सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रकाशको पुस्तकका विशेषताहरू—भाग २

प्रकाशको पुस्तकका विशेषताहरू—भाग २

यहोवाको वचन जीवित छ

प्रकाशको पुस्तकका विशेषताहरू—भाग २

यहोवाको उपासना गर्ने र नगर्ने मानिसहरूको भविष्य कस्तो छ? अनि शैतान र त्यसका प्रेतहरूको नि? ख्रीष्टको हजार वर्षीय शासनको दौडान आज्ञाकारी मानिसहरूले कस्ता आशिष्‌ पाउनेछन्‌? यी र अन्य महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ प्रकाश १३:१–२२:२१ मा पाइन्छ। a यी अध्यायहरूमा, प्रेरित यूहन्‍नाले प्रथम शताब्दीको अन्ततिर देखेका १६ वटा दर्शनमध्ये अन्तिम ९ वटा छन्‌।

यूहन्‍ना लेख्छन्‌: “जसले यो अगमवाणीका वचनहरू पढ्‌छ, र जसजसले सुन्छन्‌, र त्यसमा लेखिएका कुराहरू पालन गर्छन्‌, तिनीहरू धन्यका हुन्‌।” (प्रका. १:३; २२:७) प्रकाशको पुस्तक पढेर जीवनमा लागू गर्दा परमेश्‍वरलाई सेवा गर्ने हाम्रो मनसायमा प्रभाव पर्छ, परमेश्‍वर र उहाँका पुत्र ख्रीष्टप्रतिको विश्‍वास बलियो हुन्छ अनि भविष्यबारे उज्ज्वल आशा पाइन्छ। bहिब्रू ४:१२.

परमेश्‍वरको क्रोधको सात कचौरा खनाइन्छ

(प्रका. १३:१–१६:२१)

प्रकाश ११:१८ भन्छ: “जाति-जातिहरू क्रोधित भए, . . . पृथ्वीका नष्टकारीहरूलाई नष्ट . . . गर्ने समय र [परमेश्‍वरको] क्रोध आएको छ।” परमेश्‍वरको क्रोध आउनुको कारण बुझाउन आठौं दर्शनले ‘दशवटा सीङ र सातवटा शिर भएको एउटा जनावरको’ क्रियाकलाप देखाउँछ।—प्रका. १३:१.

यूहन्‍नाले देखेको नवौं दर्शनमा “सियोन डाँडामा थुमा खडा हुनुहुन्थ्यो, र उहाँको साथमा . . . एक लाख चवालीस हजार थिए।” तिनीहरू “मानिसहरूमध्येबाट किनिएका थिए।” (प्रका. १४:१, ४) अनि स्वर्गदूतहरूले छ वटा घोषणा सुनाउँछन्‌। त्यसपछिको दर्शनमा यूहन्‍नाले “सात विपत्ती लिएका सात दूतहरू” देख्छन्‌। स्पष्टतयाः यहोवा स्वयम्‌ले यी स्वर्गदूतहरूलाई “क्रोधको सात कचौरा” शैतानको संसारका विभिन्‍न भागमाथि खन्याउन भन्‍नुहुन्छ। ती कचौरामा परमेश्‍वरले ल्याउने न्यायदण्डको घोषणा र चेतावनी छन्‌। (प्रका. १५:१; १६:१) यी दुइटा दर्शनले तेस्रो विपत्ति र सातौं तुरहीको फुकाइसित सम्बन्धित परमेश्‍वरको राज्यले ल्याउने अरू न्यायदण्डको विस्तृत वर्णन गर्छ।—प्रका. ११:१४, १५.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१३:८—“थुमाको जीवनको पुस्तक” के हो? यो प्रतीकात्मक पुस्तक हो। यसमा, येशू ख्रीष्टसित स्वर्गीय राज्यमा शासन गर्नेहरूको मात्रै नाउँ लेखिएको छ। स्वर्गीय जीवनको आशा भएका तर अहिले पृथ्वीमा बाँचिरहेका अभिषिक्‍त ख्रीष्टियानहरूको नाउँ पनि त्यसमा पर्छ।

