सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टको प्रेमले हामीलाई प्रेम देखाउन उत्प्रेरित गर्छ

ख्रीष्टको प्रेमले हामीलाई प्रेम देखाउन उत्प्रेरित गर्छ

ख्रीष्टको प्रेमले हामीलाई प्रेम देखाउन उत्प्रेरित गर्छ

“[ येशूले] संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर तिनीहरूलाई अन्त्यसम्मनै प्रेम गर्नुभयो।”—यूह. १३:१.

१, २. (क) येशूको प्रेम कसरी विशिष्ट छ? (ख) प्रेमका कस्ता पक्षहरू हामी यस लेखमा छलफल गर्नेछौं?

 येशूले प्रेमको सिद्ध नमुना बसाल्नुभयो। उहाँको बोलीवचन, आचरण, शिक्षा अनि छुटकाराको बलिदान सबैमा प्रेम झल्कियो। पृथ्वीमा जीवनको अन्तिम क्षणसम्मै आफूले भेटेका मानिसहरू र अझ विशेषगरि चेलाहरूलाई उहाँले प्रेम देखाउनुभयो।

येशूले प्रेमको उत्कृष्ट उदाहरण बसाल्नुभएको कारण उहाँका अनुयायीहरूले पछ्याउनुपर्ने स्तरहरू उच्च छन्‌। यसले हामीलाई आध्यात्मिक भाइबहिनी र अरूप्रति त्यस्तै प्रेम दखाउन उत्प्रेरित गर्छ। यस लेखमा गल्ती गर्ने, अझै भन्‍ने हो भने गम्भीर गल्ती गर्नेहरूप्रति समेत प्रेम दखाउने सन्दर्भमा प्राचीनहरूले येशूबाट के सिक्न सक्छन्‌, हेर्नेछौं। आर्थिक समस्या, प्राकृतिक प्रकोप र रोगबिमार आइपर्दा येशूको प्रेमले ख्रीष्टियानहरूलाई सकारात्मक कदम चाल्न कसरी उत्प्रेरित गर्छ, यसबारे पनि छलफल गर्नेछौं।

३. पत्रुसले गम्भीर गल्ती गरे तापनि येशूले तिनीसित कस्तो व्यवहार गर्नुभयो?

येशूको मृत्युको अघिल्लो रात उहाँको एकदमै नजिकका चेला पत्रुसले समेत उहाँलाई तीन-तीन चोटि चिन्दिनँ भने। (मर्कू. १४:६६-७२) तर येशूले भविष्यवाणी गर्नुभएझैं पत्रुस फर्के र उहाँले तिनलाई क्षमा दिनुभयो। उहाँले पत्रुसलाई गहन जिम्मेवारीहरू सुम्पनुभयो। (लूका २२:३२; प्रेरि. २:१४; ८:१४-१७; १०:४४, ४५) गम्भीर गल्ती गर्नेहरूप्रति येशूको मनोवृत्तिबाट हामी के सिक्न सक्छौं?

गल्ती गर्नेहरूप्रति येशूको जस्तै मनोवृत्ति देखाउनुहोस्‌

४. विशेषगरि कुन अवस्थामा ख्रीष्टको जस्तो प्रेम देखाउनुपर्छ?

ख्रीष्टको जस्तो मनोवृत्ति देखाउनुपर्ने थुप्रै अवस्थामध्ये विशेषगरि पीडादायी हुन सक्ने एउटा अवस्था, परिवार वा मण्डलीमा कसैले गम्भीर गल्ती गर्दा हो। दुःखको कुरा, शैतानको संसारको अन्त नजिकिंदै जाँदा संसारको आत्माले नैतिकतामा झन्‌-झनै कुप्रभाव पारिरहेको छ। संसारको खराब वा जे गरे पनि ठीकै छ भन्‍ने मनोवृत्तिले जवान, वृद्ध सबैलाई असर गर्न सक्छ। अनि यसले साँघुरो बाटोमा हिंड्‌ने हाम्रो संकल्पलाई कमजोर बनाउँछ। प्रथम शताब्दीमा कसै-कसैलाई ख्रीष्टियान मण्डलीबाट बहिष्कार गर्नुपऱ्‍यो भने कसैलाई हप्काइको खाँचो पऱ्‍यो। आज पनि कुरा त्यस्तै हो। (१ कोरि. ५:११-१३; १ तिमो. ५:२०) यद्यपि, यस्ता मामिला सँभाल्ने प्राचीनहरूले ख्रीष्टको जस्तो प्रेम देखाउँदा गल्ती गर्ने व्यक्‍तिमा गहिरो प्रभाव पर्छ।

