सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पृथ्वीमा अनन्त जीवन—ख्रीष्टियान आशा हो?

पृथ्वीमा अनन्त जीवन—ख्रीष्टियान आशा हो?

पृथ्वीमा अनन्त जीवन—ख्रीष्टियान आशा हो?

“[परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन।”—प्रका. २१:४.

१, २. प्रथम शताब्दीका थुप्रै यहूदीहरूले पृथ्वीमा अनन्त जीवनको आशा राख्थे भनेर हामी कसरी थाह पाउँछौं?

 एक धनी र प्रतिष्ठित जवानले दौडेर आई घुँडा टेकेर येशूलाई सोध्यो: “हे उत्तम गुरु, अनन्त जीवनको हकदार हुनलाई मैले के गर्नुपर्छ?” (मर्कू. १०:१७) तिनले स्वर्गमा वा पृथ्वीमा कहाँ अनन्त जीवन पाउनेबारे प्रश्‍न गर्दैथिए? अघिल्लो लेखमा छलफल गरेझैं शताब्दीऔं अघि परमेश्‍वरले यहूदीहरूलाई पृथ्वीमा पुनरुत्थान र अनन्त जीवनको आशा प्रदान गर्नुभएको थियो। प्रथम शताब्दीका थुप्रै यहूदीहरूले पनि यही आशा राख्थे।

पृथ्वीमा पुनर्जीवित हुने कुरा मनमा राख्दै येशूकी साथी मार्थाले आफ्नो मरिसकेका भाइबारे यसो भनेकी हुनुपर्छ: “म जान्दछु, कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।” (यूह. ११:२४) हो, त्यतिबेलाका सदुकीहरूले पुनरुत्थानमा विश्‍वास गर्दैनथे। (मर्कू. १२:१८) तर एक लेखकले आफ्नो पुस्तकमा a यस्तो लेखे: “ख्रीष्ट आउनुभन्दा दुई सय वर्षअघिका लेखोटहरूबाट आशा गरिएको निश्‍चित समयमा पहिले-पहिले मरेका मानिसहरूले पृथ्वीमा पुनर्जीवन पाउनेछन्‌ भन्‍ने विश्‍वास थुप्रैको थियो भनी प्रमाणित हुन्छ।” ती धनी मानिस पनि पृथ्वीमा अनन्त जीवन पाउन चाहन्थे।

३. यस लेखमा कस्ता प्रश्‍नहरूमाथि विचार गरिनेछ?

आज थुप्रै धर्म र बाइबलविद्‌हरूले पृथ्वीमा सधैंभरि बाँच्ने आशालाई ख्रीष्टियान शिक्षा मान्दैनन्‌। थुप्रै मानिसहरू मरिसकेपछि पनि आत्मिक संसारमा बाँच्ने आशा राख्छन्‌। त्यसैले ख्रीष्टियान युनानी धर्मशास्त्रमा पाठकहरूले “अनन्त जीवन” भन्‍ने अभिव्यक्‍ति देख्दा यो स्वर्गीय जीवन हो भन्ठान्छन्‌। के यो साँचो हो? येशूले अनन्त जीवनको कुरा गर्नुहुँदा कहाँको जीवनबारे कुरा गर्दै हुनुहुन्थ्यो? उहाँका चेलाहरूले के विश्‍वास गर्थे? पृथ्वीमा अनन्त जीवन पाउन सकिन्छ भनेर के ख्रीष्टियान युनानी धर्मशास्त्रले सिकाउँछ?

“नयाँ सृष्टिमा” अनन्त जीवन

४. “नयाँ सृष्टिमा” के हुनेछ?

