सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको दास “हाम्रा अपराधको निम्ति घायल”

यहोवाको दास “हाम्रा अपराधको निम्ति घायल”

यहोवाको दास “हाम्रा अपराधको निम्ति घायल”

“ऊ ता हाम्रा अपराधको निम्ति घायल भयो। उसले हाम्रा अधर्मको निम्ति चोट पायो। . . . उसले पाएको . . . चोटले हामी निको भयौं।”—यशै. ५३:५.

१. स्मरणार्थ उत्सव मनाउँदा हामीले के कुरा मनमा राख्नुपर्छ र यसो गर्न हामीलाई कुन भविष्यवाणीले मदत गर्नेछ?

 हामी स्मरणार्थ उत्सवमा ख्रीष्टको मृत्यु अनि उहाँको मृत्यु र पुनरुत्थानले सम्भव तुल्याएका सबै कुराहरूको सम्झना गर्छौं। स्मरणार्थ उत्सवले हामीलाई यहोवाको सार्वभौमिकता उच्च पारिएको, उहाँको नाउँ पवित्र गरिएको अनि मानिसजातिको उद्धार र उहाँको उद्देश्‍यको पूर्ति भएको सम्झना दिलाउँछ। सायद यशैया ५३:३-१२ को भविष्यवाणीले जत्तिको राम्ररी बाइबलको अरू कुनै पनि भविष्यवाणीले ख्रीष्टको बलिदान र यसले सम्भव तुल्याएका कुराहरूको चित्रण गर्दैन। यशैयाले, दासले भोग्ने दुःखको भविष्यवाणी गरे अनि ख्रीष्टको मृत्युबारे र त्यसको कारण उहाँका अभिषिक्‍त भाइहरू र “अरू भेडा”-ले पाउने इनामहरूबारे तोकेरै विवरणहरू दिए।—यूह. १०:१६.

२. यशैयाको भविष्यवाणी केको प्रमाण हो र यसले हामीमा कस्तो प्रभाव पार्नेछ?

पृथ्वीमा ख्रीष्टको जन्म हुनुभन्दा सात सय वर्षअघि, यहोवाले उहाँको चुनिएको दास हदैसम्मको परीक्षामा परे तापनि वफादार रहिरहनेछ भनी यशैयालाई भविष्यवाणी गर्न लगाउनुभयो। पुत्र वफादार रहिरहने कुरामा यहोवा ढुक्क हुनुहुन्थ्यो भन्‍ने कुराको यो प्रमाण हो। यस भविष्यवाणीलाई केलाउँदै जाँदा हाम्रो हृदय कृतज्ञताले भरिनेछ र विश्‍वास बलियो हुनेछ।

“घृणित” र ‘कुनै मोलको गनेनन्‌’

३. यहूदीहरूले येशूलाई किन ग्रहण गर्नुपर्ने थियो तर तिनीहरूले उहाँसित कस्तो व्यवहार गरे?

यशैया ५३:३ पढ्‌नुहोस्‌। आफ्ना पिताको छेउमा रही सेवा गर्न छोडेर मानिसजातिलाई पाप र मृत्युबाट बचाउन पृथ्वीमा आई जीवन दिनु परमेश्‍वरका एकलौटे पुत्रको लागि कत्ति बेग्लै अनुभव थियो, विचार गर्नुहोस्‌ त! (फिलि. २:५-८) मानिसजातिले साँचो अर्थमा पापबाट क्षमा पाउन सकून्‌ भनी उहाँले बलिदान दिनुभयो र यसको छाया मोशाको व्यवस्थाअनुसार दिइने पशुबलि थियो। (हिब्रू १०:१-४) अरू कसैले नगरे पनि प्रतिज्ञा गरिएका मसीहको पर्खाइमा बसिरहेका यहूदीहरूले के उहाँलाई ग्रहण र आदर गर्नुपर्ने थिएन र? (यूह. ६:१४) त्यसको विपरीत, यशैयाले भविष्यवाणी गरेझैं ख्रीष्टलाई यहूदीहरूले “घृणित” ठाने र ‘कुनै मोलको गनेनन्‌।’ प्रेरित यूहन्‍नाले यस्तो लेखे: “उहाँ आफ्नैकहाँ आउनुभयो, औ आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्‌।” (यूह. १:११) प्रेरित पत्रुसले यहूदीहरूलाई भने: “हाम्रा पुर्खाका परमेश्‍वरले आफ्ना सेवक येशूको महिमा गराउनुभयो, जसलाई तपाईंहरूले चाहिं पक्राइदिनुभयो, र पिलातसको सामने उनले उहाँलाई छोडिदिने विचार गर्दा पनि तपाईंहरूले अस्वीकार गर्नुभयो। [हो] तपाईंहरूले पवित्र र धर्मी जनलाई अस्वीकार [गर्नुभयो]।”—प्रेरि. ३:१३, १४.

