सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हृदयबाट गरेको प्रार्थना यहोवाले सुन्‍नुभयो

हृदयबाट गरेको प्रार्थना यहोवाले सुन्‍नुभयो

हृदयबाट गरेको प्रार्थना यहोवाले सुन्‍नुभयो

“मानिसहरूले जानून्‌, कि तपाईं जसको नाउँ यहोवा हो, तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।”—भज. ८३:१८, NW.

१, २. थुप्रैले कस्तो अनुभव गरेका छन्‌ र कस्ता प्रश्‍नहरू सोध्न सक्छौं?

 केही वर्षअघि एउटी स्त्री आफ्नो टोलमा घटेको एउटा दुःखद्‌ घटनाले गर्दा असाध्यै विचलित भइन्‌। रोमन क्याथोलिक परिवारमा लालनपालन भएकोले उनी मदतको लागि स्थानीय चर्चको पादरीकहाँ पुगिन्‌। तर पादरी उनीसँग कुरा गर्न समेत राजी भएनन्‌। त्यसैले उनले यसो भन्दै परमेश्‍वरलाई पुकारिन्‌: “हे परमेश्‍वर, मलाई तपाईं को हो थाह छैन . . . तर यति थाह छ कि, तपाईं हुनुहुन्छ। बिन्ती! तपाईंलाई चिन्‍न सकूँ।” केही समय पछि यहोवाका साक्षीहरू उनको घरमा आए अनि उनले खोजिरहेको सान्त्वना र ज्ञानबारे बताए। साक्षीहरूले सिकाएका थुप्रै कुरामध्ये एउटा थियो—परमेश्‍वरको व्यक्‍तिगत नाउँ। परमेश्‍वरको नाउँ थाह पाएपछि उनी एकदमै भावुक भइन्‌। उनले भनिन्‌: “मैले सानैदेखि चिन्‍न खोजिरहेको परमेश्‍वर उहाँ नै हुनुहुन्थ्यो।”

अरू थुप्रैले पनि यस्तै अनुभव गरेका छन्‌। अक्सर, तिनीहरूले बाइबलमा भजन ८३:१८ पढ्‌दा पहिलो चोटि यहोवाको नाउँ देखे। न्यु वर्ल्ड ट्रान्सलेसन-मा यो पद यस प्रकार छ: “मानिसहरूले जानून्‌, कि तपाईं जसको नाउँ यहोवा हो, तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, भजन अध्याय ८३ किन लेखियो? कस्ता घटनाहरूले गर्दा यहोवा मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनी मानिलिन सबै मानिस बाध्य हुन्छन्‌? यस भजनले आज हामीलाई कस्तो पाठ सिकाउँछ? यी प्रश्‍नहरू अब हामी छलफल गर्नेछौं। a

यहोवाका जनहरू विरुद्ध षड्यन्त्र

३, ४. भजन ८३ को रचयिता को हुन्‌ र तिनले कस्तो खतराबारे बताएका छन्‌?

भजन ८३ को मुख्य शीर्षकमुनि सानो अक्षरमा लेखिएको अंशअनुसार यो “आसापले रचेको भजन” हो। यस भजनका रचयिता, राजा दाऊदको शासनकालका नामुद संगीतकार लेवी आसापको सन्तान हुनुपर्छ। यस भजनमा उनले यहोवालाई उहाँको सार्वभौमिकता उच्च पार्न र उहाँको नाउँ चिनाउनका लागि कदम चाल्न बिन्ती गर्छन्‌। यो भजन सुलेमान बितेको केही समयपछि रचिएको हुनुपर्छ। किन? किनभने दाऊद र सुलेमानको शासनकालमा टायरका राजा इस्राएलप्रति मित्रैलो थियो। भजन ८३ रचना गरुन्जेलसम्म टायरका बासिन्दाहरूले इस्राएलको विरुद्ध लागेर शत्रुहरूलाई साथ दिन थालिसकेका थिए।

