सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अय्यूबले यहोवाको नाउँ उच्च पारे

अय्यूबले यहोवाको नाउँ उच्च पारे

अय्यूबले यहोवाको नाउँ उच्च पारे

“परमप्रभुको [अर्थात्‌, “यहोवाको,” NW ] नाउँ धन्यको होस्‌।” —अय्यूब १:२१.

१. अय्यूबको पुस्तक कसले लेखेको हुन सक्छ र कहिले?

 फिरऊनको क्रोधबाट बच्न मिश्र छोडेर मिद्यानतर्फ भाग्दा मोशा लगभग ४० वर्षका थिए। (प्रेरि. ७:२३, २९) त्यहाँ रहँदा-बस्दा तिनले नजिकै ऊज भन्‍ने ठाउँका अय्यूबले भोगेका परीक्षाहरूबारे सुनेको हुनुपर्छ। वर्षौंपछि मोशा र इस्राएलीहरू उजाडस्थानको यात्राको लगभग अन्ततिर ऊज नजिकै पुग्दा मोशाले अय्यूबको जीवनका अन्तिम वर्षहरूबारे थाह पाएको हुनुपर्छ। अय्यूबको मृत्यु भएको केही वर्षपछि मोशाले अय्यूबको पुस्तक लेखे भनी यहूदी इतिहासले देखाउँछ।

२. अय्यूबको पुस्तकले अहिले यहोवाका सेवकहरूको विश्‍वास कसरी बलियो बनाउँछ?

अय्यूबको पुस्तकले वर्तमान समयमा परमेश्‍वरका सेवकहरूको विश्‍वास बलियो बनाउँछ। कसरी? यस विवरणले स्वर्गमा भएको अत्यन्तै महत्त्वपूर्ण घटना बुझ्न हामीलाई मदत गर्छ र यसले परमेश्‍वरको विश्‍वव्यापी सार्वभौमिकताको महत्त्वपूर्ण विवादलाई जोड दिन्छ। साथै, सत्यनिष्ठ हुनुमा के समावेश छ भन्‍नेबारे हाम्रो समझ बढाउन र यहोवा कहिलेकाहीं आफ्ना जनहरूलाई दुःखकष्ट आइपर्न किन दिनुहुन्छ भनी बुझ्न पनि अय्यूबको पुस्तकको विवरणले मदत गर्छ। त्यति मात्र होइन, अय्यूबको पुस्तकले शैतानलाई यहोवाको मुख्य विरोधी र मानिसजातिको शत्रुको रूपमा चिनाउँछ। अय्यूबजस्तै असिद्ध मानिसहरू पनि कठीन परीक्षा आइपर्दासमेत यहोवाप्रति वफादार रहन सक्छन्‌ भनेर पनि यस पुस्तकले देखाउँछ। आउनुहोस्‌ हामी अय्यूबको पुस्तकमा लेखिएका केही घटना जाँचौं।

शैतानले अय्यूबको परीक्षा गऱ्‍यो

३. हामीलाई अय्यूबबारे के थाह छ र शैतानले तिनलाई किन निसाना बनायो?

अय्यूब असल नैतिक गुणहरू भएका धनी र प्रतिष्ठित कुलपिता थिए। तिनी खाँचोमा परेकाहरूलाई मदत गर्ने अत्यन्तै सम्मानित सल्लाहकार थिए भनेर पनि प्रस्टै थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा अय्यूब परमेश्‍वरसँग डराउँथे। अय्यूब “निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्‍वरसँग डराउँथे र खराब कामबाट अलग रहन्थे।” आफूसँग भएको धन र प्रतिष्ठाले गर्दा होइन तर परमेश्‍वरप्रति भक्‍त भएकोले अय्यूब शैतानको आक्रमणको निसाना भए।—अय्यू. १:१; २९:७-१६; ३१:१.

४. सत्यनिष्ठा के हो?

