सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विस्तृत साक्षी दिन कटिबद्ध हुनुहोस्‌

विस्तृत साक्षी दिन कटिबद्ध हुनुहोस्‌

विस्तृत साक्षी दिन कटिबद्ध हुनुहोस्‌

“उहाँले हामीलाई जनतामा प्रचार गर्न, र . . . सबूत [अर्थात्‌, “विस्तृत साक्षी,” NW] दिनलाई आज्ञा गर्नुभएको छ।”—प्रेरि. १०:४२.

१. कर्नीलियससित कुरा गर्दा पत्रुसले कुन आज्ञा प्रकाश पारे?

 एक इटालेली कप्तानले आफ्ना नातेदार र साथीभाइलाई एक ठाउँमा भेला गरे अनि यो नै परमेश्‍वरले मानिसहरूसित गर्ने व्यवहारमा एउटा महत्त्वपूर्ण परिवर्तन हुन गयो। परमेश्‍वरको डर राख्ने ती व्यक्‍ति थिए—कर्नीलियस। येशूबारे ‘जनतामा प्रचार गर्न र विस्तृत साक्षी दिन’ प्रेरितहरूलाई आज्ञा गरिएको छ भनी प्रेरित पत्रुसले त्यहाँ जम्मा भएको समूहलाई बताए। तिनले दिएको साक्षीले मनग्गे फल फलायो। खतना नगरिएका अन्यजातिहरूले परमेश्‍वरको आत्मा पाए, बप्तिस्मा लिए र स्वर्गमा येशूसँगै राजा हुन सक्ने सुअवसर पाए। पत्रुसले दिएको विस्तृत साक्षीको कत्ति राम्रो परिणाम!—प्रेरि. १०:२२, ३४-४८.

२. साक्षी दिने आज्ञा १२ जना प्रेरितहरूलाई मात्रै दिइएको थिएन भनेर हामी कसरी थाह पाउन सक्छौं?

यो थियो इस्वी संवत्‌ ३६ को कुरा। त्यसको झन्डै दुई वर्षअघि ख्रीष्टियान धर्मका एक कट्टर विरोधीले जीवन परिवर्तनको अनुभव बटुलेका थिए। टार्ससका शावल दमीशक जाँदै गर्दा येशू तिनीसामु देखा पर्नुभयो र भन्‍नुभयो: “उठेर शहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ, सो तिमीलाई बताइनेछ।” शावलले “अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामु” साक्षी दिनेछन्‌ भनेर चेला हननियालाई येशूले आश्‍वासन दिनुभयो। (प्रेरित ९:३-६, १३-२० पढ्‌नुहोस्‌) शावलको साथमा हुँदा हननियाले यसो भने: “पिता-पुर्खाका परमेश्‍वरले . . . तपाईंलाई नियुक्‍त गर्नुभएको छ। किनकि सबै मानिसहरूका सामु उहाँको निम्ति तपाईं यी सबै कुराको गवाही हुनुहुनेछ।” (प्रेरि. २२:१२-१६) पछि पावल भनी चिनिएका शावलले गवाही दिने जिम्मेवारीलाई कत्तिको गम्भीरतापूर्वक लिए?

तिनले साँच्चै विस्तृत साक्षी दिए!

३. (क) हामी कुन एउटा विवरणमा ध्यान दिनेछौं? (ख) पावलको सन्देश पाउँदा एफिससका प्राचीनहरूले कस्तो प्रतिक्रिया देखाए साथै कस्तो राम्रो उदाहरण बसाले?

पावलले त्यसपछि गरेका कार्यहरूको पूरै विवरण पढ्‌नु निकै रोचक हुने भए तापनि अहिले चाहिं हामी तिनले इस्वी संवत्‌ ५६ तिर दिएको भाषणमा मात्रै ध्यान दिनेछौं। यो, प्रेरित अध्याय २० मा छ। पावलले यो भाषण तेस्रो मिसनरी यात्राको अन्ततिर दिएका थिए। तिनी एजियन समुद्रसँगैको सहर मिलेटसमा उत्रे र एफिसस मण्डलीका प्राचीनहरूलाई त्यहीं बोलाए। मिलेटसबाट एफिसस करिब ५० किलोमिटर पर भए पनि घुमाउरा बाटाहरूले गर्दा यात्रा लामो हुन्थ्यो। पावलको सन्देश पाउँदा एफिससका प्राचीनहरू कत्ति रोमाञ्चित भए होलान्‌, तपाईं कल्पना गर्न सक्नुहुन्छ। (हितोपदेश १०:२८ तुलना गर्नुहोस्‌) तापनि, तिनीहरूले मिलेटसमा जानका लागि चाँजोपाँजो मिलाउनुपर्थ्यो। के तिनीहरूमध्ये केहीले आफ्नो कामबाट बिदा लिनु अथवा पसल बन्द गर्नु परेन होला र? आज थुप्रै ख्रीष्टियानहरूले वार्षिक जिल्ला अधिवेशनको एउटा पनि भाग नछुटाउन त्यसै गर्छन्‌।

