सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“शान्ति हुने . . . कुराको पछि लागौं”

“शान्ति हुने . . . कुराको पछि लागौं”

“शान्ति हुने . . . कुराको पछि लागौं”

भर्खरै पिच गरेको सडक मजबुत अनि कहिल्यै नबिग्रने जस्तो देखिन्छ। तर समय बित्दै जाँदा चर्किन र खाल्टाखुल्टी पर्न सक्छ। सुरक्षाको लागि र सडकलाई जोगाउने हो भने मर्मत गर्नु आवश्‍यक छ।

त्यसैगरि, अरूसितको हाम्रो सम्बन्ध बिग्रन र चर्किन समेत सक्छ। प्रेरित पावलले रोमका ख्रीष्टियानहरू माझ दृष्टिकोण फरक-फरक भएको बुझे। तिनले सँगी ख्रीष्टियानहरूलाई यस्तो सल्लाह दिए: “हामी शान्ति हुने र आपसमा सुधार्ने कुराको पछि लागौं।” (रोमी १४:१३, १९) ‘शान्ति हुने कुराको पछि लाग्नु’ किन आवश्‍यक छ? हामी कसरी साहससाथ र प्रभावकारी तरिकामा शान्तिको पछि लाग्न सक्छौं?

शान्तिको पछि किन लाग्ने?

सडक अलिकति मात्र चर्किंदा मर्मत गरिएन भने त्यसले खतरनाक खाल्टोको रूप लिन सक्छ। व्यक्‍तिगत मतभिन्‍नता नसुल्झाइ त्यत्तिकै छोड्‌दा त्यस्तै अनर्थ हुन सक्छ। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “यदि कसैले ‘म परमेश्‍वरलाई प्रेम गर्छु, भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई प्रेम गर्नसक्‍तैन।’ ” (१ यूहन्‍ना ४:२०) नसुल्झाइएको व्यक्‍तिगत मतभिन्‍नताको कारण एक जना ख्रीष्टियानले अन्ततः आफ्नो भाइलाई घृणा गर्न सक्छ।

यदि हामीले अरूसित मिलाप गरेका छैनौं भने यहोवालाई हाम्रो उपासना ग्रहणयोग्य हुँदैन भनी येशूले बताउनुभयो। येशूले आफ्ना चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भनी तिमीलाई याद भयो भने, त्यही वेदीको सामु तिम्रो भेटी छोड, र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढाऊ।” (मत्ती ५:२३, २४) हो, हामी शान्तिको पछि लाग्नुको एउटा मुख्य कारण भनेको यहोवा परमेश्‍वरलाई खुसी बनाउने हाम्रो चाहना हो। a

फिलिप्पीको मण्डलीमा भएको एउटा परिस्थितिले शान्तिको पछि लाग्नुपर्ने अर्को कारण दिन्छ। दुई ख्रीष्टियान बहिनी इयोदिया र सिन्तकेबीचको कुनै समस्याले गर्दा पूरै मण्डलीको शान्ति खतरामा परेको प्रस्ट भयो। (फिलि. ४:२, ३) नसुल्झाइएको व्यक्‍तिगत मतभिन्‍नताहरू चाँडै बाहिर आउन सक्छ। मण्डलीमा छाएको प्रेम र एकतालाई जोगाउने हाम्रो इच्छाले सँगी विश्‍वासीहरूसित शान्तिमा रहन हामीलाई उत्प्रेरित गर्छ।

“धन्य मेल-मिलाप गराउनेहरू” येशूले भन्‍नुभयो। (मत्ती ५:९) शान्तिको पछि लाग्दा आनन्ददायी सन्तुष्टि पाइन्छ। त्यति मात्र कहाँ हो र, मेल-मिलापले स्वास्थ्य राम्रो बनाउँछ किनकि “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।” (हितो. १४:३०) अर्कोतर्फ, रिस-राग गुम्साएर राख्दा शारीरिक तवरमा बिरामी हुने खतरा बढ्‌न सक्छ।

थुप्रै ख्रीष्टियानहरू शान्तिको पछि लाग्नुपर्छ भन्‍ने कुरामा सहमत छन्‌। तर व्यक्‍तिगत मतभिन्‍नता कसरी सुल्झाउने भन्‍ने लागेको हुन सक्छ। आउनुहोस्‌, हामीलाई डोऱ्‍याउन सक्ने धर्मशास्त्रीय सिद्धान्तहरू जाँचौं।

शान्त कुराकानीले मेल गराउँछ

पिच सडकको सानो भाग चर्क्यो भने त्यहाँ टालटुल गरेर मर्मत गर्न सकिन्छ। त्यसै गरी के हामीले आफ्नो भाइलाई क्षमा दिन र उसको सानो भूलमाथि आँखा चिम्लिदिन सम्भव छ? यो सल्लाहले धेरैजसो व्यक्‍तिगत मतभिन्‍नता सुल्झाउन मदत गर्ला किनभने प्रेरित पत्रुसले यस्तो लेखेका थिए: “प्रेमलेनै असंख्य पापहरू ढाक्‍तछ।”—१ पत्रु. ४:८.

