सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नयाँ जन्म—कसरी?

नयाँ जन्म—कसरी?

नयाँ जन्म—कसरी?

येशूले निकोदेमससित नयाँ जन्मको महत्त्व, कारण र उद्देश्‍यबारे मात्र होइन तर यो कसरी हुन्छ त्यसबारे पनि कुरा गर्नुभयो। उहाँले भन्‍नुभयो: “कोही पानी र आत्माले जन्मेन भने परमेश्‍वरको राज्यमा पस्नसक्‍तैन।” (यूहन्‍ना ३:५) त्यसैले कुनै मानिस पानी र आत्माले नयाँ गरी जन्मन्छ भन्‍न सकिन्छ। तर “पानी र आत्मा” भन्‍ने अभिव्यक्‍तिले केलाई संकेत गर्छ?

“पानी र आत्मा” के हुन्‌?

निकोदेमस एक यहूदी धर्मविद्‌ भएकोले “परमेश्‍वरको आत्मा” अर्थात्‌ मानिसहरूलाई उल्लेखनीय कार्य गर्न लगाउने परमेश्‍वरको सक्रिय शक्‍तिलाई हिब्रू धर्मशास्त्रमा कसरी प्रयोग गरिएको थियो त्यो कुरा तिनले राम्ररी बुझेको हुनुपर्छ भन्‍ने कुरामा कुनै शंका छैन। (उत्पत्ति ४१:३८; प्रस्थान ३१:३; १ शमूएल १०:६) तसर्थ येशूले “आत्मा” भन्‍ने शब्द चलाउनुहुँदा निकोदेमसले त्यो भनेको पवित्र आत्मा अर्थात्‌ परमेश्‍वरको सक्रिय शक्‍ति हो भनेर बुझेको हुनुपर्छ।

येशूले पानी भन्‍नुको मतलब के थियो? निकोदेमससित गरेको कुराकानीको लगत्तै अघि र पछि लिपिबद्ध गरिएका घटनाहरूलाई विचार गर्नुहोस्‌। त्यसमा बप्तिस्मा दिने यूहन्‍ना र येशूका चेलाहरूले पानीद्वारा बप्तिस्मा दिइरहेका थिए भनी देखाइएको छ। (यूहन्‍ना १:१९, ३१; ३:२२; ४:१-३) यो कार्य यरूशलेममा चिरपरिचित हुन गयो। त्यसैले, येशूले पानीबारे कुरा गर्नुहुँदा निकोदेमसले बुझेको हुनुपर्छ कि उहाँले साधारण पानीको कुरा नभई बप्तिस्मा दिने पानीको कुरा गरिरहनुभएको थियो। a

“पवित्र आत्मा”-द्वारा बप्तिस्मा

‘पानीले जन्मने’ भनेको पानीद्वारा बप्तिस्मा लिनु हो भने ‘आत्माले जन्मने’ भनेको चाहिं के हो? निकोदेमस र येशूबीचको कुराकानीअघि बप्तिस्मा दिने यूहन्‍नाले बप्तिस्मा लिंदा पानीले मात्र होइन तर आत्माले पनि भूमिका खेल्छ भनेर घोषणा गरेका थिए। तिनले यसो भनेका थिए: “मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएँ, तर [येशूले] तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।” (मर्कूस १:७, ८) सुसमाचार पुस्तकका लेखक मर्कूसले यस किसिमको बप्तिस्मा पहिलोचोटि भएकोबारे वर्णन गरे। तिनी लेख्छन्‌: “ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। औ पानीबाट उक्ली आउने बित्तिकै उहाँले स्वर्ग उघ्रिएको र आत्मालाई ढुकुरको रूपमा आफूमाथि उत्रँदै गरेका देख्नुभयो।” (मर्कूस १:९, १०) येशूलाई यर्दन नदीमा बप्तिस्मा दिंइदा उहाँको पानीद्वारा बप्तिस्मा भयो। अनि त्यतिबेला स्वर्गबाट आत्मा पाउँदा चाहिं पवित्र आत्माले बप्तिस्मा भयो।

बप्तिस्मा लिएको करिब तीन वर्षपछि येशूले चेलाहरूलाई यस्तो ढाडस दिनुभयो: “अबको थोरै दिनमा तिमीहरू पवित्र आत्माले बप्तिस्मा हुनेछौ।” (प्रेरित १:५) यो कहिले भयो?

इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन येशूका करिब १२० जना चेला यरूशलेमको एउटा घरमा भेला भए। “अचानक स्वर्गबाट ठूलो बतास बहेको जस्तो हुरूरूरू शब्द आयो, र त्यसले तिनीहरू बसेको घर जम्मै भरिदियो। औ आगोको जस्तो चिरा-चिरा परेका जिब्राहरू तिनीहरूकहाँ देखा परे, . . . अनि तिनीहरू सबै पवित्र आत्माले भरिए।” (प्रेरित २:१-४) त्यही दिन यरूशलेममा भएका अरूहरूलाई पानीद्वारा बप्तिस्मा लिन आग्रह गरियो। प्रेरित पत्रुसले भीडलाई यसो भने: “पश्‍चाताप गर, र तिमीहरू हरेकले पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।” प्रतिक्रिया कस्तो थियो? “जस जसले तिनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्रायः तीन हजार प्राणीहरू तिनीहरूमा थपिए।”—प्रेरित २:३८, ४१.

एउटै सिक्काका दुई पाटा

नयाँ जन्मबारे यी बप्तिस्माहरूले के प्रकट गर्छ? यो कि नयाँ जन्म दुई तरिकाले हुन्छ। याद गर्नुहोस्‌, येशूले पहिला पानीद्वारा बप्तिस्मा लिनुभयो। त्यसपछि पवित्र आत्मा पाउनुभयो। त्यसरी नै सुरु-सुरुतिरका चेलाहरूले पनि पहिला पानीद्वारा बप्तिस्मा लिए (केहीले बप्तिस्मा दिने यूहन्‍नाबाट लिए) अनि त्यसपछि पवित्र आत्मा पाए। (यूहन्‍ना १:२६-३६) त्यसैगरि, ३,००० नयाँ चेलाले पनि सुरुमा पानीद्वारा बप्तिस्मा लिए र त्यसपछि पवित्र आत्मा पाए।

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा भएको बप्तिस्मालाई मनमा राख्दा अहिले हाम्रो समयमा नयाँ जन्म कसरी हुन्छ भनेर अपेक्षा गर्न सक्छौं? त्यसरी नै जसरी येशूका प्रेरितहरू र सुरु-सुरुका चेलाहरूको पालामा भएको थियो। सर्वप्रथम, कुनै व्यक्‍तिले आफ्नो पापको पश्‍चात्ताप गर्छ, खराब बानी-बेहोरा त्याग्छ, यहोवाको उपासना र सेवा गर्न जीवन उहाँमा समर्पण गर्छ र त्यस समर्पणलाई पानीको बप्तिस्माद्वारा सार्वजनिक गर्छ। त्यसपछि, यदि यहोवाले तिनलाई आफ्नो राज्यमा शासन गर्न छान्‍नुभएको हो भने तिनी पवित्र आत्माद्वारा अभिषिक्‍त हुन्छन्‌। यी दुई तरिकामध्ये पहिलोमा (पानीद्वारा बप्तिस्माको लागि) व्यक्‍तिविशेषले नै कदम चाल्छ; दोस्रोमा (आत्माद्वारा बप्तिस्माको लागि) चाहिं परमेश्‍वरले। जब कसैले यी दुवै तरिकामा बप्तिस्मा लिन्छ तब उसले नयाँ जन्म अनुभव गर्छ।

तर, निकोदेमससितको कुराकानीमा येशूले किन ‘पानी र आत्माले जन्मने’ भन्‍ने अभिव्यक्‍ति प्रयोग गर्नुभएको? पानी र आत्माले बप्तिस्मा लिनेहरूको उल्लेखनीय परिवर्तन हुन्छ भन्‍ने कुरालाई जोड दिन। नयाँ जन्मको यस पक्षबारे अर्को लेखमा विचार गर्नेछौं।

(w 09 4/1)

[फुटनोट]

a यसैगरि, प्रेरित पत्रुसले पनि एक अवसरमा बप्तिस्माबारे यसो भनेका थिए: “कसले पानी मनाई गर्नसक्छ?”—प्रेरित १०:४७.

[पृष्ठ ९-मा भएको चित्र]

यूहन्‍नाले पश्‍चात्तापी इस्राएलीहरूलाई पानीद्वारा बप्तिस्मा दिए