येशूका उपदेशहरूले आनन्दित हुन मदत गर्छ
येशूका उपदेशहरूले आनन्दित हुन मदत गर्छ
“[येशू] डाँडामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। औ उहाँले . . . तिनीहरूलाई . . . सिकाउनुभयो।”—मत्ती ५:१, २.
१, २. (क) येशूले कुन अवस्थामा डाँडाको उपदेश दिनुभयो? (ख) येशूले आफ्नो भाषण कसरी सुरु गर्नुभयो?
यो इस्वी संवत् ३१ को कुरा हो। गालीलको प्रचार यात्रा केही समयको लागि बिसाएर येशू निस्तार चाड मनाउन यरूशलेम जानुहुन्छ। (यूह. ५:१) गालील फर्केपछि १२ जना प्रेरित छान्न उहाँ परमेश्वरको डोऱ्याइ खोज्दै रातभर प्रार्थना गर्नुहुन्छ। भोलिपल्ट उहाँले बिरामीहरूलाई निको पार्नुहुँदा भीड जम्मा हुन्छ। चेलाहरूलगायत अरूसित उहाँ डाँडामा बस्नुहुन्छ र सिकाउन थाल्नुहुन्छ।—मत्ती ४:२३–५:२; लूका ६:१२-१९.
२ परमेश्वरसँग राम्रो सम्बन्ध छ भने आनन्दित हुन सकिन्छ भन्दै येशू आफ्नो भाषण—डाँडाको उपदेश—सुरु गर्नुहुन्छ। (मत्ती ५:१-१२ पढ्नुहोस्) a आनन्द भनेको ‘एउटा सुखद् स्थिति हो जसमा सन्तुष्टिदेखि अति हर्षजस्ता भावनाहरू समावेश छन्।’ येशूले बताएका नौ वटा आनन्दले ख्रीष्टियानहरू आनन्दित हुनुको कारण प्रकाश पार्छ अनि ती २,००० वर्षअघि जत्ति लाभकारी थिए, आज पनि उत्तिकै लाभकारी छन्। आउनुहोस्, अब हामी ती एक-एक गरी केलाएर हेरौं।
“आत्मामा दरिद्र हुनेहरू”
३. आत्मामा दरिद्र हुनुको अर्थ के हो?
३ “धन्य आत्मामा दरिद्र हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ती ५:३) “आत्मामा दरिद्र हुनेहरू”-ले आफू आध्यात्मिक तवरमा दरिद्र भएको र परमेश्वरको दया चाहिएको कुरा बुझ्छन्।
४, ५. (क) आफ्नो आध्यात्मिक आवश्यकताबारे सजग हुनेहरू आनन्दित हुन्छन्, किन? (ख) हाम्रो आध्यात्मिक आवश्यकता कसरी पूरा गर्न सकिन्छ?
४ आफ्नो आध्यात्मिक आवश्यकताबारे सजग हुनेहरू आनन्दित हुन्छन् “किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” येशूलाई मसीहको रूपमा स्वीकार्दा उहाँका सुरु-सुरुका चेलाहरूका निम्ति परमेश्वरको स्वर्गीय राज्यमा ख्रीष्टसँगै मिलेर शासन गर्ने ढोका खुल्यो। (लूका २२:२८-३०) हाम्रो आशा स्वर्गमा ख्रीष्टसँगै साझे-हकवाला हुने होस् वा परमेश्वरको राज्य अन्तर्गत पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने, आफ्नो आध्यात्मिक आवश्यकताबारे साँच्चै सजग छौं र परमेश्वरमा भर पर्नुपर्ने कुरामा पूरै सचेत छौं भने आनन्दित हुन सक्छौं।
५ सबै आफ्नो आध्यात्मिक आवश्यकताबारे उत्तिकै सजग छैनन् किनभने थुप्रैमा विश्वासको कमी छ र तिनीहरू पवित्र कुराहरूको मोल गर्दैनन्। (२ थिस्स. ३:१, २; हिब्रू १२:१६) आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्ने तरिकामध्ये लगनशील भई बाइबल अध्ययन गर्नु, चेला बनाउने काममा जोसका साथ भाग लिनु र सभाहरूमा नियमित हुनु हो।—मत्ती २८:१९, २०; हिब्रू १०:२३-२५.