तर कुनै बेला भने समस्या एकदमै गम्भीर देखिन्छ जसलाई हामी सजिलै बेवास्ता गर्न सक्दैनौं। प्रतिज्ञा गरिएको देश हातमा लिएको केही समयपछि इस्राएलीहरूलाई के भयो विचार गर्नुहोस्‌। “रूबेनी, गादी र मनश्‍शेको आधा कुल” यर्दन नदीको पारिपट्टि जानुअघि तिनीहरूले “हेर्दैमा ठूलो देखिने वेदी बनाए।” इस्राएलका बाँकी कुलले त्यो वेदी मूर्तिपूजाको लागि प्रयोग गरेको भन्ठाने र त्यस समस्याप्रति तिनीहरूले आँखा चिम्लिन सकेनन्‌। तिनीहरू लडाइँ लड्‌न कसिए।—यहो. २२:९-१२.

तिनीहरूले खराब काम गरेको प्रशस्त प्रमाण छँदैछ अनि लुकीछिपी आक्रमण गर्दा मर्नेहरूको संख्या पनि थोरै हुन्छ भनेर कुनै-कुनै इस्राएलीहरूले महसुस गरेका हुन सक्छन्‌। तर हतारमा काम गर्नुको साटो यर्दन नदीको पश्‍चिमपट्टि बस्ने इस्राएली कुलले आफ्ना भाइहरूसित उक्‍त समस्याबारे छलफल गर्न प्रतिनिधिहरू पठाए। तिनीहरूले सोधे: “तिमीहरू[को] . . . यो कस्तो अपराध हो, जो तिमीहरूले आज परमप्रभुको विरुद्धमा वागी बनेर उहाँको अनुसरण गर्न छोडे[का] . . . छौ?” वास्तवमा, त्यो वेदी बनाउने कुलले अपराध अर्थात्‌ अविश्‍वासी काम गरेको थिएन। तर तिनीहरूले आफूमाथि लगाइएको त्यस्तो लाञ्छनाप्रति कस्तो प्रतिक्रिया देखाउने थिए? के तिनीहरू दोष लगाउनेहरू माथि झोक्किए अथवा बोल्नै छाडे? दोषी ठहऱ्‍याइएको कुलले आफूहरूले साँच्चै यहोवाको सेवा गर्ने इच्छाले त्यसो गरेको हो भनेर शान्त भई जवाफ दिए। तिनीहरूको जवाफले परमेश्‍वरसितको तिनीहरूको सम्बन्धलाई जोगायो र ज्यान पनि बचायो। शान्त कुराकानीले मामिला सुल्झियो र मिलाप गरायो।—यहो. २२:१३-३४.

गम्भीर पाइला चाल्नुअघि अरू इस्राएलीहरूले बुद्धिमानीसाथ तिनीहरूको समस्याबारे रूबेनी, गादी र मनश्‍शेको आधा कुलसित छलफल गरे। परमेश्‍वरको वचन भन्छ: “रीस देखाउन छिटो नगर्‌, किनभने रीस मूर्खको मनमा हुन्छ।” (उप. ७:९) गम्भीर व्यक्‍तिगत मतभिन्‍नता समाधान गर्ने धर्मशास्त्रीय तरिका भनेको शान्त भई खुलस्त कुराकानी गर्नु हो। रिस-रागलाई गुम्साएर राख्छौं र आफूलाई चित्त दुखाउने मानिससित कुरा गर्दैनौं भने के हामी साँच्चै यहोवाको आशिष्‌को अपेक्षा गर्न सक्छौं?

अर्को कुरा, यदि कुनै सँगी ख्रीष्टियानले उसलाई हामीले चित्त दुखायो भन्छ भने कस्तो प्रतिक्रिया देखाउँछौं? हुनसक्छ त्यो अभियोग झूटो हो। बाइबल बताउँछ, “मीठो जवाफले क्रोधलाई शान्त गर्छ।” (हितो. १५:१) दोष लगाइएका इस्राएली कुलका मानिसहरूले नम्र हुँदै तर स्पष्ट रूपमा आफ्ना कुरा बताए। यसरी तिनीहरूले आफ्ना भाइहरूको रिस शान्त पारे। आफ्नो भाइसित कुरा गर्न हामी आफैले पहिलो कदम चाल्दा होस्‌ या उसले हामीसित समस्याबारे कुरा गर्न आउँदा, आफैलाई यस्तो प्रश्‍न सोध्नु बेस हुन्छ, “कस्तो शब्द, बोली र हावभावले सम्भवतः शान्तिलाई बढवा दिन्छ होला?”

