सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशू—पछ्याउनुपर्ने सिद्ध नमुना

येशू—पछ्याउनुपर्ने सिद्ध नमुना

येशू—पछ्याउनुपर्ने सिद्ध नमुना

के तपाईं अझै राम्रो र आनन्दित व्यक्‍ति बन्‍न चाहनुहुन्छ? यो कसरी सम्भव छ प्रेरित पत्रुस वर्णन गर्छन्‌। तिनी लेख्छन्‌: “उहाँको पाइलामा टेकेर हिंड्‌नलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो।” (१ पत्रुस २:२१) हो, असाधारण जीवन बिताउनुभएको येशूबाट हामीले सिक्न सक्ने कुरा धेरै छन्‌। उहाँबारे सिकेर अनि त्यसअनुरूप जीवन ढालेर पक्कै हामी अझै राम्रो र आनन्दित बन्‍न सक्छौं। आउनुहोस्‌, यी महान्‌ पुरुषका केही गुणहरू अझै नजिकबाट नियालौं र उहाँको उदाहरणबाट के लाभ उठाउन सक्छौं हेरौं।

येशू सन्तुलित हुनुहुन्थ्यो। उहाँले आफ्नो “शिर अडाउने ठाउँ पनि छैन” भन्‍नुभए तापनि साधुको जस्तो जीवनलाई बढवा दिनुभएन नता उहाँ आफैले त्यस्तो जीवन बिताउनुभयो। (मत्ती ८:२०) उहाँ भोजहरूमा जानुभयो। (लूका ५:२९) उहाँको पहिलो उल्लिखित चमत्कारबाट उहाँ समाजविरोधी वा साधु हुनुहुन्थेन भन्‍ने कुरा देखिन्छ। त्यतिबेला उहाँले, विवाह भोजमा पानीलाई असल दाखमद्य बनाउनुभएको थियो। (यूहन्‍ना २:१-११) तैपनि येशूले आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण के हो स्पष्ट पार्नुभयो। उहाँले भन्‍नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।”—यूहन्‍ना ४:३४.

जीवनमा भौतिक र आध्यात्मिक कुरालाई कसरी सन्तुलनमा ल्याउन सकिन्छ के तपाईंले आफ्नो जीवनलाई केलाउनुभएको छ?

येशूकहाँ जान सजिलो लाग्थ्यो। बाइबलले येशूलाई स्नेही र मित्रैलो व्यक्‍तिको रूपमा चित्रण गर्छ। मानिसहरू समस्या अथवा अन्योलमा पार्ने प्रश्‍नहरू लिएर आउँदा उहाँ रिसाउनुभएन। एक पटक भीडले उहाँलाई घेरिराखेको बेला १२ वर्षदेखि रगत बग्ने बेथा लागेकी आइमाईले निको हुने आसमा उहाँको वस्त्र छोइन्‌। तिनको अट्टेरीपना जस्तो देखिने कार्यको लागि उहाँले गाली गर्नुभएन तर दयापूर्वक यसो भन्‍नुभयो: “ए छोरी तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ।” (मर्कूस ५:२५-३४) केटाकेटीहरू पनि उहाँकहाँ झ्याम्मिन्थे—उहाँले बेवास्ता गर्नुहुन्छ कि भन्‍ने डरविना नै। (मर्कूस १०:१३-१६) उहाँले आफ्ना चेलाहरूसित खुलस्त र मित्रैलो ढंगमा कुराकानी गर्नुहुन्थ्यो। तिनीहरू उहाँको नजिक आउन हिचकिचाउँदैनथे।—मर्कूस ६:३०-३२.

अरूहरू तपाईंको नजिक आउन कत्तिको सजिलो मान्छन्‌?

उहाँ समानुभूतिशील र दयालु हुनुहुन्थ्यो। येशूको सबैभन्दा महान्‌ गुणमध्ये एउटा समानुभूति हो अर्थात्‌ आफूलाई अरूको ठाउँमा राखेर तिनीहरूको भावना महसुस गर्न सक्नु। अनि उहाँले तिनीहरूलाई मदत पनि गर्नुहुन्थ्यो। प्रेरित यूहन्‍ना बताउँछन्‌ कि येशूले जब मरियम आफ्ना भाइ लाजरसको मृत्युमा रोइरहेकी देख्नुभयो तब उहाँ “आत्मामा अति विचलित भएर दुःखित हुनुभयो” र “रुनुभयो।” त्यस परिवारप्रति येशूको कत्ति माया थियो प्रत्यक्षदर्शीहरूले सजिलै ठम्याउन सक्थे। उहाँले आफ्नो त्यो भावना निसंकोच व्यक्‍त गर्नुभयो। अनि आफ्नो साथीलाई फेरि जीवन दिएर उहाँले कस्तो दया देखाउनुभयो!—यूहन्‍ना ११:३३-४४.