४. येशू रोगबिमारसित कसरी परिचित हुनुभयो?

येशू “कष्टसित परिचित” अर्थात्‌ रोगबिमारसित परिचित हुनेछ भनेर पनि यशैयाले भविष्यवाणी गरे। सेवकाईको दौडान येशू कहिलेकाहीं पक्कै थाक्नुभयो तर उहाँ बिरामी पर्नुभएको कुनै संकेत पाइँदैन। (यूह. ४:६) त्यसो भन्दैमा उहाँलाई आफूले प्रचार गरेका मान्छेहरू के-कस्तो रोगबिमारले पिरोलिएका छन्‌ थाह नै थिएन भन्‍ने चाहिं होइन। उहाँ तिनीहरूप्रति टिठाउनुभयो र धेरैलाई निको पार्नुभयो। (मर्कू. १:३२-३४) यसरी येशूले यो भविष्यवाणी पूरा गर्नुभयो: “निश्‍चय उसले हाम्रै कष्टहरू सह्‍यो, र हाम्रा दुःख भोग्यो।”—यशै. ५३:४क; मत्ती ८:१६, १७.

‘परमेश्‍वरबाट पिटिएझैं’

५. येशूको मृत्युलाई धेरै यहूदीहरूले कसरी हेरे र यसले उहाँको कष्टलाई किन अझै बढाइदियो?

यशैया ५३:४ख पढ्‌नुहोस्‌। येशूले दुःख र मृत्यु भोग्नुको कारण उहाँको समयका थुप्रै मानिसले बुझ्न सकेनन्‌। तिनीहरूले ठाने कि परमेश्‍वरले उहाँलाई सजाय दिइरहनुभएको छ। तिनीहरूको विचारमा त्यो, घृणित रोग दिएसरह थियो। (मत्ती २७:३८-४४) यहूदीहरूले येशूलाई परमेश्‍वरको निन्दा गरेको आरोप लगाए। (मर्कू. १४:६१-६४; यूह. १०:३३) निस्सन्देह, येशू न त पापी हुनुहुन्थ्यो न ईश्‍वर निन्दक नै। तर पिताप्रति दासको महान्‌ प्रेमलाई विचार गर्दा ईश्‍वर निन्दकको रूपमा मर्नुपर्ने सोचले मात्र पनि तिनको कष्टलाई अझै कति बढाइदियो होला! यद्यपि, दास यहोवाको इच्छाबमोजिम गर्न तयार थिए।—मत्ती २६:३९.

६, ७. कुन अर्थमा यहोवाले आफ्नो विश्‍वासी दासलाई “चोट” दिनुभयो र यसरी चोट दिंदा उहाँ किन आनन्दित हुनुभयो?

अरूले येशूलाई “परमेश्‍वरबाट . . . पिटिएको” ठान्‍नेछन्‌ भनेर यशैयाको भविष्यवाणीले बताउनु एउटा कुरा हो भने “उसलाई चोट पार्न परमप्रभुको इच्छा भयो” भनेर भविष्यवाणी गर्नु बिलकुलै अर्को कुरा हो। (यशै. ५३:१०) “मेरो दासलाई हेर, . . . मेरो चुनिएको, जसमा मेरो प्राण प्रसन्‍न हुन्छ” भनेर यहोवा आफैले भन्‍नुभएको कारण उहाँले कसरी येशूलाई “चोट पार्न . . . इच्छा” गर्न सक्नुहुन्छ र? (यशै. ४२:१) कुन अर्थमा यहोवाले यस्तो इच्छा गर्नुभयो अर्थात्‌ येशूलाई चोट पार्दा उहाँ आनन्दित हुनुभयो भन्‍न सकिन्छ?

