सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“आत्मामा जोशिलो होओ”

“आत्मामा जोशिलो होओ”

“आत्मामा जोशिलो होओ”

प्रयत्न गर्नमा अल्छी नहोओ, आत्मामा जोशिलो होओ, प्रभुको सेवा गर्दै रहो।—रोमी १२:११.

१. इस्राएलीहरू पशुबलि र अन्य बलि किन चढाउँथे?

 यहोवा आफ्ना सेवकहरूले उहाँप्रति प्रेम देखाउन र उहाँको इच्छाबमोजिम गर्न चढाएको स्वैच्छिक बलिदानको मोल गर्नुहुन्छ। प्राचीन समयमा उहाँले विभिन्‍न पशुबलि तथा अन्य बलि स्वीकार्नुभयो। इस्राएलीहरू मोशाको नियमअनुसार पापको क्षमा पाउन र धन्यवाद दिन ती बलि चढाउँथे। अहिले ख्रीष्टियान मण्डलीमा यहोवा हामीबाट त्यस्ता बलि माग गर्नुहुन्‍न। तैपनि हामीले बलि चढाउनुपर्छ भन्‍ने कुरा रोमका ख्रीष्टियानहरूलाई लेखेको पत्रको अध्याय १२ मा प्रेरित पावल बताउँछन्‌। आउनुहोस्‌, त्यसबारे विचार गरौं।

जीवित बलिदान

२. ख्रीष्टियान भएकोले हामी कस्तो जीवन बिताउँछौं र त्यसमा के समावेश छ?

रोमी १२:१, a २ पढ्‌नुहोस्‌। यहूदी होऊन्‌ या अन्यजाति, अभिषिक्‍ति ख्रीष्टियानहरू परमेश्‍वरसामु कामद्वारा होइन विश्‍वासद्वारा धर्मी ठहिरिन्छन्‌ भनी पावलले पत्रको सुरुमा प्रस्टै बताए। (रोमी १:१६; ३:२०-२४) पावलले अध्याय १२ मा ख्रीष्टियानहरूले आत्म-त्यागी जीवन बिताएर कृतज्ञता देखाउनुपर्छ भने। यसको लागि हामीले आफ्नो मन परिवर्तन गर्नुपर्छ। जन्मजातै असिद्ध भएकोले हामी “पाप र मृत्युको व्यवस्था”-को अधीनमा छौं। (रोमी ८:२) तसर्थ आफ्नो झुकावमा आमूल परिवर्तन गरेर हामी “मनको आत्मामा नयाँ” हुनुपर्छ। (एफि. ४:२३) यस्तो पूर्ण परिवर्तन परमेश्‍वर र उहाँको आत्माको मदतद्वारा मात्र गर्न सकिन्छ। साथै, आफ्नो “सोचविचार गर्ने क्षमता” चलाएर जोडदार प्रयास गर्नु पनि आवश्‍यक छ। मतलब भ्रष्ट नैतिकता, घटिया मनोरञ्जन र टेढो सोचाइ राख्दै ‘संसारसित एकै चालका नहुन’ हामी सक्दो गर्छौं।—एफि. २:१-३.

३. हामी ख्रीष्टियान क्रियाकलापमा किन भाग लिन्छौं?

पावल हामीलाई “परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा” के हो, जाँचेर पत्ता लगाउन आफ्नो “सोचविचार गर्ने क्षमता” चलाउन पनि निमन्त्रणा दिन्छन्‌। हामी सधैं बाइबल पढ्‌छौं, पढेको कुरा मनन गर्छौं, प्रार्थना गर्छौं, सभा जान्छौं र राज्यको सुसमाचार प्रचार गर्छौं, तर किन? मण्डलीका प्राचीनहरूले भनेकोले मात्र हो कि? हुन त, प्राचीनहरूले सम्झाउँदा हामी उहाँहरूप्रति धन्यवादी हुन्छौं। तर हामी यहोवाप्रति भित्रैदेखि प्रेम देखाउन उहाँको आत्माद्वारा उत्प्रेरित भएकोले ख्रीष्टियान क्रियाकलापमा भाग लिन्छौं। त्यसबाहेक, त्यस्ता क्रियाकलापमा भाग लिनु परमेश्‍वरको इच्छा हो भनेर हामी विश्‍वस्त छौं। (जक. ४:६; एफि. ५:१०) साँचो ख्रीष्टियान जीवन बिताएर हामी यहोवासामु ग्रहणयोग्य हुन सक्छौं भनी बुझ्दा निकै आनन्दित र सन्तुष्ट हुन्छौं।