अभिषिक्‍त ख्रीष्टियानहरूलाई स्वर्गबाट पृथ्वीमा शासन गर्न पुनरुत्थान गरिनेछ भनी बाइबल सिकाउँछ। (लूका १२:३२; प्रका. ५:९, १०; १४:१-३) तर येशूले अनन्त जीवनबारे कुरा गर्नुहुँदा सधैं त्यही समूहलाई मात्र संकेत गर्नुभएन। आफ्नो सारा सम्पत्ति छोडेर ख्रीष्टको पछि लाग्ने निमन्त्रणा स्वीकार्न नसकेर दुःखित भई ती धनी मानिस फर्केपछि उहाँले चेलाहरूलाई के भन्‍नुभयो विचार गर्नुहोस्‌। (मत्ती १९:२८, २९ पढ्‌नुहोस्‌) स्वर्गमा शासन गर्नेहरूबाहेक “इस्राएलका बाह्र कुलमाथि” अर्थात्‌ सम्पूर्ण मानिसजातिमाथि राजाको रूपमा शासन र इन्साफ गर्नेहरूमध्ये प्रेरितहरू हुनेछन्‌ भनी उहाँले तिनीहरूलाई बताउनुभयो। (१ कोरि. ६:२) “जसजसले” उहाँको पछि लाग्छन्‌ तिनीहरूले इनाम पाउँछन्‌ पनि उहाँले भन्‍नुभयो। ती व्यक्‍तिहरूले “अनन्त जीवनको अधिकार” पाउनेछन्‌। यो सबै “नयाँ सृष्टिमा” हुनेछ।

५. तपाईं “नयाँ सृष्टि”-को कसरी व्याख्या गर्नुहुन्छ?

येशूले “नयाँ सृष्टि” भन्‍नुको अर्थ के थियो? यस पदावलीलाई विभिन्‍न बाइबलमा b विभिन्‍न तरिकाले अनुवाद गरिएको छ। जस्तै: “नयाँ संसार,” “सबै नयाँ बनाइँदा” अथवा “फेरि सबै नयाँ बनाइनु।” येशूले यस पदावलीको थप व्याख्या गर्नुभएन। त्यसैले शताब्दीऔंदेखि यहूदीहरूले राख्दै आएको आशालाई नै उहाँले संकेत गर्दै हुनुहुन्थ्यो भनी भन्‍न सकिन्छ। आदम र हव्वाले अदनको बगैंचामा पाप गर्नुअघि पृथ्वीको अवस्था जस्तो थियो त्यस्तै बनाउनको लागि नयाँ सृष्टि गरिने थियो। नयाँ सृष्टिले “नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु” भनी परमेश्‍वरले गरेको प्रतिज्ञा पूरा गर्नेथियो।—यशै. ६५:१७.

६. भेडा र बाख्राको दृष्टान्तले अनन्त जीवनको आशाबारे हामीलाई के सिकाउँछ?

यस संसारको अन्तबारे बताउनुहुँदा फेरि येशूले अनन्त जीवनको कुरा गर्नुभयो। (मत्ती २४:१-३) उहाँले भन्‍नुभयो: “जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्‌, र जसरी गोठालोले भेडाहरूलाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ।” प्रतिकूल न्याय भोग्नेहरू “अनन्त दण्डमा, तर धार्मिकहरूचाहिं अनन्त जीवनमा जानेछन्‌।” अनन्त जीवन पाउने “धार्मिकहरू” ती हुन्‌ जसले ख्रीष्टका आत्मा-अभिषिक्‍त “भाइहरू”-को वफादारितासाथ समर्थन गर्छन्‌। (मत्ती २५:३१-३४, ४०, ४१, ४५, ४६) अभिषिक्‍त जनहरू स्वर्गीय राज्यमा शासक हुन छानिएकोले यी “धार्मिकहरूचाहिं” निश्‍चय नै त्यस राज्यको पार्थिव प्रजा हुनुपर्छ। बाइबल यस्तो भविष्यवाणी गर्छ: ‘[यहोवाका राजाको] एक समुद्रदेखि अर्को समुद्रसम्म र यूफ्रेटिस नदीदेखि पृथ्वीको पल्लो छेउसम्म [“प्रजा,” NW ] रहनेछ।’ (भज. ७२:८) यी प्रजाहरूले पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउनेछन्‌।

यूहन्‍नाको सुसमाचारको पुस्तकले के बताउँछ?

