सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं ‘परमेश्‍वरको अनुग्रहको भण्डारे’ हुनुहुन्छ?

के तपाईं ‘परमेश्‍वरको अनुग्रहको भण्डारे’ हुनुहुन्छ?

के तपाईं ‘परमेश्‍वरको अनुग्रहको भण्डारे’ हुनुहुन्छ?

“भातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ, मानमा एउटाले अर्काको बढ्‌ता कदर गर।”—रोमी १२:१०.

१. परमेश्‍वरको वचनमा हामी कस्ता आश्‍वासनहरू पाउँछौं?

 परमेश्‍वरको वचनले बारम्बार आश्‍वासन दिन्छ कि निरुत्साहित हुँदा वा मन भाँचिदा यहोवा हामीलाई सहायता दिनुहुन्छ। उदाहरणको लागि, यी सान्त्वनादायी शब्दहरूलाई याद गर्नुहोस्‌: “पतन भएकाहरू सबैलाई परमप्रभुले सँभाल्नुहुन्छ, निहुरेकाहरू सबैलाई उठाउनुहुन्छ।” “उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूको मनको चोटमा पट्टि बाँधिदिनुहुन्छ।” (भज. १४५:१४; १४७:३) त्यसबाहेक, स्वर्गमा बस्नुहुने पिता स्वयम्‌ यसो भन्‍नुहुन्छ: “म, परमप्रभु तेरा परमेश्‍वरले तँलाई यसो भनेर तेरो दाहिने हात समात्नेछु, ‘नडरा, म तँलाई सहायता गर्नेछु।’ ”—यशै. ४१:१३.

२. यहोवा आफ्ना सेवकहरूलाई कसरी सहयोग गर्नुहुन्छ?

तर अदृश्‍य स्वर्गमा बस्नुहुने यहोवाले कसरी ‘हाम्रो हात समात्नुहुन्छ?’ मन भाँचेर हामी ‘निहुरिंदा उहाँले कसरी उठाउनुहुन्छ?’ यस्तो सहयोग उहाँ विभिन्‍न तरिकामा दिनुहुन्छ। जस्तै, उहाँ आफ्ना जनलाई पवित्र आत्मा मार्फत “सर्वश्रेष्ठ शक्‍ति” दिनुहुन्छ। (२ कोरि. ४:७, NRV; यूह. १४:१६, १७) परमेश्‍वरको प्रेरित वचन बाइबलमा पाइने सन्देशबाट पनि प्रेरणादायी शक्‍ति मिलेको उहाँका जनहरू महसुस गर्छन्‌। (हिब्रू ४:१२) यहोवाले हामीलाई सुदृढ पार्ने के अर्को तरिका पनि छ? यसको जवाफ पहिलो पत्रुसको किताबमा पाउँछौं।

“परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका”

३. (क) परीक्षाबारे प्रेरित पत्रुसले के बताएका छन्‌? (ख) पहिलो पत्रुसको अन्त-अन्ततिर केबारे चर्चा गरिएको छ?

प्रचुर इनाम पाउन लागेकोले आनन्दित हुने असल कारण छ भनी आत्मा अभिषिक्‍त विश्‍वासीहरूलाई सम्बोधन गर्दै प्रेरित पत्रुस लेख्छन्‌। त्यसपछि तिनी भन्छन्‌: “तिमीहरू अहिले दरकार परिगएमा, अलि बेरको निम्ति नाना किसिमको परीक्षाको तकलीफमा पर्छौ।” (१ पत्रु. १:१-६) यहाँ “नाना किसिमको” भन्‍ने अभिव्यक्‍तिलाई याद गर्नुहोस्‌। यसबाट बुझिन्छ, परीक्षा विभिन्‍न प्रकारको हुन्छ। तथापि, पत्रुस आफ्ना भाइहरूलाई ‘त्यस्ता नाना किसिमका परीक्षा सहन सकिने हो कि होइन’ भन्‍ने दुबिधामा पारेर आफ्नो भनाइ त्यतिमै टुंग्याउँदैनन्‌। बरु, तिनी औंल्याउँछन्‌ कि जस्तोसुकै किसिमको परीक्षा आए तापनि प्रत्येक चोटि परीक्षाको सामना गर्न यहोवाले मदत दिनुहुनेछ भन्‍ने कुरामा ख्रीष्टियानहरू निश्‍चित हुन सक्छन्‌। त्यस्तो आश्‍वासन पत्रुसको पत्रको अन्त-अन्ततिर दिइएको छ जहाँ पत्रुसले “सबै कुराको अन्त”-सित सम्बन्धित विषयमा चर्चा गरेका छन्‌।—१ पत्रु. ४:७.

