सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं किन सत्यनिष्ठ हुनुपर्छ?

तपाईं किन सत्यनिष्ठ हुनुपर्छ?

तपाईं किन सत्यनिष्ठ हुनुपर्छ?

“हे परमप्रभु, . . . मेरो निर्दोषताअनुसार मेरो इन्साफ गर्नुहोस्‌।”—भज. ७:८.

१, २. एक जना ख्रीष्टियानको सत्यनिष्ठामा चुनौती आइपर्न सक्ने केही सामान्य अवस्था के-के हुन्‌?

 तीनवटा अवस्था विचार गर्नुहोस्‌: एक जना केटालाई स्कूलका साथीहरूले गिज्याइरहेका छन्‌। तिनीहरू उसलाई आवेशमा आएर जथाभाबी बोल्न वा कुटपीट गर्न उक्साइरहेका छन्‌। के ऊ आइलाग्ने माथि जाइलाग्नेछ वा आफैलाई सम्हालेर बाटो लाग्नेछ? एक जना पति घरमा एक्लै भएको बेला इन्टरनेटमा केही अनुसन्धान गर्दैछन्‌। कम्प्युटर स्क्रिनमा अश्‍लील वेब साइटको विज्ञापन देखा पर्छ। के उनी त्यो साइटमा जान प्रलोभनमा पर्नेछन्‌ वा त्यसलाई तिरस्कार गर्ने निधो गर्नेछन्‌? एउटी ख्रीष्टियान बहिनी अन्य केही बहिनीसँग कुराकानी गर्दैछिन्‌। तर कुराकानीले नकारात्मक मोड लिन्छ। मण्डलीकी एउटी बहिनीको निन्दोचर्चो गर्न थालिन्छ। के उनी त्यस्तो कुराकानीमा भाग लिइरहनेछिन्‌ वा कुराकानीलाई अन्तै मोड्‌ने प्रयास गर्नेछिन्‌?

हुन त यी अवस्था फरक-फरक छन्‌, तैपनि एउटा कुरा भने समान छ। यिनीहरू सबैले नै ख्रीष्टियानको रूपमा सत्यनिष्ठ हुन संघर्ष गर्नुपर्छ। जीवनका चिन्ता, आवश्‍यकता वा लक्ष्यहरूबारे विचार गर्दा के तपाईं आफूले पालन गर्नुपर्ने सत्यनिष्ठा सम्झनुहुन्छ? मानिसहरू हरेक दिन आफ्नो रूपरङ्‌ग, स्वास्थ्य, जीवन यापन गर्न आइपर्ने चुनौती, मित्रतामा आउने खटपट अनि यहाँसम्म कि, मायाप्रीतिका सम्बन्धबारे समेत सोच्ने गर्छन्‌। यी कुरालाई हामी प्रशस्त ध्यान दिन्छौं होला। त्यसोभए, यहोवाले हाम्रो हृदय जाँच्दा विशेषगरि उहाँ कुन कुरामा ध्यान दिनुहुन्छ? (भज. १३९:२३, २४) हाम्रो सत्यनिष्ठामा।

३. यहोवाले हामीलाई रोज्ने कस्तो विशेष मौका दिनुभएको छ र यो लेखमा हामी के विचार गर्नेछौं?

“हरेक असल दान र हरेक उत्तम वरदान”-का स्रोत यहोवाले हामी प्रत्येकलाई विभिन्‍न किसिमका वरदान दिनुभएको छ। (याकू. १:१७) वरदानको रूपमा यहावाले हामीलाई शरीर, मन, सुस्वास्थ्य र अन्य थुप्रै क्षमता दिनुभएकोमा हामी उहाँप्रति धन्यवादी छौं। (१ कोरि. ४:७) तथापि, यहोवा हामीलाई सत्यनिष्ठा देखाउनैपर्छ भनेर बलजफती गर्नुहुन्‍न। सत्यनिष्ठ हुने कि नहुने, त्यो रोज्ने जिम्मा उहाँले हाम्रै हातमा छोडिदिनुभएको छ। (व्यव. ३०:१९) त्यसैले सत्यनिष्ठा भनेको के हो, हामीले बुझ्नु आवश्‍यक छ। यो गुण अत्यन्तै महत्त्वपूर्ण हुनुका तीनवटा कारण पनि हामी विचार गर्नेछौं।

सत्यनिष्ठा के हो?

