सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा हाम्रो एकताबद्ध प्रशंसाको योग्य हुनुहुन्छ

यहोवा हाम्रो एकताबद्ध प्रशंसाको योग्य हुनुहुन्छ

यहोवा हाम्रो एकताबद्ध प्रशंसाको योग्य हुनुहुन्छ

“परमप्रभुको प्रशंसा गर।”—भज. १११:१.

१, २. “हल्लेलूयाह” शब्दको अर्थ के हो र ख्रीष्टियान युनानी धर्मशास्त्रमा यसको प्रयोग कसरी भएको छ?

 “हल्लेलूयाह!” यो शब्द चर्चहरूमा प्रायः सुन्‍ने गर्छौं। कोही-कोहीले चाहिं यो शब्द थेगो जत्तिकै चलाउने गर्छन्‌। तर थोरैलाई मात्र यसको पवित्र अर्थ थाह छ। अनि यो शब्द चलाउने थुप्रैको जीवनशैली परमेश्‍वरको आदर हुने खालको छैन। (ती. १:१६) एउटा बाइबल शब्दकोशअनुसार “हल्लेलूयाह” शब्द “विभिन्‍न भजनका रचयिताहरूले तिनीहरूसँगै यहोवाको स्तुति गाउन सबैलाई आह्वान गर्दा” चलाउने गर्थे। वास्तवमा “हल्लेलूयाह”-को अर्थ थुप्रै बाइबलविद्‌हरूका अनुसार “याहको [अर्थात्‌ यहोवाको] प्रशंसा गर” भन्‍ने हो।

त्यसैले, भजन १११:१ मा यो शब्दलाई “परमप्रभुको प्रशंसा गर” भनी अनुवाद गरिएको छ। झूटो धर्मको विनाश हुँदा मनाइने हर्षको सिलसिलामा प्रकाश १९:१-६ मा चार पटक यो शब्दको युनानी रूप प्रयोग भएको छ। हर्षको त्यो समय आउँदा साँचो उपासकहरूले आदरका साथ “हल्लेलूयाह” भन्‍ने खास कारण पाउनेछन्‌।

उहाँका महान्‌ कामहरू

३. हामी नियमित तवरमा एकसाथ भेला हुनुको मुख्य उद्देश्‍य के हो?

भजन १११ का रचनाकारले यहोवा हाम्रो एकताबद्ध प्रशंसाको योग्य हुनुका थुप्रै कारणहरू बताउँछन्‌। पद १ भन्छ: “मेरो पूरा हृदयले सोझा मानिसहरूको सभा र समुदायमा, म परमप्रभुमा धन्यवाद चढाउनेछु।” आज यहोवाका साक्षीहरू पनि त्यस्तै महसुस गर्छन्‌। स्थानीय मण्डली र अधिवेशनहरूमा हामी एकसाथ भेला हुनुको मुख्य उद्देश्‍य यहोवाको प्रशंसा गर्नु हो।

४. मानिसहरूले कसरी परमेश्‍वरको कामको खोजी गर्न सक्छन्‌?

“परमप्रभुका कामहरू महान्‌ छन्‌, तिनमा प्रसन्‍न हुनेहरू सबैले ती खोजि गरेका छन्‌।” (भज. १११:२) “खोजि गरेका” भन्‍ने अभिव्यक्‍तिलाई ध्यान दिनुहोस्‌। एउटा पुस्तकअनुसार यो पद परमेश्‍वरको कामलाई “सच्चा मनले गहन मनन अनि अध्ययनको विषय बनाउने” मानिसहरूमा लागू हुन्छ। यहोवाले आफ्ना अनेकन्‌ सृष्टिहरू अति राम्रो उद्देश्‍य राखेर बनाउनुभएको छ। उहाँले सूर्य, चन्द्र र पृथ्वीलाई ठ्याक्क मिलाएर राख्नुभएको छ। यसले गर्दा नै पृथ्वीले ताप र प्रकाश पाउँछ अनि यहाँ दिन-रात, ऋतु र ज्वारभाटा हुन्छ।

५. ब्रह्‍माण्डबारे मानिसहरूले जत्ति धेरै बुझ्दै गए त्यत्ति नै तिनीहरूलाई के स्पष्ट भयो?