५. गल्ती गर्नेप्रति प्राचीनहरूले कसरी ख्रीष्टको मनोवृत्ति अनुकरण गर्नुपर्छ?

येशूले जस्तै प्राचीनहरूले हर समय यहोवाका धार्मिक स्तरहरू पछ्याउनै पर्छ। यसो गर्दा तिनीहरूले यहोवाको नम्रता, दया र प्रेम झल्काइरहेका हुन्छन्‌। कोही आफ्नो गल्तीको कारण ‘टुटेको’ छ र “पश्‍चातापी मन” देखाउँछ भने “नम्रताको आत्माले . . . यस्ताको सुधार” गर्न प्राचीनहरूलाई गाह्रो नहोला। (भज. ३४:१८; गला. ६:१) तर अटेरी र पटक्कै पछुतो नदेखाउने व्यक्‍तिसित व्यवहार गर्नुपर्दा नि?

६. गल्ती गर्नेहरूसित व्यवहार गर्दा प्राचीनहरूले के गर्नुहुँदैन र किन?

गल्ती गर्ने व्यक्‍तिले धर्मशास्त्रीय सल्लाह तिरस्कार गर्दा वा आफ्नो गल्तीको दोष अरूमाथि थोपर्न खोज्दा प्राचीनहरू र अरूलाई रीस उठ्‌न सक्छ। उक्‍त व्यक्‍तिले कुन हदसम्म हानि पुऱ्‍याइसकेको छ भनी थाह भएकोले तिनको कार्य र मनोवृत्तिबारे आफ्नो भावना पोखाऊँ जस्तो लाग्न सक्छ। तर रीस हानिकारक हुन्छ र यसमा “ख्रीष्टको मन” झल्किंदैन। (१ कोरि. २:१६; याकूब १:१९, २० पढ्‌नुहोस्‌) येशूले पृथ्वीमा हुँदा केही व्यक्‍तिहरूलाई स्पष्ट चेताउनी दिनुभयो तर उहाँले एकचोटि पनि अपशब्द वा अरूलाई चित्त दुखाउने बोली बोल्नुभएन। (१ पत्रु. २:२३) बरु, गल्ती गर्नेलाई पश्‍चात्ताप गर्न र यहोवाको अनुग्रह फेरि प्राप्त गर्न ढोका खोलिदिनुभयो। वास्तवमा येशू पृथ्वीमा आउनुको एउटा मुख्य कारण “पापीहरूलाई उद्धार गर्न” थियो।—१ तिमो. १:१५.

७, ८. न्यायिक मामिलाहरू सँभाल्दा प्राचीनहरूलाई कुन कुराले डोऱ्‍याउनुपर्छ?

मण्डलीले अनुशासन दिनै पर्ने व्यक्‍तिप्रति हाम्रो मनोवृत्ति येशूको उदाहरणबाट कसरी प्रभावित हुनुपर्छ? नबिर्सनुहोस्‌, मण्डलीमा बाइबल आधारित न्यायिक कारबाहीको प्रबन्धले बगालको सुरक्षा गर्छ र अनुशासन पाउने व्यक्‍तिलाई पश्‍चात्ताप गर्न उत्प्रेरित गर्न सक्छ। (२ कोरि. २:६-८) दुःखको कुरा, कोही-कोहीले पश्‍चात्ताप गर्दैनन्‌ र मण्डलीबाट बहिष्कार गर्नुपर्ने हुन्छ। तर यस्ता थुप्रै व्यक्‍तिहरू पछि यहोवा र मण्डलीमा फर्केका छन्‌ भनी थाह पाउनु प्रोत्साहनजनक छ। प्राचीनहरूले ख्रीष्टको जस्तो मनोवृत्ति देखाउँदा गल्ती गर्ने व्यक्‍तिलाई आफ्नो मन परिवर्तन गर्न र अन्ततः फर्कन मदत मिल्छ। पछि गएर, यस्ता गल्ती गर्ने व्यक्‍तिहरूले तिनीहरूलाई बाइबलबाट प्राचीनहरूले के-कस्तो सल्लाह दिए बिर्सन सक्छन्‌ तर तिनीहरूप्रति देखाएको आदर र प्रेम भने अवश्‍यै सम्झनेछन्‌।

