सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के यहोवाका साक्षीहरू आफू मात्र बच्नेछन्‌ भनी विश्‍वास गर्छन्‌?

के यहोवाका साक्षीहरू आफू मात्र बच्नेछन्‌ भनी विश्‍वास गर्छन्‌?

हाम्रा पाठकहरू सोध्छन्‌

के यहोवाका साक्षीहरू आफू मात्र बच्नेछन्‌ भनी विश्‍वास गर्छन्‌?

यहोवाका साक्षीहरूको विचारमा तिनीहरूले साँचो धर्म पाएका छन्‌। त्यसो नहुँदो हो त तिनीहरूले आफ्नो धर्म परिवर्तन गर्ने थिए। अन्य थुप्रै धर्मावलम्बीहरूले जस्तै यहोवाका साक्षीहरू पनि बच्ने आशा राख्छन्‌। तर को बच्नेछन्‌/को बच्नेछैनन्‌, त्यसको निर्णय गर्ने काम आफ्नो होइन भनेर पनि तिनीहरू विश्‍वास गर्छन्‌। आखिर, न्यायकर्ता त परमेश्‍वर हुनुहुन्छ। उहाँले नै निर्णय गर्नुहुन्छ।—यशैया ३३:२२.

परमेश्‍वरको वचन स्पष्ट बताउँछ कि बचाइनेहरूले मुक्‍तिको चाह गरेर मात्र पुग्दैन, मुक्‍ति दिनेलाई साथ पनि दिनुपर्छ। यसलाई एउटा दृष्टान्तमा ढालेर हेरौं: मानिलिनुहोस्‌ एक पैदलयात्री अनकन्टार ठाउँमा हराउँछ। ऊ आफ्नो बाटो पत्ता लगाउन एकदमै व्याकुल छ। अब ऊ मर्छ कि बाँच्छ? कसैले दिएको मदतलाई उसले कसरी लिन्छ त्यसैमा ऊ मर्ने/बच्ने कुरा निर्भर हुन्छ। सायद घमन्डले गर्दा उसले उद्धारकको मदत नकार्ला। अर्कोतर्फ, नम्र भई मदत स्वीकारेर ऊ बच्न पनि सक्छ।

त्यस्तैगरि, मानिसजातिका उद्धारक यहोवा परमेश्‍वरलाई साथ दिनेहरूले मुक्‍ति पाउँछन्‌। मुक्‍ति परमेश्‍वरबाटको उपहार हो। तर सबैले यो पाउँदैनन्‌। परमेश्‍वरका पुत्र येशूले यसो भन्‍नुभयो: “मलाई प्रभु! प्रभु!! भन्‍ने सबै स्वर्गको राज्यमा पस्न पाउनेछैन। तर त्यो, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्दछ।”—मत्ती ७:२१.

यहोवाका साक्षीहरू के मान्यता राख्छन्‌ भने येशूको छुटकाराको बलिदानमा विश्‍वास गर्ने र उहाँको शिक्षालाई राम्ररी पालन गर्नेहरूलाई मात्र परमेश्‍वरले बचाउनुहुन्छ। (प्रेरित ४:१०-१२) मुक्‍ति पाउन पूरा गर्नुपर्ने तीन महत्त्वपूर्ण आवश्‍यकताहरू परमेश्‍वरको वचनमा बताइएका छन्‌। ती विचार गर्नुहोस्‌:

(१) येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) अरूको लागि आफ्नो जीवन दिएको येशूको उदाहरणले प्रेमको महत्त्वलाई जोड दियो। अरूलाई प्रेम गर्नेहरूले मुक्‍तिको लागि आवश्‍यक गुण देखाइरहेका हुन्छन्‌।

(२) येशूले पितालाई प्रार्थना गर्दा यसो भन्‍नुभयो: “मैले तिनीहरूलाई तपाईंको नाउँ परिचित गराएँ।” (यूहन्‍ना १७:२६) पिता यहोवालाई आफ्नो नाउँ कत्ति महत्त्वपूर्ण लाग्छ, त्यो येशूलाई थाह थियो। पिताको नाउँ “पवित्र गरिओस्‌” भनी येशूले प्रार्थना गर्नुभयो। (मत्ती ६:९) परमेश्‍वरको नाउँ पवित्र गर्नुमा त्यस नाउँलाई जान्‍नु अनि त्यसलाई महत्त्वपूर्ण र पवित्र ठान्‍नु समावेश छ। मुक्‍ति चाहनेहरूले येशूले जस्तै परमेश्‍वरको नाउँ प्रयोग गर्नुपर्छ। तिनीहरूले परमेश्‍वरको नाउँ र गुणहरूबारे अरूलाई बताउनु पनि खाँचो छ। (मत्ती २८:१९, २०) हो, परमेश्‍वरको नाउँ पुकार्नेहरू मात्र बच्नेछन्‌।—रोमी १०:१३.

(३) येशूले पन्तियस पिलातसलाई भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन।” (यूहन्‍ना १८:३६) परमेश्‍वरको राज्य वा सरकारका राजा येशू हुनुहुन्छ। तर आज यस राज्यप्रति धेरैले विश्‍वास देखाउँदैनन्‌। बरु, तिनीहरू मानव सरकार वा संगठनहरूमा भर पर्छन्‌। त्यसको विपरीत, बच्न चाहनेहरूले चाहिं वफादार भई परमेश्‍वरको राज्यको समर्थन गर्छन्‌ र यसले विश्‍वासी मानिसहरूलाई कसरी मुक्‍ति दिलाउँछ त्यसबारे अरूलाई सिकाउँछन्‌।—मत्ती ४:१७.

मुक्‍तिको लागि चाहिने केही आवश्‍यकताबारे जानेपछि येशूका चेलाहरूले यसो भने: “कसको उद्धार हुनसक्छ त?” येशूले उत्तर दिनुभयो: “मानिसहरूलाई असम्भव हुने कुराहरू परमेश्‍वरलाई सम्भव छ।” (लूका १८:१८-३०) मुक्‍तिको लागि चाहिने यी आवश्‍यकताहरू यहोवाका साक्षीहरू दिलोज्यान लगाएर पूरा गर्ने चेष्टा गर्छन्‌। अरू पनि बचून्‌ भनी तिनीहरू कडा परिश्रम गर्छन्‌। (w08 11/1)