सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूको अनुकरण गर्दै प्रेमसाथ सिकाउनुहोस्‌

येशूको अनुकरण गर्दै प्रेमसाथ सिकाउनुहोस्‌

येशूको अनुकरण गर्दै प्रेमसाथ सिकाउनुहोस्‌

“यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन।”—यूह. ७:४६.

१. येशूको सिकाउने तरिकाप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाए?

 येशूले सिकाएको सुन्‍न पाउनु कत्ति रोमाञ्चकारी हुन्थ्यो होला, कल्पना गर्नुहोस्‌ त! उहाँले भेटेका मानिसहरूलाई कस्तो छाप छोड्‌नुभयो त्यसबारे हामी बाइबलमा पाउँछौं। उदाहरणका लागि सुसमाचार पुस्तकका लेखक लूकाले नासरतका मानिसहरू “उहाँको मुखबाट निस्केका अनुग्रहका वचनमा छक्क परे” भने। मत्तीले चाहिं डाँडाको उपदेशमा उहाँले सिकाएको कुरा सुन्‍नेहरू “उहाँका शिक्षाले छक्क परे” भनी बताए। अनि यूहन्‍नाले येशूलाई समात्न पठाएका अफिसरहरू “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन” भन्दै रित्तो हात फर्केको बताए।—लूका ४:२२; मत्ती ७:२८; यूह. ७:४६.

२. येशूले कुन-कुन तरिकामा सिकाउनुभयो?

ती अफिसरहरू गलत थिएनन्‌। येशू, आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ शिक्षक हुनुहुन्छ भन्‍ने कुरामा कुनै शंका छैन। उहाँले स्पष्टसित, सरल ढंगमा अनि अकाट्य तर्कसहित सिकाउनुभयो। कुशलतासाथ दृष्टान्त र प्रश्‍नहरू चलाउनुभयो। उहाँको शिक्षा मान्छे सुहाउँदो हुन्थ्यो चाहे ठूलो/सानो जस्तोसुकै ओहदाको नै किन नहोस्‌। उहाँले सिकाएको सत्य सजिलै बुझ्न सकिने भए तापनि वास्तवमा गहिरो हुन्थ्यो। तर यी कुराहरूले मात्र येशूलाई महान्‌ शिक्षक बनाएको चाहिं होइन।

एउटा महत्त्वपूर्ण गुण—प्रेम

३. शिक्षकको रूपमा येशू आफ्नो समयका धर्मगुरुहरू भन्दा कसरी भिन्‍न हुनुहुन्थ्यो?

शास्त्री र फरिसीहरूमाझ पनि ज्ञान भएको अनि त्यो ज्ञान दिन सक्ने कला भएको मेधावी व्यक्‍तिहरू पक्कै थिए। तर येशूको सिकाउने तरिकालाई कुन कुराले उनीहरूको भन्दा एकदमै भिन्‍न बनायो? त्यतिबेलाका धर्मगुरुहरूले सर्वसाधारणलाई प्रेम गर्दैन थिए। बरु तिनीहरूलाई ‘श्रापित भीड’ ठान्दै घृणा गर्थे। (यूह. ७:४९) त्यसको ठीक उल्टो येशू तिनीहरूप्रति दयाले भरिनुभयो किनभने तिनीहरू “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) उहाँ कोमल, सहानुभूतिशील र दयालु हुनुहुन्थ्यो। अर्को कुरा, ती धर्मगुरुहरूमा परमेश्‍वरप्रति साँचो प्रेम थिएन। (यूह. ५:४२) तर येशूले भने आफ्ना पितालाई प्रेम गर्नुहुन्थ्यो र पिताको इच्छाबमोजिम गर्दा उहाँलाई खुसी लाग्थ्यो। धर्मगुरुहरूले आफ्नो सुबिस्ताको लागि परमेश्‍वरको वचन बङ्‌गाए तर येशूले “परमेश्‍वरको वचन”-लाई प्रेम गर्नुभयो—उहाँले यो वचन सिकाउनुभयो, व्याख्या गर्नुभयो, त्यसको पक्षमा बोल्नुभयो र त्यसमै जिउनुभयो। (लूका ११:२८) हो, उहाँको शिक्षा, मानिसहरूप्रतिको व्यवहार अनि तिनीहरूलाई दिएको निर्देशनमा उहाँको गहिरो प्रेम झल्कियो।

४, ५. (क) प्रेमसाथ सिकाउनु किन महत्त्वपूर्ण छ? (ख) सिकाउँदा किन ज्ञान र कला पनि चाहिन्छ?

