सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आज ‘चमत्कारी निवारण’ के परमेश्‍वरतर्फको हो?

आज ‘चमत्कारी निवारण’ के परमेश्‍वरतर्फको हो?

आज ‘चमत्कारी निवारण’ के परमेश्‍वरतर्फको हो?

केही मुलुकमा मानिसहरू “निको नहुने” रोग-व्यथा पनि निको हुने दाबी गरिएका धार्मिकस्थलहरूमा तीर्थ गएको देख्नु नौलो कुरा होइन। अन्य मुलुकमा भने धामी-झाँक्रीहरूले अलौकिक शक्‍तिद्वारा मानिसहरूलाई निको पार्ने दाबी गर्छन्‌। अझै अरू ठाउँमा त भावनामा डुबाउने धार्मिक जमघट गरिन्छ जहाँ बिरामीहरू आ-आफ्नो ह्विलचेयरबाट उफ्रने, बैसाखी हुत्याउने गर्न सक्छन्‌ र निको भएको दाबी गर्छन्‌।

यस्तो निवारण गर्ने व्यक्‍तिहरू पक्कै पनि विभिन्‍न धर्मका हुन्‌ र यिनीहरू अक्सर एक-अर्कालाई धर्मत्यागी वा झूटा भएको अभियोग लगाउँछन्‌। त्यसैले यस्तो प्रश्‍न उठ्‌न सक्छ, के परमेश्‍वरले तीनथुप्रो त्यो पनि आपसमा बाझिने माध्यमहरू चलाएर चमत्कार गर्नुहुन्छ? बाइबल यसो भन्छ: “परमेश्‍वर गोलमालका परमेश्‍वर होइन, तर शान्तिका परमेश्‍वर हुनुहुन्छ।” (१ कोरिन्थी १४:३३) त्यसैले के त्यस्तो ‘चमत्कारी निवारण’ साँच्चै परमेश्‍वरतर्फको हो? कुनै-कुनै निवारणकर्ताले येशूबाट शक्‍ति पाएर निको पारेको दाबी गर्छन्‌। आउनुहोस्‌, येशूले कसरी मानिसहरूलाई निको पार्नुभयो विचार गरौं।

येशूले मानिसहरूलाई कसरी निको पार्नुभयो

येशूले अहिलेका निवारणकर्ताहरूले भन्दा एकदमै भिन्‍न तरिकामा बिरामीहरूलाई निको पार्नुभयो। उदाहरणको लागि, उहाँले आफूकहाँ मदतको लागि आउने जति सबैलाई निको पार्नुभयो। उहाँले भीडमा भएकाहरूमध्ये कसै-कसैलाई मात्र निको पार्ने र कसैलाई चाहिं त्यत्तिकै पठाउने गर्नुभएन। साथै, उहाँले पूर्ण रूपमा अनि अक्सर तुरुन्तै निको पार्नुहुन्थ्यो। बाइबल यसो भन्छ: “सारा भीड उहाँलाई छुन खोज्दथियो, किनकि शक्‍ति उहाँबाट निस्कन्थ्यो, र ती सबैलाई निको पार्दथियो।”—लूका ६:१९.

निको पार्न नसकेपछि ‘त्यो त तिनीहरूकै विश्‍वासको कमीले गर्दा हो’ भन्‍ने अहिलेका निवारणकर्ताहरूको ठीक विपरीत, येशूले आफूलाई विश्‍वास नगरिसकेकाहरूलाई समेत निको पार्नुभयो। उदाहरणको लागि, एक पटक उहाँ आफै अग्रसर भएर अन्धो मानिसको नजिक जानुभयो र तिनलाई निको पार्नुभयो। पछि उहाँले तिनलाई सोध्नुभयो: “के तिमी परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्दछौ?” त्यस मानिसले जवाफ दिए: “प्रभु, उहाँ को हुनुहुन्छ? म उहाँमाथि विश्‍वास गर्नेछु?” येशूले भन्‍नुभयो: “तिमीसित बोल्ने उहीनै हो।”—यूहन्‍ना ९:१-७, ३५-३८.