भविष्यवाणीको यस भागलाई बुझ्न हामीले कुन कुरा सम्झनुपर्छ भने, यहोवाको सार्वभौमिकतालाई चुनौती दिंदा शैतानले स्वर्ग र पृथ्वीमा भएका परमेश्‍वरका सबै सेवकहरूको वफादारीमा प्रश्‍न खडा गरेको थियो। (अय्यू. १:९-११; २:३-५) मृत्युसम्मै विश्‍वासी रहेर येशूले शैतानको चुनौतीको मुखभरि जवाफ दिनुभयो। त्यसको लागि यहोवाले ख्रीष्टलाई शत्रुहरूको हातमा मर्न दिनुभए तापनि आफ्नो चुनिएको दास मारिएको देख्दा उहाँलाई निश्‍चय नै कष्ट भयो। तर, पुत्र शत प्रतिशत विश्‍वासी रहेको देख्दा उहाँको हृदय आनन्दित भयो। (हितो. २७:११) यसबाहेक, पुत्रको मृत्युले पश्‍चात्तापी मानिसहरूलाई लाभ पुऱ्‍याउनेछ भनेर थाह भएकोले पनि यहोवा एकदमै आनन्दित हुनुभयो।—लूका १५:७.

“हाम्रा अपराधको निम्ति घायल”

८, ९. (क) येशू कसरी “हाम्रा अपराधको निम्ति घायल” हुनुभयो? (ख) यस कुराको पुष्टि पत्रुसले कसरी गरे?

यशैया ५३:६ पढ्‌नुहोस्‌। आदमबाट पाएको रोगबिमार र मृत्युबाट मुक्‍ति खोज्दै पापी मानिसहरू हराएका भेडाहरूझैं यताउता बरालिएका छन्‌। (१ पत्रु. २:२५) आदमका सबै सन्तान असिद्ध भएकोले तिनले गुमाएको कुरा कसैले पनि फेरि किन्‍न सक्दैन। (भज. ४९:७) तर उहाँको महान्‌ प्रेमको कारण “परमप्रभुले उसमाथि [अर्थात्‌, आफ्नो प्रिय पुत्र र चुनिएको दासमाथि] हाम्रा सबै अधर्म हालिदिनुभयो।” “हाम्रा अपराधको निम्ति घायल” र “हाम्रा अधर्मको निम्ति चोट” पाउन राजी भएर ख्रीष्टले हाम्रो पाप शासनाको खम्बासम्म बोक्नुभयो र हाम्रो ठाउँमा मर्नुभयो।

प्रेरित पत्रुसले लेखे: “यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड्‌नलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो, हामी पापको लेखि मारेर धार्मिकताको लेखि बाँचौं भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो।” त्यसपछि यशैयाको भविष्यवाणीबाट उद्धृत गर्दै पत्रुसले अझ यसो भने: “उहाँकै चोटहरूमा तिमीहरू निको भयौ।” (१ पत्रु. २:२१, २४; यशै. ५३:५) यस तरिकामा परमेश्‍वरसित पुनः मिलापमा रहन पापीहरूका लागि बाटो खुल्यो। यसबारे पत्रुसले अझ यसो भने: “हामीलाई परमेश्‍वरकहाँ ल्याउनलाई ख्रीष्टले . . . अधर्मीहरूका निम्ति धर्मी भएर, पापहरूका निम्ति एकचोटि दुःख भोग्नुभयो।”—१ पत्रु. ३:१८.

“मारिनलाई लगेको थुमा”-झैं

१०. (क) बप्तिस्मा दिने यूहन्‍नाले येशूको वर्णन कसरी गरे? (ख) यूहन्‍नाका शब्दहरू किन उपयुक्‍त साबित भए?

