सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबै कुराको समय छ

सबै कुराको समय छ

सबै कुराको समय छ

बाइबल बताउँछ: “सबै कुराको लागि समय छ, औ संसारमा सबै कामको बेला छ।” यी शब्दका लेखक प्राचीन समयका बुद्धिमान्‌ राजा सुलेमान हुन्‌। तिनले जन्मने एउटा समय छ, मर्ने एउटा समय छ, भत्काउने एउटा समय छ, बनाउने एउटा समय छ, प्रेम गर्ने एउटा समय छ अनि घृणा गर्ने एउटा समय छ भनेर पनि बताए। अन्तमा तिनले यसो पनि भने: “आफ्नो सबै परिश्रमबाट मानिसले के लाभ पाउनसक्छ र?”—उपदेशक ३:१-९.

यी शब्दहरू पढिसकेपछि कोही-कोही यस्तो निष्कर्षमा पुग्छन्‌: ‘वास्तवमै भन्‍नुपर्दा बाइबलले सबै कुरा पूर्वनिर्धारित हुन्छ भनेर सिकाउँछ!’ तिनीहरूले यसो भन्‍नुको कारण हो—बाइबलले भाग्यमा विश्‍वास गर्ने कुरालाई समर्थन गर्छ भन्ठान्‍नु। के साँच्चै त्यसो हो त? जीवनमा जे-जति हुन्छ त्यो सब भाग्यकै खेल हो भन्‍ने धारणालाई के बाइबलले समर्थन गर्छ? ‘हरेक धर्मशास्त्र परमेश्‍वरबाट प्रेरणा भएकोले’ यसको एक ठाउँमा पढेको कुरा अर्को ठाउँको कुरासित ठ्याक्कै मेल खानुपर्छ। त्यसैले आउनुहोस्‌, परमेश्‍वरको वचन बाइबलको बाँकी भागले यस सन्दर्भमा के बताउँछ, हेरौं।—२ तिमोथी ३:१६.

समय र अवसर

उपदेशकको पुस्तकमा सुलेमानले अझै यस्तो लेखे: “मैले संसारमा अझै एउटा कुरो देखें—वेग कुदाइले दौड जित्नसक्‍तैन, औ शक्‍तिले लडाइँ जित्नसक्‍तैन। भोजन बुद्धिमानको निम्ति, धन-सम्पत्ति समझदारको निम्ति, सफलता निपुण मानिसको निम्ति हुँदैन।” किन? तिनले बताए: “समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ।”—उपदेशक ९:११.

जीवनमा जे-जति हुन्छ त्यो सब भाग्यको खेल हो भनेर सुलेमानले भन्‍न खोजिरहेका थिएनन्‌ बरु “समय र अवसरले नै सबैलाई अधीन”-मा पारेको कारण मानिसले आफ्नो परिश्रमको परिणाम पहिल्यै निर्धारण गर्न सक्दैन भनेर बताइरहेका थिए। अक्सर, कसैलाई केही हुन्छ भने ऊ ठीक समयमा, ठीक ठाउँमा अथवा हुन सक्छ गलत समयमा, गलत ठाउँमा भएकोले गर्दा हो।

उदाहरणको लागि, “वेग कुदाइले दौड जित्नसक्‍तैन” भन्‍ने अभिव्यक्‍तिलाई ध्यान दिनुहोस्‌। सायद तपाईंलाई सन्‌ १९८४ मा अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलस्‌मा सम्पन्‍न ओलम्पिकमा भएको एउटा चर्चित तर गजबको घटना सम्झनुभएको होला वा त्यसबारे पढ्‌नुभएको होला। त्यो थियो: महिलाहरूको ३,००० मिटरको दौड प्रतियोगिता जसमा बेलाइत अनि अमेरिकाका दुवै धाविकाले स्वर्ण पदक जित्ने अपेक्षा गरेका थिए। तर दौडेर आधाबीचमा पुग्दा तिनीहरू आपसमा ठोक्किए। एउटी नराम्ररी पछारिन्‌ र खेलबाट बाहिरिन्‌ अनि अर्की चाहिं यत्ति निराश भइन्‌ कि सातौं स्थानमा आइन्‌।

