सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सृष्टिमा यहोवाको बुद्धि देखिन्छ

सृष्टिमा यहोवाको बुद्धि देखिन्छ

सृष्टिमा यहोवाको बुद्धि देखिन्छ

“उहाँको अदृश्‍य गुण . . . बनिएका कुराबाट थाहा [हुन्छ]।”—रोमी १:२०.

१. संसारको बुद्धिले आज धेरैलाई कस्तो असर पारेको छ?

 साधारणतया संसारले एकदमै धेरै ज्ञान बटुलेको मानिसलाई बुद्धिमान्‌ ठान्छ। तर के त्यस्ता मानिसलाई साँच्चै बुद्धिमान्‌ भन्‍नु मिल्छ? अहँ, मिल्दैन किनभने ती बुद्धिमान्‌ कहलिएकाहरूले अरूलाई न त जीवनको साँचो अर्थ बुझ्न मदत गर्न सक्छन्‌ न भरपर्दो डोऱ्‍याइ नै। बरु, त्यस्ता बुद्धिमान्‌ कहलिएकाहरूमा भर पर्नेहरू “सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने” हुन्छन्‌।—एफिसी ४:१४.

२, ३. (क) किन यहोवा मात्र “सर्वज्ञानी” हुनुहुन्छ? (ख) परमेश्‍वरको बुद्धि संसारको बुद्धिभन्दा फरक छ, कसरी?

साँचो बुद्धि प्राप्त गर्नेहरूभन्दा कत्ति फरक जसको मूल यहोवा हुनुहुन्छ! बाइबल बताउँछ यहोवा मात्र “सर्वज्ञानी” हुनुहुन्छ। (रोमी १६:२७) ब्रह्‍माण्डबारे उहाँलाई सबै कुरा थाह छ: यसको बनावट, इतिहास सबै। मानिसहरू खोज-अनुसन्धानको लागि भर पर्ने प्रकृतिका भौतिक नियमहरू सबै यहोवाकै हातका काम हुन्‌। त्यसैले मानिसको आविष्कार देखेर उहाँ प्रभावित हुनुहुन्‍न न त उच्च मानव-दर्शन मानिने कुराहरूमा नै चासो राख्नुहुन्छ। “संसारको ज्ञान परमेश्‍वरको अगि मूर्खता हो।”—१ कोरि. ३:१९.

यहोवा आफ्ना सेवकहरूलाई ‘बुद्धि दिनुहुन्छ’ भनी बाइबल बताउँछ। (हितो. २:६) परमेश्‍वरबाट आउने बुद्धि मानव दर्शनहरू जस्तो अस्पष्ट हुँदैन। बरु, यसले हामीलाई सही ज्ञान र समझअनुसार सही निर्णय गर्न मदत गर्छ। (याकूब ३:१७ पढ्‌नुहोस्‌) प्रेरित पावल यहोवाको बुद्धि देखेर दंग परे। तिनले लेखे: “अहा! परमेश्‍वरको बुद्धि र ज्ञान दुवैका सम्पति कस्तो गहिरो छ! उहाँका इन्साफ कति अगम, र उहाँको मार्ग अभेद्य छ!” (रोमी ११:३३) यहोवा सबैभन्दा बुद्धिमान्‌ हुनुभएकोले उहाँका व्यवस्थाले हामीलाई उत्तम जीवनतर्फ डोऱ्‍याउँछ भनी हामी विश्‍वस्त हुन्छौं। आखिर, हामी आनन्दित हुन के चाहिन्छ, यहोवालाई जत्ति अरू कसलाई थाह होला र!—हितो. ३:५, ६.

येशू—“मुख्य कालिगड”

४. कुन एउटा तरिकामा हामी यहोवाको बुद्धि देख्न सक्छौं?

यहोवाको बुद्धि र उहाँका अन्य अतुलनीय गुण उहाँको सृष्टिमा देख्न सक्छौं। (रोमी १:२० पढ्‌नुहोस्‌) सानोभन्दा सानोदेखि ठूलोभन्दा ठूलो, सबै सृष्टिमा उहाँको व्यक्‍तित्वका विभिन्‍न पक्ष पाउँछौं। शिर उठाएर आकासमा हेरौं वा आफू उभिरहेको धरातलमा, सर्वज्ञानी र मायालु सृष्टिकर्ताको प्रशस्त प्रमाण देख्छौं। उहाँले बनाएका कुराहरू हेरेर हामी उहाँबारे धेरै सिक्न सक्छौं।—भज. १९:१; यशै. ४०:२६.

