सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘उनमा छिपेका’ खजानाहरू प्राप्त गर्नुहोस्‌

‘उनमा छिपेका’ खजानाहरू प्राप्त गर्नुहोस्‌

‘उनमा छिपेका’ खजानाहरू प्राप्त गर्नुहोस्‌

‘उनमा ज्ञान र बुद्धिका सारा रत्नहरू छिपेका छन्‌।’—कल. २:३.

१, २. (क) सन्‌ १९२२ मा कस्ता पुराना चीज फेला परे अनि ती अहिले कहाँ छन्‌? (ख) परमेश्‍वरको वचनले सबैलाई कस्तो निमन्त्रणा दिन्छ?

 छिपेका खजानाहरू फेला परेका घटनाहरू अक्सर मुख्य समाचार बन्‍ने गरेको छ। उदाहरणको लागि, सन्‌ १९२२ मा बेलायती पुरातत्त्वविद्‌ हावर्ड कार्टरले कठिन परिस्थितिमा दशकौंको कठोर परिश्रमपछि उल्लेखनीय चीज फेला पारे। हो, तिनले फिरऊन टुटेनखामेनको शाही चिहान प्रायः-प्रायः जस्ताको तस्तै फेला पारे। त्यो लगभग ५,००० जति सरसामानले भरिभराउ थियो।

कार्टरले फेला पारेका चीजहरू बहुमूल्य अनि आकर्षक भए तापनि तीमध्ये धेरैजसो अहिले संग्रहालयमा थन्किएका छन्‌ वा मानिसहरूले निजी तवरमा संकलन गरेका छन्‌। ऐतिहासिक वा कलाकृतिको दृष्टिकोणले त्यसको केही महत्त्व त होला तर हाम्रो दैनिक जीवनमा त्यसले एकदमै कम प्रभाव पार्छ वा पार्दै पार्दैन। तर परमेश्‍वरको वचनले हामीलाई जीवनमा साँच्चै असर गर्ने खजानाहरूको खोजी गर्न निमन्त्रणा दिन्छ। यो खुल्ला निमन्त्रणा हो अनि यसबाट पाइने इनामको मूल्य भौतिक खजानाको भन्दा कता हो कता धेरै छ।—हितोपदेश २:१-६ पढ्‌नुहोस्‌।

३. यहोवाले आफ्ना उपासकहरूलाई खोज्नू भनेका खजानाहरू कुन-कुन तरिकामा लाभदायी छन्‌?

यहोवाले आफ्ना उपासकहरूलाई खोज्नू भनेका रत्नहरू अर्थात्‌ खजानाहरू कत्ति मूल्यवान्‌ छन्‌, विचार गर्नुहोस्‌! त्यसमध्ये एउटा हो: “परमप्रभुको भय” जुन अहिलेको डरलाग्दो समयमा हाम्रो लागि सुरक्षा र बचाउ हुन सक्छ। (भज. १९:९) साथै “परमेश्‍वरको ज्ञान” प्राप्त गर्दा सर्वोच्च परमेश्‍वरसित नजिकको सम्बन्ध गाँस्न सकिन्छ जुन मानिसले पाउन सक्ने सबैभन्दा ठूलो सम्मान हो। अनि परमेश्‍वरबाट पाएको बुद्धि, ज्ञान र समझको खजानाहरू चलाएर हामी दैनिक जीवनमा आइपर्ने समस्या तथा चिन्ता-फिक्रीको सफलतासाथ सामना गर्न सक्छौं। (हितो. ९:१०, ११) यस्ता अनमोल खजानाहरू हामी कसरी पाउन सक्छौ?

आध्यात्मिक खजानाहरू प्राप्त गर्नुहोस्‌

४. परमेश्‍वरले प्रतिज्ञा गरेका खजानाहरू हामी कसरी प्राप्त गर्न सक्छौं?