त्यसैले प्राचीनहरूले कठिन परिस्थितिमा समेत “आत्माको फल,” मुख्यगरि ख्रीष्टको जस्तो प्रेम देखाउनै पर्छ। (गला. ५:२२, २३) प्राचीनहरू गल्ती गर्नेलाई मण्डलीबाट बहिष्कार गर्न कहिल्यै हतारिनुहुँदैन। गल्ती गर्ने व्यक्‍ति यहोवामा फर्केको तिनीहरू चाहन्छन्‌ भनी देखाउनुपर्छ। यसो गर्दा, गल्ती गर्ने व्यक्‍तिले मन परिवर्तन गर्दा , थुप्रैले गर्छन्‌ पनि, तिनलाई फर्किन सजिलो बनाइदिनुभएको यहोवा र “पुरुषहरूमध्ये वरदान”-प्रति (NW ) तिनी भित्रैदेखि कृतज्ञ हुन सक्छन्‌।—एफि. ४:८, ११, १२.

अन्तको समयमा ख्रीष्टको जस्तो प्रेम देखाउनुहोस्‌

९. येशूले चेलाहरूप्रति व्यावहारिक तरिकामा देखाएको प्रेमको एउटा उदाहरण बताउनुहोस्‌।

येशूले व्यवहारबाटै प्रेम देखाएको एउटा एकदमै राम्रो उदाहरण लूकाले रेकर्ड गरेका छन्‌। समयमा रोमी सेनाले विनाश हुन लागेको यरूशलेम सहरलाई घेराबन्दी गर्नेछ र त्यहाँबाट भाग्न सम्भव हुँदैन भन्‍ने कुरा थाह भएकोले येशूले मायालुपूर्वक चेलाहरूलाई यस्तो चेताउनी दिनुभयो: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान।” तिनीहरूले के गर्नुपर्ने थियो? येशूले पहिल्यै स्पष्ट निर्देशन दिनुभयो। “तब यहूदियामा हुनेहरू डाँडाहरूतिर भागून्‌। औ शहरभित्र हुनेहरू निस्किजाऊन्‌, र गाउँमा हुनेहरू त्यहाँभित्र नपसून्‌। किनभने लेखिएका कुराहरू सबै पूरा हुनालाई यी बदला लिने दिन हुनेछन्‌।” (लूका २१:२०-२२) इस्वी संवत्‌ ६६ मा रोमी सेनाले यरूशलेम घेर्दा यो निर्देशन पालन गर्दै आज्ञाकारीहरू भागे।

१०, ११. प्रथम शताब्दीका ख्रीष्टियानहरू यरूशलेमबाट भागेको घटनालाई विचार गर्दा “महा संकष्ट”-को लागि कसरी हामी तयार रहन सक्छौं?

१० ख्रीष्टले तिनीहरूलाई प्रेम देखाउनुभएझैं यरूशलेमबाट भाग्दा ख्रीष्टियानहरूले पनि आपसमा ख्रीष्टको जस्तो प्रेम देखाउनुपर्ने थियो। आफूसँग जे छ त्यो तिनीहरूले बाँडचुँड गर्नुपर्ने थियो। तर येशूको भविष्यवाणी त्यतिबेलाको विनाशमा मात्रै सीमित रहेन। उहाँले भविष्यवाणी गर्नुभयो: “त्यस बेला यस्तो महासंकष्ट हुनेछ, जो जगत्‌को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:१७, १८, २१) हामीले पनि अब आउने “महासंकष्ट” अघि र पछि कठिनाइ र अभावको सामना गर्नुपर्ने हुन सक्छ। ख्रीष्टको जस्तो मनोवृत्ति छ भने यी सब सहन सजिलो हुनेछ।

