सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

महान्‌ दाऊद र सुलेमानको कदर गरौं

महान्‌ दाऊद र सुलेमानको कदर गरौं

महान्‌ दाऊद र सुलेमानको कदर गरौं

“हेर, सुलेमानभन्दा श्रेष्ठ यहाँ छ।”—मत्ती १२:४२.

१, २. दाऊदलाई राजा अभिषेक गर्न शमूएललाई निर्देशन दिइनु मानिसको नजरमा किन छक्कलाग्दो थियो?

 तिनी हेर्नमा राजा जस्ता देखिंदैन थिए। अगमवक्‍ता शमूएलको नजरमा तिनी भर्खरको अनि साधारण गोठालो मात्र थिए। यसबाहेक तिनको गृहनगर बेतलेहेम महत्त्वपूर्ण सहरहरूमा गनिन्दैन थियो। त्यस सहरबारे यसो भनिएको थियो, “तँ जो यहूदाका हजारौंका बीचमा सानो छस्‌।” (मीका ५:२) तैपनि, एउटा सानो सहरको केटो, त्यो पनि हेर्नमा खासै विशेष नदेखिने, तिनलाई नै इस्राएलको भावी राजाको रूपमा अगमवक्‍ता शमूएलले अभिषेक गरे।

शमूएल, राजा अभिषेक गर्न आउँदा यिशैले सुरुमा देखाएको छोरा जवान दाऊद थिएन। न त दोस्रो वा तेस्रो नै थियो। शमूएल, विश्‍वासी पुरुष यिशैका आठ छोरामध्ये एक जनालाई इस्राएलका भावी राजा अभिषेक गर्न तिनको घरमा जाँदा कान्छा छोरा दाऊद घरमा समेत थिएनन्‌। तर परमेश्‍वरले दाऊदलाई छान्‍नुभयो र यो नै महत्त्वपूर्ण थियो।—१ शमू. १६:१-१०.

३. (क) मानिसलाई जाँच्दा यहोवा मुख्यतया के हेर्नुहुन्छ? (ख) शमूएलले दाऊदलाई अभिषेक गरेपछि तिनमा केले काम गर्न थाल्यो?

शमूएलले देख्न नसकेको कुरा यहोवाले देख्न सक्नुभयो। यहोवाले दाऊदको हृदयको अवस्था बुझ्नुभयो र त्यो देखेर उहाँ प्रसन्‍न हुनुभयो। परमेश्‍वरको लागि महत्त्वपूर्ण कुरा मानिसको बाहिरी रूप नभई हृदयको अवस्था हो। (१ शमूएल १६:७ पढ्‌नुहोस्‌) त्यसकारण, यहोवाले यिशैका आठ छोरामध्ये जेठा सात जना कसैलाई पनि छान्‍नुभएको छैन भनी जब शमूएलले बुझे तब भेडा चराउन गएका कान्छो छोरा दाऊदलाई बोलाउन पठाए। विवरण भन्छ: “[यिशैले दाऊदलाई] ल्याउनलाई मानिस पठाए। तिनी राता-राता गाला चम्किला आँखा भएका सुन्दर थिए। परमप्रभुले भन्‍नुभयो, ‘उठेर त्यसलाई अभिषेक गर्‌। व्यक्‍ति यही हो।’ शमूएलले तेल भएको सीङ लिएर तिनका दाजुहरूको सामने तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्मा दाऊदमाथि आउनुभयो, र त्यस दिनदेखि उसो तिनीसँगै रहनुभयो।”—१ शमू. १६:१२, १३.

ख्रीष्टको पूर्वझलक—दाऊद

४, ५. (क) दाऊद र येशूबीचका केही समानता बताउनुहोस्‌। (ख) येशूलाई किन महान्‌ दाऊद भन्‍न सकिन्छ?

