सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रकाशको पुस्तकका विशेषताहरू—भाग १

प्रकाशको पुस्तकका विशेषताहरू—भाग १

यहोवाको वचन जीवित छ

प्रकाशको पुस्तकका विशेषताहरू—भाग १

पत्मोस टापुमा कैदी छँदा वृद्ध प्रेरित यूहन्‍नाले क्रमशः १६ वटा दर्शन देख्छन्‌। ती दर्शनहरूमा तिनले यहोवा परमेश्‍वर र येशू ख्रीष्टले प्रभुको दिनको दौडान—सन्‌ १९१४ मा परमेश्‍वरको राज्य स्थापना भएदेखि ख्रीष्टको हजार वर्षीय शासनको अन्तसम्म—के-के गर्नुहुन्छ, देख्छन्‌। इस्वी संवत्‌ ९६ सालतिर यूहन्‍नाले लेखेको यो पुस्तक यी रोमाञ्चकारी दर्शनहरूको विवरण हो।

अब हामी प्रकाश १:१-१२:१७ सम्मका विशेषताहरूमा ध्यान देऔं। यो भागले सात वटा दर्शनलाई ढाक्छ। यी दर्शनहरूमा हामीले ध्यान दिनुपर्छ किनभने ती अहिले संसारमा भइरहेका घटनाहरूसित सम्बन्धित छन्‌ साथै निकट भविष्यमा यहोवाले कसरी कदम चाल्नुहुन्छ, त्यसले देखाउँछ। विश्‍वासका साथ यी दर्शनको विवरण पढ्‌नेहरूले साँच्चै सान्त्वना र प्रोत्साहन पाउन सक्छन्‌।—हिब्रू ४:१२.

‘थुमाले’ सात वटा छापमध्ये छ वटा खोल्छन्‌

(प्रका. १:१-७:१७)

सबैभन्दा पहिला यूहन्‍नाले महिमित येशू ख्रीष्टलाई देख्छन्‌। अनि तिनले क्रमिक रूपमा सन्देशहरू पाउँछन्‌ जुन ‘एउटा पुस्तकमा लेखेर सातैवटा मण्डलीहरूमा’ पठाउनुपर्छ। (प्रका. १:१०, ११) त्यसपछि तिनले स्वर्गमा सिंहासनको दर्शन देख्छन्‌। सिंहासनमा विराजमान व्यक्‍तिको दायाँ हातमा सात वटा छाप लगाइएको पुस्तक छ। अनि ‘त्यो पुस्तक खोल्ने’ योग्य व्यक्‍ति अरू कोही नभई पक्कै “यहूदाका कुलको सिंह” वा “थुमा” हुनुहुन्छ जसका “सातओटा सीङ र सातओटा आँखा” छन्‌।—प्रका. ४:२; ५:१, २, ५, ६, NRV.

‘थुमाले’ छ वटा छाप क्रमशः खोल्दा के हुन्छ, तेस्रो दर्शनले प्रकाश पार्छ। छैठौं छाप खोल्दा ठूलो भूकम्प जान्छ र क्रोधको ठूलो दिन आउँछ। (प्रका. ६:१, १२, १७) तर त्यसपछिको दर्शनमा १,४४,००० जनालाई छाप लगाउने काम नसिद्धिएसम्म “चार दूतहरू, पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चारकुनामा उभिरहेका” देखिन्छन्‌। छाप नलगाइएको “एक ठूलो भीड” चाहिं “सिंहासन र थुमाको अगाडि . . . उभिरहेका” देखिन्छन्‌।—प्रका. ७:१, ९.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:४; ३:१; ४:५; ५:६—“सात आत्माहरू” भन्‍ने अभिव्यक्‍तिले के बुझाउँछ? संख्या सातले परमेश्‍वरको दृष्टिबाट पूर्णतालाई बुझाउँछ। त्यसैले “सात मण्डली”-लाई दिइएको सन्देश अन्ततः संसारभरि १,००,००० भन्दा धेरै मण्डलीमा जम्मा भएका परमेश्‍वरका सबै जनलाई लागू हुन्छ। (प्रका. १:११, २०) यहोवाले कुनै कुरा पूरा गर्न चाहेअनुसार पवित्र आत्मा दिने भएकोले “सात आत्माहरू” भन्‍ने अभिव्यक्‍तिले भविष्यवाणीमा ध्यान दिनेहरूलाई समझ र आशिष्‌ पूर्णरूपमा दिन यो आत्मा चलाउने कुरालाई बुझाउँछ। प्रकाशको पुस्तकले संख्या सातको धारणालाई क्रमशः छलफल गर्दै गएको देखिन्छ। संख्या सातले यहाँ पूर्णतालाई बुझाउँछ। साँच्चै, यो पुस्तक “परमेश्‍वरको [पवित्र] रहस्य”-लाई “खतम” गर्ने अथवा पूरा गर्नेसित सम्बन्धित छ।—प्रका. १०:७.

