सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हेर! त्यो दास जसमा यहोवा प्रसन्‍न हुनुहुन्छ

हेर! त्यो दास जसमा यहोवा प्रसन्‍न हुनुहुन्छ

हेर! त्यो दास जसमा यहोवा प्रसन्‍न हुनुहुन्छ

“मेरो दासलाई हेर, . . . जसमा मेरो प्राण प्रसन्‍न हुन्छ।”—यशै. ४२:१.

१. विशेषगरि स्मरणार्थ उत्सव नजिकै आउँदा यहोवाका जनहरूलाई के गर्न प्रोत्साहन दिइन्छ र किन?

 ख्रीष्टको मृत्युको सम्झना गर्ने दिन नजिकै आउँदा परमेश्‍वरका जनहरूलाई “विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं” भन्‍ने प्रेरित पावलको सल्लाह पालन गर्न प्रोत्साहन दिइन्छ। पावलले अझै यसो भने: “पापीहरूबाट उहाँको विरुद्धमा भएको यतिका विवादहरू सहनुहुनेलाई विचार गर, औ मन शिथिल भई तिमीहरू थाकेर नजाओ।” (हिब्रू १२:२, ३) अन्ततः आफ्नो शरीर अर्पण गर्नुभएका येशूको विश्‍वासी मार्गलाई नियाल्दा अभिषिक्‍त ख्रीष्टियान र तिनीहरूका सँगी अरू भेडाले विश्‍वासी भई यहोवाको सेवा गरिरहन र ‘थाकेर नजान’ मदत पाउनेछन्‌।—गलाती ६:९ तुलना गर्नुहोस्‌।

२. परमेश्‍वरका पुत्रसित सम्बन्धित यशैयाका भविष्यवाणीहरूबाट हामी के सिक्न सक्छौं?

यहोवाले अगमवक्‍ता यशैयालाई सिलसिलेवार ढंगमा आफ्ना पुत्रसित सीधै सम्बन्धित भविष्यवाणीहरू गर्न उत्प्रेरित गर्नुभयो। यी भविष्यवाणीले हामीलाई “विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने” ख्रीष्ट येशूलाई नजिकबाट ‘हेर्न’ मदत गर्नेछ। a साथै, उहाँको व्यक्‍तित्व, उहाँले भोगेका कष्टहरू अनि हाम्रा राजा र उद्धारकको रूपमा उहाँलाई उच्च पारिएको कुरालाई प्रकाश पार्छ। अनि स्मरणार्थ उत्सवबारे हाम्रो समझलाई बढाउँछ। यस वर्ष यो उत्सव अप्रिल ९, बिहीबार सूर्यास्तपछि मनाइनेछ।

दास को हो?

३, ४. (क) यशैयाको पुस्तकमा बताइएको “दास”-ले क-कसलाई बुझाउँछ? (ख) यशैया अध्याय ४२, ४९, ५०, ५२ र ५३ मा बताइएको दासको परिचय बाइबलले नै दिन्छ, कसरी?

“दास” शब्द यशैयाको पुस्तकमा थुप्रै चोटि प्रयोग गरिएको छ। कहिलेकाहीं यो शब्दले अगमवक्‍ता यशैया आफैलाई बुझाउँछ। (यशै. २०:३; ४४:२६) अनि कहिलेकाहीं चाहिं पूरै इस्राएल राष्ट्र अथवा याकूबलाई बुझाउन प्रयोग गरिएको छ। (यशै. ४१:८, ९; ४४:१, २, २१) तर यशैया अध्याय ४२, ४९, ५०, ५२ र ५३ मा पनि दासबारे महत्त्वपूर्ण भविष्यवाणीहरू छन्‌। त्योचाहिं कसबारे हो नि? ती अध्यायहरूमा बताइएका दास को हुन्‌, ख्रीष्टियान युनानी धर्मशास्त्रले स्पष्ट पारिदिन्छ। चाखलाग्दो कुरा के छ भने, प्रेरित पुस्तकमा उल्लिखित इथियोपियाली अधिकारीलाई सुसमाचारक फिलिपले पवित्र आत्माबाट निर्देशन पाएर भेट्‌न जाँदा तिनले त्यही भविष्यवाणी पढिरहेका थिए। अहिले यशैया ५३:७, ८ मा पाइने उक्‍त विवरण पढिसकेपछि ती अधिकारीले फिलिपलाई भने: “बिन्ती छ भन्‍नुहोस्‌, अगमवक्‍ताले यो कसको विषयमा भनेका हुन्‌, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा?” यशैयाले मसीह अर्थात्‌ येशूबारे नै कुरा गरिरहेका थिए भनी फिलिपले तुरुन्तै बताए।—प्रेरि. ८:२६-३५.