अर्को अवसरमा, कोर रोग जुन एकदमै घृणित र मानिसहरूबाट अलगै बस्नुपर्ने रोग हो त्यसबाट पीडित एक व्यक्‍तिले येशूलाई यस्तो बिन्ती गरे: “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।” येशूले देखाउनुभएको प्रतिक्रिया साँच्चै हृदयस्पर्शी थियो: “उहाँले यसो भन्दै हात पसारेर त्यसलाई छुनुभयो, ‘म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।’ ” (मत्ती ८:२, ३) खालि भविष्यवाणी पूरा गर्नको लागि येशूले मानिसहरूलाई निको पार्नुभएको थिएन। उहाँ तिनीहरूको आँसु पुछिदिन चाहनुहुन्थ्यो। उहाँले गर्नुभएको जुनसुकै काम पनि उहाँको प्रख्यात भनाइअनुसारै थियो: “जसो मानिसहरूले तिमीहरूसित गरून्‌ भन्‍ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसित त्यसै गर।”—लूका ६:३१.

के तपाईंको कार्यमा अरूप्रतिको दया देखिन्छ?

येशू बुझकी र विवेकी हुनुहुन्थ्यो। गल्ती नै नगर्ने व्यक्‍ति भए पनि येशूले कहिल्यै अरूबाट सिद्धताको माग गर्नुभएन अथवा अरूभन्दा आफूलाई श्रेष्ठ ठान्‍नुभएन नता उहाँले सुझबुझ नभएको व्यक्‍तिले जस्तो नै व्यवहार गर्नुभयो। एकचोटि, “शहरको एउटी पापी आइमाईले” येशूका पाउ आँसुले भिजाउँदै आफ्नो विश्‍वास र कृतज्ञता जाहेर गरिन्‌। येशूले तिनलाई त्यसो गर्न दिनुभएको देखेर उहाँलाई निम्तो दिने व्यक्‍ति छक्क परे किनभने तिनले ती आइमाईलाई नराम्रो ठान्थे। ती आइमाईको निष्कपटता बुझ्नुभएर येशूले तिनलाई पापको लागि निन्दा गर्नुभएन। बरु, उहाँले भन्‍नुभयो: “तिम्रो विश्‍वासले तिम्रो उद्धार भएको छ, शान्तिसित जाऊ।” येशूको न्यानो प्रतिक्रिया पाएकोले तिनी आफ्नो पहिलाको जीवनशैली त्याग्न उत्प्रेरित भएको हुनुपर्छ।—लूका ७:३७-५०.

के तपाईं प्रशंसा गर्नमा छिटो र निन्दा गर्नमा ढिलो भनेर चिनिनुहुन्छ?

उहाँ पक्षपात गर्नुहुन्‍न थियो र आदर देखाउनुहुन्थ्यो। सायद व्यक्‍तित्व मिलेकोले र पारिवारिक सम्बन्ध पनि भएकोले चेला यूहन्‍नाप्रति येशूको विशेष माया थियो। a त्यसो भन्दैमा उहाँले तिनलाई काखी च्याप्नुभएन नता अरू चेलाहरूभन्दा तिनलाई बढी निगाह देखाउनुभयो। (यूहन्‍ना १३:२३) वास्तवमा, जब यूहन्‍ना र तिनका भाइ याकूबले परमेश्‍वरको राज्यमा श्रेष्ठ ओहदाको लागि आग्रह गरे तब येशूले भन्‍नुभयो: “मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्नदिनु चाहिं मैले दिने होइन।”—मर्कूस १०:३५-४०.

येशू सधैं अरूलाई आदर देखाउनुहुन्थ्यो। उहाँको समयका मानिसहरू पक्षपाती भए पनि येशू पक्षपाती हुनुहुन्‍नथ्यो। उदाहरणको लागि, स्त्रीहरूलाई पुरुषको तुलनामा तुच्छ ठानिन्थ्यो। तर येशूले स्त्रीहरूलाई आदर गर्नुभयो। उहाँले आफू मसीह हुँ भनेर पहिलो पल्ट खुलासा गर्नुभएको स्त्रीलाई नै हो जो यहूदी नभई सामरी थिइन्‌। सामरीहरूलाई आम यहूदीहरू घृणा गर्थे, अभिवादन गर्ने कुरा त परै जाओस्‌। (यूहन्‍ना ४:७-२६) अनि उहाँले आफ्नो पुनरुत्थानको पहिलो साक्षी हुने सुअवसर पनि स्त्रीहरूलाई नै दिनुभयो।—मत्ती २८:९, १०.

