सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘आऊ, मेरो पछि लाग’

‘आऊ, मेरो पछि लाग’

‘आऊ, मेरो पछि लाग’

“कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्‌, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्‌।”— लूका ९:२३.

१, २. (क) येशूले कस्तो दयालु निम्तो दिनुभयो? (ख) येशूको निम्तोप्रति तपाईंले कस्तो प्रतिक्रिया देखाउनुभएको छ?

 आफ्नो सेवकाईको अन्ततिर येशू यहूदाको उत्तर-पूर्वमा पर्ने यर्दनपारिको प्रदेश पेरियामा साक्षी दिंदै हुनुहुन्थ्यो। एक नौजवान अनन्त जीवन पाउन के गर्नुपर्छ भनी सोध्न उहाँकहाँ आए। ती जवान व्यक्‍तिले विश्‍वासी भई मोशाको व्यवस्था पालन गरिरहेको कुरा थाह पाएपछि येशूले तिनलाई विशेष निमन्त्रणा दिनुभयो। उहाँले भन्‍नुभयो: “जाऊ, र तिम्रो जे जत्ति छन्‌ बिक्री गर, र गरीबहरूलाई देऊ, अनि तिमीले स्वर्गमा सम्पत्ति पाउनेछौ, र आएर मेरो पछि लाग।” (मर्कू. १०:२१) विचार गर्नुहोस्‌ त, ती जवान व्यक्‍तिले कुनै साधारण निम्तो होइन, सर्वोच्च परमेश्‍वरका एक मात्र पुत्र येशूको पछि लाग्ने निम्तो पाएका थिए!

ती जवान व्यक्‍तिले त्यो निमन्त्रणा स्वीकारेनन्‌ तर अरूले भने स्वीकारे। यसअघि येशूले फिलिपलाई यसो भन्‍नुभएको थियो: “मेरो पछि लाग।” (यूह. १:४३) फिलिपले निम्तो स्वीकारे र पछि प्रेरित बने। येशूले यो निम्तो मत्तीलाई पनि दिनुभयो र तिनले पनि स्वीकारे। (मत्ती ९:९; १०:२-४) वास्तवमा, येशूले यो निम्तो धार्मिकताका सबै प्रेमीलाई यसो भन्दै दिनुभयो: “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्‌, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्‌।” (लूका ९:२३) तसर्थ, जसले इच्छा गर्छ ऊ येशूको पछि लाग्न सक्छ। के तपाईंसित येशूको पछि लाग्ने इच्छा छ? हामीमध्ये धेरैजसोसित छ। त्यसैले त हामीले येशूको दयालु निम्तो स्वीकाऱ्‍यौं। अनि प्रचारमा जाँदा त्यो निम्तो हामी अरूलाई पनि दिन्छौं।

३. येशूको पछि लाग्नबाट तर्केर जानदेखि हामी कसरी अलग रहन सक्छौं?

तर दुःखको कुरा, केही व्यक्‍तिहरूले बाइबलले सिकाउने सत्य कुराहरूमा चासो देखाए तापनि त्यसलाई निरन्तरता दिंदैनन्‌। बरु, येशूको पछि लाग्नदेखि तिनीहरू सेलाउँछन्‌ र अन्ततः ‘तर्केर जान्छन्‌।’ (हिब्रू २:१) यस्तो पासोमा पर्नदेखि हामी कसरी जोगिन सक्छौं? आफैलाई यस्तो प्रश्‍न सोध्नु मदतकारी हुन्छ: ‘हामीले येशूको पछि लाग्ने छनौट गर्नुको खास कारण के थियो? उहाँको पछि लाग्नुको मतलब के हो?’ यी दुई प्रश्‍नको जवाफलाई मनमा राख्दा आफूले छानेको असल बाटोमा हिंडिरहने हाम्रो संकल्प बलियो हुनेछ। साथै अरूलाई येशूको पछि लाग्न प्रोत्साहन दिने सन्दर्भमा पनि हामीलाई मदत गर्नेछ।

येशूको पछि किन लाग्ने?

४, ५. येशू नेतृत्व लिन किन योग्य हुनुहुन्छ?

