सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

चेला बनाउने कामबाट आनन्द उठाउनुहोस्‌

चेला बनाउने कामबाट आनन्द उठाउनुहोस्‌

चेला बनाउने कामबाट आनन्द उठाउनुहोस्‌

“यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ।”—मत्ती २८:१९.

१-३. (क) बाइबल अध्ययन सञ्चालन गर्ने सुअवसरबारे थुप्रैले कस्तो महसुस गर्छन्‌? (ख) कुन प्रश्‍नहरू हामी विचार गर्नेछौं?

 अमेरिकाको एउटा हिन्दी समूहमा सेवा गरिरहेकी एक बहिनीले यस्तो लेखिन्‌: “मैले पाकिस्तानबाट आएको एक परिवारसित ११ हप्तादेखि बाइबल अध्ययन गरिरहेकी छु।” उनी अझ यसो भन्छिन्‌: “हामी मित्र भएका छौं भनेर सायद भनिरहनु नपर्ला। यो परिवार चाँडै पाकिस्तान फर्किने कुरा सम्झिंदा आँखा रसाएर आउँछ। तिनीहरूको साथ छुट्‌ने कुराले मात्र होइन तर यहोवाबारे तिनीहरूलाई सिकाउँदा पाएको आनन्दले गर्दा पनि मेरो आँखा रसाएको हो।”

यी बहिनीले जस्तै के तपाईंले पनि कसैलाई बाइबल अध्ययन गरेर आनन्द अनुभव गर्नुभएको छ? चेला बनाउने कामबाट येशू र उहाँका प्रथम शताब्दीका चेलाहरूले ठूलो आनन्द पाए। येशूले प्रशिक्षण दिएका ७० जना चेलाहरूले आनन्ददायी रिपोर्ट ल्याउँदा उहाँ आफै पनि ‘आत्मामा’ अत्यन्तै ‘रमाउनुभयो।’ (लूका १०:१७-२१) त्यस्तैगरि, आज थुप्रैले चेला बनाउने कामबाट ठूलो आनन्द पाउँछन्‌। जस्तै, सन्‌ २००७ मा परिश्रमी र आनन्दित राज्य प्रकाशकहरूले प्रत्येक महिना सरदर ६५ लाख बाइबल अध्ययन सञ्चालन गरे!

तर कतिपय प्रकाशकहरूले अहिलेसम्म बाइबल अध्ययन सञ्चालन गर्ने मौका पाएका छैनन्‌। अरूले चाहिं हालका वर्षहरूमा आएर एउटा पनि अध्ययन सञ्चालन गरेका छैनन्‌ होला। बाइबल अध्ययन सञ्चालन गर्ने प्रयासमा हामीले कस्ता चुनौतीहरू सामना गर्नुपर्ने हुन सक्छ? ती चुनौतीहरूको सामना कसरी गर्न सक्छौं? अनि “गएर सबै देशका जातिहरूलाई चेला बनाओ” भन्‍ने येशूको आज्ञा पालन गर्न सक्दो प्रयास गर्दा कस्तो इनाम पाउँछौं?—मत्ती २८:१९.

हाम्रो आनन्द छिन्‍न सक्ने चुनौतीहरू

४, ५. (क) संसारका कुनै-कुनै ठाउँमा मानिसहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌? (ख) अन्य ठाउँमा चाहिं प्रकाशकहरूले कस्ता चुनौतीहरूको सामना गर्छन्‌?

संसारको कुनै-कुनै ठाउँमा मानिसहरू हाम्रा प्रकाशन अभिरुचिका साथ स्वीकार्छन्‌ र हामीसित बाइबल अध्ययन गर्न इच्छुक हुन्छन्‌। केही समयको लागि जाम्बियामा सेवा गरिरहेका अस्ट्रेलियाका एक दम्पतीले यस्तो लेखे: “साँच्चै, जाम्बिया प्रचारको लागि उर्वरभूमि हो। सडक साक्षीको त झन्‌ कुरै नगरौं! मानिसहरू आफै हामीकहाँ आउँछन्‌, कतिले त मलाई यो अंकको पत्रिका दिनुहोस्‌ भनेर माग्छन्‌।” गएको एउटा वर्षमा जाम्बियाका भाइबहिनीले दुई लाखभन्दा धेरै बाइबल अध्ययन सञ्चालन गरे। मतलब, सरदर एक प्रकाशकको एउटाभन्दा धेरै बाइबल अध्ययन।

