सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के सबै धर्म असल छन्‌?

के सबै धर्म असल छन्‌?

के सबै धर्म असल छन्‌?

अहिले संसारमा अनेकौं धर्म छन्‌। हालै गरिएको एउटा सर्वेक्षणअनुसार अहिले संसारमा १९ वटा मुख्य धर्म र लगभग १०,००० स-साना धर्महरू छन्‌। मानिसहरूले पहिला कहिल्यै अहिले जस्तो धर्म रोज्ने मौका पाएका थिएनन्‌। तसर्थ, तपाईंले जुनै धर्म रोजे पनि के कुनै फरक पर्दैन?

केही मानिसहरू भन्‍ने गर्छन्‌, विभिन्‍न धर्महरू भनेको कुनै पहाडको चुचुरोमा पुग्ने फरक-फरक बाटो जस्तै हुन्‌। तिनीहरूका लागि, जुनै बाटो रोजे पनि कुनै फरक पर्दैन किनभने सबै बाटो एउटै ठाउँमा पुग्ने त हो। तिनीहरू तर्क गर्छन्‌, सर्वशक्‍तिमान्‌ परमेश्‍वर एउटै हुनुहुन्छ, त्यसैले आखिर सबै धर्मले उहाँकहाँ नै पुऱ्‍याउँछ।

के सबै बाटोले परमेश्‍वरकहाँ नै पुऱ्‍याउँछ?

मानव इतिहासको सबैभन्दा आदरणीय धर्मगुरुहरूमध्ये एक येशू ख्रीष्टले यसबारे के भन्‍नुभयो? उहाँले चेलाहरूलाई भन्‍नुभयो: “साँघुरो ढोकाबाट भित्र पस।” किन? “किनभने विनाशमा पुऱ्‍याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्‌। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्‍याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्‌।”—मत्ती ७:१३, १४.

के साँच्चै केही धर्मले ‘विनाशमा पुऱ्‍याउँछ’ भनेर येशूले भन्‍न खोज्दै हुनुहुन्थ्यो? अथवा उहाँले परमेश्‍वरलाई विश्‍वास नगर्नेहरू मात्र विनाशमा पुऱ्‍याउने त्यस फराकिलो बाटोमा हुन्छन्‌ तर परमेश्‍वरलाई विश्‍वास गर्नेहरू चाहिं जुनै धर्म माने पनि जीवनमा पुऱ्‍याउने साँघुरो बाटोमा हुन्छन्‌ भनी सिकाउँदै हुनुहुन्थ्यो?

बाटो दुइटा मात्र छन्‌ भनी बताएलगत्तै येशूले भन्‍नुभयो: “झूटा अगमवक्‍ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेडाका भेसमा आउँछन्‌, तर भित्रपट्टि चाहिं डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्‌।” (मत्ती ७:१५, NRV ) पछि उहाँले भन्‍नुभयो: “मलाई प्रभु, हे प्रभु भन्‍ने सबै जना परमेश्‍वरको राज्यमा पस्न पाउने छैनन्‌। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा अनुसार काम गर्नेहरू मात्रै पस्न पाउनेछन्‌।” (मत्ती ७:२१, नेपाली पवित्र बाइबलको नयाँ करार) यदि कोही अगमवक्‍ता कहलाइन्छ वा कसैले येशूलाई आफ्नो “प्रभु” हुन्‌ भनी दाबी गर्छ भने ऊ धार्मिक व्यक्‍ति हो, नास्तिक होइन भन्‍नु तर्कसंगत छ। त्यसो हो भने, स्पष्टतया यहाँ येशूले सबै धर्म असल छैनन्‌ र सबै धर्मगुरुहरूलाई भरोसा गर्नुहुँदैन भनी चेतावनी दिंदै हुनुहुन्थ्यो।

के साँघुरो बाटो चिन्‍न सकिन्छ?

सबै धर्मले परमेश्‍वरकहाँ नपुऱ्‍याउने हुनाले ती हजारौंमध्ये तपाईं कसरी जीवनमा पुऱ्‍याउने साँघुरो बाटोरूपी धर्म भेट्टाउन सक्नुहुन्छ? कल्पना गर्नुहोस्‌, तपाईं एउटा ठूलो सहरमा हराउनुभयो। कसैसँग मदत माग्ने विचार गर्नुहुन्छ। एक जनाले निर्धक्क भई तपाईंलाई दायाँतिर जाऊ भन्छ। अर्कोले चाहिं बायाँ जाऊ भन्छ। फेरि अर्कोले भन्छ: ‘तिमीलाई जता मन लाग्छ त्यतै जाऊ।’ अन्तमा, उक्‍त सहरको भरपर्दो नक्सा भएको एक जना व्यक्‍ति भेट्‌नुहुन्छ र उसले तपाईंलाई सही बाटो देखाइदिन्छ। उसले त्यो नक्सा पनि तपाईंलाई दिन्छ ताकि तपाईंले बाटो पहिल्याउँदै जान सकून्‌। अब भने के तपाईलाई आफ्नो गन्तव्यमा अवश्‍यै पुगिन्छ जस्तो लाग्दैन?

सही धर्म रोज्ने कुरा पनि त्यस्तै हो। हामीलाई भरपर्दो आध्यात्मिक नक्सा चाहिन्छ। के त्यो उपलब्ध छ? अवश्‍य। त्यो नक्सा हो बाइबल, जसमा बताइएको छ: “सम्पूर्ण पवित्र शास्त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ।”—२ तिमोथी ३:१६, नयाँ करार, नौलो संस्करण।

नेपाली भाषामा बाइबलका केही अनुवादहरू उपलब्ध छन्‌। त्यसलाई तपाईं सही आध्यात्मिक बाटो रोज्न नक्साको रूपमा चलाउन सक्नुहुन्छ। यस पत्रिकाको प्रकाशक यहोवाका साक्षीहरूले थुप्रै भाषामा एउटा भरपर्दो बाइबल अनुवाद निकालेका छन्‌। यो अनुवाद, न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स (पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद) नामले चिनिन्छ। तर तपाईं यहोवाका साक्षी हुनुहुन्‍न भने, असल र खराब धर्म चिन्‍ने सन्दर्भमा बाइबलका अन्य अनुवादहरू चलाउन सक्नुहुन्छ। तसर्थ, यी शृङ्‌खलाबद्ध लेखमा अन्य धर्महरूले मोल गर्ने विभिन्‍न बाइबल अनुवादहरू उद्धृत गरिएका छन्‌।

यसपछिका लेखहरू पढ्‌नुहुँदा, तपाईंले जाने-बुझेको कुरालाई बाइबलको शिक्षासित दाँजेर हेर्नुहोस्‌। खराब धर्मबाट असल धर्म कसरी छुट्याउन सक्छौं, त्यसबारे येशूका शब्दहरू मनमा राख्नुहोस्‌। उहाँले भन्‍नुभयो: “हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउन सक्दैन, न ता खराब रूखले असल फल फलाउन सक्‍तछ।” (मत्ती ७:१७, १८, नयाँ करारको टिप्पणी ) अब, “असल रूख” चिनाउने बाइबलमा बताइएका असल फलहरूमध्ये तीन वटालाई विचार गर्नुहोस्‌। ( w 09 8/1)

[पृष्ठ ३-मा भएको चित्र]

बाइबल, कुनै व्यक्‍तिलाई सही धार्मिक मार्ग पत्ता लगाउन मदत गर्ने भरपर्दो नक्सा जस्तै हो