शोक गर्नेहरू आनन्दित
६. “शोक गर्नेहरू” को हुन् र तिनीहरू किन आनन्दित हुन्छन्?
६ “धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।” (मत्ती ५:४) “शोक गर्नेहरू” र “आत्मामा दरिद्र हुनेहरू” उस्तै प्रकारका मानिसहरू हुन्। तिनीहरू शोक गर्छन् भन्नुको अर्थ जीवनदेखि सन्तुष्ट छैनन् भन्ने होइन। आफ्नै पापी अवस्था र मानव असिद्धताले गर्दा सृजना भएको परिस्थितिको कारण तिनीहरू शोक गर्छन्। त्यस्ता “शोक गर्नेहरू” किन आनन्दित हुन्छन्? किनभने तिनीहरू यहोवा र ख्रीष्टमा विश्वास गर्छन् अनि यहोवासितको राम्रो सम्बन्धबाट सान्त्वना पाउँछन्।—यूह. ३:३६.
७. शैतानको संसारबारे हामीले कस्तो महसुस गर्नुपर्छ?
७ शैतानको संसारमा अधर्म व्याप्त भएकोले के हामी शोकित हुन्छौं? यस संसारले दिने कुराबारे हामी वास्तवमा कस्तो महसुस गर्छौं? प्रेरित यूहन्नाले लेखे: “संसारमा भएको जुनसुकै कुरा पनि अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।” (१ यूह. २:१६) तर परमेश्वरबाट अलग्गिएको मानव समाजमाथि मजबुत कब्जा जमाइराखेको शक्ति “संसारको आत्मा”-ले हाम्रो आध्यात्मिकतालाई प्रभाव पार्न थालेको याद गऱ्यौं भने, के गर्ने? व्यग्रतासाथ प्रार्थना गरौं, परमेश्वरको वचन अध्ययन गरौं र प्राचीनहरूको मदत लेऔं। हामीलाई जुनसुकै कुराले पिरोलिरहेको भए तापनि यहोवासँग नजिकिंदै जाँदा “सान्त्वना” पाउनेछौं।—१ कोरि. २:१२; भज. ११९:५२; याकू. ५:१४, १५.
“नम्र हुनेहरू” कत्ति आनन्दित!
८, ९. नम्र हुनुको अर्थ के हो र नम्रहरू किन आनन्दित हुन्छन्?
८ “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।” (मत्ती ५:५) ‘नम्र हुनु’ भनेको कमजोरीको चिह्न होइन न त यो ढोंग गरेर देखाइने कोमल व्यवहार नै हो। (१ तिमो. ६:११) हामी नम्र छौं भने यहोवाको इच्छाबमोजिम गरेर र उहाँको डोऱ्याइ स्वीकारेर विनयी भएको देखाउँछौं। सँगी विश्वासी र अरूसित हामीले गर्ने व्यवहारमा पनि नम्रता झल्किन्छ। त्यस्तो नम्रता प्रेरित पावलको सल्लाहसित मेल खान्छ।—रोमी १२:१७-१९ पढ्नुहोस्।
९ नम्रहरू किन आनन्दित हुन्छन्? किनभने नम्र येशूले भन्नुभएझैं “तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।” उहाँ पृथ्वीको मुख्य उत्तराधिकारी हुनुहुन्छ। (भज. २:८; मत्ती ११:२९; हिब्रू २:८, ९) तर “ख्रीष्टसँग साझे-हकवाला”-को रूपमा नम्र अभिषिक्त जनहरूले पनि पृथ्वीको उत्तराधिकार प्राप्त गर्नेछन्। (रोमी ८:१६, १७) अन्य थुप्रै नम्र जनहरूले चाहिं येशूको शासन अन्तर्गत पृथ्वीमै अनन्त जीवन पाउनेछन्।—भज. ३७:१०, ११.
