सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नरकबारे सत्य कुरा सिक्दा तपाईंमा असर पर्छ, कसरी?

नरकबारे सत्य कुरा सिक्दा तपाईंमा असर पर्छ, कसरी?

नरकबारे सत्य कुरा सिक्दा तपाईंमा असर पर्छ, कसरी?

नरक सास्ती दिइने ठाउँ हो भनी सिकाउनेहरूले यहोवा परमेश्‍वर र उहाँका गुणहरूबारे एकदमै गलत कुरा सिकाइरहेका हुन्छन्‌। हो, बाइबल बताउँछ परमेश्‍वरले दुष्टहरूलाई नाश गर्नुहुनेछ। (२ थिस्सलोनिकी १:६-९) तर परमेश्‍वरको प्रमुख गुण धार्मिक क्रोध होइन।

परमेश्‍वरले अरूको अहित चिताउनुहुन्‍न वा प्रतिशोधको भावना राख्नुहुन्‍न। उहाँ यस्तो प्रश्‍न समेत गर्नुहुन्छ: “के दुष्टको मृत्युमा म खुशी हुन्छु र?” (इजकिएल १८:२३) यदि दुष्टहरूको मृत्युमा परमेश्‍वर खुसी हुनुहुन्‍न भने तिनीहरूले सदासर्वदै सास्ती खाएको देखेर झन्‌ कसरी खुसी हुन सक्नुहुन्छ र?

परमेश्‍वरको सबैभन्दा प्रमुख गुण हो, प्रेम। (१ यूहन्‍ना ४:८) हो, “परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र उहाँका कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छन्‌।” (भजन १४५:९) त्यसैकारण, हामीले उहाँप्रति हार्दिक प्रेम विकास गरेको परमेश्‍वर चाहनुहुन्छ।—मत्ती २२:३५-३८.

नरकको डर वा परमेश्‍वरको प्रेम —कुन चाहिंले तपाईंलाई उत्प्रेरणा दिन्छ?

प्राणले नरकमा सास्ती पाउँछ भन्‍ने शिक्षाले परमेश्‍वरदेखि थरथर हुनुपर्ने त्रासलाई बढवा दिन्छ। त्यसको विपरीत, परमेश्‍वरबारे सत्य कुरा सिक्ने र उहाँलाई प्रेम गर्नेहरूले उहाँप्रति स्वास्थ्यकर भय विकास गर्छन्‌। भजन १११:१० बताउँछ: “परमप्रभुको भयनै ज्ञानको शुरु हो, उहाँको आज्ञा मान्‍नेहरू सबैको असल समझ हुन्छ।” परमेश्‍वरप्रतिको यो भय थरथर काँप्नुपर्ने त्रास होइन तर सृष्टिकर्ताप्रतिको अद्‌भुत श्रद्धा हो। यसले हामीमा उहाँलाई दुःखी बनाइन्छ कि भन्‍ने स्वास्थ्यकर भय पैदा गर्छ।

नरकबारे सत्य कुरा सिकेपछि ३२ वर्षीया क्याथलिनमा कस्तो परिवर्तन आयो, विचार गर्नुहोस्‌। तिनी पहिला औषधी र लागूपदार्थको दुर्व्यसनी थिइन्‌। तिनको जीवन पार्टी, हिंसा, आत्म-घृणा र अनैतिकताले भरिभराउ थियो। तिनले यसरी स्वीकारिन्‌: “एक वर्षकी छोरीलाई हेर्थें र सोच्थें, ‘हेर्‌, यस बच्चीको लागि मैले के गर्दैछु। म नरकमा जल्नुपर्नेछ।’ ” तिनले कुलत छोड्‌ने लाख कोसिस गरिन्‌ तर सकिनन्‌। तिनले भनिन्‌: “म असल व्यक्‍ति बन्‍न चाहन्थें तर मेरो जीवन र संसारको सबै कुरा एकदमै दयनीय देख्थें। असल बन्‍नुपर्ने कुनै कारण छैन जस्तो लाग्थ्यो।”