१० यशैया ५३:७, ८ पढ्‌नुहोस्‌। बप्तिस्मा दिने यूहन्‍नाले येशू आउँदै गरेको देखेर भने: “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!” (यूह. १:२९) येशूलाई थुमा भन्दा “मारिनलाई लगेको थुमा”-झैं भनी यशैयाले भनेका शब्दहरू यूहन्‍नाले सम्झेको हुनुपर्छ। (यशै. ५३:७) यशैयाले यस्तो भविष्यवाणी गरेका थिए: “उसले आफ्नो जीवनरक्‍त खन्याएर प्राण दियो।” (यशै. ५३:१२) चाखलाग्दो कुरा के छ भने, येशूले आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापना गरेको रात ११ जना विश्‍वासी प्रेरितहरूलाई दाखमद्यको कचौरा दिंदै भन्‍नुभयो: “यो नयाँ करारको मेरो रगत हो, जो धेरैको निम्ति पापको प्रायश्‍चितको लागि, बहाइन्छ।”—मत्ती २६:२८.

११, १२. (क) बलि चढाइन इसहाक तयार भएको कुराले ख्रीष्टको बलिदानबारे के स्पष्ट पार्छ? (ख) स्मरणार्थ उत्सव मनाउँदा हामीले महान्‌ अब्राहाम यहोवाबारे के कुरा मनमा राख्नुपर्छ?

११ प्राचीन समयका इसहाक जस्तै येशू यहोवाको इच्छाबमोजिम उहाँको वेदीमा बलिदानको रूपमा आफूलाई अर्पण गर्न राजीखुसी तयार हुनुभयो। (उत्प. २२:१, २, ९-१३; हिब्रू १०:५-१०) बलि चढाइन इसहाक तयार भएको भए तापनि बलिदान चढाउन लागेका व्यक्‍ति अब्राहाम थिए। (हिब्रू ११:१७) त्यसैगरि, येशू मर्न तयार हुनुभए तापनि छुटकाराको लागि सबै प्रबन्ध मिलाउनुहुने त यहोवा नै हुनुहुन्थ्यो। पुत्रको बलिदान, मानिसजातिप्रति परमेश्‍वरको गहिरो प्रेमको अभिव्यक्‍ति हो।

१२ येशू आफैले भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूह. ३:१६) प्रेरित पावलले लेखे: “परमेश्‍वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।” (रोमी ५:८) हो, हामीले ख्रीष्टको मृत्युको सम्झना गर्दै उहाँको आदर गर्नुपर्छ। तर छुटकाराको बलिदानको सबै प्रबन्ध मिलाउनुहुने महान्‌ अब्राहाम यहोवा हुनुहुन्छ भनेर पनि कहिल्यै बिर्सनुहुँदैन। उहाँको प्रशंसा गर्न हामी स्मरणार्थ उत्सव मनाउँछौं।

दासले “धेरैलाई धर्मीको गणनामा” ल्याउँछ

१३, १४. यहोवाको दासले “धेरैलाई धर्मीको गणनामा” कसरी ल्याए?

१३ यशैया ५३:११, १२ पढ्‌नुहोस्‌। आफ्नो चुनिएको दासबारे यहोवाले भन्‍नुभयो: “मेरो दासले धेरैलाई धर्मीको गणनामा ल्याउनेछ, र उसले तिनीहरूका अधर्म बोक्नेछ।” कसरी? यसबारे पद १२ को अन्ततिर यस्तो संकेत दिइएको छ: “अपराधीहरूका निम्ति [दासले] अर्जबिन्ती गऱ्‍यो।” आदमका सबै सन्तान पापी, “अपराधी” हुन्‌। त्यसैले तिनीहरूले “पापको ज्याला” मुख्यगरि मृत्यु पाउँछन्‌। (रोमी ५:१२; ६:२३) यहोवा र पापी मानिसबीच पुनः मिलाप हुनु आवश्‍यक छ। येशूले कसरी पापी मानिसजातिको लागि “अर्जबिन्ती” वा बिन्ती गर्नुभयो, यशैयाको भविष्यवाणीको अध्याय ५३ मा सुन्दर ढंगमा व्याख्या गरिएको छ: “हाम्रै शान्तिको निम्त दण्ड उसमाथि पऱ्‍यो, र उसले पाएको . . . चोटले हामी निको भयौं।”—यशै. ५३:५.

