के परमेश्वर मेरो ख्याल राख्नुहुन्छ?
के परमेश्वर मेरो ख्याल राख्नुहुन्छ?
साधारणतया पाइने जवाफ:
▪ “परमेश्वर जस्तो महान् व्यक्तिले कहाँ मेरो चिन्ता गर्नु?”
▪ “मलाई लाग्दैन कि उहाँ मेरो ख्याल राख्नुहुन्छ।”
येशूले के भन्नुभयो?
▪ “के दुई पैसामा पाँचवटा भँगेरा बिक्तैनन्? औ तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न। तर तिमीहरूको कपालको केशसमेत गनिएका छन्। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ्ता किम्मती छौ।” (लूका १२:६, ७) परमेश्वर हाम्रो ख्याल राख्नुहुन्छ भनेर येशूले सिकाउनुभएको कुरामा कुनै शंका छैन।
▪ “यसकारण के खाउँला? कि के पिऔंला? कि के पहिरौंला? भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले मात्र यी सब थोक खोज्दछन्। किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्नुहुन्छ।” (मत्ती ६:३१, ३२) येशू विश्वस्त हुनुहुन्थ्यो कि हाम्रो व्यक्तिगत आवश्यकता परमेश्वर जान्नुहुन्छ।
परमेश्वर हाम्रो ख्याल राख्नुहुन्छ भनेर बाइबलले स्पष्टै बताउँछ। (भजन ५५:२२; १ पत्रुस ५:७) त्यसो हो भने आज हामीले किन यतिबिघ्न दुःख खेप्नुपरेको? यदि परमेश्वर मायालु र सर्वशक्तिशाली हुनुहुन्छ भने दुःख-कष्ट देखेर पनि किन टुलुटुलु हेरिरहनुभएको?
यसको जवाफमा एउटा तथ्य लुकेको छ जुन धेरैलाई थाह छैन। त्यो हो, शैतान अर्थात् दियाबल यो दुष्ट संसारको शासक हो। येशूलाई प्रलोभन देखाउँदा शैतानले उहाँलाई यसो भन्दै जगत्को सारा राज्य देखायो: “म यो सारा अख्तियार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएको छ, औ जसलाई इच्छा गर्दछु, म यो दिनसक्छु।”—लूका ४:५-७.
शैतानलाई यो संसारको शासक कसले बनायो? हाम्रो प्रथम आमाबाबु आदम र हव्वाले शैतानको कुरा सुनेर परमेश्वरलाई पिठिउँ फर्काए। यसरी उनीहरूले शैतानलाई आफ्नो शासक मानेको देखाए। त्यस विद्रोहदेखि यता यहोवा परमेश्वरले धीर हुँदै शैतानको शासन पूर्णतया विफल हुनेछ भन्ने कुरा देखाउन समय दिनुभएको छ। यहोवाले मानिसहरूलाई उहाँको सेवा गर्न जबरजस्ती गर्नुभएको छैन तर हाम्रोलागि उहाँकहाँ फर्कने बाटो खोलिदिनुभएको छ।—रोमी ५:१०.
परमेश्वर हाम्रो ख्याल राख्नुहुन्छ। त्यसकारण उहाँले हामीलाई शैतानको शासनबाट येशू मार्फत छुटाउन प्रबन्ध मिलाइदिनुभएको छ। निकट भविष्यमा येशूले “मृत्युका सामर्थ्य भएको, अर्थात् शैतानलाई मृत्युद्वारा रद्दी” पार्नुहुनेछ। (हिब्रू २:१४) यसो गर्नुहुँदा उहाँले “शैतानका कामहरू नष्ट” पार्नुहुनेछ।—१ यूहन्ना ३:८.
यो पृथ्वी फेरि सुन्दर बगैंचामा परिणत हुनेछ। त्यतिबेला, परमेश्वरले “[मानिसहरूका] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका [हुनेछन्]।”—प्रकाश २१:४, ५. a (w 09 2/1)
[फुटनोट]
a परमेश्वरले किन दुःख-कष्ट रहिरहने अनुमति दिनुभएको छ, त्यसबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ११ हेर्नुहोस्।
[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]
यो पृथ्वी फेरि सुन्दर बगैंचामा परिणत हुनेछ