अय्यूबको पुस्तकको सुरुको विवरणले स्वर्गदूतहरू स्वर्गमा यहोवासामु उपस्थित भएको घटनाबारे बताउँछ। शैतान पनि त्यहाँ उपस्थित थियो र त्यसले अय्यूबलाई आरोप लगायो। (अय्यूब १:६-११ पढ्‌नुहोस्‌) त्यसले अय्यूबको सर-सम्पत्तिबारे उल्लेख गरेको भए तापनि मुख्यतया अय्यूबको सत्यनिष्ठामाथि शङ्‌का गऱ्‍यो। “सत्यनिष्ठा” शब्दले इमानदार, निर्दोष, धर्मी र निष्कलंक भन्‍ने अर्थ बुझाउँछ। बाइबलमा प्रयोग गरिएको मानव सत्यनिष्ठाले यहोवाप्रति तनमनको भक्‍तिलाई जनाउँछ।

५. शैतानले अय्यूबबारे के दाबी गऱ्‍यो?

स्वार्थको कारण मात्र अय्यूबले परमेश्‍वरको उपासना गरेको हो सत्यनिष्ठ भएकोले होइन भनेर शैतानले दाबी गऱ्‍यो। जबसम्म परमेश्‍वरले अय्यूबलाई आशिष्‌ दिनुहुन्छ र तिनको सुरक्षा गर्नुहुन्छ, तबसम्म मात्र ऊ यहोवाप्रति वफादार हुनेछ भनेर शैतानले आरोप लगायो। शैतानले लगाएको आरोप गलत साबित गर्न यहोवाले शैतानलाई ती वफादार मानिसमाथि आक्रमण गर्ने अनुमति दिनुभयो। परिणामस्वरूप एकै दिनमा अय्यूबले आफ्ना वस्तुभाऊहरू चोरी भएका र मारिएका, गोठालाहरू मारिएका र आफ्ना दस छोराछोरीले ज्यान गुमाउनुपरेको सुन्‍नुपऱ्‍यो। (अय्यू. १:१३-१९) के शैतानको आक्रमणले अय्यूबको सत्यनिष्ठा तोडियो? विपत्ति आउँदा अय्यूबले देखाएको प्रतिक्रियाबारे प्रेरित विवरण यसो भन्छ: “परमप्रभुले दिनुभयो, औ परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्‌।”—अय्यू. १:२१.

६. (क) स्वर्गमा अर्को जमघट हुँदा के भयो? (ख) अय्यूब यहोवाप्रति सत्यनिष्ठ हुनेछैन भनेर चुनौती दिंदा शैतानले कसलाई पनि मुछ्‌यो?

पछि, स्वर्गमा अर्को जमघट भयो। फेरि पनि शैतानले अय्यूबलाई आरोप लगायो। त्यसले यसो भन्यो: “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र? आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुऱ्‍याउनुभए तिनले तपाईंको मुखकै सामने तपाईंलाई सराप्नेछन्‌।” याद गर्नुहोस्‌, त्यस आरोपमा शैतानले अरूलाई पनि मुछ्‌यो। “आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र” भन्दै शैतानले अय्यूबको सत्यनिष्ठालाई मात्र होइन; यहोवाको उपासना गर्ने प्रत्येक “मानिस”-को सत्यनिष्ठालाई चुनौती दियो। त्यसपछि यहोवाले शैतानलाई अय्यूबमाथि पीडादायी रोग ल्याउने अनुमति दिनुभयो। (अय्यू. २:१-८) तर अय्यूबको परीक्षा यतिमै सिद्धिएन।

अय्यूबको अडानबाट के सिक्न सक्छौं?

७. अय्यूबलाई तिनकी पत्नी र भेट्‌न आउने मानिसहरूले के-कस्ता दबाब दिए?

