सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको सत्यनिष्ठाले यहोवाको हृदय आनन्दित बनाउँछ

तपाईंको सत्यनिष्ठाले यहोवाको हृदय आनन्दित बनाउँछ

तपाईंको सत्यनिष्ठाले यहोवाको हृदय आनन्दित बनाउँछ

“हे मेरो छोरो, बुद्धिमान्‌ हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।”—हितो. २७:११.

१, २. (क) अय्यूबको पुस्तकले शैतानले खडा गरेको कुन चुनौतीबारे बताउँछ? (ख) अय्यूबको समयभन्दा पछिसम्म पनि शैतानले यहोवाको आलोचना गरिरह्‍यो भनेर कुन कुराले देखाउँछ?

 यहोवाले शैतानलाई आफ्नो वफादार सेवक अय्यूबको सत्यनिष्ठा जाँच गर्ने अनुमति दिनुभयो। फलस्वरूप, अय्यूबले आफ्ना वस्तुभाऊ र छोराछोरी गुमाए अनि तिनको स्वास्थ्य पनि बिग्रियो। तर अय्यूबको सत्यनिष्ठालाई चुनौती दिंदा शैतानको मनमा अय्यूब मात्र थिएन। “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र” भनी शैतानले चुनौती दियो। यस चुनौतीले खडा गरेको विवादमा अय्यूब मात्र होइन तर अरू पनि मुछिएका थिए। तिनको मृत्यु भएको लामो समयपछिसम्म पनि यो विवाद कायमै रह्‍यो।—अय्यू. २:४.

अय्यूबले परीक्षा भोगेको करिब ६०० वर्षपछि सुलेमान यस्तो लेख्न प्रेरित भए: “हे मेरो छोरो, बुद्धिमान्‌ हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितो. २७:११) स्पष्ट छ, त्यसबेला पनि शैतानले यहोवालाई चुनौती दिइरहेको थियो। यसबाहेक सन्‌ १९१४ मा परमेश्‍वरको राज्य स्थापित भएको केही समयपछि शैतान स्वर्गबाट फ्याँकिए तापनि त्यसले परमेश्‍वरका सेवकहरूलाई दोष लाउँदै गरेको दर्शन प्रेरित यूहन्‍नालाई दिइयो। हो, आजकै दिनसम्म पनि अर्थात्‌ यो दुष्ट युगको आखिरी दिनसम्म पनि शैतानले परमेश्‍वरका सेवकहरूको सत्यनिष्ठालाई चुनौती दिन छोडेको छैन।—प्रका. १२:१०.

३. अय्यूबको पुस्तकबाट हामी कस्ता बहुमूल्य पाठ सिक्न सक्छौं?

अय्यूबको पुस्तकबाट हामीले सिक्ने तीनवटा महत्त्वपूर्ण पाठ विचार गर्नुहोस्‌। पहिलो, अय्यूबको परीक्षाले मानिसजातिको वास्तविक शत्रु र परमेश्‍वरका जनहरूलाई विरोध गर्ने व्यक्‍ति प्रस्टै चिनाउँछ। त्यो शत्रु शैतान हो। दोस्रो, जस्तोसुकै परीक्षा भोग्नुपरे तापनि परमेश्‍वरसित घनिष्ठ सम्बन्ध राख्दा सत्यनिष्ठ भइरहन मदत मिल्छ। तेस्रो, परीक्षा आउँदा र कुनै तरिकामा हाम्रो जाँच हुँदा यहोवाले अय्यूबलाई जस्तै हामीलाई पनि सहन मदत गर्नुहुन्छ। यहोवा आज उहाँको वचन बाइबल, उहाँको संगठन र उहाँको पवित्र आत्माद्वारा यस्तो मदत दिनुहुन्छ।

वास्तविक शत्रु को हो, मनमा राख्नुहोस्‌

४. संसारको अहिलेको अवस्थाप्रति को दोषी छ?

