सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो दिनबारे गरिएका भविष्यवाणीहरू

हाम्रो दिनबारे गरिएका भविष्यवाणीहरू

हाम्रो दिनबारे गरिएका भविष्यवाणीहरू

परमेश्‍वरको राज्यले यस पृथ्वीमा स्थायी शान्ति र खुसी ल्याउनेछ भनेर बाइबल बताउँछ। (दानियल २:४४) ‘प्रभुको प्रार्थना’-मा येशूले चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) जैतून डाँडामा चेलाहरूलाई दिनुभएको महान्‌ भविष्यवाणीमा येशूले परमेश्‍वरको राज्यले पृथ्वीमा परिवर्तन ल्याउनुअघि हुने खास घटना र परिस्थितिबारे बताउनुभयो। यी पक्षहरू मिलेर बनेको चिह्न सोझो मनले नियाल्नेहरू सबैले प्रस्ट देख्ने थिए। ती चिह्नका निम्न पक्षहरूमध्ये तपाईं आफैले कति वटा देख्नुभएको छ?

अन्तराष्ट्रिय युद्धहरू। येशूले भविष्यवाणी गर्नुभएको थियो: “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।” (मत्ती २४:७) सन्‌ १९१४ मा प्रथम विश्‍वयुद्ध हुनुअघि युद्धहरू स्थानीय तवरमा मात्र हुने गर्थे। प्रथम विश्‍वयुद्धले विश्‍वको ठूलो पाटोलाई मात्र ढाकेन तर मानवजातिलाई पहिला कहिल्यै थाह नभएको डरलाग्दो हातहतियारको विकासमा समेत तीव्रता ल्यायो। उदाहरणको लागि, भर्खरै आविष्कार गरेका हवाईजहाजहरू सर्वसाधारणमाथि बम खसाल्न प्रयोग गरियो। हातहतियारको बढ्‌दो उत्पादनले पहिला-पहिला कल्पनासमेत नगरिएको हदसम्म रक्‍तपातलाई बढवा दियो। जस्तो कि युद्धभूमिमा पठाइएका करिब ६ करोड ५० लाख सिपाहीहरू मारिए वा घाइते भए। त्यसमाथि २० औं शताब्दीको गतिसँगसँगै रक्‍तपात पनि चुलिन्दैछ। एक जना इतिहासकार अनुसार दोस्रो विश्‍वयुद्धले गर्दा कति सैनिक र सर्वसाधारण मारिए “त्यसको ठ्याक्कै संख्या हामीले कहिल्यै थाह पाउन सक्दैनौं।” अनि युद्धहरू अहिले पनि भइरहेकै छ।

व्यापक भोकमरी। “ठाउँ-ठाउँमा अनिकाल . . . हुनेछ” भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:७) सन्‌ २००५ मा साइन्स नामक पत्रिकाले यस्तो भन्यो: “संसारमा ८५ करोड ४० लाख (संसारको कूल जनसंख्याको करिब १४ प्रतिशत) मानिसहरू लामो समयदेखि वा केही समयसम्म कुपोषणले नराम्ररी गाँजिएका छन्‌।” सन्‌ २००७ मा संयुक्‍त राष्ट्र संघको एउटा स्रोतले जानकारी दिएअनुसार ३३ वटा मुलुकसित आफ्नो जनतालाई खुवाउन पर्याप्त खाद्यान्‍न छैन। संसारकै खाद्यान्‍न उत्पादनमा वृद्धि भएको बेला यस्तो कसरी हुन सक्छ र? एउटा कुरा त मानिसहरूका निम्ति प्रयोग गर्न सकिने उत्पादनयोग्य जमिन र अनाज इथानोल भनिने गाडीको इन्धन उत्पादन गर्नमा प्रयोग गरिएको छ। दक्षिण अफ्रिकाको पत्रिका द विट्‌नेस-को रिपोर्टअनुसार “एउटा ठूलो गाडीलाई एकचोटि भर्न चाहिने इथानोल निकाल्न, एक जना व्यक्‍तिले प्रशस्तगरि वर्षभरि खाने अनाजको आवश्‍यकता पर्छ। विकसित मुलुकहरूमा पनि खाद्यान्‍नको मूल्य वृद्धिले गर्दा थुप्रैले खाना या अन्य आवश्‍यकताहरू जस्तो कि औषधी वा तताउने इन्धनको लागि पैसा खर्च गर्ने, त्यसको छनौट गर्नुपरेको छ।