११ त्यतिबेला हामीले ख्रीष्टको अनुकरण गर्दै निस्वार्थ प्रेम देखाउनुपर्छ। यसबारे पावलले यस्तो सल्लाह दिए: “हामी हरेकले आफ्नो छिमेकीलाई उसको भलाइको निम्ति सुधार्नलाई खुश तुल्याउनुपर्छ। किनभने ख्रीष्टले पनि आफैलाई खुश तुल्याउनुभएन, . . . अब धीरज र शान्तिका परमेश्‍वरले तिमीहरूलाई ख्रीष्ट येशूको अनुसार आपसमा एउटै मन [“मनोवृत्ति,” NW ] दिऊन्‌।”—रोमी १५:२, ३, ५.

१२. हामीले कस्तो प्रकारको प्रेम अहिले विकास गर्नुपर्छ र किन?

१२ येशूले माया गरेको पत्रुसले पनि ख्रीष्टियानहरूलाई “भाइप्रति निष्कपट प्रेम” देखाउन र “सत्यको पालन” गर्न अर्ती दिए। तिनीहरूले “एउटाले अर्कोलाई हृदयले प्रगाढ प्रेम” गर्नुपर्ने थियो। (१ पत्रु. १:२२) आज, हामीले ख्रीष्टको जस्तो गुण खेती गर्नु झनै जरुरी छ। अहिले परमेश्‍वरका जनहरूमाथि दबाबहरू तीव्र हुँदैछ। संसारको अर्थतन्त्रमा हालसालै भएको डामाडोलबाट स्पष्ट हुन्छ, यस संसारको कुनै पनि कुरामा भरोसा राख्नुहुँदैन। (१ यूहन्‍ना २:१५-१७ पढ्‌नुहोस्‌) बरु, यस दुष्ट संसारको अन्त जति नजिक हुँदै जान्छ मण्डलीभित्र साँचो मित्रता गाँसेर उति धेरै यहोवा र मण्डलीसित घनिष्ठ हुनुपर्छ। पावलले सल्लाह दिए: “भातृप्रेममा एक दोस्रोतर्फ मयालु होओ। मानमा एउटाले अर्कोको बढ्‌ता कदर गर।” (रोमी १२:१०) अनि पत्रुसले यस कुरामा थप जोड दिंदै यसो भने: “सबैभन्दा बढ्‌ता आपसमा प्रगाढ प्रेम राख। किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्‍तछ।”—१ पत्रु. ४:८.

१३-१५. प्राकृतिक प्रकोपको बेला केही भाइहरूले कसरी ख्रीष्टको जस्तो प्रेम देखाए?

१३ संसारभरि यहोवाका साक्षीहरू ख्रीष्टको जस्तो प्रेम देखाउनेहरू भनी चिनिन्छन्‌। सन्‌ २००५ मा अमेरिकाको दक्षिणी भागको एउटा ठूलो भूभाग आँधीबेहरीबाट क्षतिग्रस्त हुँदा मदत गर्न अघि सरेका साक्षीहरूलाई लिनुहोस्‌। येशूको उदाहरणबाट उत्प्रेरित भई २०,००० भन्दा धेरै साक्षीहरू राजीखुसीले आरामदायी घर, स्थायी जागिर छोडेर प्रभावित भाइहरूलाई मदत गर्न गए।

