सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको उद्देश्‍यमा येशूको अतुलनीय भूमिकालाई बुझ्नुहोस्‌ र मोल गर्नुहोस्‌

यहोवाको उद्देश्‍यमा येशूको अतुलनीय भूमिकालाई बुझ्नुहोस्‌ र मोल गर्नुहोस्‌

यहोवाको उद्देश्‍यमा येशूको अतुलनीय भूमिकालाई बुझ्नुहोस्‌ र मोल गर्नुहोस्‌

“बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।”—यूह. १४:६.

१, २. परमेश्‍वरको उद्देश्‍यमा येशूको अतुलनीय भूमिका केलाउन हामीले चासो राख्नुपर्छ, किन?

 मानिसहरूले युगौंयुगदेखि आफूलाई अरूभन्दा फरक देखाउने चेष्टा गर्दै आएका छन्‌। तर धेरैजसो सफल भएका छैनन्‌। अझ, ‘म यो/यो कारणले अतुलनीय छु’ भनी दाबी गर्न सक्ने मानिसहरू त झनै कम छन्‌। तर परमेश्‍वरका पुत्र येशू ख्रीष्ट थुप्रै तरिकामा अतुलनीय हुनुहुन्छ।

येशूले निर्वाह गरेका अतुलनीय भूमिकाबारे हामीले किन चासो राख्नुपर्छ? किनभने यसमा नै स्वर्गमा हुनुहुने हाम्रा पिता यहोवासितको हाम्रो सम्बन्ध मुछिएको छ! येशूले भन्‍नुभयो: “बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूह. १४:६; १७:३) आउनुहोस्‌, येशू अतुलनीय हुनुका केही कारण हामी हेरौं। यसो गर्दा यहोवाको उद्देश्‍यमा येशूले निर्वाह गर्ने भूमिकालाई बुझ्नेछौं र मोल गर्न सक्नेछौं।

“एकमात्र पुत्र”

३, ४. (क) एक मात्र पुत्रको भूमिकामा येशू अतुलनीय हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौं? (ख) सृष्टिमा येशूको भूमिका कसरी अतुलनीय थियो?

शैतानले येशूलाई प्रलोभन देखाउँदा “परमेश्‍वरका पुत्र” भनेका थिए। तर उहाँ “परमेश्‍वरका पुत्र” मात्र त हुनुहुन्‍न। (मत्ती ४:३, ६) उहाँ “परमेश्‍वरको एकमात्र पुत्र” हुनुहुन्छ र यसो भन्‍नु एकदमै उपयुक्‍त छ। (यूह. ३:१६, १८) “एकमात्र पुत्र” भनेर अनुवाद गरिएको युनानी शब्दको “अतुलनीय,” “परिवारको एक मात्र सदस्य” वा “उहाँ जस्तो अरू कोही छैन” भन्‍ने अर्थ लाग्छ। यहोवाका लाखौं-लाख आत्मिक पुत्रहरू छन्‌। त्यसोभए कुन अर्थमा येशू “परिवारको एक मात्र सदस्य” हुनुहुन्छ वा “उहाँ जस्तो अरू कोही छैन”?

पिताले येशूलाई मात्र आफ्नै हातले सृष्टि गर्नुभएकोले उहाँ अतुलनीय हुनुहुन्छ। उहाँ जेठो पुत्र हुनुहुन्छ। हो, “सारा सृष्टिको जेठो।” (कल. १:१५) उहाँ “परमेश्‍वरको सृष्टिको सुरु” हुनुहुन्छ। (प्रका. ३:१४, NW ) सृष्टिमा यी एक मात्र पुत्रको भूमिका पनि अतुलनीय छ। त्यसो भन्‍नुको मतलब उहाँ सृष्टिकर्ता त होइन। तर यहोवाले उहाँलाई अरू सबै थोक सृष्टि गर्न माध्यमको रूपमा चलाउनुभयो। (यूहन्‍ना १:३ पढ्‌नुहोस्‌) प्रेरित पावलले यस्तो लेखे: “हाम्रा निम्ति ता परमेश्‍वर एउटै हुनुहुन्छ, अर्थात्‌ पिता, जसका सबै कुराहरू हुन्‌, र हामी उहाँकै हौं, औ एउटै प्रभु येशू ख्रीष्ट, जसद्वारा सबै कुराहरू भएका छन्‌, र हामी पनि उहाँद्वारै भएका हौं।”—१ कोरि. ८:६.

