सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्राचीन कीलाक्षर र बाइबल

प्राचीन कीलाक्षर र बाइबल

प्राचीन कीलाक्षर र बाइबल

बाबेलमा मानिसको भाषा गोलमाल भएपछि विभिन्‍न लेखन प्रणाली विकास भयो। मेसोपोटामियामा बसोबास गर्ने सुमेरुवासी र बेबिलोनीहरूले कीलाक्षर प्रयोग गर्थे। यो लिपि “बाणको मुखको आकारको” हुन्छ। यो लिपि लेख्दा सुइरोले गिलो माटोमा चिह्नहरू बनाइन्छ।

पुरातत्त्वविद्‌हरूले उत्खनन गर्दा कीलाक्षरहरू भेट्टाएका छन्‌। बाइबलमा बताइएका मानिस तथा घटनाहरू ती कीलाक्षरहरूमा उल्लेख गरिएको पाइयो। यस प्राचीन लेखन प्रणालीबारे हामीलाई के थाह छ? यी लिपिहरूले बाइबल भरपर्दो छ भनेर कसरी पुष्टि दिन्छ?

उहिले-उहिलेदेखि रहँदै आएका रेकर्डहरू

विज्ञहरूका अनुसार पहिला-पहिला मेसोपोटामियामा चित्र-लेखन प्रणाली प्रयोग गरिन्थ्यो। यसमा कुनै चिह्न वा चित्रले शब्द वा विचारलाई बुझाउँथ्यो। उदाहरणको लागि, साँढे बुझाउन साँढेको टाउको जस्तो देखिने चिह्न कोरिएको हुन्थ्यो। रेकर्ड गर्नुपर्ने कुराहरूको संख्या बढ्‌दै गएपछि कीलाक्षर लेखन विकास भयो। “चिह्नले अब शब्द मात्र होइन तर शब्दांशहरू (अर्थात्‌ स्वर र व्यञ्जनको मिलनअनुसार हुने एक-एक उच्चारणहरू) पनि चित्रण गर्न थाल्यो। यस्ता विभिन्‍न चिह्नहरूको मिश्रणले एउटा शब्दका त्यस्ता शब्दांशहरूलाई बुझाउन सकिन्थ्यो” भनी पुरातत्त्वसम्बन्धी एउटा पुस्तक पुरातात्त्विक अध्ययन बाइबलको नयाँ अन्तरराष्ट्रिय संस्करण (एन आइ भी आर्कियोलोजिकल स्टडी बाइबल) बताउँछ। अन्ततः झन्डै २०० वटा विभिन्‍न चिह्नहरू प्रयोग गर्दै कीलाक्षरले “शब्द र व्याकरणको सबै जटिलता सहित बोलीको प्रतिनिधित्व गर्न सक्यो।”

ईसापूर्व २,००० तिर अब्राहामको समयसम्म कीलाक्षर लेखनमा निकै प्रगति आइसकेको थियो। त्यसपछिको २,००० वर्षमा झन्डै १५ वटा भाषाले यो लिपि चलाउन थाले। अहिलेसम्म भेट्टाइएका कीलाक्षरहरूमध्ये ९९ प्रतिशतभन्दा धेरै माटोको पाटीमा लेखिएको पाइएका छन्‌। विगत १५० वर्षमा ऊर, युरेक, बेबिलोन, निम्रुद, निप्पुर, अशूर, निनवे, मारी, एब्ला, उगारिट, अमर्नामा त्यस्ता पाटीहरू ठूलो संख्यामा भेट्टाइएका छन्‌। पुरातत्त्वसम्बन्धी पत्रिका आर्कियोलोजी ओडिसी यसो भन्छ: “विज्ञहरूका अनुमानअनुसार उत्खनन गर्दा अहिलेसम्म १० देखि २० लाख कीलाक्षर पाटीहरू भेट्टाइसकेका छन्‌ र अझै प्रत्येक वर्ष लगभग २५,००० पाटीहरू भेटिरहेका छन्‌।”

ती अनुवाद गर्नु संसारभरिका कीलाक्षर विज्ञहरूका लागि चानचुने कुरा होइन। अर्को एउटा अनुमानअनुसार, “अहिलेसम्म भेट्टाइएका कीलाक्षरहरूमध्ये दस भागको एक भाग मात्र एक चोटि पढिएका छन्‌।”