४. केही वर्ष एफिससमा छँदा पावलले के गरे?

तपाईंको विचारमा प्राचीनहरू नआइपुगुञ्जेल तीन-चार दिनसम्म पावलले मिलेटसमा के गरे होलान्‌? तपाईं भएको भए के गर्नुहुने थियो? (प्रेरित १७:१६, १७ तुलना गर्नुहोस्‌) पावलले एफिससका प्राचीनहरूलाई भनेका शब्दहरूबाट हामी यसको जवाफ पाउन सक्छौं। तिनले आफ्नो वर्षौंदेखिको प्रचार गर्ने बानीबारे वर्णन गरे र यसमा तिनी पहिला एफिससमा छँदा प्रचार गरेको कुरा पनि समावेश छ। (प्रेरित २०:१८-२१ पढ्‌नुहोस्‌) कसैले पनि तिनको कुरा काट्‌न सक्दैन भन्‍ने थाह भएकोले तिनले यसो भने: “एशियामा पाइला टेकेको पहिलो दिनदेखिनै सबै समय तपाईंहरूसँग बिताएँ। . . . [“विस्तृत,” NW ] साक्षी दिनलाई म पछि हटिनँ।” हो, येशूबाट पाएको आज्ञा पूरा गर्न तिनी कटिबद्ध थिए। तिनले यो काम एफिससमा कसरी पूरा गरे? एउटा तरिका, यहूदीहरूलाई साक्षी दिएर। त्यो पनि जहाँ धेरै भेटिन्थ्यो त्यहीं गएर। इस्वी संवत्‌ ५२-५५ तिर पावल एफिससमा छँदा तिनले सभाघरमा ‘रीतिपूर्वक बहस गरेर तिनीहरूलाई मनाए’ भनी लूका रिपोर्ट गर्छन्‌। जब यहूदीहरू “कठोर र अनाज्ञाकारी” भए तब पावलले अरूतर्फ ध्यान लगाए—त्यही सहरको अर्को भागमा गएर र अझै प्रचार गर्दै। यसरी तिनले त्यस ठूलो सहरमा यहूदी र ग्रीकलाई साक्षी दिए।—प्रेरि. १९:१, ८, ९.

५, ६. पावलले घर-घरमा प्रचार गर्दा अविश्‍वासीहरूलाई पनि प्रचार गरे भनी हामी किन पक्का हुन सक्छौं?

तिनीहरूमध्ये ख्रीष्टियान भएका कोही-कोही समयको दौडान प्राचीन भए र तिनीहरूसितै पावलले मिलेटसमा कुरा गरेका थिए। आफूले प्रयोग गरेको तरिकाबारे पावलले तिनीहरूलाई यसरी याद दिलाए: “तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूलाई देखाइदिन र घर-घरमा खुल्लमखुल्ला सिकाउन, . . . म पछि हटिनँ।” यहाँ पावलले विश्‍वासीहरूलाई गोठालो भेट गर्ने कुरा मात्र गरिरहेका थिएनन्‌ भनेर आज कोही-कोही दाबी गर्छन्‌। तर त्यसो होइन। ‘तपाईंहरूलाई देखाइदिने र घर-घरमा खुल्लमखुल्ला सिकाउने’ भन्‍ने अभिव्यक्‍ति विशेषगरि अविश्‍वासीहरूलाई साक्षी दिने कुरामा लागू हुन्छ। तिनले त्यसपछि भनेका शब्दहरूबाट यो कुरा छर्लङ्‌गै हुन्छ। तिनले “यहूदीहरूलाई र ग्रीकहरूलाईसमेत परमेश्‍वरतिरको पश्‍चातापको, र हाम्रा प्रभु येशू ख्रीष्टतिरको विश्‍वासको” साक्षी दिंदै आएको कुरा बताए। कुरा स्पष्ट छ, पावलले अविश्‍वासीहरूलाई साक्षी दिंदै आएका थिए जसले पश्‍चात्ताप र येशूमा विश्‍वास गर्नु आवश्‍यक थियो।—प्रेरि. २०:२०, २१.