हाम्रो सौर्यमण्डलमा पृथ्वीको स्थान अनि बडेमाको चन्द्रमाको कक्ष, आकार र पिण्ड पृथ्वीको आवश्‍यकता अनुरूप छ भन्‍ने विषयमा वैज्ञानिकहरूले धेरै कुरा पत्ता लगाएका छन्‌। यी आकाशीय पिण्डहरूका स्थान र यिनीहरूबीचको सम्बन्धले गर्दा नियमित रूपमा ऋतुहरू परिवर्तन भइरहन सम्भव भएको छ। ब्रह्‍माण्डको प्राकृतिक शक्‍तिहरू एकदमै सुव्यवस्थित छन्‌ भन्‍नेबारे पनि वैज्ञानिकहरूले धेरै कुरा पत्ता लगाएका छन्‌। त्यसैकारण मेकानिकल इन्जिनियरिङका प्राध्यापकले एउटा लेखमा a यस्तो टिप्पणी गरे: “ब्रह्‍माण्ड संयोगको उपज हुनै सक्दैन भन्‍ने कुरा मानिलिंदै विगत ३० वर्षमा किन त्यति धेरै वैज्ञानिकहरूले आफ्नो मन बद्‌ले बुझ्न गाह्रो छैन। एकदमै ध्यान पुऱ्‍याएर रचना गरिएको पृथ्वीबारे हामी जत्ति धेरै घोत्लिन्छौं, बुद्धिमान्‌ रचनाकार छ भन्‍ने प्रमाण त्यति नै सशक्‍त बन्छ।”

६. परमेश्‍वरले मानिसलाई जुन तरिकामा बनाउनुभयो, त्यो तपाईंलाई कस्तो लाग्छ?

परमेश्‍वरको सृष्टिको अर्को एउटा महान्‌ पक्ष मानिस आफै हो। (भज. १३९:१४) परमेश्‍वरले मानिस बनाउनुहुँदा तिनीहरूलाई मानसिक क्षमता, आवश्‍यक सबै अंग अनि काम गर्न सक्ने क्षमता र योग्यता दिनुभयो। जस्तै: परमेश्‍वरले मानिसलाई बोल्ने, सुन्‍ने, लेख्ने र पढ्‌ने योग्यता दिनुभएको छ। धेरैसित यी योग्यताहरू छन्‌। मानिस सीधा उभिन सक्नु पनि साँच्चै एउटा उदेकलाग्दो कुरा हो। अनि तपाईंको शरीरको डिजाइन र सन्तुलन, शरीरमा हुने विभिन्‍न रासायनिक प्रक्रिया अनि सीधा उभिएरै चलहल गर्न सक्ने क्षमतालाई विचार गर्नुहोस्‌। यी सब विचार गर्दा हामी चकित हुन्छौं नि, होइन र! यसबाहेक हाम्रो दिमाग र ज्ञानेन्द्रियहरूलाई काम गर्न सक्षम पार्ने स्नायुको सञ्जाललाई विचार गर्नुहोस्‌। वैज्ञानिकहरूले पत्ता लगाएको कुनै कुरा पनि यसको हाराहारीमा आउन सक्दैन। वास्तवमा मानिसले जे-जति हासिल गऱ्‍यो त्यो सबै उसलाई दिइएको दिमाग र ज्ञानेन्द्रियहरूले गर्दा मात्र सम्भव भएको हो। अद्‌भुत तरिकामा डिजाइन गरिएको सुन्दर र उपयोगी दस वटा उत्तोलक अर्थात्‌ हातका औंलाहरू सबैभन्दा प्रशिक्षित र दक्ष इन्जिनियरले पनि बनाउन सक्दैन। आफैलाई सोध्नुहोस्‌, ‘सुन्दर तथा आकर्षक कला-कृति र आश्‍चर्यजनक निर्माणहरू के परमेश्‍वरले दिनुभएको औंलाहरूको दक्ष प्रयोगविना सम्भव हुन्थ्यो र?’