४. सत्यनिष्ठामा के समावेश छ र पशु बलिसम्बन्धी यहोवाको व्यवस्थाबाट हामी के सिक्न सक्छौं?

सत्यनिष्ठा के हो भन्‍नेबारे थुप्रैको धारणा अस्पष्ट छ जस्तो देखिन्छ। उदाहरणको लागि, राजनीतिज्ञहरूले आफ्नो सत्यनिष्ठाको धाक लाउँदा अक्सर तिनीहरूले इमानदार छौं भन्‍न खोजिरहेका हुन्छन्‌। हो, यो गुण महत्त्वपूर्ण छ तर यो सत्यनिष्ठाको एउटा अंश मात्र हो। नेपाली बाइबलमा सत्यनिष्ठालाई बुझाउन “निर्दोषता, निर्दोष, सिद्ध, इमानदारी” शब्दहरू प्रयोग गरिएका छन्‌। “सत्यनिष्ठा”-सँग सम्बन्धित हिब्रू शब्दहरू सग्लो, पूर्ण वा निष्खोट भन्‍ने मूल अर्थबाट आएका हुन्‌। यीमध्ये एउटा शब्द यहोवासामु चढाउनुपर्ने बलिदानको सन्दर्भमा प्रयोग गरिएको छ। सग्लो वा पूर्ण भएमा मात्र बलिदानको रूपमा चढाइने पशु यहोवासामु ग्रहणयोग्य हुन्थ्यो। (लेवी २२:१९, २० पढ्‌नुहोस्‌) लङ्‌गडा, बिरामी वा अन्धा पशुहरू बलि चढाएर उहाँको निर्देशन बेवास्ता गर्नेहरूको यहोवाले कडा शब्दमा निन्दा गर्नुभयो।—मला. १:६-८.

५, ६. (क) हामी सधैं नै सग्लो वा पूर्ण चीजलाई मूल्यवान्‌ ठान्छौं भनेर के-कस्ता उदाहरणले देखाउँछन्‌? (ख) सत्यनिष्ठ हुन के मानिसहरू सिद्ध हुनैपर्छ? व्याख्या गर्नुहोस्‌।

सग्लो वा पूर्ण चीज खोज्नु अनि त्यसलाई मूल्यवान्‌ ठान्‍नु नौलो कुरा होइन। यो उदाहरण कल्पना गर्नुहोस्‌: पुस्तक सङ्‌कलकले निकै खोजतलास गरेपछि एउटा अत्यन्तै बहुमूल्य पुस्तक फेला पार्छ। तर पुस्तकका थुप्रै पाना हराएका पो रहेछन्‌! निराश हुँदै सायद उसले त्यो पुस्तक फेरि तखतामा नै थन्काउँछ। अथवा बजारमा अण्डा छानिरहेकी एउटी महिलालाई सम्झनुहोस्‌। तिनी कस्ता अण्डाहरू छान्छिन्‌? निश्‍चय पनि नचर्केका अनि सग्ला। त्यसैगरि, परमेश्‍वरले पनि पूर्ण रूपमा उहाँप्रति भक्‍त मानिसहरू खोज्दै हुनुहुन्छ।—२ इति. १६:९.