दाऊद जन्मेको झन्डै १,१०० वर्षपछि येशूको जन्म पनि बेतलेहेममा नै भयो। थुप्रैको नजरमा येशू पनि राजा बन्‍न लायकका थिएनन्‌। मतलब, थुप्रै इस्राएलीहरूले आस गरेजस्तो राजा उहाँ हुनुहुन्थेन। तर दाऊद जस्तै उहाँ यहोवाको छनौट हुनुहुन्थ्यो। अनि उहाँ पनि यहोवाको प्यारो हुनुहुन्थ्यो। a (लूका ३:२२) येशूको सन्दर्भमा पनि ‘परमप्रभुका आत्मा उहाँमाथि आयो र उहाँसँगै रह्‍यो।’

दुई बीचको समानता त्यति मात्रै होइन। उदाहरणको लागि, दाऊदलाई उनको सल्लाहकार अहितोपेलले धोका दियो र येशूलाई उहाँको प्रेरित यहूदा इस्करयोतीले। (भज. ४१:९; यूह. १३:१८) दाऊद र येशू दुवै परमेश्‍वरको उपासनास्थलको लागि जोसले भरिएका थिए। (भज. २७:४; ६९:९; यूह. २:१७) दाऊद येशूका पुर्खा पनि हुन्‌। उहाँको जन्मअघि स्वर्गदूतले मरियमलाई भने: “परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।” (लूका १:३२; मत्ती १:१) तर मसीहसम्बन्धी सबै भविष्यवाणी येशूमा पूरा हुने भएकोले उहाँ दाऊदभन्दा कयन्‌ गुणा महान्‌ हुनुहुन्छ। उहाँ नै महान्‌ दाऊद हुनुहुन्छ, धेरै समयदेखि प्रतीक्षा गरिएको मसीही राजा।—यूह. ७:४२.

गोठालो-राजाको पछि लाग्नुहोस्‌

६. दाऊद असल गोठालो थिए भनेर किन भन्‍न सकिन्छ?

येशू गोठालो पनि हुनुहुन्छ। असल गोठालोका विशेषताहरू के हुन्‌? तिनले विश्‍वासी र निर्भयता साथ आफ्नो बगालको हेरचाह गर्छ, सुरक्षा दिन्छ र दानापानी खुवाउँछ। (भज. २३:२-४) दाऊद जवान छँदा गोठालो थिए र तिनले आफ्नो बुबाको भेडाको एकदमै राम्रो हेरचाह गर्थे। बगाल खतरामा पर्दा तिनले साहस देखाए अनि भेडाको रक्षाको लागि ज्यानै जोखिममा पार्दै सिंह र भालुसित समेत लडे।—१ शमू. १७:३४, ३५.

७. (क) राजाको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न दाऊदलाई केले तयार बनायो? (ख) येशू कसरी असल गोठालो साबित हुनुभयो?

डाँडाकाँडा र बेंसी हुँदो भेडी गोठालो गर्दै बटुलेको अनुभवले दाऊदलाई पछि इस्राएल राष्ट्रको हेरचाह गर्ने गाह्रो जिम्मेवारीको लागि तयार बनायो। b (भज. ७८:७०, ७१) येशूले पनि आफूलाई आदर्श गोठालो प्रमाणित गर्नुभएको छ। “सानो बगाल” र “अरू भेडा”-को गोठालो गर्दा यहोवाले उहाँलाई बल तथा डोऱ्‍याइ प्रदान गर्नुहुन्छ। (लूका १२:३२; यूह. १०:१६) त्यसैले, येशू असल गोठालो हुनुहुन्छ। उहाँ आफ्नो बगाललाई यति राम्ररी चिन्‍नुहुन्छ कि प्रत्येकको नाउँ काढेर बोलाउनुहुन्छ। आफ्नो भेडालाई यत्ति माया गर्नुहुन्छ कि उहाँले तिनीहरूको भलाइको लागि राजीखुसी आफ्नो जीवन अर्पण गर्नुभयो। (यूह. १०:३, ११, १४, १५) येशूले यस्तो काम पूरा गर्नुभयो जुन दाऊदले कहिल्यै गर्न सक्ने थिएन। उहाँको छुटकाराको बलिदानको कारण मानिसजातिले मृत्युबाट उद्धार पायो। “सानो बगाल”-लाई स्वर्गको अविनाशी जीवनसम्म गोठालो गर्न र “अरू भेडा”-लाई धार्मिक नयाँ संसारमा अनन्त जीवनतर्फ डोऱ्‍याउन उहाँलाई कुनै कुराले रोक्न सक्दैन।यूहन्‍ना १०:२७-२९ पढ्‌नुहोस्‌।

विजयी राजाको पछि लाग्नुहोस्‌

८. दाऊद कसरी विजयी राजा साबित भए?

