म्यानमारको समुद्री आँधीबाट प्रभावित व्यक्तिहरूले राहत पाए
म्यानमारको समुद्री आँधीबाट प्रभावित व्यक्तिहरूले राहत पाए
मे २, २००८ को दिन म्यानमारलाई समुद्री आँधीको भयानक झोक्काले हिर्कायो। अनि त्यो कुरा तुरुन्तै अन्तरराष्ट्रिय समाचारको विषय बन्न पुग्यो। त्यो शक्तिशाली समुद्री आँधीको झोक्काले इरावादी डेल्टाको इलाकालाई डुबानमा पारेपछि झन्डै १,४०,००० मानिस मरेको र बेपत्ता भएको अनुमान गरियो।
तर अचम्मको कुरा, त्यही इलाकामा बस्ने थुप्रै यहोवाका साक्षीहरूमध्ये कोही-कसैलाई पनि हानि पुगेन। धेरै जनाको ज्यान जोगियो किनभने तिनीहरूले मजबुतसित बनाइएका राज्यभवनहरूमा शरण लिएका थिए। एक ठाउँमा पानीको सतह साढे चार मिटर भएको कारण त्यहाँका २० जना यहोवाका साक्षीहरू र ८० जना गाउँलेहरू राज्यभवनको छतमा नौ घण्टासम्म बसे। सबै बचे। तर दुःखको कुरा त्यही गाउँका अरू ३०० जनाले भने ज्यान गुमाए। थुप्रै गाउँमा रहेको भन्नु नै राज्यभवन मात्र थियो।
समुद्री आँधी आएको दुई दिनपछि यङ्गुनस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयले डेल्टा अर्थात् समुद्रको मुखमा बनेको त्रिकोणात्मक भूमिको छेउमा रहेको बोथिङ्गोनको मण्डलीमा राहत टोली पठाए। क्षतिग्रस्त भू-भाग छिचोल्दै, लुटेराहरूबाट बच्दै अनि सडेका लाशहरू पार गर्दै त्यो टोली चामल, तयारी चाउचाउ, खानेपानी र मैनबत्तीहरू लिएर बोथिङ्गोन पुग्यो। त्यो इलाकामा पुग्ने पहिलो राहत टोली भनेकै त्यही थियो। स्थानीय साक्षीहरूलाई राहत सामग्री वितरण गरिसकेपछि उक्त टोलीले तिनीहरूलाई प्रोत्साहन दिन बाइबल आधारित भाषण दिए अनि बाइबल तथा बाइबल आधारित साहित्यहरू पनि छोडिराखे। किनभने त्यो समुद्री आँधीले तिनीहरूको भएभरको सबै सोतर पारेको थियो।
समुद्री आँधीबाट प्रभावित साक्षीहरूले देखाएको मनोवृत्ति साँच्चै उल्लेखनीय थियो। क्षतिग्रस्त इरावादी इलाकामा भएको मण्डलीका एक भाइले यसो भने: “हामीसित केही बाँकी रहेन। घर, बाली सबै गुम्यो। बाढीले गर्दा खानेपानी पनि दूषित भयो। तर हाम्रा भाइबहिनी अरूजस्तो चिन्तित छैनन्। तिनीहरू यहोवा र उहाँको संगठनमा भरोसा गर्छन्। हामी आफूले पाउने जुनसुकै निर्देशन पनि पछ्याउने छौं, चाहे गाउँमा बसौं या अरू ठाउँमा नै।”
भएभरको सबै गुमाए तापनि ३० जना साक्षीहरूको एउटा समूहले खाना, लत्ता-कपडा अनि बासको व्यवस्था गरिदिने राहत टोलीसम्म पुग्न १० घण्टा लामो यात्रा गर्दा रमाउँदै राज्य गीत गाए। आफ्नो गन्तव्यमा पुग्नु अगावै तिनीहरूले नजिकैको सहरमा यहोवाका साक्षीहरूको क्षेत्रीय सम्मेलन हुँदैछ भन्ने खबर पाए। तिनीहरूले आध्यात्मिक खाना खान र भाइबहिनीसितको न्यानो संगतिको आनन्द उठाउन पहिला सम्मेलन धाउने निर्णय गरे।
समुद्री आँधीले गर्दा प्रभावित इलाकामा यहोवाका साक्षीहरूको ३५ घर ध्वस्त भयो, १२५ घर आंशिक रूपमा क्षतिग्रस्त भयो र आठ वटा राज्यभवनहरूमा नगन्य नोक्सानी पुग्यो। धन्न शाखा कार्यालयका भवनहरू नराम्ररी बिग्रन पाएन।
समुद्री आँधीको कारण बडेमाका रूखहरू ढलेर छेउछाउका सडकहरू अवरुद्ध भएकोले सुरुमा त शाखा कार्यालय सम्पर्कविहीन भएको थियो। तर आँधी कम भएको केही घण्टापछि नै शाखाका ३० जना भन्दा धेरै सदस्यहरूले कुनै औजार नचलाई धमाधम रूखहरू पन्छाउन थाले। तिनीहरूले काम गरिरहेको बेला अरूहरू भने ट्वाल्ल परेर हेरिरहे। त्यसको केही क्षणपछि नै कामदार अनि छिमेकीहरूका लागि पनि भनेर केही साक्षी बहिनीहरूले चिसो पेय पदार्थ र ताजा फलफूल लिएर आए। छिमेकीहरूलाई यो कुरा सपना जस्तै लाग्यो। एक जना पत्रकारले त्यहाँ भइरहेको कुरा देखेर यस्तो प्रश्न गरे, “काम गर्न यस्ता सिपालुहरू को हुन्?” जवाफ पाइसकेपछि तिनले यसो भने, “यी यहोवाका साक्षीहरूले जस्तै अझै धेरै मानिसले एक-अर्कालाई मदत गर्न उत्साह देखाएको भए कत्ति बेस हुन्थ्यो!”