येशू बालककै छँदा धर्मी पुरुष शिमियोनले पवित्र आत्माको शक्‍ति पाएर यशैया ४२:६ र ४९:६ मा भविष्यवाणी गरेझैं “बालक येशू” “अन्य जातिहरूलाई प्रकाशको निम्ति . . . ज्योति” हुनेछन्‌ भनी घोषणा गरे। (लूका २:२५-३२) साथै, येशूले आफ्नो पुर्पक्षको रात भोगेको अपमानजनक दुर्व्यवहारबारे यशैया ५०:६-९ मा भविष्यवाणी गरिएको थियो। (मत्ती २६:६७; लूका २२:६३) इस्वी संवत्‌ ३३ पेन्तिकोसपछि प्रेरित पत्रुसले यहोवाका “दास” येशू हुन्‌ भनी स्पष्टै बताए। (यशै. ५२:१३; ५३:११; प्रेरित ३:१३, २६ पढ्‌नुहोस्‌) मसीहसम्बन्धी यी भविष्यवाणीहरूबाट हामी के सिक्न सक्छौं?

यहोवा आफ्नो दासलाई तालिम दिनुहुन्छ

५. दासले कस्तो तालिम पाए?

परमेश्‍वरको दासबारे यशैयाको एउटा भविष्यवाणीमा उहाँ र उहाँका जेठो पुत्रबीच पृथ्वीमा आउनुअघि रहेको घनिष्ठ सम्बन्ध प्रकाश पारिएको छ। (यशैया ५०:४-९ पढ्‌नुहोस्‌) दास आफै पनि यहोवाबाट निरन्तर पाएको तालिमबारे यसो भन्छन्‌: “सिक्नेहरूलाई झैं सुन्‍न उहाँले मेरो कान खोलिदिनुहुन्छ।” (यशै. ५०:४) दासले त्यो समयको दौडानभरि पिताको कुरा सुने, उहाँबाट सिके र आज्ञाकारी चेला बने। ब्रह्‍माण्डका सृष्टिकर्ताबाट सिक्न पाउनु कत्ति अनुपम सुअवसर!

६. आफ्ना पिताको अधीनमा पूर्णतया रहेको कुरा दासले कसरी संकेत गरे?

यस भविष्यवाणीमा दासले आफ्ना पितालाई “सार्वभौम परमेश्‍वर [यहोवा]” भनेका छन्‌। यसबाट के स्पष्ट हुन्छ भने दासले यहोवाको सार्वभौमिकताबारे महत्त्वपूर्ण सत्य सिकेका थिए। पूर्णतया आफ्ना पिताको अधीनमा रहेको कुरा संकेत गर्दै दासले यस्तो उल्लेख गरे: “परमप्रभु [अर्थात्‌, “सार्वभौम,” NW ] परमेश्‍वरले मेरो कान खोल्नुभएको छ, र म बागी भइनँ। औ पछि पनि हटिनँ।” (यशै. ५०:५) ब्रह्‍माण्ड र मानिसको सृष्टि गर्दा तिनी “[“मुख्य,” NW ] कारीगरझैं [यहोवाको] छेउमा” थिए। यी “मुख्य कारीगर” ‘यहोवाको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थे। उहाँले बनाएको सिङ्‌गो संसारमा आनन्दित हुँदै [उहाँका पुत्र] मानव-जातिमा प्रसन्‍न रहन्थे।’—हितो. ८:२२-३१, NRV.