१४ हाम्रो पाप आफूले बोकेर अनि हाम्रो लागि मरेर ख्रीष्टले “धेरैलाई धर्मीको गणनामा” ल्याउनुभयो। पावलले लेखे: “सारा पूर्णता उहाँमानै बास गरोस्‌ भनी पितालाई यही खुश लाग्यो, औ उहाँको क्रूसको [अर्थात्‌, “शासनाको खम्बाको,” NW] रगतद्वारा शान्ति गराएर उहाँद्वारै सबै थोक, चाहे पृथ्वीका, चाहे स्वर्गका, उहाँद्वारानै आफैसँग मिलाप गराउनुभयो।”—कल. १:१९, २०.

१५. (क) पावलले उल्लेख गरेका ‘स्वर्गका थोक’ को हुन्‌? (ख) स्मरणार्थ उत्सवका प्रतीकहरूमा कसले मात्र भाग लिन सक्छन्‌, र किन?

१५ येशूले बगाएको रगतद्वारा परमेश्‍वरसित पुनः मिलाप गराइएका ‘स्वर्गका थोक’ अभिषिक्‍त ख्रीष्टियानहरू हुन्‌ जसलाई ख्रीष्टसँगै स्वर्गमा शासन गर्न बोलावट भएको छ। “स्वर्गीय बोलावटका सहभागी” ख्रीष्टियानहरू “धर्मी ठहरिएका” छन्‌। (हिब्रू ३:१; रोमी ५:१, १८) त्यसपछि यहोवाले तिनीहरूलाई आत्मिक पुत्रका रूपमा स्वीकार्नुहुन्छ। स्वर्गीय राज्यमा राजा र पूजाहारी हुन बोलावट भएका तिनीहरू “ख्रीष्टसँग साझे-हकवाला” हुन्‌ भनी पवित्र आत्माले गवाही दिन्छ। (रोमी ८:१५-१७; प्रका. ५:९, १०) तिनीहरू आत्मिक इस्राएल अर्थात्‌ “परमेश्‍वरका इस्राएल”-को भाग बन्छन्‌ र “नयाँ करार”-मा बाँधिन्छन्‌। (यर्मि. ३१:३१-३४; गला. ६:१६) नयाँ करारका सदस्यको हैसियतमा तिनीहरूले स्मरणार्थ उत्सवका प्रतीकहरूमा भाग लिन सक्छन्‌। यसमा रातो दाखमद्य पनि पर्छ जसबारे येशूले भन्‍नुभयो: “यो कचौरा तिमीहरूका निम्ति बगेको मेरो रगतमा भएको नयाँ करार हो।”—लूका २२:२०.

१६. ‘पृथ्वीका थोक’ के हुन्‌ र तिनीहरूलाई केको आधारमा धर्मीको गणनामा ल्याइन्छ?

१६ ‘पृथ्वीका थोक’ ख्रीष्टका अरू भेडा हुन्‌ जसले यसै पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्छन्‌। यहोवाको चुनिएको दासले तिनीहरूलाई पनि धर्मीको गणनामा ल्याउँछन्‌। ख्रीष्टको छुटकाराको बलिदानमा तिनीहरूले विश्‍वास गरेर “आफ्ना-आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका” हुनाले यहोवाले तिनीहरूलाई धर्मी ठहऱ्‍याउनुहुन्छ तर उहाँको आत्मिक पुत्रको रूपमा नभई मित्रको रूपमा। उहाँले तिनीहरूलाई “महासङ्‌कष्ट”-बाट बच्ने सुन्दर आशा प्रदान गर्नुहुन्छ। (प्रका. ७:९, १०, १४; याकू. २:२३) नयाँ करारमा नबाँधिएकोले अरू भेडाले स्वर्गमा जाने आशा राख्दैनन्‌। त्यसैले तिनीहरू स्मरणार्थ उत्सवका प्रतीकहरू खाँदैनन्‌ वा पिउँदैनन्‌ तर कृतज्ञ दर्शक भई उपस्थित हुन्छन्‌।

यहोवा र उहाँको चुनिएको दासप्रति कृतज्ञ!

१७. दासमा केन्द्रित यशैयाका भविष्यवाणीहरूको अध्ययनले हाम्रो मनलाई स्मरणार्थ उत्सवको लागि तयार बनाउन कसरी मदत गरेको छ?