१०. नम्रताको कमीले मण्डलीमा पाउने सुअवसर र अरूसितको सम्बन्धमा कस्तो असर पर्न सक्छ?
१० येशूजस्तै हामी पनि नम्र हुनुपर्छ। तर हामी झगडालु भनेर चिनिन्छौं भने नि? त्यस्तो जोरी खोज्ने अमित्रैलो मनोभावको कारण मानिसहरू हामीबाट पर-परै जान सक्छन्। मण्डलीमा जिम्मेवारी पाउन खोजिरहेका भाइ हौं भने यस्तो स्वभावले हामीलाई अयोग्य ठहऱ्याउँछ। (१ तिमो. ३:१, ३) “कल्याहा नहुनू, सबै मानिसलाई नम्र चाल देखाएर विनयी हुनू भनी” क्रेटका ख्रीष्टियानहरूलाई सम्झाइरहन पावलले तीतसलाई भने। (ती. ३:१, २) त्यस्तो नम्रता अरूको लागि कस्तो आशिष्को कुरा हो!
“धार्मिकताको” निम्ति तिनीहरू भोकाउँछन्
११-१३. (क) धार्मिकताको निम्ति भोकाउनु र तिर्खाउनुको अर्थ के हो? (ख) धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू कसरी “तृप्त” हुनेछन्?
११ “धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्।” (मत्ती ५:६) येशूले यहाँ “धार्मिकता” भन्नुको अर्थ परमेश्वरको इच्छा र आज्ञाअनुसार चलेर सही कुरा गर्नु हो। परमेश्वरको धार्मिक न्यायिक निर्णयको ‘अभिलाषाले गर्दा आफ्नो मन हरसमय खिन्न हुन्छ’ अर्थात् तिर्खाउँछ भनेर भजनरचयिताले बताए। (भज. ११९:२०) के हामी पनि धार्मिकताको यस्तो मोल गर्छौं कि यसको लागि भोकाउँछौं अनि तिर्खाउँछौं?
१२ येशूले भन्नुभयो कि धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू आनन्दित हुनेछन् किनभने तिनीहरू “तृप्त” अथवा पूरै सन्तुष्ट हुनेछन्। इस्वी संवत् ३३ पेन्तिकोसपछि यो सम्भव भयो किनभने त्यतिबेलादेखि यहोवाको पवित्र आत्माले ‘संसारलाई धार्मिकताको विषयमा दोषी ठहराउन [अर्थात्, “स्पष्ट पार्न,” NW ]’ थाल्यो। (यूह. १६:८) पवित्र आत्मा मार्फत परमेश्वरले ख्रीष्टियान युनानी धर्मशास्त्र लेख्न उत्प्रेरित गर्नुभयो जुन “धार्मिकतामा तालीम दिनलाई लाभदायक” छ। (२ तिमो. ३:१६, NRV ) ‘परमेश्वरको [इच्छाअनुसार] धार्मिकतामा सृष्टि भएको नयाँ मानिसलाई धारण गर्न’ पनि उहाँको आत्माले मदत गर्छ। (एफि. ४:२४) येशूको छुटकाराको बलिदानको आधारमा पापको लागि क्षमा माग्नेहरू परमेश्वरको नजरमा धर्मी ठहरिन सक्नु सान्त्वनादायी कुरा हो नि, होइन र?—रोमी ३:२३, २४ पढ्नुहोस्।
१३ हाम्रो आशा पार्थिव हो भने धार्मिकताको निम्ति भोक र तिर्खा त्यतिबेला पूर्णतया मेटिनेछ जब पृथ्वीमा धार्मिक अवस्थामा अनन्त जीवन पाउनेछौं। त्यतिन्जेल यहोवाको स्तरअनुसार जीवन बिताउन कटिबद्ध होऔं। येशूले भन्नुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर।” (मत्ती ६:३३) त्यसो गर्दा हाम्रा हातहरू ईश्वरीय काममा व्यस्त हुनेछन् भने हाम्रो हृदय साँचो आनन्दले भरिनेछ।—१ कोरि. १५:५८.