राजा दाऊद साहसी योद्धा पनि थिए। तिनले परमेश्‍वरका जनहरूको भूमिको रक्षा गरे र तिनी “जहाँ-जहाँ गए त्यहाँ-त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो।” तिनको नेतृत्वमा इस्राएल राष्ट्रको सीमा मिश्र नदीबाट बढेर युफ्रेटिस नदीसम्म पुग्यो। (२ शमू. ८:१-१४) यहोवाको बल पाएर तिनी सबैभन्दा शक्‍तिशाली शासक बने। बाइबल भन्छ: “दाऊदको ख्याति सबै देशमा फैलियो, र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो।”—१ इति. १४:१७.

९. नियुक्‍त राजा येशू कसरी विजयी साबित हुनुभयो, बताउनुहोस्‌।

राजा दाऊद जस्तै येशू निडर हुनुहुन्थ्यो। नियुक्‍त राजाको हैसियतमा उहाँले मानिसहरूलाई प्रेतहरूको फन्दाबाट मुक्‍त गरेर तिनीहरूमाथि आफ्नो अख्तियार भएको देखाउनुभयो। (मर्कू. ५:२, ६-१३; लूका ४:३६) मुख्य शत्रु शैतानले पनि उहाँलाई अधीनमा राख्न सक्दैन। यहोवाको मदत पाएर उहाँले शैतानको अधीनमा रहेको संसारमाथि विजय हासिल गर्नुभयो।—यूह. १४:३०; १६:३३; १ यूह. ५:१९.

१०, ११. स्वर्गमा योद्धा राजाको रूपमा येशूको भूमिका के हो?

१० येशूको मृत्यु र पुनरुत्थानको झन्डै ६० वर्षपछि प्रेरित यूहन्‍नाले स्वर्गमा योद्धा राजाको रूपमा येशूको भूमिकाबारे भविष्यसूचक दर्शन पाए। तिनले लेखे: “मैले हेरें, र सेतो घोडा र त्यसमाथि बस्नेले एउटा धनु लिएको मैले देखें, र तिनलाई एउटा मुकुट पनि दिइयो, औ तिनी विजय गर्दै र विजय गर्नलाई निस्के।” (प्रका. ६:२) त्यो सेतो घोडामाथि बस्ने येशू हुनुहुन्छ। सन्‌ १९१४ मा स्वर्गीय राज्यको राजाको रूपमा उहाँलाई नियुक्‍त गरेपछि “एउटा मुकुट पनि दिइयो।” त्यसपछि उहाँ ‘विजय गर्नलाई निस्कनुभयो।’ हो, येशू दाऊद जस्तै विजयी राजा हुनुहुन्छ। परमेश्‍वरको राज्यको राजा बनाइएको केही समयपछि उहाँ शैतानमाथि विजयी हुनुभयो अनि त्यसलाई र त्यसका प्रेतहरूलाई तल पृथ्वीमा फ्याँक्नुभयो। (प्रका. १२:७-९) शैतानको दुष्ट रीतिरिवाजलाई पूर्णतया नाश नगरेसम्म उहाँको ‘विजय’ यात्रा रोकिने छैन।प्रकाश १९:११, १९-२१ पढ्‌नुहोस्‌।

११ तर दाऊद जस्तै येशू पनि दयालु राजा हुनुहुन्छ र उहाँले आरमागेडोनमा “ठूलो भीड”-को रक्षा गर्नुहुनेछ। (प्रका. ७:९, १४) यसबाहेक येशूले आफ्ना सहशासक अर्थात्‌ पुनरुत्थान भएका १,४४,००० सँगै मिलेर शासन गर्दा “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरि. २४:१५) पृथ्वीमा पुनरुत्थान भएकाहरूले सधैंभरि बाँच्ने आशा पाउनेछन्‌। तिनीहरूका लागि कस्तो अद्‌भुत प्रत्याशा! हामी सबै ‘भलाइ गरिरहन’ कटिबद्ध होऔं ताकि महान्‌ दाऊदको धार्मिक र आनन्दित प्रजाले पृथ्वीमा बास गर्दा हामी पनि तिनीहरूमध्ये हुन सकौं।—भज. ३७:२७-२९.