परमेश्‍वरका जनहरूलाई सिध्याउन षड्यन्त्र रचिरहेका दस राष्ट्रको भजनरचयिताले नाउँ लिएका छन्‌। ती सबै शत्रु इस्राएल वरपरकै थिए र ती राष्ट्रहरूको सूची यस प्रकार छ: “एदोमका पालहरू, इश्‍माएलीहरू, मोआबीहरू र हागारीहरू, गलाबीहरू, अम्मोनीहरू र अमालेकीहरू, टायरका बासिन्दाहरूसमेत पलिश्‍तीहरू। असिरिया पनि तिनीहरूसित लागेका छन्‌।” (भज. ८३:६-८) यस भजनले कुन ऐतिहासिक घटनालाई संकेत गर्छ? कसै-कसैका अनुसार यस भजनले यहोशापातको समयमा अम्मोनी, मोआबी र सेईरको पहाडी-देशका मानिसहरूको संयुक्‍त सेनाले इस्राएलमाथि गरेको आक्रमणलाई संकेत गर्छ। (२ इति. २०:१-२६) अरू कसै-कसैको अनुसार चाहिं इतिहासभरि नै इस्राएलले सामान्यतया आफ्ना छिमेकीहरूबाट सामना गर्नुपरेको वैमनस्यताबारे यस भजनले बताउँछ।

५. भजन ८३ बाट आज ख्रीष्टियानहरूले कस्तो लाभ उठाउँछन्‌?

कुरा जेसुकै होस्‌, इस्राएल राष्ट्र खतरामा परेको बेला यो भजन लेख्न यहोवाले प्रेरित गर्नुभयो भन्‍ने चाहिं स्पष्ट छ। यस भजनबाट आज पनि परमेश्‍वरका सेवकहरूले प्रोत्साहन पाउन सक्छन्‌ जसले सुरुदेखि नै तिनीहरूलाई खतम पार्न लागिपरेका शत्रुहरूको हातबाट एकपछि अर्को आक्रमण खेप्दै आएका छन्‌। अनि परमेश्‍वरलाई आत्मा र सत्यतामा पुज्ने उपासकहरूको विनाश गर्ने अन्तिम प्रयासमा मागोगको गोगले निकट भविष्यमा आफ्नो सैन्यदललाई एक जुट पार्दा यस भजनले पक्कै पनि हामीलाई सुदृढ बनाउनेछ।—इजकिएल ३८:२, ८, ९, १६ पढ्‌नुहोस्‌।

मुख्य चिन्ताको विषय

६, ७. (क) भजन ८३ को सुरुमा भजनरचयिताले केको लागि प्रार्थना गरेका छन्‌? (ख) भजनरचयिताको मुख्य चिन्ताको विषय के थियो?

भजनहारले आफ्ना भावनाहरू प्रार्थनामा कसरी पोखाउँछन्‌, ध्यान दिनुहोस्‌: “हे परमेश्‍वर, तपाईं चूप नरहनुहोस्‌, शान्तिसित नबस्नुहोस्‌, र चूपचाप नबस्नुहोस्‌, हे परमेश्‍वर। किनकि हेर्नुहोस्‌, तपाईंका शत्रुहरूले खैलाबैला गर्छन्‌, तपाईंलाई घृणा गर्नेहरूले आफ्नो शिर ठाडो पारेका छन्‌। तिनीहरूले तपाईंको प्रजाको विरुद्ध छलको सल्लाह गर्दछन्‌, . . . किनकि तिनीहरूले एकै मतो गरेर सल्लाह गरेका छन्‌, तपाईंको विरुद्धमा तिनीहरूले करार बाँधेका छन्‌।”—भज. ८३:१-३, ५.

भजनरचयिताको मुख्य चिन्ताको विषय के थियो? निश्‍चय पनि तिनलाई आफ्नो र आफ्नो परिवारको सुरक्षाको एकदमै चिन्ता लागेको हुनुपर्छ। तैपनि, तिनको प्रार्थना यहोवाको नाउँमा लगाइएको कलंक र उहाँको जन भनी चिनिएको राष्ट्रले सामना गरिरहेको खतरामा केन्द्रित थियो। बितेर जानै लागेको यस संसारमा कठिनाइ सहनुपर्दा हामी पनि त्यस्तै सन्तुलित दृष्टिकोण राखिराखौं।—मत्ती ६:९, १० पढ्‌नुहोस्‌।

८. इस्राएल विरुद्ध राष्ट्रहरूले षड्यन्त्र रच्नुको कारण के थियो?