तर अरू कतिपय ठाउँमा प्रकाशकहरूलाई साहित्य प्रस्तुत गर्नु र नियमित बाइबल अध्ययन गर्नु कठिन हुन सक्छ। किन? अक्सर मानिसहरू घरमा हुँदैनन्‌। घरमा भएकाहरू पनि धर्मप्रति उदासीन हुन सक्छन्‌। तिनीहरू धर्मप्रति चासो नराख्ने परिवारमा हुर्केका होलान्‌, कि चाहिं झूटो धर्मको कपट देखेर वाक्कब्याक्क भएका हुन सक्छन्‌। थुप्रै मानिसहरू चाहिं झूटा गोठालाहरूद्वारा आध्यात्मिक तवरमा हैरान र तितर-बितर भएका छन्‌। (मत्ती ९:३६) अवश्‍यै, यस्ता व्यक्‍तिहरू बाइबल छलफल गर्ने भनेपछि सावधान भइहाल्छन्‌।

६. कतिपय प्रकाशकहरूले कस्ता सीमितताहरूको सामना गर्नुपर्ने हुन सक्छ?

कतिपय विश्‍वासी प्रकाशकहरूले भने आनन्द छिन्‍न सक्ने बेग्लै चुनौतीको सामना गर्छन्‌। कुनै समय चेला बनाउने काममा एकदमै सक्रिय तिनीहरूलाई अहिले बिमारी वा बूढेसकालसँगै आउने सीमितताहरूले बाधा पारेको छ। कतिपय कुरामा हामी आफूलाई सीमित ठान्छौं होला। यसलाई पनि विचार गर्नुहोस्‌। उदाहरणको लागि, के तपाईं बाइबल अध्ययन सञ्चालन गर्न आफूलाई अयोग्य ठान्‍नुहुन्छ? यहोवाले मोशालाई फिरऊनसित कुरा गर्न खटाउँदा तिनले जस्तो महसुस गरे तपाईं पनि त्यस्तै महसुस गर्नुहुन्छ होला। मोशाले यसो भने: “प्रभो, म बोल्नमा उस्तो सिपालु छैनँ, नता अघि म सिपालु थिएँ न अहिले।” (प्रस्थ. ४:१०) अयोग्य छु भन्‍ने भावना र असफल होइन्छ कि भन्‍ने डरबीच नजिकको सम्बन्ध छ। आफू सिपालु शिक्षक नभएकोले चेला बनाउन सकिंदैन कि भन्‍ने चिन्ता लाग्न सक्छ। यस्तो परिणामबाट बच्न बरु बाइबल अध्ययन नै नगर्ने निर्णय गर्न सक्छौं। यहाँ बताइएका चुनौतीहरूको सामना कसरी गर्न सकिन्छ?

हृदय तयार पार्नुहोस्‌

७. येशूलाई सेवकाईमा लाग्न केले उत्प्रेरित गऱ्‍यो?

पहिलो कदम हो, हृदय तयार पार्नु। येशूले भन्‍नुभयो: “हृदयमा जे प्रशस्त हुन्छ त्यही त्यसको मुखले बोल्दछ।” (लूका ६:४५) अरूको हितप्रति निष्कपट चासो लिएकोले येशू सेवकाईमा लाग्न उत्प्रेरित हुनुभयो। उदाहरणको लागि, सँगी यहूदीहरूको दयनीय आध्यात्मिक अवस्था देखेपछि “उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो।” उहाँले चेलाहरूलाई भन्‍नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, . . . तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।”—मत्ती ९:३६-३८.

८. (क) हामीले केबारे सोच्नु राम्रो हुन्छ? (ख) एक जना बाइबल विद्यार्थीको भनाइबाट हामी के सिक्न सक्छौं?