७, ८. येशूले निकोदेमससित कुन दुई आशाबारे कुरा गर्नुभयो?

मत्ती, मर्कूस र लूकाको सुसमाचारका पुस्तकमा लिपिबद्ध गरेअनुसार येशूले “अनन्त जीवन” भन्‍ने पदावली माथि बताइएका घटनाहरूमा चलाउनुभयो। यूहन्‍नाको सुसमाचारको पुस्तकमा झन्डै १७ चोटि येशूले सधैंभरि बाँच्नेबारे बताउनुभएको छ। येशूले अनन्त जीवनको आशाबारे के बताउनुभयो बुझ्न तीमध्ये केही केलाएर हेरौं।

यूहन्‍नाका अनुसार येशूले अनन्त जीवनबारे सबैभन्दा पहिला फरिसी निकोदेमससित कुरा गर्नुभयो। उहाँले निकोदेमसलाई भन्‍नुभयो: “साँचो साँचो म तिमीलाई भन्दछु, कोही पानी र आत्माले जन्मेन भने परमेश्‍वरको राज्यमा पस्नसक्‍तैन।” स्वर्गको राज्यमा पस्नेहरू ‘नयाँ गरी जन्मेका’ हुनै पर्छ। (यूह. ३:३-५) येशूले कुरा त्यतिमै टुङ्‌ग्याउनुभएन। त्यसपछि उहाँले पूरै संसारको लागि खुला गरिएको आशाबारे बताउनुभयो। (यूहन्‍ना ३:१६ पढ्‌नुहोस्‌) येशूले अभिषिक्‍त अनुयायीहरूका लागि स्वर्गमा र अरूका लागि पृथ्वीमा अनन्त जीवनको आशाबारे बताउँदै हुनुहुन्थ्यो।

९. येशूले कुन आशाबारे सामरी स्त्रीसित कुरा गर्नुभयो?

यरूशलेममा निकोदेमससित कुरा गरिसकेपछि उहाँ उत्तरमा पर्ने गालीलतर्फ लाग्नुभयो। त्यहाँ जाँदा-जाँदै सामरियाको सुखार भनिने एउटा सहरस्थित याकूबको इनारमा उहाँले एउटी स्त्रीलाई भेट्‌नुभयो। उहाँले तिनलाई भन्‍नुभयो: “मैले दिने त्यो पानी जसले पिउला त्यो कहिल्यै तिर्खाउनेछैन। तर जुन पानी म त्यसलाई दिनेछु, त्यो पानी त्यसमा, अनन्त जीवनसम्म उम्रिरहने पानीको मूल बनिनेछ।” (यूह. ४:५, ६, १४) यो पानीले पृथ्वीमा सधैंभरि बाँच्ने लगायत सबै मानिसजातिलाई अनन्त जीवन पुनर्स्थापना गर्ने परमेश्‍वरको प्रबन्धलाई बुझाउँछ। प्रकाशको पुस्तकमा परमेश्‍वर स्वयम्‌ले भनेको कुरा यस्तो छ: “तिर्खाउनेहरूलाई जीवनको पानीको फोहराबाट म सित्तैमा दिनेछु।” (प्रका. २१:५, ६; २२:१७) त्यसैले येशूले सामरी स्त्रीसित कुरा गर्नुहुँदा अनन्त जीवन अभिषिक्‍त उत्तराधिकारीहरूले मात्र नभई पार्थिव आशा भएका विश्‍वासी मानिसहरूले पनि पाउँछन्‌ भन्‍नुभयो।

१०. बेथस्दाको दहमा एक बिरामीलाई निको पारिसकेपछि येशूले अनन्त जीवनका विरोधीहरूलाई के भन्‍नुभयो?