शैतान छ भनेर धेरैले विश्‍वास गर्दैनन्‌। त्यसैले उनीहरू संसारको अवस्था देखेर तर्सिए तापनि यसको मुख्य कारक शैतान हो भनेर बुझ्दैनन्‌। हो, मानिसजातिले भोगिरहेका धेरैजसो दुःखकष्टप्रति मानिसहरू आफै जिम्मेवार छन्‌। हाम्रा प्रथम बुबाआमा आदम र हव्वाले सृष्टिकर्ताबाट स्वतन्त्र हुने बाटो रोजे। त्यसबेलादेखि एकपछि अर्को पुस्ताले गरेको काममा मूर्खतासिवाय अरू केही देखिंदैन। यसोभए तापनि हव्वालाई परमेश्‍वरको विद्रोह गर्न उक्साउने व्यक्‍ति वास्तवमा शैतान नै थियो। असिद्ध र मरणशील मानिसजातिमाथि प्रभुत्व जमाउने व्यक्‍ति ऊ नै हो। शैतान “यस संसारको देव” भएकोले मानिसहरू त्यसको जस्तै दुर्गुण देखाउँछन्‌। जस्तै: घमन्ड, झगडा, ईर्ष्या, लोभ, छलछाम र विद्रोह। (२ कोरि. ४:४; १ तिमो. २:१४; ३:६; याकूब ३:१४, १५ पढ्‌नुहोस्‌) यस्ता दुर्गुणले राजनैतिक तथा धार्मिक अन्तरद्वन्द्व, घृणा, भ्रष्टाचार र भाँडभैलो चर्काएको छ जसको कारण मानिसजाति कष्टमा परेका छन्‌।

५. हामीसित भएको बहुमूल्य ज्ञानलाई हामी के गर्न चाहन्छौं?

यहोवाको सेवक भएकोले हामीसित बहुमूल्य ज्ञान छ! हो, दिन प्रतिदिन खराब हुँदै गइरहेको संसारको अवस्थाप्रति को दोषी छ भनेर हामीलाई थाह छ। त्यसोभए, क्षेत्र सेवामा भाग लिएर मानिसहरूलाई त्यो वास्तविक शत्रु चिनाउन के हामीले बाध्य महसुस गर्नुपर्दैन र? साँचो परमेश्‍वर यहोवाको पक्षमा खडा हुन पाउँदा र उहाँले शैतानलाई अनि मानिसजातिका दुःखकष्टलाई कसरी नामेट पार्नुहुनेछ भनेर अरूलाई बताउन पाउँदा के हामी खुसी छैनौं र?

६, ७. (क) साँचो उपासकहरूले भोग्ने सतावटको लागि को जिम्मेवार छ? (ख) प्राचीन समयका एलीहूको उदाहरण हामी कसरी अनुकरण गर्न सक्छौं?

संसारका धेरैजसो दुःखकष्टप्रति मात्र होइन तर परमेश्‍वरका जनहरूले भोग्ने विरोधको लागि पनि शैतान जिम्मेवार छ। त्यो हामीलाई परीक्षामा पार्न कस्सिएर लागेको छ। येशू ख्रीष्टले प्रेरित पत्रुसलाई भन्‍नुभयो: “ए शिमोन, शिमोन, हेर, शैतानले तिमीलाई गहुँजस्तै गरी निफन्‍न खोज्यो।” (लूका २२:३१) त्यसैगरि, येशूको पाइला पछ्याउने हामी प्रत्येकले कुनै न कुनै तरिकामा परीक्षा भोग्नै पर्नेछ। पत्रुसले शैतान ‘कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर खोजेर हिंड्‌ने गर्जने सिंहझैं’ छ भने। अनि पावलले यसो भने: “ख्रीष्ट येशूमा भक्‍तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्‌।”—१ पत्रु. ५:८; २ तिमो. ३:१२.

सँगी भाइबहिनीमाथि कुनै आपत्‌-विपत्‌ आइपर्दा वास्तविक शत्रु मनमा राखेका छौं भनेर हामी कसरी देखाउन सक्छौं? समस्यामा परेका भाइबहिनीबाट टाढिनुको सट्टा हामी प्राचीन समयका एलीहूले जस्तै व्यवहार गर्छौं। तिनले अय्यूबसँग साँचो मित्रले जस्तैगरि कुराकानी गरे। हामी सबैको शत्रु शैतानसितको युद्धमा हामी हाम्रा भाइबहिनीलाई सघाउँछौं। (हितो. ३:२७; १ थिस्स. ५:२५) जस्तोसुकै प्रयास गर्न किन नपरोस्‌, हाम्रो लक्ष्य सँगी भाइबहिनीलाई सत्यनिष्ठ भइरहन मदत गर्नु हो। यसरी हामी यहोवाको हृदयलाई आनन्दित बनाउँछौं।

८. शैतानले अय्यूबलाई यहोवाको आदर गर्नदेखि किन रोक्न सकेन?