इस्राएलका शत्रुहरूको कुरा उद्धृत गर्दै भजनहार यसो भन्छन्‌: “आओ, हामी तिनीहरूलाई यसरी नाश गरौं, कि तिनीहरू एक जातिनै नरहोस्‌, र इस्राएलको नाउँ फेरि सम्झनामानै नआओस्‌।” (भज. ८३:४) परमेश्‍वरका जनहरूप्रति ती राष्ट्रहरूको कत्ति बिघ्न घृणा! तर तिनीहरूको षड्यन्त्र पछाडि अर्को कारण पनि थियो। इस्राएलको भूमिमा तिनीहरूको आँखा गडेको थियो र तिनीहरूले यस्तो घमन्ड गर्ने गर्थे: “परमेश्‍वरका खर्कका अधिकारी हामी आफै होऔं।” (भज. ८३:१२) के हाम्रो समयमा पनि यस्तै केही भएको छ? अवश्‍य!

तपाईंको “पवित्र वासस्थान”

९, १०. (क) प्राचीन समयमा परमेश्‍वरको पवित्र बासस्थान के थियो? (ख) बाँकी रहेका अभिषिक्‍त जनहरू र “अरू भेडा”-ले आज कस्तो आशिष्‌को आनन्द उठाइरहेका छन्‌?

प्राचीन समयमा प्रतिज्ञा गरिएको देशलाई परमेश्‍वरको पवित्र बासस्थान भन्‍ने गरिन्थ्यो। मिश्रबाट छुटकारा पाएपछि इस्राएलीहरूले गाएको विजय गीतलाई सम्झनुहोस्‌: “तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाई तपाईंले आफ्नो कृपाले डोराउनुभएको छ, तपाईंले आफ्नो शक्‍तिद्वारै तिनीहरूलाई आफ्नो पवित्र वासस्थानमा अगुवाई गर्नुभएको छ।” (प्रस्थ. १५:१३) पछि त्यो “वासस्थानमा” पूजाहारीहरूसहितको मन्दिर र राजधानी सहर यरूशलेम पऱ्‍यो जुन सहरमा दाऊदको वंशका राजाहरूले यहोवाको सिंहासनमा बसेर शासन गरे। (१ इति. २९:२३) त्यसकारण येशूले यरूशलेमलाई “महाराजाको शहर” भन्‍नु एकदमै उपयुक्‍त थियो।—मत्ती ५:३५.

१० आज नि? इस्वी संवत्‌ ३३ मा नयाँ राष्ट्र “परमेश्‍वरका इस्राएल”-को जन्म भयो। (गला. ६:१६) ख्रीष्टका अभिषिक्‍त भाइहरू मिलेर बनेको यो राष्ट्रले, इस्राएल राष्ट्रले पछि गएर पूरा गर्न नसकेको काम अर्थात्‌ परमेश्‍वरको नाउँको साक्षी दिने काम पूरा गऱ्‍यो (यशै. ४३:१०; १ पत्रु. २:९) तिनीहरूसित पनि यहोवाले त्यही प्रतिज्ञा गर्नुभयो जुन प्राचीन इस्राएलसित गर्नुभएको थियो: “म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्‌।” (२ कोरि. ६:१६; लेवी २६:१२) सन्‌ १९१९ मा यहोवाले “परमेश्‍वरका इस्राएल”-का बाँकी जनप्रति अनुमोदन देखाउनुभयो र त्यतिबेलादेखि तिनीहरूले “देश” पाए अर्थात्‌ आध्यात्मिक गतिविधिको बागडोर समाले र आध्यात्मिक प्रमोदवनको आनन्द उठाएका छन्‌। (यशै. ६६:८) सन्‌ १९३० को दशकदेखि लाखौंको संख्यामा “अरू भेडा” तिनीहरूको पक्षमा ओइरिएका छन्‌। (यूह. १०:१६) आधुनिक समयका यी ख्रीष्टियानहरूको आनन्द र आध्यात्मिक संवृद्धिले यहोवाको शासन गर्ने अधिकार वैध हो भनेर सशक्‍त प्रमाण दिन्छ। (भजन ९१:१, २ पढ्‌नुहोस्‌) यो देखेर शैतान आगो भएको छ!

११. अहिलेसम्म पनि परमेश्‍वरका शत्रुहरूको मुख्य लक्ष्य के हो?