ख्रीष्टियान युनानी धर्मशास्त्रको विस्तृत विश्‍लेषण गरेका एक शास्त्रविद्‌ले प्रेरित २०:२० बारे यसो भने: “पावलले एफिससमा तीन वर्ष बिताएका थिए। तिनी प्रत्येक घरमा गएका थिए अथवा कमसेकम सबैलाई प्रचार गरेका थिए (पद २६)। घर-घरमा गएर साथै सार्वजनिक स्थलमा सुसमाचार सुनाउने यो एउटा शास्त्रीय आधार हो।” यी शास्त्रविद्‌ले दाबी गरेझैं पावल साँच्चै नै प्रत्येक घरमा गएका होस्‌ या नहोस्‌, तिनले कसरी साक्षी दिएका थिए र त्यसको परिणाम कस्तो भएको थियो एफिससका प्राचीनहरूले नबिर्सोस्‌ भन्‍ने तिनी चाहन्थे। लूकाले यसो भने: “एशियामा रहने सारा यहूदीहरू र ग्रीकहरूले पनि प्रभुको वचन सुने।” (प्रेरि. १९:१०) तर एसियामा रहने “सारा”-ले कसरी सुन्‍न सक्थे अनि हामीले दिने साक्षीबारे यसले के बताउन सक्छ?

७. पावलले प्रत्यक्ष साक्षी नदिएकाहरूलाई पनि तिनको प्रचारले कसरी असर गरेको हुन सक्छ?

पावलले सार्वजनिक ठाउँ र घर-घरमा प्रचार गरेकोले तिनको सन्देश धेरैले सुने। के एफिससमा सन्देश सुनेकाहरू कोही पनि बसाइँ नसरी त्यहीं रहिरहे होला र? व्यापारको लागि, नातागोतामाझ हुन वा सहरको दौडधूपबाट भाग्न कोही पनि अन्तै सरेनन्‌ होला र? कोही-कोही त पक्कै बसाइँ सरेको हुनुपर्छ। आज धेरैजसो यस्तै-यस्तै कारणले बसाइँ सर्छन्‌। हुन सक्छ तपाईं पनि यस्तै कारणले बसाइँ सर्नुभयो। साथै, त्यतिखेर अरू ठाउँका मानिसहरू सामाजिक कारण वा व्यापारको लागि एफिसस आउने गर्थे। त्यहाँ छँदा तिनीहरूले पावललाई भेटेका वा तिनले प्रचार गरेको सुनेका होलान्‌। घर फर्केपछि तिनीहरूले के गर्ने थिए? सच्चाइ स्वीकार्ने जतिले साक्षी दिने थिए। अरू कतिपय विश्‍वासी नबने पनि एफिससमा हुँदा सुनेको कुरा अरूलाई सुनाएको हुन सक्छ। परिणामस्वरूप नातागोता, छिमेकी र ग्राहकले सच्चाइ सुने र केहीले त्यसलाई स्वीकारेको हुन सक्छ। (मर्कूस ५:१४ तुलना गर्नुहोस्‌) तपाईंले दिने विस्तृत साक्षीले पार्न सक्ने असरबारे यसले के बताउँछ?

८. एसियाका सबै मानिसले सच्चाइ कसरी सुनेका हुन सक्छन्‌?

पहिला एफिससमा प्रचार गर्दा तिनको निम्ति “एउटा ठूलो र अभिप्राय पूरा गर्ने ढोका खुला” भएको थियो भनी पावलले लेखे। (१ कोरि. १६:८, ९) त्यो ढोका कुन थियो र तिनको निम्ति कसरी खोलियो? पावलले एफिससमा निरन्तर प्रचार गरेकोले सुसमाचार फैलियो। एफिससबाट भित्री भागमा रहेका तीन वटा सहर कलस्सी, लाओडिसिया र हिरापोलिसलाई विचार गर्नुहोस्‌। पावलले त्यहाँ कहिल्यै पाइला टेकेका थिएनन्‌ तर त्यहाँका मानिसहरूले सुसमाचार सुने। इप्राफास त्यही इलाकाका थिए। (कल. २:१; ४:१२, १३) के इप्राफास पावलले एफिससमा साक्षी दिएको सुनेर ख्रीष्टियान भएका थिए? बाइबलले किटेरै बताउँदैन। तर आफ्नो गृह इलाकामा सच्चाइ छर्ने सन्दर्भमा इप्राफासले पावलको प्रतिनिधित्व गरेको हुन सक्छ। (कल. १:७) पावलले एफिससमा साक्षी दिइरहेकै ताका ख्रीष्टियान सन्देश फिलाडेल्फिया, सार्डिस अनि थिआटायरा जस्ता सहरहरूमा पनि पुगेको हुनुपर्छ।