चेला बनाउने काममा भाग लिंदाखेरि एउटा कुराबारे गहिरिएर सोच्नु राम्रो हुन्छ। त्यो हो: कुनै व्यक्‍तिले समय दिएको कारण हामीलाई के-कति लाभ पुगेको छ भन्‍नेबारे। साथै, सेवकाईमा भेट्‌ने मानिसहरू र तिनीहरूले हाम्रो सन्देशबाट कत्ति लाभ उठाउँछन्‌, त्यसबारे पनि सोच्नुहोस्‌। एक स्त्रीले आफू बस्ने देशको शाखा कार्यालयलाई यस्तो पत्र लेखिन्‌: “म तपाईंहरूलाई एउटा कुरा भन्‍न चाहन्छु। मलाई घरैमा आएर सिकाउने साक्षीहरूप्रति म एकदमै आभारी छु। मलाई थाह छ, कहिलेकाहीं उनीहरूलाई दिक्क लाग्छ होला किनभने म धेरै प्रश्‍न सोध्ने गर्छु र सधैं अबेरसम्म राख्छु। तर उनीहरू मप्रति धीरजी छन्‌ र आफूले जानेका कुरा उत्सुकतासाथ सिकाउँछन्‌। यी मानिसहरू भेट्‌न पाएकोमा यहोवा र येशूलाई मुरीमुरी धन्यवाद!”

९. येशूले केमा ध्यान केन्द्रित गर्नुभयो र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं?

हो, येशूको शिक्षा सुन्‍ने सबै उहाँको अनुयायी बनेनन्‌। (मत्ती २३:३७) कतिपय केही समयसम्म उहाँको पाइलामा हिंडे तर पछि उहाँको शिक्षाप्रति आपत्ति जनाए र “उहाँसँग फेरि हिंडडुल गरेनन्‌।” (यूह. ६:६६) तथापि, कसै-कसैको त्यस्तो नराम्रो प्रतिक्रियाले गर्दा येशूले आफ्नो सन्देश मूल्यहीन ठान्‍नुभएन। रोपेको धेरैजसो बीउले फल नफलाए तापनि आफूले गरिरहेको असल काममाथि उहाँले ध्यान केन्द्रित गर्नुभयो। उहाँले फसल कटनीको लागि पहेंला भएको देख्नुभयो र त्यस कटनी कार्यमा मदत गरेर ठूलो आनन्द उठाउनुभयो। (यूहन्‍ना ४:३५, ३६ पढ्‌नुहोस्‌) अन्‍नका बोटहरू बीच भएको सुक्खा भागलाई मात्रै हेर्नुको साटो येशूले जस्तै आफ्नो इलाकाको कटनी योग्य फसलमा ध्यान केन्द्रित गर्न सक्छौं कि? यस्तो सकारात्मक मनोवृत्ति कसरी कायम राख्न सक्छौं, आउनुहोस्‌ हेरौं।

कटनीको ध्येय राखेर रोप्नुहोस्‌

१०, ११. आनन्द कायम राख्न तपाईं के गर्न सक्नुहुन्छ?

१० कृषकले कटनी गर्ने ध्येय राखेर बीउ रोप्छ। त्यस्तैगरि, हामीले पनि बाइबल अध्ययन सुरु गर्ने ध्येय राखेर प्रचार गर्नुपर्छ। तर क्षेत्र सेवामा नियमित समय बिताउनुभए तापनि कमै मात्र मानिस घरमा भेट्टाउनुहुन्छ वा पुनःभेट गर्न सकिंदैन जस्तो देखिन्छ भने नि? यस्तो बेला दिक्क लाग्न सक्छ। के घर-घरको प्रचारमा जानै छोडिदिने? अवश्‍यै होइन! लामो समयदेखि प्रभावकारी साबित भएको प्रचार गर्ने यो तरिकाद्वारा थुप्रै मानिसहरूलाई अझै पनि भेट्‌न सकिएको छ।

११ तथापि, आनन्द कायम राख्न के तपाईं प्रचार गर्ने तरिकालाई विस्तार गर्न सक्नुहुन्छ, सायद मानिसहरूकहाँ पुग्ने अन्य तरिका समावेश गरेर? उदाहरणको लागि, के मानिसहरूलाई सडकमा वा तिनीहरूको काम गर्ने ठाउँमा साक्षी दिने प्रयास गर्नुभएको छ? मानिसहरूलाई फोन मार्फत भेट्‌न सक्नुहुन्छ कि? वा आफूले राज्य सन्देश सुनाइसकेका मानिसहरूसित सम्पर्कमा रहन तिनीहरूको फोन नम्बर लिन सक्नुहुन्छ कि? सेवकाईमा लागिरहेर अनि त्यसअनुरूप आफूलाई ढालेर राज्य सन्देशप्रति राम्रो प्रतिक्रिया देखाउने मानिसहरू भेट्टाउँदा तपाईं आनन्दित हुनुहुनेछ।

उदासीनताको सामना गर्ने

१२. आफ्नो इलाकामा थुप्रै मानिस धर्मप्रति उदासीन देखिएमा के गर्न सक्छौं?