५, ६. (क) सृष्टिको कार्यमा यहोवालाई अरू कसले सघाएको थियो? (ख) हामी के छलफल गर्नेछौं र किन?

“आकाश र पृथ्वी सृष्टि” गर्नुहुँदा परमेश्‍वर एक्लै हुनुहुन्‍न थियो। (उत्प. १:१) बाइबल बताउँछ, भौतिक सृष्टि सुरु गर्नुभन्दा धेरैअघि उहाँले एक जना आत्मिक प्राणी बनाउनुभयो जस मार्फत “सबै थोक सृष्टि” गर्नुभयो। ती आत्मिक प्राणी परमेश्‍वरका प्रिय पुत्र, “सारा सृष्टिको जेठो” हुनुहुन्थ्यो जो पछि मानव रूप लिई पृथ्वीमा आउनुभयो र येशू भनेर चिनिनुभयो। (कल. १:१५-१७) यहोवा जस्तै येशू पनि बुद्धिमान्‌ हुनुहुन्छ। वास्तवमा, हितोपदेश अध्याय ८ मा उहाँलाई बुद्धिको मूर्त रूप भनिएको छ। त्यस अध्यायमा येशूलाई परमेश्‍वरको “मुख्य कालिगड” पनि भनिएको छ।—हितो. ८:१२, २२-३१, NW.

अतः भौतिक सृष्टिमा उहाँ र उहाँको मुख्य कालिगड येशू दुवैको बुद्धि देखिन्छ। यसबाट हामी अमूल्य पाठ सिक्न सक्छौं। आउनुहोस्‌, अब हामी हितोपदेश ३०:२४-२८ मा “साह्रै बुद्धिमानी” अर्थात्‌ जन्मजातै बुद्धिमान्‌ भनी वर्णन गरिएका चार वटा प्राणीलाई हेरौं। a

मेहनतीको पाठ

७, ८. कमिलाको कुन कुरा तपाईंलाई रोचक लाग्यो?

“पृथ्वीमा साना” मानिने प्राणीहरूको रचना र गतिविधि नियालेर हेर्दा हामी पाठ सिक्छौं। उदाहरणको लागि, कमिलाले जन्मजातै पाएको बुद्धिलाई विचार गर्नुहोस्‌।हितोपदेश ३०:२४, २५ पढ्‌नुहोस्‌।

केही अनुसन्धानकर्ताहरूका अनुसार संसारका सबै मानिसलाई कमिला भागबन्डा लगाउने हो भने प्रत्येकको भागमा कम्तीमा पनि २,००,००० पर्छ। अनि ती कमिलाहरूलाई जमिनमाथि र मुनि दुवै ठाउँमा कामको चटारो छ। कमिलाको गुँड भाग-भागमा बाँडिएको हुन्छ र प्रायः सबै भागमा तीन प्रकारका कमिला हुन्छन्‌: रानी, भाले र कामदार। गुँडमा प्रत्येकको आवश्‍यकता पूरा गर्न सबैले आ-आफ्नै तरिकामा निकै मेहनत गर्छ। दक्षिण अफ्रिकामा पाइने पात काट्‌ने एक प्रकारको कमिलालाई कुशल बगैंचे भन्‍न सकिन्छ। यो कमिलाले धेरैभन्दा धेरै खाना उत्पादन गर्न आफ्नो गुँडमा ढुसी उमार्ने, मलजल हाल्ने अनि काँटछाँट गर्ने गर्छ। अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्‌, यो कुशल “बगैंचेले” गुँडमा खानाको मागअनुसार उत्पादनमा घटबढ गर्छ र यसरी आफ्नो समय अनि शक्‍ति बचाउँछ। b

९, १०. मेहनती कमिलाको हामी कसरी देखासिकी गर्न सक्छौं?