१७ ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवको लागि हाम्रो मन तयार राख्न परमेश्‍वरको दासमा केन्द्रित यशैयाका भविष्यवाणीहरू केलाउँदा हामीलाई ठूलो मदत पुगेको छ। यसले गर्दा हामी ‘विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूलाई [ध्यान दिएर] हेर्न’ सक्षम भएका छौं। (हिब्रू १२:२) परमेश्‍वरका पुत्र विद्रोही हुनुहुन्‍न भनेर हामीले सिकेका छौं। शैतान जस्तो नभई उहाँ यहोवाद्वारा सिक्न पाएकोमा आनन्दित हुनुहुन्छ र यहोवालाई सार्वभौम परमेश्‍वरको रूपमा स्वीकार्नुहुन्छ। हामीले बुझेका छौं कि उहाँले पार्थिव सेवकाईको दौडान आफूले प्रचार गरेका मानिसहरूप्रति दया देखाउनुभयो र तिनीहरूमध्ये धेरैलाई शारीरिक तथा आध्यात्मिक तवरमा निको पार्नुभयो। यसरी उहाँले नयाँ रीतिरिवाजमा मसीही राजाको हैसियतले “पृथ्वीमा न्याय स्थिर” गर्नुहुँदा के गर्नुहुनेछ, त्यो देखाउनुभयो। (यशै. ४२:४) “जाति-जातिहरूको ज्योतिको” रूपमा परमेश्‍वरको राज्य प्रचार गर्न उहाँले देखाएको जोस उहाँका अनुयायीहरूका निम्ति संसारभरि जोसका साथ सुसमाचार प्रचार गर्न एउटा सम्झौटो भएको छ।—यशै. ४२:६.

१८. यशैयाको भविष्यवाणीले हाम्रो हृदय किन यहोवा र उहाँको विश्‍वासी दासप्रति कृतज्ञताले ओतप्रोत बनाइदिन्छ?

१८ यहोवाले आफ्ना पुत्र पृथ्वीमा हाम्रो लागि दुःख भोग्न र मर्नको लागि पठाउनुभएर गरेको महान्‌ त्यागबारे हाम्रो समझलाई पनि यशैयाको भविष्यवाणीले अझ बढाउँछ। यहोवा आनन्दित हुनुभएको, पुत्रले दुःख भोगेको देखेर होइन तर मृत्युसम्मै शत प्रतिशत विश्‍वासी रहेको देखेर हो। शैतानलाई झूटा साबित गर्न अनि यहोवाको नाउँ पवित्र पार्न येशूले गर्नुभएको सबै कुरा मानिलिंदै हामी यहोवासँगसँगै आनन्दित हुनुपर्छ। येशूका यी कार्यले गर्दा यहोवाको सार्वभौमिकताको वैधता प्रमाणित भयो। यसबाहेक, ख्रीष्टले हाम्रो पाप आफ्नै काँधमा बोक्नुभयो र हाम्रो लागि मर्नुभयो। यस तरिकामा सानो बगालका ख्रीष्टका अभिषिक्‍त भाइहरू र अरू भेडा यहोवासामु धर्मी ठहरिन सके। हामी स्मरणार्थ उत्सवमा भेला हुँदा यहोवा र उहाँको विश्‍वासी दासप्रति हाम्रो हृदय कृतज्ञताले ओतप्रोत होस्‌। (w 09 1/15)

पुनरावलोकन गर्दा

• आफ्ना पुत्रले ‘चोट’ पाओस्‌ भनेर यहोवाले ‘इच्छा’ गर्नुभयो भनी कुन अर्थमा भन्‍न सकिन्छ?

• येशू कसरी “हाम्रा अपराधको निम्ति घायल” हुनुभयो?

• दासले कसरी “धेरैलाई धर्मीको गणनामा” ल्याउनुभयो?

• दाससम्बन्धी भविष्यवाणीहरूको अध्ययनले स्मरणार्थ उत्सवको लागि तपाईंको मनमष्तिस्कलाई कसरी तयार पारेको छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको चित्र]

“ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं”

[पृष्ठ २९-मा भएको चित्र]

“अरू भेडा” कृतज्ञ दर्शकको रूपमा स्मरणार्थ उत्सवमा उपस्थित हुन्छन्‌