सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियान परिवार हो–येशूको उदाहरण पछ्याउनुहोस्‌!

ख्रीष्टियान परिवार हो–येशूको उदाहरण पछ्याउनुहोस्‌!

ख्रीष्टियान परिवार हो–येशूको उदाहरण पछ्याउनुहोस्‌!

“तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड्‌नलाई ख्रीष्टले एक उदाहरण . . . [ दिनुभयो]।” —१ पत्रु. २:२१.

१. (क) सृष्टिमा परमेश्‍वरका पुत्रले कस्तो भूमिका खेल्नुभयो? (ख) मानिसजातिप्रति येशूको भावना कस्तो छ?

 परमेश्‍वरले स्वर्ग र पृथ्वी बनाउनुहुँदा उहाँका पुत्र “मुख्य कारीगर”-को [NW] रूपमा उहाँकै छेउमा हुनुहुन्थ्यो। यहोवाले विभिन्‍न थरीका पशु-प्राणी तथा वनस्पति सृष्टि गर्नुहुँदा र आफ्नै स्वरूपमा बनाएको प्राणीको लागि बगैंचारूपी घर तयार पार्नुहुँदा पनि यी पुत्रले पूरापूर सहयोग गर्नुभयो। परमेश्‍वरका पुत्र जो पछि येशू नाउँले चिनिनुभयो, मानिसजातिप्रति अगाध प्रेम राख्नुहुन्थ्यो। “[उहाँको] आनन्दचाहिं मानव जातिमा थियो।”—हितो. ८:२७-३१; उत्प. १:२६, २७.

२. (क) यहोवाले असिद्ध मानिसजातिको लागि के प्रबन्ध गरी दिनुभएको छ? (ख) जीवनको कुन एउटा क्षेत्रमा बाइबलले निर्देशन दिन्छ?

प्रथम मानव जोडीले पाप गरेपछि पापी मानिसजातिको छुटकारा परमेश्‍वरको उद्देश्‍यको एउटा महत्त्वपूर्ण भाग बन्‍न गयो। त्यो छुटकारा सम्भव तुल्याउन उहाँले ख्रीष्टको फिरौतीको बलिदान प्रबन्ध गर्नुभयो। (रोमी ५:८) त्यसबाहेक उहाँले आफ्नो वचन बाइबल पनि दिनुभयो। यसले मानिसजातिलाई वंशानुगत आएको असिद्धताको सर्वोत्तम तरिकामा सामना गर्न डोऱ्‍याइ दिन्छ। (भज. ११९:१०५) बाइबलमा यहोवाले मानिसजातिलाई बलियो र आनन्दित परिवार बनाउने निर्देशन पनि दिनुभएको छ। विवाहबारे उत्पत्तिको पुस्तक भन्छ कि मानिस “आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।”—उत्प. २:२४.

३. (क) येशूले विवाहबारे के सिकाउनुभयो? (ख) हामी यस लेखमा के विचार गर्नेछौं?

येशूले आफ्नो पार्थिव सेवकाईको दौडान विवाह स्थायी हुनुपर्ने कुरालाई जोड दिनुभयो। अनि उहाँले यस्ता सिद्धान्तहरू सिकाउनुभयो जुन लागू गर्दा परिवारका सदस्यहरूले आफ्नो वैवाहिक जीवन वा पारिवारिक आनन्दलाई खतरामा पार्न सक्ने मनोवृत्ति तथा आचरण त्याग्न सक्छन्‌। (मत्ती ५:२७-३७; ७:१२) पृथ्वीमा छँदा येशूले सिकाउनुभएको कुरा र उहाँको उदाहरणले पति, पत्नी, आमाबाबु र छोराछोरीले आनन्दित अनि सन्तुष्ट जीवन बिताउन कसरी मदत पाउन सक्छन्‌, यस लेखमा छलफल गरिनेछ।

ख्रीष्टियान पतिले पत्नीलाई आदर गर्ने तरिका

४. येशू र ख्रीष्टियान पतिहरूको भूमिकामा कस्तो समानता छ?

