सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”

स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”

स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”

“के मुक्‍तिका हकदार हुनेहरूका खातिरमा सेवा गर्नलाई पठाइएका ती सेवा गर्ने आत्माहरू होइनन्‌?”—हिब्रू १:१४.

१. मत्ती १८:१० र हिब्रू १:१४ बाट हामी कस्तो सान्त्वना पाउन सक्छौं?

 आफ्ना अनुयायीहरूलाई ठेस पुऱ्‍याउनेहरूलाई येशू ख्रीष्टले यसरी चेतावनी दिनुभयो: “हेर, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई पनि हेला नगर। किनभने म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतले मेरा स्वर्गका पिताको चेहेरा बराबर हेर्दछन्‌।” (मत्ती १८:१०) वफादार स्वर्गदूतहरूलाई संकेत गर्दै प्रेरित पावलले यसरी लेखे: “के मुक्‍तिका हकदार हुनेहरूका खातिरमा सेवा गर्नलाई पठाइएका ती सेवा गर्ने आत्माहरू होइनन्‌?” (हिब्रू १:१४) मानिसलाई मदत गर्न परमेश्‍वरले यी दूतहरू प्रयोग गर्नुहुन्छ भनी आश्‍वासन पाउनु सान्त्वनादायी छ। स्वर्गदूतहरूबारे बाइबल के भन्छ? तिनीहरूले हामीलाई कसरी मदत गर्छन्‌? तिनीहरूको उदाहरणबाट हामी के सिक्न सक्छौं?

२, ३. स्वर्गदूतहरूका केही जिम्मेवारी के-के हुन्‌?

स्वर्गमा वफादार स्वर्गदूत लाखौं छन्‌। तिनीहरू सबै नै “शक्‍तिमान” छन्‌ “जसले उहाँको वचन शिरोपर” गर्छन्‌। (भज. १०३:२०; प्रकाश ५:११ पढ्‌नुहोस्‌) परमेश्‍वरका यी आत्मिक छोराहरूमा विभिन्‍न व्यक्‍तित्व, परमेश्‍वरका जस्तै गुणहरू र स्वतन्त्र इच्छा छ। तिनीहरू अत्यन्तै राम्रो तरिकाले व्यवस्थित गरिएका छन्‌ र परमेश्‍वरको प्रबन्धमा तिनीहरू उच्च स्थानमा छन्‌; माइकल (स्वर्गमा हुँदा येशूको नाम) प्रधान दूत हुनुहुन्छ। (दानि. १०:१३; यहू. ९) “सारा सृष्टिको जेठो” उक्‍त दूत “वचन” अर्थात्‌ परमेश्‍वरको प्रवक्‍ता हुनुहुन्छ र परमेश्‍वरले अन्य सबै थोक उहाँमार्फत नै बनाउनुभएको थियो।—कल. १:१५-१७; यूह. १:१-३.

प्रधान दूतमुनि सराफहरू छन्‌ जसले यहोवाको पवित्रता घोषणा गर्छन्‌ र उहाँका जनहरूलाई आध्यात्मिक रूपमा स्वच्छ रहन मदत गर्छन्‌। करूबहरू पनि छन्‌ जसले परमेश्‍वरको सार्वभौमिकतालाई उच्च पार्छन्‌। (उत्प. ३:२४; यशै. ६:१-३, ६, ७) अन्य स्वर्गदूत अर्थात्‌ सन्देशवाहकहरूले विभिन्‍न तरिकामा परमेश्‍वरको इच्छा पूरा गर्छन्‌।—हिब्रू १२:२२, २३.

४. (क) पृथ्वीको जग बसाल्दा स्वर्गदूतहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) स्वतन्त्र इच्छाको प्रयोग सही तरिकाले गरिएको भए मानिसहरूले कस्तो मौका पाउने थिए?