हामी कमिलाबाट के पाठ सिक्न सक्छौं? मीठो फल चाख्न लगनशील हुनुपर्छ। बाइबल भन्छ: “ए अल्छे! कमिलाकहाँ गएर त्यसको चाल ढङ्‌ग हेर्‌, र ज्ञान सिक्‌। त्यसको कुनै हेर विचार गर्ने हुँदैन, कुनै राज्यपाल अथवा शासन गर्ने हुँदैन। तर ग्रीष्म ऋतुमा त्यसले आफ्नो अन्‍नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ।” (हितो. ६:६-८) यहोवा र उहाँको मुख्य कालिगड येशू दुवै मेहनती हुनुहुन्छ। येशूले भन्‍नुभयो: “मेरा पिताले अझसम्म [काम] गर्नुहुन्छ, र म पनि गर्छु।”—यूह. ५:१७.

१० यहोवा र येशूको पछि लाग्नेहरू भएकोले हामी पनि मेहनती हुनुपर्छ। परमेश्‍वरको संगठनमा जस्तोसुकै जिम्मेवारी पाए तापनि “प्रभुको काममा प्रशस्त हुँदै” जानुपर्छ। (१ कोरि. १५:५८) त्यसैले रोमका ख्रीष्टियानहरूलाई पावलले दिएको सल्लाह हामीले पालन गर्नुपर्छ: “प्रयत्न गर्नमा अल्छी नहोओ, आत्मामा जोशिलो होओ, प्रभुको सेवा गर्दै रहो।” (रोमी १२:११) परमेश्‍वरको इच्छाबमोजिम गर्ने हाम्रो प्रयास खेर जाँदैन किनभने बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ . . . तिमीहरूले देखाएका छौं, सो बिर्सनलाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।”—हिब्रू ६:१०.

आध्यात्मिक हानिबाट सुरक्षा

११. न्याउरी मुसाका केही विशेषता बताउनुहोस्‌।

११ हामीलाई महत्त्वपूर्ण पाठ सिकाउन सक्ने अर्को सानो प्राणी हो: एक किसिमको न्याउरी मुसा। (हितोपदेश ३०:२६ पढ्‌नुहोस्‌) यसको कान सानो र खुट्टा छोटो हुन्छ। यो पहराको चेपचापमा बस्छ। यसले आफूलाई शत्रुहरूबाट सुरक्षित राख्न आफ्नो तीक्ष्ण दृष्टिको पूरापूर फाइदा उठाउँछ। अनि, पहराको चेपचापमा बस्ने भएकोले यसलाई शत्रुहरूले सजिलै आहार बनाउन सक्दैन। यिनीहरू समूहमा बस्छ जसले गर्दा सबैको सुरक्षा हुन्छ र जाडो मौसममा एकअर्कालाई न्यानो पनि राख्न सक्छ। c

१२, १३. न्याउरी मुसाबाट हामी के पाठ सिक्न सक्छौं?

१२ न्याउरी मुसाबाट हामी के सिक्न सक्छौं? पहिलो: याद गर्नुहोस्‌, यिनीहरूले आफूलाई सजिलै शिकार हुन दिंदैन। यसले शिकारीहरू आइरहेको छ कि भनेर टाढ-टाढासम्म हेर्न आफ्नो तीक्ष्ण दृष्टि चलाउँछ र जीवन बचाउन सक्ने दूलो र पहराको चेपचाप नजिकै बस्छ। त्यसैगरि हाम्रो आध्यात्मिक दृष्टि पनि तीक्ष्ण हुनुपर्छ जसले गर्दा शैतानको संसारमा ढुकी बसेका खतराहरू देख्न सक्छौं। प्रेरित पत्रुसले ख्रीष्टियानहरूलाई यस्तो सल्लाह दिए: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड्‌छ।” (१ पत्रु. ५:८) पृथ्वीमा छँदा येशू उहाँको निष्ठा तोड्‌ने शैतानको हर प्रयासको विरुद्ध सचेत र जागा रहनुभयो। (मत्ती ४:१-११) उहाँका अनुयायीहरूका लागि कत्ति राम्रो उदाहरण!