बुद्धिको लागि सुलेमानले गरेको प्रार्थनाको सुनवाइ हुन्छ

१२. सुलेमानले केको लागि प्रार्थना गरे?

१२ दाऊदका छोरा सुलेमानले पनि येशूको पूर्वचित्रण गऱ्‍यो। c सुलेमान राजा बनेपछि यहोवा तिनको सपनामा देखा पर्नुभयो र तिनले मागेको सबै दिन्छु भन्‍नुभयो। सुलेमानले अझ धेरै धन, शक्‍ति वा लामो आयु माग्न सक्थे। तर तिनले निःस्वार्थ भई यहोवालाई यस्तो मागे: “अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्‌। किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्ने को योग्यको छ?” (२ इति. १:७-१०) यहोवाले सुलेमानको प्रार्थनाको जवाफ दिनुभयो।२ इतिहास १:११, १२ पढ्‌नुहोस्‌।

१३. सुलेमानको बुद्धि कसरी सबै मानिसका बुद्धिलाई माथ गर्ने थियो र यसको स्रोत को थियो?

१३ यहोवाप्रति विश्‍वासी रहुन्जेल सुलेमानको बुद्धि त्यतिबेलाका सबै मानिसको बुद्धिलाई माथ गर्ने थियो। तिनले “तीन हजार सदुपदेश रचे।” (१ राजा ४:३०, ३२, ३४) तीमध्ये थुप्रै लिखित रूपमा राखिएका छन्‌ र बुद्धि खोज्ने मानिसहरूले यसको अझै मोल गर्छन्‌। शबाकी रानीले सुलेमानको कीर्ति सुनेर तिनको जाँच गर्न २,४०० किलोमिटर यात्रा गरिन्‌ र ‘गाह्रो-गाह्रो प्रश्‍नहरू’ सोधिन्‌। सुलेमानको कुरा सुनेर र तिनको राज्यको संवृद्धि देखेर उनी प्रभावित भइन्‌। (१ राजा १०:१-९) सुलेमानको बुद्धिको स्रोत खुलाउँदै बाइबल भन्छ: “परमेश्‍वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्‍नलाई सारा संसारले तिनको दर्शन खोज्दथिए।”—१ राजा १०:२४.

बुद्धिमान्‌ राजाको पछि लाग्नुहोस्‌

१४. कुन तरिकामा येशू “सुलेमानभन्दा श्रेष्ठ” हुनुहुन्थ्यो?

१४ सुलेमानको बुद्धिलाई माथ गर्न सक्ने एक जना मात्र व्यक्‍ति थियो। उहाँ येशू ख्रीष्ट हुनुहुन्थ्यो। उहाँले आफैलाई “सुलेमानभन्दा श्रेष्ठ” भन्‍नुभयो। (मत्ती १२:४२) येशूले “अनन्त जीवनका कुरा” गर्नुभयो। (यूह. ६:६८) उदाहरणको लागि, येशूले डाँडाको उपदेशमा सुलेमानले भनेका कुराहरूलाई अझ विस्तार गर्नुभयो। यहोवाका उपासकहरू आनन्दित हुन सक्ने थुप्रै कारण सुलेमानले बताएका थिए। (हितो. ३:१३; ८:३२, ३३; १४:२१; १६:२०) साँचो आनन्द यहोवाको उपासना र उहाँका प्रतिज्ञाहरूको पूर्तिसित सम्बन्धित कुरामा मात्र पाइन्छ भनेर येशूले जोड दिनुभयो। उहाँले भन्‍नुभयो: “आध्यात्मिक आवश्‍यकताप्रति सजग हुनेहरू आनन्दित हुन्छन्‌ किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ती ५:३, NW) येशूको शिक्षामा पाइने सिद्धान्तहरू व्यवहारमा उतार्नेहरू “जीवनको मूल” यहोवासित नजिक हुन्छन्‌। (भज. ३६:९; हितो. २२:११; मत्ती ५:८) “परमेश्‍वरको ज्ञान”-को मूर्त रूप ख्रीष्ट हुनुहुन्छ। (१ कोरि. १:२४, ३०) मसीही राजाको रूपमा येशू ख्रीष्टसित ‘बुद्धिको आत्मा’ छ।—यशै. ११:२.