परमेश्‍वरले येशूलाई मण्डलीको शिर नियुक्‍त गर्नुभएझैं पतिलाई परिवारको शिर नियुक्‍त गर्नुभएको छ। प्रेरित पावलले यसो भने: “पत्नीको शिर पति हुन्‌, जस्तो ख्रीष्ट शरीरको मुक्‍तिदाता भई मण्डलीका शिर हुनुहुन्छ। ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” (एफि. ५:२३, २५) हो, आफ्ना अनुयायीहरूसितको येशूको व्यवहार पत्नीलाई व्यवहार गर्ने सन्दर्भमा ख्रीष्टियान पतिहरूका लागि नमुना हो। आउनुहोस्‌ येशूले परमेश्‍वरबाट पाएको अख्तियार चलाएका केही तरिका विचार गरौं।

५. येशूले परमेश्‍वरबाट पाएको अख्तियार चेलाहरूमाथि कसरी चलाउनुभयो?

येशू “विनयी र नम्र हृदयको” हुनुहुन्थ्यो। (मत्ती ११:२९) उहाँले परेको बेला निर्णायक कदम चालिहाल्नुहुन्थ्यो। आफ्नो जिम्मेवारीलाई कहिल्यै हेलचेक्य्राइँ गर्नुभएन। (मर्कू. ६:३४; यूह. २:१४-१७) चेलाहरूलाई मायालु ढंगमा सल्लाह दिनुभयो—आवश्‍यक पर्दा त बारम्बार समेत। (मत्ती २०:२१-२८; मर्कू. ९:३३-३७; लूका २२:२४-२७) तैपनि उहाँले तिनीहरूलाई गाली गर्नुभएन, होच्याउनुभएन, न त तिनीहरूलाई मन नपराएको वा सिकाएको कुरा गर्न नसक्ने नालायक नै महसुस गराउनुभयो। बरु तिनीहरूको प्रशंसा गर्नुभयो, प्रोत्साहन दिनुभयो। (लूका १०:१७-२१) आफ्नो मायालु र अनुकम्पापूर्ण व्यवहारको कारण पक्कै पनि उहाँले चेलाहरूबाट आदर कमाउनुभयो!

६. (क) चेलाहरूप्रति येशूको व्यवहारबाट पतिहरूले के सिक्न सक्छन्‌? (ख) पत्रुसले पतिहरूलाई कस्तो प्रोत्साहन दिए?

येशूको उदाहरणले पतिहरूलाई ख्रीष्टियान शिरत्व भनेको पत्नीमाथि कठोर हैकम चलाउने ओहदा होइन भनेर सिकाउँछ। बरु आदर र आत्म-त्यागी प्रेम झल्कनुपर्छ। प्रेरित पत्रुसले ‘आदर दिई पत्नीसँग बसेर’ येशूको मायालु तरिका अनुकरण गर्न पतिहरूलाई प्रोत्साहन दिए। (१ पत्रुस ३:७ पढ्‌नुहोस्‌) त्यसोभए परमेश्‍वरबाट पाएको अख्तियार पतिले कसरी चलाउन सक्छन्‌ अनि पत्नीलाई आदरयोग्य ठान्दै कसरी व्यवहार गर्न सक्छन्‌?

७. पतिले कुन तरिकामा पत्नीको आदर गर्न सक्छन्‌? उदाहरणसहित बताउनुहोस्‌।

पत्नीलाई आदर गर्न सक्ने एउटा तरिका हो, परिवारलाई असर गर्ने निर्णयहरू गर्नुअघि पत्नीको दृष्टिकोण र भावना होसियारीसाथ विचार गर्नु। सायद निर्णयहरू गर्नुपर्ने कुरा यस्तो होला: बसाइँ सर्ने, अर्कै जागिर खाने वा दिनदिनका कुराहरू—जस्तै, बिदा कहाँ मनाउने वा बढ्‌दो महँगी धान्‍न घर खर्च कसरी चलाउने आदि-आदि। यस्ता निर्णयहरूले परिवारलाई असर गर्ने भएकोले पतिले पत्नीको राय बुझ्नु लाभदायी र दयालु कार्य हुनेछ। यसो गर्दा पतिलाई सन्तुलित र उचित निर्णयमा पुग्न मदत मिल्न सक्छ अनि पत्नीलाई पनि पतिको सहयोग गर्न सजिलो हुन्छ। (हितो. १५:२२) पत्नीको आदर गर्ने ख्रीष्टियान पतिले तिनीबाट माया र आदर त पाउँछन्‌ नै, त्योभन्दा महत्त्वपूर्ण यहोवाको अनुमोदन पनि मिल्छ।—एफि. ५:२८, २९.