५. येशू अतुलनीय हुनुहुन्छ भनी बाइबलले कसरी प्रकाश पार्छ?

तथापि, येशू अतुलनीय हुनुका थप कारणहरू छन्‌। बाइबलमा उहाँलाई थुप्रै पदवी दिइएको छ र यसले यहोवाको उद्देश्‍यमा उहाँको अतुलनीय भूमिकालाई प्रकाश पार्छ। आउनुहोस्‌, ख्रीष्टियान युनानी धर्मशास्त्रमा येशूलाई दिइएको थप पाँच पदवी हामी केलाऔं।

“वचन”

६. येशूलाई “वचन” भन्‍नु किन उपयुक्‍त छ?

यूहन्‍ना १:१४ पढ्‌नुहोस्‌। येशूलाई किन “वचन” अर्थात्‌ लोगोस भनिएको? यस पदवीले अन्य बौद्धिक प्राणीहरू अस्तित्वमा आएदेखि उहाँले गरेको कामलाई संकेत गर्छ। परमेश्‍वरले मानिसहरूकहाँ आफ्नो सन्देश र निर्देशन पुऱ्‍याउन आफ्ना पुत्रलाई चलाउनुभएझैं अन्य आत्मिक प्राणीहरूकहाँ जानकारी र निर्देशन पुऱ्‍याउन पनि उहाँलाई नै चलाउनुभयो। येशू वचन अर्थात्‌ परमेश्‍वरको प्रवक्‍ता हुनुहुन्छ भन्‍ने कुरा उहाँले आफ्ना यहूदी श्रोताहरूलाई भनेको कुरामा झल्किन्छ: “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो। यदि कुनै मानिसले उहाँको इच्छा पालन गर्न चाहन्छ भने, यस शिक्षाको विषयमा उसले यो जान्‍नेछ, कि यो परमेश्‍वरतर्फबाट हो, कि म आफ्नै तर्फबाट बोल्दछु।” (यूह. ७:१६, १७) स्वर्गीय महिमामा फर्किसकेपछि पनि येशूले “परमेश्‍वरको वचन” भन्‍ने पदवी वहन गरिरहनुभएको छ।—प्रका. १९:११, १३, १६.

७. “वचन”-को भूमिकामा येशूले देखाएको नम्रताको हामी कसरी अनुकरण गर्न सक्छौं?

यस पदवीले कस्तो अर्थ राख्छ, एकछिन सोच्नुहोस्‌। येशू यहोवाको सारा सृष्टिमध्ये सबैभन्दा बुद्धिमान्‌ हुनुहुन्छ। तर उहाँ आफ्नै बुद्धिमा भर पर्नुहुन्‍न। पिताबाट पाएको निर्देशनअनुसारै बोल्नुहुन्छ। उहाँ आफूतिर होइन तर सधैं यहोवातर्फ ध्यान खिच्नुहुन्छ। (यूह. १२:५०) हामीले अनुकरण गर्नुपर्ने कस्तो राम्रो उदाहरण! हामीलाई पनि “असल कुराका शुभ समाचार” घोषणा गर्ने मर्यादित काम सुम्पिएको छ। (रोमी १०:१५) येशूले देखाएको नम्रताबारे विचार गर्दा हामी पनि आफ्नैतर्फबाट नबोल्न सजग हुनुपर्छ। बाइबलको जीवन बचाउने सन्देश सुनाउँदा हामी “लेखिएका कुराभन्दा बढ्‌ता” बोल्दैनौं।—१ कोरि. ४:६.

“आमिन”

८, ९. (क) “आमिन”-को अर्थ के हो र येशूलाई किन “आमिन” भनिएको? (ख) येशूले “आमिन”-को भूमिका कसरी निर्वाह गर्नुभयो?

प्रकाश ३:१४ पढ्‌नुहोस्‌। येशूलाई किन “आमिन” भनिएको? “आमिन” हिब्रू शब्द हो र यसको मतलब, “यस्तै होस्‌” वा “पक्कै पनि” भन्‍ने हो। यसको मूल हिब्रू शब्दको अर्थ “विश्‍वासी हुनु” वा “भरोसायोग्य हुनु” हो। यहोवा विश्‍वासयोग्य हुनुहुन्छ भनी बताउन यही शब्द प्रयोग गरिएको छ। (व्यव. ७:९; यशै. ४९:७) त्यसोभए येशूलाई “आमिन” भन्‍ने संज्ञा दिंदा उहाँ कुन तरिकामा अतुलनीय हुनुहुन्छ? दोस्रो कोरिन्थी १:१९, २० ले कसरी जवाफ दिन्छ याद गर्नुहोस्‌: “परमेश्‍वरका पुत्र ख्रीष्ट येशू, जो . . . तिमीहरूमा प्रचारिनुभयो, उहाँमा ‘हो’ र ‘होइन’ दुवै थिएन। तर उहाँमा ‘हो’ भन्‍ने मात्र छ। किनभने परमेश्‍वरका जुनसुकै प्रतिज्ञाहरू पनि उहाँमा ‘हो’ नै भनिएका छन्‌। यसैकारण उहाँद्वारा परमेश्‍वरको महिमाको निम्ति ‘आमिन’ भन्‍ने पनि छ।”