यहोवाका महान्‌ काम र गुणहरू

७. बाइबललाई परमेश्‍वरको एउटा महान्‌ काम ठान्‍नुपर्छ, किन?

मानिसजातिको खातिर परमेश्‍वरले अरू पनि महान्‌ काम गर्नुभएको छ जसबारे बाइबलमा वर्णन गरिएको छ। वास्तवमा, बाइबल आफै पनि यसका पुस्तकहरूबीचको आपसी मेलको लागि अनुपम छ। यो साँच्चै “परमेश्‍वरबाट प्रेरणा भएको . . . [र] उचित जीवन यापन गर्नलाई उपयोगी” छ। अन्य पुस्तकहरूबारे पक्कै यसो भन्‍न सकिंदैन। (२ तिमो. ३:१६) उदाहरणको लागि, बाइबलको पहिलो पुस्तक उत्पत्तिमा परमेश्‍वरले नूहको दिनमा पृथ्वीबाट कसरी दुष्टता हटाउनुभयो भनी बताइएको छ। दोस्रो पुस्तक प्रस्थानमा इस्राएलीहरूलाई मिश्रको दासत्वबाट मुक्‍त गरेर कसरी उहाँ नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गर्नुभयो, देखाइएको छ। सायद यी कुरा सम्झँदै भजनरचयिता यसो भन्‍न उत्प्रेरित भएका हुन सक्छन्‌: यहोवाको] काम आदरको योग्य र महामहिमायुक्‍त हुन्छ, र उहाँको धार्मिकता सदा रहिरहन्छ। उहाँले आफ्ना आश्‍चर्यकामहरूको स्मरण गराउनुभएको छ, परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ।” (भज. १११:३, ४) परमेश्‍वरको काम “आदरको योग्य र महामहिमायुक्‍त” छ भनेर उहाँले विगतमा र अहिले तपाईंको जीवनकालमा गरेका कुरालाई विचार गर्दा, के तपाईं सहमत हुनुहुन्‍न?

८, ९. (क) मानिसहरूको भन्दा परमेश्‍वरको काम कसरी फरक छ? (ख) परमेश्‍वरको कुन-कुन गुणले तपाईंको मन छोयो?

भजनरचयिताले धार्मिकता, करुणा अर्थात्‌ अनुग्रह र कृपा जस्ता यहोवाका सुन्दर गुणहरूमा जोड दिएको पनि याद गर्नुहोस्‌। तपाईंलाई थाहै छ, पापी मानिसजातिको काम विरलै मात्र धार्मिकतामा आधारित हुन्छ। अक्सर तिनीहरूको काम लोभ, ईर्ष्या वा अहंकारले उत्प्रेरित हुन्छ। यो कुरा, मानिसहरूले आर्थिक लाभ र तिनीहरूले सल्काएका युद्धहरूको लागि बनाउने डरलाग्दो हातहतियारहरूबाट प्रस्ट हुन्छ। यस्ता युद्धहरूले गर्दा लाखौं निर्दोष मानिस असीम दुःख र त्रासदीपूर्ण अवस्थाको चपेटामा परेका छन्‌। साथै, मानिसका कतिपय कामहरू गरिब-गुरुवालाई शोषण गरेर सम्पन्‍न गरिएका छन्‌। थुप्रैले उल्लेख गर्ने एउटा उदाहरण कमाराहरूलाई जोताएर बनाइएका पिरामिडहरू हुन्‌। ती पिरामिडहरू मुख्यगरि घमन्डी फिरऊनहरूलाई गाड्‌न प्रयोग गरिन्थ्यो। वर्तमान समयमा मानिसहरूको प्रायजसो काम दमनकारी त छँदैछ साथै तिनीहरूले ‘पृथ्वीलाई नष्ट’ पनि गरिरहेका छन्‌।प्रकाश ११:१८ पढ्‌नुहोस्‌।