“दयावन्तहरू” आनन्दित
१४, १५. हामी कसरी दया देखाउन सक्छौं र “दयावन्तहरू” किन आनन्दित हुन्छन्?
१४ “धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्।” (मत्ती ५:७) “दयावन्तहरू” अरूप्रति अनुकम्पा देखाउँछन् र टिठाउँछन्। येशूले चमत्कारपूर्ण ढंगमा थुप्रैको दुःखकष्ट निको पार्नुभयो किनभने उहाँ तिनीहरूप्रति टिठाउनुभयो। (मत्ती १४:१४) परमेश्वरले पश्चात्तापीहरूलाई क्षमा दिनुभएझैं आफू विरुद्ध पाप गर्नेहरूलाई हामीले क्षमा दिंदा दया झल्किन्छ। (प्रस्थ. ३४:६, ७; भज. १०३:१०) यो, दया देखाउने एउटा तरिका हो। दुःखमा परेकाहरूलाई आफ्नो वचन र कार्यद्वारा राहत दिएर पनि दया देखाउन सकिन्छ। दया देखाउने अर्को राम्रो तरिका अरूलाई बाइबलका सत्य कुराहरू बताएर हो। भीडलाई टिठाएर येशूले “धेरै कुराको शिक्षा दिन लाग्नुभयो।”—मर्कू. ६:३४.
१५ “धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्” भन्ने येशूको भनाइसित सहमत हुने कारण हामीसित छ। हामीले अरूसित दयालु व्यवहार गऱ्यौं भने तिनीहरूले पनि त्यस्तै व्यवहार गर्न सक्छन्। हामीले अरूलाई दया देखाएका छौं भने यहोवाले इन्साफ गर्नुहुँदा बच्न सक्छौं। (याकू. २:१३) पापको क्षमा र अनन्त जीवन दयालुहरूले मात्र पाउँछन्।—मत्ती ६:१५.
“हृदयमा शुद्ध हुनेहरू” आनन्दित
१६. “हृदयमा शुद्ध हुनु”-को अर्थ के हो र त्यो गुण भएकाहरूले कसरी ‘परमेश्वरलाई देख्न’ सक्छन्?
१६ “धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।” (मत्ती ५:८) “हृदयमा शुद्ध” छौं भने त्यो हाम्रो इच्छा, मनसाय र आफूलाई प्रिय लाग्ने सम्बन्ध वा कुरामा स्पष्ट झल्किन्छ। हामी “शुद्ध हृदयबाटको प्रेम” देखाउनेछौं। (१ तिमो. १:५) हृदयदेखि सफा हुँदा ‘परमेश्वरलाई देख्नेछौं।’ यसको अर्थ परमेश्वरलाई शाब्दिक अर्थमै देख्नु त होइन किनभने “[परमेश्वरको] अनुहार हेरेर मानिस जीवित रहनसक्तैन।” (प्रस्थ. ३३:२०) परमेश्वरको व्यक्तित्व येशूले दुरुस्तै झल्काउनुभएकोले उहाँले यसो भन्न सक्नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।” (यूह. १४:७-९) हामी यहोवाका उपासकहरू चाहिं हाम्रो खातिर उहाँले गर्नुभएका कुराहरू हेरेर ‘परमेश्वरलाई देख्न’ सक्छौं। (अय्यू. ४२:५) अभिषिक्त ख्रीष्टियानहरूका लागि परमेश्वरलाई देख्नु त्यतिबेला साँच्चै सम्भव हुनेछ जब तिनीहरूले आत्मिक शरीरमा पुनरुत्थान भएर स्वर्गमा हुनुहुने पितालाई देख्नेछन्।—१ यूह. ३:२.