‘पृथ्वीको जग बसाल्दा’ सबै स्वर्गदूत रमाए र परमेश्‍वरले पृथ्वीलाई मानिसजातिको घर बनाउँदा आफूले पाएको विभिन्‍न जिम्मेवारी रमाई-रमाई पूरा गरे। (अय्यू. ३८:४, ७) यहोवाले मानिसलाई “स्वर्गदूतहरूभन्दा केही कम” गरेर तर “आफ्नै स्वरूपमा” बनाउनुभयो। त्यसैले मानिसहरूले सृष्टिकर्ताका उच्च गुणहरू झल्काउन सक्थे। (हिब्रू २:७; उत्प. १:२६) आदम र हव्वाले स्वतन्त्र इच्छाको प्रयोग सही तरिकाले गरेका भए तिनीहरू र तिनीहरूका सन्ततिले बगैंचारूपी घरमा जीवन बिताउन पाउँथे। यसरी तिनीहरू बौद्धिक प्राणीहरूले बनेको यहोवाको ब्रह्‍माण्डको परिवारको भाग हुन सक्थे।

५, ६. स्वर्गमा कस्तो विद्रोह भयो र परमेश्‍वरले के गर्नुभयो?

परमेश्‍वरको स्वर्गीय परिवारमा विद्रोह सुरु भएको देख्दा पवित्र स्वर्गदूतहरू निश्‍चय नै निराश भएको हुनुपर्छ। तिनीहरूमध्येकै एक जना अबउसो यहोवाको प्रशंसा गर्न सन्तुष्ट भएन तर त्यसले आफ्नै उपासनाको लालसा गर्न थाल्यो। त्यसले यहोवाको शासन गर्ने अधिकारलाई चुनौती दिएर र प्रतिद्वन्द्वी शासन खडा गर्ने महत्त्वाकाङ्‌क्षी प्रयास गरेर आफैलाई शैतान (अर्थ “विरोधी”) बनायो। शैतानले झूट बोलेर पहिलो मानव दम्पतीलाई मायालु सृष्टिकर्ताको विद्रोहमा आफूलाई साथ दिन धूर्त हुँदै उक्सायो।—उत्प. ३:४, ५; यूह. ८:४४.

बाइबलको पहिलो भविष्यवाणीमा उल्लेख गरे अनुरूप यहोवाले शैतानविरुद्ध तुरुन्तै यस्तो फैसला सुनाउनुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्प. ३:१५) शैतान र परमेश्‍वरकी “स्त्री”-बीच शत्रुता उब्जने थियो। हो, वफादार स्वर्गदूतहरूद्वारा बनेको स्वर्गीय संगठनलाई यहोवाले आफ्नो प्रिय पत्नीसरह ठान्‍नुभयो। यससम्बन्धी विस्तृत विवरण बिस्तारै खुल्दै जाने पवित्र “रहस्य” रहे तापनि यो भविष्यवाणीले आशा गर्न सकिने पक्का आधार प्रदान गऱ्‍यो। आफ्नो स्वर्गीय संगठनकै एक जनाले सम्पूर्ण विद्रोहीलाई कुल्चीमिल्ची पार्नेछ र ऊद्वारा नै ‘स्वर्ग र पृथ्वीका सबै कुरा’ आपसमा गाभिनेछ भन्‍ने उद्देश्‍य परमेश्‍वरले राख्नुभयो।—एफि. १:८-१०.

७. नूहको समयमा केही स्वर्गदूतले के गरे र तिनीहरूले कस्तो नतिजा भोगे?

नूहको समयमा थुप्रै स्वर्गदूतले “आफ्ना घरबार” छाडे र पृथ्वीमा आएर आफ्नो स्वार्थ पूरा गर्न मानव शरीर धारण गरे। (यहू. ६; उत्प. ६:१-४) यहोवाले ती विद्रोहीलाई घोर अन्धकारमा हाल्नुभयो। परिणामस्वरूप तिनीहरू पनि शैतानसँगै मिलेर ‘दुष्ट आत्मिक सेनाहरू’ र परमेश्‍वरका सेवकहरूका खतरनाक शत्रु भए।—एफि. ६:११-१३; २ पत्रु. २:४.

