सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानिस मरिसकेपछि वास्तवमा के हुन्छ?

मानिस मरिसकेपछि वास्तवमा के हुन्छ?

मानिस मरिसकेपछि वास्तवमा के हुन्छ?

“सबै प्राण अमर छन्‌, दुष्टको समेत। . . . कहिल्यै ननिभ्ने अग्निकुण्डमा जिउँदै अनन्त दण्ड भोग्नुपर्ने हुँदा तिनीहरूको पीडा [अन्त] हुने कुरै आउँदैन।”—क्लेमन्ट अफ अलेक्जेन्ड्रिया, इस्वी संवत्‌ दोस्रो र तेस्रो शताब्दीका लेखक।

क्लेमन्ट जस्तै अरू जसले नरक सास्ती दिइने ठाउँ हो भन्‍ने शिक्षालाई बढवा दिन्छन्‌ तिनीहरू मानिसमा अमर प्राण हुन्छ भन्ठान्छन्‌। के यस शिक्षालाई बाइबलले समर्थन गर्छ? तलका प्रश्‍नहरूको उत्तरमा परमेश्‍वरको वचन बाइबल के भन्छ, विचार गर्नुहोस्‌।

के पहिलो पुरुष आदम अमर थियो? आदमलाई सृष्टि गरे लगत्तै परमेश्‍वरले तिनलाई यस्तो आज्ञा दिनुभयो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्पत्ति २:१६, १७) हो, आदम अमर थिएनन्‌।

पाप गरेपछि आखिर आदमलाई के भयो? परमेश्‍वरले सुनाएको दण्ड नरकको अनन्त सास्ती थिएन। बरु, परमेश्‍वरले यस्तो दण्ड सुनाउनुभएको थियो: “माटोमा नफर्कुञ्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) मृत्युपछि आदमको कुनै भित्री भाग जीवित रह्‍यो भन्‍ने संकेत परमेश्‍वरको यस घोषणामा पाइँदैन।

के कुनै मानिस अमर छ? छैन। नयाँ संशोधित संस्करण बाइबलको उपदेशक ३:२० मा यसो भनिएको छ: “सबै एउटै ठाउँमा जान्छन्‌, किनभने सबै धूलोबाट आएका हुन्‌ र सबै धूलोमा फर्किजान्छन्‌।” प्रेरित पावलले यस्तो लेखे: “एउटै मानिसद्वारा [अर्थात्‌ आदमद्वारा] पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) सबै मानिस पापी छन्‌। त्यसैले, सबै मर्छन्‌।

के मरेकाहरूले केही जान्दछन्‌ वा महसुस गर्दछन्‌? परमेश्‍वरको वचन बाइबल भन्छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” (उपदेशक ९:५) मानिस मरेपछि के हुन्छ, बाइबल यसो भन्छ: “त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।” (भजन १४६:४) यदि मरेकाहरूले “केही पनि जान्दैनन्‌” र तिनीहरूका “युक्‍तिहरू नष्ट भइहाल्छन्‌” भने तिनीहरूले नरकको सास्ती पाएको कसरी महसुस गर्न सक्छन्‌ र?

येशू ख्रीष्टले मृत्युलाई कुनै प्रकारको चेतनासित होइन तर निद्रासित तुलना गर्नुभयो। (यूह. ११:११-१४) तर कतिपयले भने येशूले नरक भतभत पोल्ने ठाउँ हो र त्यस अग्निमय नरकमा पापीहरूलाई फ्याँकिन्छ भनेर सिकाउनुभयो भन्दै विरोध गर्लान्‌। येशूले नरकबारे वास्तवमा के भन्‍नुभयो, आउनुहोस्‌ विचार गरौं। (w 08 11/1)