१० त्यसको अर्को साल येशू फेरि यरूशलेम जानुभयो। त्यहाँ बेथस्दाको दहमा उहाँले एक जना बिरामीलाई निको पार्नुभयो। त्यसरी निको पारेको देखेर उहाँको आलोचना गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म पुत्र आफैले केही गर्नसक्‍तैन, किनभने उहाँ जे गर्नुहुन्छ, पुत्रले पनि तिनै काम त्यही किसिमले गर्छ।” पिताले “सबै इन्साफ गर्ने काम पुत्रलाई दिनुभएको छ” भन्‍नुभएपछि उहाँले बताउनुभयो “जसले मेरो बात सुन्छ र मलाई पठाउनेलाई विश्‍वास गर्छ, उसमा अनन्त जीवन छ।” उहाँले यसो पनि भन्‍नुभयो: “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले [मानिसको पुत्रको] सोर सुन्‍नेछन्‌। औ भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, तर कुभलो गर्नेहरूचाहिं इन्साफको पुनरुत्थानको निम्ति निस्किआउनेछन्‌।” (यूह. ५:१-९, १९, २२, २४-२९) विरोधी यहूदीहरूलाई उहाँ यसो भन्‍न खोज्दै हुनुहुन्थ्यो: पृथ्वीमा अनन्त जीवन पाइने यहूदीहरूको आशा पूरा गर्न उहाँलाई नै परमेश्‍वरले नियुक्‍त गर्नुभएको छ र यो, उहाँले मरिसकेकाहरूलाई ब्यूँताएर पूरा गर्नुहुनेछ।

११. यूहन्‍ना ६:४८-५१ मा लिपिबद्ध येशूको भनाइमा पृथ्वीमा पाइने अनन्त जीवनको आशा समावेश छ भनेर हामी कसरी थाह पाउँछौं?

११ गालीलमा येशूले चमत्कारपूर्ण ढंगमा प्रबन्ध गरिदिएको रोटीको इच्छा गर्दै हजारौं मानिस उहाँको पछि लागे। येशूले तिनीहरूलाई अर्कै प्रकारको रोटी अर्थात्‌ “जीवनको रोटी”-बारे भन्‍नुभयो। (यूहन्‍ना ६:४०, ४८-५१ पढ्‌नुहोस्‌) उहाँले भन्‍नुभयो: “त्यो रोटी, जो म . . . दिनेछु, मेरो देह हो।” येशूले आफ्नो जीवन उहाँसगै स्वर्गमा शासन गर्नेहरूका निम्ति मात्र नभई उद्धार पाउन लायक मानिसहरूको “जीवनको लागि” अर्पण गर्नुभयो। “यो रोटी कोही मानिसले खायो भने” अर्थात्‌ येशूको बलिदानको उद्धार गर्ने शक्‍तिमा विश्‍वास गऱ्‍यो भने उसले अनन्त जीवनको आशा पाउनेछ। वास्तवमा, यहाँ बताइएको ‘सधैंभरि जिउने’ कुरामा यहूदीहरूले लामो समयदेखि राख्दै आएको आशा अर्थात्‌ मसीहको शासनको दौडान पृथ्वीमा अनन्त जीवन पाउनु समावेश थियो।

१२. ‘आफ्ना भेडाहरूलाई अनन्त जीवन दिन्छु’ भनी विरोधीहरूलाई भन्‍नुहुँदा येशूले कुन आशाबारे बताउँदै हुनुहुन्थ्यो?