१७. हृदयमा शुद्ध हुँदा हामीलाई कस्तो असर पर्छ?
१७ शुद्ध हृदय भएको व्यक्ति नैतिक र आध्यात्मिक तवरमा स्वच्छ हुन्छन्। त्यसैले तिनी परमेश्वरलाई अशुद्ध लाग्ने कुराहरूबीच रहँदैनन्। (१ इति. २८:९; यशै. ५२:११) हृदयमा शुद्ध छौं भने हामीले भन्ने र गर्ने कुरामा शुद्धताको छाप हुन्छ अनि उहाँको सेवामा गर्ने कुनै कुरा देखावटी हुँदैन।
“मेलमिलाप गराउनेहरू” परमेश्वरका पुत्र कहलिनेछन्
१८, १९. “मेलमिलाप गराउनेहरू”-को व्यवहार कस्तो हुन्छ?
१८ “धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका पुत्र कहलाइनेछन्।” (मत्ती ५:९) “मेलमिलाप गराउनेहरू” तिनीहरूको व्यवहारबाट छर्लंगै छुट्टिन्छन्। येशूले भनेको जस्तै मानिस हौं भने हामी मिलापमा रहन्छौं र “खराबीको बदलामा खराबी” गर्दैनौं। बरु, “सधैं एउटाले अर्कोसँग र सबैसँग भलाइ गर्ने चेष्टा” गर्छौं।—१ थिस्स. ५:१५.
१९ मत्ती ५:९ मा “मेलमिलाप गराउनेहरू” भनी अनुवाद गरिएको अभिव्यक्तिको शाब्दिक अर्थ “शान्ति कायम गराउनेहरू” हो। मेलमिलाप गराउनेहरूमध्ये गनिनको लागि शान्ति कायम राख्न सक्रिय हुनुपर्छ। शान्ति कायम गराउनेले “मित्रहरूमा फाटो” गराउने कुनै काम गर्दैन। (हितो. १६:२८) हामी मेलमिलाप गराउनेहरू भएकोले “सबै जनासँग मेलमिलाप” गर्न सकारात्मक कदम चाल्छौं।—हिब्रू १२:१४.
२०. अहिले “परमेश्वरका पुत्र” को हुन् र पछि गएर अरू को पनि परमेश्वरको सन्तान हुनेछन्?
२० “मेलमिलाप गराउनेहरू” आनन्दित हुन्छन् किनभने “तिनीहरू परमेश्वरका पुत्र कहलाइनेछन्।” विश्वासी अभिषिक्त ख्रीष्टियानहरूलाई यहोवाले आफ्नो धर्मपुत्र बनाउनुभएको छ। त्यसैले “तिनीहरू परमेश्वरका पुत्र” हुन्। ख्रीष्टमा विश्वास गरेर अनि सारा हृदयले “प्रेम र शान्तिका परमेश्वर”-को उपासना गरेर तिनीहरूले यहोवासित घनिष्ठ सम्बन्ध गाँसिसकेका छन्। (२ कोरि. १३:११; यूह. १:१२) मेलमिलाप गराउने येशूको “अरू भेडा” नि? तिनीहरूले हजार वर्षीय शासनको दौडान येशूलाई “सनातनका पिता”-को रूपमा पाउनेछन् तर त्यस राज्यको अन्तमा येशू यहोवाको अधीनमा हुनुहुनेछ र तिनीहरू साँचो अर्थमा परमेश्वरको सन्तान हुनेछन्।—यूह. १०:१६; यशै. ९:६; रोमी ८:२१; १ कोरि. १५:२७, २८.
२१. हामी ‘आत्माकै अनुसार हिंड्छौं’ भने कस्तो व्यवहार गर्छौं?