१३:११-१३—दुई सिंगे जनावरले कसरी अजिङ्‌गरजस्तै व्यवहार गर्छ र स्वर्गबाट आगो झार्छ? दुई सिंगे जनावर एंग्लो-अमेरिकी विश्‍व शक्‍ति हो। यसले अजिङ्‌गरजस्तै बोल्नुको अर्थ मानिसहरूलाई आफ्नो शासन पद्धति स्वीकार गराउन धम्की, दबाब र हिंसाको सहारा लिनु हो। अनि यसले स्वर्गबाट आगो झार्नुको अर्थ हो, २० औं शताब्दीमा लडिएका दुइटा विश्‍वयुद्धमा दुष्ट शक्‍ति र साम्यवादमाथि विजय हासिल गरेको दाबी गर्दै आफूले साँचो भविष्यवक्‍ताको भूमिका निभाएको ठान्‍नु।

१६:१७—सातौं कचौरा खन्याइने त्यो “हावा” के हो? “हावा”-ले शैतानी सोचाइलाई बुझाउँछ। अर्को शब्दमा भन्‍नुपर्दा “अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा [अर्थात्‌ मानसिक झुकाव]।” शैतानको सारा दुष्ट रीतिरिवाजले यो विषालु हावामा सास फेर्छ।—एफि. २:२, NW.

हाम्रो लागि पाठ:

१३:१-४, १८. मानव सरकारहरूलाई बुझाउने “एउटा [जंगली] जनावर समुद्रबाट” निस्कन्छ। त्यो समुद्र मानिसजातिको भद्रगोल जमात हो। (यशै. १७:१२, १३; दानि. ७:२-८, १७) शैतानले बनाएको र शक्‍ति दिएको त्यस जनावरलाई ६६६ नम्बरको नाउँ दिइएको छ जसले चरम असिद्धपनालाई जनाउँछ। त्यो जनावर के हो, सो बुझेपछि हामी यसको प्रशंसा गर्दै पछि नलाग्न र अरूले जस्तो यसको उपासना नगर्न मदत पाउँछौं।—यूह. १२:३१; १५:१९.

१३:१६, १७. ‘किन्‍ने अथवा बेच्ने’ जस्ता हरेक दिनको क्रियाकलापमा हामीले कठिनाइहरू सामना गर्नुपर्ला। तैपनि, हामीले आफूलाई त्यो जंगली जनावरको हातमा पर्न दिनुहुँदैन। ‘त्यस पशुको छाप हाम्रो दाहिने हात अथवा निधारमा’ लिनु भनेको त्यसलाई हाम्रो कार्य नियन्त्रण गर्न वा सोचाइमा प्रभाव पार्न दिनु हो।

१४:६, ७. स्वर्गदूतको घोषणाले हामीलाई सिकाउँछ कि परमेश्‍वरको स्थापित राज्यको सुसमाचार अविलम्बी भई घोषणा गर्नुपर्छ। आफ्ना बाइबल विद्यार्थीलाई परमेश्‍वरको स्वास्थ्यकर भय विकास गर्न र उहाँलाई महिमा दिन सिकाउनुपर्छ।

१४:१४-२०. ‘पृथ्वीको बालीको कटनी’ अर्थात्‌ परमेश्‍वरको क्रोधबाट बचाइनेहरूको कटनी सिद्धिएपछि जम्मा गरिएको “पृथ्वीको दाख”-लाई स्वर्गदूतले “परमेश्‍वरको क्रोधको ठूलो कोलमा” फ्याँक्ने समय आउनेछ। त्यसपछि त्यो दाख अर्थात्‌ दुष्ट फलका “झुप्पा” फलाएको मानिसमाथि शासन गर्ने शैतानका भ्रष्ट सरकारहरूलाई सदाको लागि नष्ट गरिनेछ। पृथ्वीको त्यस दाखबाट प्रभावित नहुन हामी कटिबद्ध हुनुपर्छ।

१६:१३-१६. “अशुद्ध आत्मा [अर्थात्‌, “अशुद्ध प्रेरित अभिव्यक्‍तिहरू” NW ]”-ले केलाई संकेत गर्छ? शैतानी प्रचारबाजीलाई। त्यो प्रचारबाजीको उद्देश्‍य, परमेश्‍वरको क्रोधको सात कचौरा खन्याउँदा पृथ्वीका राजाहरूलाई कुनै असर परेको छैन बरु तिनीहरूले उल्टै यहोवाको विरुद्ध चाल चलेका छन्‌ भन्‍ने कुरालाई पक्का गर्नु हो।—मत्ती २४:४२, ४४.