अगमवक्‍ता यर्मियाले यसो भने: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मि. १०:२३) इतिहासले यर्मियाका यी शब्दहरूलाई प्रमाणित गरिसकेको छ। असिद्ध मानिससित शासन चलाउने क्षमता छैन भनेर झन्‌-झनै प्रस्ट भइसकेको छ। येशूको पछि लाग्ने निमन्त्रणा स्वीकाऱ्‍यौं किनभने हामीले सिक्यौं कि उहाँ हाम्रो नेता बन्‍न योग्य हुनुहुन्छ र उहाँ जत्तिको योग्य अरू कोही मानिस छैन। उहाँका केही योग्यताहरू विचार गर्नुहोस्‌।

पहिलो, येशू यहोवा आफैले अभिषेक अनि नियुक्‍त गर्नुभएको नेता हुनुहुन्छ। हाम्रो लागि कस्तो नेता चाहिन्छ त्यो हाम्रा सृष्टिकर्तालाई बाहेक अरू कसलाई राम्ररी थाह होला र? दोस्रो, हामीले अनुकरण गर्न सक्ने प्रशंसनीय गुणहरू येशूसित छन्‌। (यशैया ११:२, ३ पढ्‌नुहोस्‌) उहाँ सिद्ध उदाहरण हुनुहुन्छ। (१ पत्रु. २:२१) तेस्रो, येशू आफ्ना अनुयायीहरूको असाध्यै ख्याल गर्नुहुन्छ। यो, तिनीहरूका लागि उहाँले आफ्नो प्राण दिनुभएको कुराबाट देखियो। (यूहन्‍ना १०:१४, १५ पढ्‌नुहोस्‌) अहिले सुखमय जीवन अनि भविष्यमा चाहिं महिमित अनन्त जीवन दिने प्रतिज्ञा गरेर येशूले आफूलाई मायालु गोठालो प्रमाणित गर्नुभएको छ। (यूह. १०:१०, ११; प्रका. ७:१६, १७) यी र अन्य कारणहरूले गर्दा येशूको पछि लाग्ने बुद्धिमानी निर्णय गऱ्‍यौं। तर येशूको पछि लाग्नुमा के-के समावेश छन्‌?

६. येशूको पछि लाग्नुमा के समावेश छ?

ख्रीष्टको अनुयायी बन्‍नुमा आफूलाई ख्रीष्टियान भन्‍नु मात्र पर्याप्त छैन। ख्रीष्टियान हुँ भनी दाबी गर्ने अहिले दुई अरब भन्दा धेरै मानिस छन्‌ तर तिनीहरूको कामबाट तिनीहरू “अधम काम” गर्ने हुन्‌ भन्‍ने देखिन्छ। (मत्ती ७:२१-२३, पढ्‌नुहोस्‌) येशूको निम्तो स्वीकार्न इच्छुक व्यक्‍तिहरूलाई हामी यो कुरा बताउँछौं कि साँचो ख्रीष्टियान हुनु भनेको येशूको शिक्षा अनि उदाहरणअनुरूप जीवन बिताउनु हो र तिनीहरू हरेक दिन त्यसै गर्छन्‌ पनि। यसो भन्‍नुको मतलब बुझ्न, हामीलाई थाह भएको येशूका केही कुरा विचार गरौं।

येशूले देखाएको बुद्धिको अनुकरण गर्नुहोस्‌

७, ८. (क) बुद्धि के हो र येशूले यो प्रशस्त पाउनुको कारण के थियो? (ख) येशूले बुद्धि कसरी देखाउनुभयो र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं?

येशूले थुप्रै उत्कृष्ट गुणहरू देखाउनुभयो। तर हामी चार वटाको मात्रै चर्चा गर्नेछौं: उहाँको बुद्धि, नम्रता, जोस र प्रेम। पहिला उहाँको बुद्धिलाई अर्थात्‌ ज्ञान र समझ व्यवहारमा लागू गर्न सक्ने उहाँको क्षमतालाई विचार गर्नुहोस्‌। प्रेरित पावलले लेखे: “[येशूमा] ज्ञान र बुद्धिका सारा रत्नहरू छिपेका छन्‌।” (कल. २:३) येशूले त्यस्तो बुद्धि कहाँबाट पाउनुभयो? उहाँ आफैले यसो भन्‍नुभयो: “जसो पिताले मलाई सिकाउनुभयो तिनै कुरा बोल्दछु।” (यूह. ८:२८) येशूको बुद्धिको स्रोत यहोवा हुनुहुन्थ्यो। त्यसैले उहाँले गरेका सबै काम तर्कसंगत अनि व्यावहारिक भएकोमा हामी छक्क पर्दैनौं।