१२ पछि यरूशलेममा समर्पणको चाडको बेला येशूले विरोधीहरूलाई भन्‍नुभयो: “तिमीहरू विश्‍वास गर्दैनौ, किनभने तिमीहरू मेरो भेडाहरूमध्येका होइनौ। मेरा भेडाहरूले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछन्‌। अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु।” (यूह. १०:२६-२८) के उहाँले स्वर्गीय जीवनबारे मात्र बताउँदै हुनुहुन्थ्यो? वा पार्थिव प्रमोदवनमा पाइने अनन्त जीवनबारे पनि? येशूले हालै आफ्ना अनुयायीहरूलाई यसरी सान्त्वना दिनुभएको थियो: “ए सानो बगाल, नडराओ, किनभने तिमीहरूलाई राज्य दिने तिमीहरूका पिताको शुभेच्छा छ।” (लूका १२:३२) तर यही समर्पणको चाडको बेला येशूले भन्‍नुभयो: “मेरा अरू भेडा छन्‌, जो यस गोठका होइनन्‌, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ।” (यूह. १०:१६) त्यसैले येशूले ती विरोधीहरूसित कुरा गर्नुहुँदा “सानो बगाल”-को स्वर्गीय आशा र “अरू भेडा”-का लाखौं मानिसहरूको पृथ्वीमा अनन्त जीवनको आशा दुवैबारे बताउँदै हुनुहुन्थ्यो।

बुझाउनै नपरेको आशा

१३. येशूले “तिमी मसित प्रमोदवनमा हुनेछौ” भन्‍नुको अर्थ के थियो?

१३ शासनाको खम्बामा सास्ती भोगिरहेको बेला येशूले मानिसजातिको आशाबारे अकाट्य प्रमाण दिनुभयो। उहाँसँगै झुन्ड्याइएको एक अपराधीले उहाँलाई यसो भने: “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्‌।” उहाँले त्यसलाई यस्तो वचन दिनुभयो, “आज, म तिमीलाई साँच्चै भन्दछु तिमी मसित प्रमोदवनमा हुनेछौ।” (लूका २३:४२, ४३, NW ) यो मानिस यहूदी हुनुपर्छ र तिनलाई प्रमोदवनबारे बुझाइरहनुपर्ने जरुरत नै थिएन। आउँदो संसारमा अनन्त जीवन पाउने आशाबारे तिनलाई थाह थियो।

१४. (क) स्वर्गीय आशाको कुरा प्रेरितहरूले बुझेका थिएनन्‌ भनी कसरी थाह पाउन सक्छौं? (ख) स्वर्गीय आशा के हो भनेर येशूका अनुयायीहरूले कहिले स्पष्टसँग बुझे?

१४ तर येशूले भनेको स्वर्गीय आशा के हो त्यो बुझाउनु आवश्‍यक थियो। चेलाहरूका लागि ठाउँ तयार पार्न स्वर्ग जान्छु भनेर भन्‍नुहुँदा तिनीहरूले उहाँको कुरा बुझेका थिएनन्‌। (यूहन्‍ना १४:२-५ पढ्‌नुहोस्‌) उहाँले तिनीहरूलाई पछि भन्‍नुभयो: “तिमीहरूलाई भन्‍ने मसँग अझ धेरै कुरा छन्‌, तर अहिले तिमीहरू सहनसक्‍तैनौ। तैपनि जब उहाँ, अर्थात्‌ सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले सबै सत्यमा तिमीहरूलाई बाटो देखाउनुहुनेछ।” (यूह. १६:१२, १३) इस्वी संवत्‌ ३३ पेन्तिकोसमा भावी राजाको रूपमा परमेश्‍वरको आत्माले अभिषिक्‍त भएपछि मात्र तिनीहरूको सिंहासन स्वर्गमा हुनेछ भनेर येशूका अनुयायीहरूले बुझे। (१ कोरि. १५:४९; कल. १:५; १ पत्रु. १:३, ४) स्वर्गीय उत्तराधिकारको आशा नयाँ कुरा थियो र यो, ख्रीष्टियान युनानी धर्मशास्त्रका प्रेरित पत्रहरूको मुख्य विषय बन्यो। तर यी पत्रहरूले पृथ्वीमा अनन्त जीवनको आशाको के अझै पुष्टि दिन्छन्‌?

प्रेरित पत्रहरूले के भन्छ?

१५, १६. हिब्रूहरूलाई लेखेको प्रेरित पत्र र पत्रुसका शब्दहरूले पृथ्वीमा अनन्त जीवनको आशालाई कसरी औंल्याउँछन्‌?

