किशोरकिशोरीहरूलाई वयस्क जीवनको लागि तयार पार्नुहोस्
परिवार आनन्दमय बनाउने तरिकाहरू
किशोरकिशोरीहरूलाई वयस्क जीवनको लागि तयार पार्नुहोस्
“छोराहरूसित कुरा गर्दा रमाइलो हुन्थ्यो। तिनीहरूले सबै कुरा ध्यान दिएर सुन्थे र भनेअनुसार गरी हाल्थे। तर तिनीहरूले १३ वर्ष मात्र के टेके, कुरै मिल्न छोड्यो। हाम्रो उपासनासित सम्बन्धित गतिविधिमा समेत प्रश्न उठाउँछन्। भन्छन्: ‘बाइबलबारे हामीले कुरा गर्नै पर्छ र?’ छोराहरू किशोरावस्थामा पुग्नुअघि यस्तो होला भनेर मैले कल्पना पनि गरेको थिइनँ। हुन त मैले अरू परिवारमा यस्तो नदेखेको चाहिं होइन।”—रेजी। a
के तपाईंका छोराछोरीले पनि किशोरावस्थामा पाइला टेकी सकेका छन्? छन् भने तपाईं आफ्नो छोराछोरीको जीवनको सबैभन्दा मनमोहक क्षणमा हुनुहुन्छ। तर यो एकदमै चिन्ताको क्षण पनि हुन सक्छ। के तलका दृश्यहरू तपाईंलाई देखे-सुने जस्तो लाग्छ?
▪ छोरो सानो हुँदा आमाको सारीको फेर छोड्नै मान्दैन थियो, पुच्छर लागेर हिंड्थ्यो। तर अहिले किशोरावस्था मात्र के लाग्यो, कहिले घर छोडूँ जस्तो गर्छ। अनि उसको कुनै पनि क्रियाकलापमा हामी समावेश हुनुपर्दैन भनेजस्तो गर्छ।
▪ छोरी सानी छँदा मलाई सबै कुरा बताउँथी। तर अहिले किशोरी भएपछि मानौं उसले आफ्ना साथीहरूसित मिलेर एउटा क्लब खोलेकी छे र मलाई त्यो क्लब भित्र छिर्न रोक्ने प्रयास गर्छे।
तपाईंको घरपरिवार पनि यस्तो परिस्थितिबाट गुज्रिरहेको छ भने तपाईंको बच्चा सुधार्नै नसकिने गरी विद्रोही भएको छ भन्ने निष्कर्षमा पुगी नहाल्नुहोस्। विद्रोही होइन भने के भएको त? यस प्रश्नको जवाफको लागि बच्चाको विकासमा किशोरावस्थाको कस्तो महत्त्वपूर्ण भूमिका हुन्छ, हामी हेरौं।
किशोरावस्था—एउटा कोसेढुङ्गा
जन्मेदेखि नै बच्चाले पहिलो चोटि अनुभव गर्ने कुराहरू थुप्रै हुन्छन्। जस्तै: पहिलो चोटि हिंड्नु, पहिलो चोटि बोल्नु, स्कूलको पहिलो दिन आदि। छोराछोरीले ती कोसेढुङ्गाहरू पार गर्दा आमाबाबु हर्षित हुन्छन्। ती क्षणहरूमा तिनीहरूले आफ्ना छोराछोरीमा हेर्न चाहेको कुरा अर्थात् विकास देख्छन्।
किशोरावस्था पनि एउटा कोसेढुङ्गा हो। तर कोही-कोही आमाबाबुलाई यो अवस्था चुनौतीपूर्ण लाग्छ। तिनीहरूको मनमा उब्जिने चिन्ता, शंका-उपशंका जायज छन्। आखिर, कुन चाहिं आमाबाबुलाई आफ्नो ज्ञानी छोरा वा छोरी किशोरावस्थामा पुगेपछि मुडी भएको हेर्न मन पर्छ र? तैपनि, किशोरावस्था बच्चाको विकासको एउटा महत्त्वपूर्ण चरण हो। कुन तरिकामा?