सधैं सही कुरामा आधारित यहोवाका कामहरूभन्दा कत्ति फरक! उहाँका काममा पापी मानिसजातिलाई छुटकारा दिनको लागि गरेको कृपालु प्रबन्ध पनि पर्छ। छुटकाराको प्रबन्ध गरेर परमेश्‍वरले ‘आफ्नो धार्मिकता देखाइरहनुभएको’ थियो। (रोमी ३:२५, २६) हो, “उहाँको धार्मिकता सदा रहिरहन्छ”! अनि उहाँ अनुग्रही हुनुहुन्छ भन्‍ने कुरा पापी मानिसजातिसित व्यवहार गर्दा देखाउनुभएको धैर्यतामा देखिन्छ। आफ्नो पापी कार्यबाट फर्केर सही काम गर्न बिन्ती गर्दा उहाँले तिनीहरूसित दयालु व्यवहार गर्नुभयो।—इजकिएल १८:२५ पढ्‌नुहोस्‌।

वचनको पक्का

१०. अब्राहामसित बाँधेको करारको सन्दर्भमा यहोवाले आफू भरोसायोग्य भएको कुरा कसरी देखाउनुभयो?

१० “उहाँसँग डराउनेहरूलाई उहाँले भोजन दिनुभएको छ, उहाँले सधैं आफ्नो करारको सम्झना राख्नुहुन्छ।” (भज. १११:५) यहाँ भजनरचयिताले अब्राहामसित बाँधेको करारलाई संकेत गरिरहेका थिए जस्तो देखिन्छ। यहोवाले अब्राहामको सन्तानलाई आशिष्‌ दिने प्रतिज्ञा गर्नुभयो। अनि उहाँले भन्‍नुभयो कि तिनीहरूले आफ्ना शत्रुका सहरहरू कब्जा गर्नेछन्‌। (उत्प. २२:१७, १८; भज. १०५:८, ९) त्यस प्रतिज्ञाको प्रारम्भिक पूर्तिको रूपमा अब्राहामको सन्तान इस्राएल राष्ट्र बन्यो। त्यो राष्ट्र लामो समयसम्म मिश्रको दासत्वमा पऱ्‍यो तर पछि “परमेश्‍वरले . . . अब्राहाम[सित] . . . गर्नुभएको आफ्नो करार सम्झनुभयो” र तिनीहरूलाई छुटाउनुभयो। (प्रस्थ. २:२४) उहाँ कत्ति उदार हुनुहुन्छ भन्‍ने कुरा त्यसपछि तिनीहरूसित गर्नुभएको व्यवहारबाट स्पष्ट भयो। उहाँले तिनीहरूको शारीरिक र आध्यात्मिक सुस्वास्थ्यको लागि भोजन दिनुभयो। (व्यव. ६:१-३; ८:४; नहे. ९:२१) त्यसपछिका शताब्दीहरूमा त्यो राष्ट्रले पटक-पटक परमेश्‍वरतिर पिठिउँ फर्कायो। तैपनि तिनीहरूलाई फर्कन आग्रह गर्दै परमेश्‍वरले अगमवक्‍ताहरू पठाउनुभयो। इस्राएलीहरूलाई मिश्रबाट मुक्‍त गरेको १,५०० वर्षभन्दा धेरैपछि परमेश्‍वरले आफ्ना एक मात्र पुत्र पृथ्वीमा पठाउनुभयो। अधिकांश यहूदीले येशूलाई इन्कार गरे र उहाँलाई मारिन दिए। त्यसपछि यहोवाले नयाँ राष्ट्र, “परमेश्‍वरका इस्राएल” खडा गर्नुभयो। यो राष्ट्र साँच्चैको नभई प्रतीकात्मक थियो। ख्रीष्टसँगै यो राष्ट्र अब्राहामको प्रतीकात्मक सन्तान बन्छ। यही राष्ट्र मार्फत मानिसजातिलाई आशिष्‌ दिनेछु भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो।—गला. ३:१६, २९; ६:१६.