सुरुमा त अय्यूबकी पत्नीले पनि आफ्नो पतिले जस्तै पीडा महसुस गरिन्‌। छोराछोरी र पुर्ख्यौली धनसम्पत्ति गुमाउनुपर्दा उनलाई निश्‍चय नै चोट पुगेको हुनुपर्छ। आफ्नो पति पीडादायी रोगको सिकार भएको देख्नुपर्दा उनको हृदय पक्कै छियाछिया भयो। विरक्‍त हुँदै उनले अय्यूबलाई यसो भनिन्‌: “के तपाईं आफ्नो निष्ठामा अझै अडिनै रहनुहुन्छ? परमेश्‍वरलाई सरापेर मरे असल हुन्छ।” त्यसपछि अय्यूबलाई बनावटी सान्त्वना दिन तीन जना मानिसहरू—एलीपज, बिल्दद र सोपर आइपुगे। तर तिनीहरूले कुटिल तर्क गरे र “व्यर्थका सान्त्वना दिनेहरू” साबित भए। उदाहरणको लागि, बिल्ददको भनाइअनुसार अय्यूबका छोराछोरीले पाप गरेकोले त्यसको फल तिनीहरूले भोग्नुपरेको हो। एलीपजले चाहिं अय्यूबले पहिला पाप गरेकोले अहिले दुःखकष्ट भोगिरहेको हो भन्‍ने आरोप लगाए। त्यतिमात्र कहाँ हो र? तिनले ‘सत्यनिष्ठ भइरहने मानिस परमेश्‍वरको नजरमा कुनै मूल्यको हुन्छ र?’ भनेर प्रश्‍नसमेत उठाए! (अय्यू. २:९, ११; ४:८; ८:४; १६:२; २२:२, ३) यस्तो असह्‍य दबाब आउँदा पनि अय्यूब सत्यनिष्ठामा अडिग रहे। हो, “अय्यूबले आफूलाई परमेश्‍वरभन्दा पनि धेरै धर्मी” तुल्याउनु वास्तवमा गलत थियो। (अय्यू. ३२:२) तैपनि, तिनी सबै कुरामा वफादार भइरहे।

८. आज अरूलाई सल्लाह दिनुपर्नेहरूका लागि एलीहूले कस्तो असल उदाहरण बसाले?

त्यसपछिको विवरणमा अय्यूबलाई भेट्‌न आउने एलीहूबारे बताइएको पाउँछौं। एलीहूले पहिला अय्यूब र तिनका तीन जना साथीहरूको तर्क ध्यान दिएर सुने। अन्य चार जनाको तुलनामा कान्छो भए तापनि एलीहूले बडो बुद्धि देखाए। तिनले अय्यूबलाई आदर गर्दै कुरा गरे। अय्यूबले बिताइरहेको धार्मिक जीवनको एलीहूले प्रशंसा गरे। तर अय्यूबले आफैलाई धर्मी ठहऱ्‍याउन बढी नै ध्यान दिइरहेका छन्‌ भनेर पनि तिनले बताए। यसबाहेक, वफादार भएर परमेश्‍वरको सेवा गर्दा कहिल्यै खेर जाँदैन भनेर पनि एलीहूले अय्यूबलाई आश्‍वस्त पारे। (अय्यूब ३६:१, ११ पढ्‌नुहोस्‌) आज अरूलाई सल्लाह दिनुपर्ने व्यक्‍तिहरूका लागि कत्ति असल उदाहरण! एलीहूले धैर्य देखाए, ध्यान दिएर सुने, प्रशंसा गर्नुपर्ने ठाउँमा प्रशंसा गरे र हौसला मिल्ने सल्लाह दिए।—अय्यू. ३२:६; ३३:३२.

९. यहोवाले अय्यूबलाई कसरी मदत गर्नुभयो?

अन्तमा यहोवा स्वयम्‌ अय्यूबसित बोल्नुभयो। यो क्षण तिनको लागि पत्याइ नसक्नु थियो। विवरण यसो भन्छ: “परमप्रभुले अय्यूबलाई आँधीबेह्रीबाट . . . जवाफ दिनुभयो।” एकपछि अर्को प्रश्‍न सोध्दै यहोवाले दयालु तर दृढ भएर अय्यूबको सोचाइ सच्याउन मदत गर्नुभयो। यसो भन्दै तिनले सल्लाह स्वीकारे: “म जाबो . . . म धूलो र खरानीमा बसेर पश्‍चाताप गर्दछु।” अय्यूबसित बोलेपछि अय्यूबका तीन जना मित्रहरूसित यहोवा रिसाउनुभयो। किनकि तिनीहरूले “भन्‍नुपर्ने कुरा” अर्थात्‌ सत्य कुरा भनेका थिएनन्‌। अय्यूबले तिनीहरूका लागि प्रार्थना गर्नुपर्थ्यो। त्यसपछि “आफ्ना मित्रहरूका निम्ति अय्यूबले अन्तरबिन्ती गरिदिंदा परमप्रभुले अय्यूबमाथि निगाह गर्नुभयो। यसरी परमप्रभुले अय्यूबको सुदिन फर्काइदिनुभयो, र तिनका सबै धनसम्पत्ति दुइ गुणा बढाइदिनुभयो।”—अय्यू. ३८:१; ४०:४; ४२:६-१०.