सत्यनिष्ठ हुन सिद्ध हुनुपर्नेरहेछ भन्‍ने तपाईंलाई लाग्न सक्छ। पापी र असिद्ध भएकोले कहिलेकाहीं आफूलाई अपूर्ण किताब वा चर्किएको अण्डाजस्तो ठान्‍ने झुकाव हामीमा आउन सक्छ। के तपाईं पनि कहिलेकाहीं यस्तै महसुस गर्नुहुन्छ? यहोवा हामीबाट साँचो अर्थमा सिद्धता आशा गर्नुहुन्‍न भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। उहाँ कहिल्यै पनि हामीले गर्न सक्नेभन्दा बढी माग गर्नुहुन्‍न। a (भज. १०३:१४; याकू. ३:२) तैपनि, उहाँ हामी सत्यनिष्ठ भइरहेको चाहनुहुन्छ। त्यसोभए, सिद्ध हुनु र सत्यनिष्ठ हुनुबीच भिन्‍नता छ त? छ। यो उदाहरण विचार गर्नुहोस्‌: आफूले विवाह गर्न लागेकी केटीलाई केटाले माया गर्छ। तर केटी सर्वगुण सम्पन्‍न भएको आशा गर्नु केटाको लागि मूर्खता हो। आफूलाई पूर्ण हृदयले माया गरेको अर्थात्‌ आफूलाई मात्र रोमान्टिक प्रेम देखाएको आशा गर्नु केटाको लागि जायज छ। त्यसैगरि, यहोवा “ऐकान्तिक भक्‍ति चाहने परमेश्‍वर” हुनुहुन्छ। (प्रस्थ. २०:५, NW ) उहाँ हामी सिद्ध भएको आशा गर्नुहुन्‍न तर उहाँलाई पूर्ण हृदयले माया गरेको, उहाँलाई मात्र उपासना गरेको चाहनुहुन्छ।

७, ८. (क) सत्यनिष्ठाको सम्बन्धमा येशूले कस्तो उदाहरण बसाल्नुभयो? (ख) धर्मशास्त्रीय अर्थमा सत्यनिष्ठा भनेको के हो?

सबै आज्ञामा मुख्यचाहिं कुन हो भनेर सोधिएको बेला येशूले दिएको जवाफ हामी सम्झन सक्छौं। (मर्कूस १२:२८-३० पढ्‌नुहोस्‌) येशूले जवाफ मात्र दिनुभएन, त्यसैअनुसारको जीवन पनि बिताउनुभयो। यहोवालाई आफ्नो सारा मन, प्राण, बुद्धि र शक्‍तिले कसरी प्रेम गर्ने, उहाँले उत्कृष्ट उदाहरण बसाल्नुभयो। भनाइमा मात्र होइन तर शुद्ध मनसायसाथ गरिएका असल कामहरूमा हाम्रो सत्यनिष्ठा देखिन्छ भनेर येशूले प्रमाणित गरेर देखाउनुभयो। हामी पनि सत्यनिष्ठ हुन येशूले जस्तै गर्नु आवश्‍यक छ।—१ पत्रु. २:२१.

त्यसैले, सत्यनिष्ठालाई धर्मशास्त्रीय अर्थमा यसो भन्‍न सकिन्छ: स्वर्गमा बस्ने एक मात्र परमेश्‍वर यहोवा र उहाँले व्यक्‍त गर्नुभएका इच्छा तथा उद्देश्‍यप्रति पूर्ण हृदयको भक्‍ति। सत्यनिष्ठ भइरहनुको अर्थ हामी दैनिक जीवनमा यहोवा परमेश्‍वरलाई खुसी पार्न खोज्नुलाई नै महत्त्वपूर्ण स्थान दिनेछौं। यहोवाले सर्व-महत्त्वपूर्ण ठान्‍ने कुराहरूलाई हामी पनि त्यस्तै ठान्‍नेछौं। यसो गर्नु किन महत्त्वपूर्ण छ, तीनवटा कारण विचार गरौं।

१. सत्यनिष्ठा र सार्वभौमिकताको विवाद

९. व्यक्‍तिगत रूपमा हामीले देखाउने सत्यनिष्ठा विश्‍वव्यापी सार्वभौमिकताको विवादसँग कसरी सम्बन्धित छ?

