व्यक्तिगत छनौटको कुरामा के तपाईं ‘मेरो गोरुको बाह्रै टक्का’ भन्नुहुन्छ?
व्यक्तिगत छनौटको कुरामा के तपाईं ‘मेरो गोरुको बाह्रै टक्का’ भन्नुहुन्छ?
दुई जना फुच्चेहरू मिलेर खेलिरहेका छन्। तर अचानक एउटाले अर्कोको हातबाट आफ्नो मनपर्ने खेलौना तान्दै भन्छ: “नाइँ! यो मेरो!” असिद्ध मानिसले सानै उमेरदेखि आफू स्वार्थी भएको झलक देखाउन थाल्छ। (उत्प. ८:२१; रोमी ३:२३) यसबाहेक, संसारले साधारणतया आफ्नो स्वार्थ पूरा गर्न नै जोड दिन्छ। यस्तो मनोवृत्तिबाट जोगिन चाहन्छौं भने स्वार्थी झुकावहरूको विरुद्ध कडा संघर्ष गर्नै पर्छ। त्यसो गरेनौं भने सजिलै अरूलाई ठेस पुऱ्याउन र परमेश्वरसितको आफ्नो सम्बन्ध कमजोर बनाउन सक्छौं।—रोमी ७:२१-२३.
हाम्रो व्यवहारले अरूलाई कस्तो असर पार्न सक्छ, त्यो विचार गर्न प्रोत्साहन दिंदै प्रेरित पावलले लेखे: “सबै कुरा न्यायसंगत छन्, तर सबै कुरा फायदाका छैनन्। सबै कुरा उचित छन्, तर सबै कुराले सुधार गर्दैनन्।” तिनले यसो पनि भने: “कुनै किसिमको बाधा पार्ने मौका नदेओ।” (१ कोरि. १०:२३, ३२) त्यसैकारण व्यक्तिगत छनौट गर्न सक्ने विषयमा आफूलाई यस्तो प्रश्न सोध्नु बुद्धिमानी हुन्छ: ‘मण्डलीको शान्तिमा खलल पुग्छ भने के म आफ्नो कुनै अधिकारलाई माया मार्न इच्छुक छु? सजिलो नभए तापनि के म बाइबलका सिद्धान्तहरू अनुरूप चल्न तयार छु?’
जागिर छान्दा
धेरैजसो मानिसको विचारमा कस्तो जागिर खाने भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो र यसले अरू मानिसलाई केही असर पार्दैन, पाऱ्यो नै भने पनि न्यून। तर दक्षिण अमेरिकाको एउटा सानो सहरमा बस्ने व्यापारीको उदाहरण विचार गर्नुहोस्। तिनी जुवाडे र पियक्कड भनी चिनिन्थे। तर यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै गएपछि तिनले सिकेका कुरा व्यवहारमा उतारेर जीवनमा परिवर्तन ल्याउन थाले। (२ कोरि. ७:१) तिनले मण्डलीसित प्रचारकार्यमा जाने इच्छा व्यक्त गर्दा एक प्राचीनले कुशलतासाथ तिनलाई आफ्नो कामको प्रकारबारे विचार गर्न भने। केही समयदेखि तिनी त्यस सहरमा उखुको शुद्ध रक्सीको मुख्य बिक्रेता थिए। त्यस रक्सीको विभिन्न प्रयोग हुने भए तापनि त्यहाँका बासिन्दाहरू चाहिं साधारणतया मात्तिनको लागि नै त्यो रक्सी हल्का पेय पदार्थमा मिसाएर पिउने गर्थे।