११ अन्तको समयको अवधिभर नै शैतानले त्यसको इशारामा नाच्नेहरूलाई बाँकी अभिषिक्‍त जन र अरू भेडाको विरोध गर्न भड्‌काइरहेको छ। नाजी शासनको बेला पश्‍चिम युरोपमा र सोभियत संघमा कम्युनिस्ट सरकार हुँदा पूर्वी युरोपमा त्यस्तो विरोधको सामना गर्नुपऱ्‍यो। अन्य थुप्रै देशमा पनि सतावटको सामना गर्नुपऱ्‍यो। सतावट फेरि आउनेछ, विशेषगरि मागोगको गोगले अन्तिम चोटि आक्रमण गर्दा। त्यस आक्रमणको बेला शत्रुहरूले विगतमा झैं यहोवाका जनहरूको जग्गाजमिन र सम्पत्तिमा आँखा गाड्‌लान्‌ र जफत गर्लान्‌। तर सधैं शैतानको प्रमुख लक्ष्य भनेको परमेश्‍वरले आफ्ना जनहरूलाई दिनुभएको नाउँको सम्झना नै नहुनेगरि हामीलाई फुटाउनु हो। उहाँको सार्वभौमिकतामाथि हाकाहाकी त्यस्तो चुनौती दिंदा यहोवा कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? भजनरचयिताका शब्दहरूमै फेरि फर्कौं।

यहोवाको विजयका नमुनाहरू

१२-१४. मगिद्दो सहर नजिकै भएको कुन दुई ऐतिहासिक विजयबारे भजनहारले लेखेका छन्‌?

१२ शत्रु राष्ट्रहरूको योजना विफल तुल्याउन सक्ने यहोवाको योग्यतामा भजनरचयिताले राखेको बलियो विश्‍वासलाई याद गर्नुहोस्‌। प्राचीन सहर मगिद्दो नजिकै सोही नाउँले चिनिने बेंसीमा इस्राएलले आफ्ना शत्रुहरूमाथि विजय हासिल गरेको दुई निर्णायक युद्धबारे भजनरचयिताले बताएका छन्‌। गर्मी यामको बेला त्यस बेंसीमा पानीबिनाको सुख्खा कीशोन खोला नागबेली हुँदै गएको देख्न सकिन्छ। जाडो यामको वर्षापछि चाहिं खोलाले पूरै बेंसी ढाक्छ। सायद यही कारणले होला यसलाई “मगिदोका खोलाहरू” पनि भनिन्छ।—न्याय. ४:१३; ५:१९.

१३ मगिद्दोको बेंसीको झन्डै १५ किलोमिटर पारिपट्टि मोरेको डाँडा पर्छ। त्यहाँ न्यायकर्ता गिदोनको समयमा मिद्यानी, अमालेकी र पूर्वका जातिहरूको संयुक्‍त सेना लडाइँको लागि जम्मा भएका थिए। (न्याय. ७:१, १२) गिदोनको सिपाहीहरूको संख्या चाहिं घटाउँदै ३०० पुऱ्‍याइएको थियो तर परमेश्‍वरको मदत पाएर तिनीहरूले शत्रुहरूको ठूलो सेनालाई परास्त गरे। कसरी? परमेश्‍वरले भन्‍नुभएझैं तिनीहरूले बलिरहेको राँको गाग्रोभित्र लुकाएर बोके र राती शत्रुको छाउनी घेरे। गिदोनले इशारा गर्नेबित्तिकै तिनका मानिसहरूले गाग्रो फुटाए र अचानक लुकाइराखेको राँको झल्ल बलेको देखियो। त्यति नै बेला तिनीहरूले आ-आफ्नो तुरही फुके र यसो भन्दै कराए: “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” शत्रुहरू अलमलमा परे र एकअर्कालाई नै मार्न थाले र बाँचेकाहरू चाहिं यर्दन नदी पारि भागे। अनि शत्रुहरूलाई खेद्‌न अझ धेरै इस्राएलीहरू थपिए। जम्माजम्मी १,२०,००० शत्रु सिपाहीहरू मारिए।—न्याय. ७:१९-२५; ८:१०.

१४ मगिद्दो बेंसीको पारिपट्टि, मोरेको डाँडादेखि झन्डै ६ किलोमिटर पर तबोर डाँडा पर्छ। त्यहाँ, सेनापति सीसराको नेतृत्वमा आएको कनानी राजा याबीनको फौज विरुद्ध लड्‌न न्यायकर्ता बाराकले १०,००० इस्राएली सेना भेला गरेका थिए। त्यस कनानी फौजसित ९०० रथ थियो जसको पाङग्रामा फलामको धारिलो पाता जडिएको हुन्थ्यो। राम्रो हातहतियार पनि नभएको इस्राएलको फौज तबोर डाँडामा भेला भएको देखेर सीसराको फौज पूरै विश्‍वस्तताका साथ लड्‌न आए। त्यसपछि “परमप्रभुले सीसरालाई तिनका सबै रथहरू र फौजसमेतलाई बाराकको आक्रमणको सामने पराजित गराउनुभयो [अर्थात्‌, “अलमलमा पारिदिनुभयो,” NW]।” सायद, अचानक ठूलो पानी पर्दा कीशोन खोलामा पानी जलथल भएकोले रथहरू धसियो। शत्रु पक्षको एक जना पनि बाँकी नरहनेगरि इस्राएलीहरूले सबैलाई मारिदिए।—न्याय. ४:१३-१६; ५:१९-२१.