१३ जागा रहन सक्ने एउटा तरिका, यहोवाले हाम्रो लागि उपलब्ध गरेको आध्यात्मिक सुरक्षाको सदुपयोग गरेर हो। परमेश्‍वरको वचन अध्ययन गर्नु र ख्रीष्टियान सभाहरू धाउनुलाई अवहेलना गर्नुहुँदैन। (लूका ४:४; हिब्रू १०:२४, २५) यसबाहेक, न्याउरी मुसा समूहमा बसेजस्तै हामी पनि सँगी ख्रीष्टियानहरूको नजिक बस्नुपर्छ जसबाट हामी ‘आपसमा सान्त्वना’ पाउन सक्छौं। (रोमी १:१२) यहोवाको सुरक्षा पाउन आफ्नो पक्षबाट सक्दो गर्दा भजनरचयितासित सहमत भइरहेका हुन्छौं जसले यसो भने: “परमप्रभु मेरो चटान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरा परमेश्‍वर, मेरो बलियो चटान, उहाँमै म भरोसा राख्नेछु।”—भज. १८:२.

सतावट आए पनि लागिरहनुहोस्‌

१४. एउटा मात्र सलह देख्दा जाबो किरा भन्‍ने जस्तो लागे तापनि यसको बथानबारे चाहिं के भन्‍न सकिन्छ?

१४ सलहबाट पनि पाठ सिक्न सक्छौं। लगभग मानिसको बूढीऔंला जति मात्र लामो हुने एउटा सलह देख्दा जाबो किरा भन्‍ने लाग्ला। तर यसको बथान देख्दा दंग नपरी बस्न सकिन्‍न। (हितोपदेश ३०:२७ पढ्‌नुहोस्‌) असाध्यै खन्चुवा भनेर नाउँ कमाएको सजिलै हार नमान्‍ने सलहको बथानले कटनीको लागि तयार बाली छिनभरमै सखाप पार्न सक्छ। नजिकै आइपुगेको सलहको बथान र अरू किराको बथानको आवाजलाई बाइबलमा रथहरूको आवाज र आगोको ज्वालाको आवाजसँग तुलना गरिएको छ। (योए. २:३, ५) सलहको बथानलाई रोक्न मानिसहरू आगो बाल्छन्‌ तर अक्सर यसले केही फरक पार्दैन। किन? आगोमा परेर मरेका सलहको थुप्रोले आगो नै निभाइदिन्छ अनि बाँकी सलह चाहिं बाधा-विघ्नविना अघि बढ्‌छ। सलहको न राजा हुन्छ न नेता तर यी कुनै व्यवस्थित सेनाको डफ्फाभन्दा कम छैन। यसले हर किसिमको बाधा अड्‌चन पार गर्छ। dयोए. २:२५.

१५, १६. वर्तमान समयका राज्य प्रकाशकहरू कसरी सलहको बथान जस्तै छन्‌?

१५ यहोवाका सेवकहरूको गतिविधिलाई अगमवक्‍ता योएलले सलहको कार्यसित दाँजे। तिनले लेखे: “तिनीहरूले वीर योद्धाहरूलेझैं आक्रमण गर्छन्‌। तिनीहरू युद्ध गर्ने निपुण सिपाहीहरूझैं पर्खाल चढ्‌छन्‌। तिनीहरू आफ्ना पंक्‍ति नबिगारीकन प्रत्येक आफ्नो ठाउँमा हिंड्‌छन्‌। तिनीहरू एउटाले अर्कोलाई धक्का दिंदै हिंड्‌दैनन्‌, तर प्रत्येक आफ्ना आफ्नै पंक्‍तिमा हिंडेर जान्छन्‌। तिनीहरू शत्रुका हतियारको सामना गर्दै बढ्‌छन्‌। औ रोकिंदैनन्‌। [वा “तिनीहरूमध्ये केही हतियारले ढले पनि अरूचाहिं पंक्‍ति नबिगारी हिंड्‌छन्‌।,” NW]”—योए. २:७, ८.