पुरातत्त्वविद्‌ र अन्य अन्वेषकहरूले टाढा-टाढा गएर खजानाहरू खोज्नुपर्छ। तर हामीले आध्यात्मिक खजानाहरू त्यसरी खोज्नुपर्दैन। ती कहाँ पाइन्छन्‌ हामीलाई राम्ररी थाह छ। परमेश्‍वरको वचन बाइबलले खजाना पत्ता लगाउने नक्साको काम गर्छ। यो हेरेर हामी परमेश्‍वरले प्रतिज्ञा गरेका खजानाहरू ठ्याक्कै फेला पार्न सक्छौं। ख्रीष्टलाई संकेत गर्दै प्रेरित पावलले लेखे: “जसमा ज्ञान र बुद्धिका सारा रत्नहरू छिपेका छन्‌।” (कल. २:३) यी शब्दहरू पढ्‌दा हामी आफूलाई यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘ती रत्नहरू अर्थात्‌ खजानाहरू हामीले किन खोज्नुपर्छ? ती खजानाहरू कसरी ख्रीष्टमा “छिपेका छन्‌?” अनि हामी ती कसरी प्राप्त गर्न सक्छौं? यी प्रश्‍नहरूको जवाफ पाउन, आउनुहोस्‌ प्रेरित पावलका शब्दहरू राम्ररी केलाएर हेरौं।

५. किन पावलले आध्यात्मिक खजानाहरूबारे लेखे?

ती शब्दहरू पावलले कलस्सीका सँगी ख्रीष्टियानहरूलाई लेखेका थिए। उनले ती ख्रीष्टियानहरूलाई बताए कि ‘तिनीहरूका हृदयलाई सान्त्वना मिलोस्‌ अनि प्रेममा एकसाथ गाँसिएको होस्‌’ भनेर तिनीहरूको पक्षमा उनी संघर्ष गरिरहेका छन्‌। (कलस्सी २:१, २ पढ्‌नुहोस्‌) उनलाई यस्तो चिन्ता किन? मोशाको व्यवस्था फेरि पालन गर्न थाल्नुपर्छ भन्‍ने वा कुनै-कुनै ग्रीक दर्शनको तारिफ गर्ने भाइहरूबाट तिनीहरूमध्ये कोही-कोही प्रभावित हुन थालेको कुरा पावललाई थाह भएको हुनुपर्छ। उनले भाइहरूलाई यस्तो कडा सल्लाह दिए: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।”—कल. २:८.

६. पावलको सल्लाहलाई हामीले किन ध्यान दिनुपर्छ?

आज हामीमाथि पनि शैतान र त्यसको दुष्ट संसारबाट त्यस्तै प्रभाव आइपर्छ। मानववाद अर्थात्‌ धर्म, ईश्‍वर आदिलाई भन्दा मान्छेको उच्चतामा विश्‍वास गर्ने सिद्धान्त र क्रमविकासको शिक्षालगायत संसारको दर्शनले मानिसहरूको सोचाइ, नैतिकता, लक्ष्य र जीवनशैलीलाई असर गर्छ। थुप्रै लोकप्रिय चाडपर्वमा झूटो धर्मले ठूलो भूमिका खेल्छ। मनोरञ्जन जगत्‌ले पतित शारीरिक इच्छाहरूलाई बढवा दिन्छ। अनि त्यसैगरि इन्टरनेटका धेरैजसो विषयवस्तुले के जवान के वृद्ध सबैलाई जोखिममा पार्छ। यी र अन्य सांसारिक कुराहरूको निरन्तर प्रभाव परिरहेमा यहोवाबाट आउने निर्देशनप्रतिको हाम्रो भावना र मनोवृत्तिमा सजिलै असर पर्छ। यसले गर्दा साँचो जीवनप्रतिको हाम्रो पकड खुकुलो हुन्छ। (१ तिमोथी ६:१७-१९ पढ्‌नुहोस्‌) स्पष्ट छ, शैतानको धूर्त षड्यन्त्रहरूमा नफस्ने हो भने पावलले कलस्सीका ख्रीष्टियानहरूलाई लेखेका शब्दहरूको अर्थ बुझ्नुपर्छ र उनको सल्लाह मनमा राख्नुपर्छ।

७. पावलले भनेका कुन दुई कुराले कलस्सीका ख्रीष्टियानहरूलाई मदत गर्ने थियो?