उदाहरणको लागि, येशूले सोचविचार पुऱ्‍याएर आफ्नो जीवनको लक्ष्य निर्धारण गर्नुभयो। उहाँले सरल जीवन रोज्नुभयो र परमेश्‍वरको इच्छा पूरा गर्ने एक मात्र लक्ष्यमा ध्यान दिनुभयो। उहाँले आफ्नो समय अनि शक्‍ति परमेश्‍वरको राज्यको प्रचारमा लगाउनुभयो। आफ्नो ‘आँखा निर्मल’ राख्ने कोसिस गरेर हामी येशूको अनुकरण गर्छौं। यसो गर्दा धेरै समय अनि शक्‍ति खाने अनावश्‍यक कुराहरूको बोझ हामी बोक्दैनौं। (मत्ती ६:२२) प्रचारकार्यमा अझ धेरै समय बिताउन थुप्रै ख्रीष्टियानहरूले जीवनशैलीलाई सरल बनाउन कदम चालेका छन्‌। कसै-कसैले त अग्रगामी सेवा सुरु गर्न सकेका छन्‌। यदि तपाईं पनि तिनीहरूमध्ये हुनुहुन्छ भने यो एकदमै प्रशंसनीय कुरा हो। ‘पहिले उहाँको राज्य खोजी गर्दा’ साँचो आनन्द र सन्तुष्टि पाइन्छ।—मत्ती ६:३३.

येशू जस्तै नम्र हुनुहोस्‌

९, १०. येशूले कसरी नम्रता देखाउनुभयो?

हामीले चर्चा गर्ने येशूको व्यक्‍तित्वको दोस्रो पक्ष, उहाँको नम्रता हो। अख्तियार पाउने बित्तिकै असिद्ध मानिसहरू घमन्डले फुल्न थाल्छन्‌। तर येशू भने कत्ति फरक! यहोवाको उद्देश्‍य पूरा गर्नुमा उहाँको भूमिका सबैभन्दा महत्त्वपूर्ण भए तापनि येशूलाई अहंकार अनि घमन्डले छुनसमेत छोएन। अनि हामीलाई यस्तो नम्र स्वभाव अनुकरण गर्न प्रोत्साहन दिइएको छ। प्रेरित पावलले लेखे: “तिमीहरूमा यो मन होस्‌, जो ख्रीष्टमा पनि थियो। उहाँले परमेश्‍वरका स्वरूपमा भएर परमेश्‍वरसितै बराबरको हुनलाई, जोगाइराख्ने धन जस्तो सम्झनु भएन, तर आफूलाई रित्याइकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो।” (फिलि. २:५-७) त्यसमा के समावेश थियो?

१० येशूले स्वर्गमा पितासितै रहने महिमित सुअवसर पाउनुभएको थियो तर उहाँले आफूलाई स्वेच्छाले ‘रित्याउनुभयो।’ यहोवाले येशूको जीवन यहूदी कुमारीको गर्भमा सार्नुभयो। त्यसको नौ महिनापछि गरिब सिकर्मीको घरमा येशू निस्सहाय बालकको रूपमा जन्मिनुभयो। यूसुफको घरमा उहाँले शैशवकाल, बाल्यकाल अनि किशोरावस्था—सबै अनुभव गर्नुभयो। उहाँ पापरहित हुनुहुन्थ्यो। तैपनि युवावस्थाभरि पापी बुबा-आमाको अधीनमा बस्नुभयो। (लूका २:५१, ५२) कस्तो नम्रता!

११. हामी कुन तरिकामा येशूको नम्रता अनुकरण गर्न सक्छौं?