दुई वा तीन भाषामा लेखिएका कीलाक्षर पाटीहरू भेट्टाएपछि यो बुझ्न सजिलो भयो। विज्ञहरूले ती पाटीहरूमा एउटै कुरा विभिन्‍न भाषामा लेखिएको पत्ता लगाए। नाउँ, पदवी, शासकहरूका वंशावली र आत्म-प्रशंसाका अभिव्यक्‍तिहरू अक्सर दोहोऱ्‍याइएको याद गरेपछि पनि त्यो बुझ्न मदत मिल्यो।

सन्‌ १८५० को दशकसम्ममा त विज्ञहरू प्राचीन मध्यपूर्व, अक्काडीयन वा अश्‍शूरी-बेबिलोनको साझा भाषा कीलाक्षरमा पढ्‌न सक्ने भइसकेका थिए। इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “अक्काडीयन कीलाक्षर बुझेपछि तिनीहरूको लेख्ने ढाँचाको गुदीसम्मै पुग्न सकियो र यो, अरू भाषाको कीलाक्षर बुझ्न एउटा नमुना बन्यो।” यी लेखोटहरू बाइबलसित कसरी सम्बन्धित छन्‌?

बाइबलसित मेल खाने विवरणहरू

ईसापूर्व १०७० तिर दाऊदले यरूशलेममाथि जित हासिल नगरेसम्म कनानी राजाहरूले त्यहाँ शासन गर्थे भनी बाइबल बताउँछ। (यहो. १०:१; २ शमू. ५:४-९) यस कुरामा कोही-कोही विज्ञहरूले शंका गर्थे। तर सन्‌ १८८७ मा एउटी किसान महिलाले इजिप्टको अमर्नामा एउटा माटोको पाटी भेट्टाइन्‌। त्यसपछि त्यहाँ भेट्टाइएका लगभग ३८० पाटीहरूबाट के थाह पाइयो भने, त्यो वास्तवमा इजिप्टका शासकहरू (आमेनहोटेप तृतीय तथा आखेनाटोन) र कनानी शासकहरूबीचको कूटनीतिक पत्राचार थियो। छ वटा चिठी यरूशलेमको शासक अब्दी-हेबाले पठाएको थियो।

बिब्लिकल आर्कियोलोजी रिभ्यु यस्तो उल्लेख गर्छ: “अमर्ना पाटीले यरूशलेम एउटा जग्गा मात्र नभई सहर थियो . . . अनि अब्दी-हेबा यहाँको राज्यपाल थियो र सहरको सुरक्षामा ५० मिश्री सिपाही खटिएका थिए भनी स्पष्टै बताएकोले यरूशलेम एउटा सानो पहाडी राज्य भएको प्रस्ट हुन्छ।” सोही पत्रिकाले पछि यसो भन्यो: “अमर्नाका चिठीहरूको आधारमा यो भन्‍न सकिन्छ कि त्यतिबेला एकदमै महत्त्वपूर्ण ठहरिएको एउटा सहर अस्तित्वमा थियो।”

अश्‍शूरी र बेबिलोनी रेकर्डमा भएका नाउँहरू

अश्‍शूरीहरूले र पछि बेबिलोनीहरूले आफ्नो इतिहास माटोको पाटीका साथै बेलनाकार ढुंग्रो, त्रिपार्श्‍व काँच र स्मारकहरूमा लेख्थे। त्यसैले जब विज्ञहरूले अक्काडीयन कीलाक्षर बुझे तब तिनीहरूले बाइबलमा पनि उल्लेख गरिएका मानिसहरूको नाउँ भेट्टाउन थाले।

बेलाइतको सङ्‌ग्रहालयमा भएको बाइबल (द बाइबल इन द ब्रिटिश म्युजियम) पुस्तक यसो भन्छ: “भर्खरै स्थापना गरिएको बाइबल पुरातत्त्वको समाजलाई सन्‌ १८७० मा सम्बोधन गर्दा डा. साम्यल बर्चले [कीलाक्षर लिपिमा] हिब्रू राजाहरू ओम्री, आहाब, यहू, अजर्याह, . . . मनहेम, पेकह, होशे, हिजकियाह, मनश्‍शे, अश्‍शूरी राजाहरू तिग्लत-पिलेसेर . . . [तृतीय], . . . सर्गान, सनहेरीब, एसरहद्दोन, अशूरबानीपाल, . . . अरामका बेनहदद, हजाएल र रसीनको [नाउँ] चिनाउन सके।”