प्राचीनसितको कुराकानीपछि ती मानिसले बुझे कि रक्सी पनि बेच्ने अनि सार्वजनिक प्रचारकार्यमा पनि भाग लिने गऱ्यो भने मण्डलीको नाउँ बदनाम हुन्छ र परमेश्वरसितको सम्बन्ध खतरामा पर्न सक्छ। तिनको ठूलो परिवार तिनमै निर्भर भए तापनि त्यो काम तिनले छोडिदिए। अहिले कागतले बनाइएका सामानहरू बेचेर तिनले परिवार पालिरहेका छन्। ती व्यक्ति, तिनकी पत्नी र पाँच छोराछोरीमध्ये दुई जनाले अहिले बप्तिस्मा लिइसकेका छन्। तिनीहरूले धक नमानी जोसका साथ सुसमाचार प्रचार गरिरहेका छन्।
साथी-संगति छान्दा
यहोवाको साक्षीबाहेक अरूसित हेलमेल गर्नु के व्यक्तिगत छनौटको कुरा हो वा यसमा बाइबल सिद्धान्तहरू मुछिएका छन्? एउटी बहिनी गैर-साक्षी केटासित पार्टीमा जान चाहन्थिन्। त्यसरी पार्टीमा जानुका खतराहरूबारे होसियार गराइए तापनि तिनलाई यो आफ्नो अधिकारको कुरा हो भन्ने लाग्यो र पार्टीमा गइन्। पार्टीमा पुगेको एकछिनमै तिनलाई पेय पदार्थ दिइयो र त्यसमा लट्ठ पार्ने कुरा मिसाइएको थियो। केही घण्टापछि तिनको होस खुल्यो र आफूले साथी ठानेको त्यही व्यक्तिद्वारा आफ्नो बलात्कार भएको थाह पाइन्।—उत्पत्ति ३४:२ तुलना गर्नुहोस्।
यहोवाको साक्षीबाहेक अरूसित संगत गर्दा सधैं त्यस्तो दर्दनाक अनुभव त नहोला तर बाइबलले हामीलाई यसरी हितो. १३:२०) यसमा दुई मत छैन कि खराब संगत छान्दा खतरामा परिन्छ! हितोपदेश २२:३ भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” साथी-संगतिले हामीलाई र परमेश्वरसितको हाम्रो सम्बन्धलाई असर पार्न सक्छ।—१ कोरि. १५:३३; याकू. ४:४.
होसियार गराउँछ: “बुद्धिमानीहरूको सङ्गत गर्नाले बुद्धिमान होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।” (पहिरन र कोरीबाटीमा
फेसन मौसमअनुसार बद्लिरहन्छ। तर पहिरन र कोरीबाटी सम्बन्धी बाइबलको सिद्धान्त बद्लिंदैन। पावलले ख्रीष्टियान स्त्रीहरूलाई भने: “सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र पहिरून्।” यो सिद्धान्त पुरुषहरूलाई पनि उत्तिकै लागू हुन्छ। (१ तिमो. २:९, NRV ) ख्रीष्टियानहरूको पहिरन एकदमै साधा वा युनिफर्म जस्तो हुनुपर्छ भनेर त पावलले भनिरहेका थिएनन्। त्यसोभए भद्रताबारे के भन्न सकिन्छ? एउटा शब्दकोशले भद्रताको अर्थ यसरी दिएको छ: “अहंकार वा अहम्ता नभएको; . . . पहिरन, बोलीचाली र आचारणमा शिष्ट।”
हामीले आफूलाई यस्तो प्रश्न गर्नुपर्छ: ‘आफूतिर अनावश्यक ध्यान खिच्ने लुगा लगाउन जिद्दी गर्छु भने के मैले इमानदार भई म भद्र छु भन्न सक्छु? मेरो लुगाले आफू र आफ्नो नैतिकताबारे अर्कै संकेत दिइरहेको छ कि?’ यस सन्दर्भमा हामी अरूलाई “केही बाधा” नदिने हुन सक्छौं। कसरी? “आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूको कुरामा पनि ध्यान” दिएर।—२ कोरि. ६:३; फिलि. २:४.