विभिन्‍न वरदान

४, ५. ख्रीष्टियान प्राचीनहरूले आफूले पाएका वरदान कसरी प्रयोग गर्नुपर्छ?

रोमी १२:६-८, b ११ पढ्‌नुहोस्‌। पावल भन्छन्‌, “हामीलाई दिइएको अनुग्रहअनुसारका वरदानहरू विभिन्‍न” छन्‌। पावलले बताएका केही वरदान जस्तै, अर्ती दिनु र अगुवाइ लिनु विशेषगरि ख्रीष्टियान प्राचीनहरूसित सम्बन्धित छन्‌, जसलाई “लगनशील भई” अगुवाइ लिन सल्लाह दिइएको छ।

निरीक्षकहरूले शिक्षकको रूपमा सेवा गर्दा र “सेवा” पूरा गर्दा यस्तो लगनशीलता स्पष्टै देखिनुपर्छ भनेर पावल बताउँछन्‌। पावलले उल्लेख गरेका “सेवा” मण्डलीभित्र अथवा “एउटै शरीरमा” पूरा गर्नुपर्ने सेवा हो भन्‍ने संकेत प्रसङ्‌गबाट देखिन्छ। (रोमी १२:४, ५) यो सेवामा के समावेश छ? ख्रीष्टियान प्राचीनहरू आफूले पाएका वरदान मण्डलीका सदस्यहरूलाई बलियो पार्न प्रयोग गर्छन्‌। प्रार्थनापूर्वक अध्ययन र अनुसन्धान गरेर, सिकाएर अनि गोठालो भेट गरेर तिनीहरूले लगनशील भई परमेश्‍वरको वचनबाट मण्डलीलाई डोऱ्‍याइ र निर्देशन दिंदा आफू “सेवाको काममा” लागेको देखाउँछन्‌। निरीक्षकहरूले आफूले पाएका वरदान होसियार भई प्रयोग गर्नुपर्छ र भेडाको हेरचाह “खुसीसाथ” गर्नुपर्छ।—रोमी १२:७, ८; १ पत्रु. ५:१-३.

६. यस लेखको मूल शास्त्रपद रोमी १२:११ को सल्लाह हामी कसरी पालन गर्न सक्छौं?

पावल अझ भन्छन्‌: “प्रयत्न गर्नमा अल्छी नहोओ, आत्मामा जोशिलो होओ, प्रभुको सेवा गर्दै रहो।” सेवामा सुस्ताउन थालेको थाह पायौं भने, आफ्नो अध्ययन गर्ने बानीलाई पुनर्विचार गर्नुपर्ने, अझै व्यग्र भई प्रार्थना गर्नुपर्ने र यहोवाको पवित्र आत्मा झन्‌ बढी माग्नुपर्ने हुन्छ। यसो गर्दा मनतातो हुने झुकावलाई जित्न र नयाँ जोस प्राप्त गर्न मदत पाउन सक्छौं। (लूका ११:९, १३; प्रका. २:४; ३:१४, १५, १९) पवित्र आत्माले प्रथम शताब्दीका ख्रीष्टियानहरूलाई “परमेश्‍वरका महाकार्यहरूका विषयमा” बोल्न जोस दियो। (प्रेरि. २:४, ११) त्यसैगरि, यसले हामीलाई “आत्मामा जोशिलो” भई सेवा गर्न उत्प्रेरित गर्न सक्छ।

नम्र र विनयी

७. हामीले किन नम्र र विनयी भई सेवा गर्नुपर्छ?