४. पहिलो पत्रुस ४:१० का शब्दहरू किन हाम्रा लागि सान्त्वनादायी छन्‌?

पत्रुस भन्छन्‌: “जसले जस्तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्डारेझैं ती एउटा अर्काको निम्ति [सेवामा] प्रयोग गर।” (१ पत्रु. ४:१०, NRV) पत्रुस फेरि यहाँ “विभिन्‍न” भन्‍ने अभिव्यक्‍ति चलाउँछन्‌। वास्तवमा तिनले यसो भनिरहेका हुन्‌: ‘परीक्षाहरू विभिन्‍न रूपमा आउँछन्‌ तर परमेश्‍वरको अनुग्रह पनि विभिन्‍न रूपमै व्यक्‍त हुन्छन्‌!’ यो भनाइ किन सान्त्वनादायी छ? किनभने यसले परीक्षा जुनसुकै प्रकारको भए तापनि त्यो सहन परमेश्‍वरको अनुग्रहले हामीलाई मदत गर्छ भन्‍ने कुरा संकेत गर्छ। परमेश्‍वरको अनुग्रह हामीमा कसरी व्यक्‍त हुन्छ, के पत्रुसको भनाइमा याद गर्नुभयो? हो, सँगी ख्रीष्टियानहरू मार्फत।

“एउटा अर्काको निम्ति [सेवामा]”

५. (क) हरेक ख्रीष्टियानले के गर्नुपर्छ? (ख) कस्ता प्रश्‍नहरू उठ्‌छन्‌?

ख्रीष्टियान मण्डलीका सम्पूर्ण सदस्यलाई पत्रुस यसो भन्छन्‌: “सबैभन्दा बढी एउटा अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्‌।” तिनी थप्छन्‌: “जसले जस्तो वरदान पाएको छ, परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान पाएका भण्डारेझैं ती एउटा अर्काको निम्ति [सेवामा] प्रयोग गर।” (१ पत्रु. ४:८, १०, NRV ) त्यसैले, मण्डलीका हरेकले सँगी ख्रीष्टियानलाई बलियो हुन सहयोग गर्नुपर्छ। हामीलाई यहोवाको मूल्यवान्‌ सम्पत्तिको रेखदेख गर्ने जिम्मा दिइएको छ र त्यसलाई अरूसित बाँड्‌ने जिम्मेवारी हाम्रो हो। ती मूल्यवान्‌ चीज के हुन्‌? पत्रुस त्यसलाई “वरदान” भन्छन्‌। अनि यो वरदान के हो? हामी कसरी त्यसलाई “एउटा अर्काको निम्ति [सेवामा] प्रयोग” गर्छौं?

६. ख्रीष्टियानहरूलाई सुम्पिएका केही वरदान के-के हुन्‌?

परमेश्‍वरको वचन बताउँछ: “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो।” (याकू. १:१७) यहोवाले आफ्ना जनलाई सुम्पने सबै वरदान वास्तवमा उहाँको अनुग्रहको अभिव्यक्‍ति हो। उहाँले हामीलाई दिने एउटा विशिष्ट वरदान हो—पवित्र आत्मा। यस वरदानले हामीलाई प्रेम, भलाइ र नम्रता जस्ता ईश्‍वरीय गुणहरू खेती गर्न सक्षम बनाउँछ। अनि यस्ता गुणहरूले हामीलाई सँगी विश्‍वासीप्रति मनदेखि नै स्नेह देखाउन र तिनीहरूलाई राजीखुसीले सहयोग गर्न उत्प्रेरित गर्छ। पवित्र आत्माको मदतले प्राप्त गर्न सकिने उत्तम वरदानमध्ये बुद्धि र ज्ञान पनि हुन्‌। (१ कोरि. २:१०-१६; गला. ५:२२, २३) भन्‍ने हो भने, हाम्रो सबै शक्‍ति, योग्यता र सीपलाई स्वर्गमा हुनुहुने पिताको प्रशंसा र आदर गर्न चलाउनुपर्ने वरदानको रूपमा हेर्न सकिन्छ। हामीले आफ्ना योग्यता र गुणहरूलाई सँगी विश्‍वासीप्रति परमेश्‍वरको अनुग्रह व्यक्‍त हुने माध्यम बनाउनुपर्छ। यो परमेश्‍वरले हामीलाई दिएको जिम्मेवारी हो।