शक्‍तिशाली भूकम्पहरू। येशूले भन्‍नुभएको थियो: “ठूला ठूला भैंचालो जानेछ।” (लूका २१:११) ‘पहिलाभन्दा अहिले धेरै मानिस भूकम्पबाट प्रभावित भएको देख्छु’ भन्‍नुहुन्छ भने तपाईंको कुरा सोह्रै आना ठीक हो। भारतका भूकम्पविद्‌ आर. के. चद्दाले सन्‌ २००७ मा यसो भने: “एक्कासि हामी संसारभरि नै भूकम्पहरू झन्‌-झनै बढी जान थालेको देख्दैछौं। तर यसको कारण कसैलाई थाह छैन।” त्यसमाथि, भूकम्प आउने सम्भावना धेरै भएको क्षेत्रमा भएको तीव्र जनसंख्या वृद्धिले गर्दा मर्नेहरूको संख्यामा वृद्धि आएको छ। संयुक्‍त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षणअनुसार सन्‌ २००४ मा आएको भूकम्पले हिन्द महासागरलाई हिर्कायो र त्यसले गर्दा आएको सुनामीले त्यो वर्षलाई “झन्डै ५०० वर्षको भूकम्पहरू मध्येकै सबैभन्दा डरलाग्दो” र “इतिहासकै दोस्रो घातक” साबित गरेको छ।

अनियन्त्रित रोग। “रूढी . . . हुनेछ” भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। (लूका २१:११) संसारभरि पुराना र नयाँ रोगका कारण पहिलाभन्दा झन्‌ धेरै मानिस थला परेका छन्‌ र उपचारको आशा पनि धमिलिंदै गएको छ। उदाहरणको लागि, औलो निर्मूल गर्ने अन्तरराष्ट्रिय लक्ष्यलाई पछि सार्नुपऱ्‍यो किनभने यो रोग मानव नियन्त्रणको बाहिर जाँदैछ। साथै, एड्‌स र अरू नयाँ रोगहरूले जतिकै क्षयरोग जस्ता पुरानो रोगले पनि लाखौं मानिसहरूको ज्यान लिइरहेका छन्‌। विश्‍व स्वास्थ्य संगठनको रिपोर्टअनुसार “पृथ्वीको जनसंख्याको एक तिहाइ मानिसहरू टिबी बासिलस नाउँको ब्याक्टेरियाले संक्रमित भइसकेका छन्‌।” त्यो संगठनले थुप्रै मुलुकमा एच आइ भीको कारण क्षयरोग महामारीमा टेवा पुगेको कुरा पनि बतायो। प्रत्येक सेकेन्ड एक जना नयाँ व्यक्‍ति क्षयरोगको सिकार हुन्छ र यसका ब्याक्टेरियाहरूले क्षयरोगको औषधीको प्रतिरोध गर्न थालेका छन्‌। सन्‌ २००७ मा युरोपको एक जना बिरामीलाई क्षयरोग लागेको पत्ता लाग्यो र त्यो रोगलाई “हामीसित भएको कुनै पनि औषधीले छोएन” भनी न्यु साइन्टिस्ट पत्रिकाले रिपोर्ट गऱ्‍यो।

नैतिक र सामाजिक पतन। “अधर्म बढ्‌ने हुनाले धेरैको प्रेम सेलाएर जानेछ” भनी येशूले भन्‍नुभयो। (मत्ती २४:१२) यसका साथै, प्रेरित पावलले सामाजिक र नैतिक मूल्यको पतन हुने समयबारे औंल्याए। परमेश्‍वरको राज्यले यो संसारको रीतिरिवाज खतम पार्नुअघि कठिनाइले भरिएको “आखिरी दिन” आउनेछ भनेर तिनले वर्णन गरेका थिए। “मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने हुनेछन्‌।” (२ तिमोथी ३:१-५) मानिसले पहिला भन्दा अहिले झन्‌ बढी त्यस्तो व्यवहार देखाएको के तपाईंले याद गर्नुभएको छैन र?

येशू र पावलले विश्‍वलाई यस स्थितिमा पुऱ्‍याउने ती सबै ऐतिहासिक, सामाजिक र राजनैतिक पक्षहरूको सूची दिनुभएन। तैपनि, उहाँहरूको भविष्यवाणीले आज हाम्रो आँखा अगाडि भइरहेको घटना र व्यवहारबारे सही वर्णन गर्छ। भविष्यबारे चाहिं के भन्‍न सकिन्छ नि? मसीहको आगमनबारे भरपर्दो साबित भएको यशैयाको भविष्यवाणीले परमेश्‍वरको राज्यद्वारा यस पृथ्वीमा लाभदायी परिवर्तनहरू ल्याइनेछ भनेर पनि वर्णन गरेको छ। आउनुहोस्‌, यसपछिको लेखमा यसबारे विचार गरौं। (w08 10/1)

[पृष्ठ ६-मा भएको चित्र]

“जातिको विरुद्धमा जाति . . . उठ्‌नेछ”

[पृष्ठ ७-मा भएको चित्र]

“रूढी . . . हुनेछ”

[स्रोत]

© WHO/P. Virot