कलस्सीका ख्रीष्टियानहरूलाई लेखेको पावलका शब्दहरूलाई फेरि हेऱ्‍यौं भने हामीले याद गर्न सक्छौं कि उनले आफ्नो चिन्ता व्यक्‍त गरेपछि सान्त्वना पाउन र प्रेममा एकसाथ गाँसिएर रहन मदत गर्ने दुइटा कुरा बताए। पहिलो हो: “समझको पूर्ण निश्‍चयता।” धर्मशास्त्र सही बुझेको छु भनेर तिनीहरू पूर्णतया विश्‍वस्त हुनुपर्थ्यो जसले गर्दा तिनीहरूको विश्‍वासको जग बलियो हुनेथियो। (हिब्रू ११:१) दोस्रो: “परमेश्‍वरको रहस्य,” मतलब परमेश्‍वरको पवित्र रहस्यको सही ज्ञान। तिनीहरूले सच्चाइको आधारभूत ज्ञान लिएर मात्र पुग्दैन थियो, परमेश्‍वरका गहिरा-गहिरा कुराहरू स्पष्ट बुझ्नु आवश्‍यक थियो। (हिब्रू ५:१३, १४) कलस्सीका ख्रीष्टियानहरू र हाम्रो लागि कत्ति राम्रो सल्लाह! तर यस्तो निश्‍चयता र सही ज्ञान हामी कसरी पाउन सक्छौं? पावलले येशू ख्रीष्टबारे बताएको गहन भनाइमा यस प्रश्‍नको जवाफ खुलासा गरे: ‘उनमा ज्ञान र बुद्धिका सारा रत्नहरू छिपेका छन्‌।’

ख्रीष्टमा “छिपेका” खजानाहरू

८. ख्रीष्टमा “छिपेका” भन्‍ने अभिव्यक्‍तिको अर्थ खुलाउनुहोस्‌।

बुद्धि र ज्ञानको सारा खजानाहरू ख्रीष्टमा “छिपेका छन्‌” भन्‍नुको मतलब ती कसैले पाउन नसक्नेगरि लुकाइएको छ भनेको होइन। यसको अर्थ हो, ती खजानाहरू प्राप्त गर्न कडा परिश्रम गर्नुपर्छ र हाम्रो ध्यान येशू ख्रीष्टमा अडिएको हुनुपर्छ। यो कुरा येशूको भनाइअनुरूप छ: “बाटो, सत्य र जीवन मैं हुँ, मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूह. १४:६) हो, परमेश्‍वरको ज्ञान पाउन हामीलाई येशूको मदत र निर्देशन नभई हुँदैन।

९. येशूले कस्ता भूमिकाहरू खेल्नुहुन्छ?

येशूले आफूलाई “बाटो” मात्र भन्‍नुभएन तर “सत्य र जीवन” पनि भन्‍नुभयो। यसबाट बुझिन्छ कि उहाँको भूमिका पिताकहाँ पुग्ने माध्यम मात्र होइन। बाइबल सत्य बुझ्न र अनन्त जीवन पाउन उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ। हो, येशूमा अनमोल आध्यात्मिक रत्नहरू छिपेका छन्‌ जुन बाइबलका सजग विद्यार्थीहरूले प्राप्त गर्न सक्छन्‌। आउनुहोस्‌, हाम्रो भावी प्रत्याशा र परमेश्‍वरसितको सम्बन्धमा सोझै असर पार्ने केही रत्नहरू जाँचेर हेरौं।

१०. कलस्सी १:१९ र २:९ बाट हामी येशूबारे के सिक्न सक्छौं?

१० “उहाँमा ईश्‍वरत्वको सारा परिपूर्णता शारीरिक रूपमै बास गर्दछ।” (कल. १:१९; २:९) स्वर्गमा हुनुहुने आफ्ना पितासित धेरै लामो समय बिताउनुभएकोले येशूले जत्तिको राम्ररी अरू कसैले पनि परमेश्‍वरको व्यक्‍तित्व र इच्छालाई जान्दैन। पिताबाट सिकेका कुरा पार्थिव सेवाको दौडान उहाँले अरूलाई सिकाउनुभयो र आफ्नो कामकुरोमा पिताबाट सिकेका गुणहरू झल्काउनुभयो। त्यसैकारण उहाँले यसो भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।” (यूह. १४:९) परमेश्‍वरको सारा बुद्धि र ज्ञान ख्रीष्टमा छिपेको अर्थात्‌ बास गरेको छ। अनि येशूबारे सक्ने जति सबै कुरा होसियारपूर्वक सिकेर हामी यहोवाबारे जान्‍न सक्छौं। योभन्दा राम्रो तरिका अर्को छैन।

११. येशू र बाइबल भविष्यवाणीहरूबीच कस्तो सम्बन्ध छ?