हामीबारे चाहिं के भन्‍न सकिन्छ? ख्रीष्टको पछि लाग्नेहरू भएकाले सेवकाई अनि जीवनमा हामी उहाँको अनुकरण गर्न चाहन्छौं। (१ पत्रु. २:२१) त्यसैले हाम्रो उद्देश्‍य बाइबलको ज्ञान बताउनु मात्र नभई यहोवाका गुणहरू झल्काउनु पनि हो—मुख्यगरि उहाँको प्रेम। चाहे हामीमा धेरै ज्ञान होस्‌ वा थोरै, अथवा सिकाउने कलामा हामी एकदमै दक्ष होऔं वा नहोऔं, प्रेम देखायौं भने प्रचार गरेका मानिसहरूको हृदयसम्म पुग्न सक्छौं। चेला बनाउने काममा साँच्चै प्रभावकारी बन्‍ने हो भने हामीले प्रेमसाथ सिकाएर येशूको अनुकरण गर्नै पर्छ।

असल शिक्षक बन्‍न पक्कै पनि हामीमा ज्ञान र त्यसलाई बताउने कला हुनुपर्छ। येशूले आफ्ना चेलाहरूलाई यी दुवै कुरा प्राप्त गर्न मदत गर्नुभयो अनि यहोवाले पनि आज आफ्नो संगठनमार्फत हामीलाई त्यसको लागि मदत गर्नुहुन्छ। (यशैया ५४:१३; लूका १२:४२ पढ्‌नुहोस्‌) यद्यपि हामीले दिमागले मात्र होइन तर मनले पनि सिकाउने लक्ष्य राख्नुपर्छ। जब ज्ञान, कला र प्रेमले एकसाथ काम गर्छ तब त्यसको परिणाम एकदमै सन्तोषजनक हुन्छ। त्यसोभए सिकाउँदा हामी कसरी प्रेम देखाउन सक्छौं? येशू र उहाँका चेलाहरूले कसरी त्यसो गरे? आउनुहोस्‌, हेरौं।

हामीले यहोवालाई प्रेम गर्नै पर्छ

६. आफूलाई मन पर्ने व्यक्‍तिबारे हामी कसरी कुरा गर्छौं?

मन परेको चीजबारे कुरा गर्दा हामीलाई रमाइलो लाग्छ। मन परेको विषयमा कुरा गर्दा हामी जोसिन्छौं अनि हाम्रो खुसी र उत्साह हाउभाउमा झल्किन्छ। विशेषगरि मन पर्ने मान्छेबारे कुरा गर्दा यो लागू हुन्छ। सामान्यतया उसको बारेमा थाह भएको कुरा अरूलाई बताउन एकदमै उत्सुक हुन्छौं। हामी उसको गुणगान गाउँछौ, कदर गर्छौं र उसको पक्ष लिएर कुरा गर्छौं। अरूहरू पनि आफूजस्तै उक्‍त व्यक्‍तिका गुणहरू अनि ऊप्रति आकर्षित होस्‌ भनी हामी त्यसो गर्छौं।

७. परमेश्‍वरप्रतिको प्रेमले येशूलाई के गर्न उत्प्रेरणा दियो?

अरूमा यहोवाप्रतिको प्रेम खेती गर्नुअघि हामी आफैले उहाँलाई चिन्‍नु र प्रेम गर्नु अनिवार्य छ। हुन पनि साँचो उपासनाको जग नै परमेश्‍वरप्रतिको प्रेम हो। (मत्ती २२:३६-३८) यस सन्दर्भमा येशू सिद्ध नमुना हुनुहुन्छ। उहाँले यहोवालाई आफ्नो सारा मन, बुद्धि, प्राण र शक्‍तिले प्रेम गर्नुभयो। येशूले पितासित स्वर्गमा सायद अरबौं वर्ष बिताएकोले उहाँलाई राम्ररी चिन्‍नुभयो। परिणाम? येशूले भन्‍नुभयो: “म पितालाई प्रेम गर्दछु।” (यूह. १४:३१) त्यो प्रेम उहाँको बोली अनि हरेक काममा झल्कियो। प्रेमले गर्दा नै येशू परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने कुराहरू गर्न उत्प्रेरित हुनुभयो। (यूह. ८:२९) प्रेमले गर्दा नै उहाँले धर्मगुरुहरूको खुलेआम बदख्वाइँ गर्नुभयो जसले कपट्याइँपूर्वक परमेश्‍वरको प्रतिनिधि हौं भनी दाबी गरिरहेका थिए। अनि प्रेमले नै येशूलाई यहोवाबारे कुरा गर्न अनि अरूलाई उहाँबारे जान्‍न र प्रेम गर्न उत्प्रेरणा दियो।

८. परमेश्‍वरप्रतिको प्रेमले येशूका चेलाहरूलाई के गर्न घचघच्यायो?