पत्नीले पतिको गहिरो कदर गर्ने तरिका

८. हव्वाको उदाहरण किन पछ्याउन लायकको छैन?

ख्रीष्टियान पत्नीले अख्तियारको अधीनमा बस्नुपर्ने सिद्ध उदाहरण येशूबाट सिक्न सक्छिन्‌। अख्तियारप्रति उहाँको दृष्टिकोण र प्रथम मानव पत्नी हव्वाले देखाएको मनोवृत्तिबीच कत्रो भिन्‍नता! हव्वाले पत्नीहरूका लागि राम्रो उदाहरण बसाल्न सकिनन्‌। तिनीमाथि यहोवाले शिर नियुक्‍त गर्नुभएको थियो जसमार्फत उहाँले निर्देशन दिनुहुन्थ्यो। तर तिनले त्यस प्रबन्धको कदर गरिनन्‌। तिनी आदममार्फत पाएको निर्देशन स्वीकार्नदेखि चुकिन्‌। (उत्प. २:१६, १७; ३:३; १ कोरि. ११:३) हो, हव्वालाई छल गरिएको थियो। त्यसो भए तापनि “परमेश्‍वर जान्‍नुहुन्छ” भनेर दाबी गर्ने त्यो आवाज सही थियो/थिएन पक्का गर्न तिनले पतिलाई सोध्नुपर्थ्यो। तर तिनले उल्टो पतिलाई निर्देशनमा चलाउने दुस्साहस गरिन्‌।—उत्प. ३:५, ६; १ तिमो. २:१४.

९. अधीनमा बस्नुपर्ने कस्तो उदाहरण येशूले बसाल्नुभएको छ?

त्यसको ठीक विपरीत येशूले आफ्नो शिरको अधीनमा बसेर सिद्ध नमुना बसाल्नुभयो। उहाँको मनोवृत्ति र जीवनशैलीबाट उहाँले ‘परमेश्‍वरको बराबरी हुने कुरा एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्‍नुभएन’ भनेर स्पष्ट हुन्छ। तर “आफैलाई रित्याईकन कमाराको रूप” लिनुभयो। (फिलि. २:५-७, NRV) आज शासनारूढ राजाको हैसियतमा येशू त्यस्तै मनोवृत्ति राख्नुहुन्छ, उहाँ बदलिनुभएको छैन। उहाँ नम्र भई सबै कुरामा आफ्ना पिताको अधीनमा बस्नुहुन्छ र उहाँको शिरत्वको समर्थन गर्नुहुन्छ।—मत्ती २०:२३; यूह. ५:३०; १ कोरि. १५:२८.

१०. पत्नीले पतिको शिरत्वको कसरी समर्थन गर्न सक्छिन्‌?

१० ख्रीष्टियान पत्नीले पतिको शिरत्वको समर्थन गरेर येशूको अनुकरण गर्नुपर्छ। (१ पत्रुस २:२१; ३:१, २ पढ्‌नुहोस्‌) पतिको शिरत्वको समर्थन गर्न सकिने एउटा परिस्थिति विचार गर्नुहोस्‌। आमाबाबुको अनुमति चाहिने कुनै कुरा गर्न छोराले आमासित अनुमति माग्छ। यसबारे आमाबाबुले पहिल्यै कुरा नगरेकोले आमाले छोरालाई यसो भन्‍नु उचित हुन्छ: “बुबालाई भन्यौ त?” यदि भनेको रहेनछ भने आमा आफैले निर्णय गर्नुअघि पतिलाई यसबारे बताउनुपर्छ। त्यसबाहेक ख्रीष्टियान पत्नी पतिसित बाझिने कुरा भन्‍न वा छोराछोरीको अघि पतिको रायको खण्डन गर्नबाट जोगिने प्रयास गर्छिन्‌। पतिको कुनै कुरामा चित्त नबुझे आफू दुई जना मात्र भएको बेला कुरा गर्छिन्‌।—एफि. ६:४.