१:८, १७—“अल्फा र ओमेगा” अनि “आदि र अन्त” पदवीले कसलाई बुझाउँछ? “अल्फा र ओमेगा” पदवीले यहोवालाई बुझाउँछ। यसले उहाँअघि कोही सर्वशक्‍तिमान्‌ परमेश्‍वर थिएन न पछि कोही हुनेछ भनेर जोड दिन्छ। “आदि र अन्त” पनि उहाँ नै हुनुहुन्छ। (प्रका. २१:६; २२:१३) तैपनि, प्रकाश अध्याय १ को प्रसंग हेऱ्‍यौं भने “आदि र अन्त” पदवीले येशू ख्रीष्टलाई बुझाउँछ। अमर आत्मिक प्राणीको रूपमा पुनरुत्थान गरिएको पहिलो मानव येशू हुनुहुन्थ्यो र यहोवा आफैले पुनरुत्थान गर्नुहुने अन्तिम मानव पनि उहाँ नै।—कल. १:१८.

३:७—येशूले “दाऊदको साँचो” कहिले पाउनुभयो र उहाँले त्यो साँचो कसरी चलाइरहनुभएको छ? इस्वी संवत्‌ २९ मा बप्तिस्मा लिएपछि उहाँ दाऊदको घरानाको राजा नियुक्‍त हुनुभयो। तर उहाँले दाऊदको त्यो साँचो इस्वी संवत्‌ ३३ मा स्वर्गमा परमेश्‍वरको दाहिने बाहुलीमा उच्च पारिएपछि मात्रै पाउनुभयो। त्यहाँ उहाँलाई दाऊदको घरानाको सम्पूर्ण अधिकार दिइयो। त्यतिबेलादेखि उहाँले परमेश्‍वरको राज्यसित सम्बन्धित सेवाका सुअवसरका ढोका खोल्न साँचो चलाइरहनुभएको छ। सन्‌ १९१९ मा येशूले “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई “आफ्नो सारा सम्पत्तिमाथि नियुक्‍त” गरेर “दाऊदको घरानाको साँचो” तिनीहरूलाई सुम्पनुभयो।—यशै. २२:२२; मत्ती २४:४५, ४७.

३:१२—येशूको “नयाँ नाउँ” के हो? यो नाउँ उहाँको नयाँ ओहदा र सुअवसरहरूसित सम्बन्धित छ। (फिलि. २:९-११) त्यो नाउँबारे येशूलाई जत्तिको अरू कसैलाई थाह नहुने भए तापनि स्वर्गमा उहाँले आफ्ना विश्‍वासी भाइहरूमा त्यो नाउँ लेख्नुहुन्छ जसले गर्दा तिनीहरूको उहाँसित घनिष्ठ सम्बन्ध स्थापित हुन्छ। (प्रका. १९:१२) उहाँले पाएका केही सुअवसरहरू तिनीहरूले पनि पाउँछन्‌।

हाम्रो लागि पाठ:

१:३. “[शैतानको संसारमाथि परमेश्‍वरको न्यायको] समय नजिकै छ।” त्यसैले प्रकाशको पुस्तकको सन्देश बुझ्नु र त्यसअनुसार कदम चालिहाल्नु अत्यन्तै जरुरी छ।

३:१७, १८. आध्यात्मिक तवरमा धनी हुन हामीले येशूबाट “आगोमा शुद्ध पारेको सुन” किन्‍नुपर्छ। मतलब, असल काममा धनवान्‌ हुने कोसिस गर्नुपर्छ। (१ तिमो. ६:१७-१९) ख्रीष्टको अनुयायीको रूपमा परिचित गराउने “सेता लुगा” पनि हामीले लगाउनुपर्छ साथै आध्यात्मिक समझ प्राप्त गर्न “गाजल”-को सदुपयोग गर्नुपर्छ—जस्तै, प्रहरीधरहरा-मा प्रकाशित हुने सल्लाहहरू।—प्रका. १९:८.