१६:२१. यस संसारको अन्त नजिकिंदै जाँदा शैतानको दुष्ट रीतिरिवाज विरुद्ध यहोवाको न्याय-घोषणामा उहाँको न्यायदण्डको गम्भीर अभिव्यक्‍ति समावेश हुन सक्छ। त्यो न्यायदण्डलाई सायद यहाँ असिनाद्वारा चित्रण गरिएको छ। तैपनि अधिकांश मानिसजातिले परमेश्‍वरको निन्दा गर्न छाड्‌ने छैनन्‌।

विजयी राजाले शासन गर्छ

(प्रका. १७:१–२२:२१)

शैतानको दुष्ट संसारको एउटा घिनलाग्दो भाग झूटो धर्मको विश्‍व साम्राज्य “महान्‌ बेबिलोन” हो। एघारौं दर्शनमा त्यसलाई “चहकिलो रातो रङको जनावरमाथि बसेकी” “महा-वेश्‍या” अर्थात्‌ व्यभिचारी आइमाईको रूपमा चित्रण गरिएको छ। त्यसले आफू चढिरहेको जनावरको “दश सीङ”-द्वारा नै विनाश भोग्नेछिन्‌। (प्रका. १७:१, ३, ५, १६) त्यस वेश्‍यालाई “ठूलो शहर”-सित तुलना गर्दै त्यसपछिको दर्शनले त्यसको पतन हुने घोषणा गर्छ र परमेश्‍वरका जनहरूलाई तुरुन्तै ‘त्यसबाट निक्लेर आउन’ आह्वान गर्छ। त्यस महान्‌ सहरको पतनमा थुप्रैले विलाप गर्छन्‌। तर स्वर्गमा चाहिं रमाहट हुन्छ किनभने त्यहाँ “थुमाको विवाह” छ। (प्रका. १८:४, ९, १०, १५-१९; १९:७) तेह्रौं दर्शनमा, “एउटा सेतो घोडा”-मा सवार व्यक्‍ति राष्ट्रहरूसित युद्ध गर्न जान्छन्‌। तिनले शैतानको दुष्ट संसारलाई खतम पार्छन्‌।—प्रका. १९:११-१६.

“त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो” त्यसबारे के भन्‍न सकिन्छ? त्यसलाई कहिले ‘आगोको कुण्डमा फालिनेछ’? यो, १४ औं दर्शनको एउटा विषय हो। (प्रका. २०:२, १०) अन्तिम दुई दर्शनले हजार वर्षीय शासनको दौडान हुने जीवनको झलक दिन्छ। “प्रकाश” पाएको अन्त-अन्ततिर यूहन्‍नाले ‘सडकको बीचमा जीवनको नदी’ बगिरहेको देख्छन्‌। अनि “जो तिर्खाउँछ” तिनीहरू सबैलाई त्यो नदीको पानी पिउन शानदार निमन्त्रणा दिइन्छ।—प्रका. १:१; २२:१, २, १७.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१७:१६; १८:९, १०—आफैले नाश गरेको त्यो वेश्‍याको लागि “पृथ्वीका राजाहरू” किन बिलौना गर्छन्‌? बिलौना गर्नुपछाडि स्वार्थ लुकेको छ। महान्‌ बेबिलोन कत्ति कामलाग्दो चीज थियो भनेर त्यसको विनाशपछि पृथ्वीका राजाहरूले बुझ्छन्‌। त्यसले तिनीहरूको दमनकारी कामलाई ढाकछोप गरिदिन्थी। लडाइँको लागि युवाहरू भर्ना गर्न पनि तिनीहरूलाई महान्‌ बेबिलोनले मदत गर्थी। त्योभन्दा पनि, मानिसहरूलाई अधीनमा राख्न पनि त्यसले महत्त्वपूर्ण भूमिका खेली।

१९:१२—येशूबाहेक अरू कसैलाई उहाँको अप्रकटित नाउँ थाह थिएन, कसरी? यस नाउँले, येशूले पाउने ओहदा र सुअवसरहरूलाई बुझाउँछ जस्तो देखिन्छ। जस्तै, यशैया ९:६ मा बताइएको ओहदा र सुअवसरहरू। उहाँबाहेक अरू कसैले उहाँको नाउँ जान्दैन भन्‍नुको मतलब उहाँको भूमिका अनुपम छ अनि त्यस्तो उच्च पद सँभाल्नुको अर्थ के हो, उहाँले मात्र बुझ्न सक्नुहुन्छ भन्‍ने हो। तर, येशूले यी सुअवसरहरूमध्ये केही आफ्ना दुलही वर्गसित बाँड्‌नुहुन्छ। अर्को शब्दमा भन्‍नुपर्दा ‘उहाँको नयाँ नाउँ तिनीहरूमाथि’ लेख्नुहुन्छ।—प्रका. ३:१२.