रोमी १२:३, १६ c पढ्‌नुहोस्‌। हामीसित हुन सक्ने वरदान यहोवाको “अनुग्रह”-ले गर्दा पाएका हौं। पावल यसो पनि भन्छन्‌: “हाम्रो योग्यता परमेश्‍वरबाट आउँछ।” (२ कोरि. ३:५, NRV ) तसर्थ हामीले आफ्नै महिमा खोज्नुहुँदैन। सेवामा पाएको जुनसुकै सफलता परमेश्‍वरको आशिष्‌ले गर्दा हो, आफ्नै योग्यताले होइन भनेर हामीले नम्र भई स्वीकार्नुपर्छ। (१ कोरि. ३:६, ७) त्यसैकारण पावल बताउँछन्‌: “तिमीहरूमध्ये हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झ।” यहोवाको सेवा गर्दा आत्म-सम्मान हुनुका साथै आनन्द र सन्तुष्टि पाउनु जरुरी छ। तथापि विनयी हुँदा वा आफ्नो सीमितता बुझ्दा हठी हुनदेखि जोगिनेछौं। तर हामी “सुबुद्धि” पाउनेगरि सोच्न चाहन्छौं।

८. “आफ्नै नजरमा बुद्धिमान्‌” हुनदेखि हामी कसरी जोगिन सक्छौं?

आफ्ना उपलब्धिहरूमा घमन्ड गर्नु मूर्खतासिवाय केही होइन। “बढाउने परमेश्‍वरनै हुनुहुन्छ।” (१ कोरि. ३:७) परमेश्‍वरले मण्डलीका हरेक सदस्यलाई ‘नापबमोजिम विश्‍वास’ दिनुभएको छ भनी पावल बताउँछन्‌। हामीले आफैलाई श्रेष्ठ ठान्‍नुभन्दा अरूले हासिल गरेको उपलब्धि तिनीहरूको विश्‍वासको नापबमोजिम छ भनेर स्वीकार्नुपर्छ। पावल अझ भन्छन्‌: “आफ्नो विषयमा जस्तो सोच्छौ, अरूको विषयमा पनि त्यस्तै सोच।” अर्को पत्रमा यी प्रेरित हामीलाई “विरोध अथवा फोस्रो घमन्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर” काम गर भन्छन्‌। (फिलि. २:३) हाम्रा हरेक भाइबहिनी कुनै न कुनै तरिकामा हामीभन्दा श्रेष्ठ छन्‌ भनेर स्वीकार्न साँचो नम्रता चाहिन्छ र सचेत भई प्रयास गर्नुपर्छ। नम्रताले हामीलाई “आफ्नै नजरमा बुद्धिमान्‌” हुनदेखि रोक्नेछ। मण्डलीमा विशेष जिम्मेवारीहरू पाउँदा कोहीकोही आकर्षणको बिन्दु हुने भए तापनि मानिसहरूले त्यति याद नगर्ने “साना कुराहरू” पूरा गर्दा हामी सबैले अथाह आनन्द प्राप्त गर्नेछौं।—१ पत्रु. ५:५.

हाम्रो ख्रीष्टियान एकता

९. पावल आत्मा-अभिषिक्‍त ख्रीष्टियानहरूलाई शरीरका अंगहरूसित किन तुलना गर्छन्‌?

रोमी १२:४, ५, ९, १० पढ्‌नुहोस्‌। पावल अभिषिक्‍त ख्रीष्टियानहरूलाई शरीरका अंगहरूसित तुलना गर्छन्‌ जो तिनीहरूका शिर ख्रीष्टसित एक भई सेवा गर्छन्‌। (कल. १:१८) जसरी शरीरमा विभिन्‍न काम गर्ने थुप्रै अंग हुन्छन्‌, “त्यसरीनै हामी जो धेरै छौं, . . . ख्रीष्टको एउटै शरीर हौं” भनी तिनी आत्मा-अभिषिक्‍त ख्रीष्टियानहरूलाई स्मरण गराउँछन्‌। त्यसैगरि, पावलले एफिससका अभिषिक्‍त ख्रीष्टियानहरूलाई यस्तो अर्ती दिए: “हामी सबै कुरामा उहाँसम्मै, अर्थात्‌ ख्रीष्टसम्मै बढ्‌दै जाऔं, जो शिर हुनुहुन्छ, जसबाट प्रत्येक भागलाई ठीक नापको कामबमोजिम प्रत्येक जोर्नीले खँदिलो पारिदिएकोले सारा शरीर ठीक-ठीक एकसाथ गाँसिएर एक भई प्रेममा आफ्नै निर्माणको निम्ति शरीरको वृद्धि गराउँछ।”—एफि. ४:१५, १६.