“ती एउटा अर्काको निम्ति [सेवामा] प्रयोग गर”—कसरी?

७. (क) “जसले जस्तो” भन्‍ने अभिव्यक्‍तिले केलाई संकेत गर्छ? (ख) आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ र किन?

हामीले पाएका वरदानहरूबारे पत्रुस यसो पनि भन्छन्‌: “जसले जस्तो वरदान पाएको छ, . . . प्रयोग गर।” यहाँ “जसले जस्तो” भन्‍ने अभिव्यक्‍ति विशेषणको रूपमा चलाइएको छ। यस अभिव्यक्‍तिले के संकेत गर्छ भने, गुण र योग्यता प्रकारमा मात्र होइन तर आकारमा पनि भिन्‍न हुन सक्छन्‌। वरदान जस्तोसुकै भए तापनि हामी प्रत्येकलाई “ती [अर्थात्‌ हामीले पाएको कुनै पनि वरदान] एउटा अर्काको निम्ति [सेवामा] प्रयोग” गर्न आग्रह गरिएको छ। साथै, “भण्डारेझैं ती . . . प्रयोग गर” भन्‍ने अभिव्यक्‍ति एउटा आज्ञा हो। त्यसैले, आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘के वास्तवमा मलाई सुम्पिएका वरदानहरू सँगी विश्‍वासीहरूलाई बलियो बनाउन प्रयोग गर्छु?’ (१ तिमोथी ५:९, १० तुलना गर्नुहोस्‌) ‘अथवा यहोवाबाट पाएका योग्यताहरूलाई मुख्यतया आफ्नै लागि चलाउँछु—सायद धनसम्पत्ति वा सामाजिक प्रतिष्ठा कमाउन?’ (१ कोरि. ४:७) यदि हामीले पाएका वरदानहरू “एउटा अर्काको निम्ति [सेवामा]” प्रयोग गर्छौं भने यहोवालाई खुसी तुल्याइरहेका हुनेछौं।—हितो. १९:१७; हिब्रू १३:१६ पढ्‌नुहोस्‌।

८, ९. (क) सँगी विश्‍वासीहरूका खातिर विश्‍वव्यापी तवरमा ख्रीष्टियानहरूले सेवा गर्ने केही तरिका के-के हुन्‌? (ख) तपाईंको मण्डलीका भाइबहिनीहरूले आपसमा कसरी मदत गर्छन्‌?

प्रथम शताब्दीका ख्रीष्टियानहरूले विभिन्‍न तरिकामा एकअर्काको सेवा गरेको कुरा बाइबलमा बताइएका छन्‌। (रोमी १५:२५, २६; २ तिमोथी १:१६-१८ पढ्‌नुहोस्‌) त्यस्तैगरि आज आफूले पाएको वरदान सँगी विश्‍वासीहरूका लागि चलाउनू भन्‍ने आज्ञा साँचो ख्रीष्टियानहरूले पूर्ण हृदयले पालन गर्छन्‌। कुन-कुन तरिकामा आज यो आज्ञा पालन गरिंदैछ, विचार गर्नुहोस्‌।