स्वर्गदूतहरू हामीलाई कसरी मदत गर्छन्‌?

८, ९. मानिसहरूलाई मदत गर्न यहोवाले कसरी स्वर्गदूतहरू प्रयोग गर्नुभयो?

स्वर्गदूतबाट मदत पाएका व्यक्‍तिहरूमध्ये केही हुन्‌: अब्राहाम, याकूब, मोशा, यहोशू, यशैया, दानियल, येशू, पत्रुस, यूहन्‍ना र पावल। वफादार स्वर्गदूतहरूले परमेश्‍वरको न्याय कार्यान्वयन गरे र मोशाको व्यवस्थालगायत अन्य भविष्यवाणी तथा निर्देशन अरूसामु पुऱ्‍याए। (२ राजा १९:३५; दानि. १०:५, ११, १४; प्रेरि. ७:५३; प्रका. १:१) अहिले हामीसित परमेश्‍वरको पूर्ण वचन भएकोले परमेश्‍वरका सन्देशहरू ओसार्न स्वर्गदूतहरू आवश्‍यक नपर्न सक्छ। (२ तिमो. ३:१६, १७) तैपनि परमेश्‍वरको इच्छा पूरा गर्न र उहाँका जनहरूलाई मदत दिन स्वर्गदूतहरूले अहिले पनि अदृश्‍य रूपमा काम गरिरहेका छन्‌।

बाइबल हामीलाई यसरी विश्‍वस्त पार्छ: “उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्‌, र तिनीहरूलाई छुटकारा दिन्छन्‌।” (भज. ३४:७; ९१:११) सत्यनिष्ठाबारे उठेको विवादको कारण यहोवाले शैतानलाई हामीमाथि हरेक किसिमका परीक्षा ल्याउने अनुमति दिनुहुन्छ। (लूका २१:१६-१९) तथापि हामीले थुप्रै परीक्षा भोग्नुपरेकोले परीक्षाले परमेश्‍वरप्रतिको हाम्रो सत्यनिष्ठा भङ्‌ग गर्न सक्दैन भनेर उहाँलाई थाह छ। (१ कोरिन्थी १०:१३ पढ्‌नुहोस्‌) परमेश्‍वरको इच्छा अनुरूप हस्तक्षेप गर्न स्वर्गदूतहरू हरदम तत्पर छन्‌। तिनीहरूले शद्रक, मेशक, अबेद्‌नगो, दानियल र पत्रुसलाई जोगाए। तर स्तिफनस र याकूबलाई शत्रुहरूको हातबाट मारिनदेखि जोगाएनन्‌। (दानि. ३:१७, १८, २८; ६:२२; प्रेरि. ७:५९, ६०; १२:१-३, ७, ११) प्रत्येकको परिस्थिति र अवस्था बेग्ला-बेग्लै थियो। त्यसैगरि नाजी यातना शिविरमा हाम्रा केही भाइको ज्यान लिइयो तर धेरैजसो भने यहोवाको मदत पाएर बाँच्न सफल भए।

१०. स्वर्गदूतको मदतबाहेक हामी कस्तो मदत पाउन सक्छौं?

१० पृथ्वीमा प्रत्येक व्यक्‍तिलाई सुरक्षा दिन स्वर्गदूत खटाइएको छ भनेर बाइबल सिकाउँदैन। “[परमेश्‍वरको] इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ” भनेर निर्धक्क हुँदै हामी प्रार्थना गर्छौं। (१ यूह. ५:१४) हो, हामीलाई मदत गर्न यहोवाले स्वर्गदूत पठाउन सक्नुहुन्थ्यो तर मदत अन्य तरिकामा आउन सक्छ। मदत र सान्त्वना दिन सँगी ख्रीष्टियानहरू उत्प्रेरित हुन सक्छन्‌। ‘शैतानको दूतले’ मुक्का लगाएको जस्तैगरि ‘शरीरमा भएको छेस्कोले’ हामीलाई बिझाइरहेको छ भने त्यो पीडा सहन परमेश्‍वरले हामीलाई बुद्धि र भित्री बल दिन सक्नुहुन्छ।—२ कोरि. १२:७-१०; १ थिस्स. ५:१४

येशूको अनुकरण गर्नुहोस्‌

११. येशूलाई मदत गर्न स्वर्गदूतहरूको प्रयोग कसरी गरियो र परमेश्‍वरप्रति वफादार भइरहेर उहाँले के प्रमाणित गर्नुभयो?