११ “येशूको साक्षी अगमवाणीको आत्मा हो।” (प्रका. १९:१०) यी शब्दहरूबाट स्पष्ट हुन्छ कि बाइबलका थुप्रै भविष्यवाणीहरू पूरा गर्ने प्रमुख कर्ता येशू हुनुहुन्छ। बाइबल भविष्यवाणीहरू—उत्पत्ति ३:१५ मा उल्लिखित यहोवाको प्रथम भविष्यसूचक घोषणादेखि लिएर प्रकाशको पुस्तकको महिमित दर्शनहरू—तब मात्र स्पष्टसित बुझ्न सकिन्छ जब मसीही राज्यसित सम्बन्धित येशूको भूमिकालाई ध्यान दिइन्छ। येशूलाई प्रतिज्ञा गरिएका मसीह नमान्‍नेहरूका लागि हिब्रू धर्मशास्त्रका थुप्रै भविष्यवाणीहरू अन्योलपूर्ण हुनुको कारण यसबाट प्रस्ट हुन्छ। साथै मसीहसम्बन्धी थुप्रै भविष्यवाणी भएको हिब्रू धर्मशास्त्रलाई मोल नगर्नेहरूका लागि येशू एक महान्‌ व्यक्‍ति सिवाय अरू केही होइन जस्तो लाग्नुको कारण पनि यसबाट प्रस्ट हुन्छ। येशूबारेको ज्ञानले परमेश्‍वरका जनहरूलाई पूरा हुन बाँकी बाइबल भविष्यवाणीहरूको अर्थ बुझ्न मदत दिन्छ।—२ कोरि. १:२०.

१२, १३. (क) येशू कसरी “संसारको ज्योति” हुनुहुन्छ? (ख) आध्यात्मिक अन्धकारबाट मुक्‍त भएकोले ख्रीष्टियानहरूको कस्तो दायित्व छ?

१२ “म संसारको ज्योति हुँ।” (यूहन्‍ना ८:१२; ९:५ पढ्‌नुहोस्‌) येशू पृथ्वीमा जन्मनुभन्दा धेरैअघि भविष्यवक्‍ता यशैयाले यस्तो अगमवाणी गरे: “अन्धकारमा हिंड्‌ने मानिसहरूले एउटा ठूलो ज्योति देखे, मृत्युको छायाको देशमा बसोबासो गर्नेहरूमाथि ज्योतिको प्रकाश भयो।” (यशै. ९:२) यो भविष्यवाणी येशूले पूरा गर्नुभयो भनी प्रेरित मत्तीले भने। कहिले? जब प्रचार थाल्नुभयो र यसो भन्‍नुभयो: “पश्‍चाताप गर। किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।” (मत्ती ४:१६, १७) येशूको सेवकाईले मानिसहरूमा आध्यात्मिक ज्योति छरिदियो र तिनीहरूलाई झूटा धार्मिक शिक्षाहरूको दासत्वबाट मुक्‍त गरिदियो। येशूले भन्‍नुभयो: “म संसारमा ज्योति भएर आएको छु, कि मलाई विश्‍वास गर्ने जोसुकैले अँध्यारोमा रहन नपरोस्‌।”—यूह. १:३-५; १२:४६.