११ तुच्छ वा नगन्य देखिने जिम्मेवारीहरू स्वेच्छाले स्वीकारेर हामी येशूको नम्रता अनुकरण गर्न सक्छौं। उदाहरणको लागि, सुसमाचार प्रचार गर्ने जिम्मेवारीलाई नै लिऊँ। विशेषगरि मानिसहरूले हाम्रो सन्देश सुन्‍ने इच्छा नदेखाउँदा, खिसी गर्दा वा दुर्व्यवहार गर्दा प्रचारभन्दा तुच्छ काम अरू छँदैछैन जस्तो लाग्न सक्छ। तर यही प्रचारकार्यमा डटेर लागिरह्‍यौं भने मानिसहरूले येशूको निमन्त्रणा स्वीकारेर उहाँको पछि लाग्ने मौका पाउँछन्‌। यसरी मानिसहरूको जीवन हामी बचाइरहेका हुन्छौं। (२ तिमोथी ४:१-५ पढ्‌नुहोस्‌) अर्को उदाहरण हो, हाम्रो राज्यभवनको मर्मतसम्भार। यसमा फोहोर उठाउने, भुईं पुछ्‌ने र शौचालय सफा गर्ने जस्ता तुच्छ देखिने कामहरू पर्न सक्छन्‌। तैपनि, हाम्रो उपासनाको केन्द्र राज्यभवनलाई राम्रो अवस्थामा राख्नु पवित्र सेवा हो भन्‍ने कुरा हामीलाई थाह छ। यसरी तुच्छ देखिने कामहरू स्वेच्छाले गरेर हामी नम्रता देखाउँछौं अनि त्यस्तो नम्रता देखाएर ख्रीष्टको पाइलामा हिंड्‌छौं।

येशू जस्तै जोसिलो हुनुहोस्‌

१२, १३. (क) येशूले कसरी जोस देखाउनुभयो र यसो गर्न उहाँलाई केले उत्प्रेरित गऱ्‍यो? (ख) सेवकाईमा जोसिलो हुन हामीलाई केले उत्प्रेरित गर्छ?

१२ येशूले प्रचारकार्यमा देखाएको जोसलाई विचार गर्नुहोस्‌। पृथ्वीमा हुँदा येशूले थुप्रै काम गर्नुभयो। बप्तिस्मा लिनुअघि आफ्नो युवावस्थामा उहाँले धर्मपिता यूसुफसँगै सिकर्मी काम गरेको हुनुपर्छ। गाउँ-गाउँ अनि सहरहुँदो प्रचार गर्दा उहाँले थुप्रै चमत्कार गर्नुभयो। बिरामीलाई निको पार्नुभयो, मरेकालाई बिउँताउनुभयो। तर उहाँको मुख्य काम इच्छुकहरूलाई राज्यको सुसमाचार प्रचार गर्नु र सिकाउनु थियो। (मत्ती ४:२३) उहाँको अनुयायी भएकोले हाम्रो मुख्य काम पनि त्यही हो। हामी उहाँको अनुकरण कसरी गर्न सक्छौं? एउटा तरिका, येशूको जस्तै मनोवृत्ति खेती गरेर।

१३ उहाँले प्रचार गर्नु र सिकाउनुको सबैभन्दा ठूलो कारण हो—परमेश्‍वरप्रतिको प्रेम। साथै आफूले सिकेको सत्य कुरा उहाँलाई मन पनि पर्थ्यो। आफूले जानेबुझेको सत्य कुरा मूल्यवान्‌ सम्पत्ति ठान्‍नुहुन्थ्यो र यो अरूलाई बताउन उहाँ उत्सुक हुनुहुन्थ्यो। शिक्षक भएकोले हामी पनि त्यस्तै महसुस गर्छौं। हामीले परमेश्‍वरको वचनबाट सिकेका केही अमूल्य सत्य कुराहरूलाई विचार गर्नुहोस्‌! सार्वभौमसत्ताको विवाद अनि त्यसको समाधान हामीलाई थाह छ। मरिसकेका मानिसहरू कहाँ छन्‌, परमेश्‍वरको नयाँ संसारमा कस्ता आशिष्‌ पाइन्छन्‌—यसबारे बाइबलले दिने जवाफ हामीलाई राम्ररी थाह छ। यी कुराहरू भर्खरै या वर्षौंअघि सिकेका हौंला तर के त्यसको महत्त्व कम भएर गयो र? हामीले सिकेका यस्ता सत्य कुराहरू अझै मूल्यवान्‌ छन्‌। (मत्ती १३:५२ पढ्‌नुहोस्‌) हृदयदेखि नै जोसिलो भई प्रचार गरेर यहोवाले सिकाएको प्रेम हामी अरूलाई देखाउँछौं।

१४. येशूको सिकाउने तरिका हामी कसरी अनुकरण गर्न सक्छौं?