आमाबाबुका लागि येशूको उदाहरण

११. येशूले आमाबाबुका लागि कस्तो उदाहरण बसाल्नुभयो?

११ येशूले विवाह गर्नुभएन अनि उहाँको छोराछोरी पनि थिएन। तैपनि, उहाँ ख्रीष्टियान आमाबाबुको लागि उत्कृष्ट नमुना हुनुहुन्छ। कसरी? उहाँले चेलाहरूलाई वचन र कामद्वारा मायालु ढंगमा धैर्यतासाथ सिकाउनुभयो। तिनीहरूलाई दिइएको काम कसरी पूरा गर्ने देखाइदिनुभयो। (लूका ८:१) उहाँको मनोवृत्ति र व्यवहारबाट चेलाहरूले आपसमा कसरी व्यवहार गर्नुपर्छ सिके।—यूहन्‍ना १३:१४-१७ पढ्‌नुहोस्‌।

१२, १३. छोराछोरीलाई ईश्‍वरभीरु बनाउने हो भने आमाबाबुले के गर्नुपर्छ?

१२ छोराछोरीले स्वतः आमाबाबुको नक्कल गर्छन्‌—राम्रो होस्‌ या नराम्रो। त्यसकारण आमाबाबु हो, आफैलाई सोध्नुहोस्‌: ‘टिभी र मनोरञ्जन अनि बाइबल अध्ययन र क्षेत्र सेवामा कति-कति समय खर्च गर्ने, त्यस सन्दर्भमा आफ्नो उदाहरणद्वारा छोराछोरीलाई कस्तो पाठ सिकाउँदैछौं? हाम्रो परिवारको खास प्राथमिकता के हो? साँचो उपासनालाई प्रथम स्थान दिएर के हामी तिनीहरूका लागि राम्रो उदाहरण बसाल्दैछौं?’ आमाबाबुले छोराछोरीलाई ईश्‍वरभीरु बनाउने हो भने पहिला उनीहरूकै हृदयमा परमेश्‍वरको नियमले प्राथमिकता पाएको हुनुपर्छ।—व्यव. ६:६.

१३ यदि आमाबाबुले दैनिक कामकुरोमा बाइबल सिद्धान्तहरू लागू गर्ने प्रयास गरेका छन्‌ भने छोराछोरीले त्यो याद गर्नेछन्‌। आमाबाबुको बोली र शिक्षणले तिनीहरूमा गहिरो छाप पार्छ। तर आमाबाबुले दोहोरो स्तर पालन गरेको देखेमा बाइबल सिद्धान्तहरू त्यति महत्त्वपूर्ण वा व्यावहारिक छैन भन्‍ने सोचाइमा तिनीहरू पुग्न सक्छन्‌। नतिजा? सांसारिक दबाबको अघि तिनीहरू कमजोर हुने सम्भावना धेरै हुन्छ।

१४, १५. आमाबाबुले छोराछोरीको हृदयमा के उमारिदिनुपर्छ अनि यसो गर्ने एउटा तरिका के हो?