२१ हामी ‘आत्माकै अनुसार हिंड्छौं’ भने अरू मानिसले हामीमा स्पष्टै देख्ने एउटा गुण शान्ति हुनेछ। हामी “एउटाले अर्कोको डाह गर्ने” वा ‘एउटाले अर्कोलाई रीस उठाउने’ गर्दैनौं। (गला. ५:२२-२६; नयाँ संशोधित संस्करण) बरु “सक्दोभर सबै मानिसहरूसँग शान्तिमा” रहने कोसिस गर्छौं।—रोमी १२:१८.
सताइए तापनि आनन्दित!
२२-२४. (क) धार्मिकताको निम्ति सताइनेहरू आनन्दित हुन सक्नुका कारण के-के हुन्? (ख) अर्को दुइटा अध्ययन लेखमा के छलफल गर्नेछौं?
२२ “धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ती ५:१०) यस विषयमा येशूले अझ यसो भन्नुभयो: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्, र खेदो गर्नेछन्, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्। तब रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरीनै तिमीहरूका अघिका अगमवक्ताहरूलाई तिनीहरूले खेदो गरेथे।”—मत्ती ५:११, १२.
२३ प्राचीन समयका परमेश्वरका अगमवक्ताहरूले जस्तै आज ख्रीष्टियानहरूले “धार्मिकताको निम्ति” निन्दा गरिने, सताइने र आफू विरुद्ध झूट बोलिनेछ भनी बुझेका छन्। तर त्यस्तो परीक्षाको बेला विश्वासी रहँदा यहोवालाई प्रसन्न तुल्याइरहेका र आदर गरिरहेका हुनेछौं अनि यो कुराबाट सन्तुष्टि पाउन सक्छौं। (१ पत्रु. २:१९-२१) अहिले र भविष्यमा यहोवाको सेवा गरेर पाइने आनन्दलाई दुःखकष्टले फिक्का बनाउन सक्दैन। न त यसले स्वर्गीय राज्यमा ख्रीष्टसँग शासन गर्ने आनन्दलाई न पृथ्वीमा उहाँको सरकारको प्रजाको रूपमा अनन्त जीवन पाउँदाको रमाहटलाई कम गर्न सक्छ। त्यस्ता आशिष्हरूमा परमेश्वरको अनुग्रह, उपकार र उदारता देखिन्छ।
२४ डाँडाको उपदेशबाट हामीले सिक्न सक्ने पाठहरू यति मात्रै त होइन। यसपछिको अर्को दुइटा लेखमा अझै अरू पाठहरू छलफल गरिएका छन्। आउनुहोस् येशूका ती उपदेशहरू कसरी व्यवहारमा उतार्न सकिन्छ, हेरौं।
(w 09 2/15)
[फुटनोट]
a “धन्य” भन्ने शब्द चलाउनुको सट्टा न्यु वर्ल्ड ट्रान्सलेसन-लगायत द जेरुशलेम बाइबल र टुडेज इंग्लिश भर्सन जस्ता केही अन्य अनुवादहरूले सही शब्द “आनन्दित” प्रयोग गरेका छन्। त्यसैले यो लेखमा हामीले “धन्य” शब्दको सट्टा यसको पर्यायवाचीको रूपमा “आनन्दित” शब्द प्रयोग गरेका छौं।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• “आत्मामा दरिद्रहरू” किन आनन्दित हुन्छन्?
• ‘नम्रहरू’ आनन्दित हुन सक्नुका कारण के-के हुन्?
• सताइए तापनि ख्रीष्टियानहरू किन आनन्दित हुन्छन्?
• येशूले बताएको कुन चाहिं आनन्द तपाईंलाई विशेषगरि मन पऱ्यो?
[प्रश्नहरू]
[पृष्ठ १७-मा भएको चित्र]
येशूले बताएका नौ वटा आनन्द पहिला-पहिला जत्ति नै आज पनि लाभकारी छन्
[पृष्ठ १८-मा भएको चित्र]
दया देखाउने एउटा राम्रो तरिका अरूलाई बाइबल सत्य बताएर हो