११ येशूलाई मदत गर्न यहोवाले स्वर्गदूतहरू कसरी प्रयोग गर्नुभयो विचार गर्नुहोस्‌। स्वर्गदूतहरूले येशूको जन्म र पुनरुत्थानबारे जानकारी दिए र उहाँ पृथ्वीमा हुँदा उहाँलाई मदत गरे। येशूको गिरफ्तारी र उहाँको निर्मम हत्यालाई स्वर्गदूतहरूले रोक्न सक्थे। तर उहाँलाई बलियो पार्न एक जना स्वर्गदूत पठाइयो। (लूका २:८-११; २२:४३) यहोवाको उद्देश्‍य अनुरूपै येशूले बलिदानरूपी जीवन अर्पण गर्नुभयो र घोर परीक्षा आउँदा पनि सिद्ध मानिस परमेश्‍वरप्रति सत्यनिष्ठ भइरहन सक्छ भनेर प्रमाणित गर्नुभयो। त्यसकारण यहोवाले येशूलाई स्वर्गमा अविनाशी जीवनमा पुनरुत्थान गर्नुभयो र उहाँलाई “सारा अधिकार” दिएर स्वर्गदूतहरूलाई उहाँको अधीनमा राख्नुभयो। (मत्ती २८:१८; प्रेरि. २:३२; १ पत्रु. ३:२२) यसप्रकार येशू परमेश्‍वरकी “स्त्रीको सन्तानको” प्रमुख भाग साबित हुनुभयो।—उत्प. ३:१५; गला. ३:१६.

१२. कुन तरिकामा हामी येशूको सन्तुलित उदाहरण अनुकरण गर्न सक्छौं?

१२ ‘स्वर्गदूतहरूले मदत गरिहाल्छन्‌ नि’ भनेर अनावश्‍यक जोखिम मोल्दै यहोवाको परीक्षा गर्नु गलत हो भनेर येशूलाई थाह थियो। (मत्ती ४:५-७ पढ्‌नुहोस्‌) त्यसकारण आउनुहोस्‌, निडर भएर सतावट सहे तापनि अनावश्‍यक जोखिम नमोलेर “आत्मसंयम” देखाउँदै येशूको उदाहरण अनुकरण गरौं।—रोमी १२:३.

वफादार स्वर्गदूतहरूबाट हामीले सिक्न सक्ने पाठ

१३. दोस्रो पत्रुस २:९-११ मा उल्लेख गरिएका वफादार स्वर्गदूतहरूको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१३ यहोवाका अभिषिक्‍त सेवकहरूको ‘निन्दा गर्नेहरूलाई’ सच्याउँदा प्रेरित पत्रुसले वफादार स्वर्गदूतहरूको असल उदाहरणबारे चर्चा गरे। स्वर्गदूतहरू “यहोवालाई आदर” (NW) गर्छन्‌। त्यसैले अत्यन्तै शक्‍तिशाली भए तापनि अरूको न्याय गर्दै दोष दिनबाट तिनीहरू नम्र भई अलग बस्छन्‌। (२ पत्रुस २:९-११ पढ्‌नुहोस्‌) हामी पनि अरूको अनुचित न्याय गर्नदेखि टाढै बसौं, मण्डलीको निरीक्षण गर्ने जिम्मा पाएकाहरूको आदर गरौं र मामिलाहरू सर्वोच्च न्यायकर्ता यहोवाकै हातमा छोडिदेऔं।—रोमी १२:१८, १९; हिब्रू १३:१७.