यहोवाको सार्वभौमिकता हाम्रो सत्यनिष्ठामा निर्भर छैन। उहाँको सार्वभौमिकता न्यायोचित, अनन्त र ब्रह्‍माण्डभरि छ। जुनसुकै प्राणीले जेसुकै भनून्‌ वा जेसुकै गरून्‌, उहाँको सार्वभौमिकता सधैं यस्तै रहनेछ। तथापि, स्वर्ग र पृथ्वीमा यहोवाको सार्वभौमिकताको घोर बदनाम गरिएको छ। त्यसैले सम्पूर्ण बौद्धिक प्राणीको अगाडि यहोवा सार्वभौम शासक हुन योग्यको हुनुहुन्छ र उहाँले न्यायोचित तरिकामा शासन गर्नुहुन्छ भन्‍ने कुराको पुष्टि हुनु परेको छ। यहोवाको साक्षीको हैसियतमा, सुन्‍न चाहनेहरू सबैसँग परमेश्‍वरको विश्‍वव्यापी सार्वभौमिकताबारे कुराकानी गर्न हामी पछि हट्‌दैनौं। तर यस विवादमा हामी कसरी आफ्नो अडान लिन सक्छौं? यहोवालाई हाम्रो सार्वभौमको रूपमा रोजेका छौं भनेर कसरी देखाउन सक्छौं? सत्यनिष्ठ भएर।

१०. मानिसजातिको सत्यनिष्ठाबारे शैतानले कस्तो आरोप लगाएको छ र यस आरोपको जवाफ तपाईं कसरी दिन चाहनुहुन्छ?

१० तपाईंको सत्यनिष्ठा कसरी मुछिएको छ, विचार गर्नुहोस्‌। कुनै पनि मानिसले निःस्वार्थ प्रेमले उत्प्रेरित भएर परमेश्‍वरको सार्वभौमिकताको समर्थन गर्दैन अर्थात्‌ यहोवाको सेवा गर्दैन भनेर शैतानले दाबी गरेको छ। थुप्रै आत्मिक प्राणीकै अगाडि शैतानले यहोवालाई यसो भन्यो: “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र?” (अय्यू. २:४) याद गर्नुहोस्‌, शैतानले धार्मिक व्यक्‍ति अय्यूबलाई मात्र यो आरोप लगाएको होइन; त्यसले समग्रमा सबै मानिसजातिलाई त्यो आरोप लगाएको हो। त्यसैकारण शैतानलाई बाइबलले “हाम्रा भक्‍तहरूलाई दोष लगाउने” भनेर चिनाएको छ। (प्रका. १२:१०) तपाईंलगायत सम्पूर्ण ख्रीष्टियानहरू यहोवाप्रति विश्‍वासी रहनुहुन्‍न भन्‍ने दाबी गरेर त्यसले यहोवाको उपहास गर्छ। आफ्नो ज्यान जोगाउन तपाईंले यहोवालाई धोका दिनुहुन्छ भन्‍ने आरोप शैतानले लगाएको छ। तपाईंमाथि थोपरिएको यस्तो आरोप तपाईंलाई कस्तो लाग्छ? तपाईं शैतानलाई झूटो साबित गर्न चाहनुहुन्‍न र? सत्यनिष्ठ भएर तपाईं त्यसो गर्न सक्नुहुन्छ।

११, १२. (क) दैनिक जीवनका क्रियाकलापमा हामीले गर्ने निर्णय हाम्रो सत्यनिष्ठासँग सम्बन्धित छ भनेर कस्ता उदाहरणहरूले देखाउँछ? (ख) सत्यनिष्ठ हुनु किन सम्मानको कुरा हो?