१३ त्यसको धेरै वर्षपछि प्रेरित पावलले सँगी ख्रीष्टियानहरूलाई भने: “एकपल्ट तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा उज्यालो भयौ, ज्योतिका सन्तानझैं हिंडडुल गर।” (एफि. ५:८) आध्यात्मिक अन्धकारबाट मुक्‍त भएकोले ज्योतिका सन्तानझैं हिंड्‌नु ख्रीष्टियानहरूको दायित्व हो। यो, येशूले डाँडाको उपदेशमा अनुयायीहरूलाई भनेको कुरा अनुरूप छ: “तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।” (मत्ती ५:१६) के तपाईं येशूमा पाएको आध्यात्मिक खजानाहरूलाई त्यो हदसम्म मोल गर्नुहुन्छ कि तपाईं यसबारे बताएर र आफ्नो असल आचरणद्वारा यो अरूलाई सिफारिस गर्नुहुन्छ?

१४, १५. (क) बाइबल समयमा भेडा र अरू पशुहरूलाई साँचो उपासनाको भागको रूपमा कसरी चलाइयो? (ख) “परमेश्‍वरका थुमा”-को हैसियतमा येशू किन अतुलनीय खजाना हुनुहुन्छ?

१४ येशू “परमेश्‍वरका थुमा” हुनुहुन्छ। (यूह. १:२९, ३६) बाइबल समयमा पापको क्षमा पाउन र परमेश्‍वरकहाँ पुग्न भेडाको प्रयोग गरिन्थ्यो। उदाहरणको लागि, अब्राहाम आफ्नो छोरा इसहाकलाई बलि चढाउन इच्छुक भएको देख्नुभएपछि परमेश्‍वरले इसहाकलाई कुनै हानि नगर्नू भन्‍नुभयो र तिनको साटो बलि चढाउन भेडाको प्रबन्ध गरिदिनुभयो। (उत्प. २२:१२, १३) इस्राएलीहरूलाई मिश्रबाट मुक्‍त गरिंदा तिनीहरूले “परमप्रभुको निस्तार”-अघि भेडा मारेर आ-आफ्नो घरको चौकोसमा रगत छर्कनुपर्थ्यो। (प्रस्थ. १२:१-१३) त्यसबाहेक मोशाको व्यवस्था अन्तर्गत विभिन्‍न पशु-प्राणीको बलि चढाइन्थ्यो जसमा भेडा र बाख्रा पनि समावेश थियो।—प्रस्थ. २९:३८-४२; लेवी ५:६, ७.

१५ यी बलिदानहरूमध्ये कुनैले पनि—वास्तवमा मानिसले चढाएको कुनै पनि बलिदानले—पाप र मृत्युबाट स्थायी मुक्‍ति दिन सकेन। (हिब्रू १०:१-४) अर्कोतर्फ येशू “संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा” हुनुहुन्छ। यस तथ्यले मात्र पनि येशू अहिलेसम्म फेला पारिएको कुनै पनि बहुमूल्य भौतिक खजानाभन्दा कता हो कता मूल्यवान्‌ हुनुहुन्छ भन्‍ने कुरा प्रस्ट हुन्छ। तसर्थ हामीले छुटकाराको बलिदानको विषयलाई राम्ररी अध्ययन गर्न र यस अद्‌भुत प्रबन्धप्रति विश्‍वास गर्न समय निकाल्नुपर्छ। यसो गऱ्‍यौं भने एउटा महान्‌ आशिष्‌ तथा इनामको आशा गर्न सक्छौं। त्यो हो: “सानो बगाल”-को लागि स्वर्गमा ख्रीष्टसित पाइने महिमा र सम्मान अनि “अरू भेडा”-को लागि चाहिं बगैंचारूपी पृथ्वीमा अनन्त जीवन।—लूका १२:३२; यूह. ६:४०, ४७; १०:१६.

१६, १७. हामीले किन “विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने”-को रूपमा येशूको भूमिका बुझ्नै पर्छ?

१६ येशू “विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने” हुनुहुन्छ। (हिब्रू १२:१, २ पढ्‌नुहोस्‌) हिब्रू अध्याय ११ मा हामी पावलले विश्‍वासबारे सशक्‍त तरिकामा छलफल गरेको पाउँछौं। त्यसमा विश्‍वासको छोटो र स्पष्ट परिभाषा अनि नूह, अब्राहाम, सारा र राहाब जस्ता आफ्नो विश्‍वासअनुसार जीवन बिताउने उदाहरणीय पुरुष तथा स्त्रीहरूको सूची छ। यी सब मनमा राख्दै पावलले सँगी ख्रीष्टियानहरूलाई ‘विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेर्न’ आग्रह गरे। किन?