९. (क) पावलमा कस्तो हार्दिक इच्छा थियो? (ख) सन्‌ २००९ को लागि वार्षिक पद कुन हो?

त्यसैकारण, एफिससका प्राचीनहरूसित पावलको यो कुरा स्वीकार्ने प्रशस्त कारण थियो: “म आफ्नो जिन्दगीलाई कुनै मूल्यको वा प्रिय सम्झदिनँ। परमेश्‍वरको अनुग्रहको सुसमाचारको [“विस्तृत,” NW ] साक्षी दिनलाई, म मेरो दौड र प्रभु येशूबाट मिलेको सेवा मात्र पूरा गर्न माग्छु।” यस पदमा सन्‌ २००९ को लागि प्रोत्साहनदायी र उत्प्रेरणादायी वार्षिक पद रहेको छ: ‘सुसमाचारको विस्तृत साक्षी दिनुहोस्‌।’—प्रेरि. २०:२४.

आज विस्तृत साक्षी दिइँदैछ

१०. हामीले पनि विस्तृत साक्षी दिनुपर्छ भनेर कसरी थाह पाउन सक्छौं?

१० प्रेरितहरूलाई ‘जनतामा प्रचार गर्न र विस्तृत साक्षी’ दिन दिइएको आज्ञा पछि अरूलाई पनि दिइयो। पुनरुत्थान हुनुभएका येशूले गालीलमा भेला भएका सम्भवतः ५०० जना चेलालाई यस्तो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे-जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ।” यो आज्ञा आज सबै साँचो ख्रीष्टियानहरूलाई लागू हुन्छ भनी येशूका यी शब्दले संकेत गर्छन्‌: “हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २८:१९, २०.

११. यहोवाका साक्षीहरू कुन महत्त्वपूर्ण कामको लागि चिनिन्छन्‌?

११ ‘सुसमाचारको विस्तृत साक्षी दिने’ प्रयत्न गरेर जोसिला ख्रीष्टियानहरू त्यो आज्ञा निरन्तर पालना गर्दैछन्‌। यसो गर्ने एउटा प्रमुख तरिका पावलले एफिससका प्राचीनहरूलाई भनेजस्तै घर-घरमा प्रचार गरेर हो। प्रभावकारी मिसनरी कार्यबारे सन्‌ २००७ मा लेखिएको एउटा किताबमा डेभिड जि. स्टिवर्ट जुनियरले यसो भने: “केवल अस्पष्ट र सैद्धान्तिक कुरा गिर्जाघरको मन्चबाट सिकाउनुभन्दा यहोवाका साक्षीहरूले आफ्ना सदस्यहरूलाई तिनीहरूको विश्‍वासबारे अरूलाई बताउन सिकाउने तरिका कता हो कता प्रभावकारी साबित भएको छ। थुप्रै यहोवाका साक्षीको लागि अरूलाई आफ्नो विश्‍वासबारे बताउनु एकदमै मनपर्ने काम हो।” परिणाम? “सन्‌ १९९९ मा मैले पूर्वी यूरोपको दुई वटा सहरमा सर्वेक्षण गर्दा २ देखि ४ प्रतिशत मानिसले मात्र ल्याटर-डे सेन्टस्‌ अथवा ‘मोर्मोन’ मिसनरीहरूले भेट्‌न आएको बताए। सत्तरी प्रतिशत भन्दा बढीले चाहिं व्यक्‍तिगत रूपमा यहोवाका साक्षीहरूले भेट्‌न आएको अनि त्यो पनि थुप्रै चोटि भनेर बताएका थिए।”

१२. (क) आफ्नो इलाकामा हामी घर-घर गई किन “थुप्रै चोटि” प्रचार गर्छौं? (ख) हाम्रो सन्देशप्रति आफ्नो मनोवृत्तिमा परिवर्तन गरेको के कसैको अनुभव तपाईं बताउन सक्नुहुन्छ?