११ सत्यनिष्ठासम्बन्धी मामिलाले दैनिक क्रियाकलाप र छनौटमा असाध्यै महत्त्वपूर्ण भूमिका खेल्छ। अगाडि उल्लेख गरिएको तीनवटा अवस्था फेरि विचार गर्नुहोस्‌। सत्यनिष्ठ हुन तिनीहरूले के गर्नुपर्ला? स्कूलका साथीहरूले गिज्याएको उक्‍त केटालाई सही नसक्नुहुन्छ तर ऊ यो सल्लाह सम्झन्छ: “हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ [अर्थात्‌, “क्रोधलाई शान्त हुन देओ,” NW ], किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ” (रोमी १२:१९) त्यसपछि ऊ आफ्नो बाटो लाग्छ। इन्टरनेट चलाइरहेका पति कामुक दृश्‍य देख्छन्‌। तर उनी अय्यूबका यी शब्दहरूमा पाइने सिद्धान्त सम्झन्छन्‌: “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढ संकल्प गरें।” (अय्यू. ३१:१) त्यसैले, उनी घीनलाग्दा तस्वीरहरूमा आफ्नो आँखा पर्न दिंदैनन्‌ र यस्ता कुराहरूलाई विष ठानेर यी कुराबाट अलग बस्छन्‌। सँगी ख्रीष्टियान बहिनीहरूसँग कुरा गरिरहेकी बहिनीले अरूबारे निन्दोचर्चो गर्न थालेको सुन्‍ने बित्तिकै त्यो सुन्‍न छोडेर यो निर्देशन सम्झन्छिन्‌: “हामी हरेकले आफ्नो छिमेकीलाई उसको भलाइको निम्ति सुधार्नलाई खुश तुल्याउनुपर्छ।” (रोमी १५:२) तिनले त्यो निन्दोचर्चो फैलाइन्‌ भने कसैको सुधार हुँदैन। त्यस कुराले निन्दोचर्चो गरिएकी बहिनीको पनि आदर गर्दैन र स्वर्गमा बस्ने पितालाई पनि खुसी पार्दैन। त्यसैले उनी आफ्नो जीब्रोमा लगाम कस्छिन्‌ र कुराकानीको विषय परिवर्तन गर्छिन्‌।

१२ यी प्रत्येक अवस्थामा ख्रीष्टियानहरू छनौट गर्छन्‌ र आफ्नो छनौटबाट उनीहरूले यसो भनिरहेका हुन्छन्‌: ‘यहोवा मेरो शासक हुनुहुन्छ। यस विषयमा उहाँलाई जे गरेको मन पर्छ, म त्यही गर्ने कोसिस गर्छु।’ व्यक्‍तिगत छनौट र निर्णयहरू गर्दा के तपाईं पनि परमेश्‍वरलाई खुसी तुल्याउने प्रयास गर्नुहुन्छ? गर्नुहुन्छ भने तपाईंले हितोपदेश २७:११ मा लेखिएका यी हृदयस्पर्शी शब्दहरू पालन गरिरहनुभएको छ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” परमेश्‍वरको हृदय आनन्दित तुल्याउन पाउनु हाम्रो लागि कत्ति ठूलो सम्मान! त्यसोभए, सत्यनिष्ठ भइरहन हर प्रयास गर्नु के सार्थक छैन र?

२. यहोवाले न्याय गर्ने आधार

१३. सत्यनिष्ठा नै यहोवाले हामीलाई न्याय गर्ने आधार हो भनेर अय्यूब र दाऊदका शब्दहरूले कसरी देखाउँछ?