१०. “अरू भेडा”-ले कस्तो अख्तियार स्वीकार्नुपर्छ?

१० “अरू भेडा” ख्रीष्टको शरीरको भाग नभए तापनि तिनीहरूले यस दृष्टान्तबाट थुप्रै कुरा सिक्न सक्छन्‌। (यूह. १०:१६) पावल बताउँछन्‌, यहोवाले “सबै कुरा [ख्रीष्टको] चरणको अधीनमा राखिदिनुभयो, र उहाँलाई सबै कुराको शिर हुनलाई मण्डलीलाई दिनुभयो।” (एफि. १:२२) आज, अरू भेडा यहोवाले आफ्नो पुत्र येशूको शिरत्वको अधीनमा राखेको “सबै कुरा”-को भाग हुन्‌। तिनीहरू ख्रीष्टले “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई सुम्पिएको “सम्पत्ति” पनि हुन्‌। (मत्ती २४:४५-४७) तसर्थ, पृथ्वीमा बस्ने आशा भएकाहरूले ख्रीष्टलाई आफ्नो शिर स्वीकार्नुपर्छ र विश्‍वासी र बुद्धिमान्‌ दास अनि परिचालक निकाय तथा मण्डलीमा निरीक्षक नियुक्‍त गरिएका पुरुषहरूको अधीनमा बस्नुपर्छ। (हिब्रू १३:७, १७) यसो गर्दा ख्रीष्टियान एकतामा योगदान पुग्छ।

११. हाम्रो एकता कुन कुरामा आधारित छ अनि पावलले अर्को के सल्लाह दिए?

११ यस्तो एकता प्रेममा आधारित छ जुन “सिद्धताको गाँठो” हो। (कल. ३:१४) यसलाई जोड दिंदै पावलले रोमी अध्याय १२ मा हाम्रो प्रेम “निष्कपटको” हुनुपर्छ र “भ्रातृप्रेममा एक दोस्रोतर्फ मायालु” हुनुपर्छ भने। यसो गर्दा आपसमा आदर गर्न सकिन्छ। प्रेरित पावल भन्छन्‌: “मानमा एउटाले अर्कोको बढता कदर गर।” त्यसो भन्दैमा प्रेमलाई भावुकतासित गाँस्न पटक्कै मिल्दैन। मण्डलीलाई सफा राख्न हामीले सकेजति सबै गर्नुपर्छ। प्रेमबारे सल्लाह दिंदै पावलले अझै भने: “जुन कुरो खराब छ, त्यसलाई घृणा गर, जुन कुरो असल छ, त्यसमा लागिरहो।”

अतिथि सत्कार

१२. अतिथि सत्कार गर्ने सम्बन्धमा म्यासेडोनियाका ख्रीष्टियानहरूबाट के पाठ सिक्न सक्छौं?

१२ रोमी १२:१३ पढ्‌नुहोस्‌। भाइहरूप्रतिको प्रेमले हामीलाई “पवित्र जनहरूका अभावहरूमा सहायता” गर्न र आफ्नो औकातअनुसार दिन उत्प्रेरित गर्नेछ। हामी सम्पन्‍न छैनौं भने पनि आफूसित भएका कुराहरू बाँडचुँड गर्न सक्छौं। म्यासेडोनियाका ख्रीष्टियानहरूबारे पावलले लेखे: “कसरी कष्टको ठूलो परीक्षामा तिनीहरूको प्रशस्त आनन्द र अगाध दरिद्रताचाहिं तिनीहरूका उदारताको धन भएर प्रशस्त बढ्यो। किनभने म गवाही दिन्छु, कि तिनीहरूका औकातअनुसार र औकातभन्दा बढ्‌ता पनि आफ्नै राजीखुशीले दिए, र [यहूदाका] पवित्र जनहरूको सेवाको अनुग्रह र सङ्‌गतिमा हामी भाग लिन पाऔं भनी ज्यादै निवेदनसाथ हामीलाई आग्रहपूर्वक बिन्ती गरे।” (२ कोरि. ८:२-४) गरिब भए तापनि म्यासेडोनियाका ख्रीष्टियानहरू अत्यन्तै उदार थिए। खाँचोमा परेका यहूदाका भाइहरूलाई सक्दो सहयोग गर्न पाउनुलाई तिनीहरूले सुअवसर ठाने।