विभिन्‍न जाति, लिङ्‌ग, भाषा अथवा राष्ट्रका व्यक्‍तिहरूसित व्यवहार गर्दा के तपाईं निष्पक्ष हुनुहुन्छ?

उहाँ जिम्मेवार छोरा र दाजु हुनुहुन्थ्यो। येशूका धर्मपिता यूसुफ उहाँ युवा छँदा नै बितेको जस्तो देखिन्छ। येशूले आफ्नी आमा र भाइ-बहिनीलाई सिकर्मी काम गरेर पालेको हुनुपर्छ। (मर्कूस ६:३) आफ्नो जीवनको अन्तिम घडीमा उहाँले आफ्नी आमाको हेरविचार गर्ने जिम्मा चेला यूहन्‍नालाई सुम्पनुभयो।—यूहन्‍ना १९:२६, २७.

येशूले जस्तै पारिवारिक जिम्मेवारी पूरा गरेर के तपाईं उहाँको अनुकरण गर्न सक्नुहुन्छ?

उहाँ असल साथी हुनुहुन्थ्यो। साथीको रूपमा येशू उल्लेखनीय हुनुहुन्थ्यो। कसरी? गल्ती गरे भन्दैमा उहाँले साथीहरूलाई त्याग्नुभएन, एउटै गल्ती बारम्बार दोहोऱ्‍याउँदा समेत। चेलाहरूले सधैं उहाँलाई मनपर्ने काम गरेनन्‌। तर उहाँले तिनीहरूको मनसाय नै खराब छ भन्‍नुको साटो तिनीहरूका असल गुणहरूमा ध्यान दिएर आफूलाई तिनीहरूको साथी प्रमाणित गर्नुभयो। (मर्कूस ९:३३-३५; लूका २२:२४-२७) जबरजस्ती आफ्नो दृष्टिकोण तिनीहरूमा लाद्‌नुको सट्टा तिनीहरूलाई खुलस्त आफ्नो कुरा व्यक्‍त गर्न आमन्त्रित गर्नुभयो।—मत्ती १६:१३-१५.

सबैभन्दा महत्त्वपूर्ण कुरा येशू आफ्ना साथीहरूलाई माया गर्नुहुन्थ्यो। (यूहन्‍ना १३:१) कुन हदसम्म? उहाँले भन्‍नुभयो: “आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढ्‌ता प्रेम कसैको हुँदैन।” (यूहन्‍ना १५:१३) के कसैले साथीको लागि आफ्नो जीवनभन्दा अमूल्य अरू केही चढाउन सक्छ र?

अरूले रीस उठाउँदा वा चित्त दुखाउँदा के तपाईं उनीहरूको साथी बनिरहनुहुन्छ?

उहाँ साहसी र पुरुषार्थी हुनुहुन्थ्यो। केही चित्रकारहरूले चित्रण गरेजस्तो येशू लुत्रुक्क परेको मरन्च्याँसे त पटक्कै हुनुहुन्‍न। सुसमाचारको पुस्तकले उहाँलाई गठिलो र फुर्तिलो व्यक्‍तिको रूपमा प्रस्तुत गरेको छ। दुईपटक येशूले व्यापारीहरूलाई सामानहरूसहित मन्दिरबाट धपाउनुभयो। (मर्कूस ११:१५-१७; यूहन्‍ना २:१४-१७) एक हूल मानिस “नासरतका येशूलाई” समात्न आउँदा आफ्नो परिचय दिन र चेलाहरूलाई बचाउन उहाँ साहसी हुँदै अघि सर्नुभयो अनि दृढ भई यसो भन्‍नुभयो: “म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्दछौ भने यिनीहरूलाई चाहिं जानदेओ।” (यूहन्‍ना १८:४-९) गिरफ्तार हुँदा अनि दुर्व्यवहार गरिंदा पन्तियस पिलातसले येशूको पुरुषार्थ देखेर यसो भन्‍नु कुनै छक्कलाग्दो कुरा होइन: “हेर, त्यो मानिस!”—यूहन्‍ना १९:४, ५.