यसो हुनु के पुर्पुरोमै लेखिएको भएर हो? केहीले त्यसै भन्लान्‌। तर स्पष्ट छ, ती धाविकाहरू त्यसरी ठोक्किनु कसैले नचिताएको एउटा घटना थियो जसले गर्दा दुवै जना दौडमा पराजित हुनुपऱ्‍यो। के त्यसो भए भाग्यले गर्दा नै तिनीहरू यसरी ठोक्किएका हुन्‌ त? यसबारे पनि, केहीले त्यसै भन्लान्‌। खेलका उद्‌घोषकहरूका अनुसार यो घटना हुनुको कारण दुई राम्रा खेलाडीहरूबीचको चर्को प्रतिस्पर्धा हो। तिनीहरू एउटाले अर्कोलाई उछिन्‍ने कोसिसमा थिए। बाइबलमा बताइएझैं “समय र अवसरलेनै [तिनीहरूलाई] अधीन गरेको” थियो। कसैले जति नै राम्रो तयारी गरेको किन नहोस्‌ सोच्दै नसोचेका घटनाहरूले त्यस कामको नतिजालाई असर गर्न सक्छ, यसमा भाग्यको कुरै आउँदैन।

त्यसोभए बाइबलले “सबै कुराको लागि समय छ” भन्‍नुको तात्पर्य के हो? के हामी जीवनको नतिजा या हाम्रो गन्तव्यलाई असर गर्ने केही कुरा गर्न सक्छौं?

हरेक कुराको उचित समय

प्रेरित बाइबलका लेखकले व्यक्‍तिविशेषको भाग्य अनि जीवनको अन्तिम नतिजाबारे कुरा नगरेर परमेश्‍वरको उद्देश्‍य र त्यसले मानिसजातिलाई कसरी असर गर्छ, त्यसबारे बताइरहेका थिए। हामी यो कसरी थाह पाउन सक्छौं? मुख्यतया यसको प्रसङ्‌गलाई विचार गरेर। “समय”-मा हुने थुप्रै कुराबारे बताइसकेपछि सुलेमानले लेखे: “मानिस व्यस्त रहनलाई परमेश्‍वरले दिनुभएको काम मैले देखेको छु। सबै काम त्यसको समयानुकुल उहाँले बनाउनुभएको छ।”—उपदेशक ३:१०, ११.

परमेश्‍वरले मानिसलाई थुप्रै काम दिनुभएको छ, सुलेमानले त्यसमध्ये केहीको सूची बनाएका थिए। उहाँले हामीलाई आफूले गर्न चाहेको कुरा छनौट गर्ने स्वतन्त्र इच्छा पनि दिनुभएको छ। तर हरेक कामको लागि अनुकूल समय छ जसले सबैभन्दा राम्रो नतिजा ल्याउँछ। उदाहरणको लागि, उपदेशक ३:२ मा भएको “रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय” भन्‍ने सुलेमानको भनाइलाई लिनुहोस्‌। किसानहरूलाई थाह छ कि हरेक बाली लगाउने अनुकूल समय हुन्छ। यो सामान्य ज्ञानलाई बेवास्ता गर्दै किसानले गलत समय वा मौसममा बाली लगायो भने के हुन्छ? जोतेर काम गरेको नै किन नहोस्‌, बाली बिग्रिएमा तिनले ‘मेरो त कर्मै फुटेको’ भन्‍नु मिल्छ र? पक्कै मिल्दैन! त्यो त तिनले ठीक समयमा बाली नलगाएकोले भएको हो। सृष्टिकर्ताले बनाएको प्राकृतिक नियमलाई पछ्याएको भए त्यो किसानको बाली राम्रो हुन सक्थ्यो।

त्यसैकारण, परमेश्‍वरले निश्‍चित गरेको कुरा भनेको मानिसको भाग्य होइन न त घटनाहरूको नतिजा नै हो। तर उहाँले खास सिद्धान्त दिनुभएको छ जसले उहाँको उद्देश्‍यअनुरूप मानव क्रियाकलापलाई अधीनमा राख्छ। आफूले गरेको कामको मीठो स्वाद चाख्ने हो भने मानिसले परमेश्‍वरको उद्देश्‍य र समयसित मेल खाने कुरालाई बुझ्नै पर्छ र त्यसअनुरूप काम पनि गर्नै पर्छ। पहिल्यै निर्धारण गरिएको र परिवर्तन गर्न नसकिने कुरा मानिसको भाग्य होइन तर परमेश्‍वरको उद्देश्‍य हो। अगमवक्‍ता यशैया मार्फत यहोवाले भन्‍नुभयो: “त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन . . . व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.