७. परीक्षाको बेला पिताले सहायता गर्नुहुन्छ भन्‍ने कुरामा दास विश्‍वस्त थिए भनी कसरी थाह पाउँछौं?

दासले पाएको यो तालिम र मानिसजातिप्रतिको तिनको प्रेम पृथ्वीमा आउँदा र तीव्र विरोधको सामना गर्नुपर्दा एकदमै काम लाग्यो। कठोर सतावट भोग्नुपर्दा समेत पिताको इच्छाबमोजिम गर्न तिनी सधैं प्रसन्‍न थिए। (भज. ४०:८; मत्ती २६:४२; यूह. ६:३८) पृथ्वीमा भोग्नुपरेको विभिन्‍न परीक्षाको दौडानभरि नै पिताको अनुमोदन र समर्थन पाउने कुरामा येशू विश्‍वस्त हुनुहुन्थ्यो। यशैयाको भविष्यवाणीमा बताएझैं येशूले यसो भन्‍न सक्नुभयो: “मलाई धर्मी ठहराउनुहुने मेरो नजिकै हुनुहुन्छ। को मसित बहस गर्ने छ र? . . . हेर परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुनेछ।” (यशै. ५०:८, ९) यशैयाको अर्को एउटा भविष्यवाणीमा बताएझैं यहोवाले आफ्नो विश्‍वासी दासलाई पृथ्वीमा तिनको सेवा अवधिभर साँच्चै सहायता गर्नुभयो।

पृथ्वीमा दासको सेवकाई

८. यशैया ४२:१ मा भविष्यवाणी गरिएको “चुनिएको” जन येशू नै हुनुहुन्छ भनी कसरी प्रमाणित हुन्छ?

इस्वी संवत्‌ २९ मा येशूले बप्तिस्मा लिंदा के भयो, बाइबल भन्छ: “पवित्र आत्मा . . . उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट एउटा यस्तो वाणी भयो, ‘तिमी मेरा प्यारा पुत्र हौ, तिमीसित म प्रसन्‍न छु।’ ” (लूका ३:२१, २२) यसरी यहोवाले यशैयाको भविष्यवाणीमा बताएको “चुनिएको” जन को हो स्पष्ट पार्नुभयो। (यशैया ४२:१-७ पढ्‌नुहोस्‌) पृथ्वीमा आफ्नो सेवकाईको दौडान येशूले यो भविष्यवाणी उल्लेखनीय तरिकामा पूरा गर्नुभयो। मत्तीले आफ्नो सुसमाचारको पुस्तकमा यशैया ४२:१-४ का शब्दहरू उद्धृत गर्दै येशूमा लागू गरे।—मत्ती १२:१५-२१.

९, १०. (क) येशूले आफ्नो सेवकाईको दौडान यशैया ४२:३ मा बताएको कुरा कसरी पूरा गर्नुभयो? (ख) पृथ्वीमा हुँदा ख्रीष्टले कसरी “न्याय” प्रकट गर्नुभयो र कहिले “पृथ्वीमा न्याय स्थिर” गर्नुहुनेछ?