तपाईं सोच्नु होला, ‘येशूबाट निको हुन विश्‍वास आवश्‍यक थिएन भने आफूले निको पारेकाहरूलाई उहाँले अक्सर “तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ” किन भन्‍नुभएको त?’ (लूका ८:४८; १७:१९; १८:४२) त्यसो भनेर येशूले एउटा कुरालाई औंल्याउँदै हुनुहुन्थ्यो। येशूले निको पार्न सक्नुहुन्छ भनी विश्‍वास गर्दै उहाँकहाँ जानेहरू निको भए तर उहाँकहाँ जान इन्कार गर्नेहरूले भने त्यो मौका गुमाए। त्यसरी निको हुनेहरू तिनीहरूको विश्‍वासले होइन तर परमेश्‍वरको शक्‍तिले निको भएका थिए। येशूबारे बाइबल भन्छ: “परमेश्‍वरले नासरतका येशूलाई पवित्र आत्मा र शक्‍तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र शैतानबाट पेलिएका सबैलाई निको पार्दै हिंड्‌नुभयो, किनकि परमेश्‍वर उहाँको साथमा हुनुहुन्थ्यो।”—प्रेरित १०:३८.

प्रायजसो, अहिले हुने गरेको नाउँ मात्रको निवारणमा पैसाको ठूलो हात छ जस्तो देखिन्छ। विश्‍वासको आधारमा निको पार्नेहरू ठूल्ठूला चन्दा संकलन गर्न सिपालु छन्‌। यस्तै एक निवारणकर्ताले विश्‍वव्यापी रूपमा फैलिएको कार्यक्रमबाट वर्षमा ८ करोड ९० लाख अमेरिकी डलर उठाएका थिए। चर्चहरूले पनि निको हुने आशाले तीर्थयात्रा गर्नेहरूबाट फाइदा उठाएका छन्‌। यसको विपरीत, येशूले भने आफूले निको पारेका व्यक्‍तिहरूबाट कहिल्यै पैसा लिनुभएन। एक पटक त उहाँले तिनीहरूका लागि खाना समेत उपलब्ध गराउनुभयो। (मत्ती १५:३०-३८) येशूले चेलाहरूलाई प्रचार गर्न पठाउनुहुँदा यसो भन्‍नुभयो: “बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जगाओ, कोरीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। सित्तैंमा पायौ, सित्तैंमा देओ।” (मत्ती १०:८) अहिलेका निवारणकर्ताहरूको तरिका येशूको भन्दा किन यत्तिको भिन्‍न?

‘निवारणको’ स्रोत को हो?

चिकित्सा पेशामा लागेका केहीले वर्षौंदेखि धार्मिक निवारणकर्ताहरूको दाबीलाई जाँचेर हेरेका छन्‌। तिनीहरूले के पाएका छन्‌? लन्डनको द डेली टेलिग्राफ अखबारअनुसार यस विषयमा अनुसन्धान गर्न २० वर्ष बिताएका बेलायतका एक डाक्टरले यसो भने: “चमत्कारी निवारण गरेको जस्तोसुकै बडे-बडे दाबी गरे तापनि चिकित्साको हिसाबबाट त्यसमा एक सुका बराबरको पनि सत्यता भेटिएन।” तर, थुप्रै व्यक्‍तिहरू अस्तु, धार्मिकस्थल अथवा धार्मिक निवारणकर्ताको शक्‍तिले निको हुने कुरा सच्चा मनले विश्‍वास गर्छन्‌। के तिनीहरूले धोका खाएका हुन्‌?

प्रसिद्ध डाँडाको उपदेशमा येशूले धार्मिक पाखण्डीहरूले उहाँलाई यसो भन्‍नेछन्‌ भन्‍नुभयो: “हे प्रभु, हे प्रभु के हामीले तपाईंको नाउँमा . . . सामर्थ्यका काम गरेनौं र?” तर उहाँले यसो भन्‍नुहुनेछ: “मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ। ए अधम काम गर्ने हो, मबाट दूर होओ।” (मत्ती ७:२२, २३) त्यस्तो सामर्थ्य छ भनी दाबी गर्नेहरूको स्रोतबारे प्रेरित पावलले यस्तो चेतावनी दिए: “अधर्मीको आगमन शैतानको कामबमोजिम, सबै शक्‍ति, झूटा चिह्नहरू, र आश्‍चर्यकामहरूसँग, औ नष्ट भएर जानेहरूलाई सबै अधर्मको धोकाबाजीका साथ यी कुरा हुनेछन्‌।”—२ थिस्सलोनिकी २:९, १०.