त्यसोभए, पृथ्वी र मानिसजातिको भविष्यको सन्दर्भमा परमेश्‍वरको “वचन” वा बताइएको उद्देश्‍य के हो जुन अवश्‍य “सफल हुनेछ”?

परमेश्‍वरको समय बुझ्ने

सुलेमानले एउटा कुराको संकेत दिए। “सबै काम त्यसको समयानुकुल उहाँले बनाउनुभएको छ” भनिसकेपछि तिनले यसो भने, “त्यसबाहेक उहाँले मानिसलाई बितेको समय र आउने समयको चेतना दिनुभएको छ, तर शुरुदेखि अन्तसम्म परमेश्‍वरको कार्य बुझ्ने-शक्‍ति दिनुभएको छैन।” नयाँ संशोधित संस्करण बाइबलमा यो पदलाई यसरी अनुवाद गरिएको छ: “उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्‌।”—उपदेशक ३:११.

हुन त यो पदबारे धेरै कुरा लेखिसक्यो। तर वास्तविकता के हो भने कुनै न कुनै बेला हामी सबैलाई जीवन के हो अनि हाम्रो अन्तिम गन्तव्य कहाँ होला भनी मनमा लागेको छ। वर्षौंदेखि मानिसहरूले एउटा कुरा पचाउन सकेका छैनन्‌। त्यो के हो भने जीवनमा तिनीहरूले कडा परिश्रम गर्छन्‌ तर आखिर त्यो मृत्युमा गएर नै समाप्त हुन्छ। सबै जीवित सृष्टिहरूमध्ये हामी मानिस बेग्लै छौं किनकि हामी अहिलेको जीवनबारे मात्र होइन तर भविष्यबारे पनि सोच्छौं। नमरिकन सधैंभरि बाँच्न सकियोस्‌ भन्‍ने चाहना समेत हामीसित छ। किन? धर्मशास्त्रमा बताइएझैं, परमेश्‍वरले “मानिसका हृदयमा अनन्तता . . . राखिदिनुभएको छ।”

यो चाहना पूरा गर्न मृत्युपछि पनि जीवन छ भन्‍ने धारणा सुल्झाउने प्रयासमा मानिसहरू लागिपरेका छन्‌। कोही-कोही यस्तो निष्कर्षमा पुगेका छन्‌, ‘मरेपछि पनि हामीभित्र भएको केही चीज जीवित रहिरहन्छ’। अरू चाहिं हाम्रो पुनर्जन्म भइरहन्छ भन्‍ने विश्‍वास गर्छन्‌। अझै अरू भने जीवनको हरेक कुरा भाग्य वा विधाताले तय गरिसकेको हुनाले त्यसमा हाम्रो केही सीप लाग्दैन भनी सोच्छन्‌। दुःखको कुरा यीमध्ये कुनै पनि भनाइ पूर्णतया सन्तोषजनक छैन। त्यसो, यसकारणले हो कि मानिसको आफ्नै शक्‍तिले ‘शुरुदेखि अन्तसम्म परमेश्‍वरको कार्य बुझ्न’ सक्दैन भनेर बाइबल बताउँछ।

जवाफ जान्‍न चाहनु र त्यो पाउन नसक्नुबीच लामो समयदेखि रहँदै आएको जटिल विवादले वर्षौंदेखि चिन्तक र दार्शनिकहरूलाई पिरोल्दै आएको छ। तर, हाम्रो मनमा अनन्तताको चाहना परमेश्‍वरले राखिदिनुभएकोले यो चाहना पूरा गर्न के आवश्‍यक छ त्यसको लागि उहाँको बाटो हेर्नु के युक्‍तिसंगत हुनेछैन र? हुन पनि बाइबलले यहोवाबारे यसो भन्छ: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” (भजन १४५:१६) परमेश्‍वरको वचन बाइबल खोलेर हामी जीवन र मृत्यु अनि पृथ्वी र मानव परिवारको लागि उहाँको अनन्त उद्देश्‍यबारे सन्तोषजनक जवाफ पाउन सक्छौं।—एफिसी ३:११.

(w 09 3/1)

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

“वेग कुदाइले दौड जित्नसक्‍तैन।”—उपदेशक ९:११.

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

यदि किसानले ठीक समयमा बाली नलगाएर बाली बिग्रिएमा ‘मेरो त कर्मै फुटेको’ भन्‍नु मिल्छ र?

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

हामी जीवन र मृत्युबारे सोच्छौं किनभने परमेश्‍वरले “मानिसका हृदयमा अनन्तता . . . राखिदिनुभएको छ”