३ येशूबारे साँचो कुरा सिक्नुहोस्
३ येशूबारे साँचो कुरा सिक्नुहोस्
“परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”—यूहन्ना ३:१६.
चुनौती: तपाईंहरूमध्ये कसैले येशू वास्तविक व्यक्ति होइन भनेर विश्वास गर्नुभएको होला। अरूले चाहिं उहाँको अस्तित्व स्वीकार्न त स्वीकार्छन् तर उहाँ धेरै पहिला मरेको एक साधारण व्यक्ति मात्र हुनुहुन्छ भनेर ठोकुवा गर्छन्।
कसरी पार लगाउने? चेला नथनेलको उदाहरण अनुकरण गर्नुहोस्। a साथी फिलिपले मसीह—“यूसुफका पुत्र, नासरतका येशूलाई”—भेट्टाए जस्तो लाग्छ भनी तिनलाई बताए। तर नथनेलले फिलिपको कुरा त्यत्तिकै पत्याइहालेनन्। वास्तवमा तिनले यस्तो जवाफ दिए: “के नासरतबाट केही असल कुरा आउनसक्छ र?” तैपनि फिलिपले आफै “आएर हेर” भन्दा तिनले त्यो निमन्त्रणा स्वीकारे। (यूहन्ना १:४३-५१) तपाईंले पनि येशूसम्बन्धी प्रमाणहरू आफैले जाँचेर हेर्नुभयो भने लाभ उठाउनुहुनेछ। तपाईंले यो कसरी गर्न सक्नुहुन्छ?
येशू वास्तविक व्यक्ति हुनुहुन्छ भन्ने ऐतिहासिक प्रमाणलाई जाँचेर हेर्नुहोस्। जोसेफस र ट्यासिटस प्रथम शताब्दीको राम्रो नाउँ कमाएका इतिहासकारहरू थिए। तर ख्रीष्टियान चाहिं थिएनन्। तिनीहरूले येशू ख्रीष्टलाई ऐतिहासिक व्यक्तित्वको रूपमा उल्लेख गरे। इस्वी संवत् ६४ मा रोममा लागेको आगोको लागि रोमी सम्राट नेरोले ख्रीष्टियानहरूलाई लगाएको दोषबारे वर्णन गर्दै ट्यासिटसले लेखे: “जनताले अत्यन्तै घृणा गर्ने ख्रीष्टियान भनिने समूहलाई नेरोले दोष लगाए र सबैभन्दा क्रूर सास्ती दिए। ख्रीष्टस [ख्रीष्ट] जसबाट नै ख्रीष्टियान धर्मको सुरु भयो, तिनले टाइबेरियसको शासनकालमा पन्तियस पिलातस भन्ने बडाहाकिमको हातबाट हदैको दण्ड भोग्नु परेको थियो।”
येशू र सुरु-सुरुतिरका ख्रीष्टियानहरूबारे प्रथम र दोस्रो शताब्दीका इतिहासकारहरूले उल्लेख गरेको कुराबारे दी इनसाइक्लोपीडिया ब्रिटानिका, २००२ संस्करण यसो भन्छ: “यी छुट्टाछुट्टै विवरणहरूले प्राचीन समयमा ख्रीष्टियान धर्मका विरोधीहरूले समेत येशूको अस्तित्वबारे शंका गरेनन् भनी प्रमाणित गर्छ। उहाँको अस्तित्वबारे शंका पहिलो चोटि १८ औं शताब्दीको अन्तदेखि सुरु भएर १९ औं शताब्दीको दौडान र त्यसपछि २० औं शताब्दीको सुरुसम्म चलेको थियो। त्यो पनि ठोस प्रमाणहरू विना।” सन् २००२ मा द वल स्ट्रीट जर्नल-को सम्पादकीयमा यस्तो लेखिएको थियो: “कोही-कोही नास्तिकहरूले बाहेक अधिकांश शास्त्रविद्हरूले नासरतका येशूलाई ऐतिहासिक व्यक्तिको रूपमा स्वीकारिसकेका छन्।”
येशू पुनरुत्थान हुनुभएको थियो भन्ने प्रमाणलाई विचार गर्नुहोस्। जब येशू आफ्ना विरोधीहरूद्वारा समातिनुभयो तब उहाँको मिल्ने साथीहरूले उहाँलाई त्यागे र उहाँको साथी पत्रुसले डराएर उहाँलाई चिन्दिन भन्यो। (मत्ती २६:५५, ५६, ६९-७५) येशूको गिरफ्तारीपछि उहाँका चेलाहरू तितरबितर भए। (मत्ती २६:३१) पछि अचानक उहाँका चेलाहरू सक्रिय भए। पत्रुस र यूहन्ना साहससाथ येशूलाई मार्ने व्यक्तिहरूकै सामु परे। येशूका चेलाहरू यत्ति साह्रो उत्प्रेरित भए कि आफ्नो विश्वासमा सम्झौता गर्नुको साटो मृत्युलाई नै रुचाएर तिनीहरूले रोमी साम्राज्यभरि उहाँको शिक्षा फैलाए।
तिनीहरूको व्यवहारमा यस्तो आमूल परिवर्तन आउनुको एउटा कारण के थियो? पावलका अनुसार येशू मृत्युबाट ब्यूँतनुभयो र “केफासकहाँ [अर्थात् पत्रुसकहाँ], अनि बाह्रै जनाकहाँ देखापर्नुभयो।” तिनले अझै भने: “त्यसपछि उहाँ एकैपल्ट पाँच सयभन्दा बढ्ता भाइहरूकहाँ देखापर्नुभयो।” पावलले यी शब्दहरू लेख्दा ती प्रत्यक्षदर्शीहरूमध्ये थुप्रै जीवितै थिए। (१ कोरिन्थी १५:३-७) आलोचकहरूलाई एक-दुई जना साक्षीको गवाहीलाई बेतुकको भन्नु सजिलो हुन्थ्यो होला। (लूका २४:१-११) तर पाँच सयभन्दा धेरै साक्षीहरूको गवाहीले येशू मृत्युबाट ब्यूँतनुभएको हो भन्ने कुराको ठोस प्रमाण दियो।
इनाम: येशूमा विश्वास गर्ने र उहाँको आज्ञा पालन गर्नेहरूले पापको क्षमा पाउन र सफा अन्तस्करण राख्न सक्छन्। (मर्कूस २:५-१२; १ तिमोथी १:१९; १ पत्रुस ३:१६-२२) यदि तिनीहरू मरिहाले भने पनि येशूले “पछिल्लो दिनमा” तिनीहरूलाई ब्यूँताउने प्रतिज्ञा गर्नुभएको छ।—यूहन्ना ६:४०. ( w 09 5/1)
थप जानकारीको लागि बाइबलले वास्तवमा के सिकाउँछ? b पुस्तकको “येशू ख्रीष्ट को हुनुहुन्छ?” अध्याय ४ र “छुडौतीको बलिदान—परमेश्वरले दिनुभएको सबैभन्दा महान् उपहार” अध्याय ५ हेर्नुहोस्।
[फुटनोटहरू]
a सुसमाचार पुस्तकका लेखकहरू मत्ती, मर्कूस र लूकाले नथनेललाई बारथोलोमाइ भनेर सम्बोधन गरेजस्तो देखिन्छ।
b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
[पृष्ठ ७-मा भएको चित्र]
येशूको प्रमाणलाई नथनेलले जस्तै जाँच्नुहोस्