परमेश्‍वरका सबै प्रतिज्ञामा येशू “आमिन” हुनुहुन्छ। उहाँको छुटकाराको बलिदानलगायत पृथ्वीमा बिताउनुभएको त्रुटिरहित जीवनले यहोवा परमेश्‍वरको सबै प्रतिज्ञाको पुष्टि दिनुका साथै ती पूरा गर्न सम्भव तुल्यायो। अय्यूबको पुस्तकमा लिपिबद्ध शैतानको दाबी पनि उहाँले विश्‍वासी रहेर झूटा साबित गर्नुभयो। त्यसले अभाव, दुःखकष्ट र परीक्षाको बेला परमेश्‍वरका सेवकहरूले उहाँतिर पिठिउँ फर्काउनेछन्‌ भन्‍ने दाबी गरेको थियो। (अय्यू. १:६-१२; २:२-७) सबै सृष्टिमध्ये परमेश्‍वरका जेठो पुत्रले यस दाबीको अचूक जवाफ दिन सक्थ्यो। यसबाहेक, यहोवाको विश्‍वव्यापी सार्वभौमिकता न्यायोचित छ/छैन भनेर उठाएको अझै महत्त्वपूर्ण विवादमा पिताको पक्षमा उभिएर उहाँले सशक्‍त प्रमाण पेस गर्नुभयो।

१०. “आमिन”-को रूपमा येशूले निर्वाह गरेको अतुलनीय भूमिकाको हामी कसरी अनुकरण गर्न सक्छौं?

१० “आमिन”-को रूपमा येशूले निर्वाह गरेको अतुलनीय भूमिकाको हामी कसरी अनुकरण गर्न सक्छौं? यहोवाप्रति विश्‍वासी रहेर र उहाँको विश्‍वव्यापी सार्वभौमिकताको समर्थन गरेर। यसो गर्दा हितोपदेश २७:११ मा गरिएको आग्रहको सकारात्मक जवाफ दिइरहेका हुन्छौं: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।”

“नयाँ करारका मध्यस्थ”

११, १२. मध्यस्थको रूपमा येशूको भूमिका अतुलनीय छ, कसरी?

११ पहिलो तिमोथी २:५, ६ पढ्‌नुहोस्‌। “परमेश्‍वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ” येशू हुनुहुन्छ। उहाँ “नयाँ करारको मध्यस्थ” हुनुहुन्छ। (हिब्रू ९:१५; १२:२४) तर मोशालाई पनि मध्यस्थ भनिएको छ, व्यवस्थाको करारको मध्यस्थ। (गला. ३:१९) त्यसोभए मध्यस्थको रूपमा येशूको भूमिका कसरी अतुलनीय छ?

१२ “मध्यस्थ” भनी अनुवाद गरिएको शब्द मौलिक भाषामा कानुनी शब्द हो। यसले, येशू नयाँ करारको कानुनी मध्यस्थ (अथवा एक अर्थमा अधिवक्‍ता) हुनुहुन्छ भनी बुझाउँछ जसले गर्दा “परमेश्‍वरका इस्राएल” अर्थात्‌ नयाँ राष्ट्रको जन्म सम्भव भयो। (गला. ६:१६) यो राष्ट्र आत्मा अभिषिक्‍त ख्रीष्टियानहरू मिलेर बनेको छ जसद्वारा स्वर्गमा “राजकीय पूजाहारीगिरी” बन्दछ। (१ पत्रु. २:९; प्रस्थ. १९:६) मोशा मध्यस्थ भएको व्यवस्थाको करारले त्यस्तो राष्ट्र खडा गर्न सकेन।

१३. मध्यस्थको भूमिकामा येशूले के-के गर्नुहुन्छ?