यसबाहेक अस्तु, मूर्ति र प्रतिमासित सम्बन्धित “निवारण” परमेश्‍वरतर्फको हुनै सक्दैन। किन? किनभने परमेश्‍वरको वचनले यस्तो स्पष्ट आज्ञा दिन्छ: “मूर्तिपूजाबाट अलग रहो” र “मूर्तिहरूबाट जोगिएर बस।” (१ कोरिन्थी १०:१४; १ यूहन्‍ना ५:२१) यस्तो “निवारण” साँचो उपासनाबाट मानिसहरूलाई टाढा बनाउने शैतानको एउटा चाल हो। बाइबल भन्छ: “शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्तन गर्दछ।”—२ कोरिन्थी ११:१४.

येशू र प्रेरितहरूले मानिसहरूलाई किन निको पार्नुभयो

ख्रीष्टियान युनानी धर्मशास्त्रमा येशू र प्रेरितहरूले चमत्कारी ढंगमा साँच्चै निको पारेका घटनाहरू परमेश्‍वरतर्फका थिए भनेर स्पष्ट पारिएको छ। (यूहन्‍ना ३:२; हिब्रू २:३, ४) येशूको चमत्कारी निवारणले उहाँले प्रचार गरेको सन्देशमा पनि टेवा पुऱ्‍यायो: “येशूले तिनीहरूका सभाघरहरूमा सिकाउँदै र राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरी निको पार्दै, सारा गालीलभरि घुम्नुभयो।” (मत्ती ४:२३) येशूका शक्‍तिशाली कार्यहरूमा बिरामी निको पार्ने मात्र नभई थुप्रैलाई खुवाउने, मौसम नियन्त्रणमा राख्ने र मरेकाहरूलाई समेत ब्यूँताउने कुरा पर्छन्‌। त्यसले आफ्नो राज्यमा आज्ञाकारी मानिसजातिको निम्ति उहाँले के गर्नुहुनेछ त्यो देखायो। साँच्चै कत्ति राम्रो समाचार!

तर येशू, प्रेरितहरू र तिनीहरूबाट वरदान पाएका अरूहरूको मृत्युपछि त्यस्ता शक्‍तिशाली कामहरू अथवा आत्माका वरदानहरू बन्द भए। प्रेरित पावलले लेखे: “चाहे अगमवाणीहरू होऊन्‌, ती टली जान्छन्‌, चाहे [चमत्कारी ढंगमा बोलिएका] भाषाहरू होऊन्‌, ती बन्द हुन्छन्‌। चाहे [परमेश्‍वरले प्रकट गरेको] बुद्धि होस्‌, त्यो रद्दी हुन्छ।” (१ कोरिन्थी १३:८) किन? आफ्नो उद्देश्‍य पूरा गरिसकेपछि अर्थात्‌ येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ अनि ख्रीष्टियान मण्डलीमा परमेश्‍वरको अनुग्रह छ भन्‍ने कुरा थाह दिइसकेपछि यस्ता शक्‍तिशाली कार्यहरू जसमा निवारण गर्नु पनि समावेश छ तिनीहरू अझै भइरहनु आवश्‍यक छैन। यी सबै “रद्दी” भइसकेका छन्‌।

तर येशूले गरेको चमत्कारी निवारणमा आज हाम्रो लागि अझै महत्त्वपूर्ण सन्देश छ। यदि हामीले परमेश्‍वरको राज्यबारे येशूले सिकाउनुभएको कुरामा ध्यान दियौं र विश्‍वास गऱ्‍यौं भने आध्यात्मिक र शारीरिक रूपमा यो प्रेरित भविष्यवाणी पूरा हुने समयको प्रतीक्षा गर्न सक्छौं: “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ”—यशैया ३३:२४; ३५:५, ६; प्रकाश २१:४. (w08 12/1)