१७ हिब्रू अध्याय ११ मा सूचीबद्ध गरिएका विश्‍वासी पुरुष तथा स्त्रीहरूले परमेश्‍वरको प्रतिज्ञामा बलियो विश्‍वास राखेका थिए। तैपनि त्यो प्रतिज्ञा मसीह र उहाँको राज्यमार्फत परमेश्‍वरले कसरी पूरा गर्नुहुनेछ भनेर तिनीहरूले विस्तृत रूपमा थाह पाएका थिएनन्‌। त्यस अर्थमा तिनीहरूको विश्‍वास अपूरो थियो। हो, परमेश्‍वरले मसीहसम्बन्धी थुप्रै भविष्यवाणी लेख्न लगाएका व्यक्‍तिहरूले समेत लेखेको कुराको गहनता राम्ररी बुझेका थिएनन्‌। (१ पत्रु. १:१०-१२) येशूमार्फत मात्र विश्‍वास सिद्ध अथवा पूर्ण बनाउन सकिन्छ। “विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने”-को रूपमा येशूको भूमिकालाई स्पष्ट बुझ्नु र चिन्‍नु कत्ति आवश्‍यक!

खोजिरहनुहोस्‌

१८, १९. (क) ख्रीष्टमा छिपेका अन्य आध्यात्मिक रत्नहरू के-के हुन्‌? (ख) आध्यात्मिक खजानाहरूका लागि हामीले किन येशूलाई हेर्नुपर्छ?

१८ मानिसजातिको मुक्‍तिको लागि परमेश्‍वरको उद्देश्‍यमा येशूले खेलेको अमूल्य भूमिकामध्ये केही मात्र विचार गऱ्‍यौं। येशूमा अझै अरू आध्यात्मिक रत्नहरू पनि छिपेका छन्‌। ती प्राप्त गर्नु हाम्रो लागि आनन्ददायी र लाभदायी हुन्छ। उदाहरणको लागि, प्रेरित पत्रुसले येशूलाई “जीवनका कर्ता” र “बिहानको तारा” भने। (प्रेरि. ३:१५; ५:३१; २ पत्रु. १:१९) अनि बाइबलमा उहाँलाई “आमिन” पनि भनिएको छ। (प्रका. ३:१४) के तपाईं यी भूमिकाहरूको अर्थ र महत्त्व जान्‍नुहुन्छ? येशूले भन्‍नुभएझैं “खोज, तिमीहरूले भेट्टाउनेछौ।”—मत्ती ७:७.

१९ एकदमै अर्थपूर्ण र हाम्रो अनन्त हितसित अत्यन्तै नजिकको सम्बन्ध भएको जीवन बिताउने येशू जस्तो व्यक्‍ति इतिहासमा अरू छैन। उहाँमा आध्यात्मिक खजानाहरू छिपेका छन्‌। मन लगाएर खोज्ने कसैले पनि ती खजानाहरू सजिलै भेट्टाउन सक्छन्‌। ‘ख्रीष्टमा छिपेका’ खजानाहरू प्राप्त गरेर तपाईंले आनन्द र आशिष्‌ पाउन सकून्‌! (w09 7/15)

के तपाईंलाई याद छ?

• ख्रीष्टियानहरूलाई कस्ता खजानाहरू खोज्न आग्रह गरिएको छ?

• पावलले कलस्सीका ख्रीष्टियानहरूलाई दिएको सल्लाह आज हाम्रो लागि पनि किन उपयुक्‍त छ?

• ख्रीष्टमा “छिपेका” केही आध्यात्मिक खजानाहरू बताउनुहोस्‌ र त्यसको व्याख्या गर्नुहोस्‌।

[प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको चित्र]

बाइबल, खजाना खोज्न मदत गर्ने नक्साजस्तै हो जसले ख्रीष्टमा “छिपेका” खजाना फेला पार्न मदत गर्छ