१५ हिब्रूहरूलाई लेखेको पत्रमा प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई “स्वर्गीय बोलावटका सहभागी पवित्र भाइ” भनेर सम्बोधन गरे। परमेश्‍वरले “आउँदो संसार” येशूलाई सुम्पनुभएको छ पनि भने। (हिब्रू २:३, ५; ३:१) ख्रीष्टियान युनानी धर्मशास्त्रमा “संसार” शब्दले सधैं मानिसहरू बसोबास गर्ने पृथ्वीलाई बुझाउँछ। तसर्थ, “आउँदो संसार” येशू ख्रीष्टको शासन अन्तर्गत पृथ्वीमा स्थापना हुने भावी व्यवस्था हो। त्यस शासन व्यवस्थामा येशूले परमेश्‍वरको यो प्रतिज्ञा पूरा गर्नुहुनेछ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भज. ३७:२९.

१६ प्रेरित पत्रुसले पनि मानिसजातिको भविष्यबारे लेख्न प्रेरणा पाए। तिनले लेखे: “अहिलेको आकाशहरू र पृथ्वीचाहिं त्यही वचनले, भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्टयाई आगोको निम्ति साँचेर राखिएका छन्‌।” (२ पत्रु. ३:७) अहिले भएका सरकार र दुष्ट मानव समाजको ठाउँमा के हुनेछ? (२ पत्रुस ३:१३ पढ्‌नुहोस्‌) त्यसको ठाउँमा “नयाँ स्वर्ग” अर्थात्‌ परमेश्‍वरको मसीही राज्य र “नयाँ पृथ्वी” अर्थात्‌ परमेश्‍वरको स्तरअनुसार चल्ने साँचो उपासकहरूको समाज हुनेछ।

१७. प्रकाश २१:१-४ मा मानिसजातिको आशाको वर्णन कसरी गरिएको छ?

१७ बाइबलको अन्तिम पुस्तकमा मानिसजातिलाई सिद्धतासम्म पुऱ्‍याइएको दर्शन छ। यसले हाम्रो हृदय उत्साहले भरिदिन्छ। (प्रकाश २१:१-४ पढ्‌नुहोस्‌) यो आशा अदनको बगैंचामा मानिसले सिद्धता गुमाएदेखि विश्‍वासी मानिसहरूले राख्दै आएका छन्‌। परमेश्‍वरको स्तरअनुसार चल्ने मानिसहरू प्रमोदवनमा बूढाबूढी नभई सदाको लागि जिउनेछन्‌। हिब्रू धर्मशास्त्र र ख्रीष्टियान युनानी धर्मशास्त्र दुवैमा यो आशाको ठोस प्रमाण पाउँछौं। अहिले हाम्रो समयसम्म पनि यस आशाले यहोवाका विश्‍वासी सेवकहरूलाई बल प्रदान गर्छ।—प्रका. २२:१, २. ( w 09 8/15)

[फुटनोटहरू]

a Judaism in the First Centuries of the Christian Era, George Foot Moore.

b The Bible—An American Translation; The Jerusalem Bible; The Holy Bible—New International Version.

के तपाईं बुझाउन सक्नुहुन्छ?

• येशूले “नयाँ सृष्टि” भन्‍नुको अर्थ के थियो?

• येशूले निकोदेमससित के विषयमा कुरा गर्नुभयो?

• आफूसँगै झुन्ड्याइएको अपराधीलाई येशूले के प्रतिज्ञा गर्नुभयो?

• हिब्रूहरूलाई लेखेको पत्र र पत्रुसका शब्दहरूले पृथ्वीमा अनन्त जीवनको आशाको कसरी पुष्टि दिन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

भेडाखाले व्यक्‍तिहरूले पृथ्वीमा अनन्त जीवन पाउनेछन्‌

[पृष्ठ १६-मा भएको चित्रहरू]

येशूले अरूलाई अनन्त जीवनबारे बताउनुभयो