१२ सायद तपाईंको इलाकामा बस्ने मानिसहरूले पनि यस्तै अनुभव गरेका छन्‌। सम्भवतः तपाईं आफै पनि यस काममा सहभागी हुनुभएको छ। घर-घरको प्रचारकार्यमा मानिसहरूलाई ‘व्यक्‍तिगत रूपमा भेट्‌दा’ तपाईंले पुरुष, स्त्री र युवासित कुरा गर्नुभएको छ। “थुप्रै चोटि” भेट्‌दा पनि कसै-कसैले सुनेनन्‌ होला। अरू कसैले भने तपाईंले बाइबल पद वा यसको कुनै एउटा कुरा बताउँदा एकछिन सुने होलान्‌। अझ, अरू कतिपयलाई भने तपाईंले राम्रो साक्षी दिन सक्नुभयो र तिनीहरूले सन्देश स्वीकारेका पनि छन्‌ होला। यी सबै ‘सुसमाचारको विस्तृत साक्षी’ दिंदा हुन सक्ने कुराहरू हुन्‌। “थुप्रै चोटि” भेट्‌दा अलि-अलि चासो देखाएका तर पछि परिवर्तन भएका अनगिन्ती उदाहरण तपाईंलाई थाह होला। सायद तिनीहरूलाई वा तिनीहरूको प्रियजनलाई केही भयो र त्यसले गर्दा सच्चाइप्रति तिनीहरूको मन-मस्तिष्क खुल्यो। अहिले तिनीहरू हाम्रै भाइबहिनी भएका छन्‌। त्यसैले हाम्रो सन्देश स्वीकार्ने मानिस हालसालै भेट्टाउनुभएको छैन भने पनि लत्तो नछोड्‌नुहोस्‌। सबैजना सच्चाइमा आएको हामी आशा गर्न सक्दैनौं। तर परमेश्‍वरले हामीबाट चाहने कुरा भनेको हामीले लगनशील र जोसिलो भई निरन्तर विस्तृत साक्षी दिइरहनु हो।

आशै नगरेको परिणाम प्राप्त हुन सक्छ

१३. हाम्रो साक्षीले हामीलाई थाह नभएको परिणाम ल्याउन सक्छ, कसरी?

१३ पावलको प्रचारकार्यको असर तिनले ख्रीष्टियान बन्‍न प्रत्यक्ष मदत गरेकाहरूमा मात्र सीमित रहेन; न त हाम्रो सन्दर्भमा नै यस्तो हुन्छ। हामीले घर-घरको प्रचारकार्यमा नियमित भाग लिएर सकेसम्म धेरैलाई साक्षी दिन्छौं। हामी छिमेकी, सहकर्मी, स्कूलका साथी र नातेदारहरूसित सुसमाचारबारे कुरा गर्छौं। के हामीलाई ती सबैको परिणाम थाह छ? कोही-कोही व्यक्‍तिमा तत्कालै राम्रो नतिजा देखिन सक्छ। अरूको सन्दर्भमा भने सत्यको बीउ सायद केही समयको लागि निष्क्रिय रहेको तर पछि भने कसैको हृदयको माटोमा जरा गाडेको र बढ्‌न थालेको हुन सक्छ। त्यसो भएन भने पनि हामीले सुनाएको कुरा, हाम्रो विश्‍वास र काम गर्ने तरिकाबारे अरूलाई बताएको हुन सक्छ। हो, तिनीहरूले सायद अनजानमै ती बीउहरूलाई अन्त कतै उपयुक्‍त माटो भेट्टाउन मदत गरिरहेका हुन सक्छन्‌।

१४, १५ एक जना भाइले दिएको साक्षीबाट कस्तो नतिजा प्राप्त भयो?