राहत कार्यको समायोजन गर्न साक्षीहरूले चाँडै देशको दुई भागमा राहत समिति बनाए। सयौं स्वयम्-सेवकले राहत टोलीहरूमा काम गरे। घर गुमाएका साक्षीहरूको केही दिनमा नै नयाँ-नयाँ घरहरू बनाइयो। एउटा राहत टोली एक साक्षीको निम्ति नयाँ घर बनाउन जाँदा तिनका छिमेकीहरूले पत्याउनै सकेनन्। एक जना छिमेकीले यसो भने: “यो बहिनीको घर त उसको चर्चले मर्मत गरिदियो। मेरो बौद्ध मार्गी साथीहरू त एक जना पनि मदत गर्न आएन। उसले प्रचार गरेको बेला म पनि साक्षी बन्नुपर्ने रहेछ!”
निर्माणकर्मीहरू र राहत समितिले दानलिनमा भएको एउटा घर जाँच्दा त्यसको प्रायः प्रायः भाग खतम भइसकेको पाए तर उक्त घरको साक्षी परिवारले यसो भन्दा तिनीहरूको मन साह्रै छोयो: “हैन, केही भएको छैन। हाम्रो घर ठीकै छ। धन्दा नमान्नुहोस्, हामी यहाँ बस्न सक्छौं! बरु जानुहोस् न, हाम्रा कुनै-कुनै साक्षी भाइबहिनीको त घर नै छैन, उहाँहरूलाई मदत गर्नुहोस्!”
यङ्गुनको एउटा इलाकामा केही मानिसहरूले स्थानीय चर्चहरूमा शरण लिन खोजे। तर, चर्चको ढोका त बन्द गरिएको थियो, कोही पनि भित्र पस्न सकेन। ती मानिसहरू साह्रै क्रोधित भए र चर्चको ढोका नै फोर्न चाहे। बरु, यहोवाका साक्षीहरूले चाहिं त्यो समुद्री आँधीको दौडान थुप्रै मानिसलाई राज्यभवनमा आश्रय दिए। उदाहरणको लागि, दालाको एउटा राज्यभवनमा एक साक्षी दम्पतीले आँधीको कारण आकुल-व्याकुल २० जना छिमेकीहरूलाई शरण दिए जो सुरक्षाको निम्ति त्यहाँ भागेर आएका थिए। बिहान हेर्दा त ती परिवारको फर्कने घर थिएन अनि तिनीहरू भोकाएका पनि थिए। साक्षी श्रीमान्ले एक व्यक्तिले चामल बेचिरहेको भेट्टाए र सबैलाई पुग्नेगरि खुवाउनलाई किने।
यङ्गुनको एक परिवारका केही सदस्य यहोवाका साक्षी हुन् तर अरू सदस्य भने विभिन्न चर्चहरू जान्छन्। तर उक्त समुद्री आँधीपछि पूरै परिवार राज्यभवनको सभामा आए। किन? परिवारको एक जना सदस्यले भने: “हाम्रो चर्चले आँधी थामिएपछि हामीलाई भेट्न आउँछु भनेका थिए, तर आउँदै आएनन्। साक्षीहरू मात्र आए। तपाईंहरूले हामीलाई चामल र पानी दिनुभयो। तपाईंहरू अरू चर्चकाहरू जस्तो हुनुहुन्न!” ती परिवारका गैर-साक्षी सदस्यले प्रहरीधरहरा-को “यहोवा हाम्रो पुकारा सुन्नुहुन्छ” भन्ने लेखको छलफलबाट आनन्द उठाए र थुप्रै टिप्पणी समेत दिए।
साक्षीहरूसित बाइबल अध्ययन गरिराखेकी एक आइमाई समुद्री आँधी आएको एक हप्तापछि मण्डलीको सभामा आइन्। सभाको दौडान शाखा कार्यालयबाट पठाइएको पत्र पढियो। उक्त पत्रमा समुद्री आँधीबाट प्रभावितहरूलाई मदत गर्न के कति काम गरियो त्यसको वर्णन गरिनुका साथै त्यसबाट बचेकाहरूको अनुभव पनि बताइएको थियो। पत्र पढिंदै गर्दा ती आइमाई रून थालिन्। सबै साक्षी भेटिएको र सुरक्षित भएको सुनेर तिनको मन छोयो। पछि तिनलाई केही राहत सामग्री दिइयो र तिनकै घर छेउमा तिनको लागि एउटा पाल पनि लगाइयो। साक्षीहरूले साँच्चै राम्रो हेरविचार गरेको छ जस्तो महसुस भएको तिनले बताइन्।
येशूले भन्नुभएको थियो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यो भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) अनि चेला याकूबले पनि साँचो विश्वास हुनुमा भलाइ गर्नु समावेश छ भनी जोड दिए। (याकूब २:१४-१७) यहोवाका साक्षीहरू यी शब्दहरू आत्मसात् गर्छन् र खाँचोमा परेकाहरूलाई मदत अनि साथ दिएर त्यस्तो प्रेम देखाउने प्रयास गर्छन्। (w 09 3/1)
[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]
बाइबल भन्छ, साँचो विश्वासको साथै भलाइ पनि गर्नुपर्छ