१४. नम्र भई सेवा गर्ने सम्बन्धमा स्वर्गदूतहरूले कस्तो उदाहरण बसालेका छन्‌?

१४ नम्र भई सेवा गर्ने सम्बन्धमा पनि यहोवाका स्वर्गदूतहरूले असल उदाहरण बसालेका छन्‌। केही स्वर्गदूतले मानिसहरूलाई आफ्नो नाउँ बताउन इन्कार गरे। (उत्प. ३२:२९; न्याय. १३:१७, १८) स्वर्गमा लाखौं स्वर्गदूत भए तापनि बाइबलमा माइकल र गब्रिएलको नाउँमात्रै उल्लेख गरिएको छ। यसले स्वर्गदूतहरूलाई अनावश्‍यक आदर दिनदेखि जोगिन हामीलाई मदत दिन सक्छ। (लूका १:२६; प्रका. १२:७) स्वर्गदूतलाई उपासना गर्न प्रेरित यूहन्‍ना घोप्टो पर्दा उनलाई यसरी हप्काइयो: “हेर, तिमीले यसो नगर। म तिम्रो र . . . तिम्रा दाज्यू-भाइहरूको . . . संगी-दास हुँ।” (प्रका. २२:८, ९) प्रार्थनालगायत हाम्रो सम्पूर्ण उपासना परमेश्‍वरले मात्र पाउनुपर्छ।— मत्ती ४:८-१० पढ्‌नुहोस्‌।

१५. धैर्य गर्ने सम्बन्धमा स्वर्गदूतहरूले हाम्रो लागि कसरी उदाहरण बसालेका छन्‌?

१५ धैर्य गर्ने सम्बन्धमा पनि स्वर्गदूतहरूले उदाहरण बसालेका छन्‌। परमेश्‍वरका पवित्र रहस्यहरू बुझ्ने तिनीहरूको चाहना तीव्र भए तापनि तिनीहरूले सबै कुरा थाह पाएका भने छैनन्‌। यी कुराहरू “स्वर्गदूतहरूले हेर्न अति इच्छा गर्दछन्‌” भनी बाइबल भन्छ। (१ पत्रु. १:१२) त्यसोभए तिनीहरू के गर्छन्‌? “नाना प्रकारका ज्ञान मण्डलीद्वारा” प्रकट गर्ने परमेश्‍वरको तोकिएको समय नआउन्जेल तिनीहरू धैर्य गर्दै पर्खन्छन्‌।—एफि. ३:१०, ११.

१६. हाम्रो आचरणले स्वर्गदूतहरूलाई असर गर्न सक्छ, कसरी?

१६ परीक्षा भोगिरहेका ख्रीष्टियानहरू ‘स्वर्गदूतहरूका निम्ति तमाशा’ हुन्‌। (१ कोरि. ४:९) हामी वफादार भएको देख्दा स्वर्गदूतहरू अत्यन्तै खुसी हुन्छन्‌ र यहाँसम्म कि कुनै पापीले पश्‍चात्ताप गर्दा तिनीहरू औधी रमाउँछन्‌। (लूका १५:१०) ख्रीष्टियान स्त्रीहरूले देखाउने ईश्‍वरीय आचरण स्वर्गदूतहरूले हेरिरहेका छन्‌। “स्वर्गदूतहरूका कारण स्त्रीले अधिकारको चिह्न आफ्नो शिरमा” राख्नुपर्छ भनी बाइबल भन्छ। (१ कोरि. ११:३, १०) हो, ख्रीष्टियान स्त्रीहरू र पृथ्वीमा भएका परमेश्‍वरका अन्य सबै सेवकहरू ईश्‍वरतान्त्रिक प्रबन्ध अनुरूप चलेको र शिरत्वको प्रबन्धलाई स्वीकारेको देख्दा स्वर्गदूतहरू रमाउँछन्‌। परमेश्‍वरका स्वर्गीय छोराहरूका लागि यस्तो आज्ञाकारिता उपयुक्‍त सम्झौटो हो।