७:१३, १४. स्वर्गमा महिमित १,४४,००० को प्रतिनिधित्व २४ प्राचीनहरूले गर्छन्‌। त्यहाँ तिनीहरूले राजाको रूपमा मात्र नभई पूजाहारीको रूपमा पनि सेवा गर्छन्‌। प्राचीन इस्राएलका पूजाहारीहरूले तिनीहरूको पूर्वचित्रण गर्छन्‌ जसलाई राजा दाऊदले २४ भागमा विभाजन गरेका थिए। एक प्राचीनले यूहन्‍नालाई ठूलो भीडको परिचय दिन्छन्‌। त्यसकारण अभिषिक्‍त ख्रीष्टियानहरूको पुनरुत्थान सन्‌ १९३५ भन्दा केही अघि सुरु भएको हुनुपर्छ। किन? किनभने त्यस वर्ष ठूलो भीड को हो भनेर पृथ्वीमा रहेका परमेश्‍वरका अभिषिक्‍त सेवकहरूलाई स्पष्ट पारियो।—लूका २२:२८-३०; प्रका. ४:४; ७:९.

सातौं छाप खोलेपछि सात तुरही फुकियो

(प्रका. ८:१–१२:१७)

थुमाले सातौं छाप खोल्छन्‌। सात स्वर्गदूतहरूले सात वटा तुरही पाउँछन्‌। छ जना स्वर्गदूतले मानिसजातिको “तेस्रो भाग” अर्थात्‌ चर्चजगत्‌माथि न्यायको सन्देश घोषणा गर्दै तुरही फुक्छन्‌। (प्रका. ८:१, २, ७-१२; ९:१५, १८) पाँचौं दर्शनमा देखेका कुरा यी हुन्‌। त्यसपछिको दर्शनमा यूहन्‍ना आफै सहभागी हुँदै सानो पुस्तक खान्छन्‌ र मन्दिर नाप्छन्‌। सातौं तुरही फुकेपछि एउटा ठूलो आवाजमा यस्तो घोषणा हुन्छ: “पृथ्वीको राज्य हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ।”—प्रका. १०:१०; ११:१, १५.

सातौं दर्शनले प्रकाश ११:१५, १७ मा बताइएको कुरालाई अझै खुलाउँछ। स्वर्गमा एउटा ठूलो चिह्न देखिन्छ। स्वर्गकी स्त्रीले एउटा छोरो जन्माउँछिन्‌। दियाबललाई स्वर्गबाट फ्याँकिन्छ। त्यो, स्वर्गकी स्त्रीसित क्रोधित हुँदै तिनका “बाँकी सन्तानहरूसँग युद्ध गर्न” जान्छ।—प्रका. १२:१, ५, ९, १७.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

८:१-५—स्वर्गमा किन सन्‍नाटा छायो र अन्ततः पृथ्वीमा के फ्याँकियो? पृथ्वीमा रहेका “पवित्र जनहरूका प्रार्थनाहरू” सुनियोस्‌ भनेर स्वर्गमा लाक्षणिक सन्‍नाटा छाएको थियो। यो पहिलो विश्‍वयुद्धको अन्ततिरको कुरा हो। थुप्रैले सोचेझैं अन्यजातिहरूको समयको अन्त हुँदा अभिषिक्‍त ख्रीष्टियानहरू स्वर्गमा उक्लिएनन्‌। युद्धको बेला तिनीहरूले कठिन परिस्थितिको सामना गर्नुपऱ्‍यो। त्यसैले डोऱ्‍याइको लागि तिनीहरूले व्यग्र प्रार्थना गरे। प्रार्थनाको जवाफ स्वरूप स्वर्गदूतले पृथ्वीमा लाक्षणिक आगो फ्याँकिदिए र अभिषिक्‍त ख्रीष्टियानहरू आध्यात्मिक तवरमा पुनः जागृत भए। मुठीभर मात्र भए तापनि तिनीहरूले संसारभरि प्रचार अभियान सुरु गरे। यसले गर्दा परमेश्‍वरको राज्य एउटा जल्दोबल्दो विषय बन्‍न पुग्यो र चर्चजगत्‌मा आगो लाग्यो। बाइबलबाट मेघको गर्जन जस्तै चेताउनीहरू घोषणा हुन सुरु भयो। धर्मशास्त्रीय सत्य कुराहरू बिजुली चम्के जस्तैगरी चम्कन थाले। अनि मानौं कुनै शक्‍तिशाली भूकम्पले भवनहरूलाई हल्लाएझैं झूटो धर्मको जगै हल्लियो।