१५. (क) भजनहारले यहोवालाई के गर्न प्रार्थनामा बिन्ती गर्छन्‌? (ख) परमेश्‍वरले लड्‌ने अन्तिम युद्धको नाउँले हामीलाई के कुराको सम्झना दिलाउँछ?

१५ भजनहारको समयमा इस्राएलको अस्तित्वलाई खतरामा पारिरहेका राष्ट्रहरू विरुद्ध पनि कदम चाल्न तिनी यहोवालाई बिन्ती गर्छन्‌। तिनी यस्तो प्रार्थना गर्छन्‌: “मिद्यानीहरूलाई गर्नुभएझैं तिनीहरूलाई पनि गर्नुहोस्‌, सीसरा र याबीनलाई किशोन खोलामा गरेझैं। जो एन्दोरमा नष्ट भए, तिनीहरू जमीनको निम्ति मलजस्तै भए।” (भज. ८३:९, १०) उल्लेखनीय कुरा के छ भने, शैतानको संसार विरुद्ध परमेश्‍वरले गर्ने अन्तिम युद्धलाई आरमागेडोन भनिन्छ। यसको अर्थ “मगिद्दोको डाँडा” हो। यस नाउँले हामीलाई मगिद्दो नजिकै भएका निर्णायक युद्धहरूको सम्झना दिलाउँछ। विगतका ती युद्धहरूमा यहोवा विजयी हुनुभएकोले आरमागेडोनको युद्धमा पनि उहाँको विजय सुनिश्‍चित छ भनेर हामी विश्‍वस्त हुन सक्छौं।—प्रका. १६:१३-१६.

यहोवाको सार्वभौमिकता उच्च पार्न प्रार्थना गर्नुपर्छ

१६. विरोधीहरूको अनुहार कसरी ‘लाजले भरिएको’ छ?

१६ “आखिरी दिन”-को अवधिभरि नै आफ्ना जनहरूलाई निर्मूल पार्ने प्रयासहरूलाई यहोवाले विफल तुल्याउनुभएको छ। (२ तिमो. ३:१) फलस्वरूप, विरोधीहरू लाजमा परेका छन्‌। भजन ८३:१६ ले यसो भन्दै यस कुराको पूर्वझलक दिएको थियो: “तिनीहरूका अनुहार लाजले भर्नुहोस्‌, र हे परमप्रभु, तिनीहरूले तपाईंको नाउँको खोजी गरून्‌।” एकपछि अर्को देशमा विरोधीहरू यहोवाका साक्षीहरूको मुख बन्द गर्न नराम्रोसित विफल भएका छन्‌। ती देशहरूमा साँचो परमेश्‍वरका उपासकहरूको दृढता र धीरज इमानदार हृदय भएका व्यक्‍तिहरूका लागि राम्रो गवाही भएको छ र थुप्रैले ‘यहोवाको नाउँको खोजी गरेका’ छन्‌। कुनै समय यहोवाका साक्षीहरूले भीषण सतावट भोगेको कतिपय देशमा अहिले यहोवाका आनन्दित प्रशंसकहरूको संख्या हजारौं वा लाखौं समेत पुगेको छ। यहोवाको कस्तो ठूलो विजय! अनि उहाँका शत्रुहरूको लागि चाहिं कत्ति लाजमर्दो कुरो!यर्मिया १:१९ पढ्‌नुहोस्‌।

१७. विरोधीहरूले कस्तो निर्णायक परिस्थितिको सामना गर्नुपर्छ र चाँडै कुन शब्दहरू हामी सम्झनेछौं?