१४ एउटा उदाहरणको रूपमा अमेरिकाको फ्लोरिडामा बस्ने रायन र तिनकी पत्नी मान्डीलाई विचार गर्नुहोस्‌। रायनले आफ्नो काम गर्ने ठाउँमा एक जना सहकर्मीलाई अनौपचारिक साक्षी दिए। हिन्दू पृष्ठभूमिका ती व्यक्‍ति रायनको पहिरन र कुरा गर्ने शैलीबाट प्रभावित थिए। छलफलको क्रममा रायनले पुनरुत्थान र मरेकाहरूको अवस्थाबारे कुरा उठाए। जनवरी महिनाको एक साँझ ती व्यक्‍तिले आफ्नी श्रीमती जेडीलाई यहोवाका साक्षीहरूबारे के थाह छ भनी सोधे। तिनी क्याथोलिक धर्मकी थिइन्‌ र तिनले भनिन्‌ कि तिनलाई साक्षीहरूबारे थाह भएको एउटै मात्र कुरा हो, तिनीहरूले गर्ने “घर-घरको प्रचारकार्य।” त्यसैले जेडीले इन्टरनेटमा “यहोवाका साक्षीहरू” भनेर टाइप गरिन्‌ र त्यसले तिनलाई हाम्रो वेबसाइटमा (www.watchtower.org) पुऱ्‍यायो। केही महिनासम्म जेडीले उक्‍त वेबसाइटमा भएको बाइबललगायत आफूलाई चासो लागेका लेखहरू पढिन्‌।

१५ तिनीहरू दुवै नर्स भएकोले समयको अन्तरालमा तिनीहरूको भेट भयो। जेडीका प्रश्‍नहरूको जवाफ दिन पाउँदा मान्डी खुसी भइन्‌। केही समयपछि उनीहरू बीच विस्तृत छलफल भयो जसलाई जेडीले “आदमदेखि आरमागेडोनसम्मको” छलफल भन्‍ने गर्थिन्‌। जेडीले गृह बाइबल अध्ययनको प्रस्ताव स्वीकारिन्‌। चाँडै तिनी राज्यभवन जान थालिन्‌। अक्टोबरमा जेडी बप्तिस्मा अप्राप्त प्रकाशक भइन्‌ र फेब्रुअरीमा बप्तिस्मा लिइन्‌। तिनी लेख्छिन्‌: “मलाई अहिले सच्चाइ थाह भएकोले मेरो जीवन निकै आनन्दित र सन्तुष्ट छ।”

१६. फ्लोरिडामा बस्ने भाइको अनुभवले हामीलाई विस्तृत साक्षी दिने हाम्रो प्रयत्नबारे के बताउँछ?

१६ एक जना मान्छेलाई साक्षी दिंदा अरू कसैले सच्चाइ पाउँछ भन्‍ने कुरा रायनले सोचेकै थिएन। हो, तिनको सन्दर्भमा भन्‍ने हो भने तिनले ‘विस्तृत साक्षी दिन’ कटिबद्ध हुँदाको नतिजा थाह पाए। तपाईंले चाहिं घरघरमा, काम गर्ने ठाउँमा, स्कूलमा अथवा अनौपचारिक रूपमा थाहै नपाई साक्षी दिनुभएको हुन सक्छ र यही नै अरूलाई सच्चाइ फैलाउने बाटो बन्छ। जसरी पावललाई तिनले “एशिया”-मा दिएको साक्षीले के-कस्तो परिणाम ल्यायो सबै थाह थिएन त्यसरी नै तपाईंलाई पनि आफूले दिएको विस्तृत साक्षीको असल नतिजा थाह नहुन सक्छ। (प्रेरित २३:११; २८:२३ पढ्‌नुहोस्‌) तर विस्तृत साक्षी दिइरहनु कत्ति महत्त्वपूर्ण छ!

१७. सन्‌ २००९ भरि तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

१७ सन्‌ २००९ भरि घर-घरको प्रचार अनि अन्य तरिकाबाट साक्षी दिने आज्ञालाई हामी सबैले गम्भीरता साथ लेऔं। यसो गर्दा हामीले पनि पावलले जस्तै यसो भन्‍न सक्छौं: ‘म आफ्नो जिन्दगीलाई कुनै मूल्यको वा प्रिय सम्झदिनँ। परमेश्‍वरको अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिनलाई, म मेरो दौड र प्रभु येशूबाट मिलेको सेवा मात्र पूरा गर्न माग्छु।’ (w08 12/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• प्रथम शताब्दीका प्रेरितहरू पत्रुस र पावल अनि अरूले कसरी विस्तृत साक्षी दिए?

• हामीले दिने साक्षीले सोचेको भन्दा धेरै असर पार्न सक्छ, किन?

• सन्‌ २००९ को वार्षिक पद के हो र तपाईंलाई यो किन उपयुक्‍त लाग्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको ठूलो अक्षरको क्याप्सन]

सन्‌ २००९ को वार्षिक पद हो: ‘सुसमाचारको विस्तृत साक्षी दिनुहोस्‌।’—प्रेरित २०:२४, NW.