१३ मध्यस्थको रूपमा येशू के-के गर्नुहुन्छ? येशूले बगाएको रगतको मोल यहोवाले नयाँ करारमा बाँधिएकाहरूमा लागू गर्नुहुन्छ। यसरी यहोवाले तिनीहरूलाई कानुनी तवरमै धर्मी ठहऱ्‍याउनुहुन्छ। (रोमी ३:२४; हिब्रू ९:१५) त्यसपछि उहाँले तिनीहरूलाई स्वर्गमा राजा र पूजाहारी बन्‍ने प्रत्याशासहित नयाँ करारमा बाँधिन योग्य व्यक्‍तिहरूको रूपमा हेर्नुहुन्छ! मध्यस्थको रूपमा येशूले तिनीहरूलाई परमेश्‍वरसामु जान सक्न मदत गर्नुहुन्छ।—हिब्रू २:१६.

१४. हाम्रो आशा जुनसुकै भए तापनि किन सबै ख्रीष्टियानले मध्यस्थको रूपमा येशूको भूमिकाको मोल गर्नुपर्छ?

१४ नयाँ करारमा नबाँधिएका यसै पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएकाहरूबारे चाहिं के भन्‍न सकिन्छ? तिनीहरू नयाँ करारको भाग नभए तापनि त्यसबाट लाभ चाहिं उठाउँछन्‌। तिनीहरूले पापको क्षमा पाउँछन्‌ र परमेश्‍वरको मित्रको रूपमा धर्मी ठहऱ्‍याइन्छन्‌। (याकू. २:२३; १ यूह. २:१, २) हाम्रो आशा स्वर्गमा जाने होस्‌ वा पृथ्वीमा बाँच्ने, हामी प्रत्येकले नयाँ करारको मध्यस्थको रूपमा येशूको भूमिकाको मोल गर्न सक्छौं।

“प्रधान पूजाहारी”

१५. प्रधान पूजाहारीको रूपमा सेवा गरेका अन्य पुरुषहरूको भन्दा प्रधान पूजाहारीको रूपमा येशूको भूमिका कसरी फरक छ?

१५ विगतमा थुप्रै पुरुषहरूले प्रधान पूजाहारीको रूपमा सेवा गरे। तैपनि प्रधान पूजाहारीको रूपमा येशूको भूमिका साँच्चै अतुलनीय छ। कसरी? पावल भन्छन्‌: “उहाँलाई, अरू पूजाहारीहरूलाई जस्तोगरी, पहिले आफ्नै निज पापका अनि मानिसहरूका पापका निम्ति बलिदान दिनदिनै चढाइरहनु आवश्‍यक छैन। किनकि यो ता उहाँले आफैलाई अर्पण गर्नुहुँदा एकैचोटि गरी सक्नुभयो। किनभने व्यवस्थाले निर्बल मानिसहरूलाई प्रधान पूजाहारीहरू नियुक्‍त गर्छ, तर व्यवस्थाभन्दा पछिबाट आएको शपथको वचनले युगान्तरको निम्ति सिद्ध हुनुभएको एक पुत्रलाई नियुक्‍त गर्छ।”—हिब्रू ७:२७, २८. a

१६. येशूको बलिदान किन साँच्चै अतुलनीय छ?

१६ येशू सिद्ध पुरुष हुनुहुन्थ्यो। पाप गर्नुअघिको सिद्ध आदम बराबर। (१ कोरि. १५:४५) त्यसैले, पछि फेरि कहिल्यै दिनु नपर्नेगरि पूर्ण र सिद्ध बलिदान दिन सक्ने अवस्थाको मानिस येशू मात्र हुनुहुन्थ्यो। मोशाको व्यवस्था अन्तर्गत बलिदानहरू दिनहुँ चढाइन्थ्यो। ती सबै बलिदान र पूजाहारीहरूको सेवा केवल येशूले पूरा गर्ने कुराको छाया थियो। (हिब्रू ८:५; १०:१) त्यसैकारण, अरू प्रधान पूजाहारीहरूको तुलनामा येशूले पूरा गर्ने कुराको प्रभावकारिता र भूमिकाको दिगोपनालाई विचार गर्दा प्रधान पूजाहारीको रूपमा उहाँको भूमिका अतुलनीय छ।

१७. प्रधान पूजाहारीको रूपमा येशूको भूमिकालाई हामीले किन कृतज्ञ भई मानिलिनुपर्छ र यो हामी कसरी गर्न सक्छौं?