१९:१४—आरमागेडोनमा घोडामाथि चढेर येशूको पछिपछि को लाग्नेछन्‌? परमेश्‍वरको युद्धमा येशूलाई साथ दिने ‘स्वर्गीय सेनामा’ स्वर्गदूतहरूका साथै स्वर्गीय इनाम पाइसकेका अभिषिक्‍त विजयीहरू समावेश हुनेछन्‌।—मत्ती २५:३१, ३२; प्रका. २:२६, २७.

२०:११-१५—कसका नाउँ “जीवनको पुस्तक”-मा लेखिएका छन्‌? यस किताबमा अनन्त जीवन पाउनेहरू सबैको नाउँ लेखिएका छन्‌। तिनीहरू हुन्‌: अभिषिक्‍त ख्रीष्टियानहरू, ठूलो भीडका सदस्यहरू र ‘धर्मीहरूको पुनरुत्थान’ पाउने परमेश्‍वरका विश्‍वासी सेवकहरू। (प्रेरि. २४:१५; प्रका. २:१०; ७:९) ‘अधर्मीहरूको पुनरुत्थानमा’ जीवन पाउनेहरूको नाउँ त्यस “जीवनको पुस्तक”-मा त्यतिबेला मात्र लेखिन्छ जब तिनीहरूले हजार वर्षीय शासनको दौडान खोलिएको निर्देशनका “पुस्तकहरूमा . . . लेखिएबमोजिम” काम गर्छन्‌। तथापि, नाउँ स्थायी तवरमा लेखिंदैन। अभिषिक्‍त ख्रीष्टियानहरू मृत्युसम्म विश्‍वासी भएको प्रमाणित भएपछि मात्र तिनीहरूको नाउँ स्थायी हुन्छ। (प्रका. ३:५) अनि पृथ्वीमा जीवन पाउनेहरूको नाउँ चाहिं तब मात्र स्थायी हुन्छ जब तिनीहरूले हजार वर्षको अन्तमा हुने अन्तिम परीक्षा पार गर्छन्‌।—प्रका. २०:७, ८.

हाम्रो लागि पाठ:

१७:३, ५, ७, १६. ‘माथिबाट आउने ज्ञानले’ “त्यो स्त्री र त्यसलाई बोक्ने [चहकिलो रङ्‌गको जंगली] . . . जनावरको रहस्य” बुझ्न हामीलाई मदत गर्छ। (याकू. ३:१७) राष्ट्र संघ र पछि गएर संयुक्‍त राष्ट्र संघको रूपमा पुनः जागृत हुँदा यो लाक्षणिक जंगली जनावर अस्तित्वमा आयो। यस रहस्यको पर्दाफास भएपछि के हामी परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न र उहाँको न्यायदण्ड घोषणा गर्न जोसिलो हुनुपर्दैन र?

२१:१-६. हामी पूर्णतया निश्‍चित हुन सक्छौं कि भविष्यवाणी गरिएका आशिष्‌हरू परमेश्‍वरको राज्यमा पूरा हुनेछन्‌। किन? किनभने त्यसबारे “ती हुनआएका छन्‌” भनिएको छ।

२२:१, १७, NRV. “जीवनका पानीको नदी”-ले आज्ञाकारी मानिसजातिलाई पाप र मृत्युबाट मुक्‍त गराउने यहोवाको प्रबन्धलाई बुझाउँछ। केही मात्रामा यो पानी अहिले उपलब्ध छ। आउनुहोस्‌, ‘जीवनको पानी सित्तैंमा लेऊ’ भन्‍ने निमन्त्रणा कृतज्ञ भई स्वीकार्ने मात्र होइन तर त्यसलाई उत्सुकतासाथ अरूसित बाँडौं पनि! (w 09 2/15)

[फुटनोटहरू]

b प्रकाश पुस्तकको एक-एक पदको छलफलको लागि प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तक हेर्नुहोस्‌।

[पृष्ठ १३-मा भएको चित्र]

परमेश्‍वरको राज्यमा आज्ञाकारी मानिसजातिले कस्ता अद्‌भुत आशिष्‌हरू पाउनेछन्‌!