११. यहोवाले कसरी अब्राहामसित गरेको “करारको सम्झना” गरिरहनुभएको छ?

११ यहोवा “आफ्नो करार” र यस मार्फत दिन्छु भनेर प्रतिज्ञा गरेका आशिष्‌हरूको “सम्झना राख्नुहुन्छ।” आज उहाँले ४०० भन्दा धेरै भाषामा प्रचुर आध्यात्मिक भोजनको प्रबन्ध मिलाइरहनुभएको छ। साथै “हाम्रा दिनहुँको भोजन दिनुहोस्‌” भनी शारीरिक आवश्‍यकताको लागि हामीले गर्ने प्रार्थनाको जवाफ दिइरहनुभएको छ।—लूका ११:३; भज. ७२:१६, १७; यशै. २५:६-८.

यहोवाको उदेकलाग्दो शक्‍ति

१२. कुन अर्थमा प्राचीन इस्राएललाई “अन्यजातिहरूको सम्पत्ति” दिइयो?

१२ “उहाँले आफ्नो प्रजाहरूलाई अन्यजातिहरूको सम्पत्ति दिनलाई आफ्नो कामको शक्‍ति तिनीहरूलाई देखाउनुभएको छ।” (भज. १११:६) इस्राएलको इतिहासको एउटा उल्लेखनीय घटना भजनरचयिताले सम्झेको हुनुपर्छ। त्यो हो: चमत्कारी ढंगमा मिश्रबाट तिनीहरूको छुटकारा। यहोवाले अन्ततः इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न दिनुहुँदा तिनीहरूले यर्दन नदीको पूर्व र पश्‍चिममा पर्ने राष्ट्रहरूमाथि विजय हासिल गरे। (नहेम्याह ९:२२-२५ पढ्‌नुहोस्‌) हो, यहोवाले इस्राएललाई “अन्यजातिहरूको सम्पत्ति” दिनुभयो। परमेश्‍वरको शक्‍तिको कस्तो भव्य प्रदर्शन!

१३, १४. (क) बेबिलोनको सन्दर्भमा भजनरचयिताले परमेश्‍वरको शक्‍तिको कस्तो प्रदर्शन सम्झेका हुन सक्छन्‌? (ख) यहोवाले मुक्‍तिको थप कस्तो महान्‌ कार्य गर्नुभएको छ?

१३ तर हामीलाई थाह छ कि यहोवाले इस्राएलीहरूको खातिर जे-जति गर्नुभए तापनि तिनीहरूले न त परमेश्‍वरलाई न आफ्ना पुर्खा अब्राहाम, इसहाक र याकूबलाई नै आदर देखाए। तिनीहरूले विद्रोह गरिनै रहे र अन्ततः परमेश्‍वरले बेबिलोनीहरू चलाएर तिनीहरूलाई आफ्नो भूमिबाट निकालेर निर्वासनमा पठाउनुभयो। (२ इति. ३६:१५-१७; नहे. ९:२८-३०) केही बाइबलविद्‌हरूका अनुसार भजन १११ का रचयिता इस्राएलीहरू बेबिलोनको निर्वासनबाट फर्किसकेको समयतिरका थिए। यदि त्यसो हो भने यहोवाले देखाएको वफादारिता र शक्‍तिको लागि उहाँको प्रशंसा गर्ने तिनले थप कारण पाएका थिए। कैदीहरूलाई नछोड्‌ने निति भएको बेबिलोन राष्ट्रबाट यहूदीहरूलाई छुटाएर परमेश्‍वरले आफ्नो वफादारिता र शक्‍तिको प्रदर्शन गर्नुभयो।—यशै. १४:४, १७.