येशूले जस्तै उहाँका प्रथम शताब्दीका चेलाहरूले पनि यहोवालाई प्रेम गरे। अनि यही प्रेमले तिनीहरूलाई आँटिलो र जोसिलो भई सुसमाचार प्रचार गर्न घचघच्यायो। शक्‍तिशाली धर्मगुरुहरूको विरोधको बाबजुद तिनीहरूले यरूशलेमलाई आफ्नो शिक्षाले भरिदिए। तिनीहरू देखेको र सुनेको कुरा नबोली बस्नै सकेनन्‌। (प्रेरि. ४:२०; ५:२८) यहोवा साथमा हुनुहुन्छ र उहाँले आशिष्‌ दिनुहुन्छ भन्‍ने कुरा तिनीहरूलाई थाह थियो—नभन्दै उहाँले आशिष्‌ दिनु पनि भयो! भन्‍ने हो भने येशूको मृत्युपछि ३० वर्षभन्दा पनि कम समयमा सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भनी प्रेरित पावलले लेख्न सके।—कल. १:२३.

९. हामी कसरी परमेश्‍वरप्रतिको प्रेमलाई अझै गहिरो बनाउन सक्छौं?

यदि हामी साँच्चै नै प्रभावकारी शिक्षक बन्‍न चाहन्छौं भने परमेश्‍वरप्रतिको प्रेम अझै गहिरो हुँदै गइरहेको छ/छैन त्यो पनि पक्का गर्नु आवश्‍यक छ। हामी कसरी त्यसो गर्न सक्छौं? परमेश्‍वरसित प्रार्थनामार्फत बारम्बार कुराकानी गरेर। साथै उहाँको वचन बाइबल अध्ययन गरेर, त्यसमा आधारित प्रकाशनहरू पढेर अनि ख्रीष्टियान सभाहरू धाएर पनि उहाँप्रतिको प्रेमलाई बलियो बनाउँछौं। जति-जति उहाँको ज्ञानमा बढ्‌दै जान्छौं त्यति-त्यति हाम्रो हृदय उहाँप्रतिको मायाले भरिंदै जान्छ। त्यसपछि वचन र कामद्वारा परमेश्‍वरप्रतिको प्रेमलाई व्यक्‍त गर्दा अरूले त्यो देख्नेछन्‌ अनि सायद तिनीहरू पनि उहाँतिर खिंचिन्छन्‌।—भजन १०४:३३, ३४ पढ्‌नुहोस्‌।

जे सिकाउँछौं त्यसलाई प्रेम गर्नै पर्छ

१०. असल शिक्षकको एउटा चिनारी के हो?

१० असल शिक्षकको एउटा चिनारी हो, आफूले सिकाएको कुरालाई प्रेम गर्नु। सिकाउने कुरा सत्य, महत्त्वपूर्ण अनि बहुमूल्य छ भनेर तिनले विश्‍वास गर्नै पर्छ। यदि कुनै शिक्षकले आफूले सिकाउने कुराको ख्याल राख्छ भने तिनको उत्साह सिक्ने व्यक्‍तिमा परेको अमेट छापमा देखिनेछ। अर्कोतर्फ, यदि कुनै शिक्षकले आफूले सिकाउने कुरालाई साँच्चै नै मोल गर्दैन भने विद्यार्थीले त्यस कुराको मोल गरोस्‌ भनेर कसरी आशा गर्न सक्छन्‌ र? परमेश्‍वरको वचनको शिक्षकको रूपमा तपाईंले बसाल्ने उदाहरणलाई कहिल्यै हल्कासित नलिनुहोस्‌। येशूले भन्‍नुभयो: “चेला . . . निपुण भएपछि आफ्ना गुरुजत्तिकै हुनेछ।”—लूका ६:४०.

११. आफूले सिकाएको कुरालाई येशूले किन प्रेम गर्नुभयो?