१६ वर्तमान समयका राज्य उद्‌घोषकहरूलाई यस भविष्यवाणीले कत्ति राम्ररी व्याख्या गरेको छ! जस्तोसुकै विरोधको “पर्खाल”-ले पनि तिनीहरूको प्रचारकार्यलाई रोक्न सकेको छैन। बरु तिनीहरू येशूको अनुकरण गर्छन्‌। उहाँ धेरैको घृणाको पात्र हुनुभयो। तैपनि परमेश्‍वरको इच्छाबमोजिम गर्न छोड्‌नुभएन। (यशै. ५३:३) हो, कोही-कोही ख्रीष्टियानहरू ‘शत्रुको हतियारले ढलेका’ छन्‌, मतलब विश्‍वासको खातिर शहिद बनेका छन्‌। तैपनि प्रचारकार्य रोकिएको छैन र राज्य प्रचारकहरूको संख्या बढिरहेको छ। वास्तवमा, यस्ता सतावटहरूको कारण त्यस्ता मानिसहरूकहाँ पनि सुसमाचार पुग्न सकेको छ जसकहाँ अन्यथा पुग्न सक्ने थिएन। (प्रेरि. ८:१, ४) प्रचारमा भावशून्यता र विरोधको सामना गर्नुपर्दा समेत के तपाईं सलहजस्तै हार नमानी अघि बढिरहनुभएको छ?—हिब्रू १०:३९.

“जुन कुरो असल छ, त्यसमा लागिरहो”

१७. चिप्लो सतहमा पनि माउसुलीको पैतला किन टाँसिन सक्छ?

१७ माउसुलीले गुरुत्वाकर्षणको शक्‍तिलाई चुनौती दिएजस्तो देखिन्छ। (हितोपदेश ३०:२८ पढ्‌नुहोस्‌) e माउसुली भित्ता र चिप्लो सिलिङमा समेत नखसी टाँसिएर बस्न सक्छ। यो देखेर वैज्ञानिकहरू चित परेका छन्‌। माउसुलीले यसो गर्न सक्नुको रहस्य? यसको खुट्टामा कुनै प्रकारको गम भएकोले होइन। बरु, यसको पैतालामा सयौं अति सूक्ष्म रौंहरू हुन्छन्‌। अनि ती प्रत्येक रौंमा सयौं रेसाहरू हुन्छन्‌ र यी प्रत्येकको टुप्पो प्लेट आकारको हुन्छ। यी रेसामा हुने अणुहरूबीचको आपसी शक्‍तिले गर्दा यसले आफ्नो शरीरभन्दा गह्रौं भारलाई समेत ऐनामा सजिलै टाँसेर राख्न सक्छ! माउसुलीको यो क्षमता देखेर वैज्ञानिकहरू दंग परेका छन्‌ र तिनीहरूका अनुसार त्यसको नकल गरेर बनाइएका कृत्रिम वस्तुलाई टाँस्ने चीजको रूपमा प्रयोग गर्न सकिन्छ। f

१८. “जुन कुरो असल छ, त्यसमा लागिरहो” भन्‍ने सल्लाह सधैं पालन गर्न हामी के गर्न सक्छौं?

१८ माउसुलीबाट के सिक्न सक्छौं? बाइबल हामीलाई सल्लाह दिन्छ: “जुन कुरो खराब छ, त्यसलाई घृणा गर, जुन कुरो असल छ, त्यसमा लागिरहो।” (रोमी १२:९) अर्को शब्दमा भन्‍नुपर्दा, हामी पनि असल काममा माउसुली टाँसिएजस्तै टाँसिनुपर्छ। शैतानको संसारमा व्याप्त अस्वस्थ्यकर प्रभावहरूको कारण परमेश्‍वरका सिद्धान्तहरूमा हाम्रो पकड गुम्न सक्छ। उदाहरणको लागि, परमेश्‍वरको आज्ञा पालन नगर्ने व्यक्‍तिहरूसित उठबस गर्दा, चाहे त्यो स्कूलमा होस्‌ वा काममा वा ख्रीष्टियानलाई नसुहाउँदो कुनै मनोरञ्जन नै किन नहोस्‌, त्यसले सही कुरा गर्ने हाम्रो अठोटलाई असर गर्न सक्छ। त्यसो हुन नदिनुहोस्‌! परमेश्‍वरको वचन यस्तो चेताउनी दिन्छ: “आफैलाई बुद्धिमान्‌ नसम्झी।” (हितो. ३:७) बरु, प्राचीन समयमा परमेश्‍वरले आफ्ना जनहरूलाई मोशा मार्फत दिएको बुद्धिमानी सल्लाह पालन गर्नुहोस्‌: “परमप्रभु आफ्ना परमेश्‍वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँसितै संलग्न रहो।” (व्यव. १०:२०) यहोवासँग टाँसिरहँदा हामीले येशूको अनुकरण गरिरहेका हुनेछौं। उहाँबारे यसो भनिएको थियो: “तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ।”—हिब्रू १:९.