हामी यहोवालाई कत्तिको प्रेम गर्छौं?

१०. यहोवाले शैतानलाई किन बेवास्ता गर्नुभएन वा नष्ट गर्नुभएन?

१० यहोवा ब्रह्‍माण्डको सृष्टिकर्ता र सबै सृष्टिको सार्वभौम भए तापनि शैतानले खडा गरेको चुनौतीलाई उहाँले किन बेवास्ता गर्नुभएन? शैतानलाई बेवास्ता गर्दैमा वा त्यसलाई नष्ट गर्दैमा विवाद सुल्झदैन भनेर परमेश्‍वरलाई थाह थियो। धनसम्पत्ति स्वाहा भएमा परमेश्‍वरको असल सेवक अय्यूब परमेश्‍वरप्रति वफादार रहने छैन भनेर शैतानले दाबी गरेको थियो। परीक्षामा पनि अय्यूब वफादार भइरहे। त्यसपछि, शारीरिक रूपमा नै दुःख भोग्नुपऱ्‍यो भने जुनसुकै मानिस परमेश्‍वरबाट तर्कन्छ भनेर शैतानले दाबी गऱ्‍यो। अय्यूबले शारीरिक दुःख भोगे तर तिनको सत्यनिष्ठा भने भङ्‌ग भएन। यसप्रकार, असिद्ध तर वफादार व्यक्‍ति अय्यूबको सन्दर्भमा शैतान झूटो ठहरियो। परमेश्‍वरका अन्य उपासकहरूबारे चाहिं के भन्‍न सकिन्छ?

११. येशूले शैतान झूटो हो भन्‍ने कुरा कसरी छर्लङ्‌ग पारिदिनुभयो?

११ शैतानले जस्तोसुकै परीक्षा ल्याए तापनि त्यस निष्ठुर शत्रुले लगाएका आरोपहरू आफ्नो सन्दर्भमा गलत हुन्‌ भनेर परमेश्‍वरका प्रत्येक सत्यनिष्ठ सेवकले देखाइरहन्छन्‌। येशू पृथ्वीमा आउनुभयो र शैतान झूटो हो भन्‍ने कुरा छर्लङ्‌ग पारिदिनुभयो। हाम्रा प्रथम पिता आदमजस्तै येशू सिद्ध हुनुहुन्थ्यो। मृत्युसम्मै वफादार भएर येशूले शैतान झूटो हो र त्यसले लगाएका आरोपहरू गलत हुन्‌ भनेर सदाको लागि प्रमाणित गरेर देखाउनुभयो।—प्रका. १२:१०.

१२. यहोवाका प्रत्येक सेवकसित कस्तो मौका र जिम्मेवारी छ?

१२ तैपनि, शैतानले यहोवाका उपासकहरूको परीक्षा गरिरहेको छ। यहोवाप्रतिको प्रेमले गर्दा हामी उहाँको सेवा गर्छौं, स्वार्थले गर्दा होइन भनेर देखाउने मौका र जिम्मेवारी हामी प्रत्येकसित छ। व्यक्‍तिगत रूपमा सत्यनिष्ठ भएर हामी यो कुरा देखाउन सक्छौं। यस जिम्मेवारीलाई हामी कसरी लिन्छौं? यहोवाप्रति वफादार हुनुलाई हामी विशेष सम्मानको रूपमा लिन्छौं। साथै, यहोवाले हामीलाई सहने बल दिनुहुन्छ र अय्यूबको सन्दर्भमा जस्तै हामीले भोग्ने परीक्षाको सीमा तोक्नुहुन्छ भनी थाह पाउनु सान्त्वनादायी छ।—१ कोरि. १०:१३.

शैतान एक बेसरम विरोधी र धर्मत्यागी

१३. अय्यूबको पुस्तकले शैतानबारे कस्तो विवरण दिन्छ?