१३ सत्यनिष्ठाले हामीलाई यहोवाको सार्वभौमिकताको पक्षमा खडा हुन मदत गर्छ भनेर हामीले देख्यौं। अतः यो यहोवाले हाम्रो न्याय गर्ने आधार हो। अय्यूबले यो तथ्य राम्रोसँग बुझेका थिए। (अय्यूब ३१:६ पढ्‌नुहोस्‌) हामी आफ्नो सत्यनिष्ठाअनुसार हिंडिरहेका छौं कि छैनौं भनी जाँच्न परमेश्‍वरले हरेक मानिसलाई “न्यायको तराजूमा” तौलनुहुन्छ भनेर अय्यूबलाई थाह थियो। त्यसैगरि दाऊदले पनि यसो भने: परमप्रभुले जाति जातिको इन्साफ गर्नुहुन्छ। हे परमप्रभु, मेरो धार्मिकताअनुसार, र ममा भएको मेरो निर्दोषताअनुसार मेरो इन्साफ गर्नुहोस्‌। . . . किनभने निष्पक्ष परमेश्‍वरले हृदय र मनको जाँच गर्नुहुन्छ।” (भज. ७:८, ९) हामीलाई थाह छ, परमेश्‍वरले मानिस भित्रको गहिराइसम्म अर्थात्‌ लाक्षणिक “हृदय र मन”-समेत हेर्न सक्नुहुन्छ। तर उहाँ केलाई हेर्दैहुनुहुन्छ, त्यो हामीले सम्झनुपर्छ। दाऊदले भनेजस्तै यहोवा हामीलाई हाम्रो सत्यनिष्ठाअनुसार इन्साफ अर्थात्‌ न्याय गर्नुहुन्छ।

१४. असिद्ध र पापी भएकोले हामी सत्यनिष्ठ हुनैसक्दैनौं भनेर किन कहिल्यै अन्दाज गर्नुहुँदैन?

१४ यहोवाले आज करोडौंको हृदय जाँचिरहनुभएको कुरा कल्पना गर्नुहोस्‌। (१ इति. २८:९) ख्रीष्टियान सत्यनिष्ठामा अडिग रहने मानिस उहाँले कति पटक भेट्टाउनुहोला? मुस्किलले! तर त्यसो भन्दैमा असिद्ध भएकोले हामी सत्यनिष्ठ हुनै सक्दैनौं भनेर अन्दाज गर्नुहुँदैन। बरु, असिद्धै भए पनि यहोवाले हामीलाई सत्यनिष्ठ भइरहेको भेट्टाउनुहुनेछ भनेर भरोसा गर्न सक्ने असल कारणहरू दाऊद र अय्यूबसँग जस्तै हामीसँग पनि छन्‌। नबिर्सनुहोस्‌, सिद्ध हुँदैमा सत्यनिष्ठ भइन्छ भन्‍ने ग्यारेन्टी छैन। यस पृथ्वीमा जम्मा तीन जनाले सिद्ध जीवन बिताए। तीमध्ये दुई जना, अर्थात्‌ आदम र हव्वा सत्यनिष्ठ भइरहन सकेनन्‌। तथापि, अहिले भने लाखौं असिद्ध मानिसहरू सत्यनिष्ठ भइरहेका छन्‌। त्यसैले तपाईं पनि हुन सक्नुहुन्छ।

३. हाम्रो आशाको लागि अत्यावश्‍यक

१५. भविष्यको आशाको लागि सत्यनिष्ठ हुनु आवश्‍यक छ भनेर दाऊदले कसरी देखाए?

१५ यहोवाले हाम्रो सत्यनिष्ठाको आधारमा न्याय गर्ने भएकोले भविष्यको हाम्रो आशाको लागि यो अत्यावश्‍यक छ। दाऊदलाई यो कुरा थाह थियो। (भजन ४१:१२, NRV पढ्‌नुहोस्‌) सधैंभरि परमेश्‍वरको समर्थन पाउने आशाको उनले कदर गरे। आजका साँचो ख्रीष्टियानहरूले जस्तै दाऊदले यहोवाको सेवा गर्दै उहाँसँग अझै नजिक हुने र सधैंभरि बाँच्ने आशा राखे। आफ्नो आशा पूरा भएको देख्न चाहने हो भने सत्यनिष्ठा कायमै राख्नुपर्छ भन्‍ने कुरा दाऊदलाई थाह थियो। त्यसैगरि, हामी सत्यनिष्ठ भइरहँदा यहोवाले हामीलाई समर्थन गर्नुहुन्छ, शिक्षा दिनुहुन्छ, डोऱ्‍याउनुहुन्छ र आशिष्‌ दिनुहुन्छ।

