सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिनीहरूको दुःख मलाई थाह छ”

“तिनीहरूको दुःख मलाई थाह छ”

परमेश्‍वरको नजिक हुनुहोस्‌

“तिनीहरूको दुःख मलाई थाह छ”

प्रस्थान ३:१-१०

“परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।” (यशैया ६:३) यी प्रेरणादायी शब्दहरूले यहोवा परमेश्‍वर एकदमै-एकदमै चोखो र शुद्ध हुनुहुन्छ भनेर देखाउँछ। तपाईंलाई लाग्ला ‘उहाँ अति पवित्र हुनुभएकोले के उहाँ भावशून्य र हामीबाट टाढा हुनुहुन्छ?’ ‘त्यस्तो पवित्र परमेश्‍वरले म जस्तो पापी, असिद्ध मानिसको के साँच्चै ख्याल राख्नुहुन्छ?’ आउनुहोस्‌, परमेश्‍वरले मोशालाई भनेका आश्‍वासनदायी शब्दहरू जाँचेर हेरौं, जुन प्रस्थान ३:१-१० मा रेकर्ड गरिएको छ।

एक दिनको कुरा हो, भेडा चराउँदै गर्दा मोशाले असाधारण दृश्‍य देखे—एउटा जलिरहेको पोथ्रा तर त्यो “भस्म हुँदैन थियो।” (पद २) मनमा खुलदुली भएकोले हेर्नको लागि उनी त्यसतर्फ गए। स्वर्गदूत मार्फत यहोवाले पोथ्राको बीचबाट मोशालाई भन्‍नुभयो: “यता नजीक नआइज। तेरो खुट्टाबाट जुत्ता फुकाल्‌, किनभने तँ उभिएको यो ठाँउ पवित्र भूमि हो।” (पद ५) एकछिन सोच्नुहोस्‌ त, त्यो पोथ्राले परमेश्‍वरको उपस्थितिको केवल प्रतिनिधित्व मात्र गर्थ्यो तर पनि त्यो भूमि पवित्र भयो!

पवित्र परमेश्‍वरले मोशासित कुरा गर्नुमा एउटा कारण थियो। उहाँले भन्‍नुभयो: “मिश्रमा भएका मेरा प्रजाको दुःख मैंले देखेको छु, र कामदारीहरूका अत्याचारमा तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, किनकि तिनीहरूको दुःख मलाई थाह छ।” (पद ७) परमेश्‍वर आफ्नो जनको दुःख नदेख्ने अन्धो हुनुहुन्थेन न त उहाँ तिनीहरूको पुकारा नसुन्‍ने बहिरो नै हुनुहुन्थ्यो। बरु, तिनीहरूको दुःखलाई परमेश्‍वरले आफ्नै दुःख सम्झनुभयो। परमेश्‍वरले के भन्‍नुभयो याद गर्नुहोस्‌: “तिनीहरूको दुःख मलाई थाह छ।” “मलाई थाह छ” भन्‍ने अभिव्यक्‍तिबारे एउटा किताबले यसो भनेको छ: “यो अभिव्यक्‍तिमा व्यक्‍तिगत चासो, स्नेह र दया झल्किन्छ।” मोशालाई भनेका शब्दहरूबाट उहाँ गहिरो चासो र ख्याल राख्नुहुने परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा देखिन्छ।

परमेश्‍वरले के गर्नुहुने थियो? उहाँले दयालु भएर हेर्नु मात्र भएन न त अनुकम्पाले भरिएर सुन्‍नु मात्र भयो। उहाँ कदम चाल्न उत्प्रेरित हुनुभयो। उहाँले आफ्नो जनलाई मिश्रबाट छुटाउने र ‘दूध र मह बहने देशमा’ ल्याउने निर्णय गर्नुभयो। (पद ८) यो पूरा गर्न यहोवाले मोशालाई यस्तो आज्ञा दिनुभयो: ‘मेरो प्रजालाई मिश्रबाट निकालेर ल्याऊ।’ (पद १०) यो आज्ञा पालन गर्दै मोशाले ईसापूर्व १५१३ मा इस्राएलीहरूलाई मिश्रबाट छुटाए।

यहोवा परिवर्तन हुनुभएको छैन। त्यसैले आज पनि उहाँका उपासकहरू ढुक्क हुन सक्छन्‌ कि तिनीहरूको दुःख-वेदना उहाँ देख्नुहुन्छ र मदतको लागि गरेको पुकारा सुन्‍नुहुन्छ। तिनीहरूले भोगेको पीडा राम्ररी जान्‍नुहुन्छ। तर यहोवा आफ्ना समर्पित सेवकहरूप्रति दया महसुस मात्र गर्नुहुन्‍न। कृपालु परमेश्‍वर तिनीहरूको खातिर कदम चाल्न उत्प्रेरित हुनुहुन्छ “किनकि उहाँले [तिनीहरूको] फिक्री गर्नुहुन्छ।”—१ पत्रुस ५:७.

परमेश्‍वरको दयाले हामीलाई आशावादी हुने कारण दिन्छ। उहाँको मदतले हामी असिद्ध मानिस केही हदसम्म भए पनि पवित्र ठहरिन र उहाँसामु ग्रहणयोग्य हुन सक्छौं। (१ पत्रुस १:१५, १६) डिप्रेसन र निरुत्साहसित संघर्ष गर्दै आएकी एउटी ख्रीष्टियान बहिनीले मोशाको पोथ्राको अनुभवबाट ढाडस पाइन्‌। तिनी भन्छिन्‌: “यदि यहोवाले भूमिजस्तो कुरालाई त पवित्र पार्न सक्नुहुन्छ भने मेरो लागि अलिकति भए पनि आशा छ। यो सोचाइले मलाई ठूलो मदत गरेको छ।”

के तपाईं पवित्र परमेश्‍वर यहोवाबारे सिक्न चाहनुहुन्छ? उहाँसित घनिष्ठ सम्बन्ध राख्न सम्भव छ “किनभने उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ।”—भजन १०३:१४. (w 09 3/1)