१४ त्यसको झन्डै ५०० वर्षपछि पश्‍चात्तापी मानिसहरूलाई पाप र मृत्युको दासत्वबाट छुटाएर परमेश्‍वरले आफ्नो शक्‍ति अझै बृहत्‌ तरिकामा चलाउनुभयो। (रोमी ५:१२) त्यसको एउटा नतिजा, १,४४,००० मानिसहरूले ख्रीष्टको आत्मा-अभिषिक्‍त अनुयायीहरू हुने सुअवसर पाए। सन्‌ १९१९ मा शेष अभिषिक्‍त जनहरूलाई झूटो धर्मको कैदबाट मुक्‍त गर्न यहोवाले आफ्नो शक्‍ति चलाउनुभयो। यस आखिरी समयमा तिनीहरूले जे-जति हासिल गरेका छन्‌, त्यो सब परमेश्‍वरको शक्‍तिले गर्दा नै हो भन्‍न सकिन्छ। आफूलाई मृत्युसम्मै विश्‍वासी प्रमाणित गरेर तिनीहरूले ख्रीष्टसँगै मिलेर स्वर्गबाट पश्‍चात्तापी मानिसहरूको फाइदाको लागि पृथ्वीमाथि शासन गर्नेछन्‌। (प्रका. २:२६, २७; ५:९, १०) प्राचीन इस्राएलको तुलनामा तिनीहरूले पृथ्वीको अधिकार अझै विस्तृत तरिकामा गर्नेछन्‌।—मत्ती ५:५.

सदासर्वदा रहने भरोसायोग्य सिद्धान्तहरू

१५, १६. (क) यहोवाका हातका कामहरूमा के-के पर्छन्‌? (ख) प्राचीन इस्राएललाई परमेश्‍वरले कस्तो आज्ञा दिनुभयो?

१५ “सत्य र इन्साफ उहाँका बाहुलीका कामहरू हुन्‌, उहाँका सबै आदेश पक्का हुन्छन्‌। सत्यता र इमान्दारी भावमा पालन गरिन ती सदा सर्वदाको निम्ति स्थिर भएका छन्‌।” (भज. १११:७, ८) “[यहोवाका] बाहुलीका कामहरू”-मा ढुंगाका दुई पाटी पनि पर्छन्‌ जसमा इस्राएलको लागि दस महत्त्वपूर्ण आज्ञा दिइएको थियो। (प्रस्थ. ३१:१८) यी आज्ञाहरूका साथै मोशाको व्यवस्थाको भाग बनेका सबै निति-नियमहरू सदासर्वदा रहने भरोसायोग्य सिद्धान्तहरूमा आधारित छन्‌।

१६ उदाहरणको लागि, त्यो पाटीमा लेखिएको एउटा आज्ञा यस्तो थियो: “म परमप्रभु तेरा परमेश्‍वर डाह गर्ने [अर्थात्‌, “मेरो मात्र भक्‍ति गरेको चाहने,” NW] परमेश्‍वर हुँ।” यहोवा “[उहाँलाई] प्रेम गर्ने र [उहाँका] आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि कृपा गर्ने परमेश्‍वर” हुनुहुन्छ भनेर पनि यसमा बताइएको छ। त्यो ढुंगाको पाटीमा “आफ्नो बाबु र आमालाई आदर गर्‌,” “चोरी नगर्नू” भन्‍नेजस्ता सदाबहार सिद्धान्तहरू मात्र नभई अरूको चीजबीज लालच नगर्नू भन्‍नेजस्ता गहन अर्थ लुकेको आज्ञा पनि समावेश थियो।—प्रस्थ. २०:५, ६, १२, १५, १७.