१६, १७. (क) तपाईं आफ्नो सत्यनिष्ठामा अडिग भइरहन किन सधैं दृढ हुनुहुन्छ? (ख) अर्को लेखमा कस्ता प्रश्‍नहरू छलफल गरिनेछन्‌?

१६ अहिले हामी आनन्दित हुन पनि आशा नभई हुँदैन। आशाले गाह्रो परिस्थिति सहन चाहिने आनन्द दिन सक्छ। आशाले हाम्रो सोचाइलाई पनि सुरक्षा दिन सक्छ। नबिर्सनुहोस्‌, बाइबलले आशालाई टोपसँग तुलना गरेको छ। (१ थिस्स. ५:८) टोपले युद्धमा सिपाहीको टाउको सुरक्षित पारेजस्तै, आशाले मरणशील अवस्थामा गुज्रिरहेको यो थोत्रो संसारमा शैतानले फैलाउने नकारात्मक र निराशावादी सोचाइहरूबाट हाम्रो मनलाई सुरक्षित पार्छ। यदि हामीसँग आशा छैन भने जीउनुको अर्थ नै के छ र? हाम्रो सत्यनिष्ठा र यससँग सम्बन्ध गाँसिएको आशालाई होसियारीसाथ विचार गर्दै इमानदार भई हामीले आफूलाई जाँच्नुपर्छ। नबिर्सनुहोस्‌, सत्यनिष्ठ भइरहँदा तपाईंले यहोवाको सार्वभौमिकतालाई समर्थन गरिरहनुभएको हुनेछ र भविष्यको बहुमूल्य आशालाई सुरक्षित राखिरहनुभएको हुनेछ। तपाईं आफ्नो सत्यनिष्ठामा सधैं अडिग भइरहन सकोस्‌!

१७ सत्यनिष्ठ हुनु अत्यन्तै महत्त्वपूर्ण भएकोले हामीले अन्य प्रश्‍नहरू पनि विचार गर्नुपर्छ। हामी कसरी सत्यनिष्ठ हुन सक्छौं? यसलाई कसरी कायम राख्न सक्छौं? अनि कसैले केही समयको लागि यसलाई कायम राखेन भने के गर्न सकिन्छ? अर्को लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ। (w08 12/15)

[फुटनोट]

a येशूले भन्‍नुभयो: “यसकारण जस्तो तिमीहरूका स्वर्गका पिता सिद्ध हुनुहुन्छ, त्यस्तै तिमीहरू सिद्ध होऊ।” (मत्ती ५:४८) असिद्ध मानिसहरू पनि सापेक्षिक अर्थमा पूर्ण वा सिद्ध हुन सक्छन्‌ भनेर येशूले स्पष्टसँग बुझ्नुभएको थियो। उदार भएर अरूलाई प्रेम गर्नू भनेर दिइएको आज्ञा पूरा गर्दा हामीले परमेश्‍वरलाई प्रसन्‍न पारिरहेका हुन्छौं। तर यहोवा भने साँचो अर्थमा सिद्ध हुनुहुन्छ। त्यसैले उहाँको सन्दर्भमा “सत्यनिष्ठ” हुनु भनेको उहाँ आफ्नो हर मार्गमा सिद्ध हुनु हो।—भज. १८:३०.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• सत्यनिष्ठा के हो?

• सत्यनिष्ठ हुनु सार्वभौमिकताको विवादसँग कसरी सम्बन्धित छ?

• सत्यनिष्ठ हुनु कुन अर्थमा हाम्रो आशाको आधार हो?

[प्रश्‍नहरू]