आफूले गर्नै पर्ने काम देख्दा के तपाईं दृढतापूर्वक र साहसीपूर्वक कदम चाल्नुहुन्छ?

यी र अन्य उल्लेखनीय गुणहरूका कारण येशू हाम्रा लागि सिद्ध नमुना हुनुहुन्छ। यदि हामीले आफूलाई उहाँको आचरणले प्रभावित हुनदियौं भने हामी अझै राम्रो र आनन्दित व्यक्‍ति बन्‍न सक्नेछौं। यही कारण प्रेरित पत्रुसले ख्रीष्टियानहरूलाई येशूको पाइला नजिकबाट पछ्याउन आग्रह गरेका थिए। के तपाईं यथासक्दो येशूको पाइलामा हिंड्‌ने कोसिस गर्नुहुन्छ?

पछ्याउनुपर्ने नमुना मात्र हुनुहुन्‍न

तर येशू पछ्याउनुपर्ने नमुना मात्र त हुनुहुन्‍न। उहाँले भन्‍नुभयो: “बाटो, सत्य, र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूहन्‍ना १४:६) परमेश्‍वरबारे सत्य कुरा मानिसहरूलाई बताएर परमेश्‍वरको नजिक जाने बाटो खुलाउनुको अलावा येशूले विश्‍वासीहरूलाई जीवन पाउन पनि सम्भव तुल्याउनुभयो।—यूहन्‍ना ३:१६.

पृथ्वीमा आउनुको यस कारणबारे बताउँदै येशूले यसो भन्‍नुभयो: “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई आयो।” (मत्ती २०:२८) आफ्नो जीवन बलिदान चढाएर येशूले मानिसजातिका लागि अनन्त जीवनको आनन्द उठाउने जग बसाल्नुभयो। यो प्रबन्धबाट लाभ उठाउने हो भने हामी प्रत्येकले के गर्नै पर्छ? येशूले भन्‍नुभयो: “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

हो, येशूबारे ज्ञान लिनु, उहाँको जीवनशैली पछ्याउनु र उहाँको छुटकाराको बलिदानमा विश्‍वास गर्नु अनन्त जीवन पाउन चाहिने आवश्‍यकताहरू हुन्‌। हामी तपाईंलाई येशूले जस्तै यस्तो ज्ञानको स्रोत बाइबल अध्ययन गर्ने समय निकाल्न र त्यसअनुरूप गर्ने कोसिस गर्न अनुरोध गर्छौं। b

येशूको उदाहरणीय जीवनले हामी कस्तो किसिमको व्यक्‍ति बन्‍नुपर्ने हो त्यो सिकाउँछ। उहाँको बलिदानरूपी मृत्युले हामीलाई पाप र त्यसको ज्याला मृत्युबाट स्वतन्त्र बनाउन सक्छ। (रोमी ६:२३) प्रभावशाली व्यक्‍ति येशू ख्रीष्ट नहुनुभएको भए हाम्रो अवस्था कत्ति दुःखदायी हुनेथियो! जीवनका चिन्ता र फिक्रीले गर्दा आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष येशू ख्रीष्टबारे विचार गर्ने र उहाँलाई नजिकबाट पछ्याउने मौका नगुमाउनुहोस्‌। (w 08 12/1)

[फुटनोटहरू]

a यूहन्‍नाकी आमा सलोमी सम्भवतः येशूकी आमा मरियमकी बहिनी हुनुपर्छ। मत्ती २७:५५, ५६ लाई मर्कूस १५:४० र यूहन्‍ना १९:२५ सित तुलना गर्नुहोस्‌।

b येशूको पार्थिव जीवनबारे विस्तृत जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक हेर्नुहोस्‌।

[पृष्ठ ७-मा भएको पेटी/चित्रहरू]

◼ उहाँ कसैलाई पक्षपात गर्नुहुन्‍न थियो र सबैलाई आदर गर्नुहुन्थ्यो

◼ उहाँ अन्तसम्मै असल साथी साबित हुनुभयो

◼ उहाँ साहसी हुनुहुन्थ्यो

के तपाईं यथासक्दो येशूको पाइलामा हिंड्‌न कोसिस गर्नुहुन्छ?

[पृष्ठ ७-मा भएको चित्रहरू]

येशू सन्तुलित हुनुहुन्थ्यो

अरूलाई उहाँकहाँ जान सजिलो लाग्थ्यो

उहाँ दयालु हुनुहुन्थ्यो