११ सिकाएको कुरालाई येशूले प्रेम गर्नुभयो। आफूसित अरूलाई बाँड्‌नुपर्ने बहुमूल्य कुरा छन्‌ भनेर उहाँलाई थाह थियो। ती हुन्‌: स्वर्गीय पिताबारेको सत्य, “परमेश्‍वरकै वचनहरू” अनि “अनन्त जीवनका कुरा।” (यूह. ३:३४; ६:६८) चम्किलो ज्योतिले झैं येशूले सिकाएको सत्यले खराब कुरालाई उदाङ्‌ग पारिदियो अनि असल कुरालाई प्रकाश पारिदियो। त्यसले झूटा धर्मगुरुबाट धोका पाएका अनि दियाबलबाट पेलिएका नम्र व्यक्‍तिहरूलाई आशा र सान्त्वना दियो। (प्रेरि. १०:३८) सत्यप्रति येशूको प्रेम उहाँको शिक्षामा मात्र होइन तर उहाँको हरेक काममा पाइन्छ।

१२. सुसमाचारप्रति पावलले कस्तो महसुस गरे?

१२ येशूले जस्तै उहाँका चेलाहरूले पनि यहोवा र ख्रीष्टबारेको सत्यलाई यत्ति धेरै प्रेम गरे कि अरूलाई त्यो कुरा बताउनदेखि विरोधीहरूले तिनीहरूलाई निरुत्साहित पार्न सकेनन्‌। पावलले रोममा भएका सँगी ख्रीष्टियानहरूलाई यस्तो लेखे: “सुसमाचार प्रचार गर्न, म तयार छु। किनकि सुसमाचारसँग म शर्माउँदिनँ, किनभने विश्‍वास गर्ने हरेकको . . . मुक्‍तिको निम्ति, यो परमेश्‍वरको शक्‍ति हो।” (रोमी १:१५, १६) पावलले सत्य घोषणा गर्नुलाई सम्मानको रूपमा लिए। तिनले लेखे: “अन्यजातिहरूमा सुसमाचार अथवा ख्रीष्टको अगम सम्पत्तिको प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइएको हो।” (एफि. ३:८) अरूलाई यहोवा र उहाँको उद्देश्‍यबारे सिकाउँदा पावलले देखाएको उत्साह कल्पना गर्नु गाह्रो छैन।

१३. सुसमाचारलाई प्रेम गर्नुपर्ने कस्ता कारणहरू छन्‌?

१३ परमेश्‍वरको वचनमा पाइने सुसमाचारले सृष्टिकर्ता चिन्‍न र उहाँसित मायालु सम्बन्ध गाँस्न सक्षम बनाउँछ। त्यसले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको सन्तोषजनक जवाफ दिन्छ अनि यसमा जीवन परिवर्तन गर्ने, आशा प्रदान गर्ने, र कठिनाइको बेला दृढ बनाउने शक्‍ति छ। साथै त्यसले कहिल्यै अन्त नहुने अर्थपूर्ण जीवनतर्फ डोऱ्‍याउँछ। सुसमाचार भन्दा बढी अमूल्य वा बढी महत्त्वपूर्ण ज्ञान अरू छैन। यो हामीलाई दिइएको अनमोल वरदान हो जसले अपार आनन्द दिन्छ। अनि यो वरदान अरूलाई बाँड्‌दा थप आनन्द मिल्छ।—प्रेरि. २०:३५.

१४. जे सिकाउँछौं त्यसप्रतिको प्रेमलाई हामी कसरी बलियो बनाउन सक्छौं?

१४ सुसमाचारप्रतिको प्रेमलाई अझ बलियो बनाउन तपाईं के गर्न सक्नुहुन्छ? परमेश्‍वरको वचन पढ्‌दा एकछिन रोकेर के पढ्‌नुभयो विचार गर्नुहोस्‌। उदाहरणको लागि येशूको पार्थिव सेवकाईको दौडान उहाँ सँगसँगै भएको अथवा प्रेरित पावलसँगै यात्रा गरेको कल्पना गर्नुहोस्‌। नयाँ संसारमा भएको चित्र मानसपटलमा उतार्नुहोस्‌ अनि त्यतिबेलाको जीवन कत्ति भिन्‍न हुने होला सोच्नुहोस्‌। सुसमाचारप्रति आज्ञाकारी हुँदा पाएका आशिष्‌हरूलाई ताजा बनाउनुहोस्‌। यदि तपाईंले सुसमाचारप्रतिको प्रेमलाई बलियो बनाइराख्नुभयो भने सिक्ने व्यक्‍तिहरूले पनि त्यो प्रेम बुझ्नेछन्‌। तसर्थ राम्रै कारणको लागि हामीले सिकेको कुराहरूमा होसियारीसाथ चिन्तन गर्नुपर्छ र जे सिकाउँछौं त्यसमा ध्यान दिनुपर्छ।—१ तिमोथी ४:१५, १६ पढ्‌नुहोस्‌।