१४ एउटा इलाकामा आँधीले गर्दा समुद्रको छाल १० मिटर माथिसम्म उर्लेर ८० किलोमिटर भित्रसम्म पस्यो। छाल फर्केपछि त्यस इलाकाका एक तिहाइ घर र अन्य भवनहरू तहसनहस भएका थिए। आवश्‍यक औजार र निमार्ण सामग्रीहरू आफ्नो साथमा लिएर विभिन्‍न देशका दक्ष साक्षीहरू त्यहाँ आइपुगे र तिनीहरू जस्तोसुकै काम गर्न पनि तयार थिए। दुई साक्खे दिदीबहिनी जो विधवा थिए, तिनीहरू आफ्नो सबै सामान एउटा सानो ट्रकमा राखेर ३,००० किलोमिटर लामो यात्रा गरेर त्यहाँ आइपुगे। बहिनी चाहिं अझै त्यहीं छिन्‌। नियमित अग्रगामी पनि गर्दै स्थानीय उद्धार समितिलाई मदत पुऱ्‍याइरहेकी छिन्‌।

१५ त्यस इलाकाका साक्षी तथा अरूहरूको गरेर ५,६०० भन्दा धेरै घर मर्मत वा पुनःनिर्माण गरिएका छन्‌। यस्तो प्रगाढ प्रेम देख्दा स्थानीय साक्षीहरूले कस्तो महसुस गरे? आफ्नो घर पूरै क्षतिग्रस्त भएको एउटी बहिनी छत चुहिने र स्टोभ पनि बिग्रेको सानो ट्रेलर अर्थात्‌ घरको सुविधा भएको सानो गाडीमा सरेकी थिइन्‌। भाइहरूले तिनको लागि साधारण तर आरामदायी घर बनाइदिए। आफ्नो चिटिक्क परेको नयाँ घरअघि उभिएर तिनले यहोवा र भाइहरूप्रति कृतज्ञ हुँदै आँसु बगाइन्‌। विस्थापित हुनुपरेका थुप्रै स्थानीय साक्षीहरू आफ्नो घर तयार भइसकेर पनि एक वर्ष वा त्योभन्दा धेरै समयसम्म आफ्नो अस्थायी घरमै बसे। किन? आफ्नो घरमा उद्धारकर्मीहरूलाई बस्न दिन। ख्रीष्टको मनोवृत्ति प्रदर्शन गरेको कत्ति राम्रो उदाहरण!

बिरामीप्रति ख्रीष्टको मनोवृत्ति झल्काउनुहोस्‌

१६, १७. बिरामीप्रति कसरी ख्रीष्टको जस्तो मनोवृत्ति देखाउन सक्छौं?

१६ तुलनात्मक हिसाबले हामीमध्ये थोरैले मात्र त्यस्तो ठूलो प्राकृतिक प्रकोपको सामना गर्नुपरेको छ। तर हामीमध्ये कोही पनि आफ्नो वा परिवारको स्वास्थ्य समस्याबाट अवश्‍यै अछुतो छैनौं। बिरामीहरूप्रति ख्रीष्टको मनोवृत्ति हाम्रो लागि एउटा उदाहरण हो। प्रेमको कारण उहाँ बिरामीहरू देखेर टिठाउनुभयो। भीडले बिरामीहरू उहाँकहाँ ल्याउँदा “सबैलाई निको पार्नुभयो।”—मत्ती ८:१६; १४:१४.

१७ आज ख्रीष्टियानहरूसित येशूको जस्तो निको पार्ने चमत्कारी शक्‍ति त छैन तर तिनीहरू बिरामीप्रति ख्रीष्टले जस्तै दया देखाउँछन्‌। कसरी? उदाहरणको लागि, मत्ती २५:३९, ४० मा (पढ्‌नुहोस्‌) पाइने सिद्धान्तलाई पालन गर्दै प्राचीनहरूले मण्डलीमा बिरामी परेकाहरूलाई हेरचाह गर्न प्रबन्धहरू मिलाउँछन्‌। a

१८. दुई बहिनीले अर्की एक बहिनीप्रति कसरी साँचो प्रेम देखाए र नतिजा कस्तो भयो?