त्यसै समय ताका क्याथलिनले यहोवाका साक्षीहरूलाई भेटिन्‌। तिनले यसो भनिन्‌: “मैले सिकें कि दनदनी बलिरहेको नरककुण्ड रहेनछ। यसबारे बाइबलको शिक्षा मलाई असाध्यै चित्त बुझ्यो। नरकमा जल्नु नपर्ने कुरा थाह पाएपछि मैले अत्यन्त राहत महसुस गरें।” तर त्यति मात्र होइन, सबै दुष्टता हटाइएको पृथ्वीमा मानिसहरू सधैंभरि बस्न सक्ने परमेश्‍वरको प्रतिज्ञाबारे पनि तिनले सिकिन्‌। (भजन ३७:१०, ११, २९; लूका २३:४३) तिनी यस्तो उद्‌गार व्यक्‍त गर्छिन्‌: “अहिले मैले सधैंभरि सुन्दर बगैंचा जस्तो पृथ्वीमा बाँच्ने साँचो आशा पाएकी छु।”

के अग्निमय नरककुण्डको त्रास नभएको भए क्याथलिनले दुर्व्यसन छोड्‌न सक्थिन्‌? तिनले बताइन्‌: “लागूपदार्थ अथवा आफूले दुरुपयोग गरिरहेको औषधीको एकदमै सकसक लाग्दा यहोवा परमेश्‍वरलाई मदतको लागि प्रार्थना गर्थें। त्यस्तो घिनलाग्दो बानीप्रति उहाँको दृष्टिकोणबारे सोच्थें अनि उहाँलाई दुःखी पार्नदेखि सजग हुन्थें। उहाँले मेरो प्रार्थनाको जवाफ दिनुहुन्थ्यो।” (२ कोरिन्थी ७:१) यहोवालाई दुःखी बनाउने डरले गर्दा क्याथलिन दुर्व्यसन छोड्‌न सक्षम भइन्‌।

हो, नरकमा सास्ती पाउने त्रासले नभई परमेश्‍वरप्रतिको प्रेम र स्वास्थ्यकर भयको खेतीले गर्दा उहाँको इच्छाबमोजिम गर्न उत्प्रेरित हुन्छौं—चिरकालीन आनन्द पाउन। भजनहारले यस्तो लेखे: “हरेक जो परमप्रभुदेखि डराउँछ, जो उहाँको मार्गमा हिंड्‌छ, त्यो धन्यको हो।”—भजन १२८:१. (w 08 11/1)

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

नरकबाट को मुक्‍त हुनेछ?

कतिपय बाइबल अनुवादहरूले दुइटा युनानी शब्दहरू गेएन्‍नाहाइडीज-लाई “नरक” अथवा “पाताल” भनी अनुवाद गरेर अन्योल पैदा गरेका छन्‌। बाइबलमा गेएन्‍ना-ले पुनरुत्थानको आशा नभएको पूर्ण विनाशलाई बुझाउँछ। तर हाइडीज अर्थात्‌ हेडिसमा हुनेहरूको चाहिं पुनरुत्थान हुने आशा छ।

त्यसैले, येशू मरेर ब्यूँतनुभएपछि प्रेरित पत्रुसले आफ्ना श्रोताहरूलाई उहाँ ‘पातालमा छोडिनुभएन’ भनेर आश्‍वासन दिए। (प्रेरित २:२७, ३१, ३२; भजन १६:१०) यहाँ “पाताल” भनी अनुवाद गरिएको युनानी शब्द हाइडीज हो। येशू कुनै अग्निकुण्डमा जानुभएन। हेडिस अर्थात्‌ “पाताल” भनेको त चिहान हो। तर परमेश्‍वरले हेडिसबाट मुक्‍त गर्नुभएको येशू मात्र हुनुहुन्‍न।

पुनरुत्थानको सन्दर्भमा बाइबल यसो भन्छ: “मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले।” (प्रकाश २०:१३, १४) “पाताल” रित्याउनु भनेको परमेश्‍वरले पुनरुत्थानको योग्य ठहराउनुभएकाहरूलाई फेरि जीवन दिनु हो। (यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५) भविष्यको कस्तो अद्‌भुत आशा! हाम्रा प्रियजनहरू चिहानबाट निक्लेर आउनेछन्‌! अनन्त प्रेमका परमेश्‍वर यहोवाले यो गर्नुहुनेछ।