जिब्रो उचित तरिकामा चलाउनुहोस्‌

हामीलाई आफ्नो विचार पोख्न आवश्‍यक छ भनेर यहोवालाई थाह छ। तर आफ्नो व्यक्‍तिगत मतभिन्‍नताहरू सुल्झाउन असफल भयौं भने सायद हामीलाई त्यसबारे अरू कसैलाई बताउन सकसक लाग्न सक्छ। मनमा गुम्साएर राखेको रिस-रागको कारण हाम्रो बोली सजिलै आलोचनात्मक हुन सक्छ। जिब्रोको अनुचित प्रयोगबारे हितोपदेश ११:११ यसो भन्छ: “दुष्टहरूका वचनले त्यो [एउटा सहर] भताभुङ्‌ग हुन्छ।” त्यसैगरि, सँगी ख्रीष्टियानबारे गरेको जथाभावी बोलीले सहररूपी मण्डलीको शान्तिलाई खलबल्याउन सक्छ।

तर शान्तिको पछि लाग्नुको मतलब हाम्रो सँगी भाइबहिनीबारे कुरै नगर्नु भन्‍न खोजेको चाहिं होइन। प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई यस्तो सल्लाह दिए: “केही कुवाक्य तिमीहरूका मुखबाट ननिस्कोस्‌।” बरु तिनले अझ यसो भने: “परिआएको खण्डमा सुधारको निम्ति केही असल कुरो हुन्छ भने मात्र, कि त्यसबाट सुन्‍नेहरूलाई अनुग्रह मिलोस्‌ . . . एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक-अर्कोप्रति कोमल मनको र दयालु होओ।” (एफि. ४:२९-३२) तपाईंको बोली वा व्यवहारले गर्दा चित्त दुखाएको भाइ तपाईंसँग कुरा गर्न आउँछ र ती भाइले तपाईंबारे अरूसित पहिला-पहिला नराम्रो कुरा गरेका छैनन्‌ भने के तपाईंलाई माफी माग्न र मिलाप गर्न सजिलो लाग्दैन र? त्यसैले, सँगी ख्रीष्टियानबारे उत्थानदायी बोली बोल्ने गर्छौं भने मतभिन्‍नता भएको बेला मिलाप गर्न सजिलो हुन्छ।—लूका ६:३१.

“काँधमा काँध मिलाएर” परमेश्‍वरको सेवा गर्नुहोस्‌

हाम्रो पापी मानव झुकाव भनेको आफूलाई चित्त दुखाएको व्यक्‍तिबाट अलग बस्न खोज्नु अर्थात्‌ टाढिनु हो। तर यसो गर्नु मूर्खता हो। (हितो. १८:१) यहोवाको नाउँमा बोलाइएका एकताबद्ध मानिसको रूपमा हामी “काँधमा काँध मिलाएर उहाँको सेवा” गर्न कटिबद्ध छौं।—सप. ३:९, NRV.

अरूको अनुचित बोली वा व्यवहारले गर्दा शुद्ध उपासनाप्रतिको हाम्रो जोस कहिल्यै कमजोर हुनुहुँदैन। येशूको बलिदानले मन्दिरमा चढाइने बलिदान खारेज गर्न केही दिन अघि र शास्त्रीहरूलाई कडासित गाली गरेको केही समयपछि येशूले गरिब विधवाले मन्दिरको ढुकुटीमा ‘आफ्नो सारा जीविकानै चढाएको’ देख्नुभयो। के येशूले तिनलाई रोक्न खोज्नुभयो? त्यसो होइन, बरु उहाँले ती विधवाले त्यतिबेलाको यहोवाको मण्डलीलाई सच्चा मनले समर्थन गरेको छ भनेर प्रशंसा गर्नुभयो। (लूका २१:१-४) अरूको अधर्मी कामले तिनलाई यहोवाको उपासनाप्रति समर्थन गर्ने अभिभाराबाट स्वतन्त्र बनाएन।

ख्रीष्टियान भाइ वा बहिनीको काम अनुचित अनि अन्यायपूर्ण समेत छ जस्तो महसुस भएमा हामीले कस्तो प्रतिक्रिया देखाउनेछौं? के यसले गर्दा हामीले यहोवालाई सारा प्राणले गरेको सेवामा असर पर्न दिन्छौं? अथवा अहिले परमेश्‍वरको मण्डलीमा छाएको अमूल्य शान्तिलाई जोगाउन जस्तोसुकै व्यक्‍तिगत मतभिन्‍नताहरू आउँदा पनि साहसी भई त्यसलाई सुल्झाउन कदम चाल्छौं?

बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।” (रोमी १२:१८) हामी यसो गर्न दृढ हुन सकौं र जीवनको बाटोमा सुरक्षित रहौं। (w08 11/15)

[फुटनोट]

a मत्ती १८:१५-१७ मा लिपिबद्ध येशूको उपदेशबारे प्रहरीधरहरा अक्टोबर १५, १९९९ को पृष्ठ १७-२२ हेर्नुहोस्‌।

[पृष्ठ १२-मा भएको चित्र]

कस्तो शब्द, बोली र हावभावले सम्भवतः शान्ति जोगाउन सकिन्छ होला?