१८ निस्सन्देह, अरूको मदत गर्ने काम प्राचीनहरूको मात्रै होइन। चवालीस वर्षीय शार्लिनको परिस्थितिलाई विचार गर्नुहोस्‌। उनलाई क्यान्सर भएको थियो र अब दस दिन मात्र बाँच्छिन्‌ भनियो। उनको आवश्‍यकता र उनको हेरचाह गरिरहेका उनको मायालु पतिको अवस्था देखेर दुई साक्षी बहिनी सारोन र निकोलेट पूरै समय उनको हेरचाह गर्न अघि सरे। दस दिन त लम्बिएर छ हप्ता भयो तर ती दुई बहिनीले अन्तसम्मै प्रेम देखाइरहे। सारोन भन्छिन्‌, “अब निको हुँदैन भनेर थाह पाउँदा साह्रै गाह्रो हुन्छ। तर यहोवाले हामीलाई बल दिनुभयो। यो अनुभवले हामीलाई यहोवासित र हामी दुई पनि अझ नजिक भयौं।” शार्लिनकी श्रीमान्‌ भन्छन्‌: “यी दुई बहिनीहरूले देखाएको माया र व्यावहारिक मदत म कहिल्यै बिर्सिदिनँ। उहाँहरूको चोखो मनसाय र सकारात्मक मनोवृत्तिले मेरी विश्‍वासी शार्लिनलाई यो अन्तिम परीक्षा सहन सजिलो भयो र मैले आफूलाई चाहिएको शारीरिक र भावनात्मक राहत पाएँ। म उहाँहरूप्रति जिन्दगीभर आभारी रहनेछु। उहाँहरूको त्यागी मनोभावले यहोवाप्रति र हाम्रा सारा भाइहरूप्रतिको मेरो विश्‍वासलाई अझ बलियो बनायो।”

१९, २०. (क) येशूको मनोवृत्तिको कुन पाँच पक्ष हामीले छलफल गऱ्‍यौं? (ख) तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

१९ यी शृङ्‌खलाबद्ध तीन लेखहरूमा हामीले येशूको मनोवृत्तिको पाँच पक्ष हेऱ्‍यौं र उहाँको जस्तै सोचाइ र कार्यशैली कसरी ग्रहण गर्न सक्छौं विचार गऱ्‍यौं। येशू जस्तै हामी पनि “विनयी, र नम्र हृदयको” होऔं। (मत्ती ११:२९) अरूको असिद्धता र कमजोरी स्पष्टै देखिंदा समेत हामीले पनि दयालु व्यवहार गर्ने कोसिस गरौं। परीक्षाको बेलामा पनि साहसी हुँदै यहोवाको इच्छाबमोजिम गरौं।

२० अन्तमा, ख्रीष्टको प्रेम सबै भाइहरूप्रति “अन्त्यसम्मै” देखाऔं। त्यस्तो प्रेमले हामीलाई येशूका साँचो अनुयायी भनेर चिनाउँछ। (यूह. १३:१, ३४, ३५) “भातृ-प्रेम बनिरहोस्‌।” (हिब्रू १३:१) पछि नहट्‌नुहोस्‌। यहोवाको प्रशंसा र अरूलाई मदत गर्न आफ्नो जीवन चलाउनुहोस्‌! तपाईंको निष्कपट प्रयासमा यहोवाले आशिष्‌ दिनुहुन्छ। ( w 09 9/15)

[फुटनोट]

a मे १५, १९९९ अंकको प्रहरीधरहरा-मा “मसीही मण्डली बलको स्रोत” भन्‍ने लेख हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• गल्ती गर्नेहरूप्रति प्राचीनहरूले कसरी ख्रीष्टको मनोवृत्ति देखाउन सक्छन्‌?

• विशेषगरि यस अन्तको समयमा किन ख्रीष्टको प्रेम अनुकरण गर्नु महत्त्वपूर्ण छ?

• बिरामीप्रति हामी कसरी ख्रीष्टको जस्तो मनोवृत्ति देखाउन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएको चित्र]

गल्ती गर्नेहरू यहोवाकहाँ फर्कून्‌ भन्‍ने प्राचीनहरू चाहन्छन्‌

[पृष्ठ २१-मा भएको चित्र]

यरूशलेमबाट भागेका ख्रीष्टियानहरूले कसरी ख्रीष्टको मनोवृत्ति झल्काए?

[पृष्ठ २२-मा भएको चित्र]

यहोवाका साक्षीहरू ख्रीष्टको प्रेम देखाउनेहरू भनेर चिनिन्छन्‌