अगमवाणी गरिएको “कष्ट” निरन्तर भइरहनेछ। (मत्ती २४:८) उदाहरणको लागि: प्रतिकूल मौसम वा आर्थिक अस्थिरता र बढ्‌दो मागले गर्दा खानेकुराको भाउ चुलिन सक्छ। जागिर पाउन हम्मे-हम्मे पर्न सक्छ, कर्मचारीहरूलाई धेरै घण्टा काम गर्ने दबाब आइपर्ला। जेसुकै होस्‌, आध्यात्मिक गतिविधिलाई प्राथमिकता दिने र “आँखा निर्मल” राखिराख्नेहरू अत्यधिक चिन्तित हुनुपर्दैन। परमेश्‍वर माया गर्नुहुन्छ र हेरचाह गर्नुहुन्छ भनेर तिनीहरूलाई थाह छ। (मत्ती ६:२२-३४) उदाहरणको लागि, ईसापूर्व ६०७ मा यरूशलेमको विनाश हुँदा यहोवाले यर्मियालाई कसरी हेरचाह गर्नुभयो, विचार गर्नुहोस्‌।

१८. यरूशलेम कब्जामा परेको बेला यहोवाले यर्मियालाई कसरी प्रेम देखाउनुभयो?

१८ बेबिलोनीहरूले दोस्रो पटक यरूशलेम कब्जा गर्दा यर्मिया प्रहरीहरूको चोकमा थुनामै परिरहेका थिए। तिनले कसरी खानेकुरा पाए? तिनी कैदमा नभएको भए खानेकुराको प्रबन्ध गर्न सक्थे। तर अहिले तिनी वरपरका मानिसहरूमाथि पूर्ण निर्भर थिए, कतिपयले त तिनलाई घृणा गर्थे! तैपनि, हेरचाह गर्छु भनी प्रतिज्ञा गर्नुहुने परमेश्‍वरमाथि तिनी भर परे, मानिसमाथि होइन। के परमेश्‍वरले आफ्नो वचन पूरा गर्नुभयो? अवश्‍यै! तिनले “शहरका जम्मै रोटी नसकुञ्जेलसम्म बजारको पसलबाट दिनहुँ एउटा एउटा रोटी” पाओस्‌ भनेर यहोवाले सुनिश्‍चित गर्नुभयो। (यर्मि. ३७:२१) त्यतिबेलाको अनिकाल, रोगबिमार र मृत्युबाट यर्मियालगायत बारूक, एबेदमेलेक र अरू कतिपय व्यक्‍ति बच्न सके।—यर्मि. ३८:२; ३९:१५-१८.

१९. भविष्यबारे विचार गर्दा हामीले के गर्ने संकल्प गर्नुपर्छ?

१९ हो, “प्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँका कान तिनीहरूका अन्तरबिन्तीतिर खुला हुन्छ।” (१ पत्रु. ३:१२) स्वर्गका पिताले नजर राख्नुभएकोमा के तपाईं रमाउनुहुन्छ? तपाईंकै भलाइको लागि उहाँले आफ्नो नजर तपाईंमाथि राख्नुहुन्छ भनेर थाह पाउँदा के सुरक्षित महसुस गर्नुहुन्छ? त्यसोभए, भविष्य जस्तोसुकै किन नहोस्‌ परमेश्‍वरको साथ हिंडिरहने संकल्प गर्नुहोस्‌। हामी निश्‍चित हुन सक्छौं कि यहोवाले आफ्ना वफादार जनहरूमाथि मायालु बुबाले झैं सधैं आफ्नो नजर राखी राख्नुहुन्छ।—भज. ३२:८; यशैया ४१:१३ पढ्‌नुहोस्‌। (w 08 10/15)

[फुटनोटहरू]

a यी पत्रहरू मुख्यतया ख्रीष्टका अभिषिक्‍त अनुयायीहरूमा लागू हुने भए तापनि सैद्धान्तिक रूपमा परमेश्‍वरका सबै सेवकहरूलाई लागू हुन्छ।

b स्वर्गीय निर्देशन पाएको अर्को उदाहरण प्रेरित १६:६-१० मा पाउन सकिन्छ। त्यहाँ हामी पावल र तिनका सहयोगीहरूलाई एसिया र बिथनियामा प्रचार गर्न “पवित्र आत्माबाट . . . मनाई” भएको कुरा पाउँछौं। बरु, तिनीहरूलाई म्यासिडोनियामा प्रचार गर्न खटाइयो जहाँ थुप्रै नम्र व्यक्‍तिहरूले सुसमाचार स्वीकारे।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• हामी ‘परमेश्‍वरका साथसाथ हिंडिरहेका छौं’ भनेर कसरी देखाउन सक्छौं?

• यहोवाले कसरी बारूकप्रति आफ्नो प्रेम देखाउनुभयो?

• ख्रीष्टियान मण्डलीको शिरको हैसियतमा येशूले कसरी आफ्ना पिताका गुणहरू झल्काउनुभयो?

• यस डरलाग्दो समयमा परमेश्‍वरमा भरोसा गरेको कुरा कुन तरिकामा देखाउन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

कसरी यहोवाले हामीलाई चाहिएको समयमा मदत दिनुहुन्छ?