थुप्रै भाइहरूले सभाका भागहरू तयारी गर्न हरेक महिना निकै समय खर्चन्छन्‌। अध्ययन-अनुसन्धान गर्दा तिनीहरूले मूल्यवान्‌ आध्यात्मिक जानकारीहरू पाएका हुन्छन्‌। यस्ता जानकारी अन्तर्दृष्टिले भरिएका हुन्छन्‌। अनि यीमध्ये केही मण्डलीमा प्रस्तुत गर्दा अरूले परीक्षा सहन प्रोत्साहन पाउँछन्‌। (१ तिमो. ५:१७) थुप्रै भाइबहिनी सँगी विश्‍वासीप्रति स्नेही र दयालु व्यक्‍तिको रूपमा चिनिन्छन्‌। (रोमी १२:१५) कतिपय चाहिं निराश भएकाहरूलाई नियमित भेट्‌न जान्छन्‌ र तिनीहरूसँगै प्रार्थना गर्छन्‌। (१ थिस्स. ५:१४) अरू भने परीक्षाको सामना गरिरहेका सँगी ख्रीष्टियानहरूलाई प्रोत्साहनका हार्दिक शब्दहरू लेख्छन्‌। त्यसबाहेक कतिले चाहिं, शारीरिक सीमितताको कारण असक्‍त भएकाहरूलाई सभाहरू आउन-जान मदत गर्छन्‌। हजारौं साक्षीहरू राहत कार्यमा सहभागी हुन्छन्‌ र प्राकृतिक प्रकोपमा परेका भाइहरूको घर पुनःनिर्माण गर्न सहयोगको हात बढाउँछन्‌। हो, यस्ता मायालु भाइबहिनीहरूले देखाएको कोमल स्नेह र व्यावहारिक सहयोग “परमेश्‍वरका अनुग्रहका विभिन्‍न वरदान” हुन्‌।—१ पत्रुस ४:११ पढ्‌नुहोस्‌।

कुन चाहिं अझ महत्त्वपूर्ण?

१०. (क) परमेश्‍वरको सेवाका कुन दुई पक्षप्रति पावल सजग थिए? (ख) आज हामी कसरी पावलको अनुकरण गर्छौं?

१० परमेश्‍वरका सेवकहरूलाई सँगी विश्‍वासीहरूका खातिर प्रयोग गर्नुपर्ने वरदान मात्र होइन तर सँगी मानवलाई बाँड्‌नुपर्ने सन्देश पनि सुम्पिएको छ। प्रेरित पावलले यहोवाको सेवाका यी दुई पक्षलाई बुझेका थिए। तिनले “परमेश्‍वरको अनुग्रहको प्रबन्ध” अर्थात्‌ भण्डारेको कामबारे एफिससको मण्डलीलाई लेखे र त्यो काम उनीहरूका फायदाको लागि पावललाई सुम्पिएको थियो। (एफि. ३:२) तर तिनले “सुसमाचार हाम्रो पत्यारमा सुम्पियोस्‌ भनी परमेश्‍वरबाट हामी योग्य ठहरिएका” हौं पनि भने। (१ थिस्स. २:४) पावलले जस्तै हामीले पनि बुझेका छौं कि हामीलाई पनि परमेश्‍वरको राज्यको प्रचार गर्ने जिम्मेवारी सुम्पिएको छ। प्रचारकार्यमा जोसका साथ भाग लिएर सुसमाचारका अथक उद्‌घोषक पावलको अनुकरण गर्ने प्रयास गर्छौं। (प्रेरि. २०:२०, २१; १ कोरि. ११:१) हामीलाई थाह छ, राज्य सन्देशको प्रचारले जीवन बचाउन सक्छ। तर त्यसका साथै सँगी विश्‍वासीहरूलाई “केही आत्मिक वरदान” दिने सुअवसरहरू खोजेर पनि हामी पावलको अनुकरण गर्ने प्रयास गर्छौं।—रोमी १:११, १२; १०:१३-१५ पढ्‌नुहोस्‌।

११. प्रचार गर्नु र भाइहरूलाई बलियो बनाउनु, यी दुई जिम्मेवारीलाई हामीले कसरी हेर्नुपर्छ?