१७ परमेश्‍वरसामु जान सक्न प्रधान पूजाहारीको रूपमा येशूको सेवा हामीलाई चाहिन्छ। हुन पनि, हाम्रा प्रधान पूजाहारी कत्ति उत्तम हुनुहुन्छ! पावलले यस्तो लेखे: “हाम्रा प्रधान पूजाहारी हाम्रा निर्बलतामा हामीसँग दुःखी हुन नसक्ने होइन। तर सबै कुरामा हामीजस्तै परीक्षित, र पनि पापरहित हुनुहुन्छ।” (हिब्रू ४:१५) अवश्‍य पनि, यस कुरालाई कृतज्ञ भई मानिलिंदा हामी ‘आफ्नो निम्ति होइन तर जो हाम्रो खातिर मर्नुभयो उहाँको निम्ति बाँच्न’ उत्प्रेरित हुनुपर्छ।—२ कोरि. ५:१४, १५; लूका ९:२३.

भविष्यवाणी गरिएका “सन्तान”

१८. आदमले पाप गरेपछि के भविष्यवाणी गरियो र यसबारे पछि के प्रकट गरियो?

१८ अदनको बगैंचामा मानिसजातिले सर्वस्व—परमेश्‍वरसामु जान सक्ने सुअवसर, अनन्त जीवन, आनन्द र प्रमोदवन—गुमाएको जस्तो देखिएको समयमा यहोवा परमेश्‍वरले एक उद्धारकबारे भविष्यवाणी गर्नुभयो। उनलाई “सन्तान” भनिएको थियो। (उत्प. ३:१५) नाउँ नखुलाइएको यस सन्तान वर्षौंसम्म थुप्रै बाइबल भविष्यवाणीको मुख्य विषय बन्यो। अब्राहाम, इसहाक र याकूब तिनका पुर्खा हुनेथिए। साथै तिनी राजा दाऊदको वंशका हुनेथिए।—उत्प. २१:१२; २२:१६-१८; २८:१४; २ शमू. ७:१२-१६.

१९, २०. (क) प्रतिज्ञा गरिएका सन्तान को हुनुहुन्छ? (ख) भविष्यवाणी गरिएका सन्तान येशू मात्र होइन भनेर कसरी भन्‍न सक्छौं?

१९ यस प्रतिज्ञा गरिएका सन्तान को थिए? यसको जवाफ गलाती ३:१६ मा पाउन सकिन्छ। (पढ्‌नुहोस्‌) तर पछि सोही अध्यायमा प्रेरित पावल अभिषिक्‍त ख्रीष्टियानहरूलाई यसो भन्छन्‌: “यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका वंश हौ, र प्रतिज्ञाबमोजिमका हकवाला पनि हौ।” (गला. ३:२९) प्रतिज्ञा गरिएका सन्तान ख्रीष्ट हुनुभयो तर यसमा अरू पनि समावेश गरियो। यसको अर्थ के हो?

२० लाखौंले अब्राहामको सन्तान भएको दाबी गर्छन्‌, अझ कति त अगमवक्‍ता भई टोपल्छन्‌। कुनै-कुनै धर्मले तिनीहरूको अगमवक्‍ता अब्राहामको वंश हो भनेर निकै जोड दिन्छन्‌। तर के तिनीहरू सबै प्रतिज्ञा गरिएका सन्तान हुन्‌ त? होइनन्‌। परमेश्‍वरबाट प्रेरणा पाएर प्रेरित पावलले औंल्याएझैं अब्राहामका सबै सन्तानले ‘म प्रतिज्ञा गरिएको सन्तान हुँ’ भनेर दाबी गर्न सक्दैन। अब्राहामका अरू छोराहरूका सन्तान मार्फत मानिसजातिलाई आशिष्‌ दिइएन। आशिष्‌को सन्तान इसहाककै वंशको हुनुपर्थ्यो। (हिब्रू ११:१८) आखिरमा येशू ख्रीष्ट नै प्रतिज्ञा गरिएको सन्तानको प्रमुख भाग साबित हुनुभयो। उहाँको अब्राहामदेखिको वंशावली बाइबलमा दिइएको छ। b अरू सबै पछि अब्राहामका सन्तानको दोस्रो भाग बन्छन्‌ किनभने तिनीहरू ‘ख्रीष्टका हुन्‌।’ हो, यो भविष्यवाणी पूरा गर्ने येशूको भूमिका साँच्चै अतुलनीय छ।

२१. यहोवाको उद्देश्‍यमा येशूले जुन तरिकामा आफ्नो अतुलनीय भूमिका निर्वाह गर्नुभयो त्यसबारे तपाईं कुन कुराले प्रभावित हुनुभएको छ?