स्वर्गदूतहरू सक्रिय भएर प्रचारकार्यलाई साथ दिन्छन्‌

१७, १८. स्वर्गदूतहरूले हाम्रो प्रचारकार्यलाई टेवा पुऱ्‍याउँछन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

१७ “प्रभुको दिनमा” हुने केही उल्लेखनीय घटनामा स्वर्गदूतहरूको पनि भूमिका छ। सन्‌ १९१४ मा परमेश्‍वरको राज्य स्थापित हुनु अनि “माइकल र तिनका दूतहरू” मिलेर शैतान र त्यसका प्रेतहरूलाई स्वर्गबाट फ्याँकिदिनु यसमा समावेश छ। (प्रका. १:१०; ११:१५; १२:५-९) “पृथ्वीमा रहने . . . मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उडिरहेको” प्रेरित यूहन्‍नाले देखे। ती दूतले यसरी घोषणा गरे: “परमेश्‍वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ, र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत्‌ गर।” (प्रका. १४:६, ७) त्यसैले शैतानले जतिसुकै विरोध गरे पनि परमेश्‍वरको स्थापित राज्यको सुसमाचार प्रचार गर्दा स्वर्गदूतहरूको मदत पाइने कुरामा यहोवाका सेवकहरू ढुक्क छन्‌।—प्रका. १२:१३, १७.

१८ फिलिपसित कुराकानी गरेर तिनलाई इथियोपियाली नपुंसककहाँ डोऱ्‍याएजस्तै आज स्वर्गदूतहरूले हामीसित प्रत्यक्ष कुरा गरेर असल व्यक्‍तिकहाँ त डोऱ्‍याउँदैनन्‌। (प्रेरि. ८:२६-२९) तैपनि स्वर्गदूतहरूले राज्य प्रचारकार्यलाई टेवा पुऱ्‍याइरहेका छन्‌ र “सही मनसाय भएकाहरू”-कहाँ पुग्न हामीलाई डोऱ्‍याइरहेका छन्‌ भनेर आधुनिक समयका थुप्रै अनुभवले देखाउँछ। a (प्रेरि. १३:४८, NW) ‘पितालाई आत्मा र सत्यतामा पुज्न’ प्रयास गर्नेहरूलाई खोज्ने हाम्रो जिम्मेवारी पूरा गर्न नियमित रूपमा प्रचारकार्यमा भाग लिनु अत्यन्तै महत्त्वपूर्ण छ।—यूह. ४:२३, २४.

१९, २०. यस युगको आखिरीलाई चिनाउने घटनाहरूमा स्वर्गदूतहरूको भूमिका कस्तो छ?

१९ हाम्रो दिनलाई संकेत गर्दै येशूले भन्‍नुभयो: “जगत्‌को अन्तमा” अर्थात्‌ यस युगको आखिरीमा स्वर्गदूतहरूले “दुष्टहरूलाई धर्मीहरूको बीचबाट छुट्याउनेछन्‌।” (मत्ती १३:३७-४३, ४९) अभिषिक्‍त जनहरू सबैलाई जम्मा गरिसक्न र छाप लगाउन स्वर्गदूतहरूले भूमिका खेल्छन्‌। (मत्ती २४:३१ पढ्‌नुहोस्‌; प्रका. ७:१-३) साथै, येशूले ‘भेडाहरूलाई बाख्राबाट छुट्याउँदा’ उहाँसँग स्वर्गदूतहरू पनि हुन्छन्‌।—मत्ती २५:३१-३३, ४६.