मानिसहरूलाई प्रेम गर्नै पर्छ

१५. शिक्षकले आफ्ना विद्यार्थीहरूलाई किन प्रेम गर्नुपर्छ?

१५ असल शिक्षकले, विद्यार्थी सिकिरहेको कुरामा भाग लिन उत्सुक होस्‌ अनि उसले खुसीसाथ आफ्नो मनको कुरा बताओस्‌ भनेर सजिलो महसुस गराउँछन्‌। मायालु शिक्षकले ज्ञान दिन्छन्‌ किनभने तिनी विद्यार्थीहरूको साँच्चै ख्याल राख्छन्‌। विद्यार्थीहरूको आवश्‍यकता र बुझ्ने क्षमतालाई मनमा राखेर सिकाउँछन्‌। विद्यार्थीहरूको क्षमता र परिस्थितिप्रति विचारशील हुन्छन्‌। शिक्षकको त्यस्तो प्रेम उनीहरूले बुझ्नेछन्‌ अनि सिकाउने र सिक्ने दुवैलाई रमाइलो हुन्छ।

१६. येशूले मानिसहरूलाई कसरी प्रेम देखाउनुभयो?

१६ येशूले त्यस्तै प्रेम देखाउनुभयो। उहाँको प्रेमको महान्‌ अभिव्यक्‍ति भनेको अरू बाँचून्‌ भनेर आफ्नो सिद्ध मानव शरीर बलिदान चढाउनु हो। (यूह. १५:१३) सेवकाईको दौडान उहाँले दिन-रात नभनी मानिसहरूको शारीरिक अनि विशेषगरी आध्यात्मिक ख्याल राख्नुभयो। मानिसहरू आफूकहाँ आऊन्‌ भनेर आशा गर्नुको साटो तिनीहरूलाई सुसमाचार सुनाउन सयौं किलोमिटर पैदल यात्रा गर्नुभयो। (मत्ती ४:२३-२५; लूका ८:१) उहाँ धीरजी र बुझकी हुनुहुन्थ्यो। चेलाहरूलाई सच्याउनुपर्दा मायालु ढंगमा सम्झाउनुहुन्थ्यो। (मर्कू. ९:३३-३७) तिनीहरू सुसमाचारका प्रभावकारी प्रचारक बन्‍नेछन्‌ भन्‍ने विश्‍वस्तता देखाउँदै उहाँले तिनीहरूको हौसला बढाउनुभयो। अहिलेसम्म कोही पनि येशू जत्तिको मायालु शिक्षक बन्‍न सकेको छैन। चेलाहरूलाई देखाएको प्रेमले तिनीहरूलाई पनि उहाँप्रति प्रेम देखाउन र उहाँको आज्ञा पालन गर्न प्रेरणा दियो।—यूहन्‍ना १४:१५ पढ्‌नुहोस्‌।

१७. येशूका चेलाहरूले अरूप्रति कसरी प्रेम देखाए?

१७ येशूले जस्तै उहाँका चेलाहरूले पनि आफूले प्रचार गरेका मानिसहरूप्रति गहिरो प्रेम र स्नेह देखाए। सतावटलाई सहेर अनि ज्यानलाई जोखिममा हालेर अरूको सेवा गरे र सुसमाचार प्रचार गर्न सफल भए। सुसमाचार स्वीकार्नेहरूप्रति कस्तो स्नेह! प्रेरित पावलका यी शब्दहरू साँच्चै मन छुने खालका छन्‌: “जसरी धाई-आमाले आफ्ना बालकहरूलाई पोषण गर्दछे, त्यसरी तिमीहरूका बीचमा हामी नम्र भएर बस्यौं। त्यसरीनै तिमीहरूको स्नेहपूर्वक चाह गरेर, परमेश्‍वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राणसमेत तिमीहरूलाई दिन हामी बढ्‌तै खुशी थियौं, किनभने तिमीहरू हामीमा प्रिय भएका थियौ।”—१ थिस्स. २:७, ८.