व्यापारमा
कोरिन्थ मण्डलीमा गलत काम-कारबाही अथवा जालसाजीसम्बन्धी गम्भीर विवाद खडा हुँदा पावलले लेखे: “बरु अन्याय किन नसहनु? बरु किन ठगिएरनै नरहनु?” आफ्नो भाइलाई अदालतमा उभ्याउनुको सट्टा केही त्याग गर्न तयार हुनुपर्छ भनी पावलले ख्रीष्टियानहरूलाई सल्लाह दिए। (१ कोरि. ६:१-७) अमेरिकाका एक भाइले यस सल्लाहलाई गम्भीरता साथ लिए। तिनी एक ख्रीष्टियान भाइकहाँ काम गर्थे र उक्त भाइसित आफूले पाउनुपर्ने पैसाबारे तिनको कुरा मिलिरहेको थिएन। धर्मशास्त्रीय डोऱ्याइअनुसार ती भाइहरू सहमतिमा पुग्न पटक-पटक सँगै बसे तर समस्या सुल्झिएन। आखिर तिनीहरू ख्रीष्टियान प्राचीनहरूले प्रतिनिधित्व गर्ने “समुदाय” अर्थात् मण्डलीसामु पुगे।—मत्ती १८:१५-१७.
तर दुःखको कुरा समस्या अझै सुल्झिएन। खुरन्धार प्रार्थना गरेपछि जागिर खाइरहेको भाइलाई, आफूले जति रकम पाउनुपर्छ जस्तो लागेको थियो त्यसमध्ये धेरै माया मारिदिए। किन? तिनले पछि यसो भने: “त्यो असहमतिले मेरो आनन्द लुटिरहेको थियो र ख्रीष्टियान गतिविधिमा लगाउन सक्ने मेरो बहुमूल्य समय खाइरहेको थियो।” त्यो निर्णय गरेपछि ती भाइले आफ्नो आनन्द फर्केको र आफ्नो सेवामा यहोवाको आशिष् वर्षेको महसुस गरे।
स-साना कुरामा समेत
स-साना कुरामा समेत ‘मेरो गोरुको बाह्रै टक्का’ नभन्दा आशिष्हरू पाइन्छ। एक अग्रगामी दम्पती जिल्ला अधिवेशनको पहिलो दिनमा चाँडै अधिवेशन स्थल पुगे र आफूलाई मन पर्ने ठाउँ छानेर बसे। कार्यक्रम सुरु भएपछि भन्ट्याङभुन्टुङसहितको एउटा ठूलो परिवार खचाखच मान्छे भरिएको रंगशालामा ठाउँ खोज्दै हतार-हतार आइरहेको देखे। त्यो परिवारले आफूलाई पुग्दो सीट खोजिरहेको ती अग्रगामी दम्पतीले याद गरे। त्यसपछि तिनीहरूले आफ्नो सीट छोडिदिए। त्यसले गर्दा त्यो परिवार सबै सँगै बस्न पाए। अधिवेशन सकेको एक-दुई दिनपछि ती अग्रगामी दम्पतीले त्यो परिवारबाट धन्यवादको चिठी पाए। त्यो चिठीमा तिनीहरू अधिवेशन स्थल ढिला पुगेकोले कत्ति निरुत्साहित भएका थिए बताइएको थियो। तर ती अग्रगामी दम्पतीले देखाएको दयाको कारण तिनीहरूको मन आनन्द र कृतज्ञताले भरिएको थियो।
मौका पाउँदा हामी पनि अरूको खातिर आफ्नो छनौट त्याग्न तयार होऔं। ‘आफ्नै भलाइ नखोज्ने’ प्रेम देखाउँदा हामीले मण्डली र छिमेकमा शान्ति कायम राख्न मदत गरिरहेका हुन्छौं। (१ कोरि. १३:५) तर सबैभन्दा महत्त्वपूर्ण, यहोवासितको आफ्नो मित्रतालाई जोगाइराखेका हुनेछौं। (w 09 2/15)