शैतानको कारण अय्यूबले गुमाएको पहिलो सम्पत्ति वस्तुभाऊ थियो। सायद तिनको आम्दानीको स्रोत नै ती जनावरहरू थिए। त्यसैले ती बहुमूल्य थिए। साथै, अय्यूबले ती जनावरहरूलाई उपासनामा पनि प्रयोग गर्थे। छोराछोरीहरूलाई पवित्र पारेपछि ‘बिहान सबेरै उठेर अय्यूब आफ्ना प्रत्येक छोराछोरीको निम्ति एउटा एउटा होमबलि चढाउँथे।’ “किनभने तिनीहरूले कतै परमेश्‍वरको विरुद्धमा पाप गरेर आफ्ना मनमा ईश्‍वरनिन्दा गरे होलान्‌ भनी तिनी सम्झन्थे। तिनी सधैं यसै गर्थे।” (अय्यू. १:४, ५) अतः अय्यूब नियमित रूपमा यहोवालाई बलिदान चढाउँथे। तर जब परीक्षाहरू आए, तब त्यसो गर्नु सम्भव भएन। यहोवाको आदर गर्ने कुनै “धन-सम्पत्ति” अय्यूबसँग बाँकी रहेन। (हितो. ३:९) तथापि तिनले आफ्नो ओठले भने यहोवाको आदर गर्न सक्थे र गरे पनि!

यहोवासितको सम्बन्ध घनिष्ठ बनाउनुहोस्‌

९. हामीसित भएको सबैभन्दा बहुमूल्य सम्पत्ति के हो?

हामी धनी हौं वा गरिब, जवान हौं वा वृद्ध, स्वस्थ हौं वा अस्वस्थ; यहोवासितको सम्बन्ध घनिष्ठ बनाउन सक्छौं। यसरी परमेश्‍वरसितको सम्बन्ध घनिष्ठ बनाएमा जस्तोसुकै परीक्षा भोग्नुपरे तापनि हामी व्यक्‍तिगत रूपमा सत्यनिष्ठ हुन र यहोवाको हृदयलाई आनन्दित बनाउन सक्नेछौं। सत्यको ज्ञान थोरै मात्र सिकेकाहरूले समेत साहसी अडान लिएका छन्‌ र सत्यनिष्ठ भएका छन्‌।

१०, ११. (क) सत्यनिष्ठाको परीक्षा हुँदा हाम्री एउटी बहिनीले कस्तो प्रतिक्रिया देखाइन्‌? (ख) यी बहिनीले शैतानलाई कसरी मुखभरिको जवाफ दिइन्‌?

१० कठोर परीक्षामा समेत अय्यूबजस्तै सत्यनिष्ठ भइरहने रूसकी एउटी साक्षी बहिनी भ्यालेन्टिना गर्भोन्स्कीको उदाहरण विचार गर्नुहोस्‌। सन्‌ १९४५ मा २० वर्षकी हुँदा एक जना भाइले उनलाई साक्षी दिएका थिए। ती भाइ बाइबलबाट छलफल गर्न पछि दुई पटकसम्म उनलाई भेट्‌न आए। तर त्यसपछि भने उनले ती भाइलाई कहिल्यै देखिनन्‌। तैपनि, भ्यालेन्टिनाले आफ्नो छर-छिमेकमा प्रचार गर्न थालिन्‌। परिणामस्वरूप, उनलाई पक्राउ गरियो र आठ वर्षसम्म शिविरमा बस्नुपर्ने सजाय दिइयो। सन्‌ १९५३ मा उनी रिहा भइन्‌ र तुरुन्तै प्रचार गर्न थालिन्‌। फेरि पनि उनलाई पक्राउ गरियो र झ्यालखानामा हालियो। तर यसपाली भने दस वर्षको लागि। एउटा शिविरमा केही वर्ष राखेपछि उनलाई अर्को शिविरमा सारियो। त्यो शिविरमा हाम्रा केही बहिनीहरू पनि थिए र उनीहरूसित बाइबल थियो। एक दिन एउटी बहिनीले भ्यालेन्टिनालाई बाइबल देखाइन्‌। ओहो! कत्ति रोमाञ्चकारी क्षण! किनभने यसअघि उनले देखेको एक मात्र बाइबल सन्‌ १९४५ मा उनलाई साक्षी दिने भाइको हातमा थियो।