१३. “अतिथि-सत्कार कायम राख” भन्‍नुको अर्थ के हो?

१३ “अतिथि-सत्कार कायम राख” भन्‍ने युनानी शब्दले अग्रसर हुनुलाई बुझाउँछ। कसैलाई खाना खान बोलाएर कहिलेकाहीं अतिथि सत्कार गर्न सक्छौं। अनि प्रेमभावसाथ अतिथि सत्कार गर्नु सराहनीय कुरा हो। जे होस्‌, अग्रसर भयौं भने अतिथि सत्कार गर्ने अन्य थुप्रै तरिका भेट्टाउनेछौं। हामी खाना खान बोलाउन सक्ने अवस्थामा छैनौं भने चिया खान बोलाएर पनि अतिथि सत्कार गर्न सक्छौं।

१४. (क) “अतिथि सत्कार” भनी अनुवाद गरिएको युनानी शब्द कुनकुन शब्द मिलेर बनेको छ? (ख) विदेशीहरूलाई चासो दिन्छौं भनेर हामी प्रचारमा कसरी देखाउन सक्छौं?

१४ अतिथि सत्कारमा हाम्रो दृष्टिकोण मुछिएको छ। “अतिथि सत्कार” भनी अनुवाद गरिएको शब्द युनानी भाषामा “प्रेम” र “अपरिचित व्यक्‍ति” अर्थ लाग्ने दुइटा मूल शब्द मिलेर बनेको छ। अपरिचित व्यक्‍ति वा विदेशीप्रति हामी कस्तो भावना राख्छौं? आफ्नो मण्डलीको इलाकामा सरेका विदेशीहरूलाई सुसमाचार सुनाउन अर्को भाषा सिक्न प्रयास गर्ने ख्रीष्टियानहरू निश्‍चय नै अतिथि सत्कार देखाउनेहरूमध्ये पर्छन्‌। हो, हामीमध्ये थुप्रै अर्को भाषा सिक्न सक्ने अवस्थामा छैनौं। तैपनि थुप्रै भाषामा बाइबल सन्देश भएको पुस्तिका गुड न्युज फर पिपल अफ अल नेसन्स्‌ प्रयोग गरेर हामी सबैले विदेशीहरूलाई मदत गर्न सक्छौं। के तपाईंले प्रचारमा यो पुस्तिका प्रयोग गरेर राम्रो नतिजा पाउनुभएको छ?

सँगी भाव

१५. रोमी १२:१५ मा दिइएको सल्लाहलाई येशूले कसरी उदाहरणद्वारा देखाउनुभयो?

१५ रोमी १२:१५ पढ्‌नुहोस्‌। पावलले यस पदमा दिएको सल्लाह दुई शब्दमा समेट्‌न सकिन्छ: समानुभूति देखाउनुहोस्‌। मानिसहरू दुःखमा होऊन्‌ वा सुखमा हामीले उनीहरूको भावना बुझ्न मात्र होइन, त्यसमा साथ दिन पनि सिक्नुपर्छ। आत्मामा जोसिला छौं भने हामीले महसुस गरेको आनन्द र करुणा प्रस्टै देखिनेछ। ख्रीष्टका ७० जना चेला रमाउँदै प्रचार अभियानबाट फर्कंदा र आफ्नो कामको असल परिणामबारे बताउँदा येशू ‘पवित्र आत्मामा रमाउनुभयो।’ (लूका १०:१७-२१) येशू तिनीहरूसँगै रमाउनुभयो। अर्कोतिर, उहाँको मित्र लाजरसको मृत्यु हुँदा उहाँ ‘रुनेहरूसँग रुनुभयो।’—यूह. ११:३२-३५.