१८, १९. (क) प्रचारकार्यको लागि हामी किन बलिदानहरू चढाउन इच्छुक छौं? (ख) हामीले देखाएको प्रेम अरूले याद गर्छन्‌ भन्‍नेबारे एउटा अनुभव बताउनुहोस्‌।

१८ त्यसैगरि आज पनि यहोवाका साक्षीहरूले परमेश्‍वरलाई चिन्‍न र सेवा गर्न चाहनेहरूलाई खोज्न विश्‍वव्यापी रूपमा प्रचार गर्छन्‌। वास्तवमा हामीले विगत १७ वर्षदेखि लगातार प्रचार गर्ने अनि चेला बनाउने काममा वर्षेनी एक अरबभन्दा बढी घण्टा बिताउँदै आएका छौं र अहिले पनि बिताउँदैछौं। प्रचारकार्यको लागि समय, शक्‍ति र भौतिक सर-सामग्री बलिदान चढाउनुपर्ने भए तापनि हामी एकदमै इच्छुकताका साथ यसो गर्छौं। येशूले जस्तै हामीले पनि बुझेका छौं, स्वर्गमा बस्नुहुने मायालु पिता मानिसहरूले अनन्त जीवनतर्फ डोऱ्‍याउने ज्ञान पाएको चाहनुहुन्छ। (यूह. १७:३; १ तिमो. २:३, ४) सोझा हृदय भएकाहरूले पनि हामीले जस्तै यहोवालाई जान्‍न र प्रेम गर्न सकून भनेर मदत गर्नको लागि प्रेमले हामीलाई उत्प्रेरित गर्छ।

१९ हामीले प्रेम देखाउँदा त्यो अरूले याद गर्छन्‌। उदाहरणको लागि अमेरिकाको एक जना अग्रगामी बहिनीले प्रियजन गुमाएकाहरूलाई सान्त्वना दिन पत्रहरू पठाइन्‌। प्रतिक्रियामा एक जनाले यस्तो लेखे: “सुरुमा त मलाई अचम्म लाग्यो। चिन्दै नचिनेको व्यक्‍तिलाई दुःखको घडीमा सहन मदत दिनको लागि त्यसरी पत्र लेख्ने व्यक्‍ति पनि हुँदा रहेछन्‌। म यति मात्र भन्‍न सक्छु कि तपाईंमा अरूप्रति अनि मानिसलाई जीवनको बाटोमा डोऱ्‍याउने परमेश्‍वरप्रति प्रेम रहेछ।”

२०. प्रेमसाथ सिकाउनु कत्तिको महत्त्वपूर्ण छ?

२० भन्‍ने गरिन्छ, जब प्रेम र कलाले एकसाथ काम गर्छ तब हामी उत्कृष्ट नतिजाको आशा गर्न सक्छौं। विद्यार्थीलाई सिकाउँदा हामी तिनले यहोवालाई चिन्‍ने दिमाग र उहाँलाई प्रेम गर्ने हृदय विकास गरोस्‌ भन्‍ने चाहन्छौं। हो, साँच्चै नै प्रभावकारी शिक्षक बन्‍न हामीलाई तीन वटा कुराको आवश्‍यकता पर्छ—परमेश्‍वरप्रति प्रेम, सत्यप्रति प्रेम अनि मानिसहरूप्रति प्रेम। त्यस्तो प्रेम खेती गर्दा र त्यसलाई सेवकाईमा देखाउँदा दिंदाखेरिको आनन्द मात्र होइन तर येशूको अनुकरण गर्दैछौं र यहोवालाई खुसी बनाउँदैछौं भन्‍ने जानेर पनि सन्तुष्टि पाउँछौं। (w09 7/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• अरूलाई सुसमाचार सिकाउँदा हामीमा यी कुरा हुनु किन आवश्‍यक छ:

परमेश्‍वरप्रति प्रेम?

जे सिकाउँछौं त्यसप्रति प्रेम?

जसलाई सिकाउँछौं तिनीहरूप्रति प्रेम?

[प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

कुन कुराले येशूको सिकाउने तरिकालाई शास्त्री र फरिसीहरूको भन्दा भिन्‍नै बनायो?

[पृष्ठ २४-मा भएको चित्र]

असल शिक्षाको लागि ज्ञान, सीप र सबैभन्दा महत्त्वपूर्ण प्रेम चाहिन्छ