बाइबल तथा रेडियोकार्बन मिति निर्धारण (द बाइबल एण्ड रेडियोकार्बन डेटिङ) पुस्तकले इस्राएल र यहूदाको बाइबल इतिहास प्राचीन कीलाक्षरसित दाँजेर हेऱ्‍यो। नतिजा? “यहूदा र इस्राएलका जम्माजम्मी १५ वा १६ जना राजाहरूको नाउँ अरू देशका रेकर्डहरूमा पनि पाइयो र [बाइबलको] पहिलो र दोस्रो राजा भन्‍ने पुस्तकहरूमा दिइएको नाउँ र समयसित त्यो ठ्याक्कै मेल खान्थ्यो। एउटा पनि राजाको विवरण फरक परेको भेट्टाइएन साथै अन्य स्रोतमा बताइएका नाउँहरू पनि राजाको दुवै पुस्तकमा उल्लेख गरिएको पाइयो।”

सन्‌ १८७९ मा भेट्टाइएको कोरेसको शिलालेख भनिने एउटा प्रख्यात कीलाक्षर शिलालेखमा कोरेसले ईसापूर्व ५३९ मा बेबिलोनलाई कब्जा गरिसकेपछि कैदीहरूलाई घर फर्काउने आफ्नो नीति कार्यान्वयन गरेको रेकर्ड छ। त्यस नीतिबाट यहूदीहरूले पनि फाइदा उठाए। (एज्रा १:१-४) बाइबलमा उल्लेख गरिएको यो आज्ञा कत्तिको भरपर्दो छ भनी १९ औं शताब्दीका थुप्रै विज्ञहरूले प्रश्‍न उठाएका थिए। तर, कोरेसको शीलालेख लगायत फारसको समयका अन्य कीलाक्षर पाटीहरूले बाइबल रेकर्ड सही हो भनी प्रमाणित गऱ्‍यो।

सन्‌ १८८३ मा बेबिलोन नजिकै निप्पुर भन्‍ने ठाउँमा ७०० भन्दा बढी कीलाक्षरहरू भेट्टाइयो। त्यसमा उल्लेख गरिएका २,५०० नाउँमध्ये करिब ७० जना यहूदी थिए भनेर थाह पाउन सकिन्छ। इतिहासकार एड्‌विन यामायुचीका अनुसार तिनीहरू “दलाल, साक्षी बस्ने, कर उठाउने र राजकीय भारदारहरू” भएजस्तो देखिन्छ। त्यतिबेला यहूदीहरूले बेबिलोन छेउछाउ यस्तो गतिविधि कायमै राखेको प्रमाण उल्लेखनीय छ। यो कुरा, इस्राएलीहरूका “बाँचेका भाग” अश्‍शूर र बेबिलोनको निर्वासनबाट यहूदिया फर्के तापनि थुप्रै त्यहीं रहनेछन्‌ भन्‍ने बाइबलको भविष्यवाणीसित मेल खान्छ।—यशै. १०:२१, २२.

ईसापूर्व प्रथम सहस्राब्दीको दौडान वर्णमाला लिपि र कीलाक्षर दुवै उत्तिकै चल्तीमा थियो। तर पछि गएर अश्‍शूरी र बेबिलोनीहरूले वर्णमाला लिपि मात्र प्रयोग गर्न थाले।

संग्रहालयहरूमा सुरक्षित राखिएका सयौं-हजारौं पाटीहरूको अध्ययन गर्न बाँकी छ। विज्ञहरूले खोज अनुसन्धान गर्न सिध्याएका कीलाक्षर पाटीहरूले बाइबल भरपर्दो छ भनी ठोस प्रमाण दिन्छन्‌। अध्ययन गर्न बाँकी पाटीहरूबाट अझ कस्ता-कस्ता प्रमाणहरू भेटिएलान्‌, के थाह? (w08 12/15)

[पृष्ठ २७-मा भएको चित्रको स्रोत]

Photograph taken by courtesy of the British Museum