यहूदी धर्मगुरुहरूले सर्वसाधारण यहूदीलाई मान्छे नै गन्दैन थिए। (यूह. ७:४७-४९) मानिसहरूसित नराम्रो व्यवहार गर्थे। “चूर पारिएको निगालो” वा “निभ्नै लागेको सलेतो” ठान्थे। तर येशूले गरिब र दुःखमा परेकाहरूलाई दया देखाउनुभयो। (मत्ती ९:३५, ३६) त्यस्ता व्यक्‍तिहरूलाई उहाँले यस्तो न्यानो निमन्त्रणा दिनुभयो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” (मत्ती ११:२८) यसबाहेक, सही र गलतसम्बन्धी यहोवाका स्तरहरू सिकाएर येशूले “न्याय” प्रकट गर्नुभयो। (यशै. ४२:३) साथै, व्यावहारिकता र दयाका साथ परमेश्‍वरको व्यवस्था लागू गर्नुपर्छ भनेर उहाँले देखाउनुभयो। (मत्ती २३:२३) धनी र गरिब दुवैप्रति पूर्वाग्रह नराखी प्रचार गरेर पनि उहाँले न्याय प्रकट गर्नुभयो।—मत्ती ११:५; लूका १८:१८-२३.

१० यहोवाको “चुनिएको” जनले “पृथ्वीमा न्याय स्थिर” गर्नेछ भनेर पनि यशैयाको भविष्यवाणी बताउँछ। (यशै. ४२:४) उहाँले जब मसीही राज्यका राजाको रूपमा सबै राजनैतिक व्यवस्थालाई हटाएर आफ्नो धार्मिक शासन सुरु गर्नुहुन्छ तब यो कुरा तुरुन्तै पूरा हुनेछ। उहाँले नयाँ संसार ल्याउनुहुनेछ जहाँ “धार्मिकताले बास” गर्नेछ।—२ पत्रु. ३:१३; दानि. २:४४.

“ज्योति” र “करार”

११. प्रथम शताब्दीमा येशू कुन अर्थमा “जाति-जातिहरूको ज्योति” हुनुभयो अनि आज वर्तमान समयमा नि?

११ यशैया ४२:६ पूरा गर्दै येशूले आफूलाई साँच्चै “जाति-जातिहरूको ज्योति” प्रमाणित गर्नुभयो। येशूले आफ्नो पार्थिव सेवकाईको दौडान मुख्यगरि यहूदीहरूलाई आध्यात्मिक ज्योति प्रदान गर्नुभयो। (मत्ती १५:२४; प्रेरि. ३:२६) तर येशूले “म संसारको ज्योति हुँ” भन्‍नुभयो। (यूह. ८:१२) उहाँले यहूदी र अन्यजातिहरूलाई आध्यात्मिक ज्ञान दिएर मात्र होइन तर आफ्नो सिद्ध मानव शरीर सबै मानिसजातिको छुटकाराको लागि अर्पण गरेर आफूलाई ज्योति साबित गर्नुभयो। (मत्ती २०:२८) आफ्नो पुनरुत्थान पछि उहाँले चेलाहरूलाई “पृथ्वीको अन्तसम्म” उहाँको गवाही हुन आज्ञा गर्नुभयो। (प्रेरि. १:८) पावल र वर्णाबासले सेवकाईको दौडान “जाति-जातिहरूको ज्योति” भन्‍ने अभिव्यक्‍ति उद्धृत गरे र गैर-यहूदीहरूमाझ गरिरहेको प्रचारकार्यमा लागू गरे। (प्रेरि. १३:४६-४८; यशैया ४९:६ तुलना गर्नुहोस्‌) यो काम अझै गरिंदैछ। कसरी? पृथ्वीमा रहेका येशूका अभिषिक्‍त भाइहरू र तिनीहरूका सँगीहरूले आध्यात्मिक ज्योति फैलाएर अनि “जाति-जातिहरूको ज्योति” येशूमा विश्‍वास गर्न मानिसहरूलाई मदत गरेर।

१२. यहोवाले आफ्नो दासलाई कसरी “जाति-जातिहरूका निम्ति करार”-को रूपमा दिनुभएको छ?