१५. परमेश्‍वरको बुद्धिबाट हामी कसरी फाइदा उठाउन सक्छौं?

१५ महान्‌ सुलेमानको पछि लाग्ने हामीहरू परमेश्‍वरको बुद्धिबाट कसरी फाइदा उठाउन सक्छौं? यहोवाको बुद्धि उहाँको वचन बाइबलमा प्रकट भएको छ। त्यसैले त्यो बुद्धि पाउन बाइबल र अझ विशेष गरी येशूका शब्दहरू ध्यान दिएर अध्ययन र मनन गर्ने सक्दो कोसिस गर्नुपर्छ। (हितो. २:१-५) यसबाहेक हामीले परमेश्‍वरलाई अटुटसँग बुद्धि मागिरहनुपर्छ। मदतको लागि सच्चा मनले प्रार्थना गऱ्‍यौं भने जवाफ पाउनेछौं भनी उहाँको वचन आश्‍वासन दिन्छ। (याकू. १:५) पवित्र आत्माले परमेश्‍वरको वचनमा भएको अनमोल रत्न पाउन हामीलाई मदत गर्छ। यसले हामीलाई चुनौतीहरूको सामना गर्न र बुद्धिमान्‌ निर्णय गर्न सघाउ पुऱ्‍याउन सक्छ। (लूका ११:१३) ‘आफूले जानेका कुरा मानिसहरूलाई सिकाउने’ भएकोले सुलेमानलाई “मानिसहरू भेला गराउने” (NW) व्यक्‍तिको रूपमा पनि चिनाइएको छ। (उप. १२:९, १०) मण्डलीको शिर येशूले पनि आफ्ना जनहरूलाई भेला गर्नुहुन्छ। (यूह. १०:१६; कल. १:१८) त्यसैले निरन्तर ‘सिकाइने’ मण्डलीका सभाहरूमा जानु बुद्धिमानी हो।

१६. सुलेमान र येशूबीच कस्तो समानता छ?

१६ सुलेमान एकदमै सक्रिय राजा थिए। तिनले देशभरि निर्माणकार्यको योजना मिलाए। महल, सडक, पानीको व्यवस्थापन, भण्डार राख्ने सहर, रथहरू राख्ने सहर र घोडसवारहरूको लागि सहरहरूको निर्माण गर्दा तिनी आफैले निरीक्षण गरे। (१ राजा ९:१७-१९) सम्पूर्ण राष्ट्रले तिनको निर्माणकार्यबाट फाइदा उठाए। येशू पनि निर्माता हुनुहुन्छ। उहाँले “पत्थरमाथि” अर्थात्‌ आफैमाथि मण्डली स्थापित गर्नुभयो। (मत्ती १६:१८) नयाँ संसारमा गरिने निर्माणकार्यको निरीक्षण पनि उहाँले गर्नुहुनेछ।—यशै. ६५:२१, २२.

शान्तिका राजाको पछि लाग्नुहोस्‌

१७. (क) सुलेमानको शासनको एउटा उल्लेखनीय पक्ष के थियो? (ख) तर सुलेमानले के चाहिं गर्न सकेनन्‌?

१७ सुलेमान नाउँ “शान्ति” अर्थ लाग्ने मूल शब्दबाट लिइएको हो। राजा सुलेमानले यरूशलेमबाट शासन गरे अनि यरूशलेमको अर्थ “दुई गुणा शान्तिको जग” हो। तिनको ४० वर्षे शासनमा जस्तो शान्ति इस्राएल राष्ट्रमा कहिल्यै छाएन। ती वर्षहरूको सन्दर्भमा बाइबल भन्छ: “तिनको राजत्वकालभरिनै यहूदा र इस्राएलमा शान्ति थियो, औ दानदेखि बेर्शेबासम्मै हरेक मानिसले आफ्नो-आफ्नै दाखबारी र नेभाराका बोटमनि सुखपूर्वक दिन बिताउँथे।” (१ राजा ४:२५) तथापि, सुलेमान जतिसुकै बुद्धिमान्‌ भए तापनि आफ्ना प्रजालाई बिमारी, पाप र मृत्युको दासत्वबाट मुक्‍त गर्न सकेनन्‌। तर महान्‌ सुलेमानले आफ्ना प्रजालाई ती सबैबाट मुक्‍त गर्नुहुनेछ।रोमी ८:१९-२१ पढ्‌नुहोस्‌।

१८. ख्रीष्टियान मण्डलीमा हामीले कस्तो आनन्द उठाइरहेका छौं?