बाइबल भन्छ, समयको दौडान “मानिसले आफ्ना आमा-बाबुलाई छोड्छ।” (उत्पत्ति २:२४) किशोरावस्थामा गर्नुपर्ने एउटा महत्त्वपूर्ण कार्य भनेको आफ्ना छोराछोरीलाई जीवनका तीतामीठा क्षणहरूका लागि तयार पार्नु हो। त्यतिबेला तपाईंको छोराछोरीले प्रेरित पावलले झैं भन्न सक्नुपर्छ: “जब म बालक थिएँ, तब बालकले जस्तै बोल्थें, बालकले जस्तै सोच्थें, बालकले जस्तै विचार गर्दथे, तर अब म जवान भएको छु, र केटाकेटीको कुरो छोडिदिएको छु।”—१ कोरिन्थी १३:११.
समग्रमा भन्नुपर्दा, तपाईंका किशोर छोराछोरीले पनि
त्यस्तै गरिरहेका हुन्छन्। मतलब, केटाकेटीपनलाई त्यागेर आफ्नै खुट्टामा उभिन सक्ने परिपक्व र जिम्मेवार वयस्क हुन सिकिरहेका हुन्छन्। हो, एउटा पुस्तकले किशोरावस्थालाई एउटा “लामो बिदाइ” भनेर मन छुने तरिकामा वर्णन गरेको छ।हो, आफ्नो “सानो” छोरा वा छोरी स्वतन्त्र हुनेछ भन्ने विचारले मात्र पनि तपाईंको मनमा चिसो पस्न सक्छ। तपाईं भन्नुहोला:
▪ “मेरो छोरालाई उसको आफ्नै कोठा सफा गर्न त सम्झाइ राख्नुपर्छ भने उसले कसरी घर चलाएर खान सक्ला र?”
▪ “मेरी छोरी भनेको समयमा घर आउँदिन भने झन् काममा त के गर्ली?”
तपाईंलाई भित्रभित्रै यस्ता कुराले खाइरहेको छ भने यो कुरा सम्झनुहोस्: स्वतन्त्रता पाउन समय लाग्छ, यो ढोकाबाट स्वात्त छिरेझैं सजिलै पाइने कुरा होइन, यो त लामो यात्रा हो। अहिलेसम्म त तपाईंले “बालकको हृदयभित्र मूर्खता गाडिएको हुन्छ” भनेर देखीसक्नुभयो होला।—हितोपदेश २२:१५.
तर उचित डोऱ्याइ पायो भने तपाईंका छोरा वा छोरी किशोरावस्था पार गरुन्जेलसम्ममा एउटा जिम्मेवार वयस्क भइसकेको हुनेछ जसकोमा ‘खराब र असल छुट्याउनलाई ज्ञानेन्द्रियको अभ्यास भएको हुन्छ।’—हिब्रू ५:१४.
सफल हुने तरिकाहरू
आफ्नो किशोर छोरा वा छोरीलाई वयस्क जीवनको लागि तयार पार्न तपाईंले तिनलाई “तर्कशक्ति” विकास गर्न मदत गर्नुपर्छ जसले गर्दा तिनी आफै सही निर्णय गर्न सक्षम हुन्छन्। (रोमी १२:१, २, NW ) तल दिइएका बाइबल सिद्धान्तहरूले त्यसो गर्न तपाईंलाई मदत गर्नेछ।
फिलिप्पी ४:५, NW: “तिमीहरूको व्यावहारिकता सबै मानिसहरूलाई थाह होस्।” तपाईंको किशोर छोराले सायद घर फर्कने समय अलि सारिदिन अनुरोध गर्छ। तपाईं तुरुन्तै हुँदैन भनिहाल्नुहुन्छ। तपाईंको छोराले रुन्चे स्वर लगाउँदै ठूलो स्वरले भन्छ, “मलाई बच्चा नठान्नुहोस्!” “तिमी व्यवहार नै बच्चाको जस्तो गर्छौ त” भनेर जवाफ दिनुअघि, यो कुरा विचार गर्नुहोस्: किशोरकिशोरीहरू आफूले सँभाल्न सक्ने भन्दा बढी स्वतन्त्रताको माग गर्छन् र आमाबाबुले चाहिं तिनीहरूलाई दिन सकिने स्वतन्त्रता पनि दिंदैनन्। घर फर्कने समयमा कहिलेकाहीं केही छाँटकाँट गरिदिन सक्नुहुन्छ कि? कम्तीमा पनि किशोर छोराछोरीको कुरा सुनिदिए कसो होला?