१४ येशूले कसरी सिकाउनुभयो त्यसलाई पनि विचार गर्नुहोस्‌। उहाँले सधैं आफ्ना स्रोताहरूको ध्यान धर्मशास्त्रतर्फ खिच्नुहुन्थ्यो। उहाँले महत्त्वपूर्ण कुरा बताउँदा अक्सर सुरुमै “यस्तो लेखिएको छ” भन्‍नुहुन्थ्यो। (मत्ती ४:४; २१:१३) उहाँका लिपिबद्ध शब्दहरूमा हिब्रू धर्मशास्त्रका आधाभन्दा धेरै किताबहरूबाट उहाँले प्रत्यक्ष अनि अप्रत्यक्ष उद्धरण गर्नुभयो। सेवकाईमा हामी पनि येशूले जस्तै सधैं परमेश्‍वरको वचनबाटै सिकाउँछौं र सम्भव भएसम्म बाइबल खोलेरै कुरा गर्ने कोसिस गर्छौं। त्यसरी हामी आफ्नै होइन, तर परमेश्‍वरको शिक्षा सिकाउने मानिसहरू हौं भनी सोझा मानिसहरूले चिन्छन्‌। बाइबल पढ्‌न अनि त्यसको महत्त्व र अर्थ बुझ्न चाहने मानिस भेट्‌दा हामी कत्ति खुसी हुन्छौं! अनि समयको दौडान तिनीहरूले येशूको पछि लाग्ने निमन्त्रणा स्वीकार्दा हाम्रो खुसीको सीमा नै रहँदैन।

येशूको पछि लाग्नुको मतलब अरूलाई प्रेम गर्नु

१५. येशूको एउटा उल्लेखनीय गुण के हो र यो झल्काउँदा हामीमा कस्तो असर पर्छ?

१५ हामीले छलफल गर्ने येशूको व्यक्‍तित्वको अन्तिम पक्ष सबैभन्दा हृदयस्पर्शी छ। त्यो हो, सँगी मानवप्रति उहाँको प्रेम। उहाँको यस पक्षबारे प्रेरित पावलले यस्तो लेखे: “ख्रीष्टको प्रेमले हामीलाई करमा पार्दछ।” (२ कोरि. ५:१४) येशूले सबै मानवजाति अनि हामी प्रत्येकलाई गर्ने प्रेमलाई विचार गर्दा हाम्रो हृदय न्यानो हुन्छ र उहाँको अनुकरण गर्न करमा पर्दछौं।

१६, १७. येशूले कुन तरिकामा अरूलाई प्रेम देखाउनुभयो?

१६ येशूले कसरी अरूप्रति प्रेम देखाउनुभयो? मानवजातिको निम्ति आफ्नो प्राण दिनु उहाँको प्रेमको सबैभन्दा ठूलो प्रमाण हो। (यूह. १५:१३) तर आफ्नो सेवकाईको दौडान येशूले अरू तरिकामा पनि प्रेम देखाउनुभयो। उदाहरणको लागि, दुःख भोगिरहेकाहरू देखेर उहाँ दयाले भरिनुहुन्थ्यो। भाइ लाजरस मरेकोले मरियम र तिनीसँगै भएका अरू रोइरहेको देख्दा उहाँ असाध्यै विचलित हुनुभयो। लाजरसको पुनरुत्थान गर्न भनेर नै आएको भए तापनि येशू यत्ति दुःखी हुनुभयो कि उहाँ “रुनुभयो।”—यूह. ११:३२-३५.

१७ येशूको सेवकाईको सुरुतिर एक जना कोरी उहाँको नजिक आयो र भन्यो: “तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्नसक्नुहुन्छ।” येशूले कस्तो प्रतिक्रिया देखाउनुभयो? उहाँ ‘टिठाउनुभयो’ भनी विवरण बताउँछ। त्यसपछि येशूले पत्याउनै नसकिने एउटा कुरा गर्नुभयो। उहाँले “आफ्नो हात बढाई त्यसलाई छुनुभयो, र त्यसलाई भन्‍नुभयो, ‘म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।’ अनि झट्टै त्यसको कोर त्यसबाट हट्यो, र त्यो शुद्ध भइहाल्यो।’ ” मोशाको व्यवस्थाअनुसार कोरीहरू अशुद्ध थिए अनि निश्‍चय पनि त्यो बिरामीलाई नछोईकनै येशूले निको पार्न सक्नुहुन्थ्यो। तर येशूले तिनलाई अर्को मानिसले छुँदा कस्तो हुन्छ त्यो महसुस गराउनुभयो, सायद वर्षौंपछिको यो पहिलो महसुस थियो। कस्तो गहिरो समानुभूति!—मर्कू. १:४०-४२.