१७ तर हामीलाई थाह छ, युद्ध सकिएको छैन। अनि हामी विरोधीलाई समेत सुसमाचार प्रचार गर्न बन्द गर्दैनौं। (मत्ती २४:१४, २१) तर अब चाँडै, पश्‍चाताप गर्न र मुक्‍ति पाउन विरोधीहरूलाई दिइएको मौका सिद्धिनेछ। मानिसहरूको मुक्‍तिभन्दा यहोवाको नाउँलाई पवित्र पार्नु धेरै महत्त्वपूर्ण छ। (इजकिएल ३८:२३ पढ्‌नुहोस्‌) भविष्यवाणी गरिएझैं परमेश्‍वरका जनहरूलाई नाश गर्न जब सारा राष्ट्रहरू एकत्रित हुन्छन्‌, हामी भजनहारको यो प्रार्थना सम्झनेछौं: “तिनीहरू सधैंको निम्ति शर्ममा परून्‌, र आतसले भरिऊन्‌, तिनीहरूका मुख कालो होऊन्‌, र नष्ट भइजाऊन्‌।”—भज. ८३:१७.

१८, १९. (क) यहोवाको सार्वभौमिकताको विरोध गर्न लागिपरेकाहरूले कस्तो नतिजा भोग्नेछन्‌? (ख) आउनै लागेको यहोवाको सार्वभौमिकताको महिमाले तपाईंलाई कसरी असर गर्छ?

१८ यहोवाको सार्वभौमिकताको विरोध गर्न लागिपरेकाहरूले चाँडै अपमानजनक अन्त भोग्नेछन्‌। “सुसमाचार नमान्‍नेहरू”-ले आरमागेडोनको युद्धमा “अनन्त विनाश” भोग्नेछन्‌ भनेर बाइबलले स्पष्ट पार्छ। (२ थिस्स. १:७-९) विरोधीहरूको विनाश र यहोवालाई सत्यतामा पुज्नेहरूको बचाउ नै यहोवा मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुराको गतिलो प्रमाण हुनेछ। नयाँ संसारमा यो ठूलो विजयलाई भुलिनेछैन। “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान” हुँदा जीवन पाउनेहरूले यहोवाको यस महान्‌ कार्यबारे थाह पाउनेछन्‌। (प्रेरि. २४:१५) यहोवाको सार्वभौमिकताको अधीनमा बस्नु बुद्धिमानी कुरा हो भनेर तिनीहरूले नयाँ संसारमा गतिलो प्रमाण पाउनेछन्‌। अनि नम्र व्यक्‍तिहरू यहोवा मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनी चाँडै विश्‍वस्त हुनेछन्‌।

१९ स्वर्गमा हुनुहुने हाम्रा मायालु पिताले विश्‍वासी उपासकहरूका लागि कत्ति राम्रो प्रबन्ध गर्नुभएको छ! अब फेरि एकचोटि अन्तमा यहोवाले भजनरचयिताको प्रार्थनाको जवाफ चाँडै देऊन्‌ भनेर प्रार्थना गर्न के तपाईं उत्प्रेरित हुनुहुन्‍न: “[तपाईंका शत्रुहरू] सधैंको निम्ति शर्ममा परून्‌, र आतसले भरिऊन्‌, तिनीहरूका मुख कालो होऊन्‌, र नष्ट भइजाऊन्‌, र तिनीहरूले जानून्‌, कि तपाईं जसको नाउँ परमप्रभु [अर्थात्‌, “यहोवा,” NW] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।”—भज. ८३:१७, १८. (w 08 10/15)

[फुटनोट]

a यो लेख पढ्‌नुअघि भजन ८३ का विषयवस्तुसित परिचित हुन पूरै अध्याय पढ्‌नुभयो भने लाभ उठाउनुहुनेछ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

भजन अध्याय ८३ लेखिंदा इस्राएलको परिस्थिति कस्तो थियो?

भजन ८३ का लेखेकको मुख्य चिन्ताको विषय के थियो?

• आज शैतानले कसलाई आफ्नो तारो बनाएको छ?

भजन ८३:१८ मा व्यक्‍त गरिएको प्रार्थनाको जवाफ यहोवाले अन्ततः कसरी दिनुहुनेछ?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको नक्सा]

प्राचीन मगिद्दो नजिकै लडिएका युद्धहरूको हाम्रो भविष्यसित कस्तो सम्बन्ध छ?

कीशोन खोला

हरोशेत

कर्मेल डाँडा

यिज्रेलको बेंसी

मगिद्दो

तानाक

गिल्बो डाँडा

एन-हरोद

मोरेको डाँडा

एन्दोर

तबोर डाँडा

गालील समुद्र

यर्दन नदी