११ सन्‌ १९६७ मा भ्यालेन्टिना रिहा भइन्‌। बल्ल तिनले यहोवालाई जीवन समर्पण गरेको प्रमाणस्वरूप बप्तिस्मा लिन सकिन्‌। स्वतन्त्र भएको मौका छोप्दै उनले सन्‌ १९६९ सम्म जोसका साथ प्रचारमा भाग लिइन्‌। किनकि त्यही वर्ष उनी फेरि पक्राउ परिन्‌ र तीन वर्षको जेल सजाय पाइन्‌। तैपनि, भ्यालेन्टिनाले प्रचार गर्न छोडिनन्‌। सन्‌ २००१ मा उनको मृत्यु हुनुभन्दा अघिसम्म उनले ४४ जनालाई सत्य सिक्न मदत गर्न सकिन्‌। उनले जेल र शिविरमा गरी २१ वर्ष बिताइन्‌। आफ्नो सत्यनिष्ठा कायम राख्न उनी आफूसित भएका सबै थोक; आफूसित भएको स्वतन्त्रतासमेत त्याग्न इच्छुक थिइन्‌। आफ्नो जीवनको अन्ततिर भ्यालेन्टिनाले यसो भनिन्‌: “बस्नको लागि मेरो आफ्नै ठाउँ थिएन। मेरो सारा सम्पत्ति एउटा सुटकेसमा अट्‌थ्यो। तैपनि, यहोवाको सेवा गर्न पाउँदा म खुसी र सन्तुष्ट थिएँ।” परीक्षा आइपर्दा मानिसहरू परमेश्‍वरप्रति वफादार भइरहँदैनन्‌ भन्‍ने शैतानको दाबीलाई भ्यालेन्टिनाले मुखभरिको जवाफ दिइन्‌। (अय्यू. १:९-११) भ्यालेन्टिनाले यहोवाको हृदय आनन्दित बनाइन्‌ र भ्यालेन्टिनालगायत वफादार भएर मरेका आफ्ना सबै जनलाई पुनरुत्थान गर्ने दिनको यहोवा प्रतीक्षा गर्दै हुनुहुन्छ भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं।—अय्यू. १४:१५.

१२. प्रेमले यहोवासितको हाम्रो सम्बन्धमा कस्तो भूमिका खेल्छ?

१२ यहोवासँगको हाम्रो मित्रता उहाँप्रतिको हाम्रो प्रेममा आधारित छ। हामी यहोवाका गुणहरूको कदर गर्छौं र उहाँको उद्देश्‍य अनुरूप जीवन बिताउन जे-जति गर्न सकिन्छ, सबै गर्छौं। शैतानले दाबी गरेको ठीक विपरीत हामी राजीखुसीले र विनाशर्त यहोवालाई प्रेम गर्छौं। यस्तो गहिरो प्रेमले परीक्षामा पर्दासमेत सत्यनिष्ठ भइरहन हामीलाई बल दिन्छ। यहोवाको सन्दर्भमा भन्‍नुपर्दा उहाँ “आफ्ना भक्‍त सेवकहरूको बाटोको हेरचाह गर्नुहुन्छ।”—हितो. २:८; भज. ९७:१०.

१३. यहोवाको लागि हामी जे गर्छौं, त्यसलाई उहाँ कसरी हेर्नुहुन्छ?