१२ तपाईंको इलाकामा थुप्रै मानिस धर्मप्रति उदासीन छन्‌ भने नि? के तिनीहरूलाई चाख लाग्ने तरिकामा प्रस्तुतिलाई ढाल्न सक्नुहुन्छ? प्रेरित पावलले कोरिन्थका सँगी विश्‍वासीहरूलाई यस्तो लेखे: “म यहूदीहरूका बीचमा यहूदीजस्तै भएँ, . . . व्यवस्थाको अधीनमा नभइकन व्यवस्थाको अधीनमा भएकाहरूका निम्ति व्यवस्थाकै अधीनमा भएकोजस्तै म भएँ।” पावलले यसो गर्नुको उद्देश्‍य के थियो? तिनले भने: “कुनै किसिमले कसैकसैलाई बचाइहालूँ भनेर सबैका निम्ति म सबै कुरा भएँ।” (१ कोरि. ९:२०-२२) त्यसैगरि, के तपाईं पनि आफ्नो इलाकाका मानिसहरूलाई चासो लाग्ने विषय खोज्न सक्नुहुन्छ? धर्ममा आस्था नराख्ने थुप्रै मानिसहरू पारिवारिक सम्बन्ध सुधार्न चाहन्छन्‌। तिनीहरूले जीवनको उद्देश्‍य खोजिरहेका पनि हुन सक्लान्‌। के हामी यस्ता मानिसहरूलाई चाख लाग्ने तरिकामा राज्य सन्देश प्रस्तुत गर्न सक्छौं?

१३, १४. चेला बनाउने कामबाट पाइने आनन्दलाई हामी कसरी बढाउन सक्छौं होला?

१३ धर्मप्रति उदासीन देखिने ठाउँहरूमा समेत झन्‌-झनै धेरै प्रकाशकहरूले चेला बनाउने कामबाट पाउने आनन्दलाई बढाउन सकेका छन्‌। कसरी? विदेशी भाषा सिकेर। साठी वर्ष काटिसकेका एक दम्पतीले मण्डलीको इलाकामा हजारौं चिनियाँ विद्यार्थी र तिनीहरूको परिवार बस्ने गरेको थाह पाए। पति भन्छन्‌: “यही कारण, हामी चिनियाँ भाषा सिक्न प्रोत्साहित भयौं। यसको लागि हरेक दिन समय खर्चिनुपर्ने भए तापनि आफ्नो इलाकाका चिनियाँ मानिसहरूसित बाइबल अध्ययन थाल्न सक्यौं।”

१४ तपाईं विदेशी भाषा सिक्ने स्थितिमा हुनुहुन्‍न होला। तैपनि अर्कै भाषा बोल्ने मानिसहरू भेट्‌दा सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार (गुड न्युज फर पिपल अफ अल नेसन्स्‌) पुस्तिकाको सदुपयोग गर्न सक्नुहुन्छ। साधारणतया, तपाईंले भेट्‌ने मानिसहरूको भाषामा प्रकाशित साहित्य पनि प्राप्त गर्न सक्नुहुन्छ। हो, अर्कै भाषा र संस्कृतिका मानिसहरूसित कुराकानी गर्न थप समय र प्रयास चाहिन्छ। तर परमेश्‍वरको वचनमा पाइने यो सिद्धान्तलाई नबिर्सनुहोस्‌: “प्रशस्तसँग छर्नेले प्रशस्तसँगै काट्‌छ।”—२ कोरि. ९:६.

मण्डली नै संलग्न

१५, १६. (क) चेला बनाउने काममा पूरै मण्डलीको साथ चाहिन्छ, किन? (ख) वृद्धहरूले कस्तो भूमिका खेल्छन्‌?