११ यी दुई ख्रीष्टियान क्रियाकलापमध्ये कुन चाहिं अधिक महत्त्वको छ? यस्तो प्रश्‍न गर्नु भनेको चराबारे यसरी सोध्नु जस्तै हो: चराको दुइटा पखेटामा कुन चाहिं धेर महत्त्वको हो? कुरा स्पष्ट छ, उड्‌नको लागि चरालाई दुइटै पखेटा नभई हुँदैन। त्यस्तैगरि, साँचो अर्थमा ख्रीष्टियान हुन परमेश्‍वरको सेवाका यी दुइटै पक्षमा सहभागी हुनुपर्छ। त्यसैले, सुसमाचार प्रचार गर्नु र सँगी विश्‍वासीलाई बलियो बनाउनुलाई आपसमा सम्बन्ध नै नभएको बेग्लाबेग्लै कुरा ठान्‍नुको साटो हामी प्रेरित पत्रुस र पावलको जस्तै दृष्टिकोण राख्छौं। ती दुई जिम्मेवारीलाई एकअर्काको पूरक ठान्‍नुपर्छ, एकै सिक्काका दुई पाटा जस्तै। कसरी?

१२. यहोवाको हातको औजार बनेर हामी कसरी सेवा गर्छौं?

१२ परमेश्‍वरको राज्यको उत्थानदायी सन्देशद्वारा हामी सँगी मानवको हृदय छुने प्रयास गर्छौं। यस्तो प्रयासमा हामी प्रचारकको हैसियतले आफूसित भएको कुनै पनि शिक्षण कला चलाउँछौं। यसप्रकार हामी तिनीहरूलाई ख्रीष्टका चेला बन्‍न मदत दिन सक्छौं। तथापि, हामी उत्थानदायी बोली तथा मदतकारी काम अर्थात्‌ परमेश्‍वरको अनुग्रहको अभिव्यक्‍तिद्वारा सँगी विश्‍वासीहरूको हृदय छुने प्रयासमा आफूसित भएका जुनसुकै योग्यता र अन्य वरदान पनि प्रयोग गर्छौं। (हितो. ३:२७; १२:२५) यसरी हामी तिनीहरूलाई ख्रीष्टको चेला भइरहन मदत दिन सक्छौं। दुवै क्रियाकलापमा, मतलब मानिसहरूलाई प्रचार गर्ने र “एउटा अर्काको निम्ति [सेवा]” गर्ने काममा हामीले यहोवाको हातको औजार बन्‍ने अद्‌भुत सुअवसर पाएका छौं।—गला. ६:१०.

“एक दोस्रोतर्फ मायालु होओ”

१३. “एउटाले अर्काको निम्ति [सेवा]” गर्नबाट हामी पछि हट्यौं भने के हुन्छ?

१३ पावलले सँगी विश्‍वासीहरूलाई यस्तो आग्रह गरे: “भातृप्रेममा एक दोस्रोतर्फ मायालु होओ, मानमा एउटाले अर्काको बढ्‌ता कदर गर।” (रोमी १२:१०) हो, भाइहरूतर्फ मायालु हुँदा परमेश्‍वरको अनुग्रहका भण्डारेको रूपमा पूर्ण हृदयले सेवा गर्न हामी उत्प्रेरित हुन्छौं। हामीलाई थाह छ, “एउटाले अर्काको निम्ति [सेवा]” गर्नबाट शैतानले रोक्न सक्यो भने त्यसले हाम्रो एकता कमजोर बनाउनेछ। (कल. ३:१४) अनि एकता नहुँदा प्रचारकार्यप्रतिको हाम्रो जोस सेलाएर जान्छ। हाम्रो एउटा मात्र पखेटामा हानि पुऱ्‍याए पुग्छ भन्‍ने कुरा शैतानलाई राम्ररी थाह छ।

१४. “एउटाले अर्काको निम्ति [सेवा]” गर्दा क-कसले लाभ उठाउँछन्‌? एउटा उदाहरण दिनुहोस्‌।