१३ ‘म त धैरै गर्न सक्दिनँ’ जस्तो महसुस हुँदा पनि प्रेमले हामीलाई यहोवाको नाउँको आदर गर्न उत्प्रेरित गर्छ। उहाँ हाम्रो असल मनसाय हेर्नुहुन्छ र चाहे जति गर्न नसक्दा त्यसको आधारमा न्याय गर्नुहुन्‍न। हामी के गर्छौं मात्र होइन तर किन गर्छौं, त्यो पनि महत्त्वपूर्ण छ। अय्यूब चिन्ताले ग्रस्त थिए अनि तिनले थुप्रै विपत्ति सहनुपऱ्‍यो, तैपनि आफूलाई आरोप लगाउनेहरूलाई तिनले यहोवाको मार्गलाई आफूले प्रेम गरेको कुरा बताए। (अय्यूब १०:१२; २८:२८ पढ्‌नुहोस्‌) अय्यूबको पुस्तकको अन्तिम अध्याय हेर्दा एलीपज, बिल्दद र सोपरले सत्य नबोलेकोमा परमेश्‍वर तिनीहरूसित रिसाएको कुरा उहाँ आफैले बताउनुभयो। तर अय्यूबलाई भने “मेरो दास” भनी सम्बोधन गरेर र झूटा सान्त्वनादाताहरूको लागि प्रार्थना गरिदिन निर्देशन दिएर आफ्नो अनुमोदन तिनीमाथि भएको कुरा प्रकट गर्नुभयो। (अय्यू. ४२:७-९) हामी पनि यहोवाले हामीलाई अनुमोदन गर्न सक्ने तरिकाले जीवन बिताउन सकौं।

यहोवा आफ्ना वफादार सेवकहरूलाई मदत गर्नुहुन्छ

१४. अय्यूबको सोचाइ सच्याउन यहोवाले कसरी मदत गर्नुभयो?

१४ असिद्धै भएपनि अय्यूब सत्यनिष्ठ भइरहे। अचाक्ली दबाब सहनुपर्दा कहिलेकाहीं तिनले गलत दृष्टिकोण राखे। उदाहरणको लागि तिनले यहोवालाई यसो भने: “सहायताको लागि मैले तपाईंलाई पुकारें, तर तपाईंले मलाई जवाफ दिनुभएन . . . र आफ्नो सारा शक्‍तिले मलाई सताउनुहुन्छ।” यसबाहेक अय्यूबको यो भनाइमा पनि तिनले आफैलाई सफाइ दिन बढी नै महत्त्व दिएको देखिन्छ: “म निर्दोष छु” र “मेरो हात उपद्रवमा लागेको छैन, औ मेरो प्रार्थना साँचो छ।” (अय्यू. १०:७; १६:१७; ३०:२०, २१) जेहोस्‌, एकपछि अर्को प्रश्‍न सोधेर यहोवाले अय्यूबलाई आफैलाई बढी महत्त्व नदिन दयालु भएर मदत गर्नुभयो। यसले गर्दा अय्यूबले परमेश्‍वर नै सर्वोच्च हुनुहुन्छ र मानिस तुच्छ छ भनेर पनि अझ राम्ररी बुझ्न सके। अय्यूबले निर्देशन स्वीकारे र आफूलाई सच्याए।— अय्यूब ४०:८; ४२:२,  पढ्‌नुहोस्‌।

१५, १६. यहोवा आज आफ्ना सेवकहरूलाई कसरी मदत दिनुहुन्छ?

१५ यहोवा आज आफ्ना सेवकहरूलाई दयालु र पक्का निर्देशन पनि दिनुहुन्छ। त्यतिमात्र होइन हामी ठूलठूला लाभ उठाउँछौं। उदाहरणको लागि, येशू ख्रीष्टले छुडौतीको बलिदान दिनुभयो जसले पाप क्षमा हुने आधार तयार गऱ्‍यो। असिद्धै भएपनि त्यही बलिदानको आधारमा हामी परमेश्‍वरसितको सम्बन्ध घनिष्ठ बनाउन सक्छौं। (याकू. ४:८; १ यूह. २:१) परीक्षाहरू भोग्दा हामी पवित्र आत्माको मदत र सहन सक्ने बलको लागि पनि प्रार्थना गर्छौं। साथै, हामीसित पूरा बाइबल छ। यदि हामी यसलाई पढ्‌छौं र यसका विषयवस्तुलाई मनन गर्छौं भने हामीले आफूलाई विश्‍वासको परीक्षाको निम्ति तयार राख्छौं। विश्‍वव्यापी सार्वभौमिकता र व्यक्‍तिगत सत्यनिष्ठाको विवाद बुझ्न अध्ययनले हामीलाई मदत गर्छ।