२१ यहोवाको उद्देश्‍यमा येशूको अतुलनीय भूमिकाबारे यस छोटो छलफलबाट हामीले के सिक्यौं? सृष्टि गरिएदेखि नै परमेश्‍वरका एक मात्र पुत्र अतुलनीय साबित हुनुभएको छ। साँच्चै उहाँ जस्तो अरू कोही छैन! तर येशू नाउँले चिनिएका परमेश्‍वरका यी अतुलनीय पुत्रले सधैं नम्र भई पिताको इच्छाअनुसार काम गर्नुभएको छ र आफ्नो महिमा कहिल्यै खोज्नुभएको छैन। (यूह. ५:४१; ८:५०) कस्तो विशिष्ट उदाहरण! येशूले जस्तै “सबै परमेश्‍वरकै महिमाको निम्ति” गर्ने लक्ष्य हामी बनाऔं।—१ कोरि. १०:३१. (w 08 12/15)

[फुटनोटहरू]

a ‘एकैचोटि गरी’ भनी अनुवाद गरिएको युनानी वाक्यांशले “ख्रीष्टको मृत्यु अतुलनीय थियो र यो फेरि दोहोऱ्‍याउनुपर्दैन” भन्‍ने बाइबलको महत्त्वपूर्ण धारणालाई संकेत गर्छ भनी एक बाइबलविद्‌ले बताए।

b इस्वी संवत्‌ प्रथम शताब्दीमा यहूदीहरूले तिनीहरू नै खासमा अब्राहामको वंश भएकोले आफूलाई अनुग्रह प्राप्त जाति ठान्थे। तैपनि तिनीहरूले ख्रीष्ट अर्थात्‌ मसीहको रूपमा एक जना व्यक्‍तिको मात्र प्रतीक्षा गर्थे।—यूह. १:२५; ७:४१, ४२; ८:३९-४१.

के तपाईंले सम्झनुभएको छ?

• येशूलाई दिइएका पदवीहरूबाट उहाँको अतुलनीय भूमिकाबारे तपाईंले के सिक्नुभयो? (पेटी हेर्नुहोस्‌।)

• यहोवाका अतुलनीय पुत्रका उदाहरण तपाईं कसरी अनुकरण गर्न सक्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको पेटी/चित्र]

यहोवाको उद्देश्‍यमा येशूको अतुलनीय भूमिका झल्काउने केही पदवीहरू

एक मात्र पुत्र। (यूह. १:३) येशूलाई मात्र पिताले आफ्नै हातले सृष्टि गर्नुभयो।

वचन। (यूह. १:१४) अन्य सृष्टिहरूलाई जानकारी र निर्देशन दिन यहोवाले आफ्नो पुत्रलाई प्रवक्‍ताको रूपमा चलाउनुहुन्छ।

आमिन। (प्रका. ३:१४) छुडौतीको बलिदानलगायत येशूको त्रुटिरहित जीवनले यहोवाको प्रतिज्ञाको पुष्टि दिनुका साथै यो पूरा गर्न सम्भव तुल्यायो।

नयाँ करारको मध्यस्थ। (१ तिमो. २:५, ६) कानुनबमोजिम नै उहाँ मध्यस्थ हुनुभएकोले “परमेश्‍वरका इस्राएल” अर्थात्‌ नयाँ राष्ट्रको जन्म सम्भव भएको छ। यो राष्ट्र स्वर्गमा “राजकीय पूजाहारीगिरी” बन्‍ने ख्रीष्टियानहरू मिलेर बनेको छ।—गला. ६:१६; १ पत्रु. २:९.

प्रधान पूजाहारी। (हिब्रू ७:२७, २८) पछि फेरि कहिल्यै दिनु नपर्नेगरि पूर्ण र सिद्ध बलिदान दिन सक्ने अवस्थाको मानिस येशू मात्र हुनुहुन्थ्यो। उहाँले हामीलाई पाप र यसको मृत्युसम्म पुऱ्‍याउन सक्ने असरहरूबाट शुद्ध र स्वतन्त्र तुल्याउन सक्नुहुन्छ।

प्रतिज्ञा गरिएका सन्तान। (उत्प. ३:१५) येशू मात्र भविष्यवाणी गरिएका सन्तानको प्रमुख भाग हुनुहुन्छ। पछि अब्राहामको सन्तानको दोस्रो भाग बनेका बाँकी सबै ‘ख्रीष्टका हुन्‌।’—गला. ३:२९.