यसो गरे कसो होला? तपाईंको किशोर छोरा वा छोरीलाई अलि धेरै स्वतन्त्रता दिन सक्ने एक/दुइटा क्षेत्र लेख्नुहोस्। परीक्षणको रूपमा उसलाई यो स्वतन्त्रता दिएको कुरा बताउनुहोस्। त्यो क्षेत्रमा ऊ जिम्मेवार भएको खण्डमा अझ धेरै स्वतन्त्रता दिइने तर स्वतन्त्रताको दुरुपयोग गऱ्यो भने चाहिं दिएको स्वतन्त्रता पनि खोसिने कुरा बताउनुहोस्।—मत्ती २५:२१.
कलस्सी ३:२१: “ए बाबु हो, आफ्ना केटाकेटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्न नहोऊन्।” कोही-कोही आमाबाबुले किशोर छोराछोरीको सानो-सानो कुरामा पनि दखल दिने गर्छन्। बिग्रिएला भनेर उसलाई घरबाट निस्कनै दिंदैनन् र उसको एउटा-एउटा कुरामा नजर राख्छन्। उसको साथीहरूलाई बरु घरमै बोलाउँछन् र फोन गर्दा अर्को ठाउँबाट सुन्ने गर्छन्। तर यस्तो तरिका ‘आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु’ बराबर हो। उसलाई त्यसरी लगाम कस्नु खोज्दा झनै कुलेलम ठोक्न खोज्छ; जत्तिखेर पनि उसका साथीहरू यस्तो/उस्तो भनेर आलोचना गर्दा तिनीहरू नै झन् प्रिय लाग्न थाल्छ; उसको कुराकानी लुकिछिपी सुन्ने गर्दा साथीहरूसित कुरा गर्ने अरू नै उपाय निकाल्छ। जत्ति धेरै नियन्त्रणमा राख्ने कोसिस गर्नुहुन्छ, त्यत्ति नै तिनीहरू फुत्केर जान सक्छन्। अनि तपाईंको किशोर छोराछोरीले घरमा हुँदा निर्णय लिन सिकेको छैन भने घर छोडेपछि कसरी निर्णय लिन सक्छ र?
यसो गरे कसो होला? अर्कोचोटि आफ्नो किशोर छोराछोरीसित कुनै विषयमा कुरा गर्दा उसको छनौटले उसको नाउँमा कस्तो असर पार्छ, उसलाई तर्क गर्न मदत दिने कोसिस गर्नुहोस्। उदाहरणको लागि, उसका साथीहरूको आलोचना गर्नुको सट्टा यसो भन्नुहोस्: “नियम तोडेकोले [नाउँ] पक्राउमा पऱ्यो भने के गर्ने? तिमीमा कस्तो असर पर्छ?” उसको छनौटले कसरी उसको नाउँमा राम्रो या नराम्रो असर पार्छ, बुझाउने कोसिस गर्नुहोस्।—हितोपदेश ११:१७, २२; २०:११.