पवित्र र भय योग्य मुक्‍तिदाता

१७. परमेश्‍वरको नाउँ पवित्र ठान्‍नुपर्ने कस्ता कारण इस्राएलीहरूसित थियो?

१७ “उहाँले आफ्ना प्रजाहरूका निम्ति मुक्‍ति पठाउनुभएको छ, उहाँले आफ्नो करारको हुकुम सदाको निम्ति ठहऱ्‍याउनुभएको छ। उहाँको नाउँ पवित्र र भययोग्य छ।” (भज. १११:९) यहाँ पनि भजनरचयिताले अब्राहामसित गरेको करारप्रति यहोवा वफादार रहेको कुरा सम्झेको हुन सक्छ। साँच्चै, मिश्रमा आफ्ना जनहरू दासत्वमा पर्दा र पछि बेबिलोनमा कैदी हुँदा उहाँले तिनीहरूलाई त्याग्नुभएन। दुवै चोटि परमेश्‍वरले आफ्ना जनहरूलाई मुक्‍ति दिनुभयो। ती दुई कुराको लागि मात्र भए पनि इस्राएलले परमेश्‍वरको नाउँलाई पवित्र ठान्‍नुपर्थ्यो।—प्रस्थान २०:७; रोमी २:२३, २४ पढ्‌नुहोस्‌।

१८. परमेश्‍वरको नाउँ बहन गर्न पाउनु तपाईंलाई किन सुअवसर जस्तो लाग्छ?

१८ आज साँचो ख्रीष्टियानहरूले पनि उहाँको नाउँलाई पवित्र ठान्‍नुपर्छ जसलाई पाप र मृत्युको दासत्वबाट मुक्‍त गरिएको छ। नमुना प्रार्थनाको पहिलो बिन्ती अनुरूप जीवन बिताउन हामीले सक्दो गर्नुपर्छ: “तपाईंको नाउँ पवित्र गरिओस्‌।” (मत्ती ६:९) यहोवाको महिमित नाउँमा मनन गर्दा हामीमा ईश्‍वरीय भय पैदा हुनुपर्ने हो। ईश्‍वरीय भयबारे भजन १११ का लेखकको दृष्टिकोण सही थियो। तिनले भने: “परमप्रभुको भयनै ज्ञानको शुरु हो, उहाँको आज्ञा मान्‍नेहरू सबैको असल समझ हुन्छ।”—भज. १११:१०.

१९. अर्को लेखमा हामी के छलफल गर्नेछौं?

१९ हामीलाई परमेश्‍वरप्रतिको स्वास्थ्यकर भयले खराबीलाई घृणा गर्न मदत गर्छ। यसले हामीलाई भजन ११२ मा बताइएको परमेश्‍वरका सुन्दर गुणहरूको अनुकरण गर्न पनि मदत गर्नेछ। यो, हामी अर्को लेखमा छलफल गर्नेछौं। त्यो भजनले हामीलाई सदासर्वदै परमेश्‍वरको प्रशंसा गर्ने लाखौंमध्ये कसरी हुन सक्छौं, देखाउँछ। यहोवा यो प्रशंसा पाउन योग्यको हुनुहुन्छ। “उहाँको प्रशंसा सधैंभरि रहिरहन्छ।”भज. १११:१०. (w 09 3/15)

[फुटनोट]

a “The Designed ‘Just So’ Universe.”

मननका लागि प्रश्‍नहरू

• यहोवा किन हाम्रो एकताबद्ध प्रशंसाको योग्य हुनुहुन्छ?

• यहोवाका कस्ता गुणहरू उहाँका काममा देखिन्छ?

• परमेश्‍वरको नाउँ बहन गर्ने सुअवसरलाई तपाईं कसरी हेर्नुहुन्छ?

[प्रश्‍नहरू]