१६ यसबाहेक “विश्‍वासी र बुद्धिमान्‌ दास”-द्वारा प्रबन्ध गरिएको आध्यात्मिक आहार पाउने पृथ्वीभरका भाइबहिनीमध्ये हुन पाउँदा पनि हामी भरपूर लाभ पाउँछौं। (मत्ती २४:४५-४७) हामीलाई आउन सक्ने विश्‍वासको परीक्षा सामना गर्ने र त्यसलाई सहन बलियो हुने शिक्षा यहोवाका साक्षीहरूको लगभग १,००,००० मण्डलीमा दिइन्छ। जर्मनीमा बस्ने एक किशोरी साक्षी शेइलाको उदाहरणबाट यो कुरा प्रस्ट हुन्छ।

१७. आज यहोवाको संगठनबाट पाइने शिक्षालाई ध्यान दिएर सुन्दा हुने फाइदा प्रस्ट्याउने एउटा उदाहरण दिनुहोस्‌।

१७ एक दिन शेइलाको कक्षा-कोठा केही समयको लागि रेखदेखविना छोडिएको थियो। उनीसँगै पढ्‌ने साथीहरूले उइजाबोर्ड (भविष्य थाह पाउन प्रयोग गरिने प्रेतवादसित सम्बन्धित उपकरण) प्रयोग गरेर हेर्ने विचार गरे। शेइलाले तुरुन्तै कक्षा-कोठा छोडिन्‌ र उनले चालेको त्यो कदम ठीक थियो भनेर पछि थाह पाइन्‌। उइजाबोर्ड प्रयोग गर्दा केही विद्यार्थीहरूले प्रेतात्मा आएको महसुस गरेछन्‌ र असाध्यै आतङ्‌कित भएछन्‌। तर तुरुन्तै कक्षा-कोठा छोडेर जाने निर्णय गर्न शेइलालाई केले मदत गऱ्‍यो? उनी भन्छिन्‌: “यो घटना हुनुभन्दा केही दिनअघि मात्रै राज्यभवनको सभामा उइजाबोर्डको खतराबारे छलफल भएको थियो। त्यसैले गर्नुपर्ने कुरा के हो, मलाई थाह थियो।” उनी यसो पनि भन्छिन्‌: “बाइबलले हितोपदेश २७:११ मा भनेझैं म यहोवालाई आनन्दित बनाउन चाहन्थें।” सभामा उपस्थित हुँदा र ध्यान दिएर सुन्दा शेइलाले कत्ति ठूलो लाभ उठाइन्‌!

१८. व्यक्‍तिगत रूपमा तपाईं के गर्न दृढ हुनुहुन्छ?

१८ परमेश्‍वरको संगठनले दिने निर्देशन पछ्याउन हामी प्रत्येकले नै दृढ संकल्प गरौं। नियमित रूपमा सभामा उपस्थित भएर, बाइबल पढेर, बाइबलआधारित प्रकाशनहरू अध्ययन गरेर, प्रार्थना गरेर अनि परिपक्व ख्रीष्टियानहरूसित संगत गरेर हामी आवश्‍यक निर्देशन र मदत पाउँछौं। यहोवा हामी विजयी भएको चाहनुहुन्छ र हामी उहाँप्रति वफादार भइरहनेछौं भनेर उहाँ विश्‍वस्त हुनुहुन्छ। यहोवाको नाउँ उच्च पार्नु, सत्यनिष्ठ हुनु र यहोवाको हृदय आनन्दित बनाउनु हाम्रो कत्रो अहोभाग्य! (w 09 4/15)

के तपाईंलाई याद छ?

• के-कस्ता अवस्था र परीक्षाको लागि शैतान जिम्मेवार छ?

• हामीसित भएको सबैभन्दा बहुमूल्य सम्पत्ति के हो?

• यहोवासितको हाम्रो मित्रताको आधार के हो?

• यहोवाले आज हामीलाई मदत गर्ने केही तरिका के-के हुन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

तपाईंसँग भएको बहुमूल्य सत्य अरूलाई सुनाउन के तपाईं बाध्य महसुस गर्नुहुन्छ?

[पृष्ठ १७-मा भएको चित्र]

सँगी उपासकहरूलाई सत्यनिष्ठ हुन हामी मदत दिन सक्छौं

[पृष्ठ १८-मा भएको चित्र]

आफ्नो सत्यनिष्ठा कायमै राख्न भ्यालेन्टिना सबै त्याग्न इच्छुक थिइन्‌