१५ तर, एक जनाको प्रयासले मात्र चेला बनाउन सकिंदैन। पूरै मण्डलीको प्रयास चाहिन्छ। किन? येशूले भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गस्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूह. १३:३५) हुन पनि बाइबल विद्यार्थीहरू सभामा आउँदा त्यहाँको मायालु वातावरण देखेर अक्सर प्रभावित हुन्छन्‌। एक बाइबल विद्यार्थीले लेखे: “सभाहरू जान मलाई असाध्यै मज्जा लाग्छ। त्यहाँ मानिसहरू सहृदयी छन्‌!” येशूले भन्‍नुभयो कि उहाँका चेला हुनेहरूलाई परिवारबाट विरोध आउन सक्छ। (मत्ती १०:३५-३७ पढ्‌नुहोस्‌) तर, तिनीहरूले मण्डलीमा थुप्रै आध्यात्मिक ‘दाजुभाइ, दिदीबहिनी, आमा र बालकहरू पाउनेछन्‌’ भनेर उहाँले प्रतिज्ञा गर्नुभयो।—मर्कू. १०:३०.

१६ बाइबल विद्यार्थीलाई उन्‍नति गर्न मदत दिने काममा विशेषगरि हाम्रा वृद्ध भाइबहिनीहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्‌। कसरी? कतिपय वृद्ध जनहरू बाइबल अध्ययन सञ्चालन गर्न असक्षम छन्‌। तैपनि मण्डलीका सभाहरूमा तिनीहरूको उत्थानदायी टिप्पणीहरू सुनेर अरू विश्‍वासमा बलिया हुन्छन्‌। साथै, तिनीहरू लामो समयदेखि ‘धर्मी जीवनको’ मार्गमा हिंडिरहेको कुराले मण्डलीको सुन्दरतामा सुगन्ध थप्छ र इमानदार हृदय भएका मानिसहरूलाई परमेश्‍वरको संगठनतर्फ आकर्षित गर्छ।—हितो. १६:३१.

डर हटाउने

१७. अयोग्य छु भन्‍ने भावना हटाउन के गर्न सक्छौं?

१७ अयोग्य छु भन्‍ने भावनाले तपाईंलाई पिरोल्यो भने नि? यहोवाले मोशालाई पवित्र आत्मा र उनका दाजु हारून मार्फत सहयोग दिनुभएको कुरा सम्झनुहोस्‌। (प्रस्थ. ४:१०-१७) परमेश्‍वरको पवित्र आत्माले साक्षी कार्यमा साथ दिनेछ भनी येशूले प्रतिज्ञा गर्नुभयो। (प्रेरि. १:८) त्यसबाहेक, येशूले चेलाहरूलाई दुई-दुई जना गरी प्रचार गर्न पठाउनुभयो। (लूका १०:१) तसर्थ, यदि तपाईंलाई बाइबल अध्ययन सञ्चालन गर्न गाह्रो भइरहेको छ भने बुद्धिको लागि प्रार्थनामा पवित्र आत्मा माग्नुहोस्‌। अनि यस्तो भाइ वा बहिनीसित प्रचारमा जानुहोस्‌ जसले तपाईंमा आत्मविश्‍वास बढाउन सक्छ र जसको अनुभवबाट तपाईं मदत पाउन सक्नुहुन्छ। यहोवाले यो असाधारण काम पूरा गर्न “निर्बल कुराहरूलाई” अर्थात्‌ सामान्य मानिसहरूलाई चुन्‍नुभयो भन्‍ने कुरा सम्झँदा हाम्रो विश्‍वास बलियो हुन्छ।—१ कोरि. १:२६-२९.

१८. असफल होइन्छ कि भन्‍ने डरलाई हामी कसरी हटाउन सक्छौं?

१८ असफल होइन्छ कि भन्‍ने डरलाई हामी कसरी हटाउन सक्छौं? चेला बनाउनु भनेको खाना पकाउनु जस्तो होइन भनेर सम्झनु उपयुक्‍त हुन्छ। खाना स्वादिष्ट हुने/नहुने कुरा मुख्यतया एक जना व्यक्‍ति अर्थात्‌ भान्छेमा निर्भर हुन्छ। तर चेला बनाउनुमा कम्तीमा पनि तीन कुरा मुछिएका छन्‌। यहोवा सबैभन्दा महत्त्वपूर्ण हुनुहुन्छ। उहाँ मानिसहरूलाई आफूतिर खिच्नुहुन्छ। (यूह. ६:४४) मण्डलीका हामी सबैले विद्यार्थीलाई उन्‍नति गराउन सिपालु ढंगमा सिकाउन सक्दो गर्छौं। (२ तिमोथी २:१५ पढ्‌नुहोस्‌) अनि विद्यार्थीले चाहिं सिकेअनुसार काम गर्नु आवश्‍यक छ। (मत्ती ७:२४-२७) कुनै विद्यार्थीले बाइबल अध्ययन गर्न छोडेमा दुःख लाग्न सक्छ। बाइबल विद्यार्थीले सही छनौट गरून्‌ भन्‍ने हामी आशा गर्छौं तर हरेकले “परमेश्‍वरलाई आफ्ना-आफ्ना लेखा दिनुपर्नेछ।”—रोमी १४:१२.