१२ सोही भविष्यवाणीमा यहोवाले आफ्नो चुनिएको दासलाई यसो भन्‍नुभयो: “तिम्रो रक्षा गरेको छु। तिमीलाईनै मैले जाति-जातिहरूका निम्ति करार”-को रूपमा दिएको छु। (यशै. ४२:६) येशूलाई खतम पार्न र पृथ्वीमा उहाँको सेवकाई पूरा गर्न नदिन शैतानले कुचेष्टा गरी नै रह्‍यो तर यहोवाले दासको मृत्युको समय नभइन्जेल रक्षा गरिरहनुभयो। (मत्ती २:१३; यूह. ७:३०) त्यसपछि यहोवाले येशूको पुनरुत्थान गर्नुभयो र पृथ्वीका मानिसहरूका लागि उहाँलाई “करार” वा धरौटीको रूपमा दिनुभयो। त्यस गम्भीर वाचाले के आश्‍वस्त पाऱ्‍यो भने, परमेश्‍वरको विश्‍वासी दास आध्यात्मिक अन्धकारमा भएकाहरूलाई छुटाउँदै “जाति-जातिहरूको ज्योति” भइरहनेछ।—यशैया ४९:८, ९ पढ्‌नुहोस्‌।

१३. येशूले पार्थिव सेवकाईको दौडान कसरी ‘अन्धकारमा बस्नेहरूलाई’ उद्धार गर्नुभयो र अहिले कसरी गरिरहनुभएको छ?

१३ यो प्रतिज्ञाअनुसारै यहोवाको चुनिएको दासले ‘अन्धाहरूका आँखा खोल्नेछ,’ ‘कैदीहरूलाई कैदबाट निकाल्नेछ,’ र ‘अन्धकारमा बस्नेहरूलाई’ उद्धार गर्नेछ। (यशै. ४२:७) यो, येशूले पार्थिव सेवकाईको दौडान झूटा धार्मिक परम्पराहरूको पर्दाफास गरेर अनि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरेर गर्नुभयो। (मत्ती १५:३; लूका ८:१) यस तरिकामा उहाँले यहूदीहरूलाई आध्यात्मिक बन्धनबाट मुक्‍त गर्नुभयो जो उहाँका चेला बने। (यूह. ८:३१, ३२) त्यसैगरि, उहाँले लाखौं गैर-यहूदीहरूलाई आध्यात्मिक मुक्‍ति दिनुभएको छ। “जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु” भनेर प्रतिज्ञा गर्दै उहाँले अनुयायीहरूलाई “गएर सबै देशका जातिहरूलाई चेला बनाओ” भनी आज्ञा गर्नुभएको छ। (मत्ती २८:१९, २०) स्वर्गमा रहेर ख्रीष्ट येशूले संसारभरि भइरहेको प्रचारकार्यको निरीक्षण गरिरहनुभएको छ।

यहोवाले “दास”-लाई उच्च पार्नुभयो

१४, १५. यहोवाले दासलाई किन र कसरी उच्च पार्नुभयो?

१४ आफ्नो मसीही दासबारे अझै अर्को भविष्यवाणीमा यहोवा यसो भन्‍नुहुन्छ: “हेर, मेरो दास सफल हुनेछ। त्यो उच्च पारिनेछ र अल्गाइनेछ। औ अति उच्च हुनेछ।” (यशै. ५२:१३) उहाँको सार्वभौमिकताप्रति पुत्र वफादार भई अधीनमा बसेको र एकदमै कठिन परीक्षामा विश्‍वासी रहेको कुरालाई विचार गर्दै यहोवाले उहाँलाई उच्च पार्नुभयो।

१५ प्रेरित पत्रुसले येशूबारे यस्तो लेखे: “उहाँ स्वर्गमा गएर परमेश्‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ। स्वर्गदूतहरू, अख्तियारहरू र शक्‍तिहरू उहाँकै अधीनमा राखिएका छन्‌।” (१ पत्रु. ३:२२) त्यसैगरि प्रेरित पावलले यस्तो लेखे: “रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको [अर्थात्‌, “शासनाको खम्बाको,” NW] मृत्युसम्मै आफूलाई होच्याउनुभयो। त्यसैकारणले पनि परमेश्‍वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।”—फिलि. २:८-११.