१८ अहिले पनि ख्रीष्टियान मण्डलीमा शान्ति छाएको छ। वास्तवमा हामीले साँचो आध्यात्मिक प्रमोदवनको आनन्द उठाइरहेका छौं। परमेश्‍वर र सँगी मानवहरूसित शान्तिमा रहन्छौं। आज हामीले अनुभव गरिरहेको अवस्थाबारे यशैयाले कस्तो भविष्यवाणी गरे याद गर्नुहोस्‌: “तिनीहरूले आफ्ना-आफ्ना तरवार पिटेर हलोको फाली र भालाचाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अबउप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।” (यशै. २:३, ४) परमेश्‍वरको आत्माअनुरूप चल्दा आध्यात्मिक प्रमोदवनको शोभा बढाउन मदत गरिरहेका हुनेछौं।

१९, २०. हामी आनन्दित हुने कस्ता कारण पाउँछौं?

१९ तथापि, भविष्य अझै उज्यालो छ। आज्ञाकारी मानिसजाति येशूको राज्यमा नसोचेको हदसम्म आनन्दित हुनेछन्‌ अनि ‘विनाशको बन्धनबाट छुटकारा पाएर’ बिस्तारै सिद्ध हुनेछन्‌। (रोमी ८:२१) हजार वर्षीय शासनको अन्तमा तिनीहरूले अन्तिम परीक्षा पार गरेपछि “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” (भज. ३७:११; प्रका. २०:७-१०) साँच्चै, ख्रीष्टको शासन सुलेमानको शासनभन्दा कता हो कता उत्तम हुनेछ, हामी यसको कल्पना पनि गर्न सक्दैनौं!

२० मोशा, दाऊद र सुलेमानको निरीक्षणमा इस्राएलले आनन्द उठाएझैं खीष्टको शासनमा हामीले अझ धेरै आनन्द उठाउनेछौं। (१ राजा ८:६६) परमेश्‍वरले आफ्ना प्यारो पुत्र—महान्‌ मोशा, महान्‌ दाऊद र महान्‌ सुलेमान पठाउनुभएकोले उहाँ पक्कै हाम्रो धन्यवादको पात्र हुनुहुन्छ!

(w 09 4/15)

[फुटनोट]

a दाऊद नाउँको अर्थ “प्यारो” भन्‍ने हुनुपर्छ। येशूको बप्तिस्मा र उहाँको रूप परिवर्तनको समयमा यहोवाले स्वर्गबाट “मेरो प्यारो पुत्र,” “मेरा प्रिय पुत्र” भन्‍नुभयो।—मत्ती ३:१७; १७:५.

b दाऊद आफ्ना गोठालामा भर पर्ने पाठो पनि थिए। सुरक्षा र डोऱ्‍याइको लागि महान्‌ गोठालो यहोवामा तिनी भर परे। पूर्ण भरोसाका साथ तिनले भने: “परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन।” (भज. २३:१) बप्तिस्मा दिने यूहन्‍नाले येशूलाई “परमेश्‍वरका थुमा” भने।—यूह. १:२९.

c चाखलाग्दो कुरा, सुलेमानको अर्को नाउँ यददीया थियो जसको अर्थ हो, “याहको प्यारो।”—२ शमू. १२:२४, २५.

के तपाईं बुझाउन सक्नुहुन्छ?

• येशू कसरी महान्‌ दाऊद हुनुहुन्छ?

• येशू कसरी महान्‌ सुलेमान हुनुहुन्छ?

• महान्‌ सुलेमान जो महान्‌ दाऊद पनि हुन्‌, उहाँबारे तपाईंलाई कुन कुरा मन पऱ्‍यो?

[प्रश्‍नहरू]

[पृष्ठ ३२-मा भएको चित्र]

येशूको शासन सुलेमान र दाऊदको भन्दा कत्ति उत्तम हुनेछ हामी कल्पना पनि गर्न सक्दैनौ!