१८. हामी कसरी “सहानुभूति” देखाउन सक्छौं?

१८ ख्रीष्टको अनुयायी भएकोले हामीलाई “सहानुभूति देखाउने” होओ भनेर आज्ञा दिइएको छ। (१ पत्रु. ३:८) हाम्रा ख्रीष्टियान भाइबहिनीलाई दीर्घकालीन रोग लाग्दा वा एक प्रकारको मानसिक रोग अर्थात्‌ डिप्रेसनले ग्रस्त पार्दा, हामी आफैलाई कहिल्यै त्यस्तो रोग लागेको छैन भने, तिनीहरूलाई कस्तो भइरहेको होला बुझ्न गाह्रो हुन सक्छ। तर आफू कहिल्यै बिरामी नपरेको भए तापनि येशूले अरूको पीडा बुझ्नुभयो। हामी कसरी येशूजस्तै समानुभूतिशील हुन सक्छौं? पीडित भाइबहिनीले दुःख पोखाउँदा धैर्य भई सुनेर। हामी आफूलाई यस्तो प्रश्‍न गर्न सक्छौं, ‘उहाँको ठाउँमा भएको भए, म के गर्थें होला?’ अरूको पीडा बुझ्ने कोसिस गऱ्‍यौं भने ‘हरेस खानेलाई दिलाशा दिन’ सजिलो हुनेछ। (१ थिस्स. ५:१४) यसरी हामी येशूको पदचिह्नमा हिंडिरहेका हुनेछौं।

१९. हामी कुन तरिकामा येशूको उदाहरणबाट प्रभावित हुन्छौं?

१९ येशूका वचन अनि कामलाई यसरी केलाउँदै अध्ययन गर्नु साँच्चै कत्ति रोचक! उहाँबारे जति धेरै हामी सिक्छौं, त्यति नै उहाँजस्तै हुन चाहन्छौं। अनि अरूलाई येशूको अनुकरण गर्न मदत दिने इच्छा पनि हामीमा बढ्‌छ। त्यसैले आउनुहोस्‌, अहिले अनि सधैंभरि हाम्रा मसीही राजा येशू ख्रीष्टको पछि लागौं! (w 09 1/15)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• येशूले जस्तै हामी कसरी बुद्धि देखाउन सक्छौं?

• हामी कुन तरिकामा नम्रता देखाउन सक्छौं?

• सेवकाईमा हामी कसरी जोसिलो हुन सक्छौं?

• अरूलाई प्रेम देखाउने सन्दर्भमा हामी कसरी येशूको अनुकरण गर्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको पेटी/चित्र]

ख्रीष्टको अनुकरण गर्न मदत दिने एउटा प्रकाशन

सन्‌ २००७ को जिल्ला अधिवेशनमा “आऊ, मेरो पछि लाग” (कम बि माइ फलोअर)” नामक १९२ पृष्ठको अंग्रेजी पुस्तक विमोचन भयो। यो प्रकाशनको उद्देश्‍य येशू अनि विशेषगरि उहाँका गुण तथा कामहरूमा ध्यान दिन ख्रीष्टियानहरूलाई मदत गर्नु हो। सुरुको परिचयात्मक दुई अध्यायपछिको पहिलो खण्डले येशूका उल्लेखनीय गुणहरू नम्रता, साहस, बुद्धि, आज्ञाकारिता र सहनशीलताबारे सरसरती छलफल गर्छ।

यसपछिका खण्डहरूले शिक्षक र सुसमाचार प्रचारकको रूपमा येशूको गतिविधि अनि उहाँको महान्‌ प्रेम झल्किएको केही तरिकाबारे बताउँछ। यो पुस्तकभरि ख्रीष्टियानहरूलाई येशूको अनुकरण गर्न मदत गर्ने हेतुले जानकारी दिइएको छ।

हामीलाई पक्का विश्‍वास छ कि यो प्रकाशनले आत्म-परीक्षण गर्न र यस्तो प्रश्‍न सोध्न उत्प्रेरित गर्नेछ: ‘के म साँच्चै येशूको पछि लाग्दैछु? म कसरी अझ राम्ररी उहाँको पछि लाग्न सक्छु?’ यसले “अनन्त जीवनका लागि नियुक्‍त भएकाहरू जत्ति”-लाई ख्रीष्टका अनुयायी बन्‍न पनि मदत गर्नेछ।—प्रेरि. १३:४८.