सृष्टिबाट पाठ

१९. (क) तपाईं आफैले चाहिं सृष्टिमा यहोवाका कस्ता गुणहरू देख्नुहुन्छ? (ख) परमेश्‍वरको बुद्धिबाट हामी कसरी लाभ उठाउन सक्छौं?

१९ हामीले बुझ्यौं, यहोवाका गुणहरू उहाँको सृष्टिमा स्पष्टै देखिन्छ र तीबाट हामी महत्त्वपूर्ण पाठहरू पनि सिक्न सक्छौं। उहाँका कामहरू जत्ति बुझ्दै गयो त्यत्ति नै हामी उहाँको बुद्धिबाट प्रभावित नभई बस्न सक्दैनौ। परमेश्‍वरको बुद्धिमा ध्यान दिंदा हामी अझ आनन्दित हुन सक्छौं र यसले पछि आउने समयमा पनि सुरक्षा दिनेछ। (उप. ७:१२) हो, हामी आफैले हितोपदेश ३:१३, १८ मा पाइने आश्‍वासन पूरा भएको अनुभव गर्न सक्नेछौं जहाँ यसो भनिएको छ: “बुद्धि पाउने र समझशक्‍ति प्राप्त गर्ने मानिस सुखी रहन्छ। त्यसलाई समात्नेहरू सबैका निम्ति त्यो जीवनको सहारा हो, र त्यसलाई बलियोगरी समात्नेहरू सुरक्षित रहन्छन्‌।”

(w 09 4/15)

[फुटनोटहरू]

a विशेषगरि जवानहरूले यस प्रहरीधरहरा लेखको पादटिप्पणीमा बताइएका लेखहरू हेरेर आनन्द उठाउन सक्छन्‌। अनि मण्डलीमा यो लेख अध्ययन गर्दा अनुसन्धानबाट थाह पाएको कुरा टिप्पणीमा समावेश गर्न सक्छन्‌।

b पात काट्‌ने कमिलाबारे थप जानकारीको लागि मार्च २२, १९९७ अवेक!, पृष्ठ ३१ र जून ८, २००२ ब्यूँझनुहोस्‌!, पृष्ठ ३१ हेर्नुहोस्‌।

c न्याउरी मुसाबारे थप जानकारीको लागि सेप्टेम्बर ८, १९९० अवेक!, पृष्ठ १५-१६ हेर्नुहोस्‌।

d सलहबारे थप जानकारीको लागि अक्टोबर २२, १९७६ अवेक!, पृष्ठ ११ हेर्नुहोस्‌।

e हितोपदेश ३०:२८ (NW) यसो भन्छ: “माउसुली जहाँ पनि टाँसिएर बस्न सक्छ र त्यो राजाहरूको महलमा पनि हुन्छ।”

f माउसुलीबारे थप जानकारीको लागि अप्रिल २००८, अवेक!, पृष्ठ २६ हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

तल दिइएका प्राणीहरूबाट कस्तो पाठ सिक्न सक्छौं:

• कमिला?

• न्याउरी मुसा?

• सलह?

• माउसुली?

[प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएको चित्र]

के तपाईं पात काट्‌ने कमिला जस्तै मेहनती हुनुहुन्छ?

[पृष्ठ २१-मा भएको चित्र]

न्याउरी मुसा समूहमा रहेर सुरक्षित रहन्छ। तपाईं नि?

[पृष्ठ २२-मा भएको चित्र]

सलहहरू जस्तै ख्रीष्टियान सेवकहरू हार नमानी लागिरहन्छन्‌

[पृष्ठ २२-मा भएको चित्र]

माउसुली कुनै पनि सतहमा टाँसिएजस्तै ख्रीष्टियानहरू असल कुरामा टाँसिरहन्छन्‌

[स्रोत]

Stockbyte/Getty Images