१६. सन्‌ १९१४ मा येशूलाई कसरी “अति उच्च” पारियो र त्यतिबेलादेखि उहाँले के-के गर्नुभएको छ?

१६ सन्‌ १९१४ मा यहोवाले येशूलाई अझै उच्च पार्नुभयो। यहोवाले उहाँलाई मसीही राज्यका राजा नियुक्‍त गर्नुहुँदा “अति उच्च” पार्नुभयो। (भज. २:६; दानि. ७:१३, १४) त्यतिबेला देखि ख्रीष्ट “[आफ्ना] शत्रुहरूका बीचमा . . . राज्य” गर्दै अघि बढ्‌नुभएको छ। (भज. ११०:२) उहाँले सबैभन्दा पहिला शैतान तथा त्यसका प्रेतहरूलाई पृथ्वीमा फ्याँकेर तिनीहरूलाई वशमा पार्नुभयो। (प्रका. १२:७-१२) अनि महान्‌ कोरेसको रूपमा कदम चाल्दै ख्रीष्टले पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त भाइहरूलाई “महान्‌ बेबिलोनको” चङ्‌गुलबाट मुक्‍त गर्नुभयो। (प्रका. १८:२; यशै. ४४:२८) उहाँको निर्देशनमा संसारभरि प्रचारकार्य भइरहेको छ। नतिजास्वरूप, उहाँका आध्यात्मिक भाइहरूका “बाँकी सन्तानहरू” र “सानो बगाल”-का लाखौं वफादार सँगी “अरू भेडा” जम्मा भएका छन्‌—प्रका. १२:१७; यूह. १०:१६; लूका १२:३२.

१७. “दास”-को सन्दर्भमा अहिलेसम्म अध्ययन गरेको यशैयाको भविष्यवाणीबाट हामीले के सिकेका छौं?

१७ यशैयाको पुस्तकका यी उल्लेखनीय भविष्यवाणीहरूको अध्ययनपछि हाम्रा राजा र उद्धारक ख्रीष्ट येशूप्रति हामी अवश्‍यै अझ कृतज्ञ भएका छौं। पृथ्वीमा आउनुअघि पिताबाट कस्तो तालिम पाउनुभएको थियो भन्‍ने कुरा पृथ्वीमा हुनुहुँदा पुत्रको रूपमा उहाँले देखाएको अधीनताबाट स्पष्ट भयो। उहाँले आफ्नै सेवकाईबाट र हाम्रो दिनसम्मै भइरहेको प्रचारकार्यमा निगरानी राखेर आफूलाई “जाति-जातिहरूको ज्योति” प्रमाणित गर्नुभएको छ। मसीही दासले दुःख झेल्नेछ र अरूको लागि आफ्नो जीवन अर्पण गर्नेछ भनेर गरिएको अर्को भविष्यवाणीबारे यसपछिको लेखमा छलफल गर्नेछौं। उहाँको मृत्युको स्मरणार्थ उत्सव नजिकै आउँदा हामीले यी कुरा गौर गरेर ‘हेर्नुपर्छ।’—हिब्रू १२:२, ३. (w 09 1/15)

[फुटनोट]

a यी भविष्यवाणीहरू यशैया ४२:१-७; ४९:१-१२; ५०:४-९ र ५२:१३–५३:१२ मा पढ्‌न सक्नुहुन्छ।

पुनरावलोकन गर्दा

• यशैयाको भविष्यवाणीमा उल्लेख गरिएको “दास” को हो र यो हामी कसरी थाह पाउन सक्छौं?

• दासले यहोवाबाट कस्तो तालिम पाए?

• येशू “जाति-जातिहरूका ज्योति” हुनुहुन्छ, कसरी?

• दासलाई कसरी उच्च पारियो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको चित्र]

येशूलाई पिताले उच्च पार्नुभयो र मसीही राज्यका राजा नियुक्‍त गर्नुभयो