१३ यहोवालाई चुनौती दिने र मानिसजातिलाई अलमलमा पार्ने शैतानको निर्लज्ज कामबारे हिब्रू धर्मशास्त्रले विस्तृत रूपमा बताएको छ। शैतानले यहोवाको विरोध गरेको थप जानकारी ख्रीष्टियान युनानी धर्मशास्त्रमा पाउँछौं भने प्रकाशको पुस्तकबाट यहोवाको सार्वभौमिकता ठीक छ भन्‍ने कुराको पुष्टि र शैतानको अन्तिम विनाशबारे सिक्छौं। अय्यूबको पुस्तकबाट शैतानको विद्रोही मार्गबारे अझै थाह पाउँछौं। स्वर्गको जमघटमा उपस्थित हुँदा शैतान यहोवाको प्रशंसा गर्ने उद्देश्‍यले आएको थिएन। त्यसको नियत खराब थियो र उद्देश्‍य दुष्ट थियो। अय्यूबलाई आरोप लगाएर तिनको परीक्षा गर्ने अनुमति पाएपछि “शैतान परमप्रभुको उपस्थितिबाट निस्किहाल्यो।”—अय्यू. १:१२; २:७.

१४. अय्यूबप्रति शैतानको धारणा कस्तो थियो?

१४ त्यसैले अय्यूबको पुस्तकले शैतानलाई मानिसजातिको निष्ठुर शत्रुको रूपमा चिनाउँछ। अय्यूब १:६ मा बताइएको र अय्यूब २:१ मा बताइएको स्वर्गमा भएको जमघटबीच कति समय बित्यो, तोकेर बताइएको छैन। तथापि, त्यस समयावधिभित्र अय्यूबले कठोर परीक्षा भोगे। अय्यूब वफादार भएकोले यहोवाले शैतानलाई यसो भन्‍न सक्नुभयो: “तैंले मलाई विनाकारण त्यसलाई नाश गर्नलाई उस्काइस्‌। तर [अय्यूबको] निष्ठा अझसम्म ढलपल भएको छैन।” तैपनि आफूले लगाएको आरोप गलत थियो भनेर शैतानले स्वीकारेन। त्यसको सट्टा त्यसले अय्यूबलाई अझ कठोर परीक्षामा पार्न खोज्यो। यसरी शैतानले अय्यूबलाई समृद्ध अनि दरिद्र दुवै अवस्थामा परीक्षा गऱ्‍यो। स्पष्ट छ, दरिद्र र आपत्‌-विपत्‌मा परेकाहरूलाई शैतान रत्तिभर दया देखाउँदैन। त्यसले सत्यनिष्ठ मानिसलाई घृणा गर्छ। (अय्यू. २:३-५) तैपनि, अय्यूब वफादार भएकोले शैतान झूटो ठहरियो।

१५. आधुनिक समयका धर्मत्यागीहरू र शैतानबीच कुन कुरा मिल्दोजुल्दो छ?

१५ धर्मत्यागी हुने पहिलो प्राणी शैतान थियो। अहिलेका धर्मत्यागीहरू पनि शैतानकै जस्तो बेहोरा देखाउँछन्‌। मण्डलीका भाइबहिनीहरू, ख्रीष्टियान प्राचीनहरू वा परिचालक निकायप्रति तिनीहरू आलोचनात्मक मनोवृत्ति राख्छन्‌। केही धर्मत्यागीहरू परमेश्‍वरको नाउँ यहोवा प्रयोग गर्नैहुँदैन भनेर विरोध गर्छन्‌। तिनीहरूलाई यहोवाबारे सिक्ने वा उहाँको सेवा गर्ने कुनै इच्छा छैन। यी धर्मत्यागीहरू आफ्नो पिता शैतानले जस्तै सत्यनिष्ठ मानिसलाई हानि पुऱ्‍याउन खोज्छन्‌। (यूह. ८:४४) त्यसैले यहोवाका सेवकहरू यस्ता धर्मत्यागीहरूसित कुनै सरोकार राख्दैनन्‌।—२ यूह. १०, ११.

अय्यूबले यहोवाको नाउँ उच्च पारे

१६. अय्यूबले यहोवाप्रति कस्तो धारणा राखे?

१६ अय्यूबले यहोवाको नाउँ प्रयोग गर्नुका साथै त्यस नाउँको प्रशंसा पनि गरे। छोराछोरीको मृत्युको समाचारले शोकित भए तापनि अय्यूबले यहोवालाई कुनै दोष लगाएनन्‌। आफूमाथि आइपरेको विपत्तिको आरोप भूलवश परमेश्‍वरलाई लगाउन पुगे पनि अय्यूबले यहोवाको नाउँ उच्च पारे। पछि अय्यूबले यसो भने: “परमेश्‍वरको डरनै बुद्धि हो, र दुष्टताबाट अलग रहनु समझशक्‍ति हो।”—अय्यू. २८:२८.