कस्तो इनाम पाइन्छ?

१९-२१. (क) बाइबल अध्ययन सञ्चालन गरेर हामी कस्ता लाभहरू प्राप्त गर्छौं? (ख) प्रचारकार्यमा सहभागी हुने सबैलाई यहोवा कसरी हेर्नुहुन्छ?

१९ बाइबल अध्ययन सञ्चालन गर्दा हामी राज्यलाई प्राथमिकता दिने कुरामा ध्यान केन्द्रित गर्न सक्छौं। बाइबल अध्ययन सञ्चालनले हाम्रो दिलो-दिमागमा बाइबल सच्चाइको गहिरो छाप छोड्‌न पनि मदत गर्छ। किन त्यसो? बाराक नाउँका अग्रगामी यसो भन्छन्‌: “बाइबल अध्ययन सञ्चालन गर्दा परमेश्‍वरको वचनको राम्रो विद्यार्थी हुन करै लाग्छ। कसैलाई राम्ररी सिकाउन पहिला आफ्नै विश्‍वास बलियो बनाउनुपर्छ भन्‍ने मलाई लाग्छ।”

२० यदि बाइबल अध्ययन सञ्चालन गरिरहनुभएको छैन भने के त्यसको अर्थ तपाईंको सेवा परमेश्‍वरको लागि मूल्यहीन हो? अवश्‍यै होइन! यहोवाको प्रशंसा गर्न हामीले गरेको प्रयासको उहाँ ठूलो मोल गर्नुहुन्छ। प्रचारकार्यमा सहभागी हुने सबै नै “परमेश्‍वरका सहकर्मी” हुन्‌। तथापि, बाइबल अध्ययन सञ्चालन गर्दा हाम्रो आनन्द झन्‌ बढ्‌छ किनकि हामीले रोपेको बीउ परमेश्‍वरले कसरी बढाउनुहुन्छ, त्यो देख्छौं। (१ कोरि. ३:६, ९) एमी नाउँकी अग्रगामी भन्छिन्‌: “बाइबल विद्यार्थीले उन्‍नति गरेको देख्दा यहोवाप्रति तपाईं अति कृतज्ञ महसुस गर्नुहुन्छ किनभने उहाँले कुनै व्यक्‍तिलाई अद्‌भुत उपहार दिन तपाईंलाई चलाउनुभयो र त्यो उपहार हो—उहाँलाई चिन्‍नु र अनन्त जीवन प्राप्त गर्नु।”

२१ बाइबल अध्ययन थाल्न र सञ्चालन गर्न सक्दो प्रयास गर्दा हामी अहिले परमेश्‍वरको सेवामा ध्यान केन्द्रित गर्न र नयाँ संसारमा प्रवेश गर्ने आशा बलियो बनाउन मदत पाउनेछौं। यहोवाको सहयोग लिएर हाम्रो कुरा सुन्‍नेहरूलाई मदत पनि गर्न सक्छौं। (१ तिमोथी ४:१६ पढ्‌नुहोस्‌) आनन्दित हुने कस्तो राम्रो कारण! (w 09 1/15)

के तपाईंलाई याद छ?

• बाइबल अध्ययन सञ्चालन गर्नदेखि कतिपयलाई कस्ता चुनौतीहरूले रोक्न सक्छन्‌?

• इलाकाका धेरै मानिसहरू उदासीन देखिंदा के गर्न सक्छौं?

• बाइबल अध्ययन सञ्चालन गरेर हामी कस्ता इनामहरू पाउँछौं?

[अध्ययनका लागि प्रश्‍नहरू]