८:६-१२; ९:१, १३; ११:१५—सात स्वर्गदूतले कहिले तुरही फुक्न तयारी गरे अनि कहिले र कसरी तुरही फुकिएको आवाज सुनियो? सात वटा तुरही फुक्ने तयारीमा सन्‌ १९१९ देखि १९२२ सम्म पुनःजागृत यूहन्‍ना वर्गका सदस्यहरूलाई निर्देशन दिनु पनि समावेश छ। त्यतिबेलाका अभिषिक्‍त जनहरू प्रचारकार्य र छापाखानाहरू पुनःव्यवस्थित गर्ने काममा जुटे। (प्रका. १२:१३, १४) तुरहीको आवाजले परमेश्‍वरका जनहरूले स्वर्गदूतहरूको सहयोगमा शैतानको संसार विरुद्ध परमेश्‍वरको न्यायदण्ड साहसका साथ सुनाउनुलाई बुझाउँछ। यो साहसिक काम मुख्यगरि सन्‌ १९२२ मा सिडार प्वाइन्ट, ओहायोमा भएको अधिवेशनबाट सुरु भयो र महासंकष्टसम्मै चलिरहनेछ।

८:१३; ९:१२; ११:१४—अन्तिम तीन तुरहीको आवाज “अभिशाप” हो, कसरी? पहिलो चार तुरहीको आवाज चर्चजगत्‌को मृत आध्यात्मिक अवस्था पर्दाफास गर्ने घोषणा थियो भने अन्तिम तीन तुरहीको आवाज चाहिं अभिशाप थियो किनभने यी खास घटनाहरूसित सम्बन्धित छन्‌। पाँचौ तुरहीको आवाज सन्‌ १९१९ मा परमेश्‍वरका जनहरूलाई निष्क्रियताको “अगाध खाँद”-बाट निकाल्नुसित र तिनीहरूको अटुट साक्षीकार्यसित सम्बन्धित छ जुन चर्चजगत्‌को लागि पिरोल्ने महामारी जस्तै भयो। (प्रका. ९:१) छैठौं चाहिं इतिहासकै सबैभन्दा विशाल घोडचढीहरूको आक्रमणसित अर्थात्‌ संसारभरि सन्‌ १९२२ मा सुरु भएको प्रचार अभियानसित सम्बन्धित छ। अन्तिम तुरही चाहिं मसीही राज्यको जन्मसित सम्बन्धित छ।

हाम्रो लागि पाठ:

९:१०, १९. “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले निकालेका प्रकाशनहरूमा भएको बाइबल आधारित आधिकारिक सन्देश डस्ने खालका छन्‌। (मत्ती २४:४५) यो सन्देशलाई ‘बिच्छीको जस्तै खील’ भएको सलहको पुच्छर र ‘साँपको जस्तै पुच्छर’ भएको घोडाहरूसित तुलना गर्न सकिन्छ। किन? किनभने प्रकाशनहरूले “[यहोवाको] बदला दिने दिन”-बारे चेतावनी दिन्छ। (यशै. ६१:२) ती वितरण गर्न हामी साहसी र जोसिलो होऔं।

९:२०, २१. गैर-ख्रीष्टियान धर्म मान्‍ने मुलुकका नम्र खाले मानिसहरूले हाम्रो सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाएका छन्‌। तर “बाँकी मानिस” भनिएका यी मुलुकका ठूला जमातले धर्म परिवर्तन गर्नेछन्‌ भन्‍ने आस हामीले गरेका छैनौं। तर हामी प्रचारकार्यमा लगनशील भई लागिरहन्छौं।

१२:१५, १६. “पृथ्वी”-ले—अर्थात्‌ शैतानको व्यवस्थाका तत्त्वहरू वा विभिन्‍न मुलुकका शासकहरूले—उपासनाको स्वतन्त्रतालाई समर्थन गरेका छन्‌। “अजीङ्‌गरजस्तै पशुले त्यसको मुखबाट निकालेको [सतावटको] नदी” ती शासकहरूले सन्‌ १९४० को दशकदेखि “निलिदियो।” साँच्चै, यहोवाले चाहनुभएको बेला आफ्नो इच्छा पूरा गर्न सरकारहरूलाई प्रभाव पार्न सक्नुहुन्छ। त्यसैले हितोपदेश २१:१ मा यसो भन्‍नु उपयुक्‍त छ: “राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैं जता मन लाए उतै उहाँले फर्काउनुहुन्छ।” यसले परमेश्‍वरप्रतिको हाम्रो विश्‍वासलाई बलियो बनाउनुपर्ने हो। (w 09 1/15)