१७. सत्यनिष्ठ भइरहन अय्यूबलाई केले मदत दियो?

१७ सत्यनिष्ठ भइरहन अय्यूबलाई केले मदत दियो? स्पष्ट छ, विपत्तिहरू भोग्नुभन्दा पहिलेदेखि नै तिनले यहोवासित घनिष्ठ सम्बन्ध गाँसिसकेका थिए। शैतानले यहोवालाई चुनौती दिएको विषयमा अय्यूबलाई पहिल्यै थाह थियो भन्‍ने कुराको कुनै प्रमाण हामीसित छैन। तैपनि, तिनी वफादार रहिरहन दृढ थिए। तिनले भने: “नमरुञ्जेल म निर्दोष छु भन्‍ने मेरो दाबीलाई म छोड्‌नेछैनँ।” (अय्यू. २७:५) अय्यूबले कसरी यस्तो घनिष्ठ सम्बन्ध गाँस्न सके? निस्सन्देह, तिनले अब्राहाम, इसहाक र याकूबजस्ता तिनका टाढाका नातेदारसित यहोवाले गर्नुभएको व्यवहारबारे जे सुनेका थिए, त्यसको कदर गरे। साथै, सृष्टिलाई हेरेर पनि अय्यूबले यहोवाका थुप्रै गुणबारे बुझ्न सके।—अय्यूब १२:७-९, १३, १६ पढ्‌नुहोस्‌।

१८. (क) अय्यूबले यहोवाप्रति कसरी भक्‍ति देखाए? (ख) हामी कसरी अय्यूबको असल उदाहरण अनुकरण गर्छौं?

१८ आफूले सिकेका कुराहरूले गर्दा अय्यूब यहोवालाई खुसी पार्न उत्प्रेरित भए। परिवारले परमेश्‍वरलाई मन नपर्ने कुनै काम गरेका छन्‌ कि वा “मनमा ईश्‍वरनिन्दा गरे” कि भनेर तिनी नियमित रूपमा बलिदान चढाउने गर्थे। (अय्यू. १:५) कठोर परीक्षा आइपर्दासमेत अय्यूबले यहोवाबारे सकारात्मक कुरा गरिरहे। (अय्यू. १०:१२) कस्तो असल उदाहरण! हामीले पनि यहोवा र उहाँको उद्देश्‍यबारे नियमित तवरमा सही ज्ञान लिइरहनुपर्छ। यहोवासितको सम्बन्ध बलियो बनाउने असल बानी हामीसित छ। जस्तै: अध्ययन, सभामा उपस्थिति, प्रार्थना र सुसमाचार प्रचार। यसबाहेक, यहोवाको नाउँ उच्च पार्न हामी आफूले सकेजति सबै गर्छौं। जसरी अय्यूबको सत्यनिष्ठाले यहोवालाई खुसी पाऱ्‍यो, त्यसरी नै यहोवाका आजका सेवकहरूको सत्यनिष्ठाले पनि उहाँको हृदयलाई आनन्दित तुल्याउँछ। यसबारे अर्को लेखमा छलफल गरिनेछ।

(w 09 4/15)

के तपाईंलाई याद छ?

• अय्यूब किन शैतानको निसाना भए?

• अय्यूबले कस्ता परीक्षाहरू भोगे र तिनले कस्तो प्रतिक्रिया देखाए?

• अय्यूबले जस्तै सत्यनिष्ठा कायम राख्न हामीलाई केले मदत गर्नेछ?

• अय्यूबको पुस्तकबाट हामी शैतानबारे के सिक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएको चित्र]

अय्यूबको विवरणले हामीलाई परमेश्‍वरको विश्‍वव्यापी सार्वभौमिकताको महत्त्वपूर्ण विवाद सम्झन मदत गर्छ

[पृष्ठ १४-मा भएको चित्र]

के-कस्ता अवस्थामा तपाईंको सत्यनिष्ठाको जाँच हुन सक्छ?