एफिसी ६:४, NRV : “बाबु हो, आफ्ना छोराछोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।” “शिक्षा” भनेर अनुवाद गरिएको शब्दको अर्थ तथ्य कुरा बताउनु भन्ने मात्र होइन। यसको अर्थ बच्चामा नैतिकताको बोध यस्तो तरिकामा जगाउनुपर्छ कि यसले उसको कार्यमा पनि असर गरोस्। विशेषगरि, तपाईंका छोराछोरी किशोरावस्थामा पुग्दा यसो गर्नु एकदमै महत्त्वपूर्ण हुन्छ। आन्द्रे नाउँ गरेका बुबा भन्छन्: “तपाईंका छोराछोरी जत्ति ठूलो हुँदै जान्छन् तपाईंले तिनीहरूसितको व्यवहारमा त्यत्ति नै परिवर्तन गर्नुपर्छ र तिनीहरूसित तर्क गर्नुपर्छ।”—२ तिमोथी ३:१४.
यसो गरे कसो होला? कुनै विवाद खडा हुँदा भूमिका साटेर हेर्नुहोस्। तपाईं उसको ठाउँमा भएको भए उसले के सल्लाह दिने थियो, सोध्नुहोस्। उसको तर्कलाई समर्थन गर्ने वा नगर्ने कारणहरू अनुसन्धान गर्न भन्नुहोस्। एक हप्ताभित्रै फेरि यस विषयमा कुरा गर्नुहोस्।
गलाती ६:७: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” सानो बच्चाले गल्ती गर्दा सायद उसलाई कोठाबाट निस्कन नदिएर वा उसको सबैभन्दा मनपर्ने कुराबाट वञ्चित गरेर सजाय दिन सकिन्छ। तर किशोरकिशोरीहरूलाई भने तिनीहरूले गर्ने कार्यको नतिजा कस्तो हुन्छ सोच्न लगाउनु बेस हुन्छ।—हितोपदेश ६:२७.
यसो गरे कसो होला? उसको ऋण तिरेर वा स्कूलमा राम्रो अंक नल्याउँदा उसको पक्ष लिंदै शिक्षकसित कुरा गरेर उसको बचाऊ नगर्नुहोस्। नतिजा भोग्न दिनुहोस् र उसले जिन्दगीभर त्यो बिर्सने छैन।
तपाईं आमाबाबुको चाहना होला, आफ्ना छोराछोरीको किशोरावस्थादेखि वयस्कसम्मको यात्रा यस्तो धावनमार्गमा जस्तो होस् जहाँ कुनै उबडखाबड छैन, यो चिल्लो छ र जहाजले सजिलै कुनै कठिनाइविना उडान लिन सक्छ। तर विरलै मात्र यस्तो हुने गर्छ। तैपनि किशोरावस्था ‘बालकलाई ठीक बाटोमा लगाउने’ एउटा सर्वोत्तम मौका हो। (हितोपदेश २२:६) परिवार आनन्दमय बनाउन सक्ने एउटा बलियो आधार बाइबल सिद्धान्तहरू हुन्। (w09 5/1)
[फुटनोट]
a नाउँ परिवर्तन गरिएको छ।
आफैलाई सोध्नुहोस्. . .
घर छोडुञ्जेलसम्म के मेरो किशोर छोरा वा छोरीले यी कुराहरू गर्न सक्छन्?
▪ नियमित आध्यात्मिक तालिकालाई कायम राख्न
▪ सही छनौट र निर्णयहरू गर्न
▪ अरूलाई आफ्नो कुरा खुलस्त बताउन
▪ आफ्नो स्वास्थ्यको ख्याल राख्न
▪ आफ्नो खर्चको हिसाब मिलाउन
▪ घर वा कोठा सफा-सुग्घर राख्न
▪ परिश्रमी हुन
[पृष्ठ १२-मा भएको चित्र]
तपाईंको किशोर छोरा वा छोरीले आफूलाई जिम्मेवार प्रमाणित गरेका छन् भने के तपाईं उनीहरूलाई अझ धेरै स्वतन्त्रता दिन सक्नुहुन्छ?