२० “उहाँको शक्‍तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश हुँदा” ‘परमेश्‍वरलाई नचिन्‍नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरू’ सबै विनाश हुनेछन्‌। (२ थिस्स. १:६-१०) प्रेरित यूहन्‍नाले यही घटनालाई पछि दर्शनमा देख्दा तिनले येशू र स्वर्गमा भएका उहाँका फौजलाई धार्मिकतामा युद्ध लड्‌न सेतो घोडा चढेर अघि लम्केको फौजको रूपमा चित्रण गरे।—प्रका. १९:११-१४.

२१. “अगाध खाँदको साँचो र एउटा ठूलो साङ्‌लो हातमा लिएको” दूतले शैतान र त्यसका प्रेतहरूविरुद्ध कस्तो कदम चाल्नुहुनेछ?

२१ प्रेरित यूहन्‍नाले “अगाध खाँदको साँचो र एउटा ठूलो साङ्‌लो हातमा लिएको एउटा दूत स्वर्गबाट ओर्लेर आएका” पनि देखे। उक्‍त दूत प्रधान दूत माइकल नै हुनुहुन्छ। उहाँले नै शैतान र त्यसका प्रेतहरूलाई बाँध्नुहुनेछ र अगाध खाँदमा फालिदिनुहुनेछ। ख्रीष्टको हजार वर्षीय शासनको अन्ततिर तिनीहरूलाई छोडिनेछ र सिद्ध मानिसजातिको अन्तिम परीक्षा लिइनेछ। त्यसपछि शैतान र अरू सबै विद्रोही विनाश हुनेछन्‌। (प्रका. २०:१-३, ७-१०; १ यूह. ३:८) परमेश्‍वरविरुद्ध गरिएका सम्पूर्ण विद्रोह हटिसकेका हुनेछन्‌।

२२. आउनै लागेको घटनामा स्वर्गदूतहरूको भूमिका कस्तो रहनेछ र तिनीहरूको भूमिकालाई हामीले कसरी हेर्नुपर्छ?

२२ शैतानको दुष्ट युगदेखि छुटकारा पाउने समय आउनै लागिसकेको छ। यहोवाको सार्वभौमिकता उच्च पार्ने अनि पृथ्वी र मानिसजातिका लागि उहाँले राखेको उद्देश्‍य पूर्ण रूपमा पूरा हुने महत्त्वपूर्ण घटनामा स्वर्गदूतहरूको भूमिका गहन हुनेछ। वफादार स्वर्गदूतहरू निश्‍चय नै मुक्‍तिका हकदार हुनेहरूका खातिरमा सेवा गर्नलाई पठाइएका . . . सेवा गर्ने आत्माहरू” हुन्‌। त्यसैले परमेश्‍वरको इच्छा पूरा गर्न र अनन्त जीवन पाउन हामीलाई मदत दिन जुन तरिकामा उहाँले स्वर्गदूतहरू प्रयोग गर्नुहुन्छ, त्यसको लागि हामी यहोवा परमेश्‍वरप्रति आभारी होऔं। (w 09 5/15)

[फुटनोट]

a जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङडम पुस्तकको पृष्ठ ५४९-५५१ हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• स्वर्गदूतहरूलाई कसरी वर्गीकरण गरिएको छ?

• केही स्वर्गदूतहरूले नूहको दिनमा के गरे?

• हामीलाई मदत गर्न परमेश्‍वरले स्वर्गदूतहरू कसरी प्रयोग गर्नुभएको छ?

• वफादार स्वर्गदूतहरूले हाम्रो समयमा कस्तो भूमिका खेल्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

परमेश्‍वरको इच्छा पूरा गर्न पाउँदा स्वर्गदूतहरू रमाउँछन्‌

[पृष्ठ २५-मा भएको चित्र]

दानियललाई मदत गरेझैं परमेश्‍वरको इच्छा अनुरूप हस्तक्षेप गर्न स्वर्गदूतहरू हरदम तत्पर छन्‌

[पृष्ठ २६-मा भएको चित्र]

स्वर्गदूतहरूले राज्य प्रचारकार्यमा मदत गरिरहेका छन्‌, त्यसैले साहसी हुनुहोस्‌!

[स्रोत]

Globe: NASA photo