१६. हामी कसरी सँगी भाव देखाउन सक्छौं अनि विशेषगरि कसले त्यसो गर्नु आवश्‍यक छ?

१६ हामी येशूले जस्तै समानुभूति देखाउन चाहन्छौं। सँगी ख्रीष्टियान रमाउँदा हामी पनि सँगै रमाउँछौं। त्यसैगरि, हाम्रा भाइबहिनीलाई दुःख अनि पीडा हुँदा हामीले पनि त्यस्तै महसुस गर्न सक्नुपर्छ। भावनात्मक पीडा भोगिरहेका भाइबहिनीको कुरा सहानुभूति देखाउँदै सुनिदियौं भने हामी अक्सर उनीहरूलाई धेरै हलुको महसुस गराइदिन सक्छौं। अनि कहिलेकाहीं हाम्रो मन यत्ति छुन्छ कि समानुभूति व्यक्‍त गर्दा हामी आँसु थाम्नै सक्दैनौं। (१ पत्रु. १:२२) पावलले समानुभूतिबारे दिएको सल्लाह विशेषगरि प्राचीनहरूले पालन गर्नुपर्छ।

१७. यतिन्जेल रोमी अध्याय १२ बाट हामीले के-कस्ता पाठ सिक्यौं र अर्को लेखमा के छलफल गर्नेछौं?

१७ यतिन्जेल छलफल गरिएको रोमी अध्याय १२ का पदहरूबाट हामीले आफ्नो ख्रीष्टियान जीवनमा र भाइबहिनीसितको सम्बन्धमा व्यक्‍तिगत तवरमा लागू गर्न सकिने सल्लाह पायौं। अर्को लेखमा हामी यस अध्यायका बाँकी पद छलफल गर्नेछौं। ती पदमा ख्रीष्टियान मण्डलीबाहिरकाहरूलगायत विरोध गर्ने तथा सताउनेहरूप्रति हामीले राख्नुपर्ने दृष्टिकोण र गर्नुपर्ने व्यवहारबारे बताइएको छ। ( w 09 10/15)

[फुटनोट]

a रोमी १२:१ (NW ): “यसैले ए भाइहरू हो, म तिमीहरूलाई परमेश्‍वरको करूणाको आधारमा बिन्ती गर्छु, कि तिमीहरूले आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण गर। यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर पवित्र सेवा चढाएका हुनेछौ।”

b रोमी १२:८ (NW ): “जसले अर्ती दिने वरदान पाएको छ, उसले अर्ती दिइरहोस्‌; जसले बाँड्‌ने वरदान पाएको छ, उसले उदारचित्त भई बाँडोस्‌; जसले अगुवाइ लिने वरदान पाएको छ, उसले लगनशील भई अगुवाइ लेओस्‌ अनि जसले कृपा देखाउने वरदान पाएको छ, उसले खुसीसाथ कृपा देखाओस्‌।”

c रोमी १२:१६ (NW ): “आफ्नो विषयमा जस्तो सोच्छौ, अरूको विषयमा पनि त्यस्तै सोच; ठूलठूला कुराहरूमा मन नलगाओ बरु साना कुराहरूमा मन लगाओ। तिमीहरू आफ्नै नजरमा बुद्धिमान्‌ नहोओ।”

पुनरावलोकन गर्दा

• “आत्मामा जोशिलो” छौं भनेर हामी कसरी देखाउन सक्छौं?

• हामीले किन नम्र र विनयी भई परमेश्‍वरको सेवा गर्नुपर्छ?

• सँगी विश्‍वासीहरूलाई हामी कुनकुन तरिकामा समानुभूति तथा करुणा देखाउन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

यस्ता ख्रीष्टियान गतिविधिमा किन भाग लिन्छौं?

[पृष्ठ १८-मा भएको चित्र]

परमेश्‍वरको राज्यबारे सिक्न विदेशीहरूलाई कसरी मदत गर्न सक्छौं?