१४ “एउटाले अर्काको निम्ति [सेवा]” गर्नु भनेको परमेश्‍वरबाट अनुग्रह व्यक्‍त हुनु हो। यसो गर्दा सेवा दिने र पाउने दुवैलाई फाइदा हुन्छ। (हितो. ११:२५) उदाहरणको लागि, अमेरिकाको इलेनोइ राज्यमा बस्ने दम्पती रायन र रोनीलाई लिनुहोस्‌। कट्रिना आँधीबेह्रीले सयौं सँगी साक्षीहरूको घर तहसनहस पारेको थाह पाएपछि भातृप्रेमले उत्प्रेरित भई तिनीहरूले आफ्नो जागिर छोडे, घर त्यागे र घरको सुविधा भएको पुरानो गाडी किनेर त्यसैलाई नै आफ्नो घर बनाए। अनि १,४०० किलोमिटर लामो यात्रा गर्दै लुइजियाना पुगे। त्यहाँ तिनीहरू एक वर्षभन्दा बढी बसे अनि आफ्नो समय, शक्‍ति र स्रोतसाधन खर्च गर्दै भाइहरूलाई मदत गरे। उनन्तीस वर्षीय रायन भन्छन्‌: “राहत कार्यमा भाग लिएर अझ यहोवाको नजिक भएँ। यहोवाले कसरी आफ्ना जनहरूको हेरचाह गर्नुहुन्छ, देखें।” तिनी थप्छन्‌: “पाका भाइहरूसित काम गर्दा भाइहरूको हेरचाह गर्ने तरिका सिकें। हामी जवानहरूले यहोवाको संगठनमा गर्न सक्ने धेरै कुरा रहेछन्‌ भन्‍ने पनि थाह पाएँ।” पच्चीस वर्षीया रोनी भन्छिन्‌: “अरूलाई मदत गर्न पाएकोमा कृतज्ञ छु। जीवनमा कहिल्यै महसुस नगरेको आनन्द पाएँ। मलाई थाह छ, आउने समयमा यस अद्‌भुत अनुभवबाट निरन्तर लाभ उठाइरहनेछु।”

१५. परमेश्‍वरको अनुग्रहका भण्डारेको रूपमा निरन्तर सेवा गर्ने कस्ता असल कारणहरू हामीसित छन्‌?

१५ हो, सुसमाचार प्रचार गर्नु र सँगी विश्‍वासीहरूलाई बलियो बनाउनु परमेश्‍वरले हामीलाई दिएका आज्ञाहरू हुन्‌। यी पालन गर्दा सबैले आशिष्‌ पाउँछन्‌। एकातिर हामीबाट मदत पाएकाहरू आध्यात्मिक तवरमा बलिया हुन्छन्‌ भने अर्कोतिर हामी चाहिं भित्री आनन्द महसुस गर्छौं जुन अरूलाई दिंदा मात्र पाइन्छ। (प्रेरि. २०:३५) एउटाले अर्कोप्रति मायालु चासो देखाउँदा सम्पूर्ण मण्डलीमै न्यानोपन छाउँछ। त्यसबाहेक, हामीले आपसमा देखाउने प्रेम र स्नेहले साँचो ख्रीष्टियानको परिचय दिन्छ। येशूले भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गस्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूह. १३:३५) सबैभन्दा महत्त्वपूर्ण, महिमा चाहिं हाम्रा मायालु पिता यहोवालाई जान्छ किनकि खाँचोमा परेकालाई बलियो बनाउने उहाँको इच्छा पार्थिव सेवकहरूमा झल्किन्छ। तसर्थ, ‘परमेश्‍वरको अनुग्रहका भण्डारेझैं एउटाले अर्काको निम्ति [सेवामा]’ आफूले पाएको वरदान प्रयोग गर्ने असल कारणहरू हामीसित छन्‌! के तपाईं त्यसो गरिरहनुहुन्छ?—हिब्रू ६:१० पढ्‌नुहोस्‌। (w 09 1/15)

के तपाईंले सम्झनुभएको छ?

• यहोवा कुन तरिकामा आफ्ना सेवकहरूलाई बलियो बनाउनुहुन्छ?

• हामीलाई कस्ता जिम्मेवारी सुम्पिएका छन्‌?

• सँगी विश्‍वासीहरूको सेवा गर्न सकिने केही तरिका के-के हुन्‌?

• आफूले पाएको वरदान “एउटा अर्काको निम्ति [सेवामा]” प्रयोग गरिरहन हामीलाई केले उत्प्रेरित गर्नेछ?

[अध्ययनका लागि प्रश्‍नहरू]