१४ ख्रीष्टियान आमाबाबुले बुझेका छन्‌, छोराछोरी हुर्काउनु भनेको भौतिक आवश्‍यकता पूरा गरिदिनु मात्र होइन। तसर्थ छोराछोरीलाई आर्थिक तवरमा फाइदा हुने लक्ष्यहरूको मात्र पछि लाग्न सिकाउनु एकदमै मूर्खता हो। (उप. ७:१२) आध्यात्मिक कुरालाई प्राथमिकता दिन येशूले चेलाहरूलाई सिकाउनुभयो। (मत्ती ६:३३) त्यसैले येशूको अनुकरण गर्दै ख्रीष्टियान आमाबाबुले छोराछोरीको हृदयमा आध्यात्मिक लक्ष्य पछ्याउने चाहना उमारिदिन पनि सक्दो प्रयास गर्नुपर्छ।

१५ यसो गर्ने एउटा तरिका छोराछोरीलाई पूर्ण-समय सेवामा लागेकाहरूसित सक्दो संगत गराएर हो। अग्रगामी वा परिभ्रमण निरीक्षक र तिनकी पत्नीसित परिचित हुन पाउनु किशोरकिशोरीका लागि कत्ति प्रोत्साहनदायी हुन्छ, विचार गर्नुहोस्‌। घुम्न आएका मिसनरी, बेथेल सेवक र अन्तरराष्ट्रिय निर्माणकर्मीहरूले यहोवाको सेवामा पाएको आनन्द उत्साहका साथ बताउन सक्छन्‌। यस्ता सेवकहरूसित अवश्‍यै रोचक अनुभवहरू हुन्छन्‌। तिनीहरूको आत्मत्यागी सेवाबाट तपाईंका छोराछोरीले सही निर्णय गर्न र परमेश्‍वरको सेवा गर्ने लक्ष्य राख्न मदत पाउन सक्छन्‌। साथै पूर्ण-समय सेवा गर्न टेवा पुग्ने उचित शिक्षा लिने ठूलो मदत पनि पाउन सक्छन्‌।

छोराछोरी हो, येशूको उदाहरण कसरी पछ्याउन सक्नुहुन्छ?

१६. येशूले कसरी मानव आमाबाबु र स्वर्गमा हुनुहुने पिताको आदर गर्नुभयो?

१६ छोराछोरी हो! येशूले तपाईंहरूका लागि पनि उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। उहाँको लालनपालनको जिम्मा यूसुफ र मरियमलाई दिइएको थियो। अनि उहाँ तिनीहरूको अधीनमा बस्नुभयो। (लूका २:५१ पढ्‌नुहोस्‌) उहाँले बुझ्नुभएको थियो कि मानव आमाबाबु असिद्ध भए तापनि हेरचाह गर्ने जिम्मा परमेश्‍वरले तिनीहरूलाई दिनुभएको छ। त्यसकारण येशूले तिनीहरूको आदर गर्नुपर्थ्यो। (व्यव. ५:१६; मत्ती १५:४) हुर्केपछि उहाँले सधैं, स्वर्गमा हुनुहुने आफ्ना पितालाई मनपर्ने कुरा गर्नुभयो। त्यसको मतलब प्रलोभनको प्रतिरोध गर्नु पनि थियो। (मत्ती ४:१-१०) छोराछोरी हो! तपाईंहरूलाई पनि कहिलेकाहीं आमाबाबुको आज्ञा नमानूँ जस्तो लाग्ला। त्यसैले येशूको उदाहरण पछ्याउन तपाईंलाई केले मदत गर्न सक्छ?

१७, १८. (क) जवानहरूले स्कूलमा कस्तो दबाबको सामना गर्छन्‌? (ख) के सम्झिंदा जवानहरूले विश्‍वासको जाँचको सामना गर्न सक्छन्‌?

१७ सायद तपाईंको स्कूलका साथीहरूलाई बाइबल स्तरहरूप्रति खासै चासो छैन होला वा मतलब नै छैन होला। तिनीहरूले तपाईंलाई बाइबलका सिद्धान्त विपरीत क्रियाकलापमा भाग लिन कर गर्लान्‌ अनि नमानेमा खिसी गर्लान्‌। तिनीहरूसित कुनै क्रियाकलापमा भाग नलिएकोले के तिनीहरूले तपाईंलाई खिस्स्याउँदै नाउँ राखिदिएका छन्‌? छन्‌ भने, के गर्नुहुन्छ? तपाईंलाई थाह छ, यदि तपाईं डराउनुभयो र हूलको पछि लाग्नुभयो भने आमाबाबु र यहोवालाई दुःखित तुल्याइरहनुभएको हुनेछ। स्कूलका साथीहरूको लहैलहैमा लाग्नुभयो भने के हुन्छ? हुन सक्छ तपाईंले अग्रगामी गर्ने, सेवकाई सेवक बन्‍ने, राज्य प्रकाशकहरूको आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्ने वा बेथेल जाने कुनै लक्ष्य राख्नुभएको छ। स्कूलका ती साथीहरूको लहैलहैमा लाग्दा के त्यो लक्ष्य पूरा होला?

१८ ख्रीष्टियान मण्डलीका जवान हो! तपाईंको विश्‍वासको जाँच हुने परिस्थितिमा के कहिल्यै पर्नुभएको छ? पर्नुभयो भने के गर्नुहुन्छ? तपाईंका नमुना येशूलाई सम्झनुहोस्‌। उहाँ प्रलोभनको अघि झुक्नुभएन। अनि सही कुराको लागि दृढ अडान लिनुभयो। यो कुरा सम्झँदा स्कूलका साथीहरूलाई जानाजानी खराब कुरामा लाग्दिनँ भनेर स्पष्ट बताउन तपाईंले हिम्मत पाउनुहुनेछ। जीवनभर आनन्दित भएर यहोवाको सेवा गर्ने र उहाँको आज्ञा मान्‍ने ठूलो प्रत्याशा पाएका छौं। त्यसैमा येशूले जस्तै ध्यान लगाइराख्नुहोस्‌।—हिब्रू १२:२.

आनन्दमय पारिवारिक जीवनको लागि नभई नहुने कुरा

१९. जीवनमा के गर्दा साँचो आनन्द पाइन्छ?

१९ यहोवा परमेश्‍वर र येशू ख्रीष्ट मानिसजातिको सर्वोत्तम हित चाहनुहुन्छ। अहिलेको असिद्ध अवस्थामा समेत हामीले केही हदसम्म आनन्द पाउन सक्छौं। (यशै. ४८:१७, १८; मत्ती ५:३) येशूले सिकाएको धार्मिक सत्य मानिसजातिको आनन्दको आधार हो। तर उहाँले चेलाहरूलाई त्यति मात्र बताउनुभएन। जीवन जिउने सर्वोत्तम तरिका पनि सिकाउनुभयो। त्यसको अलावा उहाँले सन्तुलित जीवन र मनोवृत्तिको व्यावहारिक नमुना छोडिराख्नुभयो। पति, पत्नी, आमाबाबु, छोराछोरी जो भए पनि हामी सबैले उहाँको उदाहरण पछ्याएर लाभ उठाउन सक्छौं। त्यसैले पति, पत्नी, आमाबाबु र छोराछोरी हो! उहाँको उदाहरण पछ्याउनुहोस्‌! साँच्चै, येशूको शिक्षा अँगाल्नु र उहाँको उदाहरण पछ्याउनु सन्तोषदायी र आनन्दमय पारिवारिक जीवनको लागि नभई नहुने कुरा हो। (w09 7/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वरबाट पाएको अख्तियार पतिहरूले कसरी चलाउनुपर्छ?

• पत्नीले येशूको उदाहरण कसरी अनुकरण गर्न सक्छिन्‌?

• येशूले चेलाहरूसित व्यवहार गरेको तरिकाबाट आमाबाबुले के सिक्न सक्छन्‌?

• जवानहरूले येशूको उदाहरणबाट के सिक्न सक्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

परिवारलाई असर गर्ने निर्णय गर्नुअघि मायालु पतिले के गर्नेछन्‌?

[पृष्ठ १५-मा भएको चित्र]

कस्तो परिस्थितिमा पत्नीले पतिको शिरत्वलाई समर्थन गर्ने मौका पाउनेछिन्‌?

[पृष्ठ १६-मा भएको चित्र